Friday, September 23, 2016

जनता माग्दैछन् ‘एकीकरण’को इतिहास

राजेन मानन्धर

नेवारहरुको दुई तीन हजार लामो इतिहासमा ईन्द्रजात्रा त्यो दिन हो जुन दिनदेखि नेवारहरुको जातीय अभिमान, धर्म, संस्कृति, कला, वास्तुकला, दर्शनमाथि मात्रै होइनन स्वयम् नेवारहरुको अस्तित्वमाथि नै बज्रपात भयो । हेर्दाहेर्दै आफ्नो देश र सभ्यताको अपहरण भएको दिनलाई यसप्रकार सामान्य, सहज रुपले स्वीकार गर्नु मात्र होइन, सके आँखा चिम्लेर त्यस्तो होइन भनिदिनु पर्ने अवस्था कसरी आयो, हामीलाई कसले दियो ?

नुवाकोट, कीर्तिपुर आदि काठमाडौं उपत्यका र नेपाल मण्डलको राजगद्दीमा नै भएको आक्रमण उपत्यकाका सबै वैभवशाली राजाहरुलाई घुँडा टेकाएर मात्र सम्पन्न भयो । यो त्यो दिन हो, जुन दिन जात्राको रमझममा रमाएका सम्पूर्ण उपत्यकाबासीलाई जगाजग देखाएर एक जना आततायीले आफ्नो धूर्तताको बलमा नेवारहरुले अति नै माया गरेर स्यहारसुसार गरेर राखेकी आमालाई बलात्कार गरे ।
यस्तो इतिहास कतै पढ्न पाइयो ? पढाइयो ? छैन भने आजसम्म नेपालआमाले इतिहासकारहरुको नाममा चाकडीबाज, सत्तालोलुप व इमान नभएका नक्कली विद्वानहरुलाई मात्र जन्माइरहेको रहेछ भन्ने कुरा एकीकरणको सन्दर्भमा विश्लेषण गर्न सकिन्छ ।
आफूलाई मन नपरेको वस्तु नहेर्दैमा बिलाएर जाने हो भने, गन्हाएको वस्तु नाक छोप्दैमा हराएर जाने भए संसार कति सुन्दर हुन्थ्यो होला । फूलको आँखामा फूलमात्र देखिन्थ्यो होला । तर अस्ट्रिचले आफ्नो टाउको बालुवामा लुकाउँदैमा आँधीबेहरी आउन बन्द हुँदैन । मन नपर्ने, हेर्न गाह्रो व हेर्न नसकिने कुनै वस्तु छ भनेर मस्तिष्कले आँखालाई सूचना प्रवाह गर्यो भने आँखाले हेर्छ वा हेर्ने प्रयत्न गर्छ । यो नै कुनै राम्रो कामको शुरुवात हो । तर यो देशका विडम्बना भन्नुपर्छ, यहाँ यस्तो तथ्य वा इतिहास लुकेको छ भनेर भन्न यहाँका बौद्धिक व्यक्तिहरु समेत लजाइरहेको स्थिति छ ।
हुन त इतिहास भनेको नै जित्नेले लेखेको एउटा कथा मात्र हो– लेनदेन नै गर्न नमिल्ने एउटा पुरानो तमसुक कागज मात्र । तर मानिसलाई चिन्न त्यो मानिसले नै लेखिएको यस्तो दस्तावेज हो जसबाट प्रत्येक व्यक्ति, वंश व राज्यको सही तौल र आयतन पनि प्रस्ट दर्शाउँछ । यसले त्यहाँका बासिन्दालाई त्यस देशको भूतसँग साक्षात्कार गराउँछ अनि भविष्यको दिशानिर्देशन गर्दछ । यहाँ इतिहासकारहरुको धर्म भनेकै समयकालका प्रत्येक घटनालाई आग्रह पूर्वाग्रह नराखी सकेसम्म प्रमाणहरु जुटाई जस्ताको तस्तै प्रस्तुत गर्ने हो, दूधको दूध, पानीको पानी गरीदिने हो । यसबाट कस्तो शिक्षा लिने र के अनुसरण वा प्रतिरोध गर्ने भन्ने जनताले निर्णय गर्ने कुरा हो ।
