Sunday, February 8, 2026

कम्युनिष्ट सत्ताले मेटाउन नसकेको मंगोलियाको बुद्ध धर्म


 

राजेन मानन्धर

परिचय
एशियाको मध्य उत्तरमा अवस्थित मंगोलिया विभिन्न दृष्टिकोणबाट अलग्ग र विशेष रहेको छ । यो एक भूपरिवेष्ठित देश हो, यसको उत्तरमा रूस र दक्षिणमा चीन छ । यी दुइ देश बाहेक यसले अरुसँग सीमा जोडेको छैन । यसले १,५६४,११६ वर्ग किलोमिटरको क्षेत्र समेटेको छ तर जनसंख्या भने केवल ३३ लाख मात्र छ । यसलाई विश्वको सबैभन्दा कम जनघनत्व भएको देश भनेर पनि चिनिछ । यसको धेरै भन्दा धेरै भूभाग निर्जन घाँसे मैदानले ढाकिएको छ । यसको राजधानी उलानबाटार हो ।

बीस हजार वर्ष पुरानो इतिहास भएको भनेर चिनिने मंगोलियामा धेरै पहिलेदेखि फिरन्ते समुहरु शासन गर्थे । हजारौं वर्षसम्म यहाँका घुमन्ते जनजातिहरू मंगोलियन मैदानमा घुमन्ते जीवन बिताइरहेका थिए । इतिहासमा पहिलो प्रमुख समुहहरू मध्ये एक शिओनङनु भन्ने समुह लगभग २०० ईसापूर्वमा देखा पर्छ । इस्वीको दोश्रो र तेश्रो शताब्दी तिर त्यहाँ श्यानबेइ साम्राज्य थियो । अनि आठौं र नवौं शताब्दी तिर उइघुर खगनाती वंशको राज थियो ।

यहाँको इतिहासमा १३औं शताब्दीमा अचानक चंगेज खानको उदय भयो । नाटकी ढंगले उनले त्यहाँका मंगोल जनजातिहरूलाई एकीकरण गरे र युरोपदेखि एशियासम्म फैलिएको एक विशाल साम्राज्य निर्माण गरे । पत्याउनै नसकिने उनको साम्राज्य इतिहासमा सबैभन्दा ठूलो साम्राज्य थियो । तर चंगेज खानको मृत्यु पछि उनको साम्राज्य टुट्यो । त्यसपछिका शताब्दीहरूमा मङ्गोलिया चीनमा युआन राजवंश र मान्चुको नेतृत्वमा छिङ राजवंशको प्रभावमा पर्यो । फेरि १६औं शताब्दी मा दायान खानले यहाँ पुनः एकीकरणको प्रयास गरे । बेलाबेलामा यसका अधिकांश भाग चीनको अधिनमा जाने क्रम पनि चलिरह्यो ।

सन् १९११मा बोज खानले मंगोलियालाई चीनबाट स्वतन्त्र भएको घोषणा गर्यो तर चीनले यसलाई आफ्नो प्रान्त भनेर दाबी गरिरह्यो । सन् १९२१सम्म पुग्दा मंगोलिया सोभियत रुससँग नजिक हुन पुग्यो । यसैको परिणाम भन्नु पर्ला कि मंगोलियामा सन् १९३७मा स्टालिनवादी दमन शुरु भयो जसमा ३० हजार भन्दा बढी मानिस मारिए । मारिनेहरुमा तिब्बती बुद्ध धर्म प्रचारक, मंगोलिस्ट राष्ट्रवादी, जापानपक्षीयहरु, बौद्ध गुरुहरु, बौद्धिक जमात आदि थिए । त्यसपछिको ७० वर्षसम्म कम्युनिस्ट राज्य बन्यो । सन् १९८०को दशकको अन्तमा सोभियत संघको पतनले मंगोलियालाई प्रजातन्त्र तर्फ लाग्न सजिलो बनायो । सन् १९९२मा नयाँ संविधान आयो र देश प्रजातन्त्रिक बन्यो ।

१. मंगोलियामा बुद्ध धर्मको इतिहास
मंगोलियाको बुद्ध धर्मको इतिहास विविधताले भरिएको छ । यसले यहाँको धार्मिक, साँस्कृतिक तथा राजनीतिक विविधता, समाञ्जस्य अनि खिचातानीको इतिहासलाई पनि उजागर गर्दछ । यहाँ बुद्ध धर्मको प्रवेश हुनुभन्दा पहिले प्रकृति पुजकहरु थिए । उनीहरु तेङ्री भेर सूर्य देवता पुज्थे ।

कथ्यहरुमा आधारित भएर भन्दा यहाँ श्याग्नु साम्राज्य हँदा अर्थात् इशापूर्व तेश्रो शताब्दी देखी इस्वीको पहिलो शताब्दीमा बुद्ध धर्मको प्रवेश भएको भनिन्छ । यसबेला यहाँ बुद्ध धर्मले नेपालबाट मध्य चीन छिचोलेर प्रवेश पाएको भनाइहरु छन् । यहाँका प्रचिन वंशहरुको कालमा पनि विभिन्न धर्मदूतहरु आएर बौद्ध मन्दिरहरु बनाएर गएको कुरा कतै कतै उल्लेख छ । चौथो शताब्दीमा नजिकका देशहरुबाट व्यापारिक मार्ग भएर यहाँ बुद्ध धर्मको प्रवेश भएको मानिन्छ । पाँचौं तथा छैठौ शताब्दीका वेइ वंश, सातौ शताब्दीको तुर्गिक खगनातीको समयमा तथा एघारौं बाह्रौं शताब्दीका ल्याओ वंश तथा बाहौं तेह्रौं शताब्दीका जिन वंशका समयमा पनि बुद्ध धर्म प्रचलनमा थियो देखिन्छ ।

चेङगेज खान (इस्वीको ११६२–१२२७)को समयदेखि मंगोलियामा बुद्ध धर्मले स्थायीत्व पाएको देखिन्छ । उनले एशियाको ठुलो भूभाग एकीकरण गरे बुद्ध धर्म अपनाउने समुदायसँग सम्पर्क बढाए । उनका नाती कुब्लाइ खानले भने तिब्बती बुद्ध धर्मका गुरु लामा द्रोगोन चोग्याल फाग्पालाई बुद्ध धर्मको प्रचार गर्न बोलाएका थिए । यस प्रकार युवान वंशको बेलामा अर्थात् तेह्रौं र चौधौं शताब्दीमा तिब्बती बुद्ध धर्म स्वीकार गरेको देखिन्छ । यसबेलाका एक महान बौद्ध भिक्षु फाग्पा (स्न १२३५–१२८०)ले पनि बुद्ध धर्मको विकासमा धेरै योगदान गरे । उनले मंगोल भाषाको लागि लिपि तयार गरेका थिए । उनी कुब्लाई खानका सल्लाहार प िनबने । यहाँ आनन्दध्वजले सन् १२४८मा मंगोलियामा बुद्ध धर्मको प्रचार गरेको भन्ने भिक्षु् सुदर्शनको भनाइ पनि यहाँ प्रासंगिक हु्न्छ ।

Press enter or click to view image in full size

सन् १२६९मा युआन वंशमा बुद्ध धर्म त्यहाँको राज्य धर्म बनिसकेको थियो । यसै क्रममा यहाँ लामावादको पनि प्रभाव बढायो । बौद्ध भिक्षुहरु वा लामाहरुले यसबेला एसियाका मध्य तथा दक्षिणपूर्वमा प्रभाव जमाइरहेको अवस्था थियो ।

१६औ र १७औं शताब्दीलाई मंगोलियामा बुद्ध धर्म पुनरुत्थान भएको समाय मानिन्छ । सन् १५७८मा त्यहाँका सैनिक अधिकार अल्टन खानले तिब्बतबाट तेश्रो दलाइ लामालाई निमन्त्रणा गरेर गेलुग परम्परालाई झन् बलियो बनायो । यसबेलादेखि मंगोलिया धर्मको आधारमा एकीकृत जस्तो पनि भयो । यसबेलासम्म यहाँको बुद्ध धर्मले एकातिर यहाँको परम्परागत झाँक्रीवादी धर्मसँग प्रतिस्पर्धा गर्नुपरेको थियो भने अर्कोतिर बढ्दै गएको इसाईहरुको चुनौतिलाई पनि सामना गर्न परेको थियो । यसैबेला विभिन्न भाषामा उपलब्ध बुद्ध बचन र दर्शन सम्बन्धि ग्रन्थहरु मंगोलियन भाषामा अनुवाद पनि हुन थाले ।

Press enter or click to view image in full size

१६औं देखि २०औं शताब्दीसम्म यहाँ २ हजार भन्दा बढी गुम्बाहरुको निर्माण भयो । मानिसहरुमा धर्मप्रति यसरी श्रद्धा जागे कि लगभग ४० प्रतिशत जनता प्रवजित लामा बने । सबै ठुला विहारमा बुद्ध धर्मका साथै कला, नाट्यकला, खगोलशास्त्र इत्यादिको समेत पढाइ हुन्थ्यो ।

१७औं शताब्दीमा मंगोलिया क्विङ वंशको हातमा गयो । राजनीतिक अधिपत्य बढाउन पन िउनीहरुले यहाँ तिब्बती बुद्ध धर्मको प्रचार गरायो । यसैबेला यहाँको जेब्सुनदाम्बा खुतुक्तुलाई मंगोलियाको सबैभन्दा ठुलो लामाको पद दियो ।

Press enter or click to view image in full size

२०औं शताब्दीको शुरुवातमा देश धर्मबाट सञ्चालित थियो । लामाहरु शक्तिशाली पनि बने । यसबेला पूर्वी युरोपमा कम्युनिज्म प्रख्यात भइरहेको थियो । उनीहरु एशियामा आफ्नो प्रभुत्व जमाउन चाहन्थे, अथवा एशियालाई आफ्नो राजनीतिक सिद्धान्तको प्रयोगशाला बनाउन चाहन्थे । यसै बिच सन् १९२१मा सोभियत युनियनको सहयोगमा मंगोलिया जन गणतन्त्र भयो, अर्थात् कम्युनिष्टहरुको राज शुरु भयो । शुरुदेखि नै सत्तामा बसेकाहरुल बुद्ध धर्मलाई सामान्ती प्रतिक्रियावादी भनेर प्रचार गर्दै थिए किनभने उनीहरुलाई थाहा थियो कि यहाँ बौद्धहरुको एकता छ र यसलाई नतोडीकन वा निमित्यान्न नबनाई यहाँ शासन गर्न सकिन्न ।

कम्युनिष्टहरुको बौद्ध धर्ममाथि अत्याचार
मंगोलियाको बुद्ध धर्मको कुरा गर्दा यहाँको कम्युनिष्टहरुले बौद्ध धर्म माथि गरेको अत्याचारको बारेमा केही कुरा गर्नै पर्छ । सन् १९२४ देखि १९८२मा यहा कम्युनिज्मको शासन चल्यो । लगभग ६० वर्षसम्म कम्युनिष्टहरुले यहाँका सोझा सिधा धर्म संस्कृति र सदाचारको मात्र कुरा गरेर खुशी जीवन बाँचिरहेका मंगोलियाका जनतालाई विदेशीहरुको इशारामा यहाँको हजारौं वर्ष पुरानो धर्म, संस्कृति र सभ्यतालाई खरानी खरानी बनाए । इतिहासमा यो कुरा कहिल्यै बिर्सन सकिन्न । मात्र दुइ दशकमा कम्युनिष्टहरुले यहाँका ७०० भन्दा बढी धार्मिक, ऐतिहासिक कलात्मक गुम्बाहरु भत्काए । यसैबाट अनुमान लगाउन सकिन्छ यहाँका बौद्धहरुमा कति त्रास छायो होला भनेर ।

नयाँ सत्ताका मानिसहरु धर्म मन पराउँदैनथे, तर त्यो भन्दा भित्री आशय भनेको उनीहरु जनता त्यसरी धर्ममा लीन भएर सुखी भएको हेर्न चाहँदैनथे । उनीहरुले बुझेका थिए कि धर्म नै मंगोलियाली जनताको एकताको सूत्र हो । उनीहरु चाहन्थे कि सबै जनता उनीहरुको जुत्ता मुनि लम्पसार परोस् । यति गराउनलाई नै उनीहरुले बौद्धहरुमाथि यति अमानवीय अत्याचार गरेको देखिन्छ ।

Press enter or click to view image in full size

दमनको चक्र ः सबैभन्दा पहिले कम्युनिष्टहरुले गुम्बा र लामाहरुमाथि दमन शुरु गरे । उनीहरुले लामाहरुमा सहेको धार्मिक अधिकार कटौती गरे, लामाहरुको संख्या घटाउन योजना बनाए, शिक्षामा धर्मलाई निषेध गरे, धार्मिक अभ्यासमा प्रतिवन्ध ल्याए अनि गुम्बाहरुमा निकै धेरै कर लगाए । यतिबेला १५ हजार भएको भिक्षु संघलाई २००मा सीमित गरे ।

