Wednesday, April 15, 2015

एसिडमा जलिरहेको विश्व


राजेन मानन्धर
विज्ञान भनेको वरदान नै हो । तर जब मानिसले मानवता बिर्सिन्छ त्यो विज्ञान नै अभिशाप हो कि जस्तो लाग्न थाल्छ । मानिसका दैनिक जीवनदेखि ठुल्ठुला औद्योगिक विकासका लागि नभइ नहुने एसिड (तेजाब)जब कोही कोही मानसिक विकृति र विक्षिप्तताका कारण अरुहरुको धनजनको क्षति गर्ने उद्देश्यले हतियारको रुपमा प्रयोग गर्न खोज्छ त्यो एसिड भन्ने वस्तु नै संसारमा नभइदिए हुन्थ्यो कि जस्तो लाग्छ । एसिडले आजसम्म कति मानिसको शारीरिक र मानसिक क्षति गरिसकेको छ त्यसको लेखाजोखा गर्न सम्भव छैन । हालसालै काठमाडौंका बसन्तपुरमा तीन जना किशोरीहरुमाथि भएको अप्रत्याशित एसिड आक्रमणले गर्दा सारा नेपालीलाई महिला हिंसाको यो क्रुररुप पुनः सम्झाइदिएको छ । यस्तो कुकार्य नेपालमा जस्तै विश्वका विभिन्न देशमा हुँदै आइरहेको छ ।
कोही कोही मान्छेहरु कसैको शरिरमा त्यसलाई कुरुप पार्न, कष्ट दिन वा कष्टपूर्वक मर्नदिन एसिड खन्याउँछन् । यसले गर्दा एसिडले छोएको कमलो छालाका तन्तुहरु खुम्चिन्छन्, बिग्रन्छन्, आकार बदलिन्छन् वा कुरुप हुन्छन् अनि त्यस्तै डढ्छन् । एसिडको मात्रा बढी भएमा छालाभित्रको मांसपेशीलाई समेत असर गर्दै हाडसमेत पगाल्ने काम गर्छ । मानिसले मानिसलाई गर्ने यो एक अमानवीय हिंंसक र पाशविक अपराध हो ।
यस्तो अपराध कुनै एक जाति, समुदाय वा देशसंग मात्र सम्बन्धित छैन । दक्षिण एशियामा यस्तो घटना तुलनात्मक रुपमा बढी घट्ने गरेको छ । दक्षिण अमेरिका, मध्य र उत्तर अफ्रिका, मध्यपूर्व तथा मध्य एशियामा पनि यस्ता देखिएतापनि, अमेरिका र युरोप जस्ता देशहरुमा समेत यसले प्रभाव पारेपनि धेरै घटनाहरु भन दक्षिण एशियाका देशहरुमा नै हुने गरेको देखिन्छ ।
यस्ता पिडितहरुलाई ठुल्ठुला सर्जिकल उपचारहरुको आवश्यकता पर्दछ । र पनि तिनीहरु पुरानो स्वरुपमा फर्कन सक्दैनन् । अझ यसप्रकारको आक्रमणको शिकार भइसकेपछि तिनीहरुले विभिन्न प्रकारका शारीरिक अक्षमता, औषधी उपचारको आर्थिक भारका साथै मनोवैज्ञानिक आघात र सामाजिक विभेद पनि सामना गर्नुपर्ने हुन्छ ।
एसिड आक्रमणको शिकार भएको मानिसहरु पहिला शारीरिक रुपमा क्षतविक्ष हुन्छन् । धेरै जसो आक्रमणकारीले अनुहारमै हान्ने गरेका छन् । क्षति एसिडको मात्रा, घनत्व र कति समयसम्म छालामा एसिड रह्यो भन्नेमा भर पर्छ । टाउको वा खप्पर, जस्तो संवेदनशिल अंगमा यसले बढी क्षति गर्छ । आँखा, कानको लोती पगाल्छ, आँखा र नाकको चुच्चो खाइदिन्छ, आँेठ खाएर दाँत देखिने र बोल्न नसक्ने बनाइदिन्छ । घाँटी च्यापिएर टाउको घुमाउन नसक्ने बनाइदिन्छ । हात खुट्टा खुम्च्याउन चलाउन नसक्ने बनाउँछ ।
यसका साथै पिडितको मानसिक स्वास्थयमा पनि यसले सिधा असर गर्छ । उपचारको आर्थिक भार त छँदै छ, यसप्रकारको आक्रमणको शिकार भइसकेपछि पिडितलाई समाजमा बस्न पनि मुश्किल हुन्छ ।
एसिड आक्रमण कुनै जाति, समुदाय वा देशका जनता बिच मात्र सिमित छैन । विश्वका धेरै देशका अपराधीहरुले एसिडलाई हतियारको रुपमा लिन्छन् । महिलालाई सुन्दर वस्तुको रुपमा मात्र देख्नेहरुले झन् यसलाई महिला विरुद्ध प्रयोग गर्ने उपयुक्त साधनको बनाएका छन् । कुनै कुनै हमलाहरु त यदि मैले तिमीलाई पाइँन भने अरु कसैले नि नपाओस् भन्ने सोचाइबाट ग्रसित समेत हुने गर्दछन् ।
