राजेन मानन्धर
मलेसिया दक्षिणपूर्वी एसियाको एउटा संघीय संवैधानिक राजतन्त्र भएको देश हो । यसले १३वटा राज्यहरू र तीन संघीय क्षेत्रहरू समावेश गरेको छ । यो देश दक्षिण चीन सागरको दुइतिर दुई क्षेत्रहरूमा विभाजित छ — एकातिर प्रायद्वीप मलेसिया र अर्कोतिर बोर्नियो टापुमा रहेको पूर्वी मलेसिया । प्रायद्वीप मलेसिया भूमि र समुद्रबाट थाइल्याण्डसँग अनि सिंगापुर, भियतनाम र इन्डोनेसियासँग समुद्रबाट जोडिएको छ । त्यस्तै पूर्वी मलेसिया भूमिबाट ब्रुनाई र इन्डोनेसिया सँग अनि फिलिपिन्स र भियतनामसँग समुद्रबाट जोडिएको छ । यसको राष्ट्रिय राजधानी तथा देशको सबैभन्दा ठूलो शहर क्वालालम्पुर हो । यहाँ तीन करोड ३० लाख जनसंख्या छ । यहाँ यो पनि स्मरणीय छ कि अहिले मलेसिया भनेको सात लाख भन्दा बढी नेपालीहरुको कर्मस्थल हो ।
दशौ शताब्दीसम्म मलायहरु नै यस प्रायद्वीपका प्रभावशाली जनसमुदाय बने । यहाँका पहिलेका राज्यहरु बढी जसो भारतीय धर्महरु र संस्कृतिबाट प्रभावित थिए । भारतको पल्लव वंशको प्रभाव यहाँ धेरैजसो ४औं तथा ५औं शताब्दीमा रह्यो । यहाँ आदिबासीहरुको मौलिक धर्म बाहेक बुद्ध धर्म र हिन्दु धर्म सँगसँगै जस्तै विकास भयो । यो क्रम ७औ शताब्दीमा बढेर १३औ शाब्दीसम्म चलिरह्यो । यो समय भनेको यहाँ श्रीविजय वंशको शासन हुँदाको समय थियो ।
१५औं
शताब्दीमा मलेसियामा इस्लाम फैलिन थाल्यो र मलक्का सुल्तनतको उदय भयो ।
यहाँ इस्लाम धर्मको प्रचार भएको यसै समयदेखि हो । यसबेला मलक्का इस्लामको
शिक्षण र प्रचार प्रसारको केन्द्र नै बन्यो । १६औं शताब्दी भनेको युरोपका
शक्तिसम्पन्न देशले एशियाका विभिन्न देशहरुलाई उपनिवेश बनाएर राख्ने युग
थियो । सन् १५११मा पोर्चुगिजहरुले मलेसियालाई उपनिवेश बनाए । सन् १६४१मा यो
डचहरुको उपनिवेश बन्यो र अन्तमा सन् १८२४मा फेरि यो ब्रिटिशहरुको हातमा
गयो । दोश्रो विश्वयुद्ध भयो अनि यहाँ पनि स्वतन्त्रताको लहर चल्यो । सन्
१९६३मा मलेसिया फेडरेशनको स्थापना भयो । फेरि सन् १९६९मा जातीय द्वन्द्व
भोग्नु पर्यो अनि नागरिकहरुको एकताको लागि नयाँ धारणा ल्याउनु पर्यो । सन्
१९७१मा नयाँ आर्थिक नीति ल्याइयो । त्यसपछि ८०को दशकदेखि प्रधानमन्त्री
महाथिर मुहम्मदको नेतृत्वमा विश्वलाई नै चकित पार्ने खालको आर्थिक वृद्धि
भइरहेको छ ।
मलेशियामा बुद्ध धर्म इस्लाम पछिको दोस्रो ठूलो धर्म
हो । मलेशियाको जनसंख्याको १८.७ प्रतिशत जनता बौद्ध छन् । त्यसमा पनि बुद्ध
धर्मका गुणहरु मिसिएका चिनियाँ धर्मका अनुयायीहरूलाई समेत जोड्यो भने यो
संख्या २१.६ प्रतिशत हुन्छ । मलेसियामा बुद्ध धर्म मुख्यतया चिनियाँ मूलका
मलेसियनहरु अभ्यास गर्छन्, तर त्योसँगै थाइ, श्रीलंका र बर्मीमूलका
मलेसियनहरू पनि छन् ।
१. मलेसियामा बुद्ध धर्मको इतिहास
मलेसिया
बुद्धको जीवनसँग गाँसिएको भारतवर्ष भन्दा निकै टाढा छ तर पनि यहाँ धेरै
अगाडि नै बुद्ध धर्मले प्रवेश पाइसकेको मानिन्छ । यहाँ बुद्ध धर्मको
विकासलाई यसरी हेर्न सकिन्छ । यहाँ बुद्ध धर्मको लामो र समृद्ध इतिहास छ,
जुन ईसापूर्व २०० तिर शुरु भएको भनिन्छ । पछि मलेसियाको भारतसँगको ब्यापार