संसारका दुई चार वटा घटनाको सम्झना गरौं– सन् १७८० तिर ब्रिटिस साम्राज्यले अमेरिकामा अत्याचार गर्यो, सन् १७९० तिर फ्रान्सका सम्राटले अफ्रिकी जनतामाथि अत्याचार गरे, सन् १८२० तिर ग्रिसमा टर्कीसहरुले अत्याचार गरेकै थियो, सन् १८३० मा हल्याण्डले बेल्जियमलाई दुःख दिएको थियो । दोश्रो विश्वयुद्धतिर जर्मनीमा हजारौं यहुदीको आमहत्या गरियो । जापानमा पनि सयौं चिनियाँ र कोरियन महिलालाई कम्फर्ट गर्लका नाममा अत्याचार गरियो भने अमेरिकाले जापानमा अणुबम प्रहार गरेर हजारौंको नरसंहार गर्यो । फेरि सन् १९७० तिर पनि कम्बोडियामा राजनीतिक द्वेषले हजारौं मानिसको आमहत्या भयो । हुन त यी सबै अब इतिहास मात्र हुन् । बिर्सन सकेपनि हुन्थ्यो तर त्यहाँका इतिहासकारहरुले त्यसो गरेनन्, ढाकछोप गर्ने त कुरै भएन । बरु त्यस्ता अमानवीय घटनालाई विभिन्न दृष्टिकोणबाट अध्ययन गरेर त्यसको कारण, परिणामलाई व्याख्या विशलेषण गर्छन्, अझै गरिरहेका छन् । त्यसैको फलस्वरुप त्यहाँका जनताले त्यस्ता घटनालाई एउटा पाठको रुपमा लिएर आइन्दा यस्ता घटना फेरि हुन नदिन आफूलाई तयार मात्र पारेनन्, अझ यसबाट प्रभावित मानिसहरुले नै आपसमा संगठित भएर यस्ता अतिवादी शक्तिहरुसँग लडेर संसारमा नै बलियो मानवीय विकासको उदाहरण बने ।
दुर्भाग्यको कुरा, नेपालको कथा भने अर्कै भइदियो । सामान्य जनताको भाषामा कुरा गर्दा इतिहास भनेको पहिले पहिले भएका ठूला साना, राम्रा नराम्रा, मनपर्ने मननपर्ने सबै प्रकारका घटनाको वस्तुगत विवरण हो । त्यसपछि ती घटनाको विषयमा विश्लेषण, मूल्यांकन र सिंहावलोकन इत्यादि गरिन्छ । साथै यसबाट वर्तमानलाई ती पुराना राम्रा नराम्रा दिनबाट केही सिकाइ लिने अवसर प्राप्त हुन्छ । यस्तो इतिहासको सामान्य दृष्टिकोणबाट हेर्दा २५० वर्षदेखि नेपालमा एकजना पनि इतिहासकारको जन्म नभएको अनि त्यसको सट्टा इतिहासका नाममा जनतालाई मूर्ख बनाएर आफूमाथि अन्याय गर्ने शासकहरुको तलुवा चाट्ने अवसरवादीहरुले मात्र हामीलाई पढाइरहेका थिए भनेर नभनी नहुने अवस्था छ । नत्र इतिहासको नाममा गोपाल राजवंशावली, लिच्छवि संवत्, स्थिति मल्लका नियमकानुनको नालीबेली मात्र होइन कुनचाहीँ राजा कुन देवीसँग पासा खेल्थ्यो भनेर स्वाद लिई लिई इतिहासका नाममा कथा हाल्ने इतिहासकारहरु उपत्यकाको राज्यहरण र उपनिवेशीकरणको विषयमा मौन भइरहनुलाई संयोग मात्र मान्न सकिन्न ।
उपत्यकामा पहिलो शासन गरेका भनिएका गोपाल, महिपाल, किरात, वर्मा, लिच्छवि आदि राजाहरुको अन्त कसरी भयो भन्ने अझै स्पष्ट छैन । तर जहाँसम्म मल्ल वंशको अन्त्यको कुरा छ, यो त सबैलाई थाहा छ । एउटा जंगलीजस्तो अवस्थाको देशका, एक आफ्नो देशको विकास गर्न नसक्ने महत्वाकांक्षी राजाले सुनको गजुर भएको काठमाडौं उपत्यकाको राजा हुन लोभ गरे । त्यसकै परिणतिअनुसार नै यहाँका जनतालाई देवता मान्ने र जनताको सुखसयल, धर्मसंस्कृतिलाई आफ्नो मान्ने राजवंशहरुको नाश भएको थियो । अनि योसँगै आफ्नो कला, संस्कृति र सभ्यताको विकास गर्दै आएका यहाँका जनताको दुर्दिन सुरु भएको थियो । संविधानसभाको नाममा सात प्रदेश थोपरुन्जेलसम्म एक जाति वा समुदायले यहाँका आदिवासीमाथि सभ्य र असभ्य तरिकाले मनमानी गर्ने क्रम निरन्तर जारी नै छ ।
एकीकरणबारे आजसम्म जति पनि लेखिएका छन्, ती अधिकांश पुस्तकमा एकमत भएर फिरंगीहरुको साम्राज्यवादी नीतिबाट भएको खतराबाट उपत्यका र अन्य ठाउँलाई मुक्त पारिएको बखान नै पाइन्छ । त्यस्तो खतराबीच आफ्ना गुरु गोरखनाथको दही खाएर विद्वान, शक्तिशाली र दूरदर्शी राजा पृथ्वीनारायण शाहले यहाँका जनताको इच्छा मुताबिक काठमाडौं उपत्यकाको “एकीकरण” गरे अनि आधुनिक नेपालको निर्माण गरे भनेरै इतिहासका नाममा लेखिएको पाइन्छ । अझ ती इतिहासहरुले यस उपत्यकाका राजाहरु नै अयोग्य, अक्षम भएकाले पृथ्वीनारायणलाई यहाँका जनताले आफै बोलाएको पनि भन्न भ्याए । पत्याउन सकिन्छ ?
खसआर्य समुदायका अधिकांश व्यक्तिहरु त कथित एकीकरणमा गर्व गर्ने नै भए, नेवार विद्वानहरुले समेत यसमा भएको सत्यको उद्घाटन गरेनन् । यही समस्या नेपालका अन्य जनजाति इतिहासकारहरुमा पनि छ । कुरा घामजस्तै छर्लङ्ग छ– उनीहरु त्यसबेलाका राजावादीहरुका नजरमा दरबारिया वा “राष्ट्रवादी” कहलाएर बेलामौकामा बाँडिने मानपदवीको लोभमा अड्केका थिए । त्यस्तै, कतै भाइस चान्सलर, डाइरेक्टर, महानिर्देशक वा प्राज्ञको कोसेली पाइएकोमा त्यसको ब्याज तिर्दैछन् वा त्यस्तो कुनै पद पाइएला कि भनेर ढुकेर बसेका छन् । त्यति पनि होइन भने यस्तो तीतो सत्यलाई उजागर गरिदिए अहिलेका शासक रिसाउलान् र कुनै सजायका भागिदार बन्नुपर्ला भनेर डराइरहेका छन् ।
इतिहासबारे केही प्रश्न बच्चा बच्चाको दिमागमा घुमिरहेका छन्— के दुई चार दिनको युद्ध गरेर एउटा वंशले आफूले रगत पसिना गरेर बनाएको वैभवशाली देश केही असभ्य देशका कथित राजाका हातमा सुम्पेर दासता स्वीकारे होला ? जित्ने कसरी जित्यो होला, हार्ने कसरी हार्यो होला ? कोहीचाहिँ पण्डित्याइँ देखाउन छाता र जुत्ताको कथा गुँथ्दै बस्छ अनि लाटा सबै जनता पत्याएर थपडी मारेर बस्छ ?
आजसम्म इतिहासकार भन्नेहरुले इतिहासको नाममा राजा वा राजाखलकका राम्रो पक्ष मात्र उजागर गरेर नराम्रो कामबारे सूचना लुकाएर वा तोडमरोड गरेर भजन वा जयजयकार मात्रै गरिरहेको कसैबाट छिपेको छैन । यस्तो भजनले उनीहरुलाई आशिर्वाद वा शीरपोष त दियो होला, जनता भने सँधै लुटिएका छन् । तिमीहरु कस्ता काँतर राजाका प्रजा अनि तिम्रा पुर्खाले त्यति असभ्य राजालाई पनि थर्काउन सकेनन् भन्ने जस्ता व्यङ्यवाण सहनुपरिरहेको छ । न्याय त हुनु पर्यो नि, त्यसका लागि छानबिन पनि नहुने ?
त्यसैले २१औं शताब्दीका इतिहासकारलाई जनताको माग छ– ईन्द्रजात्राको त्यो अँध्यारो रातमा कसरी ती आततायी राजाले यहाँका दुईचार जना राजद्रोही व धोखेबाज भारदारको साथ लिएर आक्रमण गर्न सके ? के त्यसबेला राजाको नून खाएका अरु कोही इमानदार उपत्यकाका दरबारमा थिएनन् ? कसले गढपर्खालका ढोका कसरी खोले ? कति लडाइँ भयो, कुन कुन ठाउँमा लडाइँ भयो, कस्ता हतियारले कसरी छातीमा रोपिए, घाँटी सेरिए वा कस्ता बन्दुकले गोली पड्काइए । लासका डंगुर बने होलान्, ती जलाइए कि बगाइए, कि खाल्डा खनेर पुरिए ? जित्नेले कति सेना लिएर आएका होलान् ? सिंगै काठमाडौं जित्नलाई पुग्नेगरी सैनिक राख्न सक्थे उनी ? उनको राज्यको आयश्रोत नै कति थियो ? कस्ता हतियार कहाँबाट लिएर आएका होलान् ? कसरी मारकाट गरे होलान् ? अनि हार्नेका कति सैनिक थिए होला ? उनीहरु हातमा दही जमाएर बसेका थिए ? कति रगत बग्यो होला ? लास कहाँ गए होलान् ?
सुनको गजुरको कुरा गर्ने इतिहासकारहरु मल्ल वंशको सैन्यविज्ञान र हातहतियारबारे किन बोल्दैनन् ? के काठमाडौंका जनताले प्रतिकारै नगरेका होलान् त ? कीर्तिपुरमा नाककान काटिएको थिएन भनेर टेबुल थर्काउने इतिहासकारहरुले काठमाडौं, ललितपुर र भक्तपुरमा कथित विजय प्राप्त गरिसकेपछि यहाँका युद्धबन्दीलाई कस्तो यातना दिइयो भनेर कहिले भन्ने ? अनि त्यसबेलाका राष्ट्रप्रेमी जनताहरुले के हेरेर बसे ? उनीहरुले कुनै प्रतिक्रिया जनाएनन् ? त्यसबापत कसलाई कस्तो सजायँ भयो ? यो उपत्यकामा पनि कसैले कहिल्यै लखन थापाले जस्तो विद्रोह गरे कि गरेनन् ? उनीहरुलाई कस्तो सजाय दिइयो ? कोही सहिद भए ? जितिलिएपछि यहाँका धोखेवाज भारदारहरुलाई के गरियो ? कि एकै घरमा बोलाएर जिउँदै जलाएर इतिहास नष्ट गरियो ? यस्ता कथित एकीकरणसँग सम्बद्ध प्रश्नको जवाफ जनताले खोज्दैछन् जुन उनिहरुको जातीय अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्छन् ।
हुनसक्छ, यस्तो निर्भीक, निडर सत्य इतिहास देशमा शाहवंशको झण्डा ठडिरहँदा स्कुल क्याम्पसका विद्यार्थीहरुले पढ्न पाएनन् । तर देशमा गणतन्त्र आएको एक दशकमा पनि यो अँध्यारो इतिहासमाथि किन पर्दा ? यो इतिहास जब खुल्छ, त्यो यहाँका हरेक नागरिकका लागि ऐनाजस्तै हुने छ– आफ्नो विगत र त्यसको प्रतिविम्बजस्तै जति धोए पनि नपखालिने खिया लागेको वर्तमान हेर्नका निमित्त । आफूप्रति गरिएको धोखा, अन्याय, अत्याचार र दमनको इतिहास बुझेपछि यहाँका जनता मात्र अबको बाटो कुन हो भनेर पहिल्याउन सक्षम हुन्छन् । अनि यस्तो इतिहास विश्वसामु उजागर गर्न पाएमात्र विश्वले नेपाल २५० वर्ष कस्ता शासकहरुको कब्जामा थियो र कुनै बेला एसियाकै सम्पन्न देश आज कसरी जति ऋण अनुदान खन्याए पनि विकासमा अगाडि परेन भन्ने सबैलाई बुझ्न सजिलो हुन्छ ।
- See more at: http://esamata.com/insight/20160923h/#sthash.XmIUETTl.SxoqXpj4.dpuf

No comments: