नेपालको आदिवासी जनजाति आन्दोलनको शुरुवाती दिनदेखि आफ्नै खालको योगदान दिँदै आउनुभएकी पूर्वराज्यमन्त्री एवं समाजसेवी सुश्री भद्राकुमारी घलेसँग इसमताका लागि राजेन मानन्धर र डा. रवीन्द्र रायले गरेको कुराकानीको अंश —
पचासौं वर्षदेखि जनजातिको मुक्ति र अधिकारको लागि भनेर लागिरहनुभएको छ । त्यो बेलाको आन्दोलन र अहिलेको आन्दोलनमा के फरक पाउनु भएको छ ?
जनजाति भनेको कस्ता भने एक छाक खान पाएपछि अरु केही नचाहिने । अधिकारको कुरै गर्न नचाहने । खानु पाएपछि अरु केही नसोच्ने ।
धन्न भारतमा ब्रिटिशहरुले आर्मी लानको लागि पत्याएका कारण संसार देखेका छन् । तर पनि जनजाति भनेका कस्ता भने रबरजस्ता — तानेपछि तन्किने, अनि छोडेपछि जस्ताको त्यस्तै । त्यसैले दुनियाँ देखे पनि, ठुल्ठुलो कुरा सिकेर आए पनि यहाँ फर्केपछि फेरि एक छाक खाने बाहेक समाज र राष्ट्रका लागि केही गरौं भन्ने भावना नै नहुने ।
प्रजातन्त्र आएपछि जनजातिहरुले अधिकार पाएको वा अधिकारको कुरा सम् मगर्न सजिलो भएको जस्तो लागेको छ ?
अहिले प्रजातन्त्र भने पनि लोकतन्त्र भने पनि डाडुपन्यु बाहुन क्षेत्रीहरुकै हातमा छ । बाठाटाठा उनीहरु नै हुन् ।
फेरि व्यवस्था भएर के गर्ने ? हामीमा क्षमतै छैन । हाम्रो क्षमताको विकासै हुन दिएको छैन अनि प्रजातन्त्र आएर मात्र पनि के गर्ने ? यो त हाम्रो लागि बाँदरको हातमा नरिवलजस्तो भयो । यो प्रजातान्त्रिक वातावरणमा पनि हामीले आफ्नो अधिकारका लागि लड्न सकेनौं, अधिकार लिन सकेनौं ।
हामीले त्यत्रो जनजाति महासंघ बनायौं । विश्व नै त्यसलाई मद्दत गर्न तयार छ । विश्वमा उच्च शिक्षा लिएका, उच्च विचार लिएका र शक्ति भएका मानिसहरु छन् । उनीहरुमा यहाँका जनजातिहरु उठोस् भन्ने भावना छ । तर हामीमै क्षमता छैन, हामी नै क्षमतावान् बन्न सकेनौं ।
अवसर भए पनि आदिवासी जनजातिहरु नै आपसमा नमिलेर यस्तो भएको हो कि ?
हो, आदिवासी जनजातिहरुबीच एकता छैन । अर्कोतिर राज्यसत्तामा पहुँच भएका समुदायका मानिसहरु टाठा छन्, उनीहरु बाठा छन् । हामीलाई लडाउँछन्, हामीलाई गिराउँछन् । हामी आपसमा शंका धेरै गर्छौं । शंका नै त हो । कोही मानिस कोहीसँग बोल्यो कि भेट्यो कि अरु कुरा काट्छन्, शंका गर्छन् । नानाथरी कुरा गरेर मिलेर केही गर्छौं भन्नेहरुलाई फाट्छन् ।
यसप्रकारको वातावरण, सारा सिर्जनामा हामी बाँचेका छौं ।
अहिले त सबै आदिवासी जनजाति सबैको लागि भनेर महासंघ बनाइएका छ । केही त गरियो नि, होइन र ?
जनजाति महासंघ त राम्रो हो नि । गर्नुपर्ने कामहरु धेरै छन् । यस्तो विशाल क्षेत्र छ काम गर्नको लागि । तर पनि केही गर्न सकेनौँ । योग्य मान्छे नै पुगेन त्यहाँ ।
महासंघमार्फत आफ्नो हक अधिकारको लागि आन्दोलन त धेरै थोरै गरिरहेकै हो नि । होइन ?
कहाँ त्यसलाई आन्दोलन भन्ने र । त्यस्तो आन्दोलनले नि केही हुन्छ ? अझ धेरै गर्नुपर्छ हामीले ।
संविधान बन्नु अगाडि माओवादीहरुले जनयुद्ध गर्दा पनि जातीय मुक्तिको लागि भनेर गरेको थियो । यति गरेर संविधान सभा भन्यो, संविधान आयो । यो संविधान कस्तो आयो त?
यो पनि हाम्रो लागि आएको संविधान हो र ? यो भन्दा त बरु राजा महेन्द्रको मुलुकी ऐनले दिएको थियो । त्यसको मुकाबिला गर्ने अहिले केही दस्तावेज बनेकै छैन । दलित, महिला र जनजातिहरुको लागि पनि जो अधिकार दिएको छ, त्यसको तुलनामा यसले केही पनि दिएको छैन । खालि माछा माछा भ्यागुतो दियो, लालिपप दिएर चुस्न लगाएको छ । तर यथार्थमा हेर्दा अधिकार भनेको यसमा केही नै छैन ।
यस्तो कसरी भयो ? जनजातिहरु सचेत भइसकेका थिए, लडिरहेका थिए, सडकमा पनि थिए, सदनमा पनि थिए । तर हेर्दाहेर्दै केही पनि नपाउने संविधान कसरी आयो जस्तो लाग्छ ? यस्तो किन भयो ?
किन भयो भन्दाखेरि हाम्रै कमी कमजोरीले गर्दा यस्तो भएको हो । सडक ततायो भन्नुहुन्छ, के ततायो सडक ? खाली जुलुस हिँडेर मात्र त सडक तातिँदैन । कि गोविन्द केसीजस्तो अनसन बस्नुपर्यो । त्यो लु आइज भनेको बेला गयो, अनेकौं लुगाफाटा लगायो बाजा बजायो नाच्यो, यसो हिँड्यो, फर्केर आयो । यति गरेर मात्र त सडक तातिँदैन नि ।
हामीले मूलमन्त्र जस्तो आफ्नो हक र अधिकारलाई समातेर देश हल्लाउनु पर्यो । भन्नु पर्यो, यो हामीलाई चाहियो भने ।
अहिले मधेसीको मागेर के के पाइसके । हामी जनजातिले केही मागेकै छैनौं । कहिले माग्यौं ? जनजातिले आफ्नो भलाइको लागि केही मागै राखेको छैन । अर्काको जुलुसमा मात्र भेँडा र बाख्राजस्तो हिँडेर हुन्छ ? खोई हामीले माग राखेको ?
एक त हामीलाई के चाहिएको छ त्यो नै हामीलाई थाहा छैन ।
त्यसो भए आदिवासी जनजातिहरुलाई के चाहिएको छ जस्तो लाग्छ?
हामीलाई एउटा सुखी सम्पन्न नेपालीले भोग गरेको सबै चिज चाहिएको छ । हामी मात्र नेपाली होइनौं ? किन यो सरकारले हामीलाई जागिर खाने अधिकार नदिएको ? बाहुन क्षेत्रीहरु चाहीँ प्रधानमन्त्री बन्ने, हामी किन बन्न नसक्ने ? यत्रो वर्ष तपाइँले हामीलाई कमारा बनाएर राख्यो, पिपा बनाएर राख्यो, ढोके बनाएर राख्यो । यत्रो वर्ष प्रगति गर्ने उन्नति गर्ने ढोका बन्द गरेर राखेपछि आज त्यसको क्षतिपूर्ति गर्नु पर्छ । यो भनेको आज हाम्रा नानीहरुलाई निःशुल्क पढाउनु पर्यो, उच्च शिक्षा दिलाउनु पर्यो ।
जस्तै चिकित्सा वा इन्जिनियरिङ क्षेत्रमा यति प्रतिशतले जनजाति भित्रको भएसम्म अरुले पढ्न नपाइने भनेर सकारात्मक विभेदको योजना आउनु पर्यो । त्यस्तै सेनामा यति प्रतिशत जनजाति नै राख्नुपर्ने भन्ने नियम बनाउनु पर्यो । अनि उद्योगधन्दा सञ्चालन गर्नेमा पनि जनजातिहरु भएसम्म अरुलाई अनुमति र सुविधा नदिने भन्ने जस्ता योजनाहरु ल्याउनु पर्यो। हरेक ठाउँमा उनीहरुलाई निश्चित प्रतिशत आरक्षण गरिदिनुपर्यो । भारतमा त्यस्तै छ त त्यहाँका जनजातिहरु आज माथि उठ्न पाइरहेका छन् । यसरी आज आदिवासीहरुको ठाउँ सुरक्षित बनाइदिनुपर्यो । उनीहरुलाई पनि योग्य र क्षमता वान् बन्ने अवसर हुनुपर्यो ।
अहिले जातीय पहिचान सहितको राज्य भएको संघीयता नै चाहिन्छ, त्यसबाट मात्रै आदिवासी जनजातिको हकहितको सुरक्षा हुन्छ भन्ने माग अहिले भइरहको छ । त्यो कस्तो लाग्छ?
यो पनि जनजातिहरुले माग्नु पर्ने र चाहिने कुरा हो । आफ्नै राज्य भएपछि उसलाई आफ्नो लागि आफुले गर्ने ठाउँ हुन्छ । र आफ्नो ठाउँमा आफ्नो ढंगले उसले सिक्छ नि ।
यसबाहेक दुइ राज्यका बीचमा पनि विकासको प्रतिस्पर्धा हुन्छ । एउटा राज्यले अर्को राज्यमा भएको विकास हेर्छ र भन्छ, उसले त्यहाँ हाइस्कुल खोलिसक्यो, बाटो खुलिसक्यो, रेल चलाइसक्यो, हाम्रो राज्यमा यस्तो छैन । अनि प्रतिस्पर्धामा आउँछ, समग्र देशकै विकास हुन्छ ।
तर हामी कहाँ चुक्यौं त ? हामीले माग मात्र राख्यौं तर त्यो पाउनको लागि गर्नुपर्ने संघर्षहरु गरेनौं कि?
गर्दै गरेनौ नि । माग पनि कहाँ राखेर नि राज्य पाइन्छ ? सानो नानीले सानो स्वरमा मात्र रोयो भने आमाले दूध खुवाउँदैन, चिच्याएर रुनु त पर्यो, अनि आमाले सुन्छ, अनि दूध खुवाउँछ । यहाँ त मागेकै मिलेन । माग्ने ढंग पनि पुगेन ।
आजको दिनमा जनजातिहरुले आफ्नो हक अधिकारको लागि के गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ ?
जनजातिहरुले केही गर्न सक्दैन । सक्ने भए त गरेर देखाइहाल्थ्यो नि । तर सक्दैन भनेर चुप लागेर बसेर पनि हुँदैन ।
म जनजाति महासंघको अध्यक्ष भएको भए अहिलेसम्म जनजातिका लागि आफ्नै घर हुन्थ्यो, एउटा पुस्तकालय हुन्थ्यो, संग्रहालय हुन्थ्यो, शिक्षालय हुन्थ्यो, कलेज हुन्थ्यो । सुझबुझ पनि नभएकाहरु भाडाको एउटा घरमा बसेका छन्, भत्ता खाएका छन् । यता उता गरेका छन् । त्यस्ता मानिसदेखि के आस गर्ने? यत्रो संविधान बन्दा नि उनीहरुले दिएको कुनै नीति परेन ।
अब गर्ने हो भने जनजाति महासंघले के गर्नु पर्छ?
विदेशले कसरी विकास गर्ने भनेर हेर्नुपर्यो । उनीहरुको विकासबाट प्रेरित होऔं । जनावरहरुको व्यवहार हेरौं न । उनीहरुमा एकता भयो भने शत्रुलाई नमारी छोड्दैन । एकता भनेको यति ठुलो कुरा हो । यो कुरा हामी जनजातिहरुले सिक्नु पर्छ ।
यस्तो ताल हो भने आदिवासी जनजातिले सबै राज्यको अधिकार पाउन एक दुई पुस्ता त पर्खनै पर्छ जस्तो देख्दैछु ।
त्यस बीचमा हामीले गरिहाल्नु पर्ने कुरा भनेका सबैले आआफ्नो छोराछोरीहरुलाई शिक्षा दिलाउनु पर्यो । कुनै गरिब देख्यो भने दान गर्न मन लाग्छ भने उसको शिक्षाको लागि गर्नु पर्छ ।
(तस्बिर : डा. रवीन्द्र राय)
Published in www.esamata.com on 2016 04 24http://esamata.com/interviews/%E0%A4%86%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80-%E0%A4%9C%E0%A4%A8%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%B9%E0%A4%95-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95/
No comments:
Post a Comment