Sunday, April 9, 2017

170409 नेवारभित्रका दलितहरु



राजेन मानन्धर


कति राम्रो सुनिन्छ जब नेवार संस्कृतिविद्हरु अनि साहित्यकारहरु समेत अविरल भनिरहन्छ — नेवार भनेको यस्तो जाति हो जसमा वर्णभेद छैन, ठुलो सानोको सवाल छैन, सबैको आआफ्नो पेशा छ अनि त्यही पेशा अनुसार उनीहरुको वर्गीकरण मात्र गरिएको छ भनेर भन्दा । यो त बुद्धले भनेको जस्तो समाज भयो, माक्र्सले बताएको जस्तो राज्य भयो ।


तर यथार्थको आँखाबाट हेर्यो भने देखिन्छ संसारको कुनै पनि देश, राज्य वा गाउँ समेत पनि ठुलो सानोको विभेदबाट मुक्त छैन । सर टमस मुरको युटोपिया साँच्चै हुने भए त्यहाँ कस्तो हुन्थ्यो थाहा छैन तर आज साम्यवादी भनेर भन्ने देशमा पनि यो भेद व्याप्त छ भन्ने सुनिन्छ । यो वर्ण, जातको जंजाल विभिन्न रुपमा विभिन्न भेषमा जहाँतहीँ छ, हुन्छ नै । यसमा पनि हामीले नेवारहरुको समाजमा यो वर्णभेद अनि अछुत भनिनेहरु छैन भनेर भन्दै आइरहेका छौं — यो नेवारहरुलाई जनजाति मान्ने मौलिक र सैद्धान्तिक रुपबाट हेर्दा गलतसम्म होइन । तर मानवीय स्वभाव हो, जान्नेहरुले र भएकाहरुले आफुलाई ठुलो भनेर नभएकाहरु र नजानेकाहरुलाई सानो भन्ने रहर बोकेका हुन्छन् । शायद त्यसैले नै होला १४औं शताब्दीका राजा जयस्थिति मल्लले पनि भारतीय वर्णभेदी विद्वानहरु ल्याएरै यहाँ वर्णभेदको बीजारोपण गरे । अनि यो व्यवस्था राम्रो लागेरै त होला यहाँका सम्भ्रान्तहरुले यसको अन्त्य कहिल्यै चाहेन, मलजल नै दिइरहे — छ सय वर्ष पुरानो ऐतिहासिक दस्तावेजको आधारमा हामीले आज सामाजिक शासन गर्दै आइरहेका छौं — यस कुराको दोष आज हाम्रो टाउकोमा छ ।


बिरालोले फोहर लुकाएजस्तै हामीले यो कुरा जति लुकाएपनि यो लज्जास्पद सत्य विभिन्न विद्वानहरुले पत्ता लगाएकै छन् । विभिन्न विदेशी विद्वानहरुले हाम्रो व्यवहारमा छुत अछुतको भेद देखेका छन् । अझ उनीहरु नेवारभित्रको सानातिना विभेदलाई पनि ठुलो बनाए देखाइदिन मरिहत्ते गर्छन् । हुन पनि हो — आज पनि नेवारभित्र इनार छुन नदिने, घरभित्र छिर्न नदिने, छुन नहुने, भात खाइदिन नहुने, भोजमा सँगै राखेर खुवाउनु नहुने, भोजमा अलग्गै बोलाउनु पर्ने, बिहाबारी नचल्ने आदि विभिन्न किसिमका विभेदहरु देखिने नदेखिने गरी यथावत नै छ । हाम्रो ज्ञान र विद्वताले हामीलाई जति नै सभ्य बनाएतापनि आज पनि हाम्रो वरिपरी यसको घरको भात खाँदा घ्यु वा बेसार हालेको मात्र खानुहुन्छ, यसलाई घरभित्र हुल्न दिनुहुँदैन अनि यसलाई चिया ख्वाउँदा उसले आफ्नो जुठो आफै मस्काउनुपर्छ भन्ने मानसिकता अझै बाँकी छ । नेवारभित्र पनि हिन्दु त हिन्दु नै भए, बौद्ध नेवारहरु पनि छुवाछुतको व्यवहार गर्छन् भन्दा बौद्ध धर्मामलम्बीहरुलाई पत्याउन गाह्रो होला । त्यसैले नेवारहरुमा पनि दलित होलान् र ? भनेर प्रश्न गर्नु पनि बुद्धिमानी नहोला ।


आजको यो परिस्थिति र सामाजिक बनोटलाई हेरेर भन्न सकिन्छ वर्णभेद नभएको नेवार समाजमा तल्लोजात भनेर भनाइनुपर्नेहरुले आज भन्दा एकदुईसय वर्ष पहिले कति सामाजिक उत्पीडन भोग्नुपरेको थियो होला भनेर ।


आफ्नो आफ्नो पृथक पृथक धर्म संस्कृति भएर पनि एक ढिक्का भएर बसिरहेका नेवारहरुलाई यहाँका शासकहरुले विभाजित गरेर, लडाएर शासन गर्ने कोशिस आज मात्र होइन सयौं वर्षदेखि भइआएको हो । नेवारभित्रका उपाध्यायहरु र वज्राचार्यहरुलाई फुटाएको अनि वज्राचार्य र तुलाधरहरुलाई फुटाएको इत्यादि घटनाको संस्मरण यहाँ अझै बाँकी छ । आफुलाई माथिल्लो भनेर देखाउनुपर्नेहरुले नेवारहरुलाई फुटाउन सजिलो छ भन्ने बुझेकाले नै यस्तो घटना घटिरहेको छ भन्ने बोध गरे मात्र पनि यस्तो इतिहास फर्केर आउने सम्भावना कम रहन्छ ।

यसै सन्दर्भमा नेवार जाति र संस्कृतिका अभिन्न अङ्ग भएका च्यामे, पोडे, कुश्ले र खड्गी (त्यसबेला गल्तीबश कसाई भनिएकाे)लाई कुनैबेला सरकारले बनेको दलित उत्थान विधेयकमा नाम राखेपछि यहाँ एक किसिमको खैलाबैला भएको थियो । नेवार नेतृत्व र संघसंस्थासँग छलफल नगरी बाहुन क्षेत्री प्रशासक र केही दलितहरुले नै आफ्नो स्वार्थका लागि नेवारहरुलाई दलितभित्र राखे भन्ने कुरा यहाँ चलेको थियो ।


त्यसपछि केही ढिलो भएपनि नेवारहरु दलित हुनसक्छ कि सक्दैन भन्ने चर्चा परिचर्चा हुनथाल्यो । आफ्नो परिचय खोज्न इतिहास र वर्तमानमा अध्ययन अनुसन्धान गरेर सत्य तथ्य अगाडि राख्ने काम सँधै सराहनीय हुन्छ । तर यहाँ आश्चर्यजनक कुरा के हुन्छ भने आफ्नै थरको परिचय खोज्न आफ्नो अस्तित्वको सही परिभाषा दिने मामलामा नेवार विद्वानहरु र नेवार नेताहरु कन्जुस भइरहको पाइन्छ । यसबाटै स्पष्ट हुन्छ नेवारहरुलाई सही र असल मार्गमा लानुपर्ने नेतृत्वको मनमै पाप छ ।


यसको कारण घामजसतै छर्लङ्ग छ । हामीले नेता मानेर आएका जति पनि छन् ती सबैजसो त्यही वर्गका छन् जुन वर्ग आफुलाई आधा इन्च माथि छ भने र प्रमाणित गर्न अरुलाई दश फिट तल खसालिरहन्छन् । उनीहरुमा आफुहरु माथिल्लो जातको भन्ने दम्भ छ । अनि नेवार समाजको आदर्श नमूना भएर देखाउनुपर्ने विद्वानहरुभित्र पनि यस्तो एउटा तत्व लुकेर रहेको हुन्छ जसले उनीहरुलाई आजका मितिमा पनि ती च्यामे, पोडे, कुश्ले र कसाइका साथमा बसेर भात खाने आँट गर्दैनन् । नेवारभित्र वर्गमात्र होइन वर्ण वा जातीय छुवाछुत पनि छ भन्ने राष्ट्रिय स्तरबाट प्रमाणित भइरहँदा पनि नेवार एकताको जपना गरेर बस्नेहरुले यो कटुयथार्थलाई चिर्ने खासै प्रयास गरेको पाइँदैन ।


