Thursday, July 7, 2016

20160708 थारु अष्टिम्की चित्रकलामा महिला हात


थारु अष्टिम्की चित्रकलामा महिला हात
आफ्ना बुबा र दाजुहरुले माटोको डेहरी (बोर्ड वा क्यानभास) बनाएर त्यसमा सुन्दर अष्टिम्की चित्र कोरेको देखेर दंग पर्ने गर्थिन् दाङकी सरिता पछालडंग्या चौधरी ।
उनी सानो छँदा काजगमा चित्रहरु कोर्ने गर्थिन् । चित्रकालामा सानैदेखिको रुचि थियो उनलाई । तर विशेष गरी पश्चिमका थारुहरुको पहिचान बोकेको अष्टिम्की चित्रमा भने उनको हात धेरै पछि मात्र गयो । किनभने पहिले पहिले महिलाहरुलाई यस्तो चित्र बनाउन निषेध गरिएको थियो ।
सरिताको जिद्दीपन र उनको बुबाको प्रगतिशील विचारले उनलाई सघाए । यसरी उनले आफ्नो हात अष्टिम्कीको पृष्टभूमिमा टेकाउने अवसर पाइन् । अहिले उनी थारुहरुकै एक आशाको किरण बनेकी छिन् । उनले थारु कलाकारिताको संरक्षण गर्छिन् भन्ने आशा जागेको छ ।
अष्टिम्की चित्रहरु खालि सजावटका वस्तु वा पूजा आराधनाका सामग्री मात्र नभएर पश्चिमी थारुहरुकै एउटा पहिचान हो । थारुहरुमा पनि विशेष गरी दाङ, देउखुरी, कैलाली र कञ्चनपुरका थारुहरुमा यस कलाले विशेष महत्व राख्दछ ।
“म हेरिबस्थें दाइहरुले बनाएको । मलाई बच्चैदेखि चित्रकलामा रुचि भएकोले त्यो सबै धेरै राम्रो लाग्थ्यो । तर हामी केटीमान्छेलाई यस्तो काम गर्न दिँदैनथ्यो । तर मेरो बुबाले साहस गर्नुभयो र मलाई पनि अष्टिम्की बनाउने अनुमति दिनुभयो । त्यसैले आज म गर्व गर्छु कि हाम्रो समाजको कला संस्कृतिलाई जोगाउन मैले पनि अलिकति भए पनि योगदान दिन सकिरहेकी छु”, उनी भन्छिन् ।
sarita02
अष्टिम्की सीधा अर्थमा भन्दा अन्य हिन्दुले भन्ने कृष्णाष्टमीसँग सम्बन्धित छ । यस दिन चित्र बनाउने व्यक्तिले बिहान नुवाइधुवाइ गरेर चित्र बनाउन सरसामान जुटाउनु पर्छ । पहिले माटोको डेहरी बनाइन्छ । त्यसपछि घरमा वा जंगलमा पाइने विभिन्न वनस्पतिबाट आवश्यक रंग बनाइन्छ । जस्तै पवइ भन्ने वनस्पतिबाट रातो, सिमीमो पातबाट हरियो, लौकाको खपटी जलाएर कालो इत्यादि । त्यसपछि त्यो रंगलाई सिन्कामा कपास बेरेर बनाइएको एक प्रकारको ब्रसबाट चित्र बनाइन्छ ।
अष्टिम्की चित्रको विषयवस्तु एउटै हुन्छ । यो मुख्यगरी संसारको श्रृष्टि, मानव जातिको जन्म र कृष्ण वा कान्हाको जीवनलीलासँग सम्बन्धित हुन्छ । थारुहरुको जगत र मानव जातिको विश्वास यी चित्रमा पाउन सकिन्छ । यसको मुख्य भागमा कान्हा राखिन्छ, माथि दायाँ सूर्य र बायाँ चन्द्रमा राखिन्छ, पिँधमा तीनवटा खण्ड हुन्छन् — एउटामा जलाशय हुन्छ जसमा माछा, गँगटो, गोही हुन्छ, अर्काेमा गुरुबाबा हुन्छ । थारु मिथकअनुसार गुरुबाबाले गड्यौंला र गँगटोको सहायताले पातालबाट अमरमाटी भन्ने माटो ल्याएर संसारको श्रृष्टि गरेका थिए ।
त्यस्तै, बीचमा कदमको रुख हुन्छ । त्यसमाथि तेस्रो खण्डमा कान्हाको चित्र हुन्छ र त्यहाँ बाँदरको पनि उपस्थिति हुन्छ । बाँदरबाटै मानिस बनेको हुनाले मानव सभ्यताको चित्रणमा बाँदरको उपस्थितिलाई प्रतीकात्मक रुपमा हेरिन्छ । त्यहाँ डुंगा हुन्छ र त्यसमाथि गुरुबाबा बसेको हुन्छ । थारुहरु कुनै बेला यो संसार जलमग्न हुन्छ अनि त्यसबेला गुरुबाबाले फेरि नयाँ श्रृष्टि चलाउँछ भनेर विश्वास गर्छन् । समग्रमा भन्दा अष्टिम्कीमा तीनवटै कालखण्डको चित्रण हुन्छ, प्रतीकको रुपमा भए पनि ।
यति मात्र होइन, यसमा कतै कतै रामायण र महाभारतका प्रसंग पनि जोडिन्छन् तर थारुहरुले चित्रण गर्ने ती हिन्दु मिथक भने मौलिक र अलग हुने गर्छन् । विश्वमा अनेक खालका रामायण र महाभारत भएजस्तै ती साहित्यिक रचनाबारे उनीहरुका पनि आफ्नै मिथक र व्याख्या छन् । जस्तै, उनीहरु सीता भित्रभित्रै रावणलाई मन पराउँथे भन्ने गर्छन् भने उनीहरु पाँच जना पाण्डवका पाँचैजना द्रौपदी भएको विश्वास पनि गर्छन् ।
