Wednesday, August 19, 2015

20150820 ओलीको बोली, बुद्धको शिक्षा र धर्म निरपेक्षता


संविधानसभाद्वारा संविधान लेख्ने दोश्रो प्रयासको अन्तिम घडीमा नेपाललाई अन्तरिम संविधानले भनेझैं धर्मनिरपेक्ष राज्य राख्ने कि हिन्दु अतिवादीहरुले चाहेजस्तो हिन्दु राष्ट्र वा सो सरह बनाउने भन्ने बहस चलिरहेको छ । यस्तो बेलामा संघीयताविरोधी मात्रै हैन, सबै प्रकारका समानतामाथि असहिष्णु नीति लिने नेताका रुपमा चिनिएका नेकपा एमालेका अध्यक्ष एवं सभासद् केपी ओली शर्माले बुद्ध धर्मको मर्ममा हदैसम्मको प्रहार गरी बोलेको कुरा चर्चामा आएको छ ।
हुन त केपी ओली भन्ने व्यक्तिले बोल्नेबाहेक अरु केही काम गरेको सायदै कसैलाई थाहा होला । तर अहिलेको प्रसंग उनले हालै बुद्धबारे गरेको टिप्पणीका कारण उठेको हो । नेपालपाटी डटकममा पढेको थिएँ– उनले एक मन्त्रीको पुस्तक विमोचन समारोहमा सोधेछन्, गौतम बुद्धको पढाइ कति हो ? अनि दाबी गरेछन्, बुद्ध साक्षर समेत थिएनन् । 
यहाँ बुद्ध कति साक्षर थिए भन्ने प्रश्न गर्नु भन्दा पनि हामी आफै कति हदसम्म “बुद्ध–शिक्षित” छौं भनेर एकपल्ट ऐना हेर्नुपर्ने समय आएको छ ।
म सानो छँदादेखि विहारमा जाँदा, बौद्ध विद्वानहरुसँग उठबस गर्दा, बुद्ध धर्मबारे स्वअध्ययन गर्दा र बुद्ध धर्ममा स्नातकोत्तर गरिरहँदा पनि हेक्का नराखेको कुरा र सोध्न आवश्यक नठानेको कुरा यो । यो समाचार पढेपछि मैले बौद्ध विद्यार्थीहरुबीच र देशविदेशका बौद्धबीच सामाजिक सञ्जालमा बहस हुन थालेपछि आफूलाई बुद्ध धर्म पढाउनेहरुसमक्ष यसबारे जिज्ञासा राखें, उहाँहरुको शब्द टिप्नकै लागि भए पनि । उहाँहरुको जवाफ म यहाँ राख्न आवश्यक देख्दिनँ ।
म यहाँ शान्तिनायक अनि एसियाका ज्योति भनेर विश्वले सम्मान गरेका तथागत सम्यक सम्बुद्ध युनिसेफको अभियानले साक्षरमा दर्ज हुने नेपालीजस्ता साक्षर हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो, सिद्धार्थले आफ्नो बाल्यकालमा कसकसबाट केके शिक्षा पाउनुभएको थियो इत्यादिबारे उपदेश दिन चाहन्नँ । ओली यस्ता कुरा सिक्न योग्य छन् जस्तो पनि लाग्दैन । म उनलाई उनको शैक्षिक योग्यताको प्रश्न गरेर उनका कार्यकर्तालाई उत्तेजित पार्न पनि चाहँदिन ।
उनको वक्तव्यबारे लेखिरहँदा यति स्पष्ट पार्न आवश्यक ठान्छु, उनी र उनको पार्टी नेकपा एमालेसँग मेरो कुनै पूर्वाग्रह छैन । म उनको व्यक्तिगत जीवनको कुनै पक्षलाई कोट्याउन पनि चाहन्नँ । तर उक्त कार्यक्रममा उनले जे बोले, त्यसबाट उनलाई लाज नलागे पनि उनकी श्रीमति, परिवारजन र एमालेका कैयन पढेलेखेका जिम्मेवार व्यक्तिसँगै सहृदयी मतदाताको छाती पोल्नुपर्छ, आफ्नो शिर झुकेको महसुस हुनुपर्छ । आफ्ना नेताले यस्तो वाहियात कुरा बोलिरहँदा पनि नझुक्ने शिर के शिर ! 
सिद्धार्थले आफ्नो बाल्यकालमा कसकसबाट केके शिक्षा पाउनुभएको थियो इत्यादिबारे उपदेश दिन चाहन्नँ । म उनको शैक्षिक योग्यताको प्रश्न गरेर उनका कार्यकर्तालाई उत्तेजित पार्न पनि चाहँदिन ।
अचम्म पनि लाग्यो, यस विषयलाई ठुला पत्रपत्रिकाले समाचार नबनाएको देख्दा । राजनीतिक परिस्थिति भाँड्ने उनका सानोभन्दा सानोे भनाइलाई पनि चाख लिईलिई लम्बेतान समाचार बनाउने तथा बन्दै गएको राजनीतिक सहमति भड्काउने ठूला आकारका अखबारका हिन्दु पत्रकारहरुले यो भनाइलाई भने दबाउनमै हित सम्झे ।
म सोच्छु, कुनै बेला कोही बौद्ध विद्वानले हिन्दु धर्मबारे जानेर वा नजानेरै सही नै भने पनि ठूलो मुद्दा बनाइन्थ्यो होला, अक्षर अक्षरमा आगो बालिन्थ्यो होला । यहाँ त अल्पसंख्यक बौद्धहरुको आस्थामाथि चोट पुर्‍याइएको छ । यस्तो चोट पार्ने भनाइ पनि ठूला पत्रिकाका लागि खबर, सम्पादकीय र विश्लेषणभित्र परेन ! सायद समाचार दबाइयो भने गुपचुप होला र सामाजिक सद्भाव कायमै रहला भनेर हो कि ?
यहाँ बुद्ध कति साक्षर थिए भन्ने प्रश्न गर्नु भन्दा पनि हामी आफै कति हदसम्म “बुद्ध–शिक्षित” छौं भनेर एकपल्ट ऐना हेर्नुपर्ने समय आएको छ । जहाँ विदेशमा, विशेष गरी बुद्ध धर्मले व्यापकता पाएका देशमा म नेपालबाट आएको भन्ने परिचय दिने बितिक्कै त्यहाँका जनता हाम्रो हात आफ्नो निधारमा लगेर छुवाउँछन्, नेपालमा जन्मने हरेक नागरिक बुद्धकै प्रतिमूर्ति हुन् कि भनेर । त्यहीं हाम्रो देशमा चाहिँ कमसेकम नीतिनिर्माताहरुका लागि भने कौडीको पनि मूल्य छैन बुद्धशिक्षाको । कसले सिकाउने नेपालीहरुलाई बुद्धशिक्षा ? फेरि कसले सिक्ने ?
विडम्बनाको कुरा, बुद्ध नेपालमा जन्मेका हुन् भनेर सडक तताउने, भाषणमा ताली बटुल्नेदेखि थरीथरीका रेकर्ड बनाउनेहरु पनि बुद्धसँग कुनै शिक्षा र ज्ञान नभएको भनेर सार्वजनिक अभिव्यक्ति दिइँदा समेत ग्लानिको अनुभूति गर्दैनन् । नेपालमा त बुद्धको नाममा राजनीति बिक्छ, बौद्ध संस्थामा हुने राजनीतिक नियुक्ति बिक्छ, बुद्धका सुन्दर मूर्तिहरु बिक्छन् तर बुद्ध शिक्षा बिक्दैन ।
हिन्दु राष्ट्र हुँदा होस् वा धर्म निरपेक्ष हुँदा, हिन्दुहरुले राज्यको सुविधा भोग गर्न पाउँदा पनि यहाँ बौद्धहरु आफ्नै मिहेनतले बनाएका विहार र गुम्बामा बौद्ध शिक्षा लिन्छन् । त्यहाँ छोराछोरीहरुलाई पढ्न पठाउँछन्, तिनीहरुको क्यारियरको र आर्थिक लाभको अवसरको सम्भावनालाई समेत तिलाञ्जली दिएर । सुगम र दुर्गममा रहेका गुम्बा गुम्बामा बुद्ध–ज्ञानद्वारा हजारौं नेपाली दीक्षित हुन्छन् । आधा शताब्दी भयो, यहाँका बौद्धहरुले परियत्ति कक्षामा वर्षैपिच्छे सयौंको संख्यामा बौद्धहरुलाई बुद्ध धर्मको सैद्धान्तिक शिक्षा दिइरहेको पनि । नेपालमा बुद्धशिक्षाको दुई हजार वर्षको अध्ययन–अध्यापनको निरन्तरता कुनै राजा–महाराजाको निगाहमा भएको होइन, यहीँका बौद्धहरुको रगत–पसिनाले सम्भव भएको हो ।
बुद्धको यति अपमान हुँदा पनि हामी बुद्ध नेपालमा जन्मेको भनेर लेखेको टिसर्ट लगाउन र फेसबुकमा पोस्ट गर्न लजाउँदैनौं । हामीलाई त फगत बुद्धको नाममा सस्तो ख्याति चाहिएको छ, बौद्ध तीर्थस्थलहरुको विकास र संरक्षणका नाममा आउने पैसा र बौद्धहरुको कोटामा सित्तै विदेशमा उड्ने बहाना चाहिएको छ ।
एउटै देश, एउटै प्रशासन छ, तर धर्मअनुसार नीति र व्यवहार भिन्नाभिन्नै छ । जहाँ संस्कृत विश्वविद्यालयले सन् १९८६ देखि करोडौंको बजेटमा एक समुदायका मानिसले हालिमुहाली गर्न पाइरहेका छन्, त्यहीँ दशकौंको आन्दोलनपछि सन् २००६ मा मात्रै बौद्ध विश्वविद्यालय बल्लबल्ल स्थापना भएको छ । त्यही एउटा बौद्ध विश्वविद्यालय र बुद्ध धर्म पढाउने कलेजहरुले पनि प्रशासन चलाउन समेत यथेष्ट बजेट पाउन सक्दैनन्, विद्यार्थीहरु टहरामा बसेर बुद्ध धर्म अध्ययनको सरकारी मान्यता पाउने शैक्षिक योग्यताको लागि लामबद्ध हुन्छन् ।
नेपालका हिन्दु शासकहरुले बेलाबेलामा नेपालमा बौद्ध विद्वानहरुले अध्ययन गर्ने, रचना गरेका र संरक्षण गरेका ग्रन्थहरुलाई नाश गरेको, मिल्काएको कुरा हामीले नपढेको, नसुनेको होइन । तर पनि हामीलाई गर्व छ, कुनै बेला नेपालमा बुद्धशिक्षा हासिल गर्न दक्षिण भारतदेखि हिमालयपारि बाट समेत मानिसहरु आउँथे । उनीहरु भन्थे, भारतमा बौद्ध ग्रन्थहरु र शिक्षालयहरु ध्वंस गरिँदा पनि नेपालमा बुद्धशिक्षा र ज्ञानको भण्डार सुरक्षित रहे । विश्वका चुनिएका विद्वानहरु बुद्धलाई चिन्न र चिनाउन नेपालका बहाल–बहिल र गुम्बाहरुमा भएका नेवार र तिब्बती लिपिमा लेखिएका ग्रन्थमा घोत्लिन आउँछन् । ज्ञानको ज्योति विश्वभर छर्छन् अनि ती ज्ञानका भण्डार भविष्यका पुस्ताका लागि सुरक्षित राखेकोमा नेपाल र नेपालीप्रति कृतज्ञ हुन्छन् ।
तर नेपालका राजनीतिज्ञ भनाउँदाहरु भने निर्लज्ज भएर नेपालकै चिनारी बोक्न सक्ने एकमात्र विभूतिमाथि सिङ् न पुच्छरको कमेन्ट गरेर आफ्ना कार्यकर्ताको शिर झुकाउने काम गरेर हिँड्छन्, सार्वजनिक रुपमा । कुनै बेला थियो, जब नेपाली बौद्ध भिक्षुहरु धर्मप्रचार गरेको अभियोगमा गिरफ्तारी र देश–निकालामा पर्थे, बन्दै गरेको पोखराको शान्तिस्तुप सेना पठाएर भत्काइन्थ्यो । अब त देशमा लोकतान्त्रिक गणतन्त्र आयो भन्दै बौद्धहरुले शान्तिको सास फेर्न के थालेका थिए, फेरि यो अपमान भोग्नुपर्‍यो । कति सहन्छन् सहनशीलहरु पनि ?
कि उनी नेपालका बौद्धहरु लाछी छन्, देशनिकाला हुने डरले शासक वर्गले जे भने पनि चुपचाप बस्छन् भनेर प्रमाणित गर्न खोज्दैछन्, कि उनी धर्मको नाममा वितण्डा मच्चाएर सुटुक्क एक थान संविधान फालेर प्रधानमन्त्री बन्न खोज्दैछन् ।
ओलीलाई बुद्ध र बौद्धहरुबारे यस्ता तुच्छ बोली बोलेर बाघै मारें भन्ने भ्रम हुँदो होला । तर यो कुरा अन्तर्राष्ट्रिय बौद्ध वृत्तमा पुग्दा उनको, उनले नेतृत्व गरेको पार्टीको मात्र होइन, बुद्धको जन्मभूमि भनेर चिनिएको नेपालको समेत कस्तो छवि बन्न गयो भनेर उनले अनुमान पनि गरेका छैनन् होला । म सोच्दैछु, उनले यस्तो कुरा श्रीलङ्का, थाइल्याण्ड, चीन, जापान वा युरोप, अमेरिकामा पनि गरेका भए त्यहाँका बौद्धजगतले कस्तो प्रतिक्रिया दिन्थे होला भनेर । स्पष्ट छ, उनलाई बुद्धलाई कति देशका कति बौद्धले धर्मको केन्द्र भनेर पूजा, अर्चना र उपासना गर्छन् भन्ने पनि थाहा छैन ।
बुद्धको यति अपमान हुँदा पनि हामी बुद्ध नेपालमा जन्मेको भनेर लेखेको टिसर्ट लगाउन र फेसबुकमा पोस्ट गर्न लजाउँदैनौं । हामीलाई त फगत बुद्धको नाममा सस्तो ख्याति चाहिएको छ, बौद्ध तीर्थस्थलहरुको विकास र संरक्षणका नाममा आउने पैसा र बौद्धहरुको कोटामा सित्तै विदेशमा उड्ने बहाना चाहिएको छ । बुद्ध को हुनुहुन्छ भन्ने सोच्ने फुर्सद पनि कहाँ छ र, यहाँ बुद्धको नाममा राजनीति गर्नेहरुलाई । यहाँ बौद्ध कार्यक्रममा आउने मन्त्रीहरु, सभासद्हरु र राज्यको सुविधा भोग्ने प्रमुख अतिथिहरु, जो बाइ डिफल्ट हिन्दु उच्च जातका हुन्छन्, तिनीहरुलाई सम्झन्छु, जो काठको मूर्तिजस्तो भएर बुद्ध प्रतिमा अगाडि उभिन्छन्, धर्मगुरुले “बुद्धम् शरणम् गच्छामी” (म बुद्धको शरणमा जान्छु) भनेर सबैलाई भन्न लगाउँदा मुखमा हावा पनि नछिरोस् भनेर मुख बन्द गरेर बसिरहन्छन् । यस्तै छ यहाँ ।
अब एउटा धर्मावलम्बीलाई अर्को धर्मका आस्थाका केन्द्रविन्दुमाथि हचुवा भरमा मनपरी बोल्न पाइने कि नपाइने भनेर सोध्नुपर्ने भएको छ । त्यसको प्रतिउत्तरमा यहाँका बौद्ध, मुस्लिम, इसाइ, किरातहरुले हिन्दुहरुले पुज्दै आएका देवीदेवताको शैक्षिक योग्यता र चरित्रमा टिकाटिप्पणी गर्न थाले भने हाम्रो समाज कहाँ पुग्छ ? के यसैलाई सहअस्तित्व र सामाजिक सद्भाव भनिन्छ ? गैरहिन्दुले हिन्दु धर्ममा टिप्पणी गरे अपराध, हिन्दुले गैरहिन्दु धर्ममा टिप्पणी गरे स्याबासी ?
जहाँ अन्य बौद्ध देशमा बुद्धको तस्बिरको समेत अमिल्दो प्रदर्शनले, नोट, लुगाजस्ता साधारण ठाउँमा बुद्धको तस्बिर राख्नाले, शरीरमा बुद्धको चित्रको टाटु खोप्नाले सजाय दिने नियम छ भने बुद्धको जन्मभूमि भनेर विश्वलाई देखाउने देशमा एक जना जिम्मेवार व्यक्तिले होसमा वा बेहोसमा अरहत सम्मासम्बुद्धलाई आफू र आफ्ना चेलासरह दाँजेर आफूले नपढे पनि ठिकै गरेको छु भनेर ‘जस्टिफाइ’ गर्नकै लागि बुद्धलाई साक्षर छैन भन्ने जस्तो आपत्तिजनक अभिव्यक्ति दिँदा पनि समाज चुप लागेर बस्नुपर्ने अवस्था छ । त्यसमा थप, उनका चेलाहरु सामाजिक सञ्जालमा उनकै तरफदारी गर्दै आफ्नै विद्वताको खिल्ली उडाउँदैछन् । कहिलेसम्म नेपालमा बुद्ध अपमानित भइरहनुपर्ने ?
ओलीको बोली त्यस्तो बेला आएकोले बढी महत्वपूर्ण भएको छ, जुन बेलामा अहिले संविधानसभाको दुहाई दिएर संविधान लेख्न बसेका हिन्दु नेताहरुले अन्तरिम संविधानमै स्थापित भइसकेको धर्म निरपेक्षतालाई लत्याउँदैछन् भनेर सडकमा विचार पोखिएका छन् । ओली बिनाकारण बोल्दैनन्, उनको यही बोलीका पछाडि पनि निश्चित कारण देख्दछु । कि उनी नेपालका बौद्धहरु लाछी छन्, देशनिकाला हुने डरले शासक वर्गले जे भने पनि चुपचाप बस्छन् भनेर प्रमाणित गर्न खोज्दैछन्, कि उनी धर्मको नाममा वितण्डा मच्चाएर सुटुक्क एक थान संविधान फालेर प्रधानमन्त्री बन्न खोज्दैछन् ।

अब जनता एक थान संविधानको मुख हेर्नकै लागि मात्र मुखमा पट्टी बाँधेर बस्दैनन् । बहुधार्मिक देशमा राजनीति गर्नुपर्नेहरु एउटा धर्मलाई निशाना बनाएर धेरै दिन टिक्न पाउँदैनन् । नेताहरुले यस्तो जटिल अवस्थामा धार्मिक राजनीतिक खेल नखेलेकै राम्रो ।
Published in esamanata.com

No comments: