राजेन मानन्धर
एकातिर मानिसहरु महँगो भन्दा महँगो औषधी खाएर अथवा देश विदेश गएर आफ्नो रोगको निदान खोज्दैछन् भने अर्कोतिर कतिपय मानिसहरु आत्महत्या गरिरहेकाछन्, इच्छामरणको अधिकारको लागि लडिरहेका छन् । जन्मेपछि मानिसले देख्ने एक मात्र सत्य भनेको मृत्यु हो । तारेर तर्दैन भनेर थाहा छ तर पनि एक दिन बढी बाँच्नको लागि लगातार संघर्ष गरिरहन्छ उनीहरु । साँच्चै मानिसहरुलाई जीवन किन प्यारो हुन्छ ?
मानिस जन्मेपछि उसले आफ्नो यश, बुद्धि, सुख, सन्तान धन होस् भन्ने चाहन्छ । यी सबै कुराहरु भएको उसले तबमात्र देख्छ, अथवा उसले यो सब त्यसबेलामात्र भोग गर्न पाउँछ जब उ जिउँदो हुन्छ । यस अर्थमा यी सबै सुख र वैभव भन्दा पनि मानिसलाई नभइनहुने भनेको आयु हो । कसले पो नहाचला र केही दिन बढी बाँच्न ?
भगवान बुद्धको जीवनी कथैकथाले भरिपूर्ण छ । नबुझ्नेहरुका लागि यो रोमाञ्चक वा पट्यारलाग्दो पनि हुनसक्छ तर बुझ्नेहरुका लागि भने उहाँको जीवनीसँग जोडिएर आउने प्रत्येक कथा अर्थपूर्ण छ । आज उहाँको जीवनको २६सय वर्ष पछाडि पनि ती कथाहरुका अर्थका नयाँ नयाँ पाटाहरु खुल्दैछन् । आज यस माघ पूर्णिमा अर्थात् सिलापुन्हिका दिनमा यो एक कथा प्रासंगिक हुनआउँछ ।
त्यो माघ पूर्णिंमाको दिन थियो । एक वशवर्ती नामक मारले भगवान बुद्धलाईै अब चाँडै परिनिर्वाण हुनुस् भनेर प्रार्थना गरेछ । यो प्रसंग एकदम अर्थपूर्ण छ। बुद्धको जीवनमा मार भन्ने तत्व यस्तो हो जसले बुद्धलाई घुमाउरो तरिकाबाट बुद्धत्व प्राप्त गर्नका लागि अधिष्ठान बस्न प्रेरि गरे । यहाँको यस प्रसंगले पनि बुद्धलाई एउटा काम समपन्न भएको जनाउ दिए । पहिले पनि उनले बुद्धलाई यस्तै प्रार्थना गरेका थिए । यसपालि भने बुद्धलाई आफ्नो योजना मुताविक नै यो पृथ्वीलाई त्याग गर्नुपर्ने थियो । त्यसकारण उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, “हुन्छ । आजको तीन महिना पछि म परिनिर्वाण हुनेछु ।” यो घोषणा युगान्तकारी थियो । यदि उहाँले चाहनुभएको भए अनन्तकालसम्म बाँच्न सक्नुहुन्थ्यो होला । तर उहाँले आफ्नो शरीरको अन्त्य रोज्नुभयो, सामान्य भाषामा मृत्यु रोज्नुभयो । यसकामले उहाँ संसारबाट बुद्धको भौतिक शरीर अलग हुने संकेत गरिरहेको थियो । यस अर्थमा उहाँले आयुसंस्कार छाडिदिए । संसारमा उत्पन्न भएका सबै संस्कारहरुको क्षय अवश्यंभावी छ भन्ने सन्देश यसैबाट प्राप्त हुन्छ । बुद्धले आफुले जन्म लिएको शरीर त सँधैभरि राखिराख्न सक्दैन यहाँ के चाहीँ नित्य होला र भन्ने शिक्षा उहाँको यस घोषणाले दिन्छ ।
मानिसलाई जन्मेदेखि सबैकुराको मोह हुन्छ । बालबालिकालाई खेलौना, युवायुवतीलाई विपरित लिङ्गीप्रति र वृद्धवृद्धालाई धनसम्पतिप्रतिम ोह हुन्छ भन्ने चलनै छ । यो मोह नै त हो दुख को कारण । अरु सबै मोहको उपचार होला, तर शरीर वा ज्यान वा प्राणप्रतिको मोह नमरुन्जेलसम्म रहिरहन्छ । यसबाट मुक्ति त्यति सजिलो छैन । यो एउटा मात्र हुन्छ प्रत्येक व्यक्तिका लागि, एउटाको बदलामा अर्को पाउन सकिन्न । अनि यो नभएका त्यसले भएपनि काम चलाउँछु भन्न पनि सकिन्न । त्यसकारण ज्यानको माया सबैभन्दा ठुलो माया हो । सामान्यजनको नजरमा यस्तो देखिन्छ — सिद्धार्थ क्ुमारलाई राजपरिवार, राजदरवार र चक्रवर्ती राजा हुने अवसर त्याग्न त्यति गाह्रो भएन होला, बुद्धलाई आयु संस्कार त्याग्न त्यति गाह्रो भयो होला ।
बुद्धको यो त्याग यस जीवनकै सबैभन्दा महत्वपूर्ण र अर्थपूर्ण त्याग थियो । बौद्ध साहित्यमा त बुद्धले यस घोषणा गर्ने बितिकै भुकम्प गएको भन्ने समेत उल्लेख छ । यसैबाट पनि बौद्धहरुले यस घोषणा अथवा आयुसंस्कार त्यागलाई बौद्धमार्गीैहरुले कति महान कार्यका रुपमा लिन्छन् भन्ने देखाउँछ । बाँच्न सक्नेले पनि अब म तीन महिना मात्र बाँच्ने भनेर घोषणा गर्नु भनेको त्यागको पनि सबैभन्दा माथिल्लो तहको त्याग हो । यहाँ एकपल्ट गुमाएर फेरि पाउन नसक्ने देह वा ज्यानको त्यागलाई बुद्धले सहज ढंगले आत्मसात गर्नुभएको कथालाई प्रतीकात्मक रुपमा देखाइएको छ । तर हामी यहाँ आज छोडेर आजै पाउन सकिने रिस, राग, घमण्ड, अन्धविश्वास समेत पनि त्याग गर्न सकिरहेका छैनौं ।
मानिसले संसारमा जन्म लिन छोड्दैन । मृत्यु पनि सँधै पछि पछि आइरहन्छ । हामी सबै कुरासँग डराउँछौं किन भने हामी मर्न डराउँछौं । आखिर के छ जीवनमा? कति बाँचेपछि मान्छेलाई बाँच्न पुग्छ होला ? भोलि छोड्नुपर्ने देह आज छोड्छु भन्न किन सकिन्न? आयु त्याग त सबै भन्दा ठुलो त्याग हो । जीवन त्याग्न सक्नेले अरु जीवनभन्दा पनि क्षणिक कुराहरु त्याग्न सक्छ । आजको यस दिनको सन्दोश यही हो जस्तो लाग्छ ।
साँच्चै बौद्धहरुमध्ये पनि धेरैजनालाई यस माघपूर्णिमाका दिनमा बुद्धले आयु संस्कार त्याग गर्नुभएको भनेको समेत थाहा छैन । अब थाहा भएकाहरुले पनि बुद्धले आयुसंस्कार त्याग गर्नु भनेको हामीलाई पनि आफ्नो शरीर र शरीरलाई क्षणिक सुख दिनका लागि हामीले गर्नुपर्ने व ागर्नजाने सबै प्रकारका नराम्रा कामहरु र आसक्तिपूर्ण इच्छाहरुलाई त्याग गर्ने प्रेरणा लिने दिन को भनेर झन् कतिलाई थाहा होला ? अब थाहा भएर पनि त्यस आसक्तिलाई त्याग गर्न नसकेर सतही ज्ञानको प्रचार गरेर पण्डितहरुको त कुरै नगरौं ।
नेपालमा पनि सानो ठुलो तहमा अन्य बौद्ध दिवसहरु जस्तो आयुसंस्कार दिवस पनि कतै कतै मनाइन्छ माघ पूर्णिमाकाे दिनमा । बुद्धले आयुसंस्कार त्याग गर्नुभएको कथा सुनाइन्छ । तर त्यस प्रसंगले हामीलाई के सिकाउँछ भनेर स्पष्ट पारिदिने, अथवा हामीमा पनि यस क्षणक्षण बदलिरहने जीवन अनि फोहरमैलाले भरिपूर्ण शरिरप्रतिको माया वा आसक्ति अर्थहिनहो भनेर बुझाइदिने ज्ञानी बौद्धहरुको अभाव छ । यस अभावको पूर्तिं चाँडै हुने, बुद्ध केबल नारामा मात्र सिमित नरही जीवनलाई नै बौद्ध बनाउने प्रेरक व्यक्तित्वको आगमन चाँडै हुने आशासम्म लिन सकिन्छ ।
१९०२१९