फस्टायो । यसबेला भारतबाट सामान मात्र होइन, त्यससँगै बुद्ध धर्मजस्ता
भारतीय धार्मिक अवधारणाहरू पनि ल्यायो ।
प्रारम्भिक
आगमनको युग ः मलेसियामा बुद्ध धर्मको इतिहासमा इसापूर्व दोश्रो शताब्दी
देखि १४औं शताब्दीको समयलाई प्रारम्भिक आगमनको युग भन्न सकिन्छ । केही
प्रमाणले इसापूर्व दोस्रो शताब्दीको आसपास बुजाङ उपत्यका (केदाह) मा
हिन्दू–बौद्ध राज्य बनेको देखाउँछ ।
जब भारतीय व्यापारीहरू र
पुजारीहरूले समुद्री मार्गहरू यात्रा गरे, उनीहरू आफुसँग आफ्नो देशबाट धर्म
र कलाको अवधारणाहरू ल्याए । यसैबेलादेखि यस क्षेत्रका मानिसहरूले बुद्ध
धर्मसँग परिचित हुन पाए ।
यहाँ बुद्ध धर्मको प्रवेशकालदेखि नै थेरवाद तथा महायान बुद्ध धर्म थियो भन्ने अनुमान गरिएको छ । बौद्ध ब्यपारीहरुको पहुँच त्यसबेलाका दरवारीयाहरुसँग हुने भएकोले उनीहरुले दरवारमा प्रभाव जमाए र फलस्वरुप बुद्धधर्मले यहाँको शासकहरुको संरक्षकत्व प्राप्त गर्न सफल भयव् । त्यसै आधारमा त्यबेलाको राजनीतिक प्रभाव भएको तप्काले बुद्ध धर्मसँगै आएको दर्शन र जीवन पद्धतिलाई उच्च मूल्यांकन गरे । त्यसपछि यस धर्मको राजनीतिक र सांस्कृतिक महत्व बढेर गयो ।
पेनाङ शहरमा भेटिएको ५औं शताब्दीको एक शिलालेखले मलेसियामा बुद्ध धर्मको प्रमाणित इतिहासको ढोका खोल्दछ । महानाविक बुद्धगुप्तको यस अभिलेखमा एउटा बौद्ध स्तुपको चित्रण गरिएको छ । यसका लेखक भारतीय थिए । यसले कसरी बुद्ध धर्मको माध्यमबाट भारत तथा मलेसियाको सम्बन्ध बनेको छ भनेर देखायो ।
मलेसियाको केदाहस्थित बुजाङ उपत्यकामा दुइटा बौद्ध मूर्तिहरु भेटिएका छन् । पहिलो ५औं देखि ९औं शताब्दीको उभिरहेको बुद्ध को मूर्ति तथा दोश्रो ८औं शताब्दीको आठ हात भएको बोधिसत्व अवलोकितेश्वरको मूर्ति । यी मूर्तिहरुले त्यसबेला यहाँ बुद्ध धर्मको विकास उच्च तहमा भएको थियो भन्ने प्रमाणित गर्दछ ।
त्यस्तै मलेशियामा हालै १२ सय वर्ष पुरानो अर्थात् लगभग ९औं शताब्दीको स्तुप भेटिएको समाचारले हलचल मचाएको छ । अलजजिराका अनुसार त्यहाँको बुजाङ उपत्यकामा बुकित चोसर स्तुप भेटिएको थियो । यो स्थान क्वालालम्पुरबाट ३७० किलोमिटर उत्तरमा पर्छ । बुजाङ उपत्यका मलेसियाकै एक प्रमुख पुरातात्विक क्षेत्र हो । करिब २२४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस क्षेत्र कुनै बेला बौद्ध राजनीतिक क्षेत्र थियो भन्ने मान्यता छ । यहाँका केही अवशेष २५सय वर्षसम्म पुराना हुनसक्ने अनु्मान गरिएको छ । अहिले यहाँ पत्ता लगाइएका अवशेषहरु मध्ये १० प्रतिशत स्थलको मात्र उत्खनन् भएको छ ।
यद्यपि ११ औं शताब्दीको प्रारम्भमा तमिलनाडुका चोल वंशका राजाले उनीहरूमाथि आक्रमण गरेपछि भने मलायहरुको भारतीयहरुप्रतिको सम्मान समाप्त भयो । उनीहरुमध्ये केदाह राज्यले भारतीय धर्मको निन्दा पनि ग¥यो । केदाहका राजा फ्रा ओङ महावाङ्साले त इस्लाममा धर्म परिवर्तन समेत गरे । यही सिलसिला जारी भएर १५ औं शताब्दीसम्म आइपुग्दा बहुसंख्यक मलायले इस्लाममा परिवर्तन गरे । र यहाँको बुद्ध धर्म क्रमशः विलय हुँदै गयो ।
श्री
विजय साम्राज्य — त्यसमध्ये सुमात्रामा शक्तिशाली श्री विजय साम्राज्य
