राजेन मानन्धर
अहिलेको भारतमा मथुरा एक शहर हो जुन उत्तर प्रदेश राज्यको मथुरा जिल्ला अन्तर्गत पर्दछ । यो देशको राजधानी नयाँ दिल्लीको लगभग १४० किलोमिटर दक्षिण–दक्षिण पूर्वमा प्रख्यात यमुना नदीको किनारमा अवस्थित छ । यो शहरलाई भारतका सात प्रमुख धार्मिक शहर मध्ये एक मानिन्छ । यो बौद्ध, जैन तथा हिन्दुहरुको लागि उतिकै पवित्र शहर हो ।
यो बुद्धको जीवन कालमा ठुलो नगर थियो भन्ने कुरा ग्रन्थहरुमा पाइन्छ । अहिलेको भारतवर्ष १६ वटा जनपदहरुमा विभाजित हुँदा यो शुरसेन राज्यको राजधानी थियो । यहाँ भगवान बुद्ध आउनुभएको थियो र त्यसै अनुसार यहाँ बुद्ध धर्मको विकास पनि बुद्धकालमै भयो । बुद्ध कालमा यहाँ बुद्ध धर्म र जैन धर्मको प्रधानता थियो भने पछि बिस्तारै हिन्दु धर्मको प्रभाव बढ्दै गयो ।
खासमा भगवान बुद्धले यो ठाउँमा केही अवगुण देख्नुभएको थियो र यो ठाउँलाई रुचाउनु भएको थिएन भनेर ग्रन्थहरुमा लेखिएको पाइन्छ । उहाँको परिनिर्वाण पछि यहाँ बुद्ध फैलाउने काममा बुद्ध भन्दा केही काल पछिका भिक्षु सन्यासी उपगुप्तको ठुलो योगदान थियो भनिन्छ । अनि उहाँ पछि यहाँ बुद्ध धर्मको यति विकास भयो कि विश्वकै बुद्ध धर्मको कुरा गर्दा यहाँको कुरा उल्लेख हुन्छ । कालान्तरमा यो बौद्ध, जैन तथा हिन्दुहरुको पनि महत्वपूर्ण तीर्थस्थल बन्यो । अशोक कालमा यहाँ बुद्ध धर्मको विकास भएको भएपनि नभएपनि कमसेकम इस्वीको पहिलो वा दोश्रो शताब्दीमा यो बुद्धधर्मको केन्द्रको रुपमा विकास भएको मानिन्छ । यस लेखमा मथुराको बौद्ध इतिहास तथा कला संस्कृतिको विशेष चर्चा गरिनेछ ।
सम्राट अशोकको कालमा बुद्ध धर्म
सम्राट अशोक मौर्य साम्राज्यका शासक थिए । उनले इशापूर्व २६८ देखि २३२सम्म शासन गरे । उनको राज्य कालमा मथुरा मौर्य साम्राज्य भित्र पथ्र्यो । हिमालयदेखि स्वर्णभूमिसम्म सम्राट अशोकले आफ्ना धर्मदूतहरु पठाएर बुद्ध धर्मको प्रचार गरे भनेर बौद्ध साहित्यमा पाइन्छ ।
सम्राट अशोकले युद्धबाट विरक्त भएर बुद्ध धर्म अँगालेको तथा लुम्बिनी लगायतका महत्वपूर्ण बौद्ध तीर्थस्थलहरुमा आफै भ्रमण गरको तथा आफ्नो साम्राज्य भित्र सम्भव भएको ठाउँमा आफैले बोकाएर लगेका प्रस्तर स्तम्भहरु राख्न लगाएको, स्तुपा बनाउन लगाएको र ढुँगामा आफ्नो सन्देश लेख्न लगाएको पनि हामीलाई थाहा छ । उनका धर्म प्रचारले यहाँ बुद्ध धर्मको विकास हुन सहयोग गरे होलान् भनेर अनुमान गर्न सकिन्छ । यहाँ भएका तीनवटा स्तुपलाई अशोकले बनाउन लगाएको भन्ने दावी पनि गरिएको छ । तर अशोक मथुरा गएको भन्ने कुनै ठोस प्रमाण भने पाइँदैन । त्यस्तै किसिमले उनले भारतवर्ष भरी नै आफ्ना दूतहरु पठाएर बुद्ध धर्म प्रचार गरेको इतिहास त पाइन्छ । तर उनले आफ्ना दुतहरुलाई मथुरा नै पठाएको भन्ने उल्लेख भएको पनि देखिँदैन ।
सम्राट कनिष्कको कालमा बुद्ध धर्म
बुद्ध धर्मको इतिहासको कुरा गर्दा अर्को स्मरणीय शासक कुषाण वंशका सम्राट कनिष्क हुन् । उनले लगभग इस्वी १२७देखि १५०सम्म शासन गरे । उनको साम्राज्य अहिलेको उज्बेकिस्तानदेखि काश्मिर हुँदै मथुरासम्म फैलिएको थियो । उनले पुरुषपुर (पेशावर) तथा मथुरालाई राजधानी गरेर शासन गरे । मथुरालाई उनले कुषाण वंशको केन्द्रको रूपमा विकसित गरे । अन्य राज्यहरुको तुलनामा मथुरालाई कला र संस्कृतिमा सम्पन्न राज्यको रुपमा मानिन्थ्यो ।
इस्वीको पहिलो वा दोश्रो शताब्दी तिर मथुरामा बौद्ध कलाको आफ्नै शैलीको विकास भयो । भगवान बुद्धको मूर्ति यहाँ विशेष किसिमले बन्न थाले । यहाँ यस प्रकार ठुलो संख्यामा बुद्ध मूर्ति वा बुद्धधर्मसँग सम्बन्धित कलाकृति पाउनाले यस बेला यहाँ बुद्ध धर्मको निकै विकास भइसकेको पुष्टी गर्छ । मथुरा कलाको तल छुट्टै चर्चा गरिनेछ ।
सर्वास्तिवादले सम्राट कनिष्कको समयमा ठुलो विकास गरे । राजसी संरक्षकत्वले त्यहाँको यस धार्मिक समुदायमो ठुलो आत्मबल पुगेको थियो । यसबेला यो भारतको उत्तर–पश्चिम र उत्तर अनि भारत भन्दा पर समस्त मध्य एशियामै बुद्ध धर्मको एक प्रख्यात निकायको रुपमा विकास भएको थियो ।
उनी आफै बौद्ध थिए वा थिएनन् भन्ने विषयमा विवाद छ । तर उनले भारतवर्षमै बुद्ध धर्मको विकासको लागि दिएको संरक्षकत्व भारतको इतिहासमा नै सादा स्मरणीय रहन्छ । उनको समयमा उनको साम्राज्यभर बुद्ध धर्मको प्रचार भयो, बौद्ध कलाको विकास भयो, रेशम मार्गको बाटो भएर बुद्ध धर्म चीनसम्म फैलेर गयो ।
मथुरा बौद्ध कला
मथुराको बुद्ध धर्मको कुरा गर्दा यहाँको कलाको बारेमा अलि विस्तृत छलफल गर्नुपर्ने हुन्छ । यसभन्दा अगाडि बुद्ध मूर्तिको बारेमा छोटो चर्चा गर्न चाहन्छु ।
बुद्धको जीवनकालमा नै बुद्धको प्रतीमा बनाएको प्रसंग बौद्ध साहित्यमा पाइन्छ । तर बुद्धको परिनिर्वाण पछि भने मानिसहरुले बुद्धकै मानव स्वरुपको प्रतिमूर्ति बनाएर पूजा गर्न चाहेनन्, बरु चैत्यमा बुद्धरुप देखेर त्यसलाई पूजा गरे बसे । बुद्धको परिनिर्वाण पछिको लगभग २ सय वर्षपछि बुद्ध धर्मको अद्भुत प्रचार प्रसार गर्ने र यसका लागि ८४ हजार चैत्य बनाउने सम्राट अशोकले पनि बुद्धको मानिस जस्तो प्रतिमा बनाएर प्रचार गर्नमा रुचि राखेन ।
बौद्धहरु तथा कला इतिहासकारहरुमा बुद्ध मूर्तिको निर्माण तथा विकासको बारेमा महत्वपूर्ण बहस भइरहन्छ — बुद्धको मूर्ति पहिलो पटक कसले, कहाँ, कहिले र किन बन्यो होला भन्ने । संक्षेपमा भन्नु पर्दा बुद्धको परिनिर्वाणको करिब ४०० वर्ष सम्म उहाँका अनुयायीहरुले बुद्धको मानव आकृतिसहितको बुद्धको प्रतिमा बनाउन चाहेनन् वा सकेनन् । बरु विभिन्न प्रतिकहरुमा उहाँलाई पुजा गरिरहे ।
संक्षेपमा रूपमा भन्नुपर्दा, बुद्धको मूर्ति सबैभन्दा पहिले कुषाण कालमा देखिए । इस्वीको पहिलो शताब्दीतिर कुषाण साम्रज्य भित्र पर्ने दुई एकदम टाढा रहेका ठाउँहरुमा बुद्धका मूर्तिहरु बने, ती हुन् — हालको पाकिस्तान र अफगानिस्तानमा पर्ने गान्धार क्षेत्र र हालको दिल्ली नजिक पर्ने मथुरा क्षेत्र । कनिष्कको राज्यारोहण पछि मथुरा सम्भवतः ईसापूर्व १३० वा १४० तिर अकस्मात् अति उच्चकोटीको बौद्ध कलाको विकास भयो । यसले अझै संसारका कला विशेषज्ञ वा समालोचकहरुलाई आश्चर्यमा पारिराखेको छ । तैपनि यी दुई क्षेत्रका बुद्ध मूर्तिहरुमा मुख्यरुपमा एउटा अन्तर पाइन्छ — गन्धारको बुद्ध मूर्तिमा पश्चिमी अथवा वा ग्रीको–रोमन कलाको प्रभाव देखिन्छ भने मथुराको बुद्ध मूर्तिको कला शैली मौलिक भारतीय छ । यो कलाको प्रभाव यहाँ १२औं शताब्दीसम्म रह्यो । भारतमा एक हजार वर्षसम्म एउटै कलाको प्रभाव यसरी रहिरहेको उदाहरण पाउन कठिन छ ।
मथुरा कला भनेको बौद्ध कला मात्र त होइन तर संसार भरी यो बुद्धको मूर्तिका लागि प्रसिद्ध छ । यसबेला यहाँ जति बुद्ध मूर्ति यति थोरै समयमा यति धेरै संख्यामा त संसारमै कतै बनाएनन् कि भनेर समेत अनुमान गरिन्छ । यसबेला बनेका बुद्ध मूर्तिहरुमो अनुहारमा निर्मलता र करुणाको असाधारण भावना अभिव्यक्त भएकमा छन् भनेर कला समीक्षकहरुले भनेका छन् । यसबाहेक यस बेलामा यस शैली अन्तर्गत यक्ष र यक्षिनीहरुका आकृतिहरू पनि कुँदिएका छन् । तिनीहरु पौराणिक प्राणीहरू तथा आधा देवता सरह पनि मानिन्छन् । यसबाहेक जति पनि मथुरा कला अन्तर्गतका मूर्तिहरु भेटिएका छन्, तिनीहरु सबै नै जटिल र पूर्ण मानिने गरी कुँदिएको कारणले पनि सबै तिर परिचित छन् । ती कलाकृतिहरुमा बुद्ध, देवताहरु र उपासक उपासिकाहरुका साथै रुखहरु, फूलहरू तथा अन्य प्राकृतिक सौन्दर्यका वस्तुहरु चित्रण गरिएका हुन्छन् । यहाँका कलाकारहरुले विशेष खालको रातो बलौटे ढुङ्गाको प्रयोग गरेका छन् । यही रातो बालौटे ढुङ्गाको प्रयोगको कारणले पनि मथुरा कला प्रख्यात छ । यो ढुंगा जुन नजिकैको सिक्री खानीबाट ल्याइएको थियो । हुन त गन्धार र मथुरा अलग अलग कलाका शैलीहरु हुन् । तर पनि मथुराको कलामा पनि गन्धारमा जस्तै शास्त्रीय ग्रीक र रोमन शैलीहरूको प्रयोग केही हदसम्म भएको पाइन्छ । समग्रमा भन्दा मथुरा कलाले सम्पूर्ण भारतीय कला वास्तुकलाको विकासलाई मदत गरेको छ र यसले विश्वमा नै भारतीय कलाको छविलाई माथि उठाइदिएको छ ।
इस्वीको दोश्रो र तेश्रो शताब्दीतिर यो क्षेत्र सर्वास्तिवाद निकायको अध्यध्यन केन्द्रको रुपमा पनि विकास भयो । सम्राट कनिष्कको संरक्षकत्वमा यहाँ यस धार्मिक निकायले निकै विकास गर्न पाएको थियो । यसबेला यो भारतको उत्तर–पश्चिम र उत्तर अनि भारत भन्दा पर समस्त मध्य एशियामै बुद्ध धर्मको एक प्रख्यात निकायको रुपमा विकास भएको थियो । सर्वास्तिवाद भित्रका दुइ प्रमुख निकायहरु थिए — सौतान्त्रिक र वैभाषिक । तिनीहरु मध्ये सैतान्त्रिकलाई मथुरामा विकास भएको अनि वैभाषिकलाई काश्मिरमा विकास भएको भन्ने गरिन्छ ।
मथुरामा चौथो शताब्दीेदेखि छैठौं शताब्दीको समय भनेको गुप्तहरुको राज्य काल थियो । उनीहरुले त्यसबेला बौद्ध तथा हिन्दुहरुलाई लगभग समान रुपले संरक्षकत्व प्रदान गरे । यस बेलासम्म यहाँ बुद्ध धर्मले विकास गरिरहेको पाइन्छ ।
फाहियानको वर्णनमा मथुरा
इस्वीको ४०० तिर चीनियाँ बौद्ध भिक्षु यात्री फाहियान (Faxian, Fa-hien, Fa-hsien) भारतको विभिन्न बौद्ध स्थलहरुको भ्रमण गर्दै मथुरा पुगेका थिए । उनले त्यहाँ बस्दा देखेका, भोगेका कुराहरुलाई आफ्नो यात्रा वृतान्तमा समावेश गरेका थिए । यसैको आधारमा हामी मथुरा ५औं शताब्दीमा उन्नत बौद्ध नगरको रुपमा विकास भइरहेको थियो भनेर दावी गर्न सक्छौं ।
भिक्षु फहियानले यस सहरलाई बुद्ध धर्मको केन्द्रको रूपमा देखे । उनले मथुरा पुगेर यमुना नदीको किनारमा रहेका २० वटा विहारहरु भ्रमण गरेका थिए । उनले यहाँ विहारमा जाँदा खाने–बस्ने सुविधा सहितको आतिथ्य पाएका थिए । यहाँ धेरैवटा विहारहरु थिए जसमा बौद्ध भिक्षुहरु बस्थे । यो बौद्ध केन्द्रको रुपमा विकास भइरहेको नगर थियो, जहाँ चारै तिर बौद्ध मूर्तिहरु र स्तुपहरु स्थापना गरिएका थिए । उनका अनुसार यहाँका मानिसहरू सज्जन थिए, प्राणी हिंसा गर्दैनथे, मद्यपान गर्दैनथे र लसुन प्याज पनि खाँदैनथे । यहाँको शासन व्यवस्था पनि राम्रो थियो । यसरी हेर्दा फाहियानको समयमा मथुरा विकास भइरहेको बौद्ध नगर जस्तो देखिन्छ । यसबेला यहाँ अन्य धर्मको पनि उपस्थिति त थियो होला तर एक जना बौद्ध भिक्षुले यसाई समुन्नत बौद्ध नगरको रुपमा देखे ।
छैठौं शताब्दी, अर्थात् गुप्त कालको अन्तको समयमा केही परिवर्तनहरु देखिए । यसैबेला हो यहाँको बुद्ध धर्मले अवनितिको मार्ग रोजेको । गुप्त कालको अन्तसम्म यहाँ बुद्ध धर्म ओरालो लागेको देखिन्छ ।
हुयन त्साङको वर्णनमा मथुरा
फाहियानको मथुरा भ्रमण भन्दा २०० वर्ष पछाडि अर्का प्रख्यात चीनियाँ यात्री हुयेन त्साङ ( अथवा शुआनजाङ Xuanzang)ले पनि मथुरा भ्रमण गरेका थिए । उनी पनि भारतका विभिन्न महत्वपूर्ण बौद्धहरुको केन्द्रको भ्रमण गर्ने सिलसिलामा मथुरा पुगेका थिए । आफ्नो भ्रमणको क्रममा उनले मथुरालाई उब्जाउ र गरम हावापानी भएको स्थान भनेका छन् ।
उनले इस्वी ६३४तिर मथुरा भ्रमण गरे । यहाँ उनका अनुसार २० वटा ठुला बौद्ध विहारहरु थिए र करिब २ हजार बौद्ध भिक्षुहरु थिए । ती भिक्षुहरु माहायान तथा हीनयान दुबै अभ्यास गर्थे । आफ्नो वर्णनमा उनले यहाँ तीन स्तूपहरूको वर्णन गरेर भनेका थिए कि ती स्तुपहरु राजा अशोकलाई निर्माण गरेका थिए (तर अहिलेसम्म भएका अनुसन्धानले त्यहाँ भेटिएकाहरु अशोकले नै बनाएका थिए भनेर प्रमाणित छैनन्) । साथै त्यहाँ उनले सारिपुत्र र आनन्द जस्ता प्रसिद्ध बौद्ध व्यक्तित्वहरूलाई समर्पित स्तूपहरू देखेको पनि उल्लेख गरेका थिए । त्यसबेला यहाँ बौद्ध धर्मका साथै हिन्दु धर्मको पनि विकास भएको थियो । उनले त्यहाँ पाँचवटा मन्दिरहरू देखेका थिए, जुन सम्भवतः हिन्दू देवताहरूलाई समर्पित गरिएका थिए । उनले यहाँ गोविन्द विहार, स्थानेश्वर क्षेत्र तथा परियत्र क्षेत्रको भ्रमण गरेका थिए ।
तथापि, अहिले केही विद्वानहरुले हुयेन त्साङले साँच्चै मथुरा भ्रमण गरेकै थिए कि अरुले भनेको सुनेको आधारमा लेखेका थिए भनेर बहस गर्दैछन् ।
बुद्ध धर्मको पतन
उता छैठौं शताब्दीका यात्री हुयेन त्साङले मथुरामा बुद्ध धर्मको विकास नै भइरहेको देखे भने यता यसैबेला देखि यहाँ बौद्ध धर्मको पतन हुन थाल्यो भन्ने पनि देखिन्छ । यसैबेला यहाँका विहारहरुमा संरक्षकको अभाव भएको भन्ने अन्दाज गर्ने ठाउँहरु छन् । संक्षेपमा भन्नु पर्दा गुप्त कालको अन्तको समयमा अर्थात् छैठौं शताब्दीमा यहाँ बुद्ध धर्मको पतन शुरु भयो । हुयेन त्साङकै वर्णन अनुसार पनि यहाँको बुद्ध धर्मको अवस्था त्यति उन्नत देखिँदैन ।
त्यसकारण यहाँको ७०० वर्ष पुरानो बुद्ध धर्मको इतिहासमा भएका, यहाँको विकासको प्रमाण स्वरुप भेटिएका अवशेषहरु अहिले मथुरा, कलकत्ता र लखनऊका संग्रहालयहरूमा राखिएका छन् ।
भारतका अन्य क्षेत्रमा जस्तै यहाँ पनि बुद्ध धर्म सातौं शताब्दीतिरबाट लोप हुँदै १२औं शताब्दीको बिचमा यहाँबाट हराएर गएको देखिन्छ । यहाँ बुद्ध धर्म कसरी लोप भयो भन्ने बारेमा अनेक अडकलबाजी र विश्लेषण गरिन्छ । संक्षेपमा भन्नुपर्दा यहाँ पनि बौद्धहरुको धर्मबाट भएको विचलन, आफ्नो धर्ममा हिन्दु वा तन्त्र सँगको घुलमिल, वैदिक धर्मीहरुको अभियानका कारण यहाँ बुद्ध धर्म विलय हुँदै गयो भन्न सकिन्छ ।
रहस्यको अवधि
अचम्मको कुरा यो पनि हो कि मथुराको इतिहासको कुरा गदौ ईस्वी ७०० र १०८०को बीचको अवधिको बारेमा धेरै अध्ययन भएको छैन र जानकारी पनि छैन । माथि उल्लेख भइसक्यो कि मथुरा इस्वीको पहिलो शताब्दीमा नै सभ्यताको केन्द्र बनिसक्यो, अनि दोश्रो शताब्दीदेखि यहाँको सभ्यताको उचाइले आकास छोइसक्यो, पाँचौं देखि सातौं यहाँको सभ्यताको चर्चा चीनियाँ यात्रीहरुले समेत गरे । तर त्यसपछि यहाँ के भयो, कसको शासन भयो कसले यहाँको उचाइमा पुगिसकेको बौद्ध सभ्यतालाई नाश गर्यो भनेर इतिहासकारहरु बताउँदैनन् । आठौं शताब्दीमा यहाँ गुरजारा प्रतिहार वंशले शासन गरेको भन्ने उल्लेख छ तर त्यसको बारेमा खासै केही लेखिएको पाइँदैन । झन् यसबेलाको बुद्ध धर्मको अवस्था त रहस्य भित्र लुकेको छ ।
अनि भारतीय इतिहासकारहरु ११औं शताब्दीमा मुस्लिमहरुले यहाँ आक्रमण गरेको चर्चा भने तहाँतहीँ विस्तृत रुपमा गर्छन् । भारतका विभिन्न राज्यहरुको बुद्ध धर्मको इतिहास हेर्दा लगभग सबै ठाउँमा एउटा यस्तो समयावधि आउँछ जसका बारेमा इतिहासकारहरु मौन छन् । यो रहस्य खुल्न निकै धेरै वर्ष लाग्ने देखिन्छ ।
मथुरामा मुस्लिम आक्रमण
११औं शताब्दीमा मुस्लिमहरुले उत्तर भारतको अधिकांश क्षेत्र कब्जा गरे । यही क्रममा महमुद गजनीले १०८० मा मथुरामा आक्रमण गरे । उनले मन्दिरहरुमा देवताहरूको सबै धन, भेटी, गहना, हीरा, सुन र चाँदी लुटे । त्यसपछि उनले मन्दिरहरू भत्काए । उनका सैनिकले २० दिन लगाएर जति सक्यो सबै लुटे अनि उनले ५ हजार कैदी र तीन करोड रुपैयाँ लिएर गए भन्ने पनि उक्ति छ । औरंगजेब (सन् १६५८–१७०७) पनि मथुरा पुगे तर उनले त्यहाँ आक्रमण गरेको भन्ने पुष्टी छैन । कोही कोही उनले यहाँका केही हिन्दु मन्दिर उनैले नाश गरेका थिए भनेर पनि भन्छन् । फेरि सन् १७५७मा अहमद शाह दुरानीले पनि मथुरामा आक्रमण गरेका थिए ।
यहाँ यो कुरा उल्लेखनीय छ कि मुस्लिम आक्रमणले हिन्दु मन्दिर नष्ट गरिए भनिएको छ तर त्यसबेलासम्म त्यहाँ भएका त्यति धेरै बौद्ध विहारहरु, मन्दिरहरु तथा बौद्ध मूर्तिहरु कहाँ गए वा कसले नष्ट गरे वा जमिन मुनि दबाए भन्ने प्रश्नको जवाफ इतिहासकारहरुले दिएका छैनन् । यी कुराहरुले गर्दा मथुरामा मुस्लिम आक्रमणहरु हुनुभन्दा पहिले नै यहाँका बौद्ध स्मारक वा सम्पदामा कसैले नाश गरिसकेको, बौद्धहरुको विनाश गरिसकेको हो कि भन्ने शंका गर्ने ठाउँ भेटिन्छ । तर त्यहाँ कसरी कति क्षति पुर्यायो भन्ने विवरण पनि इतिहासमा पाइँदैन ।
मथुरामा पुरातात्विक उत्खनन् र परिणाम
पहिले मथुरामा जस्तोसुकै सम्बृद्ध बौद्ध कला र समाज थियो भने तापनि अहिले त्यहाँ जीवन्त बौद्ध कला, संस्कृति र धर्म अभ्यासीहरु छैनन् । त्यसैले यहाँको बुद्ध धर्मको इतिहास जान्नको लागि यहाँ भएका पुरातात्विक उत्खनन् र त्यसबाट निस्केका परिणामहरुमा भर भर्नुपर्छ ।
मथुरामा सबैभन्दा पहिले पुरातात्विक उत्खनन् एलेक्जेन्डर कनिङघमको नेतृत्वमा सन् १८७१मा भएको थियो । उनले त्यहाँ कन्काली डाँडामा उत्खनन् गरको थिए । त्यसपछि पनि यहाँ विभिन्न ठाउँमा पटक पटक उत्खनन्हरु भइरहे । पछि सन् १९७५मा आर्कियोलोजिकल सर्भे अफ इण्डियाका पर्व महानिर्देशक एमसी जोशीको नेतृत्वमा उत्खनन् हुँदा यहाँ इसापूर्व दोश्रो शताब्दीसम्मका अवशेषहरु पाइएका थिए । यहाँ उत्खनन् हुँदा बौद्ध स्तुपहरु, अस्थिधातुहरु तथा अभिलेख पाइएका थिए ।
यहाँको गोकर्णेश्वर डाँडामा बौद्ध मूर्ति पाइएका छन् । त्यस्तै तैयापुर, कोटा, नरहौली नजिक, गणेश डाँडा, सतोहा, गायत्री डाँडा, चौबारा ढिस्को, भुतेश्वर कंकाली क्षेत्र, चौरासी ढिस्को, गिरधरपुर ढिस्को, मथुरा जक्सन क्षेत्र, गणेश्रा, माहोली, सलेमपुर गाउँ, पाली खेरा, मनसा डाँडा आदि ठाउँमा बौद्ध पुरातात्विक सम्पदाका अवशेषहरु पाइएका छन् । मथुरा सयौंका संख्यामा विहारहरु भएतापनि अहिले तिनीहरुको अवशेष अझै जमिन मुनि नै छन् । तिनीहरुमा जति उत्खनन् गरिए, त्यहाँबाट उत्कृष्ट कलाका नमुनाहरु झिकेर संग्रहालय पुर्याइए तर ती विहारहरुको वृहंगम संरचना र वास्तुकलाका विशेषताहरुमाथि अध्ययन खासै गरिएननन् ।
अहिले मथु्रामा उनन्नत क्रियाशिल बौद्ध समाज छैन, त्यसकारण यहाँ विभिन्न समयमा पाइएका यस्ता अवशेषहरु यहाँ सुरक्षित नहुने भएकोले ती मध्ये कति लखनउ राज्य संग्रहालय, कलकत्ता संग्रहालय तथा मथुरा संग्रहालयमा सुरक्षित संग प्रदर्शनमा राखिएका छन् । अहिले त्यहाँका बौद्ध सम्पदालाई भारत तथा विदेशमा पुरातत्वविद एवं बौद्ध विद्वानहरुले सम्मानको दृष्टीले हेर्ने गरेका छन् ।
यहाँ यो कुरा पनि उल्लेखनीय हुन्छ कि अहिले भारत सरकारले मथुरालाई कृष्णको जन्मभूमि भनेर जतिसुकै प्रचार गरेतापनि यहाँका पुरातात्विक उत्खखन्मा बुद्ध मूर्तिहरु र बौद्ध कलाकृतिहरु नै भेटिएका छन् र कृष्णको जन्मसँग सम्बन्धित भनेर देखाउन मिल्ने अवशेषहरु छैन नै भनेपनि हुन्छ वा नगन्य छन् । अर्कोतिर सरकार आफै मथुरालाई कृष्ण जन्मभूमि भनेर मात्र प्रचार गरिरहँदा यहाँका अमुल््य बौद्ध सम्पदा ओझलमा पर्नु पनि स्वभाविक हो ।
मथुरा कला संग्रहालय
माथि भनिएझैं मथुरामा दुइ हजार वर्ष पुरानो बुद्ध धर्मको इतिहास छ । तर त्यहाँ उत्खनन् गदा भेटिएका अमुल्य ऐतिहासिक बुद्ध मूर्ति तथा बौद्ध कला सामाग्रीहरु जहाँको तहीँ संरक्षण गरेर नराखी त्यहाँको सरकारी मथुरा संग्रहालयमा राखिएका छन् ।
मथुरामा उत्खनन् गर्दा अमूल्य पुरातात्विक अवशेषहरु भेटिएपछि सन् १८७४मा ब्रिटिश कलेक्टर एफएस ग्राउनले जमलपुरमा यस संग्रहालयको स्थापना गरका थिए । सन् १९९३मा यसलाई डाम्पियर नगरमा सारिएको थियो ।
यहाँको संग्रहालयमा यहाँ भेटिएका सुन, चाँदी, तामाका बस्तुहरु, चित्रकलाहरु, माटोका सामाग्रीहरु प्रदर्शनका लागि राखिएका छन् जुन इशापूर्वदेखि तेश्रो शताब्दीेदेखि १२औं शताब्दी वा त्योभन्दा पछिका पनि छन् । यहाँ ६ हजार मूर्तिहरु, २५हजार सिक्काहरु, ३ हजार टेराकोटा मूर्तिहरु, ३५० धातुमूर्तिहरु आदि संकलित छन् । त्यसमध्ये धेरै बुद्ध धर्मसँग सम्बन्धित छन् । तर यहाँ पाइएका अधिकांश बुद्ध मूर्तिहरुको अवस्था हेर्दा कतिपयको टाउको मात्र छ भने अरु मूर्तिहरु नाक, टाउको वा हातहरु भाँचिएको अवस्थामा छन् ।
यहाँ संग्रहित केही महत्वपूर्ण बुद्ध अथवा बोधिसत्वका प्रतिमाहरु यस प्रकार छन् ।
१) कुषाण कालीन विशाल बोधिसत्व : मथुराको महोली गाउँमा भेटिएको यो बोधिसत्वको उचाइ ७फीट ९ इन्च छ । आँखा आधा खुलेको र कुण्डल लगाएको यस बोधिसत्वको टाउको मुडिएको छ । यसको दायाँ हात भाँचिएको अवस्थामा छ ।
२) अभय मुद्रामा बुद्ध : मथुराको कटराबाट ल्याइएको यस बुद्ध यहाँ सबैभन्दा बढी प्रख्यात छ । यसको उचाइ २ फिट ३ इन्च छ । यसमा बुद्ध पिपलको रुख मुनि सिंहासनमा पद्मासन मुद्रामा तथा दायाँ हातले वरदा मुद्रा लिइरहेको अवस्थामा छ ।
३) आभुषण भएको बोधिसत्व : मथुराको गणेश्राबाट प्राप्त यस मूर्तिको उचाइ २ फिट २ इन्च छ । शिर तथा हात खण्डित भइसके पनि यसको आफ्नै पुरातात्विक महत्व छ । यो मूर्ति ध्यान मुद्रामा पद्मासनमा बसेको छ । यसमा धेरै किसिमा गहनाहरु सजाइएका छन् ।
४) बोधिसत्व : यो मूर्ति बोधिसत्वको हो । राजकुमारको जस्तो भेषभुषामा सजिएको यो मूर्ति १ फिट ९ इन्च अग्लो छ । यसको टाउकोमा भव्य पगडी छ र टाउको पछाडि प्रभामण्डल बनाइएको छ । यसको दायाँ हात भाँचिएको छ र बाँया हात कमरमा राखेको छ ।
बौद्ध सम्पदाको संरक्षण र बुद्ध धर्मको पुनर्जागरण
मथुराको बुद्ध धर्मको इतिहास जति गौरवमय तथा रोमाञ्चक छ, यहाँको वर्तमान अवस्था त्यति नै दुःखदायी र हृदयविदारक पनि छ । विश्वलाई नै भारतको बुद्ध भनेर चिनाउने मथुरामा अहिले बौद्धहरु पाइँदैनन् अथवा अपवादमा केही परिवारहरु मात्र भेटिन्छन् ।
अहिले मथुरामा केही बौद्ध संस्था वा संगठनहरु छन् । अम्बेडकरका अनुयायीहरुको परिश्रमले खोलेका यी संस्थाहरुमा पहिले हिन्दु भित्रका दलित भनेर चिनिने मानिसहरु संलग्न छन् । उनीहरुले बेलामौमा भगवान बुद्धको तथा अम्बेडकरको स्मरण गर्दै वा योगदानको चर्चामा केही कार्यक्रमहरुको आयोजना गर्छन् । तर यसको प्रभाव समाजमा खासै देखिएको छैन । भारतका विभिन्न राज्यमा यसै अम्बेडकारवादीहरुले दलितहरुलाई जागृत गर्दै बुद्ध धर्ममा रुपान्तरण गर्ने अभियान जुन गरिरहेको छ त्यसको त्यस्तो उल्लेखनीय प्रभाव मथुरामा परेको देखिँदैन ।
तर पनि समग्रमा भन्न सकिने कुरा यही हो कि मथुरा सरकारले बुद्ध, बुद्धको मूर्ति तथा बुद्ध धर्मको इतिहासलाई सम्मान त गरेको छ तर त्यहाँको गौरवमय इतिहासको खासै सम्मान गरेको पाइँदैन । यहाँ बुद्ध कहीँ छ त संग्रहालयका काँचका बाकस भित्र सजिएका छन् । समाज नै बौद्ध नभएपछि समाज भित्र बुद्धको मूर्ति, बद्ध धर्मको ब्याख्या वा धर्म अभ्यास अनि संघको संरचना फैलिने कुरै भएन । त्यस्तै डा. अम्बेडकरले भारतभरी फैलाएको बुद्ध धर्मको पुनर्जागरणको ज्योतिले यहाँ खासै प्रभाव पार्न सकेन । यद्यपि यहाँको सानो बौद्ध अभियानकर्मीहरुको समुहले यहाँ अहिले सानो स्तरमा नै भएपनि समाजमा बुद्ध धर्मप्रति जागरण ल्याउने कोशिस गरिरहेको छ त्यो सराहनीय भन्नुपर्छ ।
श्रोतहरु
· https://www.nichirenlibrary.org/en/dic/Content/M/69
· https://www.khanacademy.org/humanities/art-asia/beginners-guide-asian-culture/buddhist-art-culture/a/development-of-the-buddha-image
· Mathura History (radhekrishn.com)
· http://www.buddhisttrain.com/mathura.php
· https://www.jstor.org/stable/3249969?origin=JSTOR-pdf
· https://srishtiias.com/mathura-school-of-art/
· https://en.krishnakosh.org/krishna/Mathura_During_Mughal_Regimes
· https://ignca.gov.in/mathura-a-treasure-trove-of-antiquities/
·https://www.researchgate.net/publication/285619137_Archaeological_Landscape_of_Ancient_Mathura_in_Relation_to_Its_Art_Workshops/link/5d14b61c458515c11cfbb36d/download
Published in Buddhist Monthly Magazine “Anandhabhoomi” 2024 June.
Photos are taken from various sources on the Internet
No comments:
Post a Comment