यस्तो समृद्ध कला संस्कृतिका धनी पश्चिमी थारुहरुकहाँ अब यस्ता अष्टिम्की चित्रहरु बन्नै छाडिसके, वा भनौं, निकै कम बन्छन् ।
कलाकार सरिता भन्छिन्, “पहिले यस्तो अष्टिम्की मटाँवा (मुखिया)हरुले आफ्ना गाउँका थारुहरुलाई बोलाएर उनीहरुको घरमा अष्टिम्की बनाउन लगाउँथे र हामी सबै उनीहरुकहाँ पूजा गर्न जान्थ्यौं । अब हाम्रा गाउँमा पहिले जस्तो मटाँवा (मुखिया)हरुको राज चल्दैन । अब कोही पनि अष्टिम्की लेख्न बोलाउँदैनन्, कोही पनि जाँदैनन् । बरु आआफ्नै घरमा बजारमा किन्न पाइने सामान्य कृष्णजीको फोटो ल्याएर पूजा गर्छन् ।”
अष्टिम्की भनेको चित्र मात्र पनि होइन । यो बनाउन खास नियम पालन गर्नुपर्छ । जस्तो कि बिहानै उठेर नुहाइधुवाइ गरेर बस्नुपर्छ, खाना खानु पनि हुँदैन । यसको निर्माणपछि थारुहरु आआफ्नो घरमा गएर फलफूलमात्र खाएर फेरि साँझ त्यहीँ गएर रातभरि जाग्राम बसेर कृष्णजीकै गीत गाउने चलन थियो, जसलाई अष्टिम्की गीत भनिन्छ । यसप्रकारका गीतमा बाजा बजाइँदैन र दुईटा समूहमा विभाजित भएर आपसमा मिलेर गीत गाउँछन् ।
tharu_astimki
अनि बिहान फेरि तीन थरी वा पाँच थरी सब्जी बनाएर, पूजा सामग्री राखेर नजिकैको खोलामा सेलाइन्छ । त्यसपछि त्यहीँ नुहाएर घरमा गइन्छ । यसो गर्यो भने शरीरमा हुने रोग नाश हुन्छन् भनेर तिनीहरु विश्वास गर्छन् । त्यसपछि घरमा पकाएको सब्जी इत्यादि आफन्त चेलीहरुलाई दिनु पनि पर्छ । तिनीहरु यसलाई विशेष महत्वका साथ लिन्छन् र ल्याइदिएन भने मन दुखाउँछन् ।
उनी सम्झन्छिन्, पहिले मटाँवाहरु आफ्नो अधिकारै सम्झेर गरिब थारुहरुलाई आफ्नो घरमा अष्टिम्की बनाउन लगाउँदथे, त्यो पनि ज्याला समेत नदिएर । अब त्यो हट्यो, जुन एक किसिमले राम्रो त भयो, तर त्यससँगै थारुहरुको एउटा सम्पदा पनि बिलाएर गयो ।
“अबको बदलिँदो परिस्थितिमा अष्टिम्की कलालाई कसरी जोगाउने भन्ने नै ठूलो प्रश्न बनेको छ” — सरिताको प्रश्न छ । “अब परिस्थिति केही बदलेको छ । अष्टिम्की बनाउनलाई नै मटाँवा जीवित पार्नुपर्छ भन्ने पनि होइन । तर नयाँ नयाँ वातावरणमा अष्टिम्कीलाई बचाइराख्ने प्रयास भइरहेका छन् । म पनि सक्दो काम गर्दैछु ।”
अहिले अन्य जातजातिमा जस्तो थारुहरुमा पनि आफ्नो पहिचानको लागि भाषा, धर्म, कला, संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ । थारुको पहिचान भनेको उनीहरुको कला पनि हो । यहाँ अहिले बेलाबेलामा थारु कला प्रदर्शनी हुन्छ र त्यहाँ अष्टिम्की कलाको पनि प्रदर्शनी हुन्छ ।
उनी २०६९ माघमा दाङको घोराहीमा भएको चित्रकला अष्टिम्की प्रतियोगितामा सहभागी भइन् । र, त्यसमा उनको अष्टिम्की उत्कृष्ट पनि भयो । २०७० सालमा पुरस्कार ग्रहण गर्न पाउँदा एकातिर उनी खुसी भइन् भने अष्टिम्कीको संरक्षण गर्ने जिम्मा आफ्नै काँधमा आइपरेको जस्तो पनि अनुभव गरिन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको थियो त्यो प्रतियोगिता ।
अंग्रेजीमा स्नातकोत्तर गर्दै गरेकी सरिता भन्छिन्, “अब यो अष्टिम्कीलाई व्यावसायिक बनाउनुपर्छ । यसमा थारुहरुको पहिचान लुकेको छ । यसलाई गैरथारुहरुकहाँसम्म पु¥याउनु अनि नेपालबाहिर पनि पठाएर नेपालको बहुजातीय क्यानभासमा नयाँ रंग थप्नुपर्छ । यसका लागि केही संघसंस्था त लागेका छन् । म पनि आफूले भ्याएसम्म अष्टिम्कीलाई थारुहरुको घेराबाट बाहिर ल्याउन कोसिस गर्दैछु ।”
http://esamata.com/2016/culture/20160708k/
Published on 2016 07 06

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...