भगवान बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा, जसलाई हामीले सामान्य भाषामा बुद्ध धर्म भन्छौं त्यो उहाँको जन्मस्थान लुम्बिनी तथा त्यसमा स्वामित्व जनाउने देश नेपालमा धेरै प्रचार नभएपनि यसभन्दा धेरै टाढाका देशहरुमा भने विभिन्न प्रतिकूल परिस्थितिका बाबजुद पनि फलेको फुलेको देखिन्छ । त्यस्ता देशहरु मध्ये एउटा श्रीलंका हो जुन दक्षिण एशियाको एक नाम कहलिएको टापु हो । आज विश्वकै समाचारपत्रहरुमा श्रीलंकाको नाम आइरहेको छ, त्यो त्यहाँको प्राकृतिक सुन्दरता, बुद्धधर्मको प्रचार वा बर्बर पृथकतावादीको कारणले भन्दा पनि यो देश टाट पल्टेको छ भन्ने सूचनाका आधारमा चर्चा भइरहेको छ ।
श्रीलंका भनेको विश्वकै केही उल्लेखनीय देशहरुमा पर्दछ जहाँ अधिकांश मानिसले बुद्ध धर्म अँगालेको छ । अहिले पनि त्यहाँ ७० प्रतिशत भन्दा बढी जनताले बुद्धधर्म नै मानिराखेको छ । यो नै यहाँको सबैभन्दा ठुलो र सरकारी धर्म हो । यहाँको संविधानले नै बुद्ध धर्मलाई विशेष स्थान दिएर राखेको छ । त्यसमा पनि सबै जसोले थेरवादलाई मान्छ ।
विभिन्न साम्राज्यहरुले उपनिवेश बनाएपनि आफ्नै देशभित्र सशस्त्र युद्धको सामना गर्न परेपनि बुद्धको शिक्षाको सम्मान गर्न नचुक्ने देश आज आफ्नै कारणले धराशायी भएर विश्वको अगाडि असफल राष्ट्र भएर चिनिनुपर्ने पीडामा छ श्रीलंका । स्वभाविक हो, भगवान बुद्धका अनुयायीहरु धेरै भएको देशमा सत्तामा पनि बौद्धहरु नै गए होलान्, उनीहरुले पनि बुद्धको शिक्षा नै अनुशरण गरे होलान् । तर पनि किन यसरी देशको अर्थतन्त्र नै भताभुङ्ग हुने गरी बिग्रियो त ? कतै उनीहरुले लिएको बुद्ध शिक्षामै खराबी त थिएन? के उनीहरु साँचो अर्थमा बौद्ध नै थिएनन् त ? यस लेखमा श्रीलंकाको बुद्धधर्मको इतिहासको पृष्टभूमिमा त्यहाँको वर्तमान अवस्थाको बारे संक्षिप्त विश्लेषण गर्ने प्रयास गरिनेछ ।
श्रीलंकामा बुद्धधर्मको प्रवेश
विश्वका विभिन्न बौद्ध देशहरुमा आफ्नो देशमा भगवान बुद्ध स्वयम् आउनुभएको थियो भनेर गर्व गर्ने चलन छ । यसैले उनीहरुले भगवान बुद्धको सशरीर पदार्पण भएको किंवदन्ती बनाएका हुन्छन् । श्रीलंकामा प्रचलित किंवदन्ती अनुसार भगवान बुद्ध श्रीलंकामा तीनपल्ट जानुभएको थियो । उहाँले आफ्नो समय व्यतीत गर्नुभएको स्थानहरु भनेर त्यहाँ अहिलेपनि १६वटा स्थानलाई पवित्र तीर्थस्थलका रुपमा मानिन्छन् जसलाई सोलस्मस्थान भनिन्छ ।
श्रीलंकाको बौद्ध इतिहास भारतवर्षका सम्राट अशोक (ईशापूर्व ३०४–२३२) देखि शुरु हुन्छ । यहाँ प्रचलित वंशावलीहरु, जस्तै महावंश र दीपवंश अनुसार ईशापूर्व तेश्रो शताब्दीमा यहाँ सम्राट अशोकले बुद्धधर्मको प्रचार गराउन आफ्ना छोरा महिन्द महास्थविर तथा छोरी संघमित्तालाई पठाएका थिए । आदिवासी जीवन बिताइरहेका सिंहल समाजमा उनले बुद्धधर्मको बिजारोपण गरिदिए । संघमित्ताले त भारतबाट बोधिवृक्षको हांगा पनि लिएर गएकी थिइन् । अनि उनैले श्रीलंकामा भिक्षुणी संघको स्थापना पनि गरिन् । भगवान बुद्धको शिक्षालाई लिएर उनीहरुले श्रीलंकामा नयाँ सभ्यताको जग बसाले जुन अहिलेसम्म पनि फैलिरहेको छ ।
उनीहरु श्रीलंकामा जाँदा त्यहाँ देवनामपिय तिस्स (ईशापूर्व ३०७–२६७) नामक राजा थिए । बुद्ध शिक्षाबाट उनी प्रभावित भए र त्यहाँ बुद्धशिक्षाको प्रचार गर्ने वातावरण मिलाइदिए । उनले त्यहाँ स्तुप तथा विहार वा बगैंचा बनाएर दान दिएको भन्ने पनि चलन छ । ईशा पूर्वकालका राजाहरु दुथगामिनी र वटगामिनीको समयसम्म बुद्ध धर्मले राजकीय संरक्षण पाएको देखिन्छ । अझ यसले त्यहाँको आदिवासी धर्मसँग समन्वय गरेर बुद्धधर्मले त्यहाँको जातीय र साँस्कृतिक विविधतामा सेतुको समेत काम गरेको थियो ।
चतुर्थ संगायना र त्रिपिटकको लिपीकरण
भगवान बुद्धले दिनुभएको शिक्षालाई बेला बखतमा धेरै भन्दा धेरै विद्वान भिक्षुहरु सँगै बसेर पाठ गरेर त्यसमा भएका त्रुटी सच्याउने वा बिर्सेकाहरुलाई सम्झाउने गरिन्छ । यस्तो उत्सव वा समारोहलाई संगायना भनिन्छ । त्यस्तै किसिमबाट भगवान बुद्धका बचनहरुको सँगालो त्रिपिटकलाई संरक्षित रुपमा राख्ने श्रेय पनि श्रीलंकालाई नै जान्छ । बुद्धको परिनिर्वाण पछि उहाँका बचनहरु उहाँका शिष्यहरुले कण्ठाग्र गरेर एक पुस्ताबाट अरु पुस्तामा हस्तान्तरण गर्ने परिपाटी रहेको थियो । पछि यसमा केही लोप वा विचलन देखिने संभावना भएकोले (अथवा महामारीको कारणले भिक्षुहरुको विलय भएकोले) त्रिपिटकलाई लेखिनु पर्ने भयो । थेरवाद परम्परा अनुसार चतुर्थ संगायना श्रीलंकाको अनुराधापुर स्थित महाविहारयमा ईशापूर्व २५मा भएको थियो । यसबेला श्रीलंकाका राजा वलगम्बा (वट्टगामिनी अभय, ईशापूर्व २९–१७) थिए (यद्यपि यसको थितिमितिका बारेमा इतिहाकारहरुको फरक फरक मत छ) । पहिले कण्ठ गरेर राख्ने त्रिपिटकलाई यसबेलादेखि लेखिन थालियो । पहिलो त्रिपिटक लेखिएको ठाउँ श्रीलंकाको अलुविहार हो भनेर त्यहाँको महावंशमा उल्लेख गरिएको छ ।.यस संगायनाको परिणाम स्वरुप ताडपत्रमा त्रिपिटक लिपिबद्ध गर्ने काम सम्पन्न भयो र त्यसलाई नै पछि म्यानमार, थाइल्याण्ड तथा लाओस आदि देशहरुमा पुर्याइयो । विश्वका बौद्धहरुका लागि यो श्रीलंकाको अनुपम उपहार भयो ।
अनुराधापुर भन्ने नगर ईशापूर्व पाँचौं शताब्दी अगाडिको समयमा श्रीलंकाको राजधानी थियो । त्यसबेलाको राज्य र समाजमा बुद्ध धर्मले निकै राम्रो प्रभाव पारेको थियो । सिंहली राजाहरु बुद्धधर्मका संरक्षक हुने गर्दथे । र त्यसबेला त्यहाँ थेरवाद भित्र पनि महाविहार, अभयगिरि अनि जेतवन भन्ने तीनवटा शाखाहरु थिए । त्यसबिच ईश्वी २७७ देखि ३०४ सम्म शासन गर्ने राजा महासेनाले थेरवादमाथि विभेद गरेको थियो भन्ने गरिन्छ । त्यस्तै सन् ३०१ देखि ३२८ सम्म शासन गरेका राजा किथसिरिमावेनको पालामा हेमामालाले भगवानबुद्धको दन्त धातु श्रीलंकामा ल्याएको भनिन्छ । त्यसबाहेक त्यहाँ भगवानबुद्धको पात्रधातु र केश धातु पनि सुरक्षित छ । श्रीलंकाली बौद्धहरुले आजसम्म पनि यसलाई निकै आदर गरेर राखेको छ ।
चीनियाँ यात्री फाहियान (ईश्वी ३३७–४२२)ले करिब ईश्वी ४१०मा श्रीलंकामा यात्रा गरेका थिए । लगभग दुई वर्ष त्यहाँ बस्दा उनले अभयगिरिमा ५०००, महाविहारमा ३००० अनि चेतियपब्बतविहारमा २००० भिक्षुहरु देखेका थिए । उनले त्यहाँ महिशासकको विनयको संस्कृत ग्रन्थ समेत भेट्टाएका थिए । यसबाट त्यतिबेला श्रीलंकामा बुद्धधर्मको प्रचार कुन हदसम्म भइसकेको थियो भन्ने अनुमान गर्न सकिन्छ ।
श्रीलंकाको बुद्धधर्मको विकासको कुरा गर्दा भारतका पाँचौ शताब्दीका विद्वान भिक्षु बुद्धघोषको योगदानको कुरा निस्किन्छ । उनलाई थेरवादका ग्रन्थहरुका सबैभन्दा ठुला र महत्वपूर्ण टिप्पणीकार तथा अनुवादको रुपमा मानिन्छ । उनी मगधका एक वेदका ज्ञाता व्राम्हण थिए जो एक भिक्षुबाट शास्त्रार्थमा पराजित भएर बुद्धधर्मको अध्ययनमा लागेका थिए । पछि भारतबाट हराएका बौद्ध ग्रन्थको खोजीमा उनी श्रीलंका पुगका थिए । उनले त्यहाँ उपलब्ध सिंहाली ग्रन्थको सहायताबाट थुप्रै पाली टिकाहरुको रचना गरे, श्रीलंकामा मात्र बाँकी रहेको पुरानो अर्थकथालाई पालिभाषामा अनुवाद गरी सबै बौद्धहरुका लागि उपलब्ध बनाए । त्यहाँ उनले रचना गरेका ग्रन्थहरु मध्ये विसुद्धिमग्ग एक प्रमुख हो । उनको जीवनीले पनि त्यसबेला श्रीलंका कति ठुलो बौद्ध केन्द्र बनिसकेको थियो भन्ने देखाउँछ ।
त्यस्तै धम्मपाल तथा बुद्धदत्त अर्का बौद्ध विद्वानहरु हुन् जसले श्रीलंकामा बुद्धधर्मको विकासमा योगदान गरे । उनीहरुको अध्ययन, लगन र लेखनले विश्वकै बौद्ध साहित्य यति धनी हुन पाएको छ ।
त्यस्तै श्रीलंकाका थेरवाद बौद्धहरुको पहिलेका ठुल्ठुला बौद्ध ग्रन्थहरुमाथि टिका अथवा अर्थ लेख्ने चलन भयो, जसलाई अर्थकथा भनिन्छ । ती मध्ये धेरै टिकाहरु सिंहली भाषा लेखिने भएकोले यसले स्थानीय भाषाका ऐतिहासिक ग्रन्थहरुको रचना गर्न पनि मदत गर्यो । यसप्रकार अनुराधापुर युगमा पालिभाषाको प्रभावमा सिंहली भाषाको समेत विकास गर्न पनि बौद्ध साहित्यले सहयोग गर्यो ।
आठौं शताब्दीमा भारतवर्षकै बुद्धधर्मको इतिहासमा केही महत्वपूर्ण मोडहरु आए । नेपाल तथा भारतमा जस्तै यहाँको बुद्धधर्ममा पनि महायान तथा गुह्य वज्रयानको प्रभाव बढ्यो । यस समय भारतबाट श्रीलंका पुगेका बौद्ध भिक्षुहरु वज्रबोधी तथा अमोघवज्रलाई श्रीलंकामा महायान बुद्धधर्मको प्रवेश गराउने श्रेय दिइन्छ । श्रीलंकामा पाइएको तथा हाल ब्रिटिश म्युजिएममा रहेको आठौं शताब्दीको तारा बोधिसत्वको मूर्तिलाई त्यसबेलाको श्रीलंकाको बुद्धधर्मको अवस्था चित्रण गर्ने एक दसिको रुपमा प्रस्तुत गर्ने गरिन्छ ।
आरोह अवरोह प्रकृतिको नियम भएझैं यति धेरै विकास भइसकेको श्रीलंकाको बुद्धधर्मले पनि अवनतिको मुख हेर्नुपर्यो । त्यहाँका सिंहल राजाहरुको आपसी दुश्मनी, दक्षिण भारतबाट हिन्दुहरुको आप्रवासन र राजनीतिमा प्रभाव इत्यादि कारणले त्यहाँको शान्ति र समृद्धिमा आँच आयो । यस्ता राजनीतिक परिवर्तनका कारण त्यहाँका जनताले बुद्धधर्ममा आफुलाई असुरक्षित ठाने, राज्य सत्ताले बुद्धधर्मलाई संरक्षण दिन छोड्यो र विशेष गरी हिन्दु प्रभाव बढ्दै जाँदा श्रीलंकाको राज्य धर्म कमजोर हुँदै गयो । सरसरी हेर्दा श्रीलंकामा पाँचौं शताब्दीदेखि दशौं शताब्दीको बिचमा बुद्धधर्मको पतन भएको देखिन्छ ।
राजा महानामको निधन ईश्वी ४२८मा भएपछि अनुराधापुर शक्तिको केन्द्र बन्न छोड्यो । सिंहली राजाहरु नै आपसमा लड्न थाले, दक्षिण भारतबाट राजनीतिक तथा धार्मिक हमला हुन थाल्यो । दक्षिण भातरबाट आउने वंशहरु चेल, पल्लव तथा पाण्ड्याहरु कट्टर हिन्दु भएकाले उनीहरुले यहाँको बौद्ध धार्मिक वातावरण खलल पार्न थाले । यो समय भनेको एकातिर बौद्ध भिक्षुहरु, विहारहरु इत्यादिमा राज्यको आक्रमण बढ्दै गएको र अर्कोतिर बुद्धधर्मले हिन्दुधर्मको जस्तै भक्तिमार्गको बाटो अपनाएर शील समाधिमा जीवन बिताउनु भन्दा कर्मकाण्डलाई नै बुद्धधर्म भनेर समाजलाई बुझाइरहेको अवस्था थियो ।
सिंहल राजाहरुले पनि बौद्ध विहारहरुलाई आफ्नो प्रभावमा पार्न यथेष्ट धनसम्पत्ति दिएर बौद्ध समाजलाई विलासी बनाइरहेको थियो । एक जना प्रभावशाली तथा योग्य राजाको शासनमा सबै बस्ने भन्दा पनि सबै साना साना राजा हुने र आपसमा युद्ध र षडयन्त्र गर्ने भएपछि त्यहाँ बिस्तारै बुद्ध शिक्षा र बौद्ध आचरणले ठाउँ छोड्यो । अर्को तिर सातौं शताब्दी देखि श्रीलंकामा मुस्लिमहरको आप्रवासन बढ्न थाल्यो । र यसले पनि यहाँको धार्मिक वातावरणमा केही खलल ल्यायो ।
राजेन्द्र चोला प्रथम (ईश्वी ९७१–१०४४)को श्रीलंका हमलाले यहाँको राजनीति तथा धार्मिक वातावरणमा ठुलो असर गर्यो । समग्रमा हिन्दु चोल राजाहरुको कारणले श्रीलंकाका बौद्धहरुले धेरै अन्याय र विभेद भोग्नुपर्यो । ईश्वी १०७०मा विजयबाहु प्रथम (ईश्वी १०५५–१११०) ले पुरै द्वीपमाथि विजय प्राप्त गरी पोलोनारुवा राज्यको स्थापना गरे । यसबेलादेखि १२३२ सम्मको समयावधिलाई श्रीलंकाको इतिहासमा पोलोनारुवा युग भनिन्छ ।
Hindu temple in Sri Lanka
श्रीलंकामा चोल राजाहरुको अधिपत्य बढेपछि पछि बहुसंख्यक भएका सिंहलहरु समस्यामा परे । अनि त्यहाँका बौद्धहरुमाथि पनि यसको प्रतिकुल प्रभाव पर्नथाल्यो । श्रीलंकाको बुद्धधर्ममाथि संकट डरलाग्दो गरी आयो । राजनीतिले धर्मलाई कसरी प्रभावित पार्छ भन्ने उदाहरण यहाँबाट पनि पाउन सकिन्छ । राज्यले बुद्धधर्ममाथि प्रहार गर्न थालेपछि यहाँका मानिसहरुले बुद्धधर्म त्याग गर्दै राज्यलाई मन पर्ने धर्म स्वीकार गर्न थाले । हजारौको संख्यामा भएका भिक्षुहरु कोही पनि बाँकी रहेन । भनिन्छ कि यसबेला त्यहाँ नयाँ भिक्षु बनाउन पाँच जना भिक्षुहरुको समुह खोज्न सकिएन र अन्तमा बर्माबाट भिक्षुहरु ल्याएर त्यहाँ भिक्षु परम्परालाई निरन्तरता दिनुपर्यो । यसप्रकार श्रीलंकामा बुद्धधर्मको पुनरुत्थानको पहिलो चरण शुरु भयो । क्यान्डीको प्रख्यात दन्तमन्दिरको निर्माण पनि यसैबेला भएको थियो ।
बह्रौं शताब्दीमा श्रीलंकाको बुद्धधर्म पतनको खाल्डोमा थियो । त्यस्तो गौरवशाली इतिहास बोकेको बौद्ध समाज बुद्धशिक्षाबाट टाढा हुँदै थियो । । त्यसबेला भिक्षुहरुमा संघभेद, नैतिकताको कमि र विनय तोड्ने क्रम बढ्र्दै गएर विवाह गरी बालबच्चा पाउने सम्म हुन थालेको थियो । यस्तो बेलामा पराक्रमबाहु प्रथम (ईश्वी ११५३–११८६)ले सिँहलहरुको बुद्धधर्मको खस्कँदै गएको अवस्थालाई हेरेर श्रीलंका द्वीपको एकीकरण गर्नाको साथै यहाँको बुद्धसंघमा केही सुधार पनि ल्याउन खोजे । कश्यप महास्थविरको सहयोगमा उनले भिक्षुहरुको सामाजिक नियम कडा बनाए । भिक्षुहरु बिच संघराजाको नियुक्ति गरी उनी मार्फत भिक्षुहरुको गतिविधि निगरानी गर्ने समेतको व्यवस्था उनले गरे ।
त्यहाँ पछि हिन्दु तामिलहरुको प्रभाव बढ्दै गएर ईश्वी १२१५मा तामिलहरुको प्रभाव भएको आर्य चक्रवर्थी वंशले जाफनामा स्वतन्त्र राज्यको स्थापना गरे ।
श्रीलंकामा बुद्धधर्म यति संकटमा थियो कि ईश्वी १२७२मा त्यहाँका राजा भूवनायकबाहु प्रथम विदेशीहरुको आक्रमणबाट त्यहाको बौद्ध सम्पदा बचाउनका लागि आफै भगवान बुद्धको दन्त धातु बोकेर यपहुवा भन्ने किल्लामा लुक्न जान परेको थियो ।
दशौं देखि तेह्रौं शताब्दी बिचमा श्रीलंकामा बुद्ध धर्म संकटमा पनि थियो र केही पुनरुत्थान र सुधार पनि भयो । त्यहाँ यस समयमा बौद्ध साहित्यको लेखनमा प्रगति भयो, त्यसमा पनि विशेष गरेर पालि साहित्यको । यो भनेको राज्यको साथले भन्दा पनि राजनीतिक अवस्था प्रतिकूल हुँदै गएकोमा र समाजमा हिन्दुहरु पकड बढ्न थालेकोले बौद्ध विद्वानहरुले नै भविष्यमा बुद्धधर्म हराउने भय देखेर मूल बुद्धधर्ममा विचलन वा विकृति नआओस् भनेर बुद्धशिक्षाको अभिलेखीकरण गरेको हो भनेर इतिहासकारहरु भन्छन् । यद्यपि यस पोलोनारुवा युगमा श्रीलंकाका बौद्धहरुको बिच आरन्नभासिन अथवा जंगलमा बस्ने भिक्षुहरुले प्रख्याति पाए । उनीहरुको एउटा समुह बन्यो र उनीहरुले नै बुद्धधर्ममा सुधार ल्याउने अभियान चलाए ।
सुधारका प्रयासहरुका बाबजुद बुद्धधर्म निरन्तर ओरालो लाग्दैथियो । उत्तरतिर भारतका हिन्दुहरुले जाफना राज्य खडा गरी आफ्नो राज्य विस्तार गरिरहेका थिए । पराक्रमबाहु तृतिय (ईश्वी १३०३–१३१०)को अन्त्य पछि त्यहाँ दक्षिण भारतीय हिन्दुहरुको राज्य विस्तार बढ्दै थियो र स्थानीय सिंहलहरु झन् झन् दक्षिणमा भाग्दै थिए । यस्तो अवस्थामा श्रीलंकामा बौद्धहरुसित महायान वा हिन्दुधर्मका देउताहरुलाई स्वीकार गर्दै आफ्नो अस्तीत्व बचाउने बाहेकको अन्य उपाय बाँकी थिएन । महायान, अझ विशेष गरी लोकेश्वरको पुजा गर्ने प्रचलन श्रीलंकामा बढिरहको थियो । यसले त्यहाँको बुद्धधर्म बिस्तारै भक्तिमार्ग तर्फ लागिरहेको प्रमाणित गर्दछ ।
श्रीलंकाको समाजको कुरा गर्दा छुटाउने नहुने कुरा यहाँको जात व्यवस्थाको पनि हो । प्राचिन कालदेखि बुद्धधर्मको प्रभाव रहेको भएतापनि हिन्दु आप्रवासन वा अन्य कारणले यहाँ पनि जातीय उँचनिचको व्यवस्था रहिआएको छ । यहाँका सिंहलहरु, श्रीलंकाली तामिलहरु तथा भारतीय तामिलहरु अआफ्नो किसिमबाट जातीय विभाजनमा थिए ।
सन् १२३२ देखि १५०५सम्मको समयअवधिलाई श्रीलंकाको इतिहासमा संक्रमण काल भनिन्छ । त्यसबेला श्रीलंका जाफना, दम्बादेनिया, गम्पोला, कोट्टे, सीतावाका आदि ससाना राज्यमा विभाजित थियो । यसबेला एकातिर श्रीलंकामा मुस्लिम (मूर)हरुको आप्रवासन बढ्यो भने यसको अन्त्यतिर पोर्चुगालीहरुको उपनिवेशीकरणको मारमा पनि पर्यो ।
आपसी खिचातान, आफ्नै धर्ममा समेत विचलन ल्याउने, एकधर्मले अर्को धर्मलाई नमान्ने, आप्रवासीहरुले मुलबासीहरुको धर्मलाई दमन गर्ने जस्ता काममा व्यतित भइरहेको श्रीलंकाली जनताको जीवनमा कालो बादल १६औ शताब्दीदेखि मडारिन थाल्यो । जुन दिनदेखि विदेशीहरु श्रीलंका पसे त्यही दिनदेखि यहाँको दुर्दिन शुरु भयो । सन् १५०५मा सबैभन्दा पहिला पोर्चुलागी श्रीलंकामा पसे । डेढसय वर्षमा बिस्तारै पोर्चुगाली साम्राज्यले श्रीलंकालाई उपनिवेश बनाएर त्यहाँको श्रोत साधनको दोहन गरे । उनीहरुलाई त्यतिले पुगेन र दुइ हजार वर्षदेखि बुद्धधर्मको अनुशरण गरेर सुखी जीवन बिताइरहेका श्रीलंकाली जनतामा आफ्नो क्याथोलिक धर्म लाद्न थाले । सिंहल जनताले विरोध वा विद्रोह गर्न थालेपछि उनीहरुले बौद्ध विहारहरु भत्काए अथवा त्यसलाई कब्जा गरेर क्याथोलिक धर्मका लागि दिए । यसप्रकार हेर्दा श्रीलंकामा १६औ शताब्दीदेखि त्यहाँ खटिआएका क्रिश्चियन मिसनरीहरुले त्यहाँकाक जातालाई क्रिश्चियन बनाउन थाले ।
राज्य सत्ताले पुरै शक्ति लगाएर क्रिश्चियन धर्मलाई मात्र बढावा दिँदा तथा अन्य धर्ममाथि दमन गर्दा स्थानीय जनतामा आफ्नो बौद्ध धर्म त्यागेर केही लाभ वा सम्मानका खातिर क्रिश्यिन धर्म अँगाल्नेहरुको संख्या बढ्न थाल्यो । यसबेला श्रीलंकामा बुद्ध धर्मको नाम निशान नै मेटेको जस्तो अवस्था आइसकेको थियो । सन् १५९२मा क्यान्डीका राजा विमलसुरियले बुद्धधर्मको उत्थान गर्नको लागि त्यहाँ मानिसहरुलाई प्रवजित गराउन खोज्दा त्यहाँ एक जना पनि भिक्षु भेट्टाउन नसक्दा बर्मामाबाट सहयोग माग्नु परेको थियो ।
श्रीलंकामा विदेशी शक्तिहरुको नांगो नाच कायमै रह्यो । १७औं शताब्दीको पूर्वार्धमा पोर्चुलागीहरु र डचहरुले श्रीलंकाको शोषण गर्नका लागि नै आपसमा लडे । उनीहरु दुबैले यहाँका मूलबासीहरुमाथि शोषण कायमै राखे । ईश्वी १६५८देखि १७९६सम्म श्रीलंका डच वा नेदेरल्याण्डको अधिनमा गयो । उनीहरु प्राटेस्टेन्ट थिए त्यसैले उनीहरुले क्याथोलिक मिसनरी समेतलाई धपाएर रिर्फोम्ड चर्चको प्रचार गरी बौद्ध बिहार र त्यसको सम्पत्ति कब्जा गरिरहे ।
१८औं शताब्दीमा देशको मध्यभागमा रहेको क्यान्डीमा भने बुद्धधर्म कमजोर रहेपनि केही हदसम्म सुरक्षित थियो । यहाँका राजाहरुले बुद्धधर्म जोगाउन कोशिस गरेपनि बौद्धहरु यति कमजोर हुनथाल्यो कि फेरि पाँच जना भिक्षु पाउन नसकेर फेरि बर्माबाट भिक्षुहरु झिकाएर बुद्धधर्मको परम्परा बिउँताउनुपरेको थियो । त्यस्तै वेलिवित श्री शरणंकर महास्थविरले बुद्धधर्म पुर्नजीवित गर्न थाइल्याण्डबाट भिक्षुहरु झिकाएर यहाँको बुद्धशासनलाई निरन्तरता दिने कोशिस पनि गरे । राजा कीर्ति श्री राजसिंहको राज्यकालमा (ईश्वी १७४७–१७८२) पनि बुद्धधर्मको रक्ष ा गर्न पुराना भत्काइएका विहारहरु पुर्ननिर्माण गर्ने तथा नयाँ विहारहरु बनाउने कोशिस गरिरहे ।
Repression of Buddhism in Sri Lanka by Portuguese
राजनीतिक, आर्थिक तथा सामाजिक रुपमा जर्जर बनाइएको श्रीलंकामाथि फेरि ब्रिटिश इस्ट इण्डिया कम्पनीले आँखा गाडे । ब्रिटिशले क्रमशः सन् १८१५सम्ममा सबै श्रीलंका आफ्नो कब्जामा लियो । उनीहरुले पनि श्रीलंकाली जनतामाथि अत्याचार गर्न र यहाँको उब्जनीको शोषण गर्न छोडन । उनीहरुले घुमाउरो तरिकाले ती क्रिश्चियन मिशनहरुले बौद्ध संस्थाहरुलाई आक्रमण भने गरिरहे । यस बिच राज्य र बौद्ध संस्थाहरुको बिचको सम्बन्ध चिसिँदै गयो । र बिस्तारै बौद्धहरुमा विद्रोह वा प्रतिकार नगरी आफ्नो अस्तीत्व जोगाउन नसकिने भयो भन्ने चेतना जाग्न थाल्यो ।
सन् १८५०पछिको समयमा बौद्धहरुले ब्रिटिश अत्याचारको जवाफ दिन थालेपछि ब्रिटिश मिशनरीहरु पनि सचेत हुन थाले । सन् १८६५तिर मिशनरीहरुले बौद्ध विद्वानहरुका साथ धर्म र दर्शनमा बहस गर्न थाले जसको सामना श्रीलंकाका बौद्ध विद्वानहरुले डटेर गरे । पछि ब्रिटिश सरकारले धार्मिक द्वन्द्व घटाउन नरम बाटो अपनाए भने बौद्धहरुले संगठनात्मक रुपमा नै धार्मिक अतिवादी ब्रिटिशहरुको सामना गर्न तयार रहनुपर्ने बुझिसकेको थियो ।
यसै सिलसिलामा श्रीलंकामा केही बौद्ध संस्थाहरको उदय भयो जसमा मुख्य थिए सोसाइटी अफ प्रोपोगेशन अफ बुद्धिज्म, विद्योदय परिवेण तथा विद्यालंकार परिवेण । तिनीहरुको औपचारिक उद्देश्य भनेको बौद्ध साहित्यको प्रकाशन र पुनःप्रकाशन थियो । यसै परिवेशमा श्री पियरतन तिस्स महानायके महास्थविरले जिनलब्धी विषोधक नामक पहिलो बौद्ध पाठशाला खोले ।
सन् १८८०मा श्रीलंकामा हेनरी स्टील अल्कोट आएपछि श्रीलंकाको बौद्ध पुनर्जागरण आन्दोलनले नयाँ युगमा प्रवेश पायो । उनी अमेरिकी सेना अधिकृत थिए, साथै पत्रकार, वकील पनि थिए । यहाँ बौद्ध विद्वानहरुसँग संगत गरी बुद्धधर्मको बारेमा र यहाँको अहिलेको बौद्धहरुको अवस्थाको जानकारी पाएपछि उनले बुद्ध धर्म अपनाए र थियोसोफिकल सोसाइटीको स्थापना गरे । उनले यहाँका बौद्ध ग्रन्थको अध्ययन गरेर बौद्ध प्रश्नोत्तर नामक पुस्तक पनि प्रकाशित गरे । उनको सोसाइटीले सिंहल तथा अंग्रेजी भाषामा पत्रिका पनि प्रकाशित गरेको थियो ।
बौद्ध झण्डा श्रीलंकाको बुद्ध धर्म पुनर्जागरणको एक अनुपम उपहार हो । त्यहाँ बढ्दै गएको ब्रिटिश साम्राज्यको दमन, बौद्धहरुमा विचलन तथा अवनति अनि विश्वका बौद्धहरुमा एकता ल्याउनको लागि श्रीलंकाको कोलोम्बो कमिटी अन्तर्गतका बौद्ध अभियन्ताहरुले यसको डिजाइन सन् १८८५ मा गरेका थिए । यसलाई एल्कोटले सुधार गरे अनि विश्वमा फैलाए । पछि सन् १९५०मा यसलाई अन्तर्राष्ट्रियकरण गरियो ।
अनागरिक धम्मपाल अर्का त्यस्ता व्यक्ति थिए जसको योगदानको उल्लेख नगरी श्रीलंकाको बौद्ध पुनर्जागरणको वर्णन पुरा हुँदैन । एल्कोटका सहयोगीका रुपमा चिनिएका धम्मपालले विभिन्न देशमा बुद्धधर्मको प्रचार गरे अनि भारतमा महाबोधी सोसाइटीको स्थापना गरी त्यहाँ पनि बुद्ध धर्मको पुनरुत्थानमा ठुलो योगदान गरे । उनको योगदान बेलायत तथा जर्मनीमा बौद्ध विहार स्थापना गराउनमा समेत थियो ।
पहिलो विश्वयुद्धको समयदेखि एकातिर विश्वका विभिन्न देशमा ब्रिटिश साम्राज्यको विरोध हुन थालेको थियो भने श्रीलंका भित्रै पनि ब्रिटिश साम्राज्यको विरोधमा गतिविधि शुरु भयो । साथै विश्वमा बुद्धधर्मको प्रचार हुँदै जाँदा आधुनिक बुद्धधर्म वा विश्वब्यापी बुद्धधर्मको अभियान चल्न थालेको थियो । यस्तो अवस्थामा बुद्ध धर्मको पुनरुत्थानले स्वतन्त्रताको आन्दोलनसँग हातेमालो गर्न पायो । श्रीलंका स्थित क्रिश्चियन मिसनरीहरुको अतिवादसँग लड्न पनि बुद्ध धर्मको पुनरुत्थानमा लागेका अभियन्ताहरु बाध्य भएका थिए । यसरी भन्दा २० शताब्दीसँगै श्रीलंकामा बौद्ध राष्ट्रवादको उदय भएको भन्न सकिन्छ ।
श्रीलंकाको स्वतन्त्रता र बुद्ध धर्म
यसैबिच सन् १९४८मा श्रीलंकाले ब्रिटिश राजबाट स्वतन्त्रता प्राप्त गर्यो । सयौं वर्षको उपनिवेशकालबाट मुक्त भएको श्रीलंकाले शान्तिको अनुभव गर्नुपर्ने थियो तर भारतमा जस्तै त्यहाँका केही अतिवादीहरुको सोच अनि एकताको अभावले गर्दा यही समय नै कलहको बीजारोपण पनि भयो । सिंहली बौद्धहरुले ऐतिहसिक रुपमा जस्तै बुद्धधर्म देशको धर्म र बौद्धहरुको भाषा सिंहल भाषाको प्रमुखता हुनुपर्ने माग राखे तर त्यतिबेला तामिल आप्रवासन र हिन्दुधर्मको प्रभाव बढिसकेको थियो त्यसैले तामिलहरुले यसको विरोध गरे । त्यस्तै त्यहाँका केही बौद्ध संस्थाहरु भिक्षुहरु पनि बदलिँदो परिस्थितिमा राजनीतिमा संलग्न भएर बुद्ध धर्मको रक्षा गर्नुपर्ने भन्ने धारणा राख्थे । फेरि त्यहाँ कोही कोही बौद्ध समाजबादको धारणा लिएर पनि अगाडि आए ।
अर्कोतिर ५०को दशकमा श्रीलंकामा भिक्षुहरु जंगलमा बसेर जीवन बिताउने परम्पराको विकास भयो । भिक्षु कडभडुल्ले जीववंश यस परम्पराका एक प्रमुख अभियन्ता थिए । सन् १९७३तिर त्यहाँ यसरी जंगलमा बस्ने भिक्षुहरु लगभग ६ हजार भएको एक अध्ययनले देखाएको थियो ।
अचम्म पनि लाग्छ कि शान्ति र क्षान्तिका कुरा गर्ने बौद्धहरु ५०को दशकदेखिको घटनाक्रममा आफुलाई सशक्त र प्रतिकारी ढंगले प्रस्तुत गर्न थालेको भेटिन्छ । निकै लामो समयसम्म हिन्दु तथा क्रिश्चियनहरु र पछि मुस्लिमहरुको दमन र अत्याचार भोग्नु परेर होला, मुक्त वातावरण पाउने बितिक्कै केही बौद्धहरु आफुलाई शत्रुहरुका बिच असुरक्षित ठानेर केही प्रतिकारात्मक नीतिमा गएको पाइन्छ । मुख्यधारको बुद्ध शिक्षाले शान्तिको मार्ग अपनाउन जोड दिएपनि र हिंसाउन्मुख भएकालाई संघबाट निकाल्ने जस्तो नियम बनाएपनि कोही कोही असहिष्णु र विद्रोही स्वभावका भएको त्यहाँको केही घटनाहरुले देखाउँछ । उनीहरुले यसो गर्नका लागि ग्रन्थहरुमा उल्लेख भएजस्तो बुद्धधर्मको रक्षार्थ शत्रु नाश गर्नुपर्छ भन्ने नीति लिएको देखिन्छ । यसै प्रसंगमा सन् १९५९मा भिक्षु ताल्डुवे सोमारामाले श्रीलंकाका चौथो प्रधानमन्त्री सोलोमन बन्डारानायकेलाई हत्या गरेको दुखद घटना उल्लेख गर्नुपर्ने हुन्छ (उनलाई पछि मृत्युदण्ड दिइएको थियो )। जुनसुकै तर्क लिएपनि प्रतिकार नै गर्नुपर्ने अवस्था आएपनि बौद्धहरुले हिंसाको बाटो अपनाएको सही हुन सक्दैन ।
राजनीतिक बहुमतको आधारमा सिंहल भाषाले प्रमुखता पायो र पछि क्याथोलिक अल्पमतमाथि नियन्त्रण शुरु गरे । उता बौद्धहरुको सरकारमा प्रभुत्व बढ्दै जाँदा प्राचिन स्मारकहरुको जीर्णोद्धार जस्ता कार्यहरुको थालनी पनि भयो । सन् १९७२मा नयाँ संविधानमा बुद्ध धर्मलाई उच्चस्थान दिइयो । यस्तो अवस्थामा हिन्दु तामिलहरुले पृथकतावादी आन्दोलन शुरु गरे र तामिल टाइगर्सको नामबाट आतंकावादी अभियान नै थाले । यसको फलस्वरुप कुनै बेला गौरवका साथ धम्मद्वीप कहलिएको श्रीलंका २५वर्ष लामो गृहयुद्धमा फस्नुपर्यो ।
देशको जातीय विविधतालाई सही ढंगले व्यवस्थापन गर्नु नसक्नाले सन् १९८३देखि शुरु भएको यो द्वन्द्वमा हिन्दुहरुको तामिल टाइगर्सले पटक पटक बौद्ध विहारहरु तथा भिक्षुहरुमाथि आक्रमण गरे । त्यसमध्ये सन् १९८४मा अनुराधापुरमा श्री महाबोधीमा गरिएको आक्रमण तथा सन् १९९८मा दन्तधातु मन्दिरमा गरिएको आक्रमण प्रमुख हुन् । त्यस्तै सन् १९८५मा तमिल टाइगर्सले अनुराधापुरमा १५० बौद्धतीर्थयात्रीहरुको आमहत्या गरे । अझ सन् १९८७मा अरन्थलवामा ३३जना किशोर भिक्षुहरुको आमहत्या त सदैव नै निन्दनीय रहनेखालको छ । सन् २००९मा यस गृहयुद्धको अन्त हुँदासम्ममा लगभग ८० हजार देखि एक लाख मानिसको ज्यान गएको अन्दाज गरिएको छ ।
२५वर्ष लामो सशस्त्र युद्धको क्षतिको विवरण दिन जति कठिन छ त्यो भन्दा कठिन यस युद्धको पृष्ठभूमिको बारेमा संक्षिप्तमा लेख्न कठिन छ । यद्यपि श्रीलंकाको प्राचिन बुद्ध धर्मको इतिहास, बौद्ध निकायहरुको प्रतिस्पर्धा, तामिलहरुको आप्रवासन र हिन्दुधर्मको विस्तार, भारतीय राजाहरुको राज्य विस्तार, पोर्चुगाल, डच र ब्रिटिशहरुको उपनिवेश तथा क्रिश्चियन मिसनको नाममा जबजस्ती बुद्धधर्ममाथि गरिएको अत्याचार र यसैको फलस्वरुप झाँगिँदै गएको बौद्ध राष्ट्रवादलाई केही मुलतत्वको रुपमा केलाउन सकिन्छ ।
तर पनि श्रीलंकालीहरुमाथि फुटाउ र राज गर भन्ने विदेशी शक्तिहरुको दृष्य अदृष्य शक्तिहरुको भूमिकालाई पनि अनदेखा गर्न सकिन्न । जस्तै भारतको भूमिका विद्रोहीलाई सघाउन र शान्ति कायम गराउन दुबैतिर देखियो । हुन त अधिकांश बौद्धहरु शान्तिकामी नै थिए तर त्यसमध्ये जाथिक हेला उरुमाया तथा बोडु बल सेना त्यस्ता बौद्ध राष्ट्रवादी संगठनहरु थिए जो तामिल तथा मुस्लिमलाई बुद्ध धर्मको रुपमा शत्रु देख्थे (उनीहरु आफुलाई साथ नदिने नरमपन्थी बौद्धहरुलाई समेत शत्रु समान व्यवहार गर्थे) ।
युद्धको अन्त पछि पनि श्रीलंका शान्त छैन । यसै कारणले सन् २०१४मा दक्षिण श्रीलंकामा मुस्लिम विरुद्ध हिंसा भड्किएको थियो । फेरि २०१९मा इस्लामी आतंवादीहरुले तीनवटा चर्चमा विष्फोट गराए । भनेपछि अहिले पनि श्रीलंकाले शान्तिको जीवन बाँच्न पाउने आशा झिनो नै छ भनेर बुझ्नुपर्ने अवस्था छ ।
अहिलेको श्रीलंकाको कुरा गर्नुपर्दा यहाँको संकटले अर्को रुप लिएको छ । कुनै बेला आप्रवासन शत्रु थियो, त्यसपछि उपनिवेश शत्रु भयो, गृह युद्ध शत्रु भयो । अब त शान्ति छायो, प्रगति गर्छ भनेर भनिरहेको बेलामा श्रीलंका गहिरो आर्थिक संकटमा छ भन्ने समाचार पढ्नुपर्यो । विदेशी ऋण तिर्न नसक्ने र जनताका आधारभूत आवश्यकता पनि पुरा गर्न नसक्ने अवस्थामा एउटा सभ्य र सम्पन्न देश पुग्यो । आखिर यो किन र कसरी भयो त?
संक्षिप्तमा भन्दा युद्धपछिको समयमा पुनर्निर्माणका नाममा श्रीलंकामा धेरै अनुदान र ऋण आयो । दीर्घकालीन नीति बनाएर देशको आर्थिक अवस्था मजबुत पान भन्दा पनि प्रचारमुखी र आफुलाई सजिलो हुने काम गर्न सत्तामा बसेका मानिसहरुको बानी पर्यो । अर्थतन्त्रका नियममा भन्दा अपारदर्शी, मनलाग्दो र बदलिरहने नियमले देशमा कृषिलाई र उत्पादनलाई प्रोत्साहन भएन, भएको उद्योग पनि धराशायी भयो । कसरी तिर्ने भन्ने नसोची लिएको ऋणले देशलाई गाँज्यो ।
भ्रष्टाचार श्रीलंकाको एक प्रमुृख समस्या हो (ट्रान्स्परेन्सी इन्टरनेशनलले सन् २०२१मा १८० देशहरुमा श्रीलंकालाई १०२औ स्थानमा राखेको थियो । भ्रष्टाचार, नातावाद, कोविद, पर्यटक घट्नु, आयात बढ्नु, व्यापार घाटा बढ्नु, ऋण बढ्नु तर विदेशी मुद्रा संचितीमा ह्रास आउनु नै देश टाट पल्टिनुको संकेत हो ।
बुद्धशिक्षाले सिँचिएको पुण्यभूमि, अझ धर्मद्वीप कसरी विनाश तर्फ लाग्न सक्छ ? धेरै पहिलेदेखि श्रीलंकामा सत्तामा जानेहरुले बुद्धधर्मलाई खेलौनाको रुपमा मात्र र अझ जनताको ध्यान मोड्न र उनीहरुको संवेदनशीलतामा खेलबाड गर्न मात्र प्रयोग गरे । श्रीलंकामा सत्तामा जानेहरुमा धर्मचित्त भएन, मनपरी काम गर्दै गए । धर्मको वकालात गर्नेहरु नै शीलमा बसिदिएन भने समाजले दुःख भोग्नुपर्छ ( त्यसैले पनि हरेक देशका नागरिकले आफ्नो देशको सरकारले के सही गलत गर्यो त्यसमा सचेत भएर निगरानी गर्ने र गलत गरेमा चेतावनी दिने जिम्मेवारी बहन गर्नु पर्दछ ) । त्यही धर्मको आडमा देशमा हौवा मचाएर, डर त्रास देखाएर विधर्मीहरुका माझ धर्मरक्षा गरिरहेको जस्तो देखाउनेहरुले सत्तामा जाने भर्याङको रुपमा धर्मलाई प्रयोग गर्नेले न धर्म बचाए, न देश ।
श्रीलंकाबाट नेपालले सिक्नुपर्ने पाठ
श्रीलंकाको बुद्धधर्मको संक्षिप्त इतिहास नेपालका लागि धेरै किसिमबाट शिक्षाप्रद छ । हुन त सबै अनित्य हुन्छ भनेर बुझिसकेपछि श्रीलंकाको बुद्धधर्ममाथि इतिहासमा आएको ह्रास वा संकटलाई स्वभाविक रुपमा लिन सकिन्छ तर पनि श्रीलंकाको इतिहासमा बुद्धधर्ममाथि आएको संकट सबैका लागि शिक्षाप्रद छ । भगवान बुद्धले नै सफल राजकाज चलाउनेले के गर्नुपर्छ के गर्नु हुँदैन भनेर विभिन्न सुत्रहरुमा ब्याख्या गर्नुभएको पाइन्छ । तर सत्ताको स्वाद पाउनेहरुले ती कुरा बिर्सिने रहेछ । त्यसकारण नेपालले पनि यी कुराहरु श्रीलंकाको अवस्थाबाट निम्न कुराहरु सिक्न सक्छ —
१. बौद्धहरुमा धार्मिक विचलन एवं आपसी द्वेष दीर्घकालीन रुपमा खतरनाक हु्न्छ
२. देश चलाउनुपर्ने राजाहरु आपसमा लडिरहेमा विदेशी शक्तिले उपनिवेश बनाउँछ
३. अन्य समुदायको, जातिको, धर्मको थिचोमिचो सहेर बसिरह्यो भने आफनो अस्तीत्व संकटमा पर्छ (यसको अर्थ हिंसात्मक प्रतिकार गर्नुपर्छ भन्ने नलागोस्) ।
४. छिमेकी देशबाट हुने आप्रवासन समयमै नियन्त्रण गर्न सकेन भने घातक हुनसक्छ
५. मेरो जाति, धर्म र भाषा मात्र सर्वश्रेष्ठ भन्ने दम्भले आफैलाई हानी गर्छ । सहअस्तित्व र समानतामा विश्वास राख्नसक्नुपर्छ ।
६.सानो भाषिक वा धार्मिक समुहलाई बहिष्करणमा पार्नु भनेको उनीहरुलाई विद्रोह गर्न उक्साउनु सरह हो ।
६. युद्धको अन्य युद्धबाट हुनसक्दैन । यसको घाउ चाँडै निको हुँदैन ।
Published in Anandabhoomi 20220516