Thursday, October 20, 2016

20161020 नेवाः नेतृत्व र नेवाः राज्यको सपना


राजेन मानन्धर
एकातिर आगो बलिरहन्छ, रगत बगिरहन्छ, दिनदिनै आन्दोलन पनि भइरहन्छ । प्रदर्शन, गोष्ठी वा अन्तरक्रिया भएका समाचार पनि सुनिन्छ । अर्काेतिर धेरैजसो मानिस समाचार मात्रै सुन्दै बसिरहन्छन्, मूक दर्शकका रुपमा ।
उता सडकमा आफ्नो पहिचान र अधिकारका लागि उत्रेका जनतामाथि गोली दागिएको समाचार समेत देखिन्छ, यता राजधानीमै बस्ने नेवारहरु आफ्नो घर छाडेर सडकसम्म निस्केको देखिएन । यो यथार्थ आजको दशकको हो, दुई तीन दशकको इतिहासको कथा होइन ।
त्यसो त आज पनि यहाँ मानिसहरुलाई २०४६ सालको आन्दोलनमा नेवारहरुले गरेको संघर्षको कथा सुनाउन पुगेको छैन । हिजो त्यो एउटा सत्य थियो, तर आजको यथार्थ के हो भने काठमाडौंका नेवारहरु आन्दोलित छैनन् । यहाँका नेवारहरु कुनै पनि आन्दोलनको सडकमा छैनन्– न भाषिक अधिकारको आन्दोलनमा, न धर्म निरपेक्षताको आन्दोलनमा, न जातीय पहिचानसहितको संघीय राज्यको आन्दोलनमा । सडकमा देखिने आन्दोलनकारी जनजाति, दलित र धर्मावलम्बीहरुको एउटै प्रश्न – खै, नेवारहरु कहाँ छन् ?

नेवारहरुलाई फुर्सद छैन भनौं भने जात्रापर्वमा र भोजभतेरमा उनीहरुको त्यतिकै उत्साहजक उपस्थिति हुन्छ तर अधिकार माग्ने ठाउँमा भने पुग्दैनन् उनीहरु । अनुसन्धानको विषय हुनुपर्ने भएको छः आजका नेवारहरु किन र कसरी यथास्थितिमा रमाउने र प्रतिगमनको पृष्ठपोषक हुन पुगे ?
आफ्नो नाकैमुनि त्यस्ता नेपालीहरुले दिनहुँ आन्दोलनको नेतृत्व गरिरहेका छन् जसले पच्चिस वर्षअघिम्म अधिकार माग्न पनि जानेका थिएनन् । आज त उनीहरुलाई अधिकार मागेर मात्र पाइँदैन रहेछ भन्ने दिव्य ज्ञान पनि थाहा भइसक्यो, तर यता नेवारहरु भने अधिकार माग्न पनि हिच्किचाउँदै छन् ।
एउटा दृश्यः गत भाद्र २० गते ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको भवनमा प्रादेशिक मोर्चाहरुले संयुक्त रुपमा ‘संविधान संशोधनमा प्रादेशिक मोर्चाहरुको चासो’ विषयक अन्तत्र्रिmया गरे । लगभग पाँच सय जनाको हाराहारीमा विभिन्न जिल्लाका पहिचान पक्षधरहरुको बलियो उपस्थिति भयो । उपेन्द्र यादव, महन्त ठाकुर र कुमार लिङदेनलगायतका नेताहरुले अहिलेको अवस्थामा पहिचान पक्षधरले अझ आन्दोलन गर्नुपर्ने आवश्यकता आंैल्याए । तर त्यहाँ नेवारहरुको उपस्थिति शून्यप्रायः थियो ।
लेखकलाई सम्झना भयो, गत साउन ११ को साँझ नयाँ बानेश्वरको खुला बाटोमा जनजातिहरुको धर्ना कार्यक्रम सकिएको थियो । त्यहाँ नेवाः स्वायत्त राज्य संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमि र नेवाः संघया अध्यक्ष मनराजा शाक्य दुई जनाले भुइँमा ओछ्याइएको रातो झण्डा र नेवाः स्वायत्त राज्य मंकाः समितिको ब्यानर (विशेष कारणले त्यसमा संघर्ष समिति लेखिएको थिएन) एक एक वटा भुइँबाट उठाए, टकटक्याए र पोको पार्दै फर्के, त्यहाँ अरु नेवारहरु एक दुईजना मात्रै थिए । यही हो नेवार नेतृत्व र आन्दोलनको यथार्थ– गुलियो, पिरो वा टर्रो भए पनि ।
पन्ध्र सोह्रवटा पार्टीका भ्रातृ संस्थाहरु र जुझारु भनेर चिनिने संस्थाहरु मिलाएर बनाइएको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति पनि ठूला पार्टीका खेलौना मात्र भए । काम गरेर भन्दा पनि काम नगरेरै चर्चामा आउने नेवारहरुको राष्ट्रिय संस्था भनिएको नेवाः देय् दबू विघटन भएको औपचारिक समाचार आएको छैन । तर दबू समेत यस संक्रमणकालमा कतै पनि अर्थपूर्ण रुपमा उपस्थित भएन । अनि अरु नेवार संस्थाहरु नि ? देय् दबूको चुनावमा आफ्नो पार्टीको वा आफ्नो नेताको खेमाका उम्मेदवारलाई जिताउन मात्रै जिउँदो भएको प्रमाणपत्र बोकेर हिँड्ने नेवार संस्थाहरु पनि यस्ता आन्दोलनमा देखिँदैनन् ।
सन् २००३ मा परोपकार स्कुलको हलमा माओवादी नेता दिलिप महर्जनले भर्खरै सार्वजनिक भएलगत्तै एकजना नेवार नेताले नेवार जनसेना बनाउने र नेवाः राज्य ल्याइछाड्ने हुँकार गरेका थिए । खुबै ताली बजेको थियो त्यसबेला दर्शक दीर्घाबाट । सायद जनतालाई चाहिने यही हो भनेर त होला । एक दशक नाघ्यो, कसैले पनि नेवार जनसेना बनाउँछु भनेर भाषण गर्नेलाई कति जना जनसेना तयार भयो भनेर सोध्यो कि सोधेन ? यसरी नसोध्ने भएकोले नै मनलागी बोलेर हिँड्नेहरु धेरै भएको हो नेवार समाजमा । तिर्खाएकालाई पानी दिन्छु भन्ने, भोकाएकालाई खाजा दिन्छु भन्नेहरु बढ्दै छन् । यसरी रंगीन सपना बेच्नेहरुको एउटा रंगमञ्च भएको छ नेवार समाज ।
एकपल्ट त नेवारहरु रंगशालामा गर्जेकै थिए । जसरी भए पनि लाखौं लाख नेवारहरुले एकैपल्ट एकै आकासमुनि नेवाः स्वायत्त प्रदेशको रातो झण्डा फहराएकै थिए । तर त्यसबेला पहिचानसहितको नेवाः राज्य चाहिन्छ भनेर रंगशालाको टन्टलापुर घाममा उभिन आएका ती आम जनताले पनि एकपल्ट त आफ्नो नेतृत्वलाई खोई हामीले झण्डा फहराएको नेवाःराज्य भनेर सोध्नुपर्ने थियो । साँच्चै यति नै हो त राजधानीमा बस्दै आएका, सबैभन्दा बेसी आर्थिक, सांस्कृतिक हिसाबले सम्पन्न ठानिएका अनि शिक्षित व राज्य श्रोतमा समेत पहुँच भएका भनेर भनिएका नेवारहरुको हैसियत ?
त्यसैले नै आज न रंगशालामा घोषणा गरेर कुनै रस आयो, न वसन्तपुरमा पुष्पकमल दाहाललाई नेवाः राज्यको घोषणा गराएको घटनाबाट कुनै प्रतिफल प्राप्त भयो । त्यति बेला नेवाः राज्यको घोषणा गर्नेहरुले आज आआफ्नो बाटो छानिसके, आम नेवारहरु भने जसले जे बोले पनि ताली बजाइदिने भूमिकामा मात्र सीमित भए । ती दुवै घोषणासभामा नेवार आयोजकहरुले घाँटी नसुकुन्जेल कराएका थिए तर त्यसपछिका दिनमा तीमध्ये कसैले पनि राज्य ल्याउने ठोस काम गरेनन् । देशमा ठूलठूला राजनीतिक परिवर्तन भए, चुनाव भए, सत्ताका लागि लुछाचुँडी भए तर उनीहरु रमिते मात्र भएर बसे । त्यसैले आज नेवाः राज्यको सम्भावना हराइसक्दा पनि ती नेताहरुलाई अलिकति ग्लानि महसुस भएको छैन । उनीहरुले त्यसबेला गलत बाटो देखाउन पुग्यौं भनी न जनताकहाँ आएर क्षमा मागे, न त एकपल्ट भए पनि नयाँ बानेश्वरमा गरेर उभिऔं भनेर आह्वान नै गरे । उनीहरुको भूमिका त करारको जागिर खाएका कर्मचारीजस्तै देखिन्छ, जसले करार भएसम्म काम गर्छन्, करार सकिएपछि आआफ्नो बाटो लाग्छ्न । अहिले थाहा हुँदैछ—त्यतिखेरका नेवार नेताहरु भनेका आफ्ना पार्टीका नेताहरुको पोलिटिकल हाइट बढाउन प्रयोग गरिएको मोहरा मात्र थिए !
आफूले पत्याएका, आदर्श ठानेका नेताहरु यति चाँडै बदलिन सक्छन् वा उनीहरुले बाटो मोड्छन् वा जनतालाई बीचबाटोमा छाडेर दुई चार पैसाका लागि बार्गेनिङमा लाग्छन् भनेर जनताले सोचेका पनि थिएनन् । आजसम्म पनि उनीहरुलाई विश्वास भइरहेको छैन, कुनै बेला नेवाः राज्यका ठूल्ठूला कुरा गर्नेहरु कतैबाट सञ्चालित थिए भनेर । अन्यथा जनतामा जातीय गर्व जगाई, स्वाभिमान उठाई, आफ्नो राज्य आफै बनाउने सपना देखाई त्यत्तितकै रनभुल्लमा पारेर ती नेताहरु पर्दा पछाडि लुक्न जाने थिएनन् ।
नेवाः राज्य ल्याउने उद्देश्यका साथ गठन गरिएका ठूल्ठूला भनिएका संस्थाहरुले १६ बुँदे सम्झौतापछिको अवस्थामा यस्तो सम्झौता ठिक हो कि होइन, किन यस्तो सम्झौता गर्यौ भनेर आफ्ना पहिलेका नेताहरुलाई सोधेको जानकारी पनि आएको छैन । त्यसैले चाहे धर्म निरपेक्षताको सवालमा होस् वा १६ बुँदे सम्झौताले बनाएको छ वा सात प्रदेशका सवालमा होस् वा स्यालको सिङ भइसकेको नेवाः राज्यका सवालमा होस्, कोही बोलिरहेका छैनन्, सडकमा आवाज उठाउन कुनै पनि व्यक्ति आइरहेका छैनन् ।
नेवाः राज्य घोषणा भएदेखि नेवाः राज्य कति ठूलो हुन्छ, यसको सिमानाले कहाँ कहाँसम्म छुन्छ, किन यति ठूलो वा यति सानो बनाउने, नेवारहरुको आदिभूमिलाई कसरी नेवाः राज्य बनाउने अनि नेवाः राज्यको श्रोत के हो, यसले कस्तो मोडेलको स्वायत्तता पाउने, अवसर र चुनौती के के होलान्, नेवाः राज्य आएपछि आवश्यक जनशक्ति कसरी बनाउने अनि नेपालजस्तो बहुजातीय देशमा राष्ट्रिय अखण्डता बरकरार कसरी राख्ने ? यी प्रश्नमा ती नेताहरुले सोच्दै सोचेनन्, बरु सपना मात्रै बेचिरहे ।
यसको मतलब भोलि कसैगरी नेवाः राज्य कतैबाट झर्यो भने चीफ मिनिस्टर हुनुपाउनुपर्छ भन्ने मागदाबी गर्ने त भए तर यसका लागि जनतालाई सपनाका पछाडि दौडाउने बाहेक केही तात्विक र ठोस काम गरिएन । यसैबाट प्रस्ट छ, उनीहरुलाई नै नेवाः राज्य आउँछ भन्ने विश्वास थिएन । अझ भन्ने हो भने उनीहरुसँग नेवाः राज्य ल्याउने कुनै योजना नै थिएन ।
संघीयता स्थापित भएमा देश टुक्रिन्छ भनेर एउटा समुदायका मानिसहरु भन्दैथिए । संघीयता ल्याउनु भनेको र पाँच विकास क्षेत्रलाई संघ बनाउने भन्नेहरुले आफूखुसी रातारात ६ प्रदेशको नक्सा तयार पारे । उता संघीयता खोज्नेहरु नै सबैको राजधानीलाई नेवाः राज्य भनेर स्वीकार्न अनकनाए । फेरि ‘नेवाः राज्य आयो भने बाहिरबाट आएर बसेकालाई धपाउँछ’ भनेर हाउगुजी फैलाउनेमा उनै उच्च जातका पढेलेखेका विद्वानहरु नै सक्रिय थिए । अझ नेवारले घर बनाएर बसेको शहरी बस्तीभन्दा बाहिरको हरियो समेत पनि नेवाः राज्यभित्र पर्न नहुने विचार पनि संघीयताका पक्षहरुहरुले दिइरहेकै थिए । यी सबै दृश्य देख्दा आम नेवारहरु संघीयता र नेवाः राज्यबारे एकमत हुन नसक्नु अस्वाभाविक थिएन ।
यस्तो अवस्थामा पनि संघीयताका पक्षधर पार्टीका नेताहरु र नेवाः राज्यको कार्यक्रममा अनुहार देखाउन मन पराउने नेताहरुले नेवाः राज्यबारे सबैलाई चित्त बुझ्ने धारणा यथार्थको धरातलमा दिन नसक्नु सबै नेवारका लागि नै दुर्भाग्यको कारण बन्यो । सायद त्यसैले हो, नेवारहरु जातीय अधिकारबारे सचेत भएर पनि, नेवाः पहिचानसहितको नेवाः राज्य आयो भने एक जातीय व्यवस्थाको २५० वर्षसम्मको थिचोमिचोबाट मुक्ति मिल्छ भन्ने बुझेर पनि सडकमा आउन र शंकास्पद अवसरवादी नेवार नेतृत्वको पछि लाग्न अस्वीकार गरेको ।
बाहिरबाट जेजस्तो देखिएता पनि नेवारहरु सबै संघीयताका विरोधी वा नेवाः राज्य नचाहनेहरु होइनन् । समस्या के हो भने नेवारहरुलाई एक हदसम्म उचालिसकेपछि कतै बार्गेनिङको खेल खेल्न जानेहरुले बोल्नुपर्ने ठाउँमा नबोली बसिदिएपछि सामान्य नेवारहरुले आफ्ना नेताहरुको चरित्र बुझे, उनीहरुका अगाडि पुतली बन्न अस्वीकार गरे । सही नेतृत्व चाहिने भनेकै यस्तो अवस्थामा त हो । आज स्वशासनसहितको नेवाः राज्यको आवाज उठाउनु पर्छ भनेर अधीर भइरहेका नेवारहरु एक सक्षम विश्वासिलो र दूरदर्शी नेतृत्वको अभावमा छटपटिएर बसिरहेका छन् । एकाध मान्छे भावना र उत्तेजनामा बिनाकार्ययोजना नेवाः राज्यको झण्डा बोकेर सडकमा हाम्फालेर केही हुनेवाला छैन ।
यही हो आज नेवारहरु सडकमा नओर्लिनुको कारण । पहिलो त कुनै नेवार नेताले पनि नेवाः राज्य आउँछ कि आउँदैन भन्न सकेको होइन । त्यतिबेला आफ्नो तर्फबाट मिहेनत गरेन, अब कसैले थालमा राखेर पस्कनेवाला छैन । जातीय पहिचानका लागि भन्दै बन्दुक समाउन लगानेहरुले अब मुख मोडिसके, पहिचानको ‘प’ सुन्न नचाहने नस्लवादीहरु सरकारमा पुग्दा पनि फूलको माला लगाइदिनेले झन् के गर्लान् ?
अझ त्यसमा पनि अन्य आदिवासी जनजातिलाई भन्दा काठमाडौं उपत्यकाका आदिवासीलाई आफ्नो पहिचानको राज्य निर्धारण गर्न सय गुणा बढी कसरत गर्नुपर्छ भन्ने पनि सबैलाई थाहा छ । अनि नयाँ परिस्थितिमा नेवाः राज्य नआउने भएपछि के गर्ने भनेर पनि कुनै नेताहरुले आफ्नो विचार राख्न सकिरहेको अवस्था अहिले छैन ।
यथार्थ के हो भने आज पनि नेवारहरुलाई नेवाः राज्यलगायतका पहिचानसम्बन्धी मुद्दामा नेतृत्व गर्न सक्ने त्यस्तो नेतृत्व चाहिएको छ– हो, नेवाः राज्यको सवालमा पुरानो र नयाँ पुस्ताका नेवारहरुमा उब्जेका प्रश्नको उत्तर दिनसक्ने, नेवाः राज्यको आवश्यकताबोध गराएर एकै समुुदायको मात्र हालिमुहाली हुने यो कथित लोकतन्त्रको विकल्प खोज्न नेवारहरुलाई शान्तिपूर्ण आन्दोलनका लागि सडकमा ल्याउन सक्ने नेतृत्व । कहीँ छ भने अझै ढिलो भएको छैन ।
यसरी नौ महिने करारमा सत्ताको ठेक्का लिनेहरु तब पन्छिने छन् जब नेवारलगायत सबै उपेक्षित उत्पीडित र सीमान्तकृत आदिवासी जनजाति मधेशी, मुस्लिमहरुले एकै स्वरमा यो अलिखित नस्लवादको विरोधमा सम्पूर्ण देशको विकास हुने र विकासमा सबै जनता समानुपातिक ढंगबाट विकास गर्ने विकल्पका लागि आवाज उठ्नेछ ।
Published in www.esamata.com on 2016 10 20
http://esamata.com/insight/%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%83-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%B5-%E0%A4%B0-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%83-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C/

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...