विश्वका केही प्रमुख देशहरु जहाँ एसिड आक्रमणको घटना घटिसकेको छ ः अफगानस्तान अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, बुल्गारिया, कोलोम्बिया, क्यानाडा, क्याम्बोडिया, चीन, इजिप्ट, फ्रान्स, गाबन, इण्डोनेशिया, भारत, इरान, इटली, जामैका, केन्या, लाओस, मलेशिया, म्यानमार, नाइजेरिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरेबिया, दक्षिण अफ्रिका, श्रीलंका, टाइवान, थाइल्याण्ड, टर्की, यमन, युथोपिया, युगाण्डा, बेलायत, संयुक्त राज्य र भियतनाम आदि ।
एसिड आक्रमणका सम्बन्धका १३ वटा देशका ४० वर्षका दौरान भएका ७७१वटा केसका आधारमा गरिएको एक अध्ययनको आधारमा भन्ने हो भने सबैजसो देशमा (बंगलादेश र टाइवान बाहेक) पुरुषहरु पनि बढी पिडित देखिए । यद्यपि लण्डनमा रहेको एएसटिआइ नामक संस्थाले भने अनुसार ६० प्रतिशत आक्रमण महिलामाथि हुन्छ र ती आक्रमणहरुलाई मामुली मानिन्छन् ।
बंगलादेशमा संसारमा सबैभन्दा बढी एसिड आक्रमण हुने गर्दछ । त्यहाँ यस्तो बढी हुन थालेको १९८३ देखि हो भनिन्छ । एसिड सर्भाइभर्स फाउण्डेशनका अनुसार  सन् २००२मा मात्र २६२ जना पिडित भएको थियो । सन् १९९९ देखि सन् २०१३सम्ममा बंगलादेशमा ३,५१२ वटा त्यस्ता घटना दर्ता भए । यसैसाल देखि विभिन्न अभियानहरुको फलस्वरुप हुनसक्छ अहिले यो क्रम घट्दो छ । सन् २०११मा मात्र ९१ वटा घटना दर्ता भए । यहाँ भएका एसिड आक्रमणका घटनाले यहाँको लैंगिक विभेदको अवस्था छर्लंग देखाउँछ । यहाँ यस्ता घटनाबाट बचेकाहरु मध्ये ८२ प्रतिशत महिला छन् । अझ कम उमेरका किशोरीहरु झन् बढी निशानामा परेका छन् । कूल मध्ये ६० प्रतिशत आक्रमण १० देखि १९ वर्षका किशोरीहरुमाथि भएका थिए भन्ने तथ्यले पनि यो प्रष्ट्याउँछ । खासमा यो पुरुषको सर्वोच्चता अस्वीकार गर्ने महिलामाथि पोखिएको रिस हो । एउटा अध्ययनले त्यहाँ के पनि देखायो भने कूलको ५५ प्रतिशत आक्रमण विवाहको प्रस्ताव नस्विकार्दा भएको छ । बाँकी १८ प्रतिशतलाई श्रीमान वा अन्य परिवारका सदस्यहरुले दुव्र्यवहार गरेको छ, ११ प्रतिशत सम्पत्ति सम्बन्धी झगडामा परेका छन्, २ प्रतिशत यौन वा रोमान्टिक प्रस्ताव अस्वीकार गर्नाले भएको छ । यसको मतलब विवाहका लागि महिलाले पनि मन पराउनुपर्छ, दुबैले मन पराएपछि मात्र प्रेम वा विवाह हुन्छ भन्ने कुरालाई त्यहाँको पुरुष प्रधान समाजले आजसम्म पनि स्वीकार गरिएको छैन र महिलाले नाइँ भन्ने अधिकार राख्दैन भन्ने सोचाइबाट नै समाज निर्दिष्ट भएको छ ।
पाकिस्तानमा पनि अवस्था भयावह नै छ । न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार पाकिस्तानमा सन् २०१०मा ६५ र २०११मा १५० वटा एसिड आक्रमण भए । पाकिस्तानमा भएका एसिड आक्रमणहरु मध्ये धेरै आफन्तले सम्मानको लागि गरेको भन्ने न्यूयोर्क टाइम्सका पत्रकार निकोलस त्रिस्तोफले बताएको छ । मानवअधिकार निगरानी र पाकिस्तान मानवअधिकार आयोगले भने वर्षेनी ४००÷४५० जना एसिड आक्रमणमा पिडितहरु भएको अनुमान गरेको छ । कारण भने विवाह प्रस्ताव अस्वीकार र धार्मिक कट्टरता हुनसक्छन् ।
पाकिस्तानमा भएको एसिड आक्रमण बारे सन् २०१२मा शमरिन ओबाइद चिनोइले “सेभिंग फेस” नामक एक डोकुमेन्ट्री फिल्म बनाएको थियो जुन हिंसामा परेका महिलाहरुको न्यायको लागि लडाइ र एक ब्रिटेनमा बसेका पाकिस्तान मूलका डाक्टरले पाकिस्तानमा आएर एसिड आक्रमणका पिडितहरुको सल्यक्रिया गरेको र एसिड अपराध सम्बन्धी कानुन बनेको इत्यादिमा केन्द्रीत छ । यस फिल्मले अन्तर्राष्ट्रिय एकेदमी र एम्मी एवार्ड प्राप्त गर्न सफल भएको थियो ।

भारतमा पनि यिनै कारणले गर्दा यस्ता एसिड आक्रमण हुने गरेका छन् । बंगलादेशमा भन्दा फरक यहाँ अहिले यो क्रम बढ्दैछ । भारतीय छापा सञ्चारले मात्र सन् २००२ जनवरी देखि सन् २०१० अक्टोबरसम्ममा १५३वटा घटनाका समाचार छापेको छ । यहाँ पनि छापामा आएका खबरहरुको आधारमा भन्नुपर्दा ३४ प्रतिशत एसिडका आक्रमणहरु महिलामाथि तिनीहरुले विवाह वा यौन प्रस्ताव अस्वीकार गर्दा नै भएका छन् । झारखण्डमा सन् २०१२मा सोनाली मुखर्जी यौन दुव्र्यवहारको प्रतिरोध गर्दा एसिड आक्रमणको शिकार बनिन् । जतिसुकै सहासी भएर जीवन यापन गरिरहँदा पनि कहिले काही आफ्नो जीवन बोझिलो त लाग्छ नै । तिनको पिडाले संसारको ध्यानाकर्षण त्यो बेला गर्यो जब तिनले स्वेच्छिक मृत्युको लागि निवेदन दिइन् ।
क्याम्बोडिया अर्को एसिड आक्रमण देश हो । अरु देशमा भन्दा यहाँ फरक के छ भने यहाँ महिलामात्र शिकार हुँदैनन् पुरुष पनि हुन सक्छन् । यहाँ ५१.६ प्रतिशत महिलाहरु आक्रमणमा पर्छन् भने ४८.४ प्रतिशत पुरुषहरुनै पिडित बन्छन् । फेरि अर्को महिलाद्वारा महिलामाथि नै आक्रमण गरेका घटनाहरु पनि यहाँ सार्वजनिक भएका छन् । सन् १९८५ देखि २००९सम्ममा २३६ जना पिडित भएको देखिएको छ ।
इरानमा हालसालै महिलाहरुमाथि गरिएको एसिड आक्रमणलाई त्यहाँका कट्टरपन्थी इस्लामी समूहले राम्रोसंग टाउको नछोपेको कारणले गरेको शंका गरिएको छ । सन् २०१४को अक्टोबरमा नै इश्फान शहरमा मात्रै १४ वटा यस्ता महिलाहरुमाथि एसिड आक्रमण भएको छ । यो आक्रमण कट्टरपन्थी नेता आयातुल्लाह खमेनीको सहयोग पाएको अन्सारे हेजबुल्लाहले गरेको र यसको संरक्षण राज्य पक्षबाट नै भएको, तथा त्यसको बारेमा परिवारलाइै कतै नबोल्न र सामाजिक संजालमा त्यसको फोटो नराखन समेत सरकारी अधिकारीले भनेको दाबी गरिएको छ । यसका विरुद्धमा त्यहाँ निकै ठुलो प्रदर्शन भयो जसलाई त्यहाँको प्रशासनले अश्रुग्यास र खुर्सानीको धुलो सहित रोक्ने प्रयास पनि गरे । अन्य देशमा भएका आक्रमणभन्दा फरक भएपनि यसको आशय पनि यौनजन्य नै देखिन्छ । तिनीहरु महिलाहरुलाई कुमारी, शुद्ध, लुकाइएको र घरमा सिमित गर्न चाहन्छन् र आफ्नो इच्छालाई दबाउन नसकेपछि तिनीहरु महिलाहरुको जीवन कष्टकर बनाइदिन खोज्छन् । एसिड आक्रमण जहाँ पनि हुन्छ तर इरान मात्र त्यस्तो देश हो जहाँ धार्मिक उद्देश्यले यस्तो गरिन्छ ।
अफगानस्तानको पनि यस्तै अवस्था छ । त्यहाँ पनि गत वर्ष महिलाहरु स्कूल गयो भनेर त्यहाँको कट्टरपन्थी तालिबान समूहका समर्थकहरुले किशोरीहरुलाई एसिड आक्रमण गरी त्रसित बनाएका थिए । सन् २०१४ नाभेम्बर १२का दिन एउटै समूहले स्कूल गइरहेका ११जना किशोरीहरु र ४ जना शिक्षिकाहरुमाथि एसिड आक्रमण गरेका थिए । तर किशोरीहरु स्कूल जान भने छोडेनन् ।
जमैकामा पुरुष साथीको विषयमा झगडा गरी महिलाले महिलालाई नै एसिड आक्रमण गरेका घटनाहरु सुन्नमा आउँछन् । नाइजेरिया, इथिओपिया, युगाण्डा र दक्षिण अफ्रिका जस्ता देशहरुमा पनि एदाकदा एसिड आक्रमणका समाचारहरु बन्छन् । तर रिपोर्टहरु हेर्दा त्यहाँ दक्षिण एशियामा जस्तो लैंगिक भेदभावले भन्दा पनि आपसी मनमुटावले गर्दा यस्ता घटनाहरु घट्छन् । र त्यहाँका घटनाहरुमा महिला जस्तै पुरुषहरु पनि पिडित हुन्छन् । नाइजेरियामा हुने गरेका आक्रमणहरुमा ६० प्रतिशत पिडित पुरुष छन् भने ४० प्रतिशत मात्र महिला पिडित छन् । तान्जानियामा भने धार्मिक कलहको परिणाम स्वरुप एसिड आक्रमण भएको छ ।
त्यस्तै किसिमबाट दक्षिण अमेरिका पनि यस प्रकारको हिंसाबाट मुक्त त छैन तर त्यहाँ यसबारे तथ्यांकको अभाव छ । कोलम्बियाको बोगोटामा एसिड आक्रमण भएको रिपोर्ट छ । त्यहाँको कोलम्बियन फोरेन्सिक इन्स्टिच्युटका अनुसार त्यहाँ सन् २०१२मा १६वटा आक्रमण भएको देखिन्छ । र त्यहाका घटनामा पिडितहरु १३ वर्ष देखि ४१ वर्षसम्मका पाइए ।

उत्तर अमेरिकामा एसिड आक्रमण १९औं शताब्दीमा देखिएका थिए तर अहिले कानूनी प्रावधान कडा भएपछि हराएर गए । कहिले काही संयुक्त राज्यमा यस्ता घटना देखिए पनि ती घटनाहरु बढी मादक पदार्थ र लागू पदार्थ सेवनका कुलतहरुको परिणाम भएको पाइएको छ ।
युरोपको कुरा गर्दा आज भोलि एसिड आक्रमण बढ्न थालेको अनुभव त्यहाँ गरिएको छ । बेलायतको तथ्यांकले त्यहाँ गतः ६ वर्षमा यो तीन गुणाले बढेको देखाएको छ । त्यहाँ सन् २०११÷१२मा पेट्रोल, मट्टितलको समेत प्रयोग एकसाथ राखेर हेर्दा १४४वटा यस्ता मुद्दाहरु आएका थिए । त्यसमा अधिकांश एशियाली मुलुकका आप्रवासीहरु भएको र त्यसको कारण एशियाली मुलुकमा हुने जस्ता कारणहरु थिए भनेर भनिएको छ । यसप्रकार हेर्दा यो एशियालीहरुको संस्कृति नै जस्तो देखिन्छ, जहाँ गएपनि संगै लिएर हिँड्ने । यसबाहेक सन् २००८मा ग्रीसमा बसेर टे«डयुनियन अभियन्ता कोन्स्तान्तिभा कुनेभामाथि एसिड आक्रमण भएपछि त्यसको विरोधमा हजारौंले प्रदर्शन गरे । गतः वर्ष तिनी युरोपियन संसदकी सदस्यमा पनि चुनिन् ।

अगष्ट ९, २०१३ मा बिबिसिले एउटा रिर्पोट प्रकाशन गरेको थियो । त्यसका अनुसार एसिड आक्रमण एउटा लैंगिक विषय हो । यसले उदृढ गरेअनुसार यसका ७५ देखि ८० प्रतिशत शिकार महिला हुने गर्छन् र त्यो पनि ३० प्रतिशत त १८ वर्ष मुनिका हुन्छन् । यसले एएसटिआइको तथ्यांक लिएर यो पनि भनेको छ कि हरेक वर्ष संसारमा १५०० घटनाहरु दर्ता हुन्छन्, त्यसमा पनि धेरै त दर्ता नै गरिँदैनन् । भारतमा पनि यो क्रम बढ्दो छ भनेर यसले रिपोर्ट गरेको छ, जहाँ वर्षको १००० वटा जस्तो घटना घट्दछ ।
यस्ता आक्रमणहरु समाजिक वा राजनीतिक कार्यकलापहरु व अन्य धार्मिक विश्वासका कारणले पनि कोही व्यक्ति विशेषमाथि हुँदै आइरहेका छन् । यो कुनै व्यक्तिलाई नै ताकेर वा कोही उक्त मन नपर्ने वा निशानाको धर्म समुदाय वा स्थानीय व्यक्ति भएको कारणले पनि आक्रमण गरिने गर्छ । पाकिस्तानमा त महिला विद्यार्थीहरुलाई स्कुलमा पढ्न गएकै कारणले सजाय स्वरुप अनुहारमा एसिड खन्याइदिएका छन् । एशिया बाहिरका यस्ता घटनाहरु प्राय धार्मिक, आर्थिक वा राजनीतिक हुने गर्दछन् ।

कानूनी उपचार
विशेष गरी दक्षिण एशियाली मुलुकहरुमा एसिड आक्रमणको लहरले बिकराल रुप लिन थालेपछि नागरिक समूह र गैरसरकारी संस्थाहरुको दबाव र पैरवीका कारण केही कानूनहरुमा परिमार्जन गरी वा नयाँ कानून नै ल्याई यसका अपराधीहरुलाई कानूनको दायरामा ल्याउने कार्य केही वर्षदेखि भएको छ ।
बंगलादेशमा पनि यो बिगविगीकै रुपमा थियो तर सरकारले एसिडको किनबेचमा कडा नियन्त्रण गरेपछि यस्तो घटना अलि कम भएको छ । बंगलादेशले सन् २००२मा एसिड आक्रमण गर्नेलाई मृत्युदण्ड दिने र एसिडको विक्री, भण्डारन र अन्तर्राष्ट्रिय ब्यापार नियन्त्रण गर्ने कानून एसिड अपराध नियन्त्रण ऐन र एसिड नियन्त्रण ऐन ल्यायो । यदी उक्त आक्रमणले पिडितको श्रवणशक्ति, दृष्यशक्तिमा प्रभाव पारेको छ वा पिडितको अनुहार, स्तन वा जननेन्द्रीयमा नोक्सान पुर्याएको छ भने पिडकलाई मृत्युदण्ड वा जन्मकैद हुन्छ । शरीरको अर्को अंगमा असर गरेको छ भने ७ देखि १४ वर्षको कैद र रु ७० हजार बराबरको जरिवाना तोक्न सक्छ । अझ एसिड फाल्ने प्रयास मात्र गरेमा वा फालेर पनि पिडितलाई शारीरिक र मानसिक क्षति नपुगेमा पनि ३ देखि ७ वर्षको कैद तथा रु ७० हजारको जरिवाना तोक्न सक्छ । यसबाहेक एसिड आक्रमणको योजना बनाएको मात्र भएपनि घटना घटाएजस्तो सजायको भागिदार बन्नु पर्ने प्रावधान यसमा छ । बंगलादेशमा एसिड आक्रमणलाई लैंगिक अपराधको रुपमा लिइन्छ किनभने तिनीहरुमा त्यस्ता महिला पिडितहरु धेरै छन् जो विवाह वा यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा पुरुष आक्रमणकारीले यस्तो घटना घटाएका हुन्छन् ।

पाकिस्तानमा पनि कानूनमा कडाइ गरेको छ । हरेक वर्ष त्यहाँ पनि २५० देखि ३०० वटा यस्ता घटनाहरु त दर्ता हुने मात्र छन् । पाकिस्तानले एसिड नियन्त्रण र एसिड अपराध रोकथाम विधेयक सन् २०११मा पास गर्यो । यस अनुसार अपराधीलाई ठुलो जरिवाना सहित जन्म कैदको सजाय दिइन्छ (अझ यहाँको किसास कानून अन्तर्गत त अपराधीलाई आँखामा तेजाब खन्याएर सजाय दिइन्छ भनिन्छ) । हालै बनेको यस कानूनले गर्दा त्यहाँ दर्ता गर्ने चलन ३०० प्रतिशतले बढेको छ । यसले पनि राज्यले चाह्यो भने यस्ता अमानवीय हिंसा कम गर्नमा भूमिका निर्वाह गर्न सक्दछ भन्ने देखाउँछ ।
भारतमा सन् २०१३मा भारतीय दण्ड संहीतामा फौजदारी कानून संशोधन गरी एशिड आक्रमणलाई विशेष आक्रमण मानेर अपराधीलाई १० वर्ष देखि जन्मकैदका सजाय र जरिवानाको प्रावधान राखेको छ । यसका साथै २०१३मै त्यहाँ एसिडको विक्री वितरणमा नियन्त्रण राखेर खरिदकर्ताले फोटो सहितको विवरण पेश गर्नुपर्ने प्रावधान बनाएको छ ।

रोकथामका प्रयासहरु
आज संसारभर एसिड आक्रमणको विरुद्ध आवाज उठिरहेको छ । कुनै पनि बहानामा, कुनै पनि कारण देखाएर महिला माथि हुने यो भौतिक, मानसिक र सामाजिक हिंसाका पिडकहरुलाई मुक्ति दिनु हुँदैन भन्ने कुरामा सबै एक मत भएका छन् । अर्कोतिर यसप्रकारको आक्रमण हुन नदिन कस्तो किसिमको व्यवस्था र वातावरण ल्याउने भन्ने विषयमा पनि विश्वभरीनै छलफल बहसहरु भइरहेका छन् । त्यस्तै किसिमले यसका पिडितहरुलाइ कसरी उद्धार गर्ने, तिनीहरुको शारीरिक क्षतिमा उपचार गराउनका साथै सामाजिक, आर्थिकरुपमा कसरी तिनीहरुको संरक्षण गर्न सकिन्छ भन्ने पाटोमा पनि धेरै विचार विमर्श हुन थालेका छन् ।
अधिकांश देशमा एसिड आक्रमणलाई अन्य अपराध सरह मात्र लिएको र त्यस्तै किसिमको मात्र सजायको प्रावधान रहेकोले अपराधको संगीनतालाई ध्यान नदिएको अनूभव गरका छन् महिला अधिकारकर्मीहरु । त्यस्तै त्यो कानूनले अपराधीलाई कुनै पनि बहानामा छोड्न सक्ने भएकोले उसले पुनः तिनै पिडितलाई फेरि हानी पुर्याउन सक्ने सम्भावना पनि उतिकै छ । त्यसैले यसलाई असामान्य र विशेष गरी महिला हिंसा संग जोडेर यस संगको सवेंदनशिलतालाई मध्य नजर राखेर नयाँ अलग्ग कानुन बनाइयोस् भनेर धेरै देशमा महिलाकर्मीहरुले माग गरिरहेका छन् । साथै हरेक देशमा एसिड आक्रमणलाई आआफ्नै किसिमले ब्याख्या गरिएता पनि यसलाई महिला माथि हुने हिंसाको रुपमा बुझेर यसको विरुद्धमा कडा कानूनी प्रावधान राखी पिडकहरुलाई कारबाही गर्नुपर्नेमा पनि सबै सहमत छन् ।

एसिड जही तहीं सजिलै पाउने भएकोले पनि यसप्रकारको हिंसा धेरै घट्ने संभावना भएको देखिन्छ । एसिडको घरेलु, व्यावसायिक र औद्योगिक प्रयोग र उपयोग जस्तो सुकै भएकोले यसको दुरुपयोग भएको देखिएकोले यसको व्यापार वितरण र ओसारपसारमा निगरानी राख्नुपर्ने, कडाइ गर्नुपर्ने निष्कर्श पनि निस्किएको छ ।

राज्य नै यस विषयमा सचेत हुनु पर्ने त छँदैछ । यसका साथै यस्ता घटना धेरै घट्ने देशमा जनताहरु नै जागरुक भएर गैरसरकारी संस्थाका रुपमा यस हिंसा विरुद्ध लड्नका लागि एकजुट भएका उदाहरणहरु पनि उत्साहजनक छन् । विभिन्न देशमा एसिड आक्रमणमा केन्द्रित केही गैरसरकारी संस्थाहरु छन् । सबैले स्थानीय श्रोत र साधन जुटाएर यसको विरुद्ध जनचेतना जगाउन, महिलाहरुलाई सचेत रहन सिकाउन र पिडितलाई न्याय तथा उपचार जुटाउन लागि परेका छन् ।
भारतका एसिड आक्रमणका पिडित शिरिन जुवालीले आफै पलाँस फाउण्डेशन खोलेर अन्य यस्ता पिडितहरुलाई मानोसामाजिक पुर्नस्थापना आदि गरेर सहयोग गरिरिहेकी छिन् ।
यसबाहेक युकेमा आधार बनाएको एसिड सरभाइभार्स ट्रस्ट इन्टरनेशन (एएसटिआइ) स्थापना २००२मा भएको थियो । यसले बंगलादेश, क्याम्बोडिया, भारत, नेपाल, पाकिस्तानमा रहेका आफ्ना भगिनीसंस्थाहरु मार्फत एसिड आक्रमण पिडितहरुलाई सहयोग गर्दछ । यसको मूख्य काम भनेको अन्तर्राष्ट्रिय जगतमा एसिडजन्य हिंसाका बारेमा व्यापक जनचेतना बढाउने हो जसका कारणले एसिड ओसारपसार आदि कार्यमा सरकारलाई नियन्त्रण गर्न दबाव दिन सकियोस् । यसैको आधारमा बंगलादेश, युगाण्डा, पाकिस्तान, भारत क्याम्बोडिया आदि देशहरुमा एसिड सरभाइभर फाउण्डेशनहरु खोलिएका छन् जसले पिडितलाई कानूनी, चिकित्सा र परामर्श सेवा आदि दिने गर्छन् ।
उपचार
यसप्रकारमा एसिडबाट जलेका बिरामीहरुको उपचार विकासशिल देशहरुमा सजिलो छैन जबकि यस्तो हिंसा बढी जस्तो यस्तै देशहरुमा हुने गर्दछ । बर्न सेन्टरहरु युगाण्डा, बंगलादेश र क्याम्बोडिया जस्ता देशहरुमा छन् जुन पर्याप्त भने छैन । कतिपय पिडितहरुले भने एसिड लागेको ठाउँमा पानीमा नपखाली तेल वा अन्य औषधीहरु लगाइदिँदा पनि घाउ झन् बल्झने संभावना बढ्छ । यस्तो बेलामा प्राथमिक उपचारको सामान्य ज्ञान नभइदिंदा पनि धेरै क्षति ब्यहोर्नुपर्छ ।
दक्षिण एशियाका धेरै घटनाहरु महिलाले विवाहको वा यौन सम्बन्धको प्रस्ताव अस्विकार गरेको कारणले बदलाको भावनाले घटाइएका हुन्छन् । यस्तो घटना त्यस्तो समाजमा बढी हुन्छ जहाँ लैगिक असमानता बढी हुन्छ र पुरुषको दाँजोमा महिलाको स्थान तल हुन्छ । अझ महिलाले महिलामाथि गरिने हिंसा समेत पनि कारण हुनसक्छ किनभने त्यस्तो समाजमा लैंगिक असमानता हुन्छ र पुरुष साथ नभइकन महिलालाई सामाजिक र आर्थिकरुपमा असुरक्षित र गौण भन्ने बुझ्न लगाइन्छ । अरु प्रकारका एसिड आक्रमणको कारण दाइजो भएको पनि खुल्न आएको छ । जग्गा र सम्पत्तिको झगडा तथा गुण्डा समुहका सदस्यहरुको आपसी दुश्मनीको कारणले पनि एसिड आक्रमण हुने गरेको देखिन्छ ।

अर्कोतिर पुलिसमा विश्वासै नभएर, आवश्यक पर्दा साथ दिने मानिस नभएर अनि आक्रमणकारीमाथि सजाय हुँदैन भनेर पनि पनि कति एसिड हमलाका पिडितहरुले पुलिस समक्ष रिर्पोट नै दिँदैनन् । फेरि यस्तो मुद्दाहरुमा महिला पिडितहरु नै बढी शिकार हुन्छन् किनभने प्रहरी दुव्र्यवहारका मुद्दाहरुमा त्यति संवेदनशिल भइदिंदैन् । अथवा ती पिडित महिलाकै कुनै दोष निकालेर पिडकलाई अप्रत्यक्ष सुरक्षा दिन पनि ननिस्केला भन्न सकिन्न ।
नेपालमा गत महिना एसएलसी दिन बसेका संगीता मगर र सीमा बस्नेत नाम गरेका दुइ किशोरी माथि सांघातिक एसिड हमला भएकोले यो मुद्दा यहाँ तातिएको छ । केही दिन महिलाकर्मीहरु सडकमा ओर्लिए, समाचार बने । लगभग एक महिना पछि आक्रमणकारी पक्रिए । ब्यूटी बिगार्ने नियतले गरेको भनेर भनिसकेका अभियुक्तलाई केही पत्रकार लेखकहरुले जातीय भेदभाव भएकोले गरेको भनेर समेत लेखी कुरा बंग्याई पिडितमाथि नै पिडा थप्ने कोशिस भइरहेकोले ती लेखकहरुले आम महिलाका पिडामा आफ्नो पिडा देख्ने दिन आउन अझ केही दिन लाग्ने देखिन्छ । हुन त नेपालमा महिलामाथि एसिड आक्रमण भएको यो महिलो घटना त होइन । एसिड आक्रमणमा दोषीलाई कस्तो सजाँय दिने भन्ने यकीन नभएको अवस्थामा ती अभियुक्त पुनः सडकमा खुल्ला हिँड्ने सम्भावना छ । आज पनि पिडकलाई कडा से कडा सजाय दिलाउन महिला अधिकारकर्मीहरुले चाँहिदो दबाव दिन नसकिरहेको अवस्थामा यस्ता घटना फेरि नदोहरिन्न भन्न सकिन्न ।
शिरिन जुवाली
आफ्नै पतिबाट एसिड आक्रमणमा स्वभाविक शारीरिक सुन्दरता गुमाउन पुगेकी जुवालीले हिम्मत हारिनन् र आफ्नो जीवन नै यस विषयमा ठाउँ ठाउँमा प्रवचन दिन थालिन्, जनमानसमा मानिसमा लुकेर रहेको हुनसक्ने यसप्रकारको प्रवृतिबारे परिचित गराउँदै हिँडिन् । यसका साथै तिनी यस्ता कुरुप बनाइएका र त्यसपछि विभेद गरिएका महिलाहरुका पक्षमा पैरवी पनि गर्ने गर्छिन् । तिनको आफ्नो कथा यदि मर्मस्पर्शी छ कि एकपल्ट एउटा कलेजमा तिनले आफ्नो प्रवचन राख्न चाहिन् तर त्यस कलेजको प्रशासनले तिनको कथा सुनेपछि विद्यार्थीहरुमा विहे प्रति नै डर पैदा हुनेछ भनेर तिनलाई प्रवचन दिन नलगाएको थियो ।
“म २४ वर्षकी हुँदा मेरो विवाह भएको थियो । त्यो घरबाट मिलाइएको विवाह थियो र म त्यस विवाह बाट खुशी थिइन । उसले एक दिन मेरो परिवारलाई घरमा बोलाएर मेरो बेइज्जत गर्यो । मैले सम्बन्ध विच्छेद मागें । उसले यसको बदलामा एक लाख रुपैंया माग्यो जुन मेरो परिवार दिन सक्दैनथ्यो । म माइतीमा बस्न थालें । त्यसैले उसले मेरा अनुहारमा एसिड फालेर गयो, त्यो १९९८ को मे २८को रात भएको थियो । ऊ कालो लुगा लगाएर आयो, ममाथि एसिड फाल्यो अनि त्यही राती विदेशमा उड्यो । म विहेबाट खुशी नभएपनि म खुशी थिएँ कि उसले मलाई यो गर्यो । म खुशी थिएँ किन भने म माइती जाने बितिकै सबै मलाई किन मन नपराएको, जा फर्केर जा भनेर भन्थे । म खुशी यस कारण पनि थिएँ कि मैले सबैलाई बयान गर्नुपरेन किन ऊ मेरो लागि सही व्यक्ति थिएन भनेर । जब मेरो अनुहारमा एसिड पर्यो मैले एउटै कुरा मागें, भगवान मेरो आँखामा नपरोस् ।
“दुई महिनाको अस्पताल बसाइमा मैले कहिल्यै नबिर्सने पिडा लिएर फर्कें । एसिडले मेरो व्यक्तिको रुपमा मेरो पहिचान लिएर गयो । मलाई कसैले चिनेन, बच्चाहरु मदेखि डराउँथे । मानिसहरु मलाई हेर्न बोल्न डराउँथे । किन भने म फरक देखिएँ, नराम्री देखिए, म उपयुक्त भइन कतै बोलाइनका लागि । घर फर्कनु, कतै जानु नै चुनौती भयो । मानिसहरुले थरीथरीका कुरा सोध्न छोडेन । भिडमा बसमा मसंग बस्न डराउँथे । बसिहालेपनि मेरो अनुहार देखेपछि उठेर जान्थे । पढेलेखेका युवा केटीहरु समेत मैले सुन्ने गरेर कस्तो यो, म त हेर्नै सक्दिन आदि भन्थे । कोही कोही टोलाएर हेरिबस्थे । यस्तो व्यवहारको सामना गर्नुपर्ने भएकोले म जस्ता थुप्रै पिडितहरु घरबाट बाहिर निस्कन्नन् ।
“हामी कस्तो समाजमा बस्दैछौं ? समाजमा कस्तो सन्देश जाँदैछ । म सानो हुँदाखेरिदेखि म यस्तो देख्थें । एउटा गारो बच्चा र कालो बच्चालाई हेर्ने तरिका फरक हुन्थ्यो । सबै गोरो बच्चा लिन्छन् र कालो बच्चाले यो सब हेरेर यही बुझ्छ कि ऊ यहाँ सुहाँउँदैन । सुन्दरतालाई मिडियाले यही देखाउने हामी आफैले ग्रहण यसरी नै गरिरहेका हुन्छौं । कसैले कतै भने कि दुवैतिर एकैनास भएको (सिमिट्रिकल) अनुहार सुन्दर हुन्छ । अनि हामी जस्ता मानिसहरुलाई के हुन्छ ? मानिसहरुको प्रवृति नै यथार्थमा अक्षमता हो । यसलाई सम्बोधन गर्ने बेला आएको छ , यो स्टेरिओटाइप भत्काउने समय भएको छ । म जस्तो मानिसलाई त्यस्तो ठाउँमा जान मुश्किल हुन्छ, जहाँ मलाई थाहा छ कि मलाई स्वीकार गरिन्न किनभने त्यहाँ एक खास किसिमबाट लुगा लगाएर जानुपर्छ, खास किसिमको देखिनुपर्छ वा श्रृंगार गरिनु पर्छ आदि आदि । मसंग त्यो सबै छैन । त्यसपछि के हुन्छ थाहा छ? यसले मेरो सामाजिक सहभागिताको अवसर कम गर्छ । मलाई एउटा कुना तर्फ धकेल्छ । यही धेरै धेरै महत्वपूण मुद्दालाई सम्बोधन गर्न मैले पलाँस फाउण्डेशन शुरु गरेकी छु । पलाँस भनेको त्यस्तो फूल हो जुन सुन्दर छैन, अगल्लग राखिन्छ ।
“यो संस्थाले विभिन्न कारणले शारीरिक स्वभाविकता गुमाएकाहरु प्रति मानिसहरुको हेर्ने दृष्टिकोण लागि काम गर्छ । दुर्घटना त दुर्घटना हो । म जस्ता पिडितहरु यही कारणले घरबाट बाहिर आउँदैनन् । म तपाइँहरु यसबारेमा सोच्नहुन अनुरोध गर्दछु । कल्पना गर्नुस् कि म जस्तो मानिस सडकमा हजारौं हिँडुन् र तिनीहरुले कतै अप्ठेरो महशुस गर्न नपरुन् । तपाईहरु पनि त सबै आपसमा भिन्न देखिनुहुन्छ । भने हामी जस्तो साधारण नदेखिनेहरु किन एकलासको जीवन बिताउनु पर्छ ।”
लक्ष्मी र आलोक
कहिले काहीं यस्तो सुखद संयोग पनि हुँदोरहेछ जीवनमा, चोटले अप्रत्याशित खुशी ल्याउँछ । सन् २००५मा तिनी १५ वर्षकी लक्ष्मी अग्रवाललाई एकजना ३० वर्षीय युवकले विवाह प्रस्ताव नमानेकोले खुला बजारमा तिनीमाथि एशिड खन्याइदिएको थियो । तिनी चिच्याएको सबैले हेरिरहेका थिए, कोही सहयोग गर्न पनि अगाडि आएनन् । उपचार भयो, आक्रमणकरीलाई जन्मकैद पनि भयो तर आफ्नो सुन्दरता गुमाइसकेकी तिनले सोचेकी थिइन् कि तिनको जीवनका सारा खुशीहरु सोत्तर भएर गइसके र कुनै खुशी देख्न पाउने छैन । तिनले जीवनसंग हार मानिनन् र सातवटा सर्जरी अपरेशनहरु पछि एशिड आक्रमणको विरुद्धको अभियानमा आफुलाई सक्रिय गराउँदै लगिन् । यस्तै हुनु थियो, सन् २०१३मा जीवनको एक मोडमा तिनको यसै अभियानका एक सक्रिय कार्यकर्ता २८ वर्षीय आलोक दिक्षितसंग भेट भयो, जागिर खोज्न जाँदा । ऊ तिनलाई चारवर्ष देखि खोज्दै थिए । तिनीहरुले एकले अर्कालाई बुझे र संगै बाँच्ने निर्णय गरे । तिनीहरुको बिहे नगरी संगै बस्ने निर्णयलाई दुबैको परिवारले स्वीकार पनि गरिसकेको छ ।
लक्ष्मी भन्छिन्, “उनले मेरो पिडालाई बुझ्यो । म भित्रको पिडालाई बुझ्न कठिनै हुन्छ । हामी बाँचुन्जेल संगै बाँच्छौं तर बिहे नगरेर समाजलाई चुनौती पनि दिन्छौं ।” तिनले पछि टिभी एन्कर भएर पनि काम गरिन् र विमिन अफ् करेज एवार्ड जित्न समेत सफल भइन् ।
“मलाई लाग्दैन बाहिरी सुन्दरता ठुलो कुरा हो । मलाइ लाग्छ कि लक्ष्मी सुन्दर छिन् किनभने म तिनको भित्रको मनमा रहेको सुन्दरता देख्छु । यही दिन भनेर त थाहा छैन तर बिस्तारै माया बढ्यो,” आलोकले भन्यो । कानपुरमा जन्मेमा आलोक पहिला पत्रकार थिए अहिले सामाजिक कार्य गर्छन् ।
(यो लेख विभिन्न इन्टरनेटमा प्राप्त विभिन्न तथ्यांक, सूचना र जानकारीहरुका आधारमा तयार पारिएको हो । )
Published in Asmita 03, in 2015 04 15

No comments: