Wednesday, April 15, 2015

रंगमञ्चमा घरेलु हिंसा...सम्बोधी


रंगमञ्च

राजेन मानन्धर
नयाँ सहश्राब्दी, खुल्ला बजार, यौन स्वतन्त्रता वा त्यस्तै जुन नाम दिएर पनि यौन र यौनिकतालाई बजारमा बिक्ने बिकाउने वस्तु बनाउन पाएर हामी छाती फराकिलो पार्दैछौं । सयौ वर्षदेखि हामी यति हुन नपाएर छटपटिरहेको जस्तो देखायौ । र अहिले यो सब पायौं अनि खुशी भयौं पनि । योसंगसंगै हाम्रो समाजमा भएका हामीले नपत्याएका, पन नपराएका थुपै्र मुल्य मान्यता भत्कायौं र खुबै शिक्षित, स्वतन्त्र र आधुनिक भएको धाक पनि लडायौं । तर यसै विजयोन्मादमा हामीले के के गुमायौं भनेर खोतल्न, लेखाजोखा गर्न नभ्याउँदै हामै्र वरिपरि हाम्रै घरबारीमा हाम्रो मात्र होइन मानव सभ्यताकै धरोहरलाई भत्काउने पात्रहरु हामीले जन्माइरहेको हामीलाई पत्तै भएन । थाहा छैन बलात्कार, त्यो पनि पिडितबाट विश्वास गरिएका पुरुषहरुबाट, पहिल्यैदेखि हामी वरिपरी थियो वा अहिले मात्र हामीले यो सब देख्न पुगेका हौं । गत एक दुई महिनामा विशेष गरी नेपालका विभिन्न जिल्लामा बलात्कारका घटनाहरु यति धेरै सार्वजनिक भए कि यसबाट कोही पनि अप्रभावित रहन सकेन । रंगकर्मीहरु पनि ।
आफ्नो होमवर्कको काम छोडेर पनि भाइलाई खाजा तयार पारिदिने जिम्मा पाएकी सन्ध्या । तिनै आफुले सानोदेखि माया गरेर काखमा खेलाएर हुर्काएका भाइबाट जब सपनामा पनि नसोचेजस्तो गरि बलात्कृत नै हुन पुग्छे, तिनी विक्षिप्त हुन्छे । तर पनि आफुलाई पहिलेदेखि मनपराएको व्यक्तिसंग बिहे गर्न त पाउँछे फेरि त्यहाँ आफ्नै ससुराबाट समेत त्यस्तै कुकृत्यको शिकार भएपछि मानसिक सन्तुलन नै गुमाउँछे । आफ्नो लास जस्तो जीवनको अन्त्य आफ्नै माया गर्ने श्रीमान संगै विष सेवन गरेर मुक्ति पाउन खोज्छे तर आफू भने बाँच्न र अस्पतालको शैयामा तड्पिन बाध्य हुन्छे ।
हिजोआज बलात्कार र घरेलु हिंसाका घटना सामान्य जस्तो लाग्न थालेको भान हुन्छ । दिनहुँ जस्तो अखबारका पानाहरुमा यस्ता घटनाका समाचार छापिन्छन् । अझ छाप्न नपाएका समाचारहरु कहाँ कहाँ लुकेर बसिरहेका होलान् । विशेष गरी महिला अधिकारका विषयमा संवेदनशील व्यक्तिहरुलाई यसले नछुने होइन । एक हुल महिलाहरु एक दुइदिन सडकमा ओर्लन्छन् तर तिनीहरुको घाँटी सुकाइले सरकार सुरक्षा निकाय र समाजशास्त्रीहरुलाई समेत हल्लाउन सकेको देखिँदैन, हाम्रा वरिपरि नै भेटिइने ती अपराधीहरुको मनोबल गिर्ने र समाजमा सुधारका संकेतहरु देखिने त झन् संभावना कमै पाइन्छ । यस्तोमा यो सशक्त नाटकले समाजको यथार्थ उदांगो पारिदिएको छ ।
भन्ने कुराहरु थोरै छन् । देखाउने कुराहरु धेरै छन् । दर्शकले बुझ्नुपर्ने कुराहरु झन् धेरै छन् । बलात्कार जस्तो संवेदनशील विषयलाई नाटकमा ल्याउनु चानचुन कुरा होइन  । यस्तो विषयलाई दृष्यमाध्यमद्वारा कलाकारहरुलाई नै मञ्चमा उभ्याएर देखाउनु कम चुनौतिपूर्ण कुरा होइन । यो कुरालाई बुझ्ने गरी दर्शक सामु पस्कनु र आफ्नै आँखा अगाडि घटना घटेको जस्तो देखाएर दर्शकहरुलाई बिदा दिनु जति आवश्यक हुन्छ त्यो भन्दा कयौं गुणा उक्त घटनाले दर्शकको मनमा त्यस्तो कुनै छाप नपरोस् कि यसको सन्देश नै प्रत्युत्पादक नहोस् भनी हेक्का राख्नु । अझ् त्यो कलाकारले लाइभ प्रस्तुत गर्नसक्ने र दर्शकले पचाउने हुनुपनि त्यति नै आवश्यक हुन्छ । यो सबै चुनौतीहरुमा लगभग सफल नै भएको देखिन्छ यो युवा र सिकारु कलाकारहरुको टिम । यस्तोमा पनि निर्देशकले एक हदसम्म आफुलाई सफल साबित गर्नसक्नुभएको छ । त्यो पनि नयाँ कलाकारहरुलाई मञ्चमा उभ्याएर ।
कलाकारहरु मञ्चमा नाचिरहन्छन् उफ्रिहन्छन् । अँध्यारो कोठा, कालो लुगा, कालो मुखौटा जस्ता साधनहरुले दर्शकहरुलाई उक्त घटना र त्यसको परिणामको नजिक नजिक लगिरहेको हुन्छ । उत्तेजनात्मक संगीतले पनि धेरै कुराहरु बोलिरहन्छन् । यसबिच दर्शकहरुलाई कहाली लाग्ने केही यस्ता घटनाहरुको प्रतीकात्मक संप्रेषण यसरी हुन्छ कि सामाजिक प्राणी भनिएका दर्शकहरु हाम्रो समाज कहाँ छ भनेर घोत्लिन बाध्य हुन्छन् । यी कुराहरु मनगढंगे वा उडन्ते होइनन् । हामीले नदेखेपनि नभोगेपनि समाचारपत्रहरुमा सँधै देख्न, पढ्न पाइने वा नपढी सुखै नहुने खालका दृष्यहरु हुन् जुन् हाम्रा लागि नौलो वा बिरानो भने पक्कै होइनन् ।
केही कलाकारहरुले दर्शकको मन जित्न सफल भए भने अन्य केही पात्रहरुलाई कलाकारको उमेर, स्वरले धेरै साथ पाएन । त्यो भन्दा पनि मुख्य कुरा के हो भने ती कलाकारहरु त्यहाँ कला प्रदर्शनको लागि मात्र उभिएनन् , तिनीहरु त आफुले जिउँदै आएको वा जिउन बाँकी समाजको भित्रीतहसम्म गएर त्यसको रेशा रेशा छामेर त्यसको सही चित्रण गर्न आएका थिए । यस्तो विषयमा आफुलाई ढाले जुन विषयमा मानिसहरु कुरा पनि गर्न चाहँदैनन्, आजको दिन सम्म पनि ।
हेर्दा पत्याउन पनि मुश्किल हुन्छ कि सबै कलाकारहरु नयाँ थिए । कोही कोहीको प्रदर्शनमा परिपक्वता त आउन बाँकी थियो तर पनि सबै पहिलो पल्ट मञ्चमा उत्रेका थिए भन्दा पत्याउन गाह्रो हुन्छ । त्यो पनि विशेष गरेर यस्तो संवेदनशिल विषयमा कलाकारिताका शौखिन र भरखर नाट्यकला सिक्दैगरेकाहरुलाई मञ्चमा उभ्याउनको लागि तयार पार्नु नै पनि गाह्रो हुन्छ । उनीहरुले यो विषयको गहिराईलाई बुझेर नै आफुमा त्यस्ता चरित्रहरु भर्न तयार भए । ती कलाकारहरु पुराना क्लासिक विषयमा मात्र आफुहरुलाई हराउँदैन बरु समाजका जल्दाबल्दा कुरामा आफ्ना सिर्जनाहरु पोत्छन् ।  तिनीहरुको कलामा सन्देश पनि छ अनि हाम्रो समाजका लागि खबरदारी अनि हाम्रा चेतनाका लागि दायित्वबोधमो अभिभारा पनि दिन आएका छन् तिनीहरु ।
सानै देखि कथा कविता र नाटक जस्ता विषयमा रुची राख्ने राम केएसीले पहिले केही केही नाटक मञ्चन जस्तो कामको अनुभव त बटुलिसकेका थिए तर यति ठुलो सिंगो नाटक भने बनाएका थिएनन्। तैपनि सबै नयाँ कलाकारहरुका साथमा उत्साह भर्न उनी सफल भए । उनको मात्र १५ दिनको रिहर्सलले सबै मञ्चमा उभिए पनि ।
खासै गाह्रो नै त भएन । सँधै जस्तै हो । सबै मिलेर बनायौं । सबैले मन पराइदिनुभयो, त्यसैमा सन्तुष्ट छौं हामी, उनले भने ।

तर त्यस्तो गाह्रो नभए पनि आर्थिक पक्ष बाट भने ब्यहोर्न नसक्ने भार थियो । हुन त हाम्रो नाटकलाई स्टेजमा उतार्नु नै हाम्रो लक्ष्य थियो, जसमा हामी सफल नै भएको मान्नु पर्छ । तर आर्थिक पक्ष बाट हेर्दा भने हामीलाई गाह्रो नै भएको छ । हुन त कुनै कुनै दिनमा हाउस फुल पनि नभएको होइन तर पनि प्रायः दिनहरुमा दर्शकहरु धेरै हुन सकेन । तर पनि यस थिएटरले हामीलाई धेरै सहयोग भने गरेको छ ।
कुनैबेला नेपालका मल्ल राजाहरु आफै नाटक लेख्थे र खेल्थे पनि । केही दशक अगाडिसम्म पनि काठमाडौंका सडकहरुमा डबलीमा नाटक देखाइन्थे । अब यो उहिलेको कुरा भइसकेको छ । टेलिभिजनको बलमिच्याइको अगाडि संस्कृतिको कुरा गर्नेहरुको केही लागेन । जिउँदा कलाकारहरु मञ्चमा अभिनय गरेको हेर्न बर्षौ कुर्नुपर्ने अवस्था थियो यो संस्कृतिको राजधानीमा पनि । राम्रो कुरा हो कि आज भोलि काठमाडौंमा थिएटर वा नाटकघर खोलेर नाटक देखाउने चलन बढ्न थालेको छ । पानी छिरेर पोखरी बन्ने नाचघर वा चाकरी र भनसुन गरेर मात्र पाइने प्रज्ञा भवनको भर पर्नुपरेको छैन आजभोलि सिर्जनशिल रंगकर्मीहरुलाई । अब कलाकारहरु जागिरे भएर बस्नुपर्दैन । नयाँ कलाकारहरु मात्र होइन, युवा लेखक निर्देशकहरु पनि सिर्जनाको रंगमञ्चमा होमिएका छन् ।
दर्शकहरुले मन पराएर नै त फागुण २८ देखि मञ्चन हुन थालेको यो नाटक चैत्र २१ सम्म लम्बिएको छ ।
जुन देशमा एक वर्षमा हजार बढी महिलाहरु बलात्कृत हुनुपर्छ, र त्यस देशका उपप्रधानमन्त्री जस्तो जिम्मेवाद पदमा बसेका व्यक्तिले सार्वजनिक रुपमा बलात्कारहुनुलाई सामान्य कुरा हो भन्ने आशयको वक्तव्य सार्जनिक रुपमा दिन्छ, त्यो देशमा यस्ता नाटकहरु सडक सडकमा देखाइनुपर्छ । यदि सम्भव भए यसलाई उपप्रधानमन्त्रीको कक्षसम्म लानुपर्छ ।
०००
अन्तर्राष्ट्रिय नारी दिवस एउटा यस्तो अवसर हो जुन दिन विश्वका सबै मानिसहरु एकपल्ट भएपनि महिलाहरुको बारेमा सोच्छन् । विशेष गरी महिलाहरु यसलाई आफ्नो आफ्नै ढंगले मनाउँछन् कोही हामीले अधिकार पाएनौं भनेर दुखेसो गर्छन् कोही हामी स्वतन्त्र हौं भनी कन्सर्ट गर्छन् । यसै सन्दर्भमा एक जमात युवा महिला कलाकारहरुले यसै लाई अवसर मानेर नारी दिवस नामक समूह चित्रकला प्रर्दर्शनीको आयोजना गरे ।
पाटनको नेवाःछेँ आर्र्ट ग्यालरीमा मार्च १३का दिन त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले उद्घाटन गर्नु भएको उक्त प्रदर्शनीमा नौ जना स्थापित र उदयीमान कलाकारहरुका सृजनाले ठाउँ पाएका थिए । शारदा चित्रकार, पुष्पाञ्जली शेरचन, सरिता डंगोल, जास्मीन राजभण्डारी, सुनिता महर्जन, महिमा सिंह, प्रमिला वज्राचार्य, एरिना ताम्राकार र चन्दा श्रेष्ठले आफ्नो आफ्नो दृष्टिकोणलाई महिला, महिला अधिकार र अन्तर्राष्टिय महिला दिवसलाई बुझे र आफ्नो बुझाईलाई कलाको माध्यमबाट ग्यालरीका भित्तामा झ्ण्ड्याए । प्रदर्शनी ३० अप्रिलसम्म चलिरहन्छ ।
Published in Asmita 03, in 2015 04 15.

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...