हामी विश्व भूमण्डलीकरणको कुरा गर्छौं, महिलाअधिकारको कुरा गर्दा विश्व भरीका महिलाहरु एक भएको नारा पनि दिन्छौं । तर यो २१औं शताब्दीमा विश्वमा यस्तो एक आर्थिक श्रोत साधनले सम्पन्न देश छ जहाँ महिलाले भोट दिन पाउनु पनि ठुलो कुरा हुन्छ ।
गतः वर्षको डिसेम्बर १२मा मात्र बिबिसीले एउटा समाचार प्रशारण गर्यो – सउदी अरबियाका महिलाहरुले पहिलो पल्ट मताधिकार प्रयोग गर्न पाए । हो, विश्वमा प्रजातन्त्र शुरु भएको र मतकाआधारमा सरकार छान्ने प्रचलन आएको हजारौं वर्ष भैसक्यो तर सउदी अरबियामा अस्ति भरखरमात्र महिलाहरुले भोट खसाल्ने अधिकार पाए, त्यो पनि नगरपालिका चुनावमा मात्र । महिलाहरु त्यहाँ उम्मेदवार समेत भए, त्यो अर्को उपलब्धि भयो तिनीहरुका लागि । र त्यो एक ठुलो खुशीयालीको कारण बन्यो अधिकारबाट बञ्चित गरिएका सउदी महिलाहरुका लागि ।
अस्ति डिसम्बरमा भएको चुनावमा त्यहाँ ९७८जना महिलाहरुले उम्मेदवारी दिए जुन धेरै देखिए तापनि ५,९३८ जना पुरुष उम्मेदवारहरुको तुलनामा भने निकै थोरै थियो । अर्थात् १० जना पुरुषले भोट दिएको ठाउँमा एक जना महिलाले त्यो अधिकार पायो । केही नभएको ठाउँमा महिलालाई उम्मेदवार भइ जनताको प्रतिनिधित्व गर्न लायकको भनेर त्यहाँको राज्यसत्ताले स्वीकार्नु भनेकै ऐतिहासिक थियो । जबकि त्यो पनि नामको लागि मात्र दिइएको अधिकार जस्तो थियो ।
अर्कोतर्फ महिला उम्मेदवारले आफ्नो फोटो सार्वजनिक गर्न नपाउने जस्ता नियमले पनि महिला उम्मेदवारलाई नै घाटा पार्यो । त्यहाँ महिलाहरुले उम्मेदवारको रुपमा आफ्नो प्रचार त गर्न पाए, तर तिनीहरुले प्रचार गर्दा पनि पर्दामा रहनुपर्ने थियो वा कुनै पुरुषले तिनीहरुको प्रतिनिधित्वमा बोलिदिनुपर्ने थियो । इतिहास तोड्न र पर्खाल भत्काउन साँच्चै समय लाग्दोरहेछ ।
महिलाहरुलाई गाडी नै चलाउन नदिने र सार्वजनिक ठाउँमा आफुलाई पुरै ढाक्नुपर्ने यो देश महिलालाई मताधिकार दिने अन्तिम देश मानिन्छ ।
करिब १३०,००० महिलाहरुले मतदातासूचीमा आफ्नो नाम लेखाए । कुरा त उत्साहजनक नै हो, तर यथार्थमा त्यहाँका १३ लाख ५० हजार पुरुष मतदाताहरुको हाराहारीमा आउनुपर्ने थियो यो सूची । तर आएन, आउन पाएन वा आउन दिइएन । त्यो भनेको त्यहाँ जम्मा ६,००० पुरुष र ९०० महिलाले २८४ सीटका लागि प्रतिस्पर्धा गरे । यो भनेको पुरुषको तुलनामा लगभग १० प्रतिशत महिलाले मात्र मतदातासूचीमा आफ्नो नाम लेखाउन पाए ।
यसको लागि दर्ता प्रक्रिया अगस्ट २२मै र उम्मेदवार दर्ता अगस्ट ३० मा शुरु भएको थियो । त्यो बेलामै त्यहाँ विशेष गरी महिला अधिकारका कुरागर्नेहरु बिच खुशी छाएको थियो ।
यसैबेला त्यहाँ एक एखबारियाका एक महिलाले राष्टिय टेलिजिभनमा बोल्दै भनेकी थिइन् यो भनेको हामी महिलाका लागि एउटा नयाँ कुरा हो । मानिसहरुका फरक फरक बिचार होलान् तर म भने एकदमै खुशी छु ।
राज्य विभागका अनुसार त्यहौ २०१३मा एक शाही घोषणा भएको थियो जसले परामर्शदातृ परिषद्, जुन राजालाई परामर्श दिनलाई राजाले मनोनयन गरेकाहरुको समुह थियो, त्यसमा कम्तिमा २० प्रतिशत महिला हुनुपर्ने व्यवस्था थियो ।
सउदी अरेबियाकै इतिहासमा पहिलो महिला मतदाता भएर चिनिने सौभाग्य पाइन सल्मा अलरसिदले । भोट हालिसकेपछि बिबिसिसंग कुरा गर्दै भनिन्, “राम्रो लागिरहेको छ । परिवर्तन भनेको खासमा एउटा ठुलो शब्द हो तर यो चुनाव पनि त एउटा यस्तो माध्यम हो जसले हामीलाई प्रतिनिधित्व गराइरहेको छ भन्ने अनुभूति गराउँछ ।”
त्यस्तै हतून अलफस्सीले त यो चुनावलाई एक ऐतिहासिक मौका भनिन् । तिनले ट्वीट गरिन् – “यो एक नयाँ दिन हो, सउदी महिलाहरुको दिन ।”
त्यसो चुनाव हुन त नगरिपालिका परिषद्को थियो र यसमा अधिकार शून्य सरह नै हुन्थ्यो तर पनि सउदी महिलाहरुका लागि भने यो कोसेढुंगा सरह थियो । रियादमा स्थानीय समय अनुसा बिहानको ८ बज्ने बित्तिकै हतून अलफस्सी भोट हाल्न दौडिन् । तर यस्तो मौकामा पनि ती महिला अधिकारवादीलाई कसैले पुर्याइदिनुपर्ने भयो । त्यहाँ महिलाहरुलाई अझै पनि सबारी चलाउन बर्जित गरिएको छ ।
महिलाले मात्र भोट हाल्ने भनेर तोकेको त्यो मतदान केन्द्र शून्य लगभग थियो । यसको अर्थ थियो बाहिर जस्तो सुकै वाहवाही गरिएता पनि त्यो चुनाव अलग्ग पारिएको थियो, जस्तो कि त्य अत्यन्त रुढीवादी समाजमा हरेक कुरा पारिएको हुन्थ्यो ।
“एकदम राम्रो लागिरहेको छ नि,” तिनले खुलेर हाँस्दै भनिन्, “यो ऐतिहासिक समय हो र भगवानलाई धन्यवाद दिन्छु कि म यस्तो बेलामा यहाँ बाँचिरहेको छु ।” हुन पनि हो, खुशी हुनुपर्ने कारण पनि छ, यसैको लागि तिनले एक दशक भन्दा बढी त्यहाँको पुरुषसत्तात्मक धार्मिक, साँस्कृतिक र राजनीतिक वातावरणमा पनि संघर्ष गर्दै थिइन् तिनी ।
फस्सीलाई थाहा छ यत्रो ऐतिहासिक सफलताका बाबजुद पनि धेरै महिलाहरुले भोट खसाल्न पनि आएनन् । तर तिनी निराश भने छैनन् । तिनी भन्छिन्, “संख्याका कारणले म धेरै दुखी छैन । कुनै महिलाले जित्छ वा जित्दैन भन्ने पनि मेरो खासै चिन्ताको विषय होइन । तर म यस मानेमा खुशी छु कि हामी यस मोडमा आइपुगेका छौं, जुन आफैमा महत्वपूर्ण छ ।”
त्यसमा देशका विभिन्न भागबाट कम्तिमा १८ जना महिला विजयी भए भनेर अलजजीराले जनाएको छ ।
सउदी राजतन्त्रमा चुनाव भनेकै पनि दुर्लभ घटना हो । त्यहाँकै इतिहासमा त्यो तेश्रो चुनाव थियो । अझ सन् १९६५ देखि २००५ बिचको ४० वर्षका बिचमा त्यहाँ कुनै चुनावै भएन । अहिले भएको चुनाव मा पनि २,१०० सीट चुनेर आउने र अन्य १,०५० सीट राजाले नै मनोनयन गर्ने व्यवस्था छ ।
त्यहाँका राजा अब्दुल्लाहले महिलालाई भोट हाल्न दिने भनेर गरेको निर्णय नै महान् थियो त्यस राजवंशका लागि । यो ऐतिहासिक सुधारको घोषणा गर्दै राजाले भनेका थिए कि सउदी अरबियामा महिलाहरुले त्यस्ता पदहरुमा बसिसकेका छन् जसले राम्रो धारणा र सल्लाह दिनसक्छ । उनले यस क्षेत्रमा गरेको योगदानलाई कम आँक्न मिल्दैन, गत वर्ष जनवरीमा आफ्नो देहान्त हुनु अगाडि मात्र उनले देशको उच्चस्तरको सल्लाहकारहरुको शूरा परिषद्मा ३० जना महिलाहरुको नियुक्ती गरेका थिए ।
गत वर्ष आफ्नो मृत्यु भन्दा केही अगाडी राजा अब्दुल्लाहले महिलामाथिको मतधिकारको प्रतिवन्ध हटाएर भोट हाल्न दिने यस्तो अग्रगामी निर्णय लिएको थियो ।
यस्तो अवस्थामा यस चुनावले सउदी अरबियाले विश्वको र खास गरी विश्वकै महिलाअधिकारकर्मीहरुको ध्यानाकर्षण गरेको छ । अति रुढीवादी देशमा यो चुनाव जस्तोसुकै महान् जस्तो लाग पनि अधिकारकर्मीहरुले यस समाचारको स्वागत न गरे पनि महिलाहरुमाथि त्यहाँ लादिएका अन्य प्रतिबन्धहरुको विरोध नै गरेका छन् ।
यो परिपूर्ण नै नभएपनि महिलाहरुलाई पन्छाएर र अलग्याएर राख्नु भन्दा यसरी सम्मिलित गराएर अन्तमा चेतना नै जगाउने काम रामै हो, हाला अलदोसारीले अज जजीरालाई भनिन् । तिनको बिचारमा यो सहभागिता अझ अर्थपूर्ण बनाइनुपर्छ भनेर बहिष्कार गर्नाले त्यही प्रभावशाली समूह नै उक्त भूमिकामा बसिरहनपाउँछ ।
त्यहाँका स्वर्गीय राजा अब्दुल्लह बिन अब्दुलाजिज अल सउदले सन् २०११मा मात्र पहिलो पल्ट महिलाहरुलाई नगरपालिका परिषद्हरुमा चुनाव लड्न अनुमति दिएको घोषणा गरेको थियो । जानकारहरु त्यो पनि साँच्चैको सुधारका दृष्टिले भन्दा पनि त्यहाँको क्षेत्रीय राजनीतिक अशान्तिलाई थाम्न गरिएको तात्कालिक सम्बोधन मात्र थियो ।
त्यहाँ २०१० देखि नै महिलाहरुलाई राजनीतिक सहभागिता गराउनको सशक्त बनाउन महिला अधिकारकर्मीहरु लागि परेका भएपनि व्यवहारिक कठिनाइ देखाएर २००१को चुनावमा सहभागी बनाइएका थिएनन् । आन्दोलन आफ्नै किसिमबाट त्यहाँ चल्दै थियो, जसलाई यस २०१५को चुनाव अगाडि भने बन्द गराइएको थियो ।
यस्तो रुढीबादी र पितृसत्तात्मक भनेर चिनिने देशमा अहिले आएर भएपनि महिलालाई मताधिकार दिएको त उल्लेखनीय नै हो तर पनि प्रकृयागत कठिनाइ वा झन्झटले गर्दा महिलाको प्रभावकारी सहभागिता नभएको वा हुन नपाएको कुरा पनि यहाँ बिर्सन सकिन्न ।
