एक महिना हुन लाग्यो भारतको पश्चिम बंगाल राज्यमा त्यहाँको सरकारले बंगाली भाषा अनिवार्य गरेको विरोधमा चर्केको आन्दोलनले नयाँ नयाँ रुप लिन थालेको । नेपाल र भारत दुबै स्वतन्त्र अस्तीत्व भएका देशहरु भएकाले नेपालमा हुने आन्दोलनले भारतभित्र वा भारतमा हुने आन्दोलनले नेपालभित्र प्रभाव पर्नु आवश्यक छैन । तथापि खुला सीमाना भएका तथा दुई देशका बिच धार्मिक, साँस्कृतिक र भाषिक सम्बन्ध रहेका देशहरु भएकाले विशेष रुपमा सीमाना क्षेत्रमा हुने राजनीतिक आन्दोलनले एक पक्षले अर्को पक्षलाई प्रभाव पार्नु अस्वभाविक मान्न सकिन्न । तर अहिले उर्लिरहेको गोर्खाल्याण्डको आन्दोलनले नेपालीहरुलाई विभिन्न किसिमबाट उद्वेलित गरिरहेको भने सबैको सरोकारको विषय बन्नपुुगेको छ ।
कम्तिमा ८०को दशकमा उठेको गोर्खाल्याण्डको आन्दोलन भनेको बिभिन्न समयमा आजको दार्जिंलिङ पुगेका रहेका नेपालीमूलका खसभाषी बाहुन–छेत्री र दलित लगायत राई, लिम्बु, तामांग, मगर र नेवाः इत्यादि नेपालमा भएका जातिका भारतीयहरुले आफु पश्चिम बंगाल अन्तर्गत रहन अस्वीकार गरी आफ्नै अलग्ग प्रान्त हुनुपर्छ भन्ने आन्दोलन हो । नेपालमा हुने विभिन्न जातजातिका मनिसहरु विश्वका विभिन्न देशमा विभिन्न समयमा पुगेका छन् । उनीहरुलाई ती ठाउँका मानिसहरुले लगे कि, यहाँ भन्दा मिठो खानको लागि गए कि, वा यहाँ खानै नपाएर गए कि, वा यहाँबाट देशनिकालामा परेर गए, यो राजनीति वा इतिहासको विषय भए । तर आज उनीहरु त्यहाँ परेका छन्, त्यहाँको नागरिकता लिएर, त्यहाँको संविधान मानेर, त्यहाँको राष्ट्रिय गान गाएर, सरकारी सुविधा लिएर, त्यहीँको माटोको लगि आफ्नो ज्यान दिएर बसेका छन् । यति भएपछि उनीहरुमा आफुलाई नागरिक पहिचान दिने देशप्रति माया भनेकै उनीहरुको राष्ट्रप्रेम हुनु मानवीय गुण हो । यो सत्य भारत मात्र होइन हंगकंग, ब्रुनाइ, बेलायत वा अमेरिकामा बस्ने नेपालमूलका मानिसहरुमा पनि लागु हुन्छ । हामी नेपालमा बस्ने र त्यहाँ बस्नेका बिचमा केही छ भने यी विभिन्न जातजातिहरुका मानिसहरुको आफ्ना मातृभाषाहरु, साँस्कृतिक पर्वहरु र आफ्ना मातृभाषा बोल्न छोडिसकेकाहरुको हकमा हामी पनि त्यही नेपालमूलका हौं भन्ने भावना मात्र छ, जुन कागजी दस्तावेज भन्दा किनै माथिका कुरा हुन् । यो भावना नै कति सुन्दर छ । संसारका कुनै पनि कुनामा बस्ने मानिसहरुसँगको असल सम्बन्ध त सुन्दर हुन्छ भने यसमा त झन् ऐतिहासिक सम्बन्ध समेत छ, यसलाई सबैले सम्मान गर्नुपर्दछ ।
अर्काे, दार्जिलिङको आन्दोलन भनेको भाषिक अधिकारको आन्दोलन मात्र होइन । यदि त्यहाँका नेपालीमूलका मानीसहरुलाई त्यहाँको बहुसंख्यक बंगाली भाषाको अनिवार्यता अस्वीकार छ भने त्यहाँ बस्ने नेवाःं, राई, लिम्बु, तामाङहरुले फेरि ंखसभाषाको अनिवार्यतालाई कुन आधारमा स्वीकार गर्ने ? हो, जीवकोपार्जनका कारणले त्यहाँ बस्ने अधिकांशले आफ्नो मातृभाषा त्यागेर खसभाषालाई नै स्वीकार गरेको अवस्था छ । धेरैले आफ्नो मातृभाषा छ भनेर पनि बिर्सिसके । यदि यो भाषिक आन्दोलन हो भने त्यहाँका मगरले मगर भाषाको कुरा उठाउँथे, तामाङले तामाङ भाषाको अनि नेवाःले नेवाः भाषाको कुरा उठाउँथे । उनीहरुले अहिले देखिरहेको आफ्नो स्वायत्तताको पहिचान र एकताको प्रतीक भनेकै यहाँ नेपालमा अरुको १२२ वटा भाषालाई हत्या गरेर सत्ताकै बलमा आफ्नो एकभाषा नीति लाद्नेहरुको षडयन्त्रको निरन्तरता मात्र होे । कस्तो बिडम्बना जसले यहाँ मातृभाषा अधिकारलाई साम्प्रदायिक भन्छ र जसले आफ्नो भाषा अन्य सयौं भाषाहरुका विरुद्ध लादेर अत्याचार गरिरहेको छ उनीहरु नै भारतमा एउटा भाषाले अर्को भाषामाथि अत्याचार भयो भनेर बोलिरहेको छ ।
जब आफ्नो मातृभाषा बोल्ने अधिकार नहुने हो भने राजनीतिक लाभको निमित्त कसैसँग लड्न फेरि अरु कसैको भाषालाई हतियार बनाएर चलाइएको आन्दोलन देखी संसारको कुनै देशको मातृभाषाप्रेमी पनि खुशी हुनु जरुरी छैन । अल्पसंख्यक भाषिक समुदाय भनेको जहिले पनि कसैको राजनीतिक प्राप्तिको मोहरा भइरहनु त हो । दमन गर्ने ठुला भाषिक समुदायहरुको नियत नै हुन्छ — उर्दुले बंगालीलाई दमन गर्यो, बंगालीले खसलाई दमन गर्यो खसले राई, लिम्बु, तामाङ, नेवाः आदिलाई दमन गर्यो । भाषिक अधिकारको दृष्टिकोणबाट हेर्दा दार्जिलिङमा बंगाली भाषाको अनिवार्यता हटाएर खसभाषालाई अनिवार्य बनाउनु भनेको कागलाई बेल पाक्नु सरह मात्र हो ।
तर आश्यर्च लाग्छ, पश्चिम बंगालमा बंगाली अनिवार्यको कुरा उठ्नासाथ यहाँ नेपालमा एकथरी मानिसहरुको उत्तेजित अभिव्यक्ति पढ्न पाइयो । मानौं यहाँ नेपालमैे बंगाली भाषा अनिवार्य गरेको जस्तो । आफ्नो भाषाले अरु मातृभाषालाई र अर्काको भाषाले आफ्नो मातृभाषालाई अढाइसय वर्षदेखिे दास बनाइराख्दा बोल्न नपर्नेहरु अहिले विदेशमा एउटा भाषाले अन्य भाषाभाषीहरुलाई दमन गर्यो भनेर घाँटी सुकाइरहेका छन् । होसमा हो कि बेहोसमा । प्रश्न यही छ — भारतको भाषा विवाद नेपालमा किन राष्ट्रवाद भएर किन चम्किन्छ ? यहाँ आफ्नै भाषालाई आफ्नैे आदिभूमिमा अरुले आएर प्रयोगविहिन बनाइदिएको, आफ्नो स्वायत्त सरकारमा अर्काको भाषा प्रयोग गर्न बाध्य बनाइदिएको नदेख्नेहरु अन्य देशको आन्तरिक मामालमा किन यति धेरै जासूसी गर्दैछन् ? त्यहाँ बस्ने राइ, लिम्बू, मगर नेवाःहरुले ं खस भाषालाई मातृभाषाको रुपमा स्वीकार गरेपनि अथवा हिन्दी वा बंगालीलाई नै मातृभाषाया रुपमा स्वीकार गरेपनि त्यो उनीहरुको राजनीतिक कुरा हो, उनीहरुले जुन उपयुक्त सम्झन्छ त्यही निर्णय लिन्छ । उनीहरुको राजनीतिक निणर्यलय् हामी नेपालीले बोल्नु उपयुक्त होइन ।
अब अलग प्रान्तको कुरा । जब एउटा देशको एउटा भेगका ठुलो संख्यामा मानिसहरुले आफ्नो बिच एकता छ भनेर बुझ्छ, उनीहरु आफुलाई अरुले दमन गरेको महशुस गर्छ, त्यसपछि उनीहरुले आफ्नो भेगलाई त्यस देशको एउटा प्रान्त बनाएर स्वायत्त जीवन यापन गर्नपाउनुपर्छ भनेर माग राख्छ — यो जायज र त्यहीँ पनि संवैधानिक हो । संघीयताको सुन्दरता भनेको यही त हो । यस्तो माग राख्ने भनेको अलग्ग देश बनाउनचाहने पृथकतावादीहरु होइनन् । भारत स्वतन्त्र भएको बेलामा कतिवटा प्रान्त थिए, अहिले २९वटा प्रान्तहरु छन् । हामीले देख्दादेख्दै मिजोरम १९८७मा र तेलांगना २०१४मा बने । राज्य बन्न त्यति सजिलो छैन । १८९७मा उठेको उत्तराखण्डको माग २०००मा पुरा भयो । अब अन्य राज्यहरु पनि अस्तीत्वमा नआउला भन्न सकिन्न ।
जहाँ पनि सानो समुदायले आफ्नो स्वायत्तताको माग गर्यो कि ठुलो समुदायले विरोध गर्नु स्वभाविक हो । जसरी गथे नेपालको सुदुरपश्मिमा थारुहरुले स्वायत्तताको माग गर्दा त्यहाँ आफुलाई अखण्डवादी भन्ने खसआर्यहरुले टुक्राउने नदिने आन्दोलन गरे, त्यसरी नै पश्चिम बंगालमा पनि नेपालीमूलका भारतीयहरुले गोर्खाल्याण्डको माग गर्ने बितिकै त्यहाँ नेपालका अखण्डवादीहरु जस्ता बंगालीहरुले पश्चिम बंगाल टुक्रिन दिन्नौं भन्ने प्रतिक्रिया देखाउनु स्वभाविक खः । सत्तामा पुगको समुदायले सत्तासम्म पहुँच नपुगेको समुदायलाई रौं पनि दिन्नौं भन्ने स्वभाव जहाँ पनि हुन्छ । अहिले सिलगुडी लगायतका तराईमा पहाडी नेपाली मूलका मानिसहरुलाई धम्की र यातना दिनु यसैको परिणाम हो ।
दार्जिलिङय् गोर्खाल्याण्ड दिने कि नदिने भन्ने भारतको कुरा भयो । तर यस विषयमा नेपालमा चर्चा आवश्यकता भन्दा बढी हुन थालेको देखिन्छ । त्यसमा पनि संघीयता गलत हो, देश टुक्रा पार्न पाइँदैन, पहिचानका आधारमा राज्य बनायो भने बाइसे चौबिसेको युगमा नेपाल फर्कन्छ भने बहस गर्ने नेपालका विद्वानहरु नै गोर्खाल्याण्डको भनेको नेपालीमुलका भारतीयहरुको जातीय पहिचान भएकोले यसअनुसार उनीहरुले गोर्खाल्याण्ड पाउनुपर्छ भनेर वाकालात गर्दै हिँडेका छन् । यो भने विरोधाभासपूर्ण सोचाइभयो नेपालका संघीयता विरोधी समुदायको ।
यस्तो आन्दोलनमा नेपालीहरुको सरोकार हुनुपर्ने हो कि होइन भन्ने अहिले सावल उठ्न थालेको छ । उत्तराखण्ड पनि नेपालको सीमाना जोडिएको भारतीय प्रान्त हो । उनीहरुले पनि आफ्नो राज्य पाउन सघर्ष गरेका थिए होला तर उनीहरुको आन्दोलनमा नेपालीहरु यसरी बोलेका थिए जस्तो लाग्दैन । सद्भाव, भाइचारा अनि थिचोमिचोको विरुद्धको आन्दोलनमा सद्भाव देखाउनु एउटा कुरा हो अनि आफ्नै देशको कुरा जस्तो कुर्लनु अर्काे कुरा हो । भोलि गोर्खाल्याण्ड भएपनि वा नभएपनि नेपालीहरुलाई यसबाट केही फाइदा वा बेफाइदा हुने देखिँदैन । यो नेपालीका लागि एउटा समाचार मात्र हो, छत्तिसगढ वा मिजोरम बनेको समाचार जस्तो । जसरी नेपालको मधेश आन्दोलनका बारेमा यहाँका पहाडी नेताहरु भारतीय सहयोगमा वा भारतले आफ्नो हिस्सा बनाउनलाई आन्दोलन गराएको भनेर खुलेआम लान्छना लगाएर हिँड्छन् त्यसरी नै पश्चिम बंगाल प्रशासनले गोर्खाल्याण्ड नेपालले उक्साएको भनेर भन्यो भने त्यो गंभीर आरोप हुनआउँछ । यस्तो विषयमा नेपालीहरुले मुख सम्हालेकै राम्रो ।
याद गरौं, नेपालमा भुकम्प आउँदा सिक्किम, दार्जिलिंगका नेपालीमूलका मानिसहरुले हाम्रा लागि कति प्रार्थना गरे, राहत सामाग्री पठाए । त्यसपछि दक्षिणी सीमानाय् नाकाबन्दी हुँदा नेपालमा पेट्रोल, ग्यासदेखि औषधीको समेत अभाव हुँदा पनि त्यहाँबाट कुनै विरोध वा नेपाली जनताप्रतिको ऐक्यवद्धताको आवाज सुनिएन । किन ? किनभने उनीहरुमा राजनीतिक सुझबुझ छ, वैचारिक परिपक्वता छ । उनीहरुलाई थाहा छ, उनीहरु हामीलाई भावनाले राहत सामाग्री दिएर मात्र सहयोग गर्न सक्छन्, राजनीतिक निर्णयमा प्रभाव पार्ने किसिमको आन्दोलन गरेर होइन । उनीहरुबाट हाम्रा गोर्खाल्याण्डका फ्यानहरुले पनि केही सिक्नुपर्ने होइन र ?
हाल आएर गोर्खाल्याण्डको आन्दोलन भन्दा पनि नेपाली र दार्जिलिङबासीहरुको बिच सामाजिक सञ्जाल वा युट्युबको युद्ध चर्केको छ । एक जना कलाकार महिलाले नेपालीलाई बेसुरमा वा कसैको बहकाउमा थजाभाबी भनेकै कारण हजारौ हजार नेपाली र दार्जिलिङबासी यसमा झुम्मिनु परेको छ, रिसाउनु परेको छ, गाली गर्नु परेको छ, रुनु परेको छ । अस्तिसम्म गोर्खाल्याण्डमा समर्थन गर्नेहरु अहिले आएर गोर्खा र नेपाली भन्ने शब्दमा नेपालमा जन्मेकाहरुको मात्र एकाधिकार भएको भनी बढाइचढाइ गर्ने फेसन आएको छ । अर्कोतिर यही बेलामा यहाँ देहरादुनदेखि दार्जिलिङसम्मको भूभाग नेपालले पाउनुपर्छ भन्नेहरुको समुह सक्रिय भएपछि उताका मानिसहरु नेपालीदेखि चिढिएका छन् । यस्ता अतिवादहरुले यस मुद्दालाई नराम्ररी गाँज्न थालेको छ । कति सजिलै दुईदेश बिचको सदियौंदेखिको सम्बन्ध आलाकाँचा दिमागहरुको एक अर्कालाई गालीगर्ने मेसो बन्न पुगेको छ । फेसबुक वा युटुयुबमा दुइचारसय लाइक पाउनु भनेको दुइ देशका रगतकै सम्बन्ध भएका नागरिकहरुको सयौं वर्ष पुरानो सम्बन्धमा दाग लाग्ने कुरा गर्नु मुख्र्याँइ मात्र हो भनेर कसैले सम्झाइ दिन पनि आएन । अब त मेची पारि र वारिका बिच एक अर्कामा कति द्वेष र घृणा भरिएको रहेछ भनेर समेत छरपस्टिएको छ । उनीहरुले यसो भनिरहँदा रामसिंह ठकुरी, लैनसिंह वाङदेल, गोपाल योन्जनलाई कसरी बिर्से ? नारायण गोपाल र पेमाला लामाले यो सब हेर्नुपरेको भए? के भएर गयौं हामी? कसैले त बोल ।
एकजना कलाकारको रहस्यमय बोलीबाट शुरु भएको यो वाकयुद्धले नेपाल–भारतबिचको सम्बन्ध धमिलिन थालेको छ, गोर्खाल्याण्डको आन्दोलन नै बदनाम हुन थालेको छ । कतै यो यहाँका र उहाँकाहरुलाई लडाउने र मुद्दालाई कमजोर बनाउने षडयन्त्र त होइन ? यो राजनीति हो, शंका गर्नुपर्ने ठाउँ धेरै छोडेको छ ।
कति दुखको कुरा हो कि पहिले आपसमा स्नेह र मायाको साटासाट गर्नेहरु अहिले देशकै नामलिएर जथाभाबी बोल्न थालेका छन् । यो आन्दोलन अब त हिलो छ्याप्ने मेला जस्तो हुन थालेको छ । यसलाई कसैले रोकिदिएन भने गोर्खाल्याण्ड आउला नआउला, तर यहाँ बस्ने नेपालीहरु र त्यहाँ बस्ने नेपालमूलका भारतीयहरु बिच बैमनुष्यता मात्र फैलिने देखिन्छ । यस समयमा बौद्धिक परिपक्वता सहितको मेलमिलापको आवश्यकता तड्कारो रुपमा महशुस गरिएको छ । सामाजिक सञ्जालको छेडखानी कतै ऐतिहासिक भूल नबनोस् ।
Published on www.esamata.com on 2017 07 02
http://esamata.com/insight/170702a/
No comments:
Post a Comment