हत्याको श्रृंखला ः त्यहाँ कम्युनिष्ट दमनका समयमा ३५ हजार मान्छेलाई मृत्युदण्ड दिएको रिपोर्ट छ तर प्रोफेसर डि ओ बात्साइखानले त्यहाँ एक लाख भन्दा बढी मान्छे मारिएको सम्भावना रहेका बताएका छन् । त्यसबेला साधारण जनतामाथि अनेक अभियोग लगाई प्रमाणित नै नगरी सयौं नागरिकलाई लहरै राखेर गोली हानी मारेको घटना प्रतिवेदनहरुमा आउँछ । यति मात्र हैन शंकाकै भरमा मंगोलियाकै कम्युनिष्ट नेताहरुलाई समेत मृत्युदण्ड दिएको भेटिन्छ । सन् १९२९मा जब देशको पुरा जनसंख्या नै ७ लाख २१ ह्जार मात्र थियो, त्यसबेला २५ हजार मंगोलियनहरुलाई मृत्युदण्ड दिइयो । सन् १९२८मा शुरु भएको दमनको श्रृंखला १९३३मा चरम बिन्दुमा पुग्यो । त्यहाँका मन्त्रीमण्डलका अध्यक्ष खार्लुगिन चोइबालसानले त्यहाँका भएका मध्ये १७ हजार लामाहरुलाई राज्यको शत्रु घोषणा गरेर साइबेरियाको श्रम शिविरमा पठाए, ती मध्ये धेरै फर्केर आएनन् ।

यसबेला सोभियत नास्तिकबाटको प्रभावमा परेर यहाँका बौद्धहरुलाई भयानक यातना दिएको थियो र धार्मिक अभ्यासमा प्रतिवन्ध लगाएको थियो । यसबेला सरकार बौद्धहरुलाई खतराको दृष्टिले हेथ्र्यो । सरकारी अफिसरहरुको नजरमा गुम्बाहरुले जापानी शत्रुहरुसँग मिलेर काम गरेको, प्रति–क्रान्तिको श्रोत बनेको भन्ने थियो अनि धर्ममा परम्परागत उचनीचको व्यवस्था कायम भएको देख्थे । कम्युनिष्टहरुको प्रचार विभागले समाजमा बौद्ध गुरुहरु भ्रष्ट छन् भन्ने जस्तो फिल्म देखाएर जनताको मन परिवर्तन गरे ।

यसबेला थुप्रो संख्यामा भिक्षुहरु पक्राउ पर्थे, धर्म छोड्न बाध्य पारिन्थ्यो, श्रममा पठाइन्थ्यो अनि भएन भने फाँसी दिइन्थ्यो । यति समयभित्र यहाँ लगभग २० हजार बौद्ध भिक्षुहरुलाई राज्यद्वारा मारिएको थियो । अन्य लामाहरुलाई चीवर फुकालेर कम्युनिष्ट सरकारको शरण जान बाध्य बनाए । आफु कुनै पनि धर्म मान्दिन भनेर भन्न लगाए अनि अनकन्टार मैदानमा लगेर श्रम शिविरमा राखे, जहाँ उनीहरुको गुमनाम मृत्यु हुन्थ्यो । १९८५ सम्ममा त्यहाँ १०० जना लामाहरु मात्र बाँकी थिए ।

यस्तो त्रासको अवस्थामा यहाँ बुद्ध धर्म मान्नेहरु हराउनु स्वभाविक थियो । सरकारको दमनबाट बचेका केही बौद्धहरु गुप्तरुपमा धर्म अभ्यास गर्दै थिए तर कम्युनिष्टहरुको सुराकी लागे पछि उनीहरुको अत्य कष्टपूर्ण हुन्थ्यो । यस दमनको फलस्वरुप धर्मले दिएको साँस्कृतिक तथा आध्यात्मिक पहिचान गुमाउनु पर्यो ।

Press enter or click to view image in full size

विनाशको ताण्डब ः यसबेला यहाँका हजारौं प्राचिन गुम्बाहरु योजनाबद्ध रुपमा आक्रमण भए । कैयन गुम्बाहरु भत्काइए । गुम्बाभित्र भएका सुनचाँदी तथा बहुमुल्य पत्थरहरु कब्जा गरेर लुटेर लगे । यहाँका सुन र चाँदी सोभियत युनियनमा पठाइए र बदलामा आफ्नै नागरिकलाई आमहत्या गर्ने हातहतियार भित्र्याए । निकै ठुला ठुला गुम्बाहरु खाली गराएर सरकारले प्रशासनिक काममा प्रयोग गरे । त्यहाँका हजारौं प्राचिन ग्रन्थहरु मिल्काइए वा जलाइए । बुद्ध मूर्ति तथा त्यस्तै गुम्बामा भएका बोधिसत्व तथा अन्य सुन्दर मूर्तिहरु बाहिर ल्यएर सबैको अगाडि तोडे अनि कम्युनिष्ट शासकहरुले यसलाई विजयको रुपमा व्याख्या गरे । यहाँका गुम्बाहरुको विनाशले यहाँका जनताको धार्मिक जीवनलाई मात्र फरक पारेन, बरु यहाँको विश्व सामु देखाउन लायक साँस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदा पनि नाश भए ।

प्रजातन्त्रमा बुद्ध धर्म
तर यसरी लाखौं जनताको ज्यानमा खेलेर बनाएको कम्युनिष्ट सत्ता पनि मंगोलियामा टिकेन । विश्वभर कम्युनिज्मले पकड बनाउन छोड्यो, यसका भित्रका अनेकौ जन्जालहरु बाहिरिए, देशको अर्थतन्त्र झनझन खस्कियो अनि विश्वका विभिन्न देशमा कम्युनिज्म विरुद्ध जनआन्दोलनहरु हुन थाले । यसै क्रममा यहाँ पनि सन् १९९०को प्रजातान्त्रिक लहर पछि यहाँको कम्युनिष्ट शासन ढल्यो । त्यसपछिको प्रजातान्त्रिक वातावरणमा यहाँ धार्मिक गतिविधि खुल्ला गरियो र गुम्बाहरुको पुनर्निमाण भयो ।

अहिले मंगोलिया धर्मनिरपेक्ष देश हो र यहाँको संविधानले धार्मिक स्वतन्त्रताको अधिकार दिएको छ । अहिलेको स्वतन्त्र व्यवस्थामा यहाँ बौद्धहरुको जनसंख्या बढि रहेको त छ, तर पनि आफैमा कम जनसंख्या भएको देशमा आधा शताब्दीसम्म बौद्धहरुमाथि त्रासको ताण्डव नचाएपछि त्यस अमानवीय वातावरणबाट गुज्रेकोले यहाँ बौद्धहरुको संख्या इतिहासमा भएजस्तो धेरै भने बढ्न सकेको छैन ।

अहिलेको अवस्थामा यहाँको ५१.७ प्रतिशत जनताले बुद्ध धर्म मान्छन् । त्यस्तै यहाँ ३९ प्रतिशतले आफुलाई गैर धार्मिक बताउँछन्, ३ प्रतिशत मुस्लिम छन्, ३ प्रतिशत मंगोल परम्परागत धर्म मान्छन्, २ प्रतिशत इसाई छन् । ०.४ प्रतिशत अन्य धर्म मान्छन् ।

२. परम्परा वा निकायहरु
मंगोलियामा बुद्ध धर्मको प्रवेश नै तिब्बत र चीनबाट भएको भएपछि यहाँ तिब्बती बुद्ध धर्मको प्रभाव धेरै हुनु स्वभाविक नै हो । तैपनि यहाँका केही स्थानीय विशेषताहर पनि छन् ।
तिब्बती बुद्ध धर्म ः मंगोलियामा सबैभन्दा बढी देखिने भनेको तिब्बती बुद्ध धर्म हो । तिब्बतबाट यो जस्ताको तस्तै आएको हुनाँले यसलाई तिब्बती भनेर सबैले बुझ्ने भाषामा भनिन्छ । यहाँ निर्माण गरिने गुम्बामा र तिब्बती गुम्बामा वास्तुशास्त्रीय समानता छ । यहाँको धर्म मात्र नभएर यहाँको कला, संस्कृति, भेषभूषा तथा भाषामा समेत तिब्बती प्रभाव पाइन्छ । तिब्बती बुद्ध धर्मभित्र चार निकायहरु छन्, जुन यस प्रकार छ । यहाँ प्रचलित तिब्बती बुद्ध धर्ममा गेलुपा निकायको प्रधानता छ ।

गेलुपा ः मंगोलियामा बुद्ध धर्मको विकास नै तिब्बती दलाइ लामाहरुको सम्पर्कको कारण भएकोले यहाँ गेलुपाको बढी प्रभाव छ । त्यसैले धेरै पहिलेदेखि यहाँको राजनीतिमा पनि दलाइ लामाहरको प्रभाव थियो । पहेँलो टोपीबाट चिनिने यिनीहरु गुम्बामा भिक्षु अथवा लामा भएर जीवन बिताउनेमा जोड दिन्छन् । यसरी गुम्बामा बुद्ध धर्मको अध्ययन गर्नुलाई समाजमा सम्मानका साथ हेरिन्छ । मंगोलियाको प्रमुख गेलुपा गुम्बा भन्नाले गान्देन गुम्बा हो, जुन तिब्बतको गान्देन गुम्बाको बास्तुकलाबाट प्रभावित भएको देखिन्छ । यसबाहेक अन्य अल्पसंख्यकहरुको निकायहरु यसप्रकार छ ।
शाक्य ः यो निकाय तर्क र तार्किक वहसको बढी अभ्यास गर्छन् ।
काग्यू ः यस निकायका अभ्यास कर्ताहरु योग्य गुरुको सानिध्यमा ध्यान अभ्यासमा बढी जोड दिन्छन् ।
निङ्मा ः तिब्बती बुद्ध धर्मको सबैभन्दा पुरानो मानिएको यो निकाय गुह्य शिक्षादीक्षामा जोड दिन्छन् ।

Learn about Medium’s values

चीनियाँ बुद्ध धर्म ः बास्तवमा चीनियाँ बुद्ध धर्म र तिब्बती बुद्ध धर्म भनेको एकै जस्तो भएतापनि तिब्बती बाहेकको चीनमा प्रचलित बुद्ध धर्मलाई यहाँ चीनियाँ भनेर बुझाउन खोजिएको हो । चीन र मंगोलियाको भौगालिक निकटता र राजनीतिक सम्बन्धको कारणले चीनियाँ बुद्ध धर्मले मंगोलियामा प्रभाव पार्नु स्वभाविक हो । चीनियाँ तथा मंगोलियाली भिक्षु संघको संरचनामा समानता छ, मंगोलियामा चीनियाँ भाषाबाट अनुवाद गरिएका ग्रन्थहरुको पाठ हुन्छ, चीनियाँ र मंगोलियाको बौद्ध कला र प्रतिमा विज्ञानमा समानता पाइन्छ ।
प्योरलण्ड वा शुद्धभूमि बुद्ध धर्म ः चीनमा विशेष गरी अभिताभको प्रार्थना गर्ने एक निकाय छ जसलाई शुद्ध भूमि बुद्ध धर्म भनिन्छ । मंगोलियामा पनि यस निकायको अभ्यास गर्नेहरुको संख्या धेरै छ । उनीहरु अध्ययनमा भन्दा चित्त शुद्ध गरी भक्ति गर्नुमा बढी केन्द्रित हुन्छन् । तर यहाँको शुद्ध भूमि बुद्ध धर्म धेरै मात्रामा तिब्बती बुद्ध धर्मसँग मिसिएको अवस्थामा पाइन्छ ।

३. विज्ञहरु तथा अभ्यासकर्ताहरूः
यति लामो बुद्ध धर्मको इतिहास भएको मंगोलियमा बुद्ध धर्मका गुरु, लेखक अनुसन्धाताहरु भने सोचे जति धेरै उल्लेखनीय छैनन । तर जतिले जति योगदान दिए, त्यो ऐतिहासिक भएको छ । उनीहरुले आ आफ्नो समयमा बुद्ध धर्मको संरक्षण गर्न, यसको संरक्षणको लागि राज्यसँग पहल गर्न अनि त्यस्तो भयावह समयमा फसेर पनि बुद्ध धर्मलाई जोगाइ राखे, त्यो भने संसार भरका बौद्धहरुका लागि स्तुत्य छ । यहाँ केही प्रमुख गुरुहरुको संक्षिप्त परिचय दिइन्छ ।

जनबजर (सन् १६३५–१७२३०) ः मंगोलियामा बुद्ध धर्मलाई स्थायीत्व दिनमा त्यसबेलाका धर्म गुरु जनबजरको नाम आउँछ । उनी मंगोलियाका बौद्ध भिक्षु, विद्वान, कलाकार पनि थिए । उनी छ वर्ष मात्र हुँदा सन् १६३९मा मंगोलियाका १६औं जेब्चुन्दाम्बा खुतुक्त तथा प्रथम बोगोद गेबिन अर्थात् गेलुपा निकाय अन्तर्गत मंगोलियाका सर्बोच्च धार्मिक गुरु बने । उनले नेपाली शैलीमा श्वेत तारा तथा वज्रधरको मूर्ति बनाएर मंगोलियाबासीको मनमा बसे । उनले एउटा आफ्नै खालको लिपिको विकास गरे जसलाई सोयोम्बो भनिन्छ र यसको एउटा प्रतिकात्मक अक्षर अहिले मंगोलियाको झण्डाको शान बनेको छ । तिब्बती बुद्ध धर्मलाई मंगोलियाली समाजसँग मिल्ने गरी विकास गर्नमा उनको योगदान गरहेको छ । तर कम्युष्टि शासनमा सत्ताधारीहरुले उनलाई देशद्रोही भनेर चिनाए ।

जयपण्डित लुभसानपेरेनलेइ (सन् १६४२–१७०८)ः उनको जन्म मंगोलियाको मुखार खुजित भन्ने ठाउँको एक गरिब परिवारमा भएको थियो । ३ वर्षको उमेरमै उनलाई टुल्कुको पद दिइयो । स्थानीय गुम्बाको अध्ययन सकेपछि उनलाई तिब्बतको ड्रेपुङ गुम्बामा लगियो र पाँचौं दलाइलामाबाट जयपण्डितको अवतारको रुपमा ब्याख्या गरियो ।

अभगन दोर्जियभ (सन् १८५४–१९३८) ः उनी बौद्ध विद्वान एवं कूटनीतिज्ञ थिए । उनले दलाइ लामासँग मित्रता बनाई तिब्बत र मंगोलियको सम्बन्ध विकास गरे । उनी लेखक तथा अनुवादक पनि थिए, उनले आफ्नो निकट भएका बौद्ध ग्रन्थहरुलाई अनुवाद गरी विश्व सामु पुर्याए ।

यस बाहेक अहिले मंगोलियाको राजनीति खुला भएपछि विभिन्न देशमा अनुसन्धानकर्ताहरुले यहाँको धर्ममा रुचि राख्न थालेका छन् । उनीहरुले यहाँको अथाह सम्पदाको आधारमा यहाँ बुद्ध शिक्षा नयाँ पुस्तालाई सिकाएर बुद्ध धर्मलाई समयानुकुल विकास वा प्रचार प्रचास गरिरहेको पनि यहाँ उल्लेखनीय छ ।

४. स्मारक वा मन्दिरहरु
मंगोलियको बुद्ध धर्मले गत १५ सय वर्षमा धेरै उतार चढावहरु देखिसक्यो । यति लामो समयदेखि संरक्षण गरेका धार्मिक केन्द्रहरुमा कम्युनिष्टहरुको आँखा पर्यो र यहाँका गुम्बा तथा मूर्तिहरुर्ला भत्काए नाश गरे वा अन्य प्रयोजनमा लगे । केही बचेका तथा प्रजातान्त्रिक माहौल आइसकेपछि यहाँका बौैद्धहरुले बनाएका तथा पुननिर्माण गरेका केही महत्वपूर्ण मन्दिर वा गुम्बाहरुको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिन्छ ।

एर्डेन जू गुम्बा (Erdene Zuu Monastery) ः यस गम्बाको निर्माण सन् १५८६मा भएको थियो । यो प्राचिन मंगोल सम्राज्यको राजधानी काराकोरुममा रहेको छ । यसलाई अहिले मंगोलियको बचेका गुम्बाहरु मध्ये सबैभन्दा पुरानो मान्छि । यसैकारण यसलाई युनिस्कोको विश्व सम्पदा सूचिमा पनि राखिएको छ । यसमा मंगोलियन तथा तिब्बती गुम्बाहरुको वास्तु शास्त्रका विशेषताहरु मिसिएका छन् ।

Press enter or click to view image in full size

गान्दान वा गान्दानतेचिन्लेन गुम्बा ( Gandantegchinlin Monastery) ः यो मंगोलियाको चालु हालतमा रहेको सबैभन्दा ठुलो गुम्बा हो । यो यहाँको राजधानी उलानबाटरमा अवस्थित छ । यसको निर्माण १९औं शताब्दीमा भएको थियो तर कम्युनिष्टहरुका शासनकालमा यसलाई नराम्ररी क्षति पुर्याइएको थियो । यो गुम्बा यहाँ भित्र रहेको २६मिटर (८५ फिट) अग्लो मिजिद जनरासिग अथवा बोधिसत्व करुणामयको विशाल मूर्तिका कारण पनि प्रख्यात छ । यसलाई भवनभित्र राखिएको संसारकै सबैभन्दा ठुलो मूर्ति पनि भनिन्छ ।

अमरबयस्गालन्त गुम्बा (Amarbayasgalant monastery) ः यो गुम्बा बुरुनबुरेन शहरको नजिक सेलेन्ग प्रान्तमा अवस्थित छ । १८औं शताब्दीको यो गुम्बाको बनोट विशेष छ । यसैकारण पनि यो अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ । यसलाई मंगोलियाको सबैभन्दा ठुला तीनवटा बौद्ध केन्द्रहरु मध्ये एक मानिन्छ । यसलाई पनि कम्युनिष्टहरुले आफ्नो शासनकालमा नष्ट गर्न खोजेका थिए तर सकेनन् । त्यसबेला यो आंशिकरुपमा मात्र क्षतिग्रस्त भएको थियो ।

Press enter or click to view image in full size

बाल्दान बेरिभन गुम्बा ( Baldan Bereeven Monastery) ः यो मंगोलियाको खेन्ती प्रान्तमा पहाडै पाहाडले घेरिएको उपत्यकामा अवस्थित छ । १८औं शताब्दीमा निर्मित यो गुम्बा मंगोलियाका ऐतिहासिक गुम्बाहरु मध्ये एक हो । यहाँ कुनै बेला हजारौं लामाहरु बस्थे र धर्मको अध्ययन तथा अभ्यास गर्थे । तर कम्युनिष्टहरुले यो पनि नष्ट पारे । अहिले यसको जीर्णोद्धारको काम भइरहेको छ ।

खमार गुम्बा ( Khamar Monastery ) ः यो गुम्बा मंगोलियाको दोर्नोगोभी प्रान्तमा सैनशान्दको नजिक अवस्थित छ । यसको निर्माण बौद्ध भिक्षु तथा कवि दन्जन रावजाबाट इस्वीको १९औं शताब्दीमा भएको थियो । यो गुम्बालाई एक पवित्र आध्यात्मिक केन्द्रको रुपमा लिइन्छ । यहाँ परिसरमा एउटा गुफा तथा शम्बाला क्षेत्र पनि अवस्थित छ ।

Press enter or click to view image in full size

बर्तमान समयमा मंगोलियामा बुद्ध धर्म
बर्तमान समयमा मंगोलियामा बुद्ध धर्मको अर्को परिदृष्य पनि देखएिको छ । प्रजातन्त्रको पुनस्र्थापना पछि विश्वको ध्यान मंगोलियामा केन्द्रित भएको छ । मंगोलियाका जनता पनि अन्य अधिकार जस्तै धार्मिक स्वतन्त्रताको अधिकार पाएर खुशी छन् । यद्यपि अहिलेको भूराजनीतिक अवस्थामा भने मंगोलियामा बुद्ध धर्मको प्रचार प्रचारबाट चीन खुशी छैन भन्ने सुनिन्छ । खासमा भन्नुपर्दा अहिले मंगोलियाका बौद्ध संस्थाहरु तथा विभिन्न देशमा छरिएर बसेका तिब्बतीहरुका बिचमा राम्रो सम्बन्ध भएपछि चीनले असन्तुष्टी जनाएको भन्ने समाचारहरु आएका छन् । जे होस् मंगोलियाको आधाभन्दा बढी जनसंख्या बौद्ध छन् उनीहरु धर्ममा श्रद्धा राख्छन् र अभ्यास गर्छन् । यति ठुलो प्रलय झेलेर पनि उनीहरुमा भएको श्रद्धा बलका कारण त्यहाँ धर्म हराएको छैन । यो विश्वकै बौद्धहरुका लागि उदाहरणीय कुरा हो ।

Press enter or click to view image in full size

सन्दर्भ सामाग्री

भिक्षु सुदर्शन, विश्वमा बुद्धधर्म, अनुवादक तथा प्रकाशक धर्मरत्न शाक्य ”त्रिशुली” (२०५३)

· Ven Thupten Gyatso, Faces of Buddhism in Mongolia, Mandala, March/May 2003

· Sh. Natsagdorji, The Introduction of Buddhism into Mongolia, The Mongolia Society Bulletin , January-June, 1968, Vol. 7, №1 (13) (JanuaryJune, 1968), pp. 1–12

· Karénina Kollmar-Paulenz, Buddhism in Mongolia After 1990, Journal of Global Buddhism 4 (2003): 18–34

· Irina Morozova, Revolutionary Mongols, Lamas and Buddhism (1921–1941), IIAS Newsletter | #31 | July 2003

· Glenn H. Mullin, Mongolian Buddhism Past and Present: Reflections on Culture at a Historical Crossroads,

· https://studybuddhism.com/ne/tibbati-bud-dhadharma/bud-dhadharmaka-barema/baud-dha-jagata/vartamana-visvama-bud-dhadharma

· https://mongolia-travel-and-tours.com/buddhism-mongolia.html

· https://www.montsame.mn/en/read/309312#

· https://www.fpmtmongolia.org/buddhism-in-mongolia/

· https://www.amicusmongolia.com/history-of-buddhism-in-mongolia.html

· https://bitterwinter.org/mongolia-the-forgotten-genocide-part-ii/

बौद्ध मासिक आनन्दभूमि पत्रिकामा २०८२ माघ पूर्णिमामा प्रकाशित

फोटोहरु इन्टरनेटबाट साभार गरिएकाे

“Buddhism in Mongolia, which the communist regime has not been able to eradicate” The article in Nepali language was published in Buddhist Montly Anandhabhoomi in 2026 02

No comments:

This is me, Thank you Gemini