सुनचाँदीकै वर्षा गरेर मठमन्दिर, बनाउन सक्ने नेवारहरुभित्र आज पनि दिनभरी काम गरेर पनि दुईछाक खान नसक्नेहरु छन्, कथित जातीय पेशा संकटमा पर्दा पनि आफ्नो पेशा गरेर खाने वातावरण छैन, उनीहरु शिक्षा, स्वास्थ्य र व्यवसायको क्षेत्रमा पछाडिको पछाडि नै परिरहेका छन् । यस्तो अवस्थामा आफ्नै समाजबाट तिरष्कृत र दलित भएर बस्नुपर्नेहरुले आफ्नो सामाजिक प्रतिष्ठा फिर्ता लिनकै लागि दलित आयोगको शरण गए त उनीहरुको के दोष ? अझ पनि नेवारहरुमा दुइचारवटा थरहरु त्यतिकै अपहेलित र तिरष्कृत छन् । यो कुरा सबैलाई थाहा छ ।


यो खुशीको कुरा हो कि यस्तो विभेद सहेर पनि ती च्यामे, पोडे, कुश्ले र कसाइहरुले आफुलाई नेवार नै भनेर स्वीकार गरिरहेका छन्, आफु नेवार भएर नेवार धर्म संस्कृतिमा आफ्नो योगदान सम्झेर नै आवाज राखिरहेका छन् । यस्तो अवस्थामा नेवार समुदाय, नेवारभित्रको नागरिक समाज, संघसंस्थाहरुका अगाडि पहिले कहिल्यै नआएको एक चुनौति खडा भएको छ । शुतुरमुर्गले बालुवाभित्र टाउको लुकाउँदैमा तुफान नआउने होइन, दुइचारजनाले नेवारमा दलित छैन भन्दैमा हाम्रो सोचाइर व्यवहारमा परिवर्तन आउने होइन । अहिले हामीले छातीमा हात राखेर शुद्ध मनले भन्नुपरेको छ — हामीलाई साँच्चै आफ्नो थोत्रो अभिमान, जातको आडम्बर प्यारो छ कि सम्पूर्ण नेवारहरुको समष्टीगत विभेदरहित परिचय प्यारो छ ।


एक्काइसौं शताब्दीमा पनि हामी प्रतिस्पर्धात्मक जीवन र सामुदायिक विकासभन्दा पनि को दलित र को दलित होइन भनेर भनिरहेका छौं । गुभाजु बर्मुको अगाडि स्यस्यः दलित, स्यस्यःका अगाडि ज्यापु दलित, ज्यापुका अगाडि साय्मि दलित, साय्मिका अगाडि प्वः दलित । आखिरमा हामी सबै दलित नै हौं, सत्ता हसुर्न पाएका गैरनेवार समुदायका अगाडि । सबैको एकै समस्या, सबैले मिलेर समाधान गरेमा हीत सम्पूर्ण जातिकै हुने हो ।



अब अर्को कुरा । कसैले चाहेर पनि नचाहेर पनि स्थानीय चुनावको कुरा आइरहेछ । स्थानीय जनप्रतिनिधिहरुमा दलितको उपस्थिति अनिवार्य बनाइएको छ, जुन अत्यन्त सराहनीय छ । अहिले पनि काठमाडौं उपत्यकाका महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पनि स्थानीय व्यत्तिका साथै दलित उम्मेदवार देखिनुपर्नेहुन्छ चुनिनुपर्ने हुन्छ । अब कसरी सम्भ्रान्त नेवार नेताहरुले चुनाव लड्नका लागि अब उनै नेवार दलितहरुलाई उभ्याउँछ होला भन्ने धेरैलाई लागिरहेको अवस्था छ । स्थानीय चुनावमा स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाउनपर्ने वातावरण छ, अहिल्यै स्थानीय चुनावमा बाहिरियालाई नस्वीकार्ने खालका अभिव्यक्तिहरु सामाजिक सञ्जालहरुमा आइसकेको अवस्थामा पार्टीहरुले अब उपत्यकाका महानगरपालिकाहरुमा कमसेकम धार्मिक साँस्कृतिक र जातीय रुपमा उपेक्षित बनाइएका ती च्यामे, पोडे कुश्ले र खड्गीहरुलाई उम्मेदवार बनाइनुको विकल्प देखिँदैन । अब उनीहरु शानका साथ उम्मेदवारका रुपमा नमस्ते गर्दै हाम्रा घर दैलोमा आउनेछन्, चुनाव जितेर आएपछि हामी नमस्ते गर्दै उनीहरुका घर घरमा धाउनुपर्नेछ । यो चुनावले अलिकति भएपनि यस आफैले सिर्जेको उँचनिचको खाडल कम पार्ने संकेत पाएको छु । यस्तो हो भने यस्तो चुनाव सँधै सँधै आओस् ।


Published on www.esamata.com on 2017 04 09 


No comments: