Thursday, January 1, 2015

20150101अस्मिनाको २४ घण्टा


राजेन मानन्धर

शरीर छ त संवेदना हुन्छ । हाम्रा हरेक इच्छा अनिच्छामा हाम्रो शरीरको सहभागिता हुनु जरुरी छ । मनको प्रत्येक संवेदनालाई स्वीकार गर्ने नगर्ने अधिकार शरीरमा निहित हुन्छ । तर शरीरको कुनै पनि क्रिया प्रतिक्रियामा मनको स्वीकारोक्ति पनि त्यतिकै महत्वपूर्ण हुन्छ । त्यसैले त भनिन्छ नि, मन नै प्रधान हो भनेर ।

विशेष गरेर बौद्ध दर्शनमा आधारित ध्यान मनको एकाग्रता र त्यसमा शरीरको सहमतिमा आधारित हुन्छ । उनीहरु भन्छन् – मनलाई सम्झाऊ, बुझाऊ, गलत बाटोमा हिँड्नबाट रोक । तर मन कहाँ त्यस्तो लगामले जकडिएको घोडा जस्तो हो र । उ त धुमिरहन्छ, उडिरहन्छ । यसलाई लगाउनु पर्छ, लगाउन पनि सकिन्छ । तर कतिञ्जेल ? एक छिन, एक घण्टा, एक दिन । एक पल्ट पलेँटी कसेर मन बाँध्छु भनेर ठानेपनि मात्र थाहा पाउँछ हाम्रो मन कति चञ्चल छ भनेर । न कसैको अनुमति चाहिन्छ, न कसैले हकारेको बुझ्छ । मानिसलाई बिगार्ने पनि यही मन, संसारलाई भड्खालोमा जाक्ने पनि यही मन । मनै त हो ।

कलाकार अस्मिनाको मन पनि मन जस्तै हो । मनै हो । शरीरमा उर्लेका संवेदनाका लहरहरुलाई नियन्त्रण गर्न खोज्छिन् तिनी । विपस्सना ध्यानका साधकहरु कुनै बुद्ध वा अन्य देवताहरुको नाम लिँदैनन् जान्न पनि चाहँदैनन् । उनीहरुले देखेको त त्यही शरीर हो, अनि शरीरसंग टाँस्सिएर बस्ने श्वास–प्रश्वास हो । यसैबाट उनीहरु संसारका जन्ममरणको नियम बुझ्छन् । अस्मिनालाई पनि यही लाग्यो, श्वास–प्रश्वास मात्र यथार्थ हो ।

उनी रातो कार्पेट बिछ्याएको चारपाटे कोठकाको बिचमा सजाएको मेचमा बसिन् । अगाडि तेस्र्याएको ल्यापटपले समय गन्न थाल्यो । उनको साथमा केही नछोडिने कुरा केही थियो त उनको साथमा चल्ने श्वास थियो । मेचमा एक थुप्रो पारिएका मसिना स्टीलका चम्किला आलपिनहरु, आफ्नो जिउ ढाक्ने रेशमका कपडा र निरन्तर चलिरहेने श्वास–प्रश्वास । उनले मनलाई बाँधिन् । आलपिन उठाइन् बडो होसपुर्वक एक एक गर्दै आफ्नो लुगामा घोच्दै गइन् । एक श्वास – एक पिन – एक क्लिक । बायाँ हातले मजबुतीका साथ पक्रेको गन्ने मिशिनले क्लिक गरेर गन्छ । यो चल्दै छ । एक निमेषका लागि पनि तिनी बिचलित भइनन् । ध्यानमग्न थिइन् तिनी आफ्नो काम गर्दै गइन् । अरु कुनैमा ध्यान लगाउनै पाउँदिनन् । “यो अवधि भरि म निरन्तर काम गर्दै थिएँ । यसैमा लीन थिएँ । खाना पनि खाइन, शरीरले मागे अनुसार पानी र झोल मात्र लिँदै थिए । कहिले काही शक्तिको लागि सानो टुक्रा चकलेट भने लिएँ । दुइतीन पल्ट शौचालय त गएँ तर त्यहाँ पनि पीन लगाउने र क्लिक गर्ने काम छोडिन ।”

२४ घण्टामा ४३,५६९ पीन । पीन पुगेन । फेरि दौडादौड पीन खाजेर ल्याए, त्यो पनि राती । एउटा नौलो मात्र पनि होइन, अझ भनौं, अनौठो अनुभव । कलाकार मात्र होइन, दर्शकका लागि पनि ।

यो नै ध्यान भयो उनको । विपस्सनामा सिकाउँछ – बस्दा बसेको भनेर, उठ्दा उठेको भनेर, लेट्दा लेट्को भनेर अनि सत्दा सुतेको भनेर भाविता गर्नुपर्छ, जे गर्दैछौ त्यो गर्दैछु भनेर गर, होशपूर्वक गर । तिमीले संसार देख्नेछौ, आफुलाई चिन्ने छौ । अस्मिनाले पनि आफुलाई चिनिन् । एक छिन होइन, एक घण्टा पनि होइन । सूर्यले एक चक्कर लागाउँदासम्म तिनि ध्यानमग्न थिइन्, आलपिन र श्वाससंगै थिइन् । उनले आफुलाई चिनिन् । त्यहाँ छलफल भएन, झगडा भएन । रिस, राग द्वेषलाई पनि ठाउँ थिएन । २४ घण्टा यसरी बस्ने भनेको सामान्य कुरा होइन । “अन्त ध्यान दिने समय नै थिएन । म ध्यान गरेको जस्तै थिएँ । हरेक श्वाससंग एउटा आलपिन जोडेको हुन्थ्यो । मेरो लुगामा छिर्नुपथ्र्यो । कहिलेकाहीँ मेरो छालासम्म चुभ्थ्यो । यो पनि त्यतिकै स्वाभाविक थियो,” तिनी भन्छिन् ।

शुरु गर्ने बितिकै उनका छोरा अब आत्तियो, करायो । यो क्षण, यो दृष्यले तिनलाई बारम्बार झस्काइराख्यो । त्यस्तै मनको स्वभाव नै डुल्ने, कहिले कता, कहिले कता । तर तिनको आलपिनले मनलाई बरालिन दिएन ।

“रेशमलाई नरमको प्रतीक र लोक्तालाई कडाको प्रतीकको रुपमा छानेको । पीनले आफ्नो शरीरमा घोप्ने । पहिले सातदिनसम्म गर्ने । २४ घण्टाको चक्र पुरा गर्ने । प्रकृतिलाई यसै किसिमले विनाश गर्दै गयो भने के हुन्छ भन्ने देखाउनलाई मैले आफ्नो शरीरमा पीन घोपेर देखाएँ,” उनले भनिन् ।

बुबा केजी रंजीतका केही नयाँ र केही पुराना पेन्टिङहरु पनि भित्ताभरि झुण्डिएका थिए । त्यो पनि अधिकांश वातवरण । जलवायु परिवर्तन संग सम्बन्धित । ती सबै कुराहरुले त्यस हलमा एउटा माहौल बनाएदियो , आउँदै जाँदै गरेका दर्शकहरुको मनमा एउटा पहिले कहिल्यै  नदेखेको जस्तो छाप छोड्यो । कसै कसैले त त्यो दृष्य हेरिरहँदा आफ्नै शरीरमा पिन घोपेको जस्तो पिडा समेत महशुस गर्यो ।

उनी भन्छिन्, “यस्तो केही गर्छु भनेर मनमा योजना बनाएको दुइ वर्षभन्दा बढी नै भइसकेको थियो । कसरी कतिलामो गर्ने भने मात्र निक्र्यौल गर्न नसकेको थियो । यसलाई मैले विश्व भरी नै अहिले देखापरेको जलवायु परिवर्तनको प्रतीकको रुपमा लिएकी छु, मानिसहरुले निरन्तर प्रकृतिलाई अवरोध पुर्याउँदै गएको हिसाबले ।”

कस्तो भयो त, २४ घण्टाको अनुभव ? पहिला एकघण्टा बित्नु नै गाह्रो थियो । झन् गाह्रो जस्तो हुँदै गयो । तर अन्तिम आधा घण्ट भनेको सबैभन्दा गाह्रो समय थियो । उठेर भागुँ जस्तै भएको । बिचमा एकपल्ट झपक्क निद्राले छोपेको जस्तो भएको थियो । त्यो भन्दा बाहेक खासै गाह्रो अनुभव गर्नुपरेन । चमत्कारै भन्नु पर्छ यो सकिएपछि त भ झन् चंगा भएँ । अझ मेरो आफ्नो जिउ दुख्ने इत्यादि समेत हरायो ।

लसना, सिटी म्यूजियम र इन्डिया चाइना इन्स्टीच्यूटले गतः नोभेम्बर ८ का दिन काठमाडौको दरवारमार्गमा एक प्रदर्शनी आयोजना गरेको यो कार्यक्रम “नेचर इन फ्लक्स” नेपालको प्रसंगमा त यस्तो प्रदर्शन कला पहिलो नै हो, अस्मिनाका अनुसार ।

०००

प्रमिलामा नारी जीवन

पुल्चोक स्थित पार्क ग्यालरीमा अक्टोबर २६ देखि प्रमिला बज्राचार्यको अर्को एकल प्रदर्शनी “प्रकृति र अनन्त” भयो । विशेष गरी नारी जीवन शैलीमा केन्द्रित उनका पेन्टिङहरु अर्धमूर्त भएर पनि सामान्य दर्शकहरुको ध्यानाकर्षण गर्न सक्ने खालका छन् । धेरै पहिले देखि नारी जीवनमा पेन्टिङ गर्दै आएकी प्रमिलाले यो पटक पनि आफुलाई यस विषयबाट अलग्ग राख्न सकिनन् । खासगरी काठमाडौं उपत्यकाको सामान्य जनजीवन संग तादात्म्य राख्ने ती चित्रहरु काठमाडौंका मुहारहरु हुन् । यसबाहेक तिनी महिलालाई नृत्यमा मग्न देख्न चाहन्छिन् । त्यही देखाउँछिन् आफ्ना सिर्जनाहरुमा । नृत्य जीवन हो, विशेष गरी महिलाहरुको जीवनमा नृत्यले खास सम्बन्ध राख्दछ भन्ने सन्देश कलाकारले यसमा दिन चाहेकी छिन् । शायद महिला नृत्यमा स्वतन्त्रता अनुभव गर्ने गर्छन् । संसारका कोही मानव पनि मानव जीवनमा आइपर्ने सुख दुख बाट अनभिज्ञ छैनन् । कुरा यति हो कि कोही यसमा आत्तिन्छन्, कोही यो संसारको नियमलाई सहजै स्वीकार गर्दछन् । प्रमिला यही देखाउँछिन् आफ्ना कलाकृतिहरु मार्फत । यसबाहेक उनका कलाकृतिहरुले सामान्य लाग्ने तर पनि अर्थपूर्ण शहरी वातावरणलाई पनि चित्रण गर्न खाजेको छ ।

“विशेष गरेर कला क्षेत्रमा होमिंदा देखि नै मलाई नारी जीवनले प्रभाव पारेको छ । म आफैले भोगेका कुराहरु हुन् तिनीहरु । त्यसमा पनि अस्ति बाङ्ग्लादेश जाँदा यहाँ काठमाडौंको जनजीवन र त्यहाँ साँस्कृतिक कार्यक्रमहरुमा देखिएका महिलाहरुको भेषभूषा र तिनीहरुले बोकेको संस्कृतिमा एक अनौठौ समानता पाएँ । यही यी चित्रहरुका राखेकी छु,” उनी भन्छिन् ।

यो हाल उदयमान कलाकार वज्राचार्यको नवौं एकल कला प्रदर्शनी हो । यो २६ जनवरी सम्म चल्ने छ ।

Published in Asmita 02, in 2015 01 01

No comments: