Saturday, June 25, 2016

छाउपडी जीवन : गोठ भत्काउने अभियान चलाउने कहिले ?

छाउपडी जीवन : गोठ भत्काउने अभियान चलाउने कहिले ?

अछाम लगायत सुदूरपश्चिमका अधिकांश सुगम शहर र दुर्गम गाउँको एक दुर्भाग्य । यस सौम्य, प्राकृतिक सौन्दर्य, अगाध जलश्रोत, भाषा, भेषभूषा र अन्य थुप्रै सम्पदाको गर्व गर्ने यहाँका खस आदिवासीहरुको एउटा तितो यथार्थ भनेको छाउपडी हो ।
छोरी मान्छे एउटा उमेरमा पुगेपछि छाउ (रजस्वला) हुनु भनेको एक सामान्य शारीरिक प्रक्रिया हाे । यो भनेको महिला शरीरको धर्म हो । यसको अरु कुनै धर्म संस्कृतिसँग कुनै प्रकारको पनि सम्बन्ध हुँदैन । यो कुनै देउतालाई मन पर्नुपर्छ वा मन नपर्नसक्छ भन्ने पनि आवश्यक कुरा होइन । यदि कुनै देउतालाई यो मन पर्दैन भने ऊ देउता होइन । कुनै देवतालाई महिलाको रुपमा पुज्ने हो भने त्यो देवीमा पनि त यो एउटा गुण हुनुपर्छ, होइन भने त्यस देवीलाई महिला बन्ने पनि अधिकार हुँदैन ।
हुन त विश्वका अरु अरु देशमा पनि रजस्वलासँग सम्बन्धित विभिन्न मिथक वा कथा र अन्धविश्वास गाँसिएका हुन्छन् । प्राचीनकालमा जुदाइज्म र बाइबलको युगमा महिलाहरुलाई यस कुरामा भेदभाव गरिन्थ्यो, अझ पुनर्जागरणकालमा समेत यसलाई हेय वा फोहोर कुरा भन्ने गरिन्थ्यो । २०औं शताब्दीमा पुग्दापुग्दै युरोपले यसलाई सहजरुपमा स्वीकार गर्‍यो, यो स्वास्थ्य र सरसफाइको कुरा भनेर बुझ्यो अनि यसलाई सहज र सुविधाजनक गर्न विभिन्न प्रयोगहरु गर्‍यो ।
तर हाम्रो हिन्दु धर्मको बाहुल्यता भएको देशमा भने आजसम्म महिलाहरु यस विषयमा सुन्ने गरेर कुरासम्म गर्न पनि सक्दैनन् । हिन्दूधर्ममा धेरै किसिमबाट यसलाई घृणा गरेको, यसबेलामा महिलाहरुलाई नै अपमानित गरेका धेरै दृष्टान्त दिन्छन् हिन्दु धर्मका विद्वानहरु । रजस्वला भएको बेलामा अन्न फूल, बालीनालीमा छुन हुँदैन, चुलाचौका गर्न हुँदैन, मन्दिर जानु हुँदैन, पूजा गर्न हुँदैन भन्ने चलन अद्यापि हिन्दुहरुमा र हिन्दु धर्म ग्रहण गरेका जनजाति परिवारमा पनि धेरैथोरै पाइन्छ ।
योभन्दा अलग्ग नेपालको सुदूरपश्चिम क्षेत्रमा – विशेष गरी दार्चुला, बैतडी, डडेलधुरा, बझाङ, बाजुरा, अछाम, हुम्ला, मुगु, जुम्ला, कालिकोट इत्यादि जिल्लामा – रजस्वला हुनुको अर्कै अर्थ र नियति छ । त्यहाँ कुनै किशोरी वा महिलालाई रजस्वला अवधिभरि आफ्नै घरमा बस्ने पनि अधिकार हुँदैन ।
उनीहरुलाई विश्वास छ कि उनीहरुका कुलदेउता जहाँ पनि हुन्छन् – खेतमा, बारीमा, चौरमा, पहाडमा, खोलामा, डाँडा पाखामा, घरमा, बगैंचामा, भान्छामा, भर्‍याङमा, कोठामा । उनीहरुको देउतालाई रजस्वला हुने महिलाहरु अशुद्ध हुने भएकाले मन पर्दैन रे, अनि उनीहरु अगाडि पर्‍यो भने, छोयो भने ती कुलदेउताहरु रिसाउँछन्, परिवारको नाश हुन्छ, बाली सपिँदैन रे । अझ यस्तो चलन बारेन भने मुख बाङ्गिन्छ वा बाघ आएर खान्छ भन्ने समेत विश्वास पाल्छन् तिनीहरु, त्यो पनि आजको युगमा ।
त्यसैले उनीहरुले रजस्वला भएकाहरुले गर्दा आफ्ना देउताहरु नरिसाउन् भनेर आफ्नै आमा, श्रीमति वा छोरी नै भए पनि त्यस्तो बेलामा घरमा सुत्न दिँदैनन् । अझ उनीहरु यताउति जालान् र बाटोमा देउता भेट्लान् भनेर कतै जान पनि दिइँदैन, कैद गरेर राख्नु उचित सम्झिन्छन् । आफ्नो देउता नरिसाउन् भनेर महिलाहरुका इच्छा, स्वास्थ्य र स्वतन्त्रताको समेत बलिदान दिइन्छ । मानिसलाई रुवाएर देउतालाई खुशी पारिन्छ ।
सामान्य स्थानीय भाषामा छाउ भनेको रजस्वला हो अनि पडी भनेको प्रथा । यस्तो बेलामा बस्ने ठाउँलाई छाउगोठ भनिन्छ । यो छाउगोठ ठाउँअनुससार फरक हुन्छ । कतै गाईभैंसी नै राख्ने ठाउँमा पठाइन्छ भने सामान्यतयाः अलग्गै छाउगोठ बनाइएका हुन्छन् । एकजना पनि खुट्टा पसारेर सुत्न नमिल्ने, घुँडा टेक्दा पनि टाउकेले छतमा छुने । त्यहाँ झ्याल हुँदैन, झ्यालजत्रो घस्रेर जाने चौकोस हुन्छ, खापा हुँदैन, फलेक ढप्काएर हावा छेकिन्छ । स्वाभाविक हो, सर्प इत्यादिको डर त छँदैछ, बलात्कारको शिकार हुने सम्भावना समेत छ । यस्तो बेलामा स्यानिटरी प्याडजस्तो केही नहुँदा फोहोर र संक्रमण त हुने नै भयो ।
कति दिन छाउ बस्ने भन्ने गाउँ र समयअनुसार फरक हुन्छ । सामान्यतयाः किशोरीहरुलाई पहिलोपल्ट रजस्वला हुँदा एघार दिन र अरु बेला सात दिन छाउ राखिन्छ । आजभोलि चार दिन राख्छौं भन्छन्, बाहिरियाहरुले सोधे भने ।
यी क्षेत्रबाट काठमाडौं आएर बसेका थुप्रै नेताहरुको नाम लिन सकिन्छ । त्यहाँबाट आएकाहरुले देश बनाएको डिङ हाँक्छन् उनीहरु  तर आफ्नो क्षेत्र जसको खण्ड र अखण्डको नाममा आन्दोलन पनि गर्छन् तर यहाँको छाउपडीबारे भने कोही बोल्दैनन् । महिला अधिकारका कुरा गर्नेहरु पनि यसबारे आन्दोलन चलाउँदैनन्, चलाएको देखिँदैन वा सार्थक भएनन् ।
करिब २० वर्ष अगाडि अस्मिता पत्रिकाले यसबारे कुरा उठाएको थियो । अहिले पनि छिटपुट लेखरचना वा रिपोर्टहरु छापिन्छन् । यहाँ घरैपिच्छेजस्तो गैरसरकारी संस्थाहरु भेटिन्छन् । कतिपय गाविसमा छाउपडी मुक्त भनेर बोर्ड राखिएका हुन्छन् तर छाउगोठमा आवतजावत भएको दृश्य भने देखिन्छ नै । कतिले गोठ भत्काउने अभियान चलाएको पनि सुनिन्छ, तर प्रथा भत्काउँदैनन् उनीहरु ।
माओवादीले पनि केही त गर्न खोजेको जस्तो देखिन्थ्यो । सन् २००५ मा सर्बोच्च अदालतले नै छाउपडी प्रथा अन्त गर्न निर्णय गरिदिएको थियो तर व्यवहारमा भने यसलाई रोक्न सकिरहेको छैन । अहिले पनि बजारतिर नयाँ मान्छे देखियो कि त्यहाँका पुरुषहरु आफै छाउपडीका कुरा गर्न तम्सिन्छन् । एनजिओ आयो भनेर जिस्काउँछन् अनि दिउँसो बजारमा छाउपडीको विरोध गर्ने आइमाईहरु आफै छाउ बस्छन् भनेर गिज्याउँछन् । पक्कै पनि समस्या धेरै छ, भन्न जस्तो सुल्झाउन त्यति सजिलो छैन ।
(गत वर्ष महिलामाथि हुने यौन हिंसाबारे अध्ययन गर्न डडेलधुरा, अछाम र कैलाली भ्रमणको अनुभवको आधारमा)
http://esamata.com/2016/insight/20160625chhaupadi/

No comments: