राजेन मानन्धर
भारतको सबैभन्दा उत्तरमा पर्ने पहाडी राज्य विभिन्न पक्षबाट विवादको घेरामा छ । राजनीतिक रुपमा हेर्दा पनि यो क्षेत्रमाथि चीन, पाकिस्तान अनि भारतको दाबी छ । यी सबैको बाबजुद यहाँ एउटा कुरा निर्विवाद छ, त्यो हो यहाँको बुद्ध धर्म । तर हालसालै यहाँ भएको विरोध प्रदर्शनले यहाँका आदिबासीहरु धेरै कुरामा केन्द्रीय सरकारसँग सन्तुष्ट छैनन् भन्ने कुरा खुलाएको छ ।
भारतको नक्सामा सबैभन्दा उत्तरमा पर्ने टोपी जस्तो भाग लद्दाख हो । यसको उत्तरमा काराकोरम पर्वतश्रृंखलाको सियाचिन ग्लेशियरदेखि दक्षिणमा मुख्य ग्रेट हिमालयसम्म फैलिएको छ । यो अहिले भारतद्वारा प्रशासित केन्द्र शासित क्षेत्र हो र यो ठूलो कश्मीर क्षेत्रको पूर्वी भाग हो । यसकोे पूर्वमा चीनको तिब्बत स्वायत्त क्षेत्र, दक्षिणमा भारतको हिमाञ्चल प्रदेश, पश्चिममा भारत–प्रशासित केन्द्र शासित प्रदेश जम्मू र कश्मीर र पाकिस्तान–प्रशासित गिलगिट–बाल्टिस्तान दुवै र उत्तरमा काराकोरम दर्रा पारी सिनजियाङको दक्षिणपश्चिम कुना अवस्थित छ ।
लद्दाखमा भेटिएका केही ढुंगा खोपिएका अवशेषहरुको आधारमा यहाँ निओलिथिक युग अर्थात् लगभग १२ हजार वर्ष अगाडिदेखि मानव बसोबास थियो भन्ने पुरातत्वविद्हरुले भनेका छन् । लगभग इसाको पहिलो शताब्दीदेखि यो कुशान साम्राज्यको भाग थियो ।
दोश्रो शताब्दीदेखि पश्चिमी लद्दाखमा काश्मीरबाट बुद्ध धर्मले प्रवेश पाएको देखिन्छ । सातौ शताब्दीका बौद्ध यात्री शुआनजाङले पनि यस क्षेत्रको वर्णन आफ्नो यात्रा वृतान्तमा गरेको पाइन्छ ।
सन् ८४२मा तिब्बती साम्राज्यको पतन पछि त्यहाँका एक अधिकारी न्यिमा–गोनले लद्दाखमा आएर स्वतन्त्र राजयको निर्माण गरेका थिए । यसबेला उनीसँग आएका तिब्बतीहरु यहाँ बसोबास गरेर बस्न थाले । सन् ९१२मा तुबोका अन्तिम राजा न्यिमा–मोनले ङारीमा आफ्नो राज्य बनाएको थियो । उसले आफ्नो मृत्यु अघि आफ्नो देश आफ्ना तीन जना छोराहरु बाँडिदिए भन्ने इतिहास छ, जुन नेपाल उपत्यकाका राजाले आफ्ना तीन जना छोराहरुलाई बाँडिदिए भन्ने इतिहाससँग मिल्दोजुल्दो छ ।
१३औं शताब्दीमा भारतवर्षका थुप्रै बौद्ध तथा हिन्दु केन्द्रहरुमाथि मुस्लिमहरुले कब्जा जमाउन थालेको थियो । यहाँ मुस्लिमहरुको बसाइँसराइँ त धेरै अगाडि नै विस्तारै हुँदै थियो । त्यसमा पनि सन् १३८२मा मीर सयेद अली हामदानी सबैभन्दा पहिला लद्दाख पुगे र त्यहाँ विभिन्न तरिकाले त्यहाँका जनतालाई इस्लामा धर्मान्तर गराए । पछि १५औ शताब्दीमा शामसुद्दीन इराकीले यो कामलाई निरन्तरता दिए । यसबेला भारतका अन्य राज्यमा जस्तै बुद्ध धर्म बिस्तारै लोप हुँदै गयो र यसको ठाउँमा मुस्लिमहरुले कब्जा जमाए । यसप्रकार १७औ शताब्दीसम्ममा मुस्लिमहरुले लद्दाखको ठुलो भाग आफ्नो कब्जामा लिए ।
यद्यपि यस्तो अवस्थामा पनि यहाँको बौद्ध क्षेत्रमा बुद्ध धर्मको संरक्षण गर्ने शासकहरुको अधिपत्य पनि कायम नै थियो । सन् १४७०मा बास्गोका राजा लाछेन बागानले लेह क्षेत्रका राजालाई धपाएर लद्दाखको एकिकरण गरे र नामग्याल वंशको स्थापना गरे । १७औ शताब्दीमा लद्दाखका राजाहरु एकातिर तिब्बततिर आफ्नो राज्य विस्तार गर्न हिँडे भने अर्कोतिर मुगलहरु उनीहरुको देशका लागि खतरा बनेको थियो ।
लद्दाखका बहुसंख्यक जनता बौद्ध भएर पनि लगभग १५औं शताब्दीदेखि नै यहाँका शासकहरु क्रमशः मुस्लिमहरुको प्रभावमा पर्दै गएको देखिन्छ । यसबेलादेखि यहाँ मुस्लिमहरुको आप्रबासन शुरु भैसकेको थियो । काश्मीरी तथा बेल्टीका मुस्लिम ब्यापारीहरु यहाँका शहरुहरुमा समुदाय बनाएर बस्न थाले अनि सैनिक हमला नै नगरीकन विबाह गरेर, ब्यापार गरेर तथा अन्य कुटनीतिक चाल चलेर यहाँको राज्य सत्तमा उनीहरुले नियन्त्रण गर्न थाले ।
सन्१५९५देखि १६१६सम्म शासन गरेका राजा जामयाङ नामग्याललाई बालिस्तानका मुस्लिम शासक अलि शेरखान अन्चनले हराए र उसलाई आफ्नी छोरी गयाल खातुनसँग बिहे गर्न बाध्य बनायो । उसले आफ्नो साथमा ठुलो संख्यामा प्रभावशाली मुस्लिमहरु दरवारमा ल्याए अनि आफ्नो सन्तान पनि मुस्लिम वातावरणमा हुर्काए । यस प्रकार बौद्ध देश लद्दाखमा मुस्लिमहरुको प्रभाव बढदै गयो ।
सन् १९४७ देखि भारत र पाकिस्तान र १९५९ देखि भारत र चीन बीच विवादको विषय बनेको छ । १९६० को दशकमा चीनमा राजनीतिक परिवर्तन पछि तिब्बत र लद्दाख बीचको सिमाना बन्द गरेपछि यहाँ अन्तर्राष्ट्रिय व्यापार घट्यो । अर्को तिर अहिले १९७४ देखि भारतले लद्दाखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै छ ।
लद्दाखमा मानिने धर्महरु
कुनै बेलामा लद्दाख भनेको भारतदेखि तिब्बतसम्म प्रख्यात विशाल बुद्ध धर्मको केन्द्र थियो । यहाँ टाढा टाढादेखि बुद्ध धर्मका अध्येताहरु यहाँ संकलन गरिएका ग्रन्थहरु पढ्न र यहाँका गुरुहरुसँग बसेर अध्ययन गर्न आउँथे । तर कालान्तरमा यहाँ अन्य धर्मको प्रवेशसँगै यहाँको बौद्धहरु अल्पमतमा पर्दै गए । हालको अवस्थामा यस क्षेत्रका मुख्य धार्मिक समूहहरू भन्नाले मुस्लिम, बौद्ध, हिन्दु आदि आउँछ । यसमध्ये यहाँ मुस्लिम (मुख्यतया शिया)हरु ४६% छन्, बौद्ध (मुख्यतया तिब्बती बौद्ध)हरु ४०% छन् । त्यसपछि यहाँ हिन्दूहरु १२% तथा बाँकी २% अन्य धर्मावलम्बीहरु छन् ।
लद्दाखमा बुद्ध धर्मको इतिहास
लद्दाखमा बौद्ध धर्मको इतिहास प्राचिन, समृद्ध र जटिल छ । यहाँको बुद्ध धर्म यस क्षेत्रको राजनीतिक र सांस्कृतिक विकाससँग पनि गाँसिएको छ । यहाँको भूराजनीतिक अवस्थितिले यहाँ विभिन्न क्षेत्रका मानिसहरु आएर बस्ने केन्द्र पनि बन्यो । यसैकारणले पनि यहाँ अन्तर साँस्कृतिक क्रियाकलाप धेरै पहिलेदेखि हुने गर्दथ्यो भन्न सकिन्छ । यसमा मुख्यतया कश्मीरबाट र पछि तिब्बतबाट आएका लहरहरुले यहाँ दूरगामी प्रभाव पारे । र यसप्रकार यहाँ तिब्बती बुद्ध धर्मले जरा गाडे ।
कश्मीरको प्रभाव (१–१०औं शताब्दी)ः
सम्राट अशोकको धर्मदूतहरु लद्दाख पुगे भन्ने कसैकसैले अनुमान गरेतापनि यसको कुनै ऐतिहासिक प्रमाण भेटिँदैन । श्रीलंकादेखि ग्रीससम्म पुगेका धर्मदूतहरु यहाँसम्म नआएपनि राजनैतिक वा सामाजिक कारणले अशोककै समयमा यहाँ बुद्ध धर्मले प्रवेश पाएको अनुमान मात्र गर्न सकिन्छ ।
लद्दाखमा बौद्ध धर्मको पहिलो किरण कुशाण साम्राज्यको समयमा अर्थात् पहिलो शताब्दी ईस्वीको आसपास प्रवेश पाएको थियो । यस समयमा कश्मीर बौद्ध शिक्षाको एक महत्वपूर्ण केन्द्र बनिसकेको थियो । अनि यस क्षेत्रबाट व्यापारीहरुको आवत जावत भइहने भएकोले यहाँ धर्म प्रचार सबैभन्दा पहिले उनै बौद्ध ब्यापारीहरु मार्फत भएको देखिन्छ । यस प्रकार धर्म र ब्यापार सँगसँगै फैलिँदै पश्चिमी लद्दाखमा बुद्ध धर्म बिस्तारै फैलियो । यो प्रारम्भिक चरणमा यहाँ चट्टानका बुट्टाहरुका अवशेषहरु र केही स्तूपहरूको अवशेष पाइएका छन् । यी अवशेषहरुमा कश्मीरी र गन्धार कला शैलीहरूको बलियो प्रभाव पाइन्छ । यसले यहाँ भारतीय वा कश्मीरी बुद्ध धर्मको प्रभाव परेको वा प्रसार भएको प्रमाण दिन्छ । यसबाट पनि यहाँ बुद्ध धर्मको प्रवेश काश्मीर मार्फत भएको भन्ने प्रमाणित हुन्छ । यद्यपि, बौद्ध धर्मको यो प्रारम्भिक लहरले पूर्ण रूपमा जरा गाडेन र कुशाण साम्राज्यको पतनसँगै यसको प्रभाव घट्यो ।
हुयेनसाङले देखेको लद्दाख
७ औं शताब्दीका चिनियाँ बौद्ध तीर्थयात्री सुआनजाङ (हुयेनसाङ) ले आफ्नो यात्रावर्णनमा लद्दाख क्षेत्रको वर्णन गरेको पाइन्छ । भारतवर्षका विभिन्न बौद्ध शहर र बस्तीहरुको भ्रमण गरेर त्यहाँको वर्णन गर्ने क्रममा उनले लद्दाखको उल्लेख गरेबाट यो ठाउँ यसबेलासम्म एक उल्लेखनीय बौद्ध केन्द्र थियो भन्ने प्रमाणित गर्दछ । उनले यसलाई मो–लो–सो (मलासा वा मारसा) नामले उल्लेख गरेका थिए । यस नामलाई इतिहासकारहरूले लद्दाखको लागि एक प्राचीन नाम भनेर पहिचान गरेका छन् । यसले यो स्पष्ट पार्दछ कि त्यस समयमा लद्दाख एक महत्वपूर्ण बौद्ध क्षेत्र थियो । उनकोे विवरणले ७ औं शताब्दीको समयमा यहाँको सांस्कृतिक र धार्मिक समाजको परिदृश्य प्रस्तुत गर्दछ ।
तिब्बतको प्रभाव (१०औं शताब्दी पछि)
१०औ शताब्दीको समयमा तिब्बतमा त्यहाँको साम्राज्यको पतन भएको अवस्था थियो । यसबेलाको तिब्बती शाही परिवारका वंशज न्यमा–गोन पश्चिमी तिब्बतमा भागे र लद्दाख नजिकै बसेर लद्दाख समेतलाई समावेश गरी नयाँ राज्य स्थापना गरे । लद्दाखको बुद्ध धर्मको इतिहासमा यसलाई दोस्रो विकास भन्न सकिन्छ । यो भनेको तिब्बती सांस्कृतिक क्षेत्रमा एक प्रमुख पुनरुत्थान आन्दोलन पनि हो । अनि यसैबेलादेखि लद्दाखको बुद्ध धर्ममा तिब्बती बुद्ध धर्मको प्रत्यक्ष प्रभाव देखिन थाल्यो ।
यसबेलादेखि लद्दाखका शासकहरुले बुद्ध धर्मको संरक्षण गर्न थाले । राजा ल्हाचेन पाल्गीगोन जस्ता नयाँ शासकहरूले यहाँ सक्रिय रूपमा बौद्ध धर्मको प्रचार गरे अनि को लागि भारत र कश्मीरतिरबाट समेत यहाँ धार्मिक ग्रन्थहरू र विद्वानहरू झिकाइए । यहाँका धेरै प्राचीन गुम्बाहरूको निर्माण यसै समयमा बनेका थिए । जुनबेला नजिकैको काश्मीरमा बुद्ध धर्म लोप हुँदै थियो, त्यसबेलामा समेत लद्दाखमा भने बुद्ध धर्मको विकासनै भइरहेको देखिन्छ।
नामग्याल राजवंशबाट बुद्ध धर्मको संरक्षण (१५औं शताब्दी)
१५ औं शताब्दीमा नामग्याल राजवंशको उदयसँगै लद्दाखमा बुद्ध धर्मको विकास तथा संरक्षणको सबैभन्दा महत्वपूर्ण अवधि सुरु भयो । नामग्याल राजाहरू बौद्ध धर्मावलम्बी थिए र उनीहरूको शासनकाल लद्दाखमा बुद्ध धर्मको लागि स्वर्ण युग मानिन्छ । उनीहरुले पहिलेदेखि विकास हुँदै आएको बुद्ध धर्मलाई अझ बढी सम्मान र संरक्षण दिएर यहाँको बौद्ध समाजलाई उच्च तहमा पुर्याए । राजा सेन्गे नामग्याल (सन् १६१६–१६४२) विशेष गरी तिब्बती बुद्ध धर्मको ड्रुकपा काग्यु निकायका संरक्षक थिए। एनको प्रायोजन अथवा अभिभावकत्वले गर्दा लद्दाखका धेरै महत्वपूर्ण र प्रसिद्ध गुम्बाहरूको निर्माण भयो । यसले आजपनि लद्दाखको उन्नत बुद्ध धर्मको गाथा गाइरहेका छन् ।
यसबेलाका शासकहरूले छात्रवृत्ति दिएर यहाँका लामाहरूलाई उच्च शिक्षाको लागि मध्य तिब्बतमा पठाए जसको कारणले यहाँका बौद्ध अध्ययन केन्द्रहरुमा अझ बढी सक्षम र विद्वान धर्मगुरुहरु भए । साथै यसले गर्दा लद्दाख र तिब्बत बिचको धार्मिक र सांस्कृतिक सम्बन्ध पनि अझ बढी सुदृढ बन्यो । अर्कोतिर यहाँका गुम्बा प्रणालीहरु यहाँको सामाजिक र आर्थिक संरचनाका आधार समेत बने अनि यिनीहरुले यहाँका शिक्षा, कला र सामुदायिक जीवनमा समेत सकारात्मक प्रभाव पारे ।
आज लद्दाख भरी र विशेष गरी लेह जिल्लामा बुद्ध धर्म यहाँका आदिबासीहरुको प्रमुख धर्म बनेको छ र यो नै लद्दाखी पहिचानको केन्द्रबिन्दु बनेको छ । यी गुम्बाहरू यहाँका जनताका आध्यात्मिक अभ्यास र सांस्कृतिक संरक्षणका जीवन्त प्रमाणहरु हुन्, जसले बदलिँदो परिस्थितिमा पनि यहाँको गौरवमयी बौद्ध इतिहासको कथा सुनाइरहेको छ अनि आज विश्वभरका विभिन्न देशबाट आउने बौद्ध तीर्थयात्रीहरू र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् ।
११औ शताब्दीका काश्मीरका ठुला विद्वा रिन्चेन जाङ्पो लद्दाखमा आएर माने तथा गुम्बा बनाएको भन्ने प्रसंगले यो ठाउँले विभिन्न ठाउँका बौद्ध विद्वानहरुलाई बोलाएको अथवा यो उनीहरुको रुचीको स्थान थियो भन्ने संकेत पनि गर्दछ ।
१३औं शताब्दी भनेको दक्षिण एशिया नै इस्लामिक आक्रमणको युग थियो । भारतवर्षका बौद्ध तथा हिन्दु केन्द्रहरुमाथि मुस्लिमहरुले कब्जा जमाउन थालेको थियो । यस्तो बेलामा बुद्ध धर्ममा क्रमशः कमजोर बन्दै गएको लद्दाखले तिब्बतसँग सहयोग माग्नु स्वभाविक थियो । तर पनि यसबेला भारतका अन्य राज्यमा जस्तै बुद्ध धर्म बिस्तारै लोप हुँदै गयो र यसको ठाउँमा मुस्लिमहरुले कब्जा जमाए । यसप्रकार १७औ शताब्दीसम्मका मुस्लिमहरुले लद्दाखको बुद्ध धर्मलाई समाप्त नै पारेको अवस्था थियो । तर पनि यस्तो प्रतिकुल अवस्थामा पनि लद्दाखका बौद्धहरुले आफ्नो धर्म छोडेन, आफ्नो धार्मिक पहिचान बचाएर राखे । यो भने उदाहरणीय नै छ ।
अहिलेको अवस्थामा पनि यहाँ अन्य सरकारी बिदाका अतिरिक्त छोर्तुद दुचेन, लोसार, सागादावा आदि बौद्ध चाडहरुमा सार्वजनिक बिदा दिइन्छ ।
वर्तमान अवस्थामा यहाँ बौद्धहरु तथा मुस्लिमहरुको बाहुल्यता छ । उनीहरु सहअस्तित्वको धारणामा सँगसँगै आआफ्नो धार्मिक अभ्यास गरिरहेका छन् । यसबाहेक यहाँ बिस्तारै हिन्दुहरुको जनसंख्या पनि बढ्दै गइरहेको देखिन्छ ।
लद्दाखका प्रमुख गुम्बाहरु
लद्दाखको बुद्ध धर्मको एक छुटाउनै नहुने पक्ष भनेको यहाँका ऐतिहासिक अनि सुन्दर गुम्बाहरु हुन् । तिब्बती बुद्ध धर्मको प्रचलन भएको ठाउँमा गुम्बाहरु हुनु स्वभाविक हो तर यहाँ हरेक बस्तीमा साना ठुला गुम्बाहरु छन् । उच्च पहाडीभाग, विकट भौगोलिक अवस्था, असहज मौसम र आर्थिक अवस्था त्यति उन्नत नभएर पनि यहाँ भएका श्रोत साधानको सदुपयोग गरी गुम्बा बनाएर आफुलाई धर्ममा समाहित गराउनु नै लद्दाखी बौद्धहरुको विशेषता हो । यहाँ साना ठुला गरेर कुल १,००० भन्दा बढी गुम्बाहरू छन् जहाँ नियमित पूजा, ध्यान, शिक्षा र सांस्कृतिक संरक्षणको कार्यक्रम सयौं वर्षदेखि नियमित र अटुट रुपमा हुँदै आइरहेका छन् ।
यहाँका गुम्बाहरु पहाड वा चट्टानहरूमाथि बनाइएका छन् जसको निर्माण धेरैजसो ११ औं–१७ औं शताब्दीमा भएका थिए । यहाँका केही प्रमुख गुम्बाहरुको संक्षिप्त जानकारी तल दिइन्छ ।
हेमिस गुम्बा ः लद्दाखको प्रमुख गुम्बा हेसिम गुम्बा हो । यो यहाँको केन्द्र लेहबाट ४५ किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । यसको निर्माण ११औ शताब्दीमा भएको थियो र सन् १६७२मा राजा सेन्गे नामग्यालले फेरि बनाउन लगाएको थियो । यसलाई लद्दाखको सबैभन्दा विशाल र धनी गुम्बा भनिन्छ र यो द्रुक्पा निकायसँग सम्बन्धित छ । यहाँ पद्मसम्भव (गुरु रिन्पोछे) को एक विशाल मूर्ति स्थापना गरिएको छ र यहाँको सुनौलो अस्तुको कारणले पनि यो प्रख्यात छ । यसका साथै यहाँ प्राचिन थाङ्काहरु तथा अन्य बहुमुल्य धार्मिक बस्तुहरु रहेको एक विषेश संग्रहालय पनि बनाइएको छ । हरेक वर्षको जुन–जुलाई महिनामा यहाँ मुखौटा लगाएका छाम नृत्यहरू सहितको वार्षिक पुजा हुन्छ । यो पर्व हेर्न टाढा टाढादेखि बौद्ध तीर्थ यात्रीहरु र पर्यटकहरु आउँछन् ।
आलची गुम्बा ः यसलाई लद्दाखको अहिले भेटिने सबैभन्दा पुरानो गुम्बा भनिन्छ । यसको निर्माण ११औं शताब्दीमा भएको थियो । यो लेहदेखि ७० किलोमिटर पश्चिममा पर्दछ । यसको स्थापना प्रशिद्ध काश्मीरी बौद्ध विद्वान रिन्चेन जाङ्पोबाट भएको मानिन्छ । यहाँ ११औ वा १२औ शताब्दीका केही दुर्लभ भित्तेचित्रहरु तथा काष्ठकलाका नमुनाहरु छन् जसमा मण्डलहरु र देवी देवताका मूर्तिहरु पनि पर्दछन् ।
लामायुरु गुम्बा ः यो लद्दाखको अर्को प्राचिन गुम्बा हो । ११औ शताब्दीमा निर्मित यो गुम्बा लेहदेखि १२७ किलोमिटर पश्चिममा पर्दछ । यो गुम्बा गेलुक्पा निकायसँग सम्बन्धित छ । यहाँका प्राचिन भित्तेचित्रहरु, ग्रन्थ पुस्तकालयहरुको कारण यो प्रशिद्ध छ । यसलाई तिब्बती बौद्ध बास्तुकलाको एक उच्चकोटीको नमुना भनेर पनि लिइन्छ । हरेक वर्ष जुलाई महिनामा यहाँ विशेष पूजा हुन्छ ।
स्पितुक गुम्बा ः यहाँको अर्को प्राचिन गुम्बा स्पितुक गुम्बा हो । यो लेहदेखि ८ किलोमिटर पश्चिममा पर्दछ । ११औं शताब्दीमा यसको स्थापना विद्वान रिन्चेन जाङमोले गरेका थिए । यो गुम्बा यहाँको बुद्ध मूर्तिका साथै यहाँ राखिएको खप्परको मुखौटा, प्राचिन हतियारहरुका कारण पनि प्रशिद्ध छ । कुनै बेला यो गुम्बा यहाँका शासकहरुको निवासस्थान पनि हुने गथ्र्यो ।
लिरिक गुम्बा ः लेह भन्दा ५३ किलोमिटर टाढा अवस्थित यो लिरिक गुम्बा सानो डाँडामाथि अवस्थित छ । यसको स्थापना पनि रिन्चेन जाङ्पोले गरेको मानिन्छ । ११औं शताब्दीको यस प्राचिन गुम्बामाथि अहले १८औ शताब्दीमा नयाँ संरचना बनाएको छ । यो गुम्बाभित्र एक विशाल बुद्ध मूर्तिको अलावा चाँदीका मूर्तिहरु तथा थाङ्का संग्रहालय पनि छ ।
थिक्से गुम्बा ः यहाँको अर्को महत्वपूर्ण गुम्बा थिक्से गुम्बा हो । यो लेहदेखि १९ किलोमिटर पूर्वमा अवस्थित छ र यसको निर्माण १५औ शताब्दीमा भएको थियो । यो गुम्बा १२ तल्ला अग्लो छ र यो तिब्बतको प्रशिद्ध पोताला गुम्बाको नक्कल गरेर बनाइएको छ । यहाँ ४९ फिट अग्लो मैत्रेय बुद्धको मूर्ति छ । यसका साथै यहाँ स्तुपहरु, थाङ्काहरु तथा आनीहरुको गुम्बा पनि छ । यस गुम्बाको विशेषता भनेको यहाँका आनीहरुका लागि विशेष प्रशिक्षण कार्यक्रमहरुको सञ्चालन हो ।
फुग्तल गुम्बा ः लेह भन्दा १५० किलोमिटर दक्षिणपूर्वमा रहेको जान्सकर उपत्यकाको यो गुम्बा विभिन्न कारणले विशेष छ । यो भिरालो पहरामा रहेको गुम्बा दुर्गम स्थानमा छ र यो गेलुक्पा निकायसँग सम्बन्धित गुम्बा हो । यहाँ मुख्य प्रार्थनागार, ग्रन्थसंग्रह तथा ध्यान गर्ने गुफाहरु छन् । शहरी वातावरणदेखि टाढा शान्त क्षेत्रमा ध्यान गर्नेहरु गइरहन्छन् ।
यसबाहेक पनि यहाँ गेलुक द्रिकुङ तथा द्रुक्पा निकायसँग सम्बन्धित थुप्रै गुम्बाहरु छन् जुन त्यसबेलाका शासकहरको संरक्षकत्वमा निर्माण भएको थिए ।
विश्व शान्ति स्तुप ः गुम्बा नै गुम्बाहरु मात्र भएको लद्दाखमा बुद्ध धर्मका सबै निकायहरु समेट्ने अनि बौद्ध तथा गैरबौद्धहरु बिच शान्तिको सन्देश फैलाउने उद्देश्यले विश्वशान्ति स्तुपको निर्माण भएको छ । लेहबाट ५ किलोमिटरको दुरीमा रहेको चान्स्पा डाँडाको टुप्पामा सन् १९९१मा भिक्षु ग्योम्यो नाकामुराको संयोजनमा यो स्तुप बनाइएको थियो । यस भित्र भगवान बुद्धको अस्थिधातु राखिएकोले यसलाई विश्वभरीका बौद्धहरुले पवित्र मान्दछन् । १४औ दलाइ लामाले यसको प्रतिष्ठापन गर्नुभएको थियो । धार्मिक महत्वका साथै ३,६०९ मिटरको उचाइमा रहेको र हिमालयको आकर्षक दृष्यावलोकन गर्न सकिने अवस्थितिले गर्दा पनि यहाँ पर्यटकहरुको घुइचो लागिरहन्छ ।
लद्दाखका प्रमुख धर्मगुरुहरु
लद्दाखमा ऐतिहासिक कालदेखि विद्वान धर्मगुरुहरुको जन्मस्थल वा कर्मस्थल रहँदैआएको छ । यहाँका ती गुरुहरुको धर्मनिर्देशनले गर्दा नै यहाँको बौद्ध समाज सबल र श्रद्धावान भएको हो । उहाँहरु मध्ये केहीको बारेमा सामान्य जानकारी यहाँ दिइन्छ ।
जाङसेम शेराब जाङ्पो ः प्रचिनकालका किंवदन्तीहरु बाहेक अहिलेको जनमानसले सुनेका लद्दाखका मध्यकालीन धर्मगुरुहरु मध्ये जाङसेम शेराबको नाम उल्लेखनीय छ । उहाँको जन्म सन् १३९५मा भएको थियो । उहाँले लद्दाख भरी नै बुद्ध धर्मको प्रचार प्रसार गर्नमा धेरै योगदान दिनुभएको थियो । उहाँले आफ्नो समयमा लद्दाखका विभिन्न स्थानमा गुम्बा बनाएर स्थानीयहरुलाई बुद्ध धर्मप्रति श्रद्धा जगाउने काम गर्नुभएको थियो । आजका थिक्से गुम्बा, फुग्ताल गुम्बा आदिको निर्माणमा उहाँको योगदान रहेको मानिन्छ ।
कुशोक बकुला रिम्पोछे ः यहाँ अहिले सबैले मान्ने धर्मगुरुहरुमध्ये बकुला रिम्पोछेको नाम सबैभन्दा माथि आउँछ । सन् १९१७मा जन्मनुभएका उहाँ लद्दाखका एक धर्मगुरु एवं राजनेता पनि हुनुहुन्छ । उहाँले लद्दाखको परम्परागत शिक्षा प्रणालीलाई पुर्नजीवन दिएर केही महत्वपूर्ण परिवर्तन ल्याउनुभयो । उहाँले यहाँ केन्द्रीय बौद्ध अध्ययन केन्द्रको स्थापना गर्न तथा यसका लागि विभिन्न बौद्ध गुम्बाहरुलाई मुलधारमा ल्याउन भूमिका खेल्नुभयो । उहाँको देहावसान २००३मा भयो ।
खेन्सुर रिम्पोछे ः लद्दाखका महत्वपूर्ण धर्मगुरुहरु मध्ये खेन्सुर रिम्पोछे अर्थात् गेसे ल्हाराम्पा लोब्साङ ग्याल्सेन हुनुहुन्छ । उहाँ ड्रेपुङ गोमाङ गुम्बाका प्रमुख गुरु हुनुहुन्छ । उहाँले गुम्बा गेलुग निकाय भित्रको सबैभन्दा ठुलो उपाधि लिनुभएकोछ ।
भिक्षु संघसेना ः लद्दाखमा थेरवादको प्रचलन नगण्य मात्र भएपनि उहाँ भिक्षुसेना अर्थात् सेरिङ आङचुकले यहाँ आफ्नो क्षमताले अन्य निकायसँग समन्वय गरिरहनु भएको छ । उहाले लेहमा माहाबोधी अन्तर्राष्ट्रिउ ध्यान केन्द्र खोल्नुभएको छ । साथै उहाँ स्थानीय जनताका लागि शिक्षा, स्थास्थ तथा समाजिक कार्यमा पनि सक्रिय भएर लाग्नुभएको छ ।
भिक्षु ग्योम्यो नाकामुरा ः जापानमा जन्मेका भिक्षु ग्योम्यो नाकामुराले लद्दाखलाई आफ्नो कर्मथलो बनाउनुभएको छ । उहाँले यहाँ विश्वशान्ति स्तुप बनाउन संयोजनको काम गर्नुभएको थियो । यसका साथै उहाँले विभिन्न धार्मिक निकायहरु बिच समन्वय गर्ने, धार्मिक आदानप्रदान गर्ने तथा ध्यान अभ्यास गराउने गर्नुहुन्छ ।
धार्मिक र साँस्कृतिक जनजीवन
लद्दाखको शक्ति तथा पहिचान भनेकै यहाँको धार्मिक तथा साँस्कृतिक जीवन हो । बुद्ध धर्म यहाँका बहुसंख्यक मानिसहरुको परिचय नै बनेको छ । जस्तोसुकै अवस्थामा पनि यहाँको सामाजिक, साँस्कृतिक तथा राजनीतिक जीवनमा बुद्ध धर्म गहिरोसँग गाँसिएको छ । यहाँका गुम्बाहरु, मानेहरु अनि लुङ्ताहरुले यहाँको परिचय बोकेको छ । तथापि वर्तमान समयमा लद्दाखमा थुप्रै राजनीतिक, धार्मिक साँस्कृतिक परिवर्तनहरु भइरहेका छन् । उपनिवेशबाट मुक्ति, भारतीय सरकारसँगको समायोजन अनि प्रशासनिक अवस्था इत्यादिमा निकै हेरफेर आएका छन् । यसले यहाँका स्वच्छ बौद्ध समाज र वातावरणलाई केही हदसम्म खलल पारेको छ । अहिले यहाँका ऐतिहासिक गुम्बाहरुको संरक्षण, गुम्बा शिक्षालाई समयावधिक गर्ने, परम्परा र आधुनिकीकरणको बिच सन्तुलन ल्याउने तरा यहाँका प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षण अहिलेको पुस्ताको लागि चुनौति बनेको छ ।
लद्दाखमा बुद्ध धर्मको चुनौतिहरु
समय परिवर्तनशील छ । लद्दाखका बौद्धहरूको समृद्ध सम्पदा छ, उन्नत बौद्ध समाज पनि छ । तर अहिलेको अवस्थामा लद्दाखको धार्मिक वातावरण कुनै काल्पनिक युटोपिया जस्तो समस्यारहित छैन । एकातिर देशैभरी बुद्ध धर्म लोप हुने अवस्थामा पुगेको सबैलाई थाहा भएकै कुरा हो । त्यसमा पनि लद्दाखमा पनि बुद्ध धर्म अहिले पहिलेजस्तो सुरक्षित छैन । उनीहरूको समुदायले अहिले बिस्तारै दृष्य अदृष्य किसिमबाट धर्म र संस्कृति दुवैलाई असर गर्ने धेरै आधुनिक चुनौतीहरू र खतराहरूको सामना गरिरहेको अवस्था छ ।
सांस्कृतिक र धार्मिक चुनौतीहरू ः पहिले लद्दाखमा बाटो भरी लामा वा आनीहरु भेटिन्थे तर अहिले त्यस्तो अवस्था छैन । कम युवा लद्दाखीहरू मात्र लामा वा आनी बन्न तयार छन् । यसले बौद्ध शिक्षा र अनुष्ठानहरूको निरन्तरतामा शंका लाग्न थालेको छ । आधुनिकीकरण, विश्वव्यापी मिडिया र सामाजिक संजालसँगको सम्पर्कले त्यहाँका बौद्धहरु पहिले जस्तो धार्मिक बन्न सकिरहेका छैनन् । यसका साथै अहिलेका धेरै युवाहरु धर्मशास्त्र र भाषा (शास्त्रीय तिब्बती तथा लद्दाखी बोलीहरू) को अध्ययनमा रुची राख्दैनन् । अहिलेको शिक्षा नीतिले यहाँका स्कूलहरूमा, हिन्दी र अंग्रेजी हावी छ तर लद्दाखी (तिब्बती भाषा) लोप हुने अवस्थामा छ । यसले पनि यहाँको धर्म संरक्षण्मा प्रतिकुल प्रभाव पार्छ । त्यस्तै यहाँ बौद्ध अध्ययन केन्द्रहरु सीमित भएकोले यहाँका बौद्ध लामा तथा अन्य विद्यार्थीहरु उन्नत अध्ययनको लागि दक्षिण भारत वा विदेश यात्रा गर्नुपर्छ । यसले पनि बुद्ध धर्मको प्रचार प्रसारमा असर गरिरहेको छ ।
अर्कोतिर बौद्ध धर्मको व्यावसायीकरण पनि बढेको छ । गुम्बाहरूले कहिलेकाहीं पर्यटकहरूलाई आकर्षण गर्न बुद्ध दर्शनलाई तोडमोड वा छोटकरी गरेर कोर्सहरु चलाउँछन् जसले विद्यार्थीहरुको आध्यात्मिक गहिराइलाई कमजोर बनाउन सक्छ ।
सामाजिक र जनसंख्याका खतराहरू ः अहिले यहाँका आदिबासी बौद्धहरु विशेष गरी युवाहरू लेह, दिल्ली, वा विदेशमा बसाइँ सराइ गरेर गएका छन् । त्यसकारण यहाँ गाउँमा बुद्ध धर्मको अभ्यास गर्नेहरु समेत थोरै भएका छन् । यसले गर्दा गाउँमा आधारित धार्मिक जीवनलाई कमजोर बनाउँछ ।
अन्तर–धार्मिक तनाव ः लद्दाखमा बौद्ध र मुस्लिम दुवै समुदायहरू छन् । ११औ शताब्दी देखि नै मुस्लिमहरुले यहाँको बौद्ध समाजमा अतिक्रमण गर्न थालेको त माथि उल्लेख भइसकेको छ । दुइ प्रमुख धार्मिक समुदायहरुमा पहिले जस्तो सहअस्तित्व ऐतिहासिक रूपमा बलियो थियो, अहिले त्यस्तो छ भन्न मिल्दैन । एकातिर बौद्धहरु सबै छोड्दै जाने र मुस्लिमहरु अतिक्रमण गर्ने भएदेखि बिस्तारै असन्तुष्टीको भावनाले ठाउँ लिनु स्वभाविक हो । अहिले दुर्गम क्षेत्रहरूमा बौद्धहरूले इस्लाम वा ईसाई धर्ममा धर्म परिवर्तन गरेको केही रिपोर्टहरूले यहाँका बौद्धहरुको सांस्कृतिक अस्तित्वको बारेमा चिन्ता बढाएको छ । यसमा पनि भूमि प्रयोग, विवाह, धर्मान्तरण आदि कारणले पनि कहिलेकाहीं भित्रभित्र तनाव बढाउँछ ।
राजनीतिक र प्रशासनिक कारणहरु ः अहिलेको अवस्थामा सन् २०१९ देखि लद्दाख अब एक केन्द्र शासित प्रदेश हो । यसको कारणले यहाँका केही बौद्धहरूले स्थानीय स्वायत्तता गुमाउने र मुख्य भूमि प्रशासनद्वारा कब्जा गर्ने होकि भन्ने डर महसुस गर्छन् । त्यस्तै लद्दाखी बौद्धहरू भूमि, संस्कृति र अल्पसंख्यक अधिकारहरूको संरक्षण गर्न संवैधानिक सुरक्षाको लागि जोड दिइरहेका छन् । अहिलेको राजनीतिक परिस्थितमिा लद्दाखमा स्थानीय बौद्धहरुको शासनमा प्रतिनिधित्व निकै कम छ । लद्दाखमा अहिले पनि बौद्धहरु र मुस्लिमहरुको जनसंख्या बढी छ तर राज्य व्यवस्था र विशेष गरी अहिले भारतीय जनता पार्टीको सरकार भएको कारणले हिन्दु चाडपर्व र अन्य कार्यक्रमलाई सरकारले धेरै सुविधा दिएको भन्ने यहाँका आदिबासी बौद्ध र मुस्लिमहरुको गुनासो छ । त्यस्तै त्यहाँ अहिले हिन्दुत्वको प्रभुत्व बढाउने राष्ट्रिय स्वयंसेवक संघको गतिविधि बढ्न थालेको भन्ने पनि यहाँका आदिबासीहरुको बुझाइ छ । यसबाट भविष्यमा बौद्ध आवाजहरू राजनीतिक रूपमा कमजोर हुन सक्ने चिन्ता बढेको छ ।
लद्दाखमा हालसालैको विरोध प्रदर्शन
हालै सेप्टेम्बरको बिचमा लद्दाखमा केही विरोध प्रर्दशन भएका छन् । नेपालमा जेनजीको आन्दोलन भए लगतै शुरु भएको यो विरोध यहाँका आदिबासीहरुले आफ्नो धर्म संस्कृतिमा माथि आइपरेको खतराको प्रतिरोध पनि हो भन्न सकिन्छ । प्रदर्शनकारीहरुले यहाँको भारतीय जनता पार्टीको कार्यालयमा आगो समेत लगाएका थिए । विरोध हिंसात्मक भएर अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेको छ । यो विरोध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यहाँ भइरहेको धार्मिक अतिक्रमणका विरुद्ध पनि हो । उनीहरुले अहिले अलग राज्य मागेका छन्, आफ्नो जमिन तथा श्रोतको संरक्षणको लागि संविधानको छैठौं सूचिमा राख्न तथा राजनीतिक प्रतिनिधित्व बढाउन मागेका छन् ।
फोटोहरु विभिन्न वेभसाइबाट साभार गरिएका हुन् ।
बाैद्ध मासिक आनन्दभूमिमा असाेज २०८२ मा प्रकािशत लेख । भारतको लद्दाखमा बुद्ध धर्मको संरक्षण र चुनौतिहरु
“Protection of Buddhism in Ladakh of India and challenges” Article published in the Buddhist monthly in Nepal, Anandabhoomi, in September 2025.

No comments:
Post a Comment