Tuesday, March 29, 2016

20160330 ज्ञानेन्द्रझैं किन सुटुक्क मन्दिर धाउँदैछन् शेरबहादुर ?

ज्ञानेन्द्रझैं किन सुटुक्क मन्दिर धाउँदैछन् शेरबहादुर ?

प्रधानमन्त्री हुने हो भने सुदूरपश्चिमका छाउपडीहरुलाई ढोग, धर्मनिरपेक्षता मान्छौ भने धार्मिक राजनीति छाड
ज्ञानेन्द्रझैं किन सुटुक्क मन्दिर धाउँदैछन् शेरबहादुर ?

समय बदलिरहेको छ, जनता आधुनिक हुन चाहन्छन्, धर्म र राज्यलाई अलग बनाउन चाहन्छन् । तर राज्यलाई धर्मनिरपेक्ष बनाउँछौं भनेर संविधानसभामा पुगेकाहरु आफ्नो राजनीतिक हैसियत र धर्मलाई फेरि मुछ्न तल्लीन भेटिन्छन् । अनि आफ्नो स्वार्थ सिद्ध भएपछि पानी पर्दा रंगमा डुबेका फ्याउराहरु पखालिएजस्तै पखालिएर नंगानाच नाच्न हतारिन्छन्, जनताका बीच कसम खाएका नेपाली राजनीतिका पात्र–पात्रीहरु । यस्तै भयो अहिले ।
अस्ति भरखर महाधिवेशनले सभापति बनाइएका शेरबहादुर देउवालाई कार्यकर्ताको बधाइ टिप्न भ्याई नभ्याई भइरहेकै बेला जीवित देवी कुमारीका साथै अरु बेला कसैलाई जान नदिइने नेवार धर्म, संस्कृति र इतिहासको धरोहर तलेजु मन्दिरमा तामझामका साथ भाकल पूजाको सवारी चलाउन रहर भयो । सायद हिन्दुहरु धर्मविनाको राजनीति गर्न सक्दैनन् भन्ने पनि देखाउनु परेको थियो उनलाई ।
साँच्चै प्रधानमन्त्री खानु छ भने बाउबाजेले नढोगेको तलेजुमा बेला न कुबेला ढोग्न नजानू, जाने भए आफ्नै सुदूरपश्चिमका गाउँठाउँमा २१औं शताब्दीमा पनि बहिनी–छोरीहरुलाई उनीहरु महिनैपिच्छे बस्नुपरेका छाउपडीहरुमा गएर ढोग्नू । उनीहरुको आशिष लाग्छ, मनकामना अवश्य पूरा हुन्छ ।
यहाँ दुइटा कुरा मुछियो— पहिलो शेरबहादुर देउवाले किन त्यहाँ जानलाई मरिहत्ते गरे भन्ने र दोश्रो, उनलाई त्यहाँ अरुलाई जानबाट रोक्ने सुरक्षा निकायले किन रोकेन भन्ने । वर्तमान नेपालको राजनीतिमा धर्म मिसाउन चाहनेहरु र धर्मलाई देखाएर राजनीति गर्न खोज्नेहरुको बदनियत यहाँ छताछुल्ल भएको छ । आफूलाई राजनीतिक प्राणी हो भन्नेहरु, देशमा गणतन्त्र आएको हो भन्ठान्नेहरु र धर्मको राजनीति गर्नुहुन्न भनेर अलाप्ने बुद्धिजीवीहरुको आँखा खोल्न ‘हिन्दू’ पूर्वप्रधानमन्त्री शेरबहादुरको यो बालहठ वा भनूँ राजहठले मद्दत गर्नेछ भन्ने लागेको छ ।
मनमोहन अधिकारीको शारीरिक विवशतामा टुपिएका देउवाले कहाँ कति ‘राजनीति’ गरेर आफ्नो हैसियत बनाए भन्ने कुरा काठमाडौंले नजानेको होइन । सत्तामा जान, सत्ता टिकाउन र अविश्वासको प्रस्तावबाट उम्कन उनी केसम्म गर्न सक्छन् भनेर जनतालाई थाहा छ । अनि जनयुद्धमा देशलाई होमेर नपुगेर जनताको सार्वभौम आफ्ना राजाको पाउमा चढाउने को थिए भनेर जनताले बुझेको छ । त्यसैले राजनीति गर्नेको घटियाभन्दा घटिया काइदालाई ‘शेरबहादुर गर्ने’ भन्छन् यहाँ ।
आज जनताका घर भूकम्पमा भत्किएर, दाउरामा भात पकाउने र सरकारले कालो बजारी गरेर तेल बेच्दै गरेको अवस्थामा देउवा केही नजानेको जस्तो सुटुक्क मन्दिर धाउँदैछन्, ठ्याक्कै उनका न्याय दिने राजा ज्ञानेन्द्रले जस्तै । संजोग नै भनौं एकजना ‘हिन्दू’ राष्ट्रपति हुने बित्तिकै पशुपतिमा पूजा गर्ने, अर्को ‘हिन्दू’ सभापति हुने बित्तिकै तलेजुमा पूजा गर्ने ! उनी सके यहाँ धर्म गर्न आएको भन्दा हुन्, काठमाडौं नहाँसी बस्न सक्दैन ।
काठमाडौं उपत्यका पृथ्वीनाराण शाहले जितिलिनुअगाडि यहाँका सम्पन्न सुसंस्कृत जनताले बनाएका यी धरोहरले कुनै भेदभाव गरेका छैनन् । थारुहरुलाई रौं पनि नदिनेहरुलाई हामी सिङ्गै तलेजु मन्दिर दिन्छौं तर लिन मात्र जानेका, दिन नजानेकाहरुले याद राखून्, यी मन्दिरहरु यहाँका आदिवासीहरुका आस्थाका केन्द्रहरु हुन्, त्यहाँ राजनीतिको हावा मात्र लागे पनि यहाँका जनताले छाड्ने छैनन् । त्यो कसैको टाइमपास गर्ने, राजनीति गर्ने वा काम न काज हुलेर कालो जुत्ताको दाग लगाउने ठाउँ होइन । तलेजुको मन्दिर न राप्रपाका मन्त्रीहरुलाई उपचार गराउने बैंककको अस्पताल हो, न यो पाजेरो गाडीको सोरुम हो ।
आज जनताका घर भूकम्पमा भत्किएर, दाउरामा भात पकाउने र सरकारले कालो बजारी गरेर तेल बेच्दै गरेको अवस्थामा देउवा केही नजानेको जस्तो सुटुक्क मन्दिर धाउँदैछन, ठ्याक्कै उनका न्याय दिने ज्ञानेन्द्रले जस्तो ।
उपत्यकाका आदिवासी नेवारहरु अब आफ्ना बाजे बराजुले बनाएका मन्दिरमा जानलाई सेनाका जवानहरुको निगाह चाहिन्छ । उनले कसैको अनुमति लिनु नपर्ने किन ? के अहिले पनि षड्यन्त्रकारी राणाजीको शासन छ र उनीहरुलाई जहाँ जहिले जे गर्न मन लाग्यो त्यही गर्ने अनि त्यसमा जनताले किन भनेर पनि सोध्न नमिल्ने ?
देउवालाई अहिले अचानक तलेजुकै दर्शन गर्ने ह्वीम कहाँबाट उब्जियो ? काठमाडौं आएपछि कतिपल्ट आफूले आस्था राखेका तलेजुको दर्शन ५ घण्टा लाइन बसेर दर्शन गर्न गएको थियो भनेर काठमाडौं सोध्दैछ । जवाफ छ भने शेरबहादुरले देऊन् । उनले कसको सल्लाह, चाकरी वा लहलहैमा बिनाकारण बेमौसम कुन हैसियतको सुविधामा टेकेर अरु जनता जान नपाइने मन्दिरमा बिनसित्तै यस कारण छिरे भनेर जवाफ दिनु आवश्यक छ । जनताको छोरा हुन् भने उनले अवश्य जवाफ दिन्छन्, होइनन् भने दिन सक्दैनन् र दिँदैनन् ।
razen-manandhar
लेखक राजेन मानन्धर
कुरा देउवाको मात्र पनि भएन । हिन्दू चाड दशैंको नवमीका एक दिनसमेत पनि त्यहाँ बस्ने सैनिकहरुले भनेजस्तो लाइन बस्दा पनि ‘त्यहाँ नजा, त्यो नछोऊ, त्यहाँ फोटो नखिच, त्यहाँ नबस’ भनेर अराइपराइमा धर्म गर्न यहाँका जनतालाई बाध्य बनाइन्छ । मन्दिरको स्थापनाकालदेखि तलेजुमा अखण्ड बत्ती बाल्न तेल राख्ने विशेषाधिकार पाएका मानन्धरहरुले पनि परम्परा धान्ने नाममा  त्यहाँ चौकिदारी गर्ने सेनाको हप्कीदप्की महिनैपिच्छे खानुपर्छ । तर अचानक एक मुसाफिर त्यहाँ दलबलसहित घुस्दा पनि यहाँको सुरक्षा टोलीले कसको आदेशमा उनलाई स्वागत गर्छ ? न जनताले हामी अरु बेला किन जान नपाइने भनेर सोध्न सक्छन्, न हरेक पर्यटकसँग एक हजार लिने काठमाडौं महानगर हनुमानढोका कार्यालयले स्पष्टीकरण दिन आवश्यक ठान्छ ।
विश्व सम्पदाको सूचीमा रहेको धार्मिक मन्दिर स्थानीय सरकारको नाम जप्दै नेताहरुका चाकडी गर्ने महानगरपालिका जनताको कठघरामा परेको छ । कहाँबाट बन्यो यो विशेष मन्दिरमा जसलाई पायो त्यसलाई जुनबेला मन लाग्यो त्यो बेला हुल्न दिने नियम ? यसमा ककसको मिलिभगत हो, कसले कति पैसा खाएर ढोका खोल्यो वा कसले कहाँबाट आदेश पाएर उनलाई जान दियो भनेर सोध्ने कि नसोध्ने ? राजतन्त्रमा राजाले मात्र पाउने सुविधा अब सयभन्दा बढी पार्टीका सभापतिहरुले पनि पाउँदैछन् ? जनता जवाफ माग्दैछन् ।
संजोग नै भनौं एकजना ‘हिन्दू’ राष्ट्रपति हुने बित्तिकै पशुपतिमा पूजा गर्ने, अर्को ‘हिन्दू’ सभापति हुने बित्तिकै तलेजुमा पूजा गर्ने ! उनी सके यहाँ धर्म गर्न आएको भन्दा हुन्, काठमाडौं नहाँसी बस्न सक्दैन ।
फोटोमा देखिएका सांसद ध्यानगोविन्द रंजीत पनि आफ्नो हैसियत यहींनेर देखाउन आइपुगे । जनप्रतिनिधि भनाउँदाहरु जनताप्रति उत्तरदायी बन्ने कि आफ्ना नेतालाई खुशी पार्ने नाममा आफू जन्मेको जमिनको परम्परामाथि खेलबाड गर्ने ? धेरै वर्षपछि उनलाई काठमाडौंले विश्वास गरेको थियो, उनैले यहाँ आफ्नो अस्सली हैसियत देखाए । अरुले नसके पनि आफूलाई जन्मजात कांग्रेसी भन्ने काठमाडौंबासीले यहाँ आफ्नो प्रतिनिधिलाई एकपल्ट सोधिदिनू : किन जनताको मन्दिर फोहर पार्न हुरीबतासै आउने गरी आफ्ना नेता छिरायौं भनेर । शरीरमा रातो रगत बग्दैन भने नसोधे हुन्छ, हामी बुझ्छौं कांग्रेसी कार्यकर्ताहरुमा आफ्ना नेताहरुलाई सोधिमाग्ने त्यो हुति हुँदैन, त्यसैले त तिनीहरु कांग्रेसी कहलाइन्छन् ।
अन्तमा एउटा सल्लाह दिनु छ देउवालाई । साँच्चै प्रधानमन्त्री खानु छ भने बाउबाजेले नढोगेको तलेजुमा बेला न कुबेला ढोग्न नजानू, जाने भए आफ्नै सुदूरपश्चिमका गाउँठाउँमा २१औं शताब्दीमा पनि बहिनी–छोरीहरुलाई उनीहरु महिनैपिच्छे बस्नुपरेका छाउपडीहरुमा गएर ढोग्नू । उनीहरुको आशिष लाग्छ, मनकामना अवश्य पूरा हुन्छ ।
http://esamata.com/2016/culture/%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%9D%E0%A5%88%E0%A4%82-%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%81%E0%A4%9F%E0%A5%81%E0%A4%95/

http://tinyurl.com/razen20160330
Published on esamata.com on 2016 30 30

No comments: