Tuesday, May 17, 2016

शारदा जस्ती शारदा चित्रकार

राजेन मानन्धर

“कहिलेदेखि चित्र बनाउन थाल्नुभयो ?”

मेरो स्वभाविक प्रश्न थियो, प्रायः सबै यस्तै सोध्छन् कलाकारहरुलाई । उनी भन्छिन् , “खै भन्नै सक्दिन । पहिले कख लेख्न सिकें कि पहिलो चित्र बनाउन सिकें । शायद कख पछि सिकें होला ।”

“अनि आजभोलि?”

आफ्नो जीवनको ७४औं वर्षमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको पद सम्हाल्दै गरेकी एक जाँगरिली कलाकारलाई मैले सोध्न पुगें । गर्वका साथ मुस्कुराउँदै भनिन्, “गर्दैछु, बेलामौकामा घरमा काम नभएको बेलामा । छोड्नै त सक्दैन नि ।”

नामैले चित्रकार । पारिवारिक पेशा नै कलाकारिता थियो – कला पेशा पनि धर्मपनि अनि जातीय पहिचान पनि – कलाकार नबनी बस्नै नसक्ने । नेपालको कलाजगतमा आयामेली परिवर्तन ल्याउने मुर्धन्य कलाकार तेजबहादुर चित्रकारकी छोरी शारदा चित्रकार आफ्नो बाल्यकालको जीवन यसरी सम्झिन्छिन् ।

तिनीहरुको दशैं भन्नु नै आफ्नो पेशा अनुसारको औजारको पुजा गर्नु हो । तिनलाई पनि बुबाले सानैमा दशैंको पुजाकोठामा कलम र ब्रुश राखेर पुजा गराउनुभएको थियो । त्यो नै तिनको कलासाधनाको श्री गणेश भयो ।

घरमा नै कला शिक्षक भएकोले कला नसिकी बस्नै नसक्ने वातावरण थियो । “बुबाले नै त्यस्तो वातावरण दिनुभएको थियो । त्यसैले उहाँ बिहान बाहिर जानु अगाडि सानो पाठ दिएरै जानुहुन्थ्यो र बेलुका आएर सच्याइदिनुहुन्थ्यो ।”

उनको कलाको प्रगति देखेर बुबा धेरै उत्साही हुनुभयो र सानैमा नक्कली चिनो बनाएर उमेर बढाएरै वनस्पति विभागमा जागिर खुवाउन लानुभयो । तर तिनको पढाइ पुरागर्ने धोको बाँकी नै थियो, नाइँ भनेर खुरुखुरु फर्किन्, बुबालाई हिस्स बनाएर ।

सन् १९४१का जन्मेकी । राणाकालको समय । राजनीति परिवर्तन हुँदा पनि समाज परिवर्तन हुन गाह्रो थियो । त्यसबेला छोरीलाई पढ्न सजिलो थिएन, पढाउनुपर्छ भन्ने भावना नै ठुलो थियो । छोरीलाई पढाउनेहरु औंलामा गन्न सकिन्थ्यो । तिनले आफ्नै घरमा १४वर्षसम्म पढिन् र पद्मकन्या कलेजमा भर्ना भइन् । तर त्यही बेलामा पनि तिनी जुद्धकला पाठशालामा (जुन अहिले ललितकला क्याम्पस भएको छ) कला सिक्न भ्याउँथिन् ।

बुबा तिनलाई कलाकार भएर आफ्नै खुट्टामा उभिएको हेर्न चाहनुहुन्थ्यो, त्यसैले फेरि बबरमहलको पाठ्यक्रम विकासको कार्यालयमा चित्रकारको रुपमा पठाउनुभयो । घरमा सघाउने, दिउँसो जागिर, बेलुका नेशनल कलेज (दरवार हाइस्कुल)मा स्नातक पढ्नमा मात्र होइन अझ एकसमय फेरि कानुनी शिक्षा पढ्न समेत समय मिलाउँथिन् तिनी । अझ रत्नपुस्तक भण्डार आदिबाट पुस्तक आवरणको डिजाइनको काम आइरहन्थ्यो । त्यति मात्र होइन, समय समयमा एक्लै जान नमिल्ने भएकोले आमालाई साथ लिएर विभिन्न मन्दिर, जात्रा पर्वमा समेत दृष्यचित्र बनाउन जान्थिन् । जहाँ इच्छा त्यहाँ उपाय, आज एक्लै बस्दा सम्झन्छिन् कसरी भ्याएँ त्यसबेला भनेर । सन् १९६२, १९६५तिर काठमाडौं र भक्तपुरका चोक सडकहरुका उभिएर दृष्यचित्रण गरेका क्षणहरु सम्झिन्छिन् अहिले आफ्ना बैठकमा सजाइएका ती अमूल्य सम्झनाका चिनोहरुलाई हेर्दै । १९६५मा त राष्ट्रिय कला प्रदर्शनीमा भाग लिएर पनि पुरस्कार प्राप्त गरिसकिन् । साँच्चै सरस्वतीको बास छ, तिनको हातमा, नाम जस्तै शारदा ।

बिहे त हुनु नै थियो । यसैबेला चित्रकार खानदानमा तिनको बिहे भएको थियो १९६७मा प्रशिद्ध कलाकार कृष्णबहादुर चित्रकारका छोरा कोमल बहादुर चित्रकारसंग । “उहाँले नै मन पराउनु भएको थियो । जसले मलाई मन पराउँछ, ऊसित बिहे भएमा मेरो जीवन सुखी हुन्छ मनेर मैले हुन्छ भनिदिएँ,” छोटोमा बिहेको प्रसंग खोलिन् ।

विवाह पछि पनि तिनको यात्रा जारी नै थियो । बिहेको लगतै श्रीमान श्रीमति पोखरा घुम्न जाँदा पनि एक हप्ताको बसाइमा १४वटा दृष्यचित्र लिएर फर्किन् । श्रीमान शौकिन् कलाकार मात्र होस् भन्ने चाहना राख्थ्यो, उनी भने व्यवसायिक नै हुन चाहने ।

समय अनुसार चल्नु नै नारी हुनु थियो । पुरुषप्रधान समाज थियो, तिनी काम त गर्दै थिइन् र तिनी घरमा आउने परम्परागत कलाको काममा सघाउँदै पनि थिइन् तर तिनको कामको मुल्य त्यति भएन । श्रीमान् कला जगतसंग परिचित भएरै पनि पेशाले चार्टर्ड एकाउन्टेन्ट पति धेरै व्यस्त हुनुपर्ने । तिनले नचाही नचाही जागिर छोडेर गृहिणी बन्न स्वीकारिन् तर त्यसबेला पनि घरमा बुहारी र आमा भएरै पनि कलाकार हुन भने छोडिनन् ।

परम्परागत कलामा अभ्यस्त हातहरुमा बुबा तेजबहादुरले समाकलिन कलाका ती शिल्प सजाइदिनुभएको थियो जुन समयको छालले कहिल्यै धमिल्याउन सकेन । सानैदेखि पेन र मसीलाई माध्यम बनाउने शारदा पछिसम्म कालो धर्काविना आफ्नो कलाका निखार दिन नछोड्ने भइन् । तर तिनी पानीरङका भने सदाबहार साधिका नै रहिन् – थोरै स्ट्रोक र पातला रंगका तहहरुमा तिनी प्रकृतिका रंगहरु अनि त्यसबाट अलग्गिन नसक्ने जीवन सँधै तिनको साथ नै रहिन् । कुनै कुनै बेलामा मात्र हो तिनले तैलरंगमा आफुलाई भुलाउने ।

काठमाडौं उपत्यकाका मठ मन्दिर विहार, जात्रापर्वहरुले तिनको कलाकार मनलाई सँधै तानिरहन्थ्यो । तिनी नाइँ भन्न नसक्ने । त्यसमा पनि रातो मछिन्द्रनाथको जात्राबाट तिनी सानैबेला देखि आकर्षित थिइन् । १९६९मा पानीमा रुझेरै बुङमतिमै गएर चित्र बनाएको , फेरि १९७९मा रथ ढल्दा त्यसको चित्र उतार्न दौडेर गएको क्षण सम्झेर रोमान्चित हुन्छिन् । यही आकर्षणले होला २००१मा महिला कलाकारहरु साथ लिएर बुङमतिमै कला कार्यशाला गराउने जिम्मा समेत बोकिन् । रातो मछिन्द्रनाथको १२वर्षे जात्राको दृष्यचित्र बनाउन २००३को मौका पनि छोडिनन् । “मेरो रातो मछिन्द्रनाथसंगको कलायात्रा लामो छ,” तिनी भन्छिन् ।

श्रीमान् सँधै प्रेरणा र प्रोत्साहन भइरह्यो । श्रीमान्संगको बेलाबखतको विदेश यात्राले पनि तिनको कलाक्षितिज फराकिलो पार्यो । तिनले चीन, म्यूनिख, लण्डन, सिकागो, क्यानाडा इत्यादिको भ्रमण गर्दा कहिल्यै त्यहाँका कला संग्रहालयमा प्रवेश गर्न छुटाइनन् र त्यसले तिनको साधनामा उर्जा र नयाँ आयामहरु थपिरहे ।

धेरै नबोल्ने र चर्चामा नआउने स्वभावले गर्दा कलासंसारमा नै भएर पनि कलाकारहरुको वृत्तबाट तिनी टाढा नै थिइन् । समय बित्दै थियो, आफ्ना साधनाका क्यानभासहरु कोठामा खात लाग्दै थिए । कुनै कुनै बेला कसैले लगेर फिर्ता नदिएका चित्रहरु सम्झेर आज पनि मन दुखाउँछिन् । यस्तैमा ६० वर्ष पार गरिसकेकी शारदालाई सबैले पहिलो एकल कला प्रदर्शनी गर्न हौस्याए । २००२मा लजाएरै भएपनि कोठामा पोको पारेर राखेका आफ्ना जीवनका रंगीन चित्रहरु नेपाल आर्ट काउन्सिका भित्तामा सजाइए । “एकदम रोमान्चित थिएँ म । त्यसदिन जस्तो रमाइलो दिन मेरो जीवनमा कहिल्यै आएको थिएन,” तिनले भनिन् ।

त्यो एक प्रदर्शनीले गर्दा तिनी नेपाली कलाजगतको आकर्षण बनिन् । धेरैले नचिनेको, नदेखेको र नबुझेको कलाकारसंग साक्षात्कार भयो । तिनी नेपाली कलाकारहरु माझ परिचित बनिन् । त्यसको लगत्तै पछि २००४मा अर्को एकल कला प्रदर्शनीको पनि आयोजना भयो सिद्धार्थ ग्यालरीमा । “एकल प्रदर्शनी नभएसम्म मेरो मूल्य नै भएन,” तिनी भन्छिन्, “जब प्रदर्शनीमा मेरा चित्रहरु देखे, मानिसहले मलाई चिने ।”

दुई जना छोराहरु हुर्काउने जिम्मेवारीबाट मुक्त भएपछि कलाक्षेत्रमा बढी देखिने भएकी छिन् ।

“पहिले कला प्रज्ञाप्रतिष्ठान गठनको लागि काम भइरहेको थियो । मेरो एकल प्रदर्शनी भयो । धेरैले मलाई संघर्षशील कलाकारको रुपमा लोकतान्त्रिक आन्दोलनको क्रममा कलंकी इत्यादि ठाउँमा प्रदर्शनी पनि गरें ।”

२०६२÷६३को आन्दोलन भइरहेको थियो । यसै बेला शिलुप्यारी कर्मचार्यको नेतृत्वमा महिला कलाकार समुहको गठन भयो, तिनी उपाध्याक्ष भइन् । उता परम्परागत कलाको क्षेत्रमा पनि तिनको योगदान कम भएन । तिनी चित्रकार समाजको कार्यसमितिमा पनि निर्वाचित भइन् र त्यसैमार्फत नेवार लोककलाको विषयमा अनुसन्धान पनि गरिन् ।

यस्तैमा तिनी नेपाल ललितकाला प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भइन् र लोककला विभागको प्रमुखका पद सम्हालिन् । २०१०मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको वर्षा महिला कलाप्रदर्शनीको, २०१२मा प्रथम राष्ट्रिय लोककला प्रदर्शनीको र २०१३मा प्रतिष्ठानको लोककला विभागले आयोजना गरेको लोककलाकार तथा महिला कलाकारहरुको वृहत् कलाप्रदर्शनी सिर्जना शक्तिको पनि संयोजक भइन् । अनि २०१३मा महिला हिंसा विरुद्ध कला कार्यशालामा पनि नेतृत्वदायी भूमिका खेलिन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला विभाग र सामाजिक अध्ययन परिषद्का संयुक्त आयोजनमा भएको थियो । र यसै साल ‘पौराणिक नेवार लोककला पुंज्या’ नामक पुस्तक समेत लेख्न भ्याइन् ।

विशेष गरी महिला कलाकारहरु प्रति बढी सहानुभूति छ । “हुन त कलाको लिङ्ग हुँदैन । कराकार भएपछि पुरुष र महिला भन्न मिल्दैन । तर महिलाहरुका दोब्बर तेब्बर जिम्मेवारी हुन्छन् । जानेको कला साधना गर्नैपर्यो, घरको बालबच्चा हेर्नुपर्यो । कसरी राम्रोसंग काम गर्छ ।” त्यसैले महिला कलाकारहरुले काम गरेको देख्यो भने खुशी हुन्छिन् । अनि महिला कलाकारको जमघटमा सरिक भएर हौसला दिन्छिन्, महिला हिंसालाई कलामा उतार्छिन् र अन्तर्राष्ट्रिय महिला दिवस पारेर महिला कालाकारहरुको प्रर्दशनी गर्न कस्सिन्छिन् ।

भुकम्पले आफ्नो घरको स्टुडियोमा केही क्षति पुगेकोले अलि कम काम गर्छिन् तिनी । भुकम्पले भन्दा पनि अहिलेको बत्ती, पानी र ग्यासको हाहाकार बाट आजित छिन् । झोंकिन्छिन्, “ संविधान नआउँदा एउटा दुःख थियो । अहिले त खै के मात्र भन्ने । भुकम्पले भन्दा पनि यो भोककम्पले दुख दिएको छ हामीलाई । कसलाई भनुँ?”

धेरै नबोल्ने, सभा समारोहमा अगाडि उभिन मन नपराउने अनि “राजनीति” गर्न नजान्ने । ठुलो पदको लोभ नगर्ने थिइन् तिनी । तर यस्तैमा उनी पत्तै नपाई ललितकला प्रज्ञा–प्रतिष्ठानको उपकुलपति पनि भइन् । “जिम्मेवारी बढेको छ । सबैतिरको कुरा हेर्नुपर्छ । यस्तो बेलामा म, मेरो काम, मेरो रुचीको विषय मात्र भनेर बस्न मिल्दैन । सबैको कुरा सुन्छु, सकेजति गर्छु । गर्नुपर्छ, सबैलाई मिलाएर लैजानुपर्छ भन्ने भावना छ ।” आफ्ना अहिलेका दिनहरुका उनी भन्छिन् ।

Published in Asmita (5th)

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...