Thursday, September 14, 2017

पुरातात्त्विक अवशेषलाई फोहोर सरह नफालियोस्


भूकम्पबाट भत्किएका काठमाडौंका पुरातात्विक महत्त्वका सम्पदाका अधिकांश भग्नावशेष काठमाडौँको टुँडिखेलमा लगेर थुपारिएकोमा ती पुरातात्त्विक महत्वका अवशेषलाई फोहोर फाले जसरी बिनारेखदेख मिल्काउन लागिएको भन्ने थाहा पाएपछि हामीले काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका तर्फबाट हिजो मिति २०७४/०५/२८ को दिन टुँडिखेलमा हाल रहेका पुरातात्त्विक अवशेषको व्यवस्थापन कार्यको अवलोकन गरेका थियौँ | उक्त स्थानमा रहेका अमूल्य तथा महत्त्वपूर्ण पुरातात्विक वस्तुहरु नष्ट हुने गरी हेलचेक्य्राइँपूर्ण र अनुत्तरदायी कार्य भइराखेको देख्दा हामी सम्पदा प्रेमी मर्माहित र स्तब्ध भएका छौं | यहाँ थुपारिएका वस्तुमा काठमाडौँ सहरका महत्त्वपूर्ण पुरातात्विक सम्पदाका अवशेषमध्ये अधिकांश सामग्री पुननिर्माणका क्रममा पुनः प्रयोग गर्न सकिन्छ भन्ने हाम्रो ठम्याइ छ | अगिल्लो दिन हामीले देखेको ढुंगाको ‘ई लोहँ’ (saddle stone) भोलिपल्ट नदेखिएको हुँदा अरु महत्त्वपूर्ण वस्तुहरू पनि हराउने वा नास हुने शंकाले हामीलाई चिन्तित बनाएको छ |

स्थलगत भ्रमणबाट प्राप्त जानकारीअनुसार नेपाल सेनाका जवानहरुले डोजर र ठूला ट्रकको प्रयोग तथा प्रशिक्षणका लागि पुरातात्विक अवशेषहरूको प्रयोग गरेको पाएका छौं भने अर्को जानकारीअनुसार काठमाडौँ महानगरपालिकाको अनुरोधमा नेपाल सेनाले पुरातात्विक अवशेषलाई फोहर बनाई अन्य ठाउँमा फाल्न लागेको पायौँ | पुनः प्रयोग गर्न मिल्ने पुरातात्त्विक अवशेषलाई छानेर अलग राखी बाँकी सामग्रीमात्र अन्य ठाउँमा फाल्न लग्न अनुरोध गर्दा नेपाल सेना र पुरातत्व विभाग दुवैले मानव संसाधनको कमी भएकोले कार्यव्यवस्थापन गर्न नसकेको भन्ने ठाडो जवाफ दिए | मानव संसाधनको कमी भएको हो भने हामी सहयोग गर्न तयार र तत्पर छौं भनी अवगत गराउँदा कुनै किसिमको सकारात्मक जवाफ पाएनौ |

भूकम्पको बेला सहयोग गरी ख्याति कमाएको नेपाल सेनाले समेत पुरातात्त्विक अवशेषलाई प्रशिक्षणको सामान अथवा फोहोर ठानेको देख्दा चिन्तित भएका छौँ | यस्तो सोचबाट नेपाली सेनाले देशका तमाम धरोहरको सुरक्षा गर्न भन्ने जनविश्वासमा धक्का लाग्छ | यस्तो कार्य हुँदासमेत धेरै पटकको आग्रह पछि एक जना कर्मचारीमात्र खटाएर पुरातत्व विभागले पुरातात्त्विक अवशेषको संरक्षण कायलाई उपेक्षा गरेको ठानेका छौं | पुरातात्त्विक वस्तु तथा अवशेषको संरक्षण गर्नुपर्ने काठमाडौँ महानगरपालिका पनि आफ्नो कर्तव्यप्रति सजग भएको देखिएन ।

टुँडिखेलमा थुपारिएका पुरातात्त्विक अवशेषको उचित व्यवस्थापन गर्न सम्बन्धित सम्पूर्ण सरकारी तथा अन्य निकायहरूको पुनः ध्यानाकर्षण गर्दछौं | साथै टुँडिखेलमा अवस्थित पुरातात्त्विक अवशेषको थुप्रोमा हामीले देखेका ढुंगाको ‘ई लोहँ’ (saddle stone), सिंह तथा अन्य सामग्रीको हालको अवस्था र राखिएको स्थानको जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्छौँ | पुरातात्त्विक अवशेषको उचित व्यवस्थापन गर्न कुनै किसिमको सहयोग चाहिएमा यस अभियान सहकार्य गर्न सदैव तयार र तत्पर छ |

हामी सहकार्यको पुनः आह्वान गर्दै सरोकारवाला सबैलाई भन्न चाहन्छौँ - पुरातात्त्विक वस्तु तथा अवशेषको रेखदेखमा सम्बन्धित निकायले हेलचेक्र्याइँ गरेमा पुरातत्वप्रेमी काठमाडौँवासी प्रतिवाद गर्न बाध्य हुनेछौँ |

पुरातात्त्विक अवशेषलाई फोहोर सरह नफालियोस् | धन्यवाद |
वीरेन्द्रभक्त श्रेष्ठ
अध्यक्ष
काष्ठमण्डप पुननिर्माणका लागि अभियान

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...