राजेन मानन्धर
पाटनमा बुंगद्यःको जात्रा भरखरै उल्लासमय वातावरणमा समापन भएको छ । सम्भवतः नेपालमा सबैभन्दा लामो र धेरै मानिसको जमघट हुने जात्रा होला यो । स्पष्ट छ, त्यहाँ मानिसहरु जात्रा गरिने बुंगद्यः (जसलाई लोकनाथ, लोकेश्वर, अवलोकितेश्वर, करुणामय, मछेन्द्रनाथ पनि भनिन्छ) प्रति श्रद्धा भएर, उहाँले सबैको मनोकांक्षा पुरा गरिदिने विश्वास भएर नै आएका होलान् ।
भगवान बुद्धले २५ सय वर्ष पहिले नै भन्नुभएको थियो, कसैले भन्यो भनेर विश्वास नगर, अनि आफु नै आफ्नौ नाथ होउ । अब भगवान बुद्धको यस्तो युगान्तकारी सिद्धान्त जसले ब्राम्हणहरुको हजारौं वर्ष पुरानो भनिएको धर्मको जग समेत हल्लाइदिएको थियो, त्यो धर्म अब हुँदा हुँदा भावभक्तिको एउटा यस्तो सम्प्रदाय बन्यो जुन भगवान बुद्धले दिनुभएको शिक्षासँग कदापि मेल खाँदैन । यहाँसम्म कि एकातिर यो हिन्दुहरुको पनि देउता हो भनेको दाबी सहर्ष स्वीकार गरिन्छ भने, त्यहीँ अर्कोतिर बौद्धहरुले पनि यसलाई यसरी मनाइरहेका छन् कि त्यसमा बौद्ध देवता भएको रत्ति गर पनि गुण बाँकी रहन्न । बुंगद्यःलाई केन्द्र मानेर यसको दर्शन पक्षको गहनता र व्यवहारमा देखिएको सतहीपनको बारेमा चिन्तन गर्न आवश्यक छ ।
धर्म र संस्कृतिका नाममा मनाइने यो जात्रामा यस्ता कुराहरु यति गहिरो ढंगले गाँसिँदै आयो कि यो अब बुद्ध धर्म नै हो कि हैन भन्ने विषयमा तटस्थ भएर हेर्नुपर्ने अवस्था आएको छ । जात्रा हुनु, रमझम हुनु, कुनै धर्ममा आश्रित हुनु, श्रद्धा जाग्नु त स्वाभाविक हो तर यहाँ बुद्ध धर्मको नाममा जे जति भइरहेको छ, त्यसलाई सिंहावलोकन गर्न अत्यन्त जरुरी भइसकेको छ । यस लेखमा भगवान बुद्धको मूल शिक्षाका केही बुँदाहरुदेखि अहिले बुंगद्यः जात्राका विभिन्न पक्ष वा चरणहरुलाई संक्षेपमा समीक्षात्मक विश्लेषण गर्ने कोशिस गरिनेछ ।
बोधिसत्व को हो?
जब जब बुद्ध शिक्षाको खाँचो हुन्छ र हामी जानेर वा नजानेरै पनि बुद्धलाई फेरि आउनू भनेर बोलाउँछौं । अनि अर्कोतिर बुद्ध भन्ने फेरि फेरि आउने कुरा हो भनेर बुद्ध दर्शन आफैले स्वीकार गरेको पक्ष हो । अब आउँदा कहिले आउने र कसरी आउने भन्ने भने बेग्लै पाटो छ । यदि कसैले बुद्ध कहिले कसरी आउँछ भन्ने थाहा पाएको भए बुद्धलाई फेरि आउ भनेर कसैले कथा–कविता लेख्दैनथे होला, यो बेग्लै कुरा भयो ।
भगवान शाक्यमुनि बुद्धको जन्म त्यसै त्यति सजिलोसँग भएको थिएन । सबै बौद्धहरुले मान्ने एउटा विश्वास छ — धेरै धेरै (त्यो भनेको कल्पना नै गर्न नसक्ने गरी धेरै) वर्ष पहिले एकजना बुद्ध हुनुहुन्थ्यो, उहाँको छेउमा एक जना ऋषिले म बुद्ध हुन पाउँ भनेर प्रार्थना गर्नुभयो । उहाँको प्रार्थना सुनियो र उहाँले धेरै धेरै जन्मसम्म कडा मिहेनत गरेर उहाँ बुद्ध हुनुभयो । अब यसबाट थाहा हुन्छ बुद्ध हुनसक्ने मानिसले धेरै जन्मसम्म राम्रो राम्रो काम गरेर आफुलाई बुद्ध बन्न लायक बनाउनु पर्दो रहेछ । त्यस्तै अब पनि मानिसहरुमा बुद्ध हुने इच्छा जाग्छ भने त्यसको लागि धेरै मिहेनत गर्नुपर्ने हुन्छ । हो, यसरी हेर्दा बुद्धत्वको लक्ष्य प्राप्त गर्न अभ्यास वा प्रयत्न गरिरहेको व्यक्ति बोधिसत्व हो ।
शाब्दिक रुपमा भन्नुपर्दा बोधिचित्त उत्पाद गर्ने सत्वलाई बोधिसत्व भनिन्छ । अर्थात् मनमा बोधिचित्त जगाई अरुको हितमा समर्पित हुने महाकरुणावान व्यक्ति नै बोधिसत्व हो । बोधिसत्वको जीवनको एकमात्र उद्देश्य भनेको लोकजनको उपकार गर्नु हो । यहाँ मानिस मात्र नभएर जीवजन्तुदेखि दिएर आँखाले नदेख्ने किराफट्याङ्ग्रा अनि अमनुष्य वा भुतप्रेत पनि आउँछ ।
बोधिसत्व धेरै प्रकारका हुन्छन् । थेरवादले प्रज्ञाधिक, श्रद्धाधिक तथा वीर्याधिक बोधिसत्वको अवधारणा लिएको पाइन्छ । यहाँ बुद्ध हुनुलाई यति दुर्लभ बनाइको हुन्छ कि मानिसहरु कल्पना पनि गर्दैन, बरु अर्हत भएर निर्वाण पाउनु नै सबैभन्दा माथिल्लो मार्गफल भन्छन् । यही कुरा पछि महायानमा विकास हुँदै हामी सबै बुद्ध हुन चाहन्छौं, हुनसक्छौं अनि हुनुपर्छ भन्ने धारणाको विकास हुँदै गयो ।
यस हिसाबले हामी बुद्ध हुन चाहन्छौं त्यसकारण हामी सबै बोधिसत्व हुनपुग्छौं । यहाँ पनि तीन प्रकारका बोधिसत्वहरुको अवधारणाको विकास भयो — जातक बोधिसत्व, ऐतिहासिक बोधिसत्व तथा अनुत्तर वा लोकोत्तर बोधिसत्व ।
संक्षेपमा भन्नुपर्दा भगवान बुद्धले बुद्ध हुन्छु भनेर प्रतीज्ञा गरेदेखि विभिन्न जन्म लिएको सबैलाई जातक, सिद्धार्थ कुमार जन्मेदेखि बुद्धत्व प्राप्त नगर्नुभएसम्म तथा अवतारी लामा वा आचार्यहरु ऐतिहासिक तथा महायान बुद्धधर्मले कल्पना गरेर बनाएका सामान्य भाषामा देउताहरु सबै अनुत्तर वा लोकोत्तर बोधिसत्वहरु हुन् ।
महायानमा जो जो बुद्ध बन्न चाहन्छन् उनीहरु बोधिसत्वमा यस्तो यस्तो गुण हुनुपर्छ, उनीहरु यस्ता देखिन्छन् भनेर विभिन्न आदर्श, रुप वा गुणको कल्पना गर्दै ध्यान वा साधना गर्दछन् ।
यसरी कल्पना गरेर देखिएका वा बनेका बोधिसत्वहरुलाई अनुत्तर वा लोकोत्तर बोधिसत्वहरु भनिन्छ । महायानी गुम्बा वा पुजाकोठामा देखिने विभिन्न रुप, धेरै टाउका वा हात भएका बौद्ध देउताहरु नै बास्तवमा यस्ता बोधिसत्वहरु हुन् । मञ्जुश्री, वज्रपाणि, पद्मपाणि लोकेश्वर यस्ता केही बोधिसत्वहरु हुन् । यसलेखमा चर्चा गरिने लोकेश्वर वा अवलोकितेश्वर एक यस्ता बोधिसत्व हुन् ।
अवलोकितेश्वर को हो ?