थियो जुन ७ औं देखि १३औं शताब्दी ईस्वी सत्तामा रह्यो । यसबेला त्यो बौद्ध
शिक्षाको केन्द्र थियो । यसबेला श्री विजय साम्राज्य व्यापारका साथै बौद्ध
शिक्षाको पनि केन्द्र बन्यो । यसका साथै यसे दक्षिणपूर्वी एशियामै बुद्ध
धर्म फैलाउने काममा ठुलो योगदान पनि दियो । यसै वंशले इन्डोनेसियामा
बोरोबुदुर माहाचैत्य बनाएको मानिन्छ ।
मलक्का सुल्तन — १५औं शताब्दीमा
मलेसियामा इस्लाम फैलिन थाल्यो र मलक्का सुल्तनतको उदय भयो । यसबेला मलक्का
इस्लामको शिक्षण र प्रचार प्रसारको केन्द्र नै बन्यो । यसले गर्दा यहाँ
मलाय भाषा, कला र साहित्य विकास भयो । त्यसबेलाको कानुन तीन पक्षबाट
निर्धारित थियो — हिन्दु÷बौद्ध, इस्लाम तथा आदिबासीहरुको अदतबाट ।
आश्यर्चको कुरा थियो कि यस्तो समयमा पनि त्यहाँका चीनियाँ तथा भारतीय
समुदायहरुमा निर्वाध रुपमा बुद्ध धर्मको अभ्यास भइरहेको अवस्था थियो ।
उपनिवेश काल ः १६औं शताब्दीदेखि मलेसिया विभिन्न देशहरुको उपनिवेश रह्यो । त्यसबेला ती देशले प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो देशको धर्म यहाँ लादे वा लाद्न खोजे । यो स्वभाविक पनि थियो । यस बेलामा यहाँका बौद्ध समुदायले स्वतन्त्र भएर आफ्नो धर्म अभ्यास गर्न केही कठिनाइ सामना गरे । यहाँ शासन गर्न आएका पोर्चुगिजहरु, डचहरु त्था ब्रिटिशहरुले इशाई धर्मको प्रचार गर्न खोजेकोले बुद्ध धर्मले चुनौतिहरु सामना गर्नुपर्यो । तर पनि विशेष गरी चीनियाँ समुदाय संख्यात्मक रुपमा धेरै भएको र आफ्नो धर्म तथा संस्कृतिप्रति प्रतिवद्ध भएकोले विदेशीहरुको थिचोमिचोको बाबजुद पनि आफ्नो धर्म संरक्षण गरेर राखे ।
उपनिवेशले मलेसियाको बुद्ध धर्मलाई विभिन्न किसिमले प्रभाव पारे । उपनिवेश बनाउने सम्राज्यहरुले मलेसियामा पाइला टेक्नु अगाडि यहाँ बुद्ध धर्मको यथेष्ट विकास भइसकेको थियो । यति मात्र होइन, यहाँ त चीनियाँ, थाइ तथा भारतीय बौद्धहरुको अलग अलग पराम्पराको छुट्टा छ्ट्टै अभ्यास गर्ने परिपाटी बसिसकेको थियो ।
सम्राज्यवादी शक्तिहरु इशाई धर्म प्रचार गर्न चाहन्थे । उनीहरुले पश्चिमी शिक्ष प्रणालीसँगै इशाई धर्म पस्कँदै गए । यसले गर्दा केही हदसम्म यहाँको बुद्ध धर्मको विकासमा प्रभाव त अवश्य पार्यो । केहीले बुद्ध धर्मलाई पुरानो मानेर आधुनिक भन्दै इशाई धर्म अँगाले । यसको प्रत्युत्तरमा बौद्ध गुरुहरु तथा संगठनहरुले पनि बुद्ध धर्मलाई समय सुहाउँदो सुधार गरे । उनीहरुले पनि इशाई मिसनरीहरुले जस्तै बुद्ध धर्मसँगै शिक्षा तथा समाज कल्याण पनि जोडेर आधुनिक बनाएर समाजमा प्रचार गर्न थाले ।
आधुनिक युग ः आधुनिक मलेसियामा बुद्ध धर्म सुरक्षित र व्यवस्थित छ । बौद्धहरु अल्पसंख्यक भएपनि उनीहरुलाई धार्मिक स्वतन्त्रता छ । यहाँ विशेष गरी चिनियाँ मूलका मलेसियालीहरु बिच बुद्ध धर्म एउटा महत्वपूर्ण धार्मिक संस्कृति तथा परम्परा बनेको छ । त्यहाँ त्यस्तै गरी भारतीय मूलका मलेशियनहरूले बुद्ध धर्मको अभ्यास गरिरहेका छन् । यसबाहेक बुद्ध धर्म मान्ने आदिवासीहरूका साना समुदायहरू पनि छन् । यहाँ बौद्ध मन्दिर, गुम्बा र बौद्ध समाजहरू देशभर रहेका छन् । उनीहरुको धार्मिक संघहरु र संगठनहरु पनि छन् ।
आधिकारिक
मान्यता र अन्तरविश्वास सम्बन्धको विकासः यहाँ मुस्लिमहरुको बाहुल्य
भएतापनि त्यहाँको समाजले बहु–धार्मिक विशेषतालाई हुर्काएको छ । मलेसियाली
सरकारले बुद्ध धर्मलाई आधिकारिक रूपमा नै देशको प्रमुख धर्महरू मध्ये एकको
रूपमा मान्यता दिएको छ । त्यहाँको सरकार र समाजले विभिन्न धर्मका मानिसहरु
बिच अन्तरविश्वास संवाद र समझदारीलाई प्रवर्द्धन गर्न प्रयास गरेको छ ।
यहाँका बौद्ध, मुस्लिम, ईसाई र हिन्दूहरू बीच सहयोग र सद्भाव बढाउने
उद्देश्यका पहलहरू पनि समाजमा भइरहेको छ । यद्यपि त्यहाँका केही कट्टर
मुस्लिमहरुले गर्दा त्यहाँका बौद्धहरुले आफ्नो धर्म अभ्यासमा बाधा अवरोधको
सामना गर्नुपरेको समाचारहरु पनि यदाकता सुन्नमा आउँछ ।
हालका
वर्षहरूमा मलेसियाका बौद्ध समुदायहरूमा धार्मिक स्वतन्त्रता चेतना बढेको छ ।
त्यस्तै उनीहरुमा आफ्नो इतिहास सम्बन्धी अध्ययन गर्ने तथा सम्पदा स्थलहरू र
सांस्कृतिक अभ्यासहरूको संरक्षण गर्ने जागरण पनि आएको छ । यसका साथै
उनीहरु सामाजिक र वातावरणीय सक्रियता प्रवर्द्धनमा बुद्ध धर्मको भूमिकाबारे
पनि अध्ययनशील छन् ।
अहिले मलेसियामा बौद्धहरु त्यति धेरै
नपाइएतापनि यहाँ थुप्रै भव्य विहारहरु वा मन्दिरहरू, प्राचिन बुद्ध
मूर्तिहरू र शिलालेखहरू देश भरी जस्तै छरिएका छन् । यहाँको बुद्ध धर्मको
इतिहास अहिले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुले बताइरहेका छन् ।
यहाँको समृद्ध इतिहास र बुद्ध धर्मको विशालता यहाँ हुने गरेका खोजहरूमा
प्रतिबिम्बित छन् ।
२. परम्पराको विविधता ः
मलेसियाको
बुद्ध धर्म भित्रमा परम्पराहरु वा निकायहरुको विविधता पाइन्छ । जातीय
रुपमा श्रीलंका र स्यामी (थाइ) मलेशियनहरूद्वारा अभ्यास गरिएको थेरवाद
बुद्ध धर्म, यहाँको प्रचलित परम्परा हो । यसका साथै, विशेष गरी चीनियाँ
मूलका मानिसहरूले महायान लगायत विभिन्न परम्पराहरू पनि पछ्याउँछन् । यसले
देशमा बौद्ध अभ्यासहरूको एक अद्वितीय मिश्रण र समन्वय भएको प्रष्ट पार्छ ।
पछिल्ला दिनहरुमा मलेसियामा आआफ्नो समयमा र क्षेत्रमा थेरवाद, महायान र वज्रयान जस्ता विभिन्न बौद्ध परम्पराहरू प्रचलनमा थिए । यहाँ थाइल्याण्ड, श्रीलंका र चीन जस्ता विभिन्न देशहरूबाट आप्रवासीहरूको आगमनले त्यहाँको बौद्ध विविधतालाई थप समृद्ध बनायो । ती मध्ये प्रत्येक समुदायले आफ्नो आफ्नो देशको धर्म, परम्परा र अभ्यास पनि लिएर आएका हुन्छन् । जस्तै थाई र श्रीलंकाका बौद्धहरुले आफ्नो विहारहरूमा आफ्नो देशबाट अभ्यासहरू र मन्दिर वास्तुकला लिएर आए र यहाँ मलेशियामा सबै प्रकारको बुद्ध धर्म अभ्यास गरेर सबैसँग मिलेर बसे ।
थेरवाद ः मलेसियामा धेरै पहिलेदेखि नै थेरवाद बुद्ध धर्मको प्रचार तथा विकास भएको पाइन्छ । यहाँ थेरवादलाई भित्राउने काम थाइ, बर्मी तथा श्रीलंकाली बौद्धहरुले गरेको देखिन्छ । यिनीहरुले साधार किसिमको विहार बनाउँछन् र सिंगारपटार एवं कर्मकाण्डमा भन्दा शील पालनमा र ध्यान अभ्यासमा बढी जोड दिन्छन् । उनीहरुले भगवान बुद्धको शिक्षालाई जस्ताको तस्तै ग्रहण गर्छन् । प्रवजित भएर भिक्षु जीवन बिताउनुलाई उनीहरु गौरवका साथ लिन्छन् । यहाँका प्रमुख थेरवाद बौद्ध विहारहरुमा बुद्धिस्ट महाविहार, वाट चेतावन, धम्मिकरम बर्मिज बुद्धिस्ट टेम्पल आदिको नाम आउँछ । यहाँ वर्षभरी थेरवाद परम्पराअनुसारको धार्मिक कार्यक्रमहरु र पर्वहरु मनाइने गर्दछ ।
महायान ः मलेसियामा चीनियाँहरु आउन थालेदेखि यहाँ महायान बुद्ध धर्मको अभ्यास हुन थाल्यो । उनीहरु बुद्धका साथै जगत संसारको कल्याण होस् भनेर बसेका बोधिसत्वहरुलाई मान्छन् । उनीहरु पूजापाठमा बढी जोड दिन्छ र दिनहुँ विभिन्न किसिममा कर्मकाण्डहरु गरेर समय बिताउँछन् । यसका साथै चीनियाँहरु उतादेखि अभ्यास गर्दै आएका पितृ लगायतका विभिन्न देवदेवीहरुको पनि पूजा गर्छन् । महायानीहरुको मन्दिर बढी कलात्मक र चीनियाँ बास्तुकलामा आधारित हुने गर्छ ।
समन्वयवादी ः यसबाहेक धेरै चीनियाँमूलका मलेसियालीहरु चीनियाँ धर्मलाई मिलाएर बुद्ध धर्मको अभ्यास गर्छन् । उनीहरु बौद्ध मन्दिरमा भगवान बुद्ध तथा अन्य बौद्ध देवी देवताहरुका साथै आफ्नो पितृ तथा पितृ देवताहरुलाई पनि पुजा गर्छन् ।
आधुनिक बुद्ध धर्म ः अहिले मलेसियामा परम्परागत बुद्ध धर्मका निकायहरुका साथै आफ्नै किसिमको आधुनिक बुद्ध धर्म पनि प्रचलनमा आएको छ । उनीहरु पश्चिमी देशहरुमा जस्तै परम्परागत बुद्ध धर्मका उपदेशहरु तथा कथाहरुमा भन्दा आजको युगमा मानिसहरुलाई सुहाउँदा बुद्ध शिक्षा र जीवन जिउने तरिका वा कलाका बारेमा धेरै रुचि राख्छन् । विदेशीहरुका लागि तयार पारिएका अंग्रेजी भाषाका शिक्षणहरु तथा ध्यान अभ्यासका शिविरहरुमा भाग लिन उनीहरु रुचाउँछन् । वैशाख पुर्णिमा मलेसियाका बौद्धहरुले निकै धुमधाममा साथ मनाउँछन् । यस दिनमा विभिन्न निकाय अन्तर्गतका बौद्धहरु एकजुट भएर बुद्धपूजा, प्रार्थना, दानप्रदान तथा दीपावली जस्ता कार्यक्रमहरुमा भाग लिन्छन् ।
३. विज्ञ वा गुरुहरु
मलेसियामा
बुद्ध धर्म यसरी फैलिनुको पछाडि त्यहाँका केही विज्ञ वा धर्म गुरुहरुको
महत्वपूर्ण योगदान छ । उनीहरुको उपस्थिति र निरन्तरको कामले गर्दा नै यहाँ
बौद्ध वातावरण बन्न सकोको छ, बुद्ध धर्म नबुझेकाले बुझ्न पाएको छ ,
बुझेकाले विहार वा गुम्बामा गएर धर्म अभ्यास गर्न पाएको छ अनि संगठित हुन
पनि सकेको छ । उनीहरुले विभिन्न निकाय र परम्पराहरूको प्रतिनिधित्व गरेका
छन् । ती मध्ये केहि प्रमुख बौद्ध गुरुहरूको सामान्य परिचय यस प्रकार छ ।
डा. के. श्री धम्मानन्द नायक महाथेरा (सन् १९१९–२००६) ः श्रीलंकाको मतरामा जन्मेर मलेसियालाई कार्यक्षेत्र बनाएका डा. श्री धम्मानन्द एक सम्मानित बौद्ध विद्वान भिक्षु थिए । उनी सन् १९५२मा मलेसियामा आए र यहाँ थेरवाद बुद्ध धर्मलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेले । उनले क्वालालम्पुरको बौद्ध महाविहारका प्रमुख पदाधिकारी भएर यहाँका बौद्धहरुलाई शिक्षित तथा संगठित बनाए । उनले बुद्ध धर्मका बारेमा लेखेका धेरै पुस्तकहरू मलेसिया तथा बाहिरी विश्वमा धेरै प्रख्यात छन् । उनका पुस्तकहरु मध्ये बौद्ध विश्वास तथा समस्या उपर कसरी विजय पाउने नेपालीमा पनि अनुवादित छन् । उनलाई म्यानमार सरकारले अग्गमहासद्धम्मजोतिकधजको उपाधि दिएको थियो ।
डा.
के श्री धम्मरतन नायक महाथेरा (सन् १९४८) ः मलेसियामा बुद्ध धर्मको प्रचार
गर्ने अनि बौद्धहरुलाई संगठित गर्ने अर्को प्रमुख व्यक्तित्व डा. के श्री
धम्मरतान हुन् । उनी श्रीलंकामा जन्मेथिए र सन् १९८०मा गुरु के श्री
धम्मानन्दको निमन्त्रणामा क्वालालम्पुर आए । उनी यहाँको परियत्ति वा सन्डे
स्कुलका प्रमुख बने । साथै यहाँको सेन्तुल श्रीलंका बौद्ध मन्दिरका
संस्थापक र आध्यात्मिक नेता भए । उनी समथ ध्यान शिक्षणका कारण मलेसियामा
प्रसिद्ध भए । साथै उनले बुद्ध धर्म मार्फत विभिन्न सामाजिक कार्यहरु गरेर
मानवतावादी बुद्ध धर्मको परिचय पनि मलेसियामा दिए ।
चि चेन (सन्
१९५५) ः मलेसियामा बुद्ध धर्मलाई जनमासनसम्म पुर्याउन योगदान दिनेमा भिक्षु
चि चेन पनि प्रमुख हुन् । उनलाई मलेसिया तथा सिंगापुरमा एक श्रद्धेय ध्यान
गुरुको रुपमा मानिन्छ । उनलाई चान मास्टा शेङ येनलाई आफ्नै उत्तराधिकारी
नियुक्त गरेका थिए । उनले टाइवानको फोग्वाङशामा बुद्ध धर्म अध्ययन गरेका
थिए । उनी मलेसियन बुद्धिस्ट इन्स्टिच्युटका प्रमुख हुन् ।
वेई वू ः मलेसियामा महायान बुद्ध धर्मको प्रचार गर्न विकास गर्न तथा चिनियाँ बौद्धहरुलाई संगठन गर्नमा महायानी बौद्ध भिक्षु वेई वूको योगदान धेरै छ । उनले ब्रिकफिल्ड्स, क्वालालम्पुरमा बौद्ध महाविहार स्थापना गरे, जुन मलेसियाका ठूलो चिनियाँ बौद्ध मन्दिरहरू मध्ये एक हो । देशमा चिनियाँ बौद्ध धर्म र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न उनले महत्वपूर्ण भूमिका खेलेको छ ।
चिन कुङः एक ताइवानी बौद्ध भिक्षु चिन कुङले मलेसियामा बुद्ध धर्म प्रचार गर्ने तथा बौद्ध समाजको विकासको लागि विभिन्न शैक्षिक कार्यक्रमहरू गरेका थिए । यसका साथ बुद्ध शिक्षाहरू फैलाउनका लागि विभिन्न पत्रपत्रिकाहरुको प्रकाशन पनि गरे । उनले मलेसियामा प्योर ल्यान्ड लर्निङ कलेज एसोसिएसन (पीएलएलसीए) स्थापना गरेर त्यहाँ शिक्षामार्फत बुद्ध धर्म र परम्परागत चिनियाँ संस्कृतिलाई प्रवर्द्धन गरे ।
मलेसियाको बौद्ध समुदायमा योगदान पुर्याएका धेरै प्रभावशाली बौद्ध शिक्षकहरूमध्ये यी नामहरु केही उदाहरणहरु मात्र हुन् । यी बाहेक यहाँको इतिहास र समसामयिक समाजमा यस्ता थुप्रै धर्मगुरुहरु छन् जसले यहाँ बुद्ध धर्म फैलाउन जीवन्त राख्न योगदान दिएका छन् ।
स्मारकहरु ः
मलेसियामा
धेरै समय अगाडिदेखि बौद्धहरुले धर्म अवलम्बन गर्दै आएको भनेपछि यहाँ त्यही
अनुपातमा इतिहासका विभिन्न कालखण्डहरुमा विहार मन्दिर तथा मूर्तिहरु
इत्यादिको निर्माण भएको भन्ने पनि स्पष्ट हुन्छ । त्यस बेलाका बौद्धहरु
यस्ता आफुले मान्दै आएको धर्म चीरकालसम्म स्थायी होस् भन्ने हेतुले त्यस्ता
स्मारकहरु बनाउने गर्थे । यस्तो भनेजस्तै अहिले त्यहाँ बुद्ध धर्म पहिले
जस्तो बलियो नभएपनि ती कलाकृति वा स्मारकहरुले त्यहाँको बुद्ध धर्मको बलियो
इतिहास बताइरहेका छन् । अनि अहिलेका बौद्धहरुलाई आफ्नो धर्मको गौरवमय
इतिहास सुनेर पढेर गर्व गर्न तथा हाम्रो धर्म यहाँ नयाँ वा आयातित हैन, यही
माटोमा हुर्केको भनेर बलियो तर्क दिन पनि सहायक सिद्ध भएका छन् ।
हालै भएका केही महत्वपूर्ण उत्खनन्हरुले पेनाङको बुकित कोरसमा केही अवशेषहरु जमिन मुनिबाट निकालिएका छन् जसले यहाँ धेरै पहिलेदेखि बुद्ध धर्मको अस्तित्व थियो भन्ने देखाउँछ । यहाँका केही मन्दिर संरचनाहरु करिब १२ सय वर्ष पुराना हुन् भनिएको छ । यी संरचनाहरुले ती समयका वास्तुकलाका केही मौलिक शैलीहरुको बारेमा पनि जानकारी दिन्छ ।
स्मारकहरुको दृष्टिकोणले मलेशियाले दक्षिणपूर्वी एशियाका प्रभावशाली बौद्ध मन्दिरहरू भएका देशहरु मध्ये एक हुन जान्छ । नयाँ तथा पुराना यहाँका बौद्ध मन्दिरहरू पूजापाठ, शिक्षण, अभ्यास र अन्य सांस्कृतिक गतिविधिहरूको केन्द्रको रूपमा रहेका छन् । केही प्रसिद्ध मन्दिरहरूको बारेमा संक्षिप्त जानकारी यहाँ समावेश छ ।
धम्मिकाराम बर्मी विहारः पेनाङमन जर्ज टाउनमा धम्मिकाराम बर्मी विहार अवस्थित छ । सन् १८०३मा न्योना बेटोङ भन्ने व्यक्तिले दान दिएको जग्गामा एउटा न्यान्डी मोलोह मन्दिर बनाइएको थियो । त्यहाँ उ नन्दमाला प्रमु्ख थिए । पछि यसैलाई बढाएर सन् १८४५मा विकास गरियो । यसको निर्माण तथा विकासमा बर्मी उपासिकाहरुको योगदान उल्लेखनीय छ । यहाँको सबैभन्दा पुरानो स्मारक भनेको सन् १८०५मा निर्मित स्तुप हो । अहिले यहाँ थुप्रै बुद्ध मूर्तिहरुका साथै बर्मी बौद्ध परम्पराअनुसारका विभिन्न काल्पनिक जीवहरुको कलात्मक मूर्तिहरुका साथै सीमागृह, पुस्तकालय इत्यादि छ ।
बोधि लङ्काराम विहार ः मलेसियाको सबैभन्दा पुरानो श्रीलंकाली विहार बोधि लङ्काराम विहार हो । सिंहाली उपासक एए ग्यारिस दे एल्विस सन् १८८८मा आएर ताइपिङ शहरमा बसे । एकै वर्षमा उनले त्यहाँ जग्गा खरिद गरेर एउटा बौद्ध मन्दिर बनाए । यसको व्यवस्थापनको लागि उनले एक धर्मोदा सोसाइटी नामक संस्था पनि बनाए । यहाँ भिक्षु नगोडा किसारोले श्रीलंकाबाट बोधिवृक्ष ल्याएर रोपे । पछि उनले यो मन्दिरको जग्गा सरकारलाई हस्तान्तरण गरे । सन् १९७६ सम्म पुग्दा यो मन्दिर व्यवस्थापन गर्ने संस्थाको नाम ताइपिङ बोधि लङ्काराम बुद्धिस्ट एशोसिएसन बन्यो । सन् १९८४मा डा के श्री धम्मानन्द यस विहारको निर्देशक बने ।
केक लोक सी मन्दिर, मलेसियाको पेनाङ शहर स्थित जर्ज टाउनमामा रहेको केक लोक सी मन्दिर मलेसियाको सबैभन्दा ठुलो बौद्ध मन्दिर हो । यसलाई दक्षिणपूर्व एशियाको सबैभन्दा ठूलो बौद्ध मन्दिरहरू मध्ये एक भन्न सकिन्छ यसको निर्माण सन् १८९०मा मुख्य गुरु बिउ लीनको संयोजनमा शुरु भएको थियो । यहाँको मुख्य केन्द्र भनेको सात तल्ले मन्दिर हो जहाँ १० हजार बुद्ध मूर्ति राखिएका छन् । यसका साथै यहाँको डाँडामाथि १२० फिट अग्लो क्वान यीन देवीको मूर्ति पनि छ । यस मन्दिरमा चिनियाँ, थाई र बर्मी वास्तुकलाको सुमधुर मिश्रण पाइन्छ । यहाँ मलेसियनका साथै हङकङ, फिलिपिन्स, सिंगापुर आदि बौद्ध देशहरुबाट समेत तीर्थयात्रीहरु आउने गर्छन् ।
बौद्ध महाविहार, क्वालालम्पुरको ब्रिकफिल्डमा सन् १८९४मा निर्मित एक ऐतिहासिक बौद्ध महाविहार छ । यो विहार श्रीलंकाबाट आएका भिक्षुहरुले सञ्चालन गरेको थेरवाद बौद्ध शिक्षा र परम्पराहरूको केन्द्र हो । तैपनि यसको निर्माणमा चीनियाँ दाताहरुको पनि ठुलो योगदान छ । अंग्रेज सरकारसँग त्यसबेलाको शासन अभिवुर्धी वर्धन नामक संस्था बनाइ यो मन्दिरको लागि जग्गा प्राप्त गरेको थियो । सन् १९६२मा यसको विधिवत दर्ता भइसकेपछि अब यसको सञ्चालक संस्थाको नाम बुद्धिस्ट मिसनरी सोसाइटी मलेसिया राखियो ।
वाट चेतवन : पेतालिङ जयामा थेरवाद अन्तर्गत थाइ परम्परा अनुसारको वाट चेतवन विहार अवस्थित छ । यसको निर्माण सन् १९५७मा भएको थियो र यसको उदघाटन थाइ राजा भूमिबोल अद्यूल्यादेजबाट भएको थियो । मलेसियामा बुद्धको अस्तिधातु भएको यो एकमात्र विहार हो । यहाँ भारतको उत्तर प्रदेशबाट अस्थि धातु ल्याइएको थियो जुन त्यसबेलाका अंग्रेज भायसराज लर्ड कुर्जनले थाइ राजा चुललोङकोर्नलाई प्रदान गरिएको थियो । पूर्ण रुपले थाइ बास्तुकलामा आधारिक यो विहार अत्यन्त कलात्मक छ । थाइमूलका मलेसियन बौद्धहरुको धार्मिक केन्द्र हुनुका साथै यो विहारले अन्य बौद्धहरुलाई पनि आकर्षित गरेको छ ।
मलेसियाको बौद्ध धर्मले यहाँको विविधताले भरिएकोे सांस्कृतिक संग्रहालयलाई विभिन्न दृष्टिकोणबाट विशिष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । बुद्ध धर्मले शान्ति, करुणा र सजगतामा जोड दिने भएकोले यसले मलेशियन समाजलाई बहुधार्मिक र बहुसाँस्कृतिक बनाउन पनि योगदान दिएको छ ।
आधुनिक मलेसियामा बुद्ध धर्म
मलेसियाको
संविधान अनुसार बहुसंख्यक जातीय समूह, मलेसियालाई कानुनी रूपमा मुस्लिम
भनेर परिभाषित गरिएको छ । तिनीहरूले जनसंख्याको ६० प्रतिशत छन्, बाँकी धेरै
जसो चिनियाँहरू, जो सामान्यतया बौद्ध वा इसाईहरू हुन्, र केही हदसम्म
भारतीयहरू, जो सामान्यतया हिन्दू हुन् । त्यहाँ अन्य आदिवासी र
आप्रवासीहरूको सानो संख्या पनि छ । पछिल्ला मध्ये सिंहली, थाई र यूरेशियन
मूलका मलेशियनहरू छन् । मलेसियाका लगभग सबै बौद्धहरू सहरी क्षेत्रमा बसोबास
गर्छन्, किनभने तिनीहरू प्रायः व्यापारमा संलग्न छन् वा विभिन्न पेशामा
कार्यरत छन् ।
आज मलेसिया मुस्लिम बाहुल्य भएको देश भएतापनि त्यहाँ बुद्ध धर्म ठूलो धर्म को रुपमा स्थापित र सम्मानित छ । यहाँको बौद्ध सम्ुदायमा चिनियाँ मुलका मलेसियनहरुको उल्लेख्य उपस्थिति छ । यहाँ धर्मलाई कोरा उपदेशको रुपमा मात्र सिमित नराखी शिक्षा र सामाजिक पहुँचमा जोड दिएर बुद्ध धर्मलाई मानवीय धर्मको रुपमा पुनरुत्थान गर्ने प्रयासहरू भइरहेका छन् । यहाँको बौद्ध समाजले यस देशमा बौद्ध परम्पराहरूको एक सुमधुर मिश्रण देखाउँछ, अनि यसको बहुसांस्कृतिक चरित्र पनि झल्काउँछ ।
Buddhism in Malaysia, an article published in Buddhist Monthly “Anandabhoomi” in April 2024 in Nepal.
Photos are taken various sources on the Internet.