देशमा विभिन्न जातिका मानिसमा जस्तै शेर्पाहरुमा पनि केही हदसम्म आफ्ना जातीय पहिचान, भाषा, धर्म र संस्कृतिलाई बेवास्ता गर्ने चलन देख्न थालेको धेरै भएको छैन । आफ्नो पहिचानलाई माया गर्नेहरु पनि देशको अवस्था र पश्चिमी संस्कृतितर्फको झुकाव बढेपछि, विशेष गरी अहिले स्कुलमा पढ्न लेख्न पर्ने भएपछि तिनीहरु चाहेर नचाहेर आफ्नै भाषाबाट पनि टाढिँदै गइरहेका छन् ।
हुन त अन्य जातजातिको तुलनामा शेर्पाहरुमा यस्तो विचलन वा वितृष्णा नाम मात्रकै छ । तर पनि अवस्था बिग्रिनु अगावै तिनीहरु युवापुस्तामा भाषिक पुनर्जागरण ल्याउन गाउँ गाउँ टोल टोलमा शेर्पा भाषा सिकाउन लागिपरेका छन् ।
‘हामी त लागेको लाग्यै छौं । गाउँ गाउँदेखि काठमाडौंका शहर गल्लीमा समेत जहाँ कोही पनि सिक्ने छन् त्यहाँ ठाउँ र समय मिलाएर सिकाउन जान्छौं वा सिकाउने प्रशिक्षकको व्यवस्था गरिदिन्छौं,’ भाषा प्रशिक्षक एवं शेर्पा सञ्चार समूहका उपाध्यक्ष नुरु छेपाल शेर्पा भन्छन् ।
विशेष गरी विश्वको सर्वोच्च शिखर सगरमाथाको वरिपरिका गाउँहरुमा बस्ने शेर्पाहरुको एक पहिचान भनेको तिनीहरुको जिब्रोमा बसेका आफ्नो भाषा हो ।
कसैले उनीहरुलाई आफ्नो भाषा बोल्न सिधै त रोकेन, तर राज्यव्यवस्थाले घुमाउरो तरिकाले अढाइ शताब्दीदेखि विभिन्न तरिकाबाट तिनीहरुलाई आफ्नै मातृभाषाबाट टाढा बनाउँदै लगेको इतिहास छ ।
‘त्यसो त उनीहरुलाई मातृभाषा नबोल भनेर त कसैले भनेन । अरु त होइन, अब केटाकेटीहरु स्कुल जान्छन् , पढ्न त परिहाल्यो । पढाउने मास्टर र उसले बोकाउने पुस्तक दुवैमा शेर्पा भाषा कतै भेटिँदैन । बच्चाहरु कनीकनी त्यही पर्वते बोल्न सिक्छन् । जाँचमा पास हुनै पर्यो, यति मिहेनत गर्छन् कि तिनीहरु आफ्नो आमाले सिकाएको भाषाबाट कहिले कसरी टाढा हुँदै गयो भन्ने पत्तै पाउँदैनन् ।’
शेर्पाहरुका परम्परागत संगठनहरु छन्, जसलाई किदुग भनिन्छ । यसको अर्थ हो, सुखदुःखमा सहयोग गर्नेहरुको संगठन । अहिले आफ्नो मातृभाषा भुलेकालाई भाषा सिकाउन यस्ता संगठन सक्रिय छन् । नेपालभरि लगभग ५० को हाराहारीमा रहेका छन् यस्ता किदुगहरु । किदुगहरुले यस्ता गाउँघरमा, काठमाडौंमा र अझ नेपालभन्दा बाहिर गएर बसेका शेर्पाका छोराछोरीलाई समेत आफ्नो भाषा सिकाउने गर्छन्, धर्म, संस्कृति र परम्पराबारे पनि ज्ञान दिन्छन् ।
हुन त सरकारले पनि केही कक्षासम्म मातृभाषा पनि पढाउन पाउने भनेर पाठ्यपुस्तक पनि बनाएको थियो । सोलुखुम्बु जिल्लाका केही गाउँका स्कुलमा पढाइ पनि भएको छ । तर त्यसरी हप्तामा दुई तीन कक्षा शेर्पा भाषा पढाएर कुनै प्रगति हुने देखिँदैन । त्यसै कारण पनि स्थानीय मानिसमा यसप्रति खासै रुचि छैन ।
शेर्पा भन्छन्, ‘सबैभन्दा ठूलो दुःख भनेको आजभोलि केटाकेटीहरुले आमासँग धेरै समय बिताउन पाउँदैनन् । तीन चार वर्ष भयो कि दिनभरि स्कुलमा अरु अरु भाषाबाट पढेर आउँछन् अनि घरमा थाकेपछि आमाबाबुसँग पनि धेरै बोल्न सक्दैनन् । जबसम्म घरमा बोल्ने र स्कुलमा बोल्ने भाषा एउटै हुँदैन, तबसम्म शेर्पामात्रै होइन, देशमा विभिन्न जातजातिका नेपालीहरुका मातृभाषाको हालत झन् झन् खराब हुँदै जान्छ । गइरहेको पनि छ ।’
उनी थप्छन्, ‘यसबाहेक चाहेर वा नचाहेरै पनि हाम्रो घरघरसम्म पसिसकेको पश्चिमी सभ्यताबाट हामी अछूत रहन सक्दैनौ । टिभी, फिल्म, रेडियो, गीत, फेसनको प्रभावले गर्दा पनि हामी उनीहरुले दिएको संस्कृतिबाट आकर्षित हुन थाल्यौं । त्यसो भएपछि हाम्रो आफ्नो टाढा भएर जाने त स्वाभाविकै भयो,’ उनी थप्छन् ।
तर भाषा संरक्षणको दृष्टिकोणबाट हेर्दा शेर्पाहरुमा एउटा पक्ष भने सकारात्मक छ । देशमा अन्य जातजातिभन्दा शेर्पाहरुमा आफ्नो भाषा छाड्नेहरुको संख्या नगण्य छ । किनभने धेरैभन्दा धेरै शेर्पाले आजसम्म पनि दुःख गरेर बस्नु परे पनि आफ्नो थातथलो छाडेका छैनन् । त्यहाँको वातावरणले तिनीहरुलाई आफ्ना भाषा, धर्म, संस्कार र परम्परासँग बाँधेरै राखेको छ ।
हुन त आफ्नै गाउँघरमा बसे पनि देशमा शैक्षिक विस्तारसँगै तिनीहरु स्कुल जान थालेदेखि आफ्नो भाषाबाट टाढिनुपर्ने अवस्था आउँदैछ । त्यस्तै, पढाइ वा व्यवसायको सिलसिलामा काठमाडौं वा अन्य शहरमा बसाइँसराइ गरेपछि उनीहरुमा पनि विस्तारै आफ्नो पहिचानबाट समेत पनि अलग्गिने अवस्था आउँदैछ ।
‘जब देशको अमूल्य निधिको रुपमा लिनुपर्ने जाति, भाषा, धर्म र संस्कृतिलाई राज्यले नै आफ्नो भन्न अस्वीकार गर्छ, तब देशका यी अमूल्य सम्पदाले सप्रने मौका पाउँदैन,’ शेर्पा निष्कर्षमा भन्छन् ।
विशेष गरी गाउँका स्थानीय सामुदायिक संस्थाहरुले शनिबार एकछिन भए पनि भाषा शिक्षणको काम गर्दै आएका छन् । त्यसबेला भाषा नजान्ने केटाकेटी वा किशोरकिशोरीलाई एकत्रित गरेर भाषा सिकाउने वा सिकेर पनि बोल्ने अभ्यास नभएकाहरुलाई आपसमा एकै उमेरका साथीहरुसँग बोल्न लगाउने काम गरिएको पाइन्छ ।
त्यस्ता प्रशिक्षणमा शेर्पाहरुका धर्म, संस्कृति, गीत, बाद्यवादन र नृत्य पनि सँगसँगै लैजाने गरिनाले उनीहरु रमाएरै भाषा सिक्ने गर्छन् ।
काठमाडौंमा कपनको स्यार्वी योन्तोन छोग्या आदि ठाउँमा भाषा प्रशिक्षण भइरहेको छ भने नेपालबाहिर पनि यसको विस्तार जारी छ ।
अहिले थुप्रै शेर्पाहरु अध्ययन एवं व्यवसायका लागि नेपालबाहिर पनि गएका छन् । उनीहरु पनि त्यहाँको अवस्थाले गर्दा आफ्नो भाषा धर्म संस्कृति छोड्न बाध्य छन् । यस्तो अवस्थामा किदुगहरुले भाषा संस्कृति सिकाउन सहयोग गरिरहेका छन् । कहाँसम्म भने न्युयोर्कमा समेत त्यहाँका शेर्पा बालबालिकाका लागि भाषा संस्कृतिको प्रशिक्षण गर्ने कार्यक्रम छ ।
अहिले थुप्रै शेर्पाहरु अध्ययन एवं व्यवसायका लागि नेपालबाहिर पनि गएका छन् । उनीहरु पनि त्यहाँको अवस्थाले गर्दा आफ्नो भाषा धर्म संस्कृति छोड्न बाध्य छन् । यस्तो अवस्थामा किदुगहरुले भाषा संस्कृति सिकाउन सहयोग गरिरहेका छन् । कहाँसम्म भने न्युयोर्कमा समेत त्यहाँका शेर्पा बालबालिकाका लागि भाषा संस्कृतिको प्रशिक्षण गर्ने कार्यक्रम छ ।
‘हेर्दाहेर्दै शेर्पाहरुको बिहेमा समेत शेर्पा गीत बज्न छाडे । नाचगान रमाइलोमा पनि शेर्पाहरुको मन आफ्नै परम्परा, धर्म र संस्कृतिभन्दा भिन्न प्रकारमा नाच नाच्न थाले । शेर्पाहरु शेर्पा भएर पनि अरु नै कोहीजस्तो हुन थाले । केही नगरी भएन भनेर हामी लागेका हौं,’ उनी सम्झन्छन् ।
शेर्पाहरु आफ्नो भाषालाई ‘श्यर्वी ताम्ङे’ भन्छन् । यो चिनियाँ भोट बर्मेली भाषा परिवारभित्र पर्दछ । यसको आफ्नै कुनै भाषिका नभए पनि ठाउँअनुसार बोलाइ र बुझाइमा सामान्य फरक भने हुन्छ, जुन भाषाविज्ञानका हिसाबमा स्वाभाविक पनि हो ।
शेर्पाहरुले प्रयोग गर्ने लिपिलाई सम्बोटा भनिन्छ । यही लिपि तामाङ, गुरुङ, ह्यल्मो, तिब्बती तथा भुटानीहरुले पनि प्रयोग गर्छन् । यो लिपिमा ३० वटा सल्जेत (व्यञ्जन वर्ण) र चार वटा याङ (स्वरवर्ण) र ञेवियक (उपस्वर वर्ण) हुन्छन् । त्यस्तै, पाँच वटा ङोन्ज्यूक (पूर्वाक्षर) १० वटा जेज्युक (पराक्षर) दुई वटा याङज्युक (पुनःपराक्षर) तथा २० वटा मिङमी (मुलाक्षर) रहेका छन् ।
सन् १९७० को दशकमा समर इन्स्टिच्युट अफ लिंग्विस्टिक्सले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेपछि नेपालमा शेर्पा भाषाको अध्ययन सुरुवात भएको मानिन्छ । नेपाली तथा विदेशी भाषाविद्हरुको प्रयासले यस भाषाको भाषाशास्त्रीय वा अन्य विषयमा अध्ययन अनुसन्धान भइरहेका छन् । शेर्पा समुदायका केही व्यक्ति र संघसंस्थाको सक्रियतामा केही साहित्यिक र विषयगत पुस्तक, शब्दकोष, पत्रपत्रिका, गीत र फिल्म पनि बनेका छन् । यी कामले यस भाषाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन भूमिका खेल्ने गरेका छन् ।
२०६८ सालको जनगणनाअनुसार शेर्पाहरुको जनसंख्या १ लाख १२ हजार ९ सय ४६ रहेको छ । तर शेर्पा भाषा बोल्नेहरुको संख्या भने १ लाख १४ हजार ८ सय ३० देखाएइको छ । यसबाट सरकारी तथ्यांकमा त्रुटि रहेको स्पष्ट हुन्छ । शेर्पा भाषा बोल्नेहरु नेपालमा बाहेक पनि भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ र केही चीनमा पनि रहेका छन् ।
नेपालमा हाल शेर्पा भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल शेर्पा संघ, शेर्पा सेवा केन्द्र, शेर्पा विद्यार्थी मञ्च, शेर्पा सञ्चार समूह आदि संस्था सक्रिय भएर लागिरहेका छन् ।
रेडियो नेपालले दैनिक र साप्ताहिक रुपमा शेर्पा भाषामा समाचार कार्यक्रम प्रसारण गर्छ । यसबाहेक, सोलुको हिमाल एफएम, झोमेलोङ्मा रेडियो, साोलु एफएमलगायत विभिन्न एफएमले पनि यस भाषाका सामग्री नियमित प्रसारण गरिरहेको छ ।
(सन्दर्भ स्रोतः भाषा चिनारी, काठमाडौंः गोरखापत्र संस्थान, २०७१)
http://esamata.com/2016/insight/sherpa-language/(सन्दर्भ स्रोतः भाषा चिनारी, काठमाडौंः गोरखापत्र संस्थान, २०७१)
Published on 2016 06 21
No comments:
Post a Comment