पहिला भन्नेबेलामा त यस्तो तयारी गरिएको थियो भनियो कि बोर्डमा महिला सदस्य समेत राखेर चुनाव योजना समिति बनाइने छ र महिलाहरुलाई सजिलोसंग भाग लिओस् भनेर केही सकारात्मक कदमहरु चालिने छ । तर यसको विपरित प्रकृया पछि यति साह्रो झंझटिलो बनाइयो कि महिला सहभागिता निकै कम मात्र सम्भव भयो । त्यसबेला आएर महिलाहरुलाई आफ्नो राष्ट्रिय परिचयपत्र देखाउन भनियो जब कि अधिकांश महिलाहरु आफ्नो परिचय खोल्नका लागि आपफ्नो अभिभावकहरुको परिवार–कार्डमात्र चलाउँछन् । त्यस्तै बासस्थानको प्रमाण अर्को समस्या भयो । जहाँ अधिकांश महिलाहरु आफ्नो परिवारसंग मात्र बस्छन् त्यहाँ तिनीहरुले अधिकारप्राप्त जिल्ला अधिकृतबाट प्रमाणित गराएको आफ्नो बासस्थानको कागजात देखाउनुपर्छ भनियो, जसमा परिवार–कार्ड र बासस्थानको कागजात पनि हुनुपर्ने थियो । यस्तो अवस्थामा, जिल्ला अधिकारीहरु सँधै हााजिर नहुने र यो प्रकृयालाई सहज बनाउन खासै जानकार नभएकोले पनि महिलाहरु यस चुनावमा भाग लिनबाट बञ्चित भए । त्यस्तै ती महिलाहरु जोसंग राष्ट्रिय परिचयपत्र थियो तर यसमा सहमति गर्ने अभिभावक थिएन वा जो त्यसको प्रति उसलाई दिन तयार छैन, तिनीहरुले पनि सहभागिता जनाउन पाएन ।
त्यहाँका आलोचकहरुले यसलाई पनि सामान्य देखि नगण्य उपलब्धि मात्र हो भनेर वर्णन गरेका थिए । मानअधिकार निगरानीका एडम कुगलले लेखेको थियो यो महिलालाई चुनावमा लड्न र भोट हाल्न दिने एक प्रगतिको चिन्ह नै भएपनि यो महिलालाई सउदी सार्वजनिक जीवनमा पूर्णरुपले लान सघाउन पर्याप्त होइन ।
डिसेम्बरमा चुनावै भएपनि सउदी अरबिया सउद परिवारद्वारा शासित राजतन्त्र हो । त्यहाँको राज्य विभागका अनुसार यस नगरपालिका चुनवले नागरपालिका परिषद्का आधा सीट त भर्छ तर आधा भने राजा अब्दुल्लाह आफैले छान्न पाउँछ ।
१९३०को दशकदेखि सउदी अरबियाको औपचारिक धर्म भनेको सुन्नी इस्लामको कडा सलाफी परिभााषाको धर्म नै हो । यसै धर्मको व्याख्याको आधारमा सउदी अरबियाले महिलाहरुमाथि अनौपचारिक रुपमा अभिभावकत्व बनाएको छ । यस व्यवस्थाले महिलाहरुलाई थुपै्र ठाउँमा स्वतन्त्रताको कटौती गरेको छ । जस्तै, आजभोलि पनि त्यहाँ महिलाहरुले गाडी चलाउन पाउँदैन अनि यात्रा गर्दा वा स्कूलमा जाँदा पनि पुरुष अभिभावक लिएर जानुपर्छ ।
सउदी अरबियाको यो कदमले यसको एक नजिकको सहचारी संयुक्त राज्यसंग घनिष्ट बनाउने संभावना बढाएको छ । संयुक्त राज्यमा महिलालाई मताधिकार आजभन्दा ९५ वर्ष अगाडि नै दिइसकेको थियो, र आज सउदी अरबिया संयुक्त राज्यको बाटोमा हिँड्दै छ ।
०००
सउदी अरबियालाई संसारकै महिलाहरुलाई कम अधिकार दिने देशको रुपमा लिइन्छ । वल्र्ड इकोनोमिक फोरम २०१३ ग्लोबल जेन्डर ग्याप रिपोर्टले जेन्डर पेअरिटीको लागि १३६ देशहरुमा १२७औं देश भनेर भनेको छ । त्यहाँ २०१५मा पनि राज्यको श्रमशक्तिको १३ प्रतिशत मात्र महिला भएका छन् ।
कोही यहाँ महिला मुक्तिका बाधक नै महिला भन्छन् भने कोही महिला आफै समान अधिकार चाहँदैन भन्छन् । इकोनोमिस्टका अनुसार २००६मा महिलाले गाडी चलाउन पाउन पर्छ कि पर्दैन अनि संगै काम गर्ने कि नगर्ने भनने विषयमा पोल भयो जसमा सउदी महिलाको ८० प्रतिशत महिलाले उत्तर दिए कि तिनीहरुलाई यो लाग्दैन कि महिलालाई सवारी चलाउन दिनुपर्छ र पुरुष संगै बसेर काम गर्न दिनुपर्छ । २०१३मा अल–लिथ कलेजमा गरिएको सर्वेक्षण अनुसार ७९ प्रतिशत सहभागीहरुले महिलालाई सबारी चलाउन प्रतिवन्ध हटाउनको लागि सहयोग नगर्ने देखियो ।
०००
सउदी अरबियामा नगरपालिकाका चुनावहरु ५० र ६०का दशकहरुका भएका थिए तर त्यसमा महिलाहरुले लड्ने र भोट हाल्ने पाएनन् । त्यसपछि २००५सम्म कुनै चुनाव नै भएनन् । यस बिच महिलाले पनि भोट हाल्न पाउनुपर्छ भन्ने आवाज सुनिएको थियो । सरकारले अब महिलालाई अलग्ग भोट खसाल्न लगाउनुपर्ने तर महिला कर्मचारी पाइँदैन भनेर टार्यो । सउदी अरबियामा महिला र पुरुषका लागि अलग अलग ठाउँ छुट्याउने चलन सामान्य नै छ । यस्तो अवस्थामा सन् २०१२देखि चुनावमा महिलालाई पनि मताधिकार दिइयो भन्ने घोषणा भयो । यसलाई एम्नेष्टी इन्टरनेशनल जस्तो संस्थाले यसलाई सीमित भएपनिस्वागतयोग्य कदम भनेर सराहना गरेको थियो ।
अहिले सम्म त्यहाँ च्यम्बर अफ कमर्समासम्म महिला निर्वाचित भएको छ । सर्वोच्च अदालतमा महिला छैनन् भने एक जना महिलाको शिक्षाका लागि महिला उपमन्त्री बनेकी छिन् ।
सउदी अरबियामा यस्ता परिवर्तनका लहरहरु ल्याउन २०११–२०१२ म भएको अरब आन्दोलनले सघाएको थियो । त्यसबेला डिसेम्बर २०१०मा ट्युनिसिया मा क्रान्ति भए लगतै यसले अरबका १७ देशमा ठुलो राजनीतिक परिवर्तन ल्याएको थियो ।
०००
सउदी अरेबियामा महिलाहरुले गर्न नपाउने एघार वटा कुराहरु ः
१. महिलाहरु घरबाट बाहिर जाँदा एक्लै जान पाउँदैन, पुरुष अभिभावकलाई संगै लिएर जानुपर्छ । यो प्रायः उनका पुरुष नातेदार हुने गर्छ र उनीहरु सामान किन्न जाँदा वा डाक्टर कहाँ जचाउँदा पनि संगसंगै हुन्छ । यतिसम्म हुन्छ कि कुनैबेला कुनै महिला एक्लै जाँदा सामुहिक बलात्कारको शिकार भइन् भनेपनि त्यसबेला अभिभावक संगै नभएको खण्डमा तिनले नै सजाय पाउँछिन् ।
२. महिलाहरुले गाडी चलाउन पाउँदैनन् । त्यहाँ हुन त कुनै पनि औपचारिक कानुनले त्यस्तो बन्देज लगाएको छैन तर पनि भित्रसम्म जरा गाडेको धार्मिक विश्वासले उनीहरुलाई रोक्छ । एकपल्ट महिलाहरुलाई नै आफुले गाडी चलाएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर अरुलाई पनि गाडी हाँक्न प्रोत्साहन दिने भनेर “विमिन टु ड्राइभ” भनेर अभियान चलेको थियो तर त्यो आफै सफल भएन ।
३. महिलाहरुले आफ्नो सुन्दरता देखाउने लुगा वा मेकअप लगाउनु हुँदैन । महिलाको लुगा लगाइलाई इस्लामिक कानुनको कडा व्याख्याले सिमित पारेको हुन्छ । धेरैजसो महिलाहरु अबाया भन्ने लामो कालो लुगा लगाउँछन् र टाउकोमा स्कार्फ बाँध्छन् । अनुहार भने छोप्नै पर्छ भन्ने छैन । तर पनि त्यहाँको धार्मिक प्रहरीले महिलाहरुलाई धेरै छाला देखायो भनेर वा धेरै मेकअप लगायो भनेर दुख दिन छोड्दैनन् । यो लुगाको नियम टेलिभिजन प्रस्तोताहरुमा पनि लाग्छ ।
४. महिलाले पुरुषसंग अन्तरक्रिया गर्न पाउँदैन । महिलाहरुलाई पुरुषसंग धेरै नबोल्न भनिएको हुन्छ । अफिस, बैंक र विश्वविद्यालयहरुका महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रवेश द्वार हुन्छ । सार्वजनिक यातायात, पार्क, समुद्री किनार र मनोरञ्जनस्थलमा समेत महिलाका लागि ठाउँ अलग्याएको हुन्छ । गैरकानूनी रुपमा महिला र पुरुष संगै देखिएमा महिला र पुरुष दुबैले सजाँय पाउँछ, त्यसमा पनि महिलाले झन् धेरै सजाय पाउँछ ।
५. महिलाहरुले पौडी खेल्न पाउँदैन । र्युटर्सका एकजना महिला संवाददाताले महिलाले जिमखाना र पूल प्रयोग गर्न खोज्दा पुरुष पौडी खेलेको ठाउँमा हेर्न समेत दिइएन ।
६. महिलाले खेलमा स्वतन्त्र प्रतिस्पर्धा गर्न पाउँदैनन् । गत वर्ष सउदी अरबियाले महिलालाई सहभागी गराउने एक ओलम्पिकको आयोजना गर्ने प्रस्ताव राखेको थियो । त्यहाँका युवराज फहल बिन जलावी अल–सउदले भनेको थियो महिलालाई खेलमा स्वीकार गर्नलाई गाह्रो भइरहेको छ । जब सउदी अरबियाले लण्डनमा पहिलोपल्ट आफ्ना खेलाडीहरु पठायो, त्यहाँका अतिवादी धर्मगुरुहरुले ती महिलाहरुलाई वेश्याको संज्ञा दिएका थिए ।
७. महिलाहरुले लुगा किन्दा लगाएर हेर्न पाउँदैन । त्यहाँको सोच अनुसार महिलाहरुले लुगा पसलका ड्रेसिङरुम भित्र लुगा फुकालेको कल्पना मात्र गर्ने पुरुषलाई पनि सम्हाल्न मुश्किल हुन्छ ।
८. महिलाहरु चिहान भएको ठाउँमा जान पाउँदैनन् ।
९. महिलाहरुले सेन्सर नगरिएका फेसन म्यागजिनहरु पढ्न पाउँदैनन् ।
१०. बार्बी भन्ने खेलौना किन्न पाउँदैनन् ।
११. आफ्नो श्रीमानका् अनुमति बिना महिलाहरुले बैकमा खाता खोल्न पाउँदैनन् ।
. . .
सन्दर्भ वेभसाइटहरु ः
http://www.bbc.com/news/world-middle-east-35075702
http://www.aljazeera.com/news/2015/12/analysis-women-voting-saudi-arabia-151213055435453.html
http://www.theweek.co.uk/60339/eleven-things-women-in-saudi-arabia-cant-do
http://edition.cnn.com/2015/08/21/world/saudi-arabia-women-voting/
https://en.wikipedia.org/wiki/Elections_in_Saudi_Arabia
=
Published in Asmita (5th)
No comments:
Post a Comment