बोधिचर्या अभ्यास गर्दा गर्दै बुद्धपद लाभ गर्न सक्ने अवस्थामा पुग्ने एउटा कुरा, तर त्यहाँ जाने नजाने अर्को कुरा । हुनसक्छ, कोही बोधिसत्व सबै पारमिताहरु पुरा गरेर बुद्ध बन्न लायक बन्छ तर ती मध्ये कति त संसारका असंख्य प्राणी अझै दुःखमा परेको देखर उनीहरु ती सबैको कल्याण नगरी बुद्ध नै हुन्न वा निर्वाण नै हुन्न भनेर पनि बसेका हुनसक्छन् । अब उसमा कति धेरै करुणा भएको होला, जो बुद्ध बन्ने अवसरलाई पनि बेवास्ता गरेर सबै प्राणीको हितमा बसिरहेको होस् ? यिनैलाई अवलोकितेश्वर भनिन्छ । यो अवधारणा वा दर्शनले मानिसमा बुद्ध हुनुभन्दा पनि ठुलो कुरा अरुमाथि करुणा राख्नु हो भन्ने शिक्षा दिन्छ ।
यिनैलाई आदर्श मानेर हामी पनि करुणाले युक्त भएर दीन दुखीको सेवा गरौं, आफ्नो भन्दा पहिला अरुको सुखका लागि जिउँ भन्ने पवित्र धारणा मनमा राखेर सफल र सुखी जीवन जिउन सकिन्छ । अनि हाम्रा आदर्श पुरुष अवलोकितेश्वर हाम्रा लागि देउता सरह हुन पुगे । त्यसकारण आफ्नो अगाडि अवलोकितेश्वरको मूर्ति राखेर नमस्कार गर्नुको अर्थ मलाई धनी बनाइदेउ वा चुनाव जिताइ देउ भनेर माग्नु भन्दा पनि ममा पनि अवलोकितेश्वरको जस्तो आफ्नो स्वार्थलाई एकातिर पन्छाएर जगतको वा समाजको सेवा गर्नेे महान् भावना आओस् भन्ने हो ।
जहाँ जहाँ बुद्धधर्मको विकास भयो त्यहाँ त्यहाँ अवलोकितेश्वरको धारणा फैलियो । त्यसकारण महायान फैलिएका सबै देशमा कुनै न कुनै रुपमा, कुनै न कुनै नाममा अवलोकितेश्वर हुन्छ ।
जहाँ जहाँ बोधिसत्वको महत्वको बारेमा चर्चा भयो त्यहाँ त्यहाँ अवलोकितेश्वरको पूजा हुन थाल्यो । अहिले नेपाल बाहेक भारत, तिब्बत वा चीन, कोरिया, जापान, क्याम्बोडिया, भियतनाम, इन्डोनेशिया आदि देशमा पहिले कुनै बेलामा अवलोकितेश्वरको पूजा भएको वा हुँदै आएको पाइन्छ । ठाउँ अनुसार उहाँको स्वरुप, नाम र पूजा विधि फरक हुनु स्वभाविक थियो । उहाँलाई तिब्बतमा (र लद्दाख, सिक्किम तथा हिमाली नेपालमा) चेनरेजिग (སྤྱན་རས་གཟིགས)भनिन्छ, श्रीलंकामा नाथदेवाला (නාථ දේවාල), चीनमा ग्वानशियिन (观世音菩萨), कोरियामा ग्वासेअम् भोसाल(관세음보살), थाइल्याण्डमा फ्रा अवलोकितेसुअन (พระอวโลกิเตศวรโพธิสัตว์), भियतनाममा क्वानआमबोतात(Quan Âm Bồ Tát,) , क्याम्बोडियामा अवलौकितेस्वर्य (អវលោកេស្វរៈ), म्यानमारमा लौकनाट (လောကနတ်) इत्यादि नामले पुकारिन्छ । बुद्धधर्मको विलय भइसकेको पाकिस्तानमा, काश्मिरमा, इन्डोनेशियामा पनि अवलोकितेश्वरका मूर्तिहरु पाइएका छन् ।
कतै दुइ हातका भए, कतै चार आठ वा कतै हजार हातसम्म भए, कतै एक टाउको त कतै एघार टाउकोसम्म भए । कतै अवलोकितेश्वरको १०८ अवतार वा रुप हुन्छ भनियो, कतै आदिबुद्ध वज्रसत्वको मुखबाट उत्पन्न ह्रिं बीजाक्षरबाट ३६० अवलोकितेश्वर बोधिसत्वहरु उत्पन्न भएको विश्वास गरिन्छ । जहाँ जसरी भएपनि उहाँ करुणाका खानी भनेर प्रख्यात भए र पुजा गरिने देवता बने । यसको विविधताको बारेमा कुनै दिन चर्चा गरौंला ।
बुद्धधर्ममा अवलोकितेश्वरको अवधारणाको विकास कहिलेदेखि भयो भनेर भन्न कठिन छ । जुनबेला ध्यानी बुद्धहरुको बारेमा कुरा गर्न शुरु भयो त्यो बेला अमिताभको महानताको कुरा भयो । अपवाद बाहेक अवलोकितेश्वरलाई अमिताभको चेलाको रुपमा लिइन्छ, त्यसकारण अधिकाशं अवलोकितेश्वरले आफ्नो शीरमा अमिताभलाई धारण गरेको हुन्छ । विभिन्न महायानी सूत्रमा अवलोकितेश्वरको चर्चा भएको मानिन्छ । अन्य अर्थ नलागेमा भारतमा सम्राट अशोकले बुद्ध धर्मको व्यापक प्रचार प्रसार गरिसक्दा यसको व्यापकता सँगै बोधिसत्ववादले प्रख्याती पाएको र यसैको फलस्वरुप अवलोकितेश्वरको चर्चा हुन थालेको भन्न सकिन्छ । फाहियानले ५औं शताब्दीमा र हुयेनसाङले ७औं शताब्दीमा भारतको भ्रमण गर्दा यहाँ अवलोकितेश्वरको पुजा गरेको देखेको वर्णन गरेका थिए । अजन्ताको गुफामा पाइएको कमल समातेको अवलोकितेश्वरको चित्र निकै प्रख्यात छ । नेपालको हकमा भने अवलोकितेश्वरको नाम उल्लेख इस्वी ५५७मा काठमाडौं ब्रम्हटोलको अभिलेखमा भएको मानिन्छ । भोटेबहालमा स्थित छैठौ वा सातौ शताब्दीको मूर्ति नै सबैभन्दा पुरानो अवलोकितेश्वरको हो कि भन्ने इतिहासकारहरुको ठम्याइ छ ।
बुंगद्यः
नेपालमा अवलोकितेश्वरको पूजा गर्ने चलन कहिलेदेखि भयो भन्ने यथेष्ट प्रमाणिक दस्तावेजहरु पाएको देखिँदैन । यहाँ यसै परम्पराको विकास हुँदै पाटनमा बुंगद्यः (श्रीमदार्यावलोकितेश्वर), काठमाडौंमा जनबाहाद्यः (अमोघपास लोकेश्वर ), किर्तीपुरमा चोभाःद्यः (आदिनाथ लोकेश्वर) अनि नालामा नाला करुणामय (श्रृष्टिकान्ता लोकेश्वर) भनेर पुज्ने परम्परा बन्यो । हामी भने बुंगद्यःमा मात्रै केन्द्रित हुन्छौं ।
यहाँ अवलोकितेश्वरको आगमन नै संभवतः बुंगद्यःको रुपमा होला । सातौं शताब्दीमा राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य तथा रथंचक्रले भारतको कामरुप कामाख्याबाट यक्षपुत्रलाई नेपालमा ल्याएको र उनैलाई बुंगद्यः भनिएको किंवदन्ती नेवारबौद्धहरुको माझ एकदम प्रख्यात छ । बौद्धहरु बुंगद्यःलाई श्रीमदार्यावलोकितेश्वर, अवलोकितेश्वर, लोकेश्वर, करुणामय, लोकनाथ, बुंगम लोकेश्वर, विरंची नारायण तथा मत्स्येन्द्रनाथको रुपमा पनि पुज्छन् । तर सुनिरहुँ सुनिरहुँ लाग्ने यस किंवदन्तीको ऐतिहासिकतामा निकै प्रश्न उठेको छ ।
मिथक र किंवदन्तीमा एकदमै धनी नेवारबौद्धहरुका माझ बुंगद्यःसँग जोडिएका थुप्रै कथा कहानीहरु छन् जुन बेलामौकामा इतिहाससँग बाझिँदै, अनन्त बहसका विषय बन्दछन् । कोही बुंगमा बिसाइएको द्यः भन्छन्, कोही कृषि विशेषज्ञ भन्छन्, कोही कुकुर रोएको कथा सुनाउँछन्, कोही भैरवहरुले बोकेर ल्याएको भन्छन् । अझ कतै कतै उहाँ इती तथा कीर्तिपुरमा मनपराएकी केटी साथीसँग रात बिताउन गएको समेत कथा बनाइएका छन् । के यो सब महायानको अवलोकितेश्वरको दर्शनसँग सुहाउँदा छन् त ?
यद्यपि यति चाहीँ अकाट्य छ कि कमसेकम पाटनका र बुंगमतिका बौद्धहरुका लागि बुंगद्यः सबैभन्दा बढी मान्ने पुजा गर्ने र देउता हुन् । त्यसैले यसको जात्रा हरेक वर्ष धुमधामका साथ तथा हरेक बाह्र वर्षमा अझ धेरै भव्यताका साथ मनाइन्छ । यस जात्राको अन्तिम खण्डमा देशका राष्ट्राध्यक्ष समेतको उपस्थितिलाई अहिलेसम्म अनिवार्य बनाइएको छ ।
यसको जात्रा जसरी शुरु हुन्छ, जसरी मानिसहरुले हुलमुल गरेर तान्छ, बाजागाजा, कोही कोही ठेलमठेल गरेर अनि जाँडरक्सी खाएर समेत सहभागी हुन्छ, जस्तो जस्तो पूजा हुन्छ, जस्तो आशयका भजनहरु गाइन्छन्, जसरी विभिन्न तान्त्रिक पूजाको नाममा पशुबलि दिइन्छ, अनि जात्रा सकिएपछि जसरी बुंगमति फर्काएर लगिन्छ, त्यो सबले यो अवलोकितेश्वरको मूर्ति हो वा यो बौद्ध पनि हो कि भन्नेमा शंका गराउँछ ।
बुंगद्यः र मछिन्द्रनाथ
बुंगद्यःका विभिन्न नामहरु मध्ये एक मत्येन्द्रनाथ (मछिन्द्रनाथ) पनि हो । बौद्धहरु त्यही मूर्तिलाई अवलोकितेश्वर भन्छन् अनि हिन्दुहरु मछिन्द्रनाथको रुपमा हेर्छन् । ढोग्न पाए पुग्नेहरु जे भएपनि ढोगौं न भनेर जान्छन् । धर्म भनेको आस्था हो, मान्यो भने सबै ढुंगा देवता हुन् । तर कालो कालो हो, सेतो सेतो हो — अवलोकितेश्वर र मछिन्द्रनाथ एउटै होइन ।
मत्येन्द्रनाथ को हुन् भनेर हेर्दा हिन्दु मान्यता अनुसार उनी कामरुपमा १०औं शताब्दीमा जन्मेका एक योगी थिए भन्ने देखिन्छ । उनी हठयोगका प्रचारक पनि थिए ।
नाथगुरु मत्स्येन्द्रनाथको एउटा कथा छ भने यता नेवार बौद्धहरुसँग करुणामयलाई किन मत्स्येन्द्रनाथ भनियो भन्ने अलग्ग कथा छ । नाथहरुका अनुसार मत्येन्द्रनाथ अलक्षण समयमा जन्मेकाले उनका बाउआमाले उनलाई समुद्रमा फालिदिए र उसलाई एउटा माछाले निल्यो । माछा समुद्रको पिँधमा गयो जहाँ शिवले पार्वतीलाई योगको बारेमा गुह्य ज्ञान दिइरहेको थियो । उनले यसैबाट योग सिके । यता बौद्धहरुको कथा अनुसार एक दिन शिवले पार्वतीलाई सुविद्या कुविद्या सिकाइरहँदा पार्वती निदाइन् र शिववचन खेर नफाल्न करुणामय माछारुप लिएर पानीमुनिबाट सुनिरहे । त्यसकारण करुणामयलाई पनि मत्स्येन्द्रनाथ भन्ने गरिन्छ ।
यहाँ नाथ परम्पराको कुरा अलिकति गर्नुपर्ने हुन्छ । नाथ परम्परा भनेको शैव धर्मको एउटा रुप हो जुन भारतमा ९औ वा १०औं शताब्दीमा शुरु भयो । यसले शैवधर्म र योगको कुराहरु मिसाएर शिवलाई प्रमुख गुरु मानेर त्यागको भावनाले जीवन जिउन सिकाउँछ (उनीहरुलाई हामी बोलीचालीको भाषमा जोगी भन्छौं) । शिवले योगको बलबाट विभिन्न ज्ञान र विज्ञानको रहस्य बुझाउँदै लोक कल्याणको लागि दिनुभएको ज्ञानलाई नाथ परम्पराले अघि सारेको मानिन्छ । गोरखनाथलाई यस पथका प्रवर्तक मानिन्छ ।
नेपालमा दशनामी भनिनेहरु र केही नेवारहरु यस नाथ सम्प्रदाय अन्तर्गत पर्दछन् । नाथगुरुहरु मध्ये ८औं मत्स्येन्द्रनाथ र ९औं गोरखनाथ भनिन्छ । अरु केही नभनीकन यति मात्र यहाँ भनौं कि नाथ परम्पराको आफ्नो दर्शन छ जुन धर्म भन्दा पनि गुरु शिष्य परम्परा हो र हाम्रो जस्तो कोरा मूर्तिपूजा भन्दा जटिल छ । उनीहरु मूर्ति पूजा गरेर आशिष माग्ने भन्दा पनि ज्ञानको खोजीमा जंगल जंगल घुम्छन् र विचार विमर्श गर्छन् । अब बोधिसत्व आर्यावलोकितेश्वर कसरी नाथ हुनपुग्यो ? सबै बौद्धहरु करुणामयलाई मत्येन्द्रनाथ भन्न मन पराउँछन् त्यो भने बुझ्न गाह्रो छ (नेवारहरुको विष्णुको मत्यअवतारसँग सम्बन्धित मत्स्येन्द्रनाथ मच्छेगाउँमा छ)।
नेवारहरुले गर्वका साथ कथामा भन्दै आउने कुरा हो कि करुणामयलाई आसाम स्थित कामरुप कामाख्याबाट ल्याएको थियो । उता नाथगुरु मत्स्येन्द्रनाथको जन्म पनि कामरुपमा भएको भनिन्छ । अब नेवारहरुले कामरुपबाट करुणामय ल्यायो कि योगी मत्स्येन्द्रनाथ ल्यायो भनेर प्रश्न सोध्न पनि सकिन्छ । यसरी सोध्दा पनि यता करुणामय ७औं शताब्दीमा ल्याएको थियो भन्नेहरुसँग वितर्क गर्नुपर्ने अवस्था छ ।
हामीकहाँ प्रचलित कथाले गोरखनाथले भट्टीपसलमा जाँड खान गएको, मनग्गे जाँड खुवाउन नौवटा नागले सहयोग गरेको, त्यही भएर उनीहरुलाई उनेर बसेको, जुनबेला उ नौवटा नागमाथि बसिरहेको थियो, त्यसबेला उनका गुरु मत्येन्द्रनाथ आइपुगेकोले उसलाई नमस्कार गर्न गोरखनाथ उठेको र नागहरु मुक्त भइ वर्षा भएको भन्ने पनि छ । यो कथामा आर्यावलोकितेश्वर कसरी मत्येन्द्रनाथ बन्नपुग्यो भन्ने भने स्पष्ट छैन । कथै कथामा रुमलिरहेका नेवारहरुले दुइटाको बिचमा फरक छुट्याउन विवेक नै गर्न नपाएको जस्तो देखिन्छ ।
करुणामयका अनुसन्धाता जोन के लोकले भनेका छन् — मन्दिरका पुरोहितहरु र पाटन तथा बुंगमतिका भक्तहरु मछिन्द्रनाथको नाम गैरनेवारहरुसँग कुरा गर्दा बाहेक प्रयोग गर्दैनन् । त्यस्तै उनले पढेका कथामा पनि बुंगद्यः, श्री करुणामय, लोकनाथ र आर्यावलोकितेश्वर भन्ने शब्द प्रयोग भएका छन् तर कतै पनि मछिन्द्रनाथ उल्लेख छैन । उनका अनुसार गोरखनाथ र मछिन्द्रनाथलाई जोड्ने कथा सबैभन्दा पहिले कर्कपेट्रिकले दिएका हुन्, जो आफै सन् १७९३मा नेपाल आएका थिए । उनले बुंगद्यः नेपालमा ल्याइएको कथालाई मछिन्द्रनाथ–अवलोकितेश्वर भनेर उल्लेख गरेका थिए ।
अर्कोतिर यदि बुंगद्यः ल्याउने नरेन्द्रदेव हो भने बुंगद्यःको जात्रालाई ईस्वी ६८०तिर मान्ने हो भने यसलाई मछिन्द्रनाथ वा गोरखनाथसँग जोड्न सकिँदैन, जुन कम्तिमा पनि २०० वर्ष पछाडि शुरु भएको सम्प्रदाय हो । एक जनश्रुति अनुसार पाटनका राजा सिद्धि नरसिंह मल्लले पद्मपाणि लोकेश्वरलाई नाथ परम्पराका जोगीहरुको कुरा सुनेर उहाँको नाम मछिन्द्रनाथ नाम राखिदिए भनिन्छ । तर यसको बारेमा कतै विश्वनीय लेखोट नभेटिएसम्म मौन रहनु उचित हुनेछ । बरु यति चाही भन्न सकिन्छ कि जुनसुकै नामले पुकारे पनि बुंगद्यःलाई नाथ गुरु भनेर नाथ सम्प्रदायले पुजा गरेपनि वा नगरेपनि बौद्धहरुले उक्त नाम दिएर बोलाउनु भनेको आफुले करुणामयको करुणा स्वरुपलाई अस्वीकार गर्नु अनि नाथ परम्परा भनेको के हो भनेको नबुझेको नै ठहर्छ ।
अब मूर्तिको स्वरुपको थोरै कुरा गरौं । मूर्तिपुजकहरुको पुजाको आधार भनेको मूर्ति हो । जुन देउतालाई प्रतिनिधित्व गराउनु पर्ने हो त्यसको रुपगुण कल्पना गरेर मुद्राशास्त्रको रचना गरिएको हुन्छ र मूर्तिकारले त्यसलाई बुझेर नै मूर्तिको निर्माण गर्दछ । हुन त अहिलेको बुंगद्यः मूर्तिको स्वरुपमा कलाकारिता हराइसकेको छ । यद्यपि यसको मुद्राले यो पद्मपाणि लोकेश्वर वा अवलोकितेश्वर नै हो भनेर भन्न सकिन्छ । यसबाहेक मन्दिरको तोरण, तुँडालमा रहेका वज्रयानी ध्यानी बुद्धहरु र बोधिसत्वहरुको मूर्तिहरुले पनि यसलाई सोही किसिमले प्रमाणित गर्दछ ।
यसको विपरित मत्येन्द्रनाथका लामो केश, जुंगा र दाह्री भएका अनि साधारण वस्त्र लगाएका मूर्तिहरुको स्वरुपमा निकै भिन्नता पाइन्छ । यस आधारमा पनि यो भन्न सकिन्छ कि यो मछिन्द्रनाथको मूर्ति हुन सक्दैन । तैपनि यदि कोही यसलाई मछिन्द्रनाथ मानेर पूजा गर्ने हो भने कि यसलाई अवलोकितेश्वर मानेर पूजा गर्ने बौद्धहरु गलत छन् कि यसलाई मछिन्द्रनाथ मानेर पूजा गर्नेहरु नाथहरु गलत छन् । जसलाई जे भनेर पूजा गरेपनि हुन्छ भन्ने कुतर्क गर्नेहरुसँग विवेकको अपेक्षा गर्न सकिँदैन ।
अर्कोतिर नेवारहरुले जसरी बुंगद्यः पुजा गरिरहेका छन्, जसरी त्यसको जात्रा हुन्छ त्यो र नाथ परम्पराको बिच आकाश जमिनको बिच फरक छ । जिउ भरी गहना लगाउने, अर्काको काँधमा चढेर एउटा मन्दिरबाट अर्को मन्दिरमा जाने, त्यस्तो तामझाम सहितको पशुको रगत चढाइएको रथमा बसेर भ्रमण गर्ने, भएभरको दान भेटी लिने, सबैले मलाई यो देउ त्यो देउ भनेर माग्ने (मागेको पुर्याइदिने) देउता नाथ सम्प्रदायका गुरु कसरी हुनसक्छ ?
संक्षेपमा भन्नु पर्दा संसारका सबै धर्म एकै हो, बुंगद्यः नेपालका हिन्दु तथा बौद्धहरुले समान रुपले पुज्छन्, यो धार्मिक सहिष्णुताको प्रतिक हो भन्ने जस्ता सतही विचारकहरुले यहाँ अवलोकितेश्वर तथा नाथ पराम्परा दुबैलाई धरापमा पारेका छन् । अन्धभक्तहरुले सही धर्मको महिमा समेत धमिल्याउँछ ।
एकै बोधिसत्व वा देउताका विभिन्न नाम हुनसक्छन्, राज्यधर्मको बलले कुनै
देवतालाई रुप, दर्शन र फलको आधारमा पनि विभिन्न नाम दिन सकिन्छ, अनि त्यस्तै राज्यधर्मकै आडमा एक धर्मको देउतालाई अको धर्ममा लान पनि सकिन्छ । यस्ता उदाहरण नेपालका अन्य देउताहरुमा नपाइने पनि होइन । अर्कोतर्फ बुद्धधर्मका धर्मगुरुहरुले आफैले पुज्दै आएका बौद्ध मूर्तिहरुको पछाडि रहेको दर्शनको व्याख्या गर्न नसक्नु, बौद्धहरु आफैमा अध्ययनको कमि हुनु, धर्मको मेरुदण्ड दर्शन हुन्छ भन्ने नबुझ्नु, अर्काको लहलहैमा लाग्नु, अनि जुन देउता देखेपनि ढोगिहालुँ जस्तो आदिम सोचाइहरुले पनि काम गर्छ । आफुमा निहित संस्कृति वा संस्कारको कारण कुनै मूर्तिलाई अमुक नामले पुकार्न वा त्यसको गुण वर्णन गर्न वा त्यसबाट सोही किसिमको आशिर्वादको अपेक्षा गर्न सकिन्छ । यसलाई नै भक्तिमार्ग भनिन्छ ।
भक्तिमार्ग
अब मुलमुद्दामा आउँ । कसैको विचार वा दर्शन मन पर्यो भने वा उसबाट प्रभावित हुन पुग्यो भने एक प्रकारको लगाव बढ्छ । त्यसलाई प्रेम वा तृष्णाको पनि नाम दिन सकिन्छ । बुद्ध धर्म यस्तो लगाव वा प्रेम वा तृष्णामा अलमलिने धर्म होइन । भगवान बुद्धका धेरै भन्दा धेरै उदृढ गरिने वाक्यांशहरुमा आफ्नो मालिक आफै बन, मैले भनेको वा कुनै गुरुले भनेको कुरा भनेर कुनै पनि कुरा नपत्याउ भन्ने नै हो । यसले बौद्ध धर्मावलम्बीहरुलाई हरेक बुद्धशिक्षामा विवेकको प्रयोग गर्न लगाउँछ ।
थेरवाद सबैभन्दा वैज्ञानिक भनिन्छ, थेरवादीहरु पनि बुद्धपूजा गर्छन्, धर्मदेशना सुन्छन् र भिक्षुहरुलाई आदर गर्छन् । तर पनि थेरवादको मुलशिक्षा भनेको शील समाधिबाट प्रज्ञासम्म जाने नै हो, आफैले आफ्नो बानी, व्यवहार, जीवनप्रतिको बुझाइ सुधार्ने नै हो । यही कुरा पछि विकसित भएर बोधिसत्वको धारणाले हामीमा चित्त शुद्ध होस् भन्नु र हामी पनि अरुको हितमा लाग्न सकुँ भन्नु सही र आदर्शमुलक हो । तर कुनै करुणामयले हामीलाई करुणा राख्छ, उहाँको अगाडि भजन गायो भने हामीलाई स्वतः बुद्धपद प्राप्त हुन्छ भन्ने आशा राख्नु भनेको हामी बुद्धशिक्षाबाट विमुख हुनु हो ।
महायानको रुपमा बुद्धधर्म संसार भर फैलिन थालेपछि भगवान बुद्ध महाकरुणानिधान हुनुहुन्छ, उहाँले हामीलाई करुणाले हेर्नुहुन्छ भन्ने अवधारणाले ठाउँ लियो । अनि उहाँको करुणा पक्षलाई महत्व दिँदै अवोकितेश्वर वा आर्यतारा जस्ता देवदेवीहरुको धर्ममा भूमिका बढेको देखाइन थाल्यो । तर यसको विचलन भनेको यसबाट अब हामीले आफुले आफ्नो क्लेशक्षय गर्नु नपर्ने भयो । कोही पाप गरिरहेपनि उसमा बोधिसत्वको नजर परेमा उसको पाप पखालिन सम्भव देखियो ।
अझ आफुले गरेको पाप पखाल्न नजानेमा कुनै गुरु पुरोहित ल्याएर उसले भनेभनेजस्तो भनेर, कुनै ज्ञानको श्रोत पुस्तक ढोगेर, मूर्ति अगाडि मन्त्र, धारणी जपेर पनि ती पापहरुबाट मुक्त हुन सकिने भयो । यसको लागि हामी जस्ता केही नजानेका सामान्य मानिसहरुले यति विश्वास गुर्नुपर्ने भयो कि उहाँ करुणानिधानले हामीलाई हेरिरहनुभएको छ, उहाँको कृपादृष्टि हामीमाथि परेमा मात्र पनि हामी तरेर जानेछौं, सुखावति इत्यादि भुवनमा पुग्नेछौं । यसको लागि हामीले कुनै सुन्दर दुइ हात भएको, चार हात भएको वा हजारै हात भएको मूर्ति अगाडि बिन्ती गर्नुपर्ने हुन्छ, विभिन्न मन्त्रहरु उच्चारण गर्नुपर्ने हुन्छ, घण्टा वा अन्य त्यस्ता बस्तुहरुको शीपपूर्ण प्रयोग गर्नुपर्ने हुन्छ वा कुनै जान्ने व्यक्तिलाई हाम्रो नाममा प्रयोग गराउनु पर्ने हुन्छ । यसै भावनाले लेखिएका सयौं बुंगद्यःका भजनहरु हामी गाइरहेका छौं, बाजा बजाएर, धेरै पैसा, समय र शक्ति खर्च गरेर बुंगद्यःको जात्रा गरिरहेका छौं ।
हामीले जसरी भएपनि उक्त मूर्तिले प्रतिनिधित्व गरेको कुनै लोकमा बसिरहेका बोधिसत्वलाई खुशी बनाउनु पर्ने भयो । हाम्रा लागि बुंगद्यः भनेको हिन्दुहरुका राम, कृष्ण जस्तो देउताको मूर्ति मात्र भयो, जसको अगाडि भाव भक्तिका साथ पूजा गरेमा हामीले केही गर्नुपर्दैन, उहाँले नै हामीलाई यस भवसंसारबाट तार्नुहुनेछ । भक्ति मार्ग भनेको यही हो । यही हैन त बुंगद्यः जात्राको अन्तर्य पनि ?
Published in Buddhist Magazine Anandabhoomi (2022 06) Jeshtha Purnima 2079.
(फोटो वेभसाइटबाट साभार )
No comments:
Post a Comment