राजेन मानन्धर
ओडिशा (पहिला उड़ीसा भनिन्थ्यो) भारतको पूर्वी तटमा अवस्थित एक प्राचिन राज्य हो । यसले उत्तरमा झारखण्ड र पश्चिम बंगाल, पश्चिममा छत्तीसगढ र दक्षिणमा आन्ध्र प्रदेश राज्यहरूसँग सीमाना जोडेको छ । साथै यसले हिन्द महासागरमा बंगालको खाडीसँग मिल्ने लामो तटरेखा बनाएको छ । यहाँ ४ करोड १० लाख मानिस बस्छन् ।
प्राचिन कालमा ओदिशालाई कलिङ्ग राज्यको केन्द्रको रुपमा वर्णन गरिएको छ । मौर्य वंशका सम्राट अशोकले ईशा पूर्व २६१ मा कलिङ्ग युद्धमा जिते । पछि ९औ देखि १२औं शताब्दीसम्म ओडिशामा सोमवंशी राजाहरुको शासन रह्यो । १५औ तथा १६औं शताब्दीमा यो फेरि गजपति अधिराज्यको रुपमा उदायो । सन् १५६८मा यो क्षेत्र बंगाली सुत्लनतले कब्जा गर्यो । ब्रिटिश कालमा दक्षिणी ओडिशा सहित सन् १७६०मा उत्तरी सिरसारको रुपमा ब्रिटिशहरुले कब्जा जमाए । पछि यसको पश्चिमी क्षेत्रलाई बंगाल प्रेसिडेन्सी अन्तर्गत ल्याए । सन् १९१२मा ओडिशा र बंगाल जोडेर बंगाल–ओशिडा प्रान्त बनाइएको थियो भने पछि फेरि ओडिशालाई अलग्ग प्रान्त पनि बनाइयो । स्न १९४७मा भारत स्वतन्त्र भएपछि थुप्रै ससाना राज्यहरु यसमा गाभिए ।
ओडिशामा बुद्ध धर्म
भगवान बुद्धले आफ्नो जीवनकालमा ओडिशा सम्म भ्रमण गर्नुभयो भन्ने ऐतिहासिक प्रमाण त छैन तर पनि केही कथाहरु ओडिशासँग जोडिएका छन् । बुद्धवंश अनुसार भगवान बुद्धले बोधिज्ञान लाभ गरिसकेपछि तपुस्स तथा भल्लिक नाम गरेका दुइ जना ब्यापारी भेटे, जो ओडिशाबाट आएका थिए । उनीहरुले उहाँलाई सातु र मह दान दिए र उहाँले उनीहरुलाई एक झुप्पा केश दिनुभयो । उनीहरुले आफ्नो स्थानमा भगवानको सम्झना स्वरुप चैत्य बनाएर राखे भनिन्छ । यसरी हेर्दा भगवान बुद्धको समयदेखि नै यहाँ बुद्ध धर्मको जग बसेको देखिन्छ । यस राज्यमा बुद्ध धर्मको इतिहास लामो छ तर पनि कहिलेदेखि यहाँ बुद्ध धर्म फैलिन थाल्यो भन्ने समेत पनि ठोस ऐतिहासिक प्रमाण पाइँदैन ।
अशोकको बुद्ध धर्ममा प्रवेश र कलिङ्गको अभिलेख
विश्व नै जित्ने भनेर निस्केका सम्राट अशोक (इशापूर्व २७२ — २३१)ले जुन कलिङ्गको युद्ध लडे । त्यसबेला १ लाख मानिसहरु मारिए भनिन्छ । त्यहाँ मरेका मानिसहरुको लासको पहाड देखेर उनी युद्धबाट विरक्त भए । त्यसपछि उनले पछि हिंसाको राजनीति त्यागे, भगवान बुद्धको शिक्षा अपनाए र पञ्चशिलमा आधारित भएर राज्य गरे । सम्राट अशोकको आँखा खोल्ने कलिङ्ग यही ओडिशा क्षेत्र हो । कमसेकम सम्राट अशोकको जीवनमा अभूतपूर्व मोड आएको कलिङ्गबाटै हो भन्ने कुरा सबैले स्वीकारेको पाइन्छ । यस अर्थमा पनि बुद्ध धर्मको इतिहास र प्रचारप्रसारमा यस राज्यको नाम उल्लेखनीय हुन आउँछ । यहीँबाट उनले विभिन्न ठाउँमा बुद्धको जीवनसँग सम्बन्धित ठाउँमा भ्रमण गरे, शिलालेख राखे तथा दूरदराजका देशहरुमा समेत धर्मदुतहरु पठाएर धर्मको प्रचार गरे ।
सरसरी हेर्दा इसापूर्व तेश्रो शताब्दीदेखि इसाको सातौं शताब्दीको समयलाई ओडिशाको बुद्ध धर्मको विकासको काल भन्न सकिन्छ । यसबेला यहाँ थुप्रै बौद्ध स्तुपहरु, विहारहरु तथा गुफाहरु बने । ओडिशाकै समृद्धिको प्रतीक तथा बुद्ध धर्मको विकासको प्रतिनिधि गर्ने सम्पदाहरुको निर्माण यसैबेला भएको देखिन्छ ।
हुयेन त्साङको विवरण
अशोकको कालपछि ओदिशामा बुद्ध धर्मको भर पर्दाे इतिहास हुयेन त्साङको यात्रा विवरणदेखि मात्र शुरु हुन्छ । ऐतिहासिक तथ्यहरु अनुसार उनी इशाको ६३९मा ओडिशा आए । उनले आफ्नो यात्रावर्णनमा ओदिशाको बुद्ध धर्मको अवस्थाको बारेमा उल्लेख गरेको छ । उनको वर्णनको आधारमा त्यसबेला अर्थात् ७औं शताब्दीमा पनि त्यहाँ धार्मिक समारोहहरुको बिचमा स्तूपको आराधना हुन्थ्यो । त्यसबेलामा ओदिशामा ओद्रा, कङ्गोडा तथा कािलङ्ग नामका तीनवटा प्रदेशहरु थिए । यी मध्ये ओद्रा प्रदेशमा बुद्ध धर्म बढी प्रख्यात थियो ।
त्यसबेला नै यहाँ विभिन्न निकाय अन्तर्गतका बौद्ध समुदायहरु थिए । त्यहाँ महायानी बौद्ध विहारहरु सय भन्दा बढी थिए, जसमध्ये पुसीपोकिली अथवा पुष्पगिरि विहार ओदिशाको प्रमुख धार्मिक स्थल थियो । पुष्पगिरि भनेको कुनै बेलामा नालन्दा वा विक्रमशिला जस्तै विशाल अध्ययन केन्द्र थियो भनेर अनुमान गरिएको छ । यसका साथै उनले चेलितालो को बारेमा पनि लेखेका छन् जहाँ पाँचवटा ठुला र कलात्मक विहारहरु थिए । त्यस्तै कङगोडाको बारेमा पनि उनले वर्णन गरेका छन् जहाँ बुद्ध धर्मको प्रचार बलियो देखिँदैन । त्यसपछि उनले कलिङ्गको बारेमा लेखेका छन् कि त्यहाँ दशवटा संघारामहरु थिए जहाँ स्थविर निकायको शिक्षा अनुसारको बुद्ध धर्म ५०० जनाले सिक्दै थिए । यसबाट यस बेला यहाँ महायान धेरै चल्ती निकाय थियो र थेरवाद पनि प्रचलनमा थियो भन्ने देखिन्छ । तर पनि उनको लेखाइबाट त्यसबेला कङ्गोडा र कलिङ्गमा बुद्ध धर्म कमजोर थियो भन्ने बुझिन्छ । यसरी हेर्दा ७औं शताब्दीमा हुयेन त्सांगको ओडिशा–यात्रा विवरणले ओड्रामा बुद्ध धर्म समृद्ध भएको विवरण दिन्छ ।
भौमाकर काल :
ओडिशाको इतिहासमा ८औं देखि ११ शताब्दीसम्मको काललाई भौमाकर काल भनिन्छ । यसबेलासम्म ओडिशाको बुद्ध धर्मले राज्यको संरक्षण पाएको थियो । यसका प्रारम्भिक कालका राजाहरु क्षेमाकर, शिवकर तथा शुभकर बुद्ध धर्म अनुयायी थिए उनीहरुले बुद्ध धर्मबाट प्रभावित भएर आफ्नौ पदवी नै परमोक्ष, परम तथागत तथा परम सुगत भनेर राख्थे । यस कालमा रत्नगिरी, उदयगिरी तथा ललितगिरी जस्ता ठाउँहरु बुद्ध धर्मका केन्द्र थिए । ८औ र १०औं शताब्दीको बिचमा त्यहाँ बुद्ध धर्मले राज्य धर्मको दर्जा पाएको थियो र राज्यको अभिभावकत्वमा त्यहाँ यस अवधिमा महायान बुद्ध धर्म एवं केही हदसम्म यसको तान्त्रिक रूपको समेत विकास भएको अनुमान गर्न सकिन्छ ।
भौमाकरहरुले समग्रमा बुद्ध धर्मलाई संरक्षण प्रदान गरे । यसबेला केही नयाँ विहारहरु र बौद्ध मन्दिरहरुको निर्माण भयो । ओडिशाका प्रशिद्ध विहार परिसरहरु रत्नगिरी, ललितगिरी तथा लङगुदीहरु यसै अवधीका संरचनाहरु हुन् । ११औ शताब्दी पछिको राजनीतिक परिवर्तनले भने यहाँको बुद्ध धर्मको विकासमा केही हदसम्म नकारात्मक असर पार्यो । र विस्तारै हिन्दुधर्मको प्रभाव बढ्न थालेदेखि यहाँको बुद्ध धर्ममा अवनतिका चिन्हहरु देखिए ।
संक्षिप्तमा भन्नु पदा १२औं शताब्दीको ओडिशालाई बुद्ध धर्मको अवनतिको काल भन्न सकिन्छ । यसबेलादेखि यहाँ बुद्ध धर्मको विकास भएन, बिस्तारै यहाँका स्तुपा, विहारहरु नयाँ बन्न छोडे र पुरानाको संरक्षण पनि हुन छोडे । भारतका अन्य राज्यहरुमा जस्तै यहाँ पनि बौद्धहरु आफ्नो धर्ममा अविचलित हुन नसकेको, बौद्ध पण्डितहरुले हिन्दुधर्मसँग मिल्ने कर्मकाण्डमा जोड दिएको, वैदिक धर्म मान्नेहरुमा संगठित हुने लहर आएको तथा राजाहरुले बुद्ध धर्मलाई संरक्षण दिन छोडेको जस्ता कारणहरुलाई मानिन्छ ।
१७औं शताब्दीदेखि बर्तमानसम्मको अवस्थामा भने ओडिशामा बुद्ध धर्म लोप जस्तै भइसकेको छ । यस बेला मुगल शासकहको र ब्रिटिशहरुको उपनिवेशकालमा ओडिशाबाट बुद्ध धर्म हराएरै गइसकेको छ ।
अहिले ओदिशा राज्यमा बौद्ध सम्पदाको विशाल भण्डार छ । यहाँ बौद्ध सम्पदा स्थलहरु छरिएर रहेका छन् । अझ उत्खनन् गर्न बाँकी र भेटिएका मध्ये पनि बौद्ध नै हुन् भनेर यकिन गर्न बाँकी सम्पदाहरुको संख्या पनि कम छैन ।
उड्डियान र ओडिशा
बुद्ध धर्मको भारत भरी प्रचार भइरहँदा यसको एक प्रमुख विकास क्रमको रुपमा वज्रयानलाई लिइन्छ । वज्रयानको उदय भएको स्थान भनेर उड्डियान भन्ने स्थानलाई मानिन्छ । यो स्थान कोही हालको पाकिस्तानको खिबेर पखतुन्ख्वा अथवा स्वात उपत्यकालाई मान्छन् भने कोह अहिलेको ओडिशा वा ओद्रा क्षेत्र नै त्यसबेलाको उड्डियान हो भन्ने पनि छन् । यदि यो सत्य साबित भयो भने ओडिशालाई वज्रयानको उदयविन्दुको रुपमा पुनःपरिभाषित तथा सोही अनुसार यसको विकास गर्नुपर्ने देखिन्छ ।
ओडिशा र तन्त्रयान
वज्रयान भन्नाले नै बुद्ध धर्म मित्रको तान्त्रिक सम्प्रदाय बुझिन्छ । यसले धेरे हदसम्म तन्त्रको साधना वा अभ्यास गर्दछ । बुद्ध धर्मको वज्रयान ओडिशामा धेरै समयसम्म फैलियो । अझ यससँग सम्बन्धित तन्त्रयानलाई ओडिशाको विशेषता मानिन्थ्यो । तन्त्रयानको विकास हुँदै जाँदा आठौं शताब्दी तिर ८४ जना महासिद्धहरुको नाम लिन थालियो । सिद्ध भन्नाले साधाना गरेर अलौकिक शक्ति प्राप्त गरेका विद्वानहरु भन्न सरसरी बुझिन्छ । धेरैले यी महासिद्धहरु ओडिशामा हुर्केका थिए भन्छन् । यहाँका राजा इन्द्रभूतिलाई सिद्धहरुका शिष्य मानिन्छ । यी कुराहरुको ऐतिहासिक प्रमाण नभएतापनि ओडिशामा तन्त्रयानको विस्तार भएको धेरैले स्वीकार्छन् । तर पछि यही तन्त्रयानको विकास र यसमा आएको विकृति तथा शाक्त सम्प्रदायसँगको सामिप्यले गर्दा यहाँ बुद्ध धर्मको लोप भएको भनेर पनि भन्ने गरिन्छ ।
बौद्ध स्मारकहरु
ओदिशामा अहिले धेरै बौद्धहरु धेरै नभएपनि त्यहाँका हजारौं वर्ष पुराना बौद्ध स्मारकहरु, जस्तै स्तुपा, विहार तथा मूर्तिहरु भेट्टाउन सकिन्छ । अथवा जति बाँकी छन् त्यसले त्यहाँको बुद्ध धर्मको गौरवशाली इतिहासको कथा भनिरहेका छन् । त्यसैले ओडिशाका बौद्ध स्मारकहरुको बारेमा संक्षिप्त जानकारी दिन उपयुक्त लाग्छ ।
ओडिशामा बौद्ध धर्मको समृद्ध इतिहास पत्ता लगाउनको लागि यहाँका बौद्ध स्मारकहरुको अध्ययन गर्नु अत्यन्त जरुरी छ । कुनै बेलाका विकसित नगरहरु अहिले सुनसान जंगल बनेका छन् । प्रायः पहाडहरूमा अवस्थित ती क्षेत्रहरुमा बाँकी भएका सम्पदा स्थलहरूले त्यहाँको बुद्ध धर्मको इतिहास प्रमाणित गरिरहेका छन् ।
यस राज्यमा मात्रै २०० भन्दा बढी बौद्ध सम्पदा स्थलहरू पत्ता लगाइएका छन्, अझ उत्खनन् हुन बाँकी स्थलहरु बाँकी नै छन् । यहाँका उल्लेखनीय स्थलहरुमा चन्द्रागिरी बौद्ध विहार, रत्नागिरी विहार, उदयगिरी बौद्ध परिसर, कुरुमा बौद्ध सम्पदा स्थल, ललितागिरी बौद्ध परिसर, धौली शान्ति स्तुप, र पद्मविशाम मोनम विहार आदि स्थानहरू पर्छन् ।
हीरक त्रिकोण — ललितगिरी, रत्नगिरी, र उदयगिरी
ओडिशाको बौद्ध स्मारक भन्ने बितिकै हिरक त्रिकोण अर्थात् डायमण्ड ट्राइएङगलको नाम आउँछ । यस अन्तर्गत ओडिशाको दया नदीको किनारमा तीनवटा प्रशिद्ध प्राचिन बौद्ध विकार परिसरहरु पर्दछन् जुन कुनै बेला महायान बुद्ध धर्मका केन्द्र थिए — ललितगिरी, रत्नगिरी, र उदयगिरी ।
ललितगिरी — यहाँका तीनवटा प्रमुख स्थलहरू मध्ये सबैभन्दा पुरानो ललितगिरी हो । यो कुनै बेला बुद्ध धर्मको महायान र थेरवाद सम्प्रदाय दुवैको केन्द्र थियो । यो पहिलो शताब्दीमा निर्मित विहारको भग्नावशेषलाई ओडिशाकै सबैभन्दा पुरानो बौद्ध क्षेत्रहरू मध्ये एक मानिन्छ । यहाँ मुख्य स्तूप वा महास्तुप, धेरै स्तूपहरू, र प्रार्थना हलहरूका भग्नावशेषहरू भेटिएका छन् । यहाँ प्राप्त प्राचिन अवशेषहरुलाई हाल यहाँको एक संग्रहालयमा सुरक्षित राखिएका छन् जसमा भगवान बुद्ध, तारा र कुबेर आदिका मूर्तिहरू छन् ।
उदयगिरी — ललितागिरि नजिकै अवस्थित उदयगिरीमा यहाँ दुईवटा विहारहरु, महास्तुप, प्रार्थना हलका भग्नावशेषहरू तथा केही मूर्तिहरुका अवशेषहरु भेटिएका छन् । यस बाहेक यहाँ १८वटा प्राचिन गुफाहरु छन्, जसलाई लेणी र गुम्फा भनिन्छ । ती मध्ये धेरैमा बुद्ध धर्मका प्रतिक जीवजन्तुहरुलाई राखिएका छन् । यहाँका प्राचिन अवशेषहरु इस्वी ७औं शताब्दी तिरका हुन् र उत्कृष्ट मूर्तिकला भएको कारणले पनि उल्लेखनीय छन् ।
रत्नगिरी — ओडिशाका बौद्ध सम्पदा स्थलहरु मध्ये सबैभन्दा राम्रो उत्खनन गरिएकोे एक स्थल रत्नगिरी हो । यहाँ पाइएका अवशेषहरु इशाको ५औं देखि १२औं शताब्दीका हुन् । यहाँ बौद्ध विहारहरु, महास्तुप, चैत्यहरु, तथा धेरै बुद्ध मूर्तिहरू पाइएका छन् । अरु बाहेक यहाँको विहारको प्रवेशद्वारमा ढुंगा कलाको उत्कृष्टक उदाहरण हो भनिएको छ । यी विहारहरुले त्यसबेला त्यहाँको बौद्ध समाज, भिक्षुहरु तथा दाताहरुको श्रद्धालाई झल्काउँछ । यो कुनै समय नालन्दाको प्रतिद्वन्द्वी बौद्ध अध्ययन केन्द्र थियो भन्ने गरिन्छ ।
यी तीनैवटा बौद्ध सम्पदा क्षेत्रहरू ललितगिरी, रत्नगिरी र उदयगिरी यहाँको राज्य राजधानी भुवनेश्वरबाट लगभग १०० किलोमिटरको दुरीमा अवस्थित छन् ।
खण्डगिरी गुफा
भुवनेश्वरको नजिक हिरक त्रिकोण अन्तर्गतको उदयगिरी पहाडको छेउमा खण्डगिरी क्षेत्र छ । यहाँको प्राचिन गुफाहरुलाई पहिले कट्टक गुफा भनेर भनिन्थ्यो । यहाँ १५वटा गुफाहरु छन् । यहाँ प्राकृतिक गुफामा चट्टान काटेर बनाइएको गुफा तथा मूर्तिहरु इसापूर्व दोश्रो शताब्दीमा सम्मका छन् भनिएको छ । यहाँ बौद्धका साथै जैन धार्मिक स्थलहरु पनि छन् ।
धौलीगिरीको अशोक शिलालेख तथा शान्ति स्तुप
राजधानी भुवनेश्वरबाट पुरी जाने बाटोमा करिब ७ किलोमिटर टाढा धौलीगिरीमा सम्राट अशोकले लेखाएको प्रख्यात शिलालेख छ । उनले यहाँ ओदिशामा अभिलेखहरु राख्न लगाए, जसमध्ये मध्ये एउटा अभिलेख धौलीमा छ । भुवनेश्वरदेखि ८ किलोमिटर टाढा रहेको यस अभिलेखमा हाँत्तीको आकृति पनि कुँदिएको छ । यसलाई ओदिशाकै सबैभन्दा पुरानो मूर्ति भनेर पनि भनिन्छ । यसै नजिक यहाँ एउटा स्तु्प पनि छ, जुन मौलिक रुपमा सम्राट अशोकले बनाएको भनेर भनिन्छ ।
इशापूर्व तेश्रो शताब्दीको यस अभिलेखमा अशोकको बुद्ध धर्म प्रति श्रद्धा र अहिंसामा भएको विश्वास झल्किन्छ । सम्राट अशोकले यहाँ कलिङग युद्ध लडेका थिए र यहीँबाट युद्धदेखि विरक्त भएर बौद्ध धर्म अपनाएका थिए । यसै क्षेत्रमा शान्ति स्तूप अवस्थित रहेको छ । अहिलेको स्तुप भने सन् १९७२मा ओडिशा सरकार र जापानको कलिङ्ग निप्पोन संघको सहकार्यमा सम्राट अशोकको हिंसा त्यागको स्मृतिमा बनाइएको हो ।
लङ्गुडीः
ओडिशाको जाजपुर जिल्लाको धर्मशाला तहसिलमा अवस्थित लङ्गडीलाई सम्राट अशोकले बुद्ध धर्मको बारेमा ज्ञान पाएको ठाउँ भनिन्छ । यस क्षेत्रमा सन् १९९६ देखि २००१बिचमा पुरातात्विक उत्खनन् गरिएको थियो जसबाट यहाँ ढुंगाका स्तुपहरु, माटो पोलेका मूर्तिहरु, स्तूपहरु, गुम्बाहरु र चट्टान काटेर बनाइएका गुफाहरू लगायतका बौद्ध स्मारकहरू पाइएका छन् । यहाँ पाइएका अवशेषहरु इस्वीको पहिलोदेखि ११औं शताब्दीसम्मका छन् ।
देउलीः
ओडिशाको पुरी जिल्लामा देउली भन्ने पुरातात्विक क्षेत्र छ । यहाँ बौद्ध स्तूप र बुद्ध धर्मसँग सम्बन्धित मूर्तिकलाहरू भेटिएका छन् । यो क्षेत्रमा पाइएका अवशेषहरु इस्वीको ९ औं र १० औं शताब्दीमा भन्ने देखिएकोले यस क्षेत्रमा १०औं शताब्दीको आसपासमा पनि बुद्ध धर्म जीवित नै थियो भन्ने प्रमाणित गर्दछ ।
बुद्धनाथ मन्दिर
ओडिशाको भुवनेश्वर भन्दा २२ किलोमिटर टाया गरेडी गाउँमा बुद्धनाथको मन्दिर छ । १२औं शताब्दीमा सोमवंशी राजा चोडगंगाद्वारा निर्मित यस मन्दिरलाई ओडिशाको जीवन्त बुद्ध धर्मको एक मात्र प्रतीकको रुपमा मानिन्छ । तर पनि बुद्ध धर्ममा तन्त्र जोडेर त्यसमा शिव मिसाएर क्रमिक रुपमा हिन्दुकरण गर्दै अहिले नाम मात्र बौद्ध बाँकी छ । यहाँ बौद्ध तथा हिन्दु कलाकृति मिसिएको देख्न पाइन्छ ।
बुढाखोल
ओडिशाको गन्जम जिल्लामा जिल्ला सदरमुकाम भन्दा ९२ किलोमिटर टाढा बुढाखोल भन्ने पहाडी सम्पदा क्षेत्र अवस्थित छ । यो ठाउँको नाम ध्यान मुद्रामा बसेको भगवान बुद्धको नामबाट राखिएको भनिन्छ । यहाँ पहिले भगवान बुद्ध स्वयम् आउनुभएको भन्ने बौद्ध विश्वास छ । त्यस्तै हुयेन त्साङले आफ्नो वर्णनमा पारेका केही बौद्ध स्थलहरु मध्ये यो पनि एक हो भनेर भनिएको छ, जसमा यसलाई बुद्ध शिक्षा उत्तम ठाउको रुपमा चर्चा गरिएको छ । यसलाई शैव तथा बौद्धहरुको तीर्थ मानिन्छ । तर अहिले यहाँ बौद्ध भन्न मिल्ने खासै कुनै संरचना बाँकी छैन । यसलाई गुफा तथा झरना भएको पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँ पञ्च महादेवको मन्दिर छ र विशाल शिव पार्वतीको मूर्ति बनाइएको छ ।
यिनीहरू बाहेक ओडिशा भरी छरिएका बौद्ध सम्पदाहरू अझै उत्खनन् र अध्ययनको पर्खाइमा छन् । यहाँका अन्य बौद्ध सम्पदा क्षेत्रहरु जहाँ उत्खनन् पुरै भएको छैन तर बौद्ध इतिहासका केही नयाँ तथ्यहरु सार्वजनिक गर्ने प्रवल सम्भावना राख्छन्, ती हुन् — कटक, संबलपुर, बालासोर, गंजाम, र फुलबनी आदि ।
कटक जिल्लाका परम्परागत बौद्ध गाउँहरु
ओडिशाको राजधानी भुवनेश्वर रेलवे स्टेशन देखि करिब ७४ किमी टाढा रहेको कटक जिल्लामा केही यस्ता गाउँहरु छन् जहाँ परम्परागत बौद्ध गाउँहरु छन् । त्यहाँ त्यस्ता केही अल्पसंख्यक समुदायहरु छन् जो दुइ हजार वर्ष देखि बौद्ध नै रहिआएको मानिन्छ र अहिले पनि बुद्ध धर्म नै अवलम्बन गछन् । स्थानीय विद्यार्थी अन्वेषक अरुण कुमार दत्ताले यसबारे जानकारी दिनुभएको छ ।
त्यहाँ चारवटा गाउँमा बौद्धहरु बसोबास गर्छन् — १. मनियाबन्ध । परम्परागत साडी बुन्नका लागि प्रख्यात यस गाउँमा परम्परागत बौद्ध मन्दिर, त्रिरत्न बुद्ध विहार, नेगा पहाडी गुफा, बौद्ध ध्यान केन्द्र इत्यादि छन् । यहाँबाट करिब ४० किमि टाढा कानपुरमा प्रज्ञापारमिता मन्दिर अवस्थित छ । यहाँको मूर्तिलाई १२०० वर्ष पुरानो भनिन्छ । त्यस्तै मनियाबन्धदेखि ६५ किलोमिटर टाढा खण्डपदमा जोगीजोगिनी बुद्ध पीठको मन्दिर छ जहाँ पञ्चबुद्धको मूर्ति (हाल चारवटा मात्र बाँकी) रहेको छ । यसलाई भारतकै सबै भन्दा ठुलो परम्परागत बौद्ध गाउँहरु मध्ये एक भनिन्छ । यहाँको जनसंख्या १००० परिवार जति छ । उनीहरुको आफ्नो संगठन छ जसको नाम मनियाबन्ध बौद्ध संघ, महमदपुर बौद्ध संघ हो । यसका साथै एक युवा बौद्ध संगठन पनि छ । २.नुवापटना । यहाँ सन् १९५७मा श्रीलंकाबाट ल्याएको बोधिवृक्ष छ, बोधि द्रुम बुद्ध विहार छ । यहाँका बौद्धहरु अशोकको राज्यकालदेखि बुद्ध धर्ममा समर्पित मानिन्छन् । यहाँ सन् १९७३मा दलाइ लामाले भ्रमण गर्नुभएको थियो । यहाँ करिब ५०० परिवार जति मानिस बस्छन् । ३. रेगाडी । भूवनेशवर रेलवे स्टेशनबाट ६५ किमी टाढा रेगाडीमा परम्परागत बौद्ध गाउँ तथा बुद्ध विहार रहेको छ । ४. महमदपुर । भुवनेश्वर रेलवे स्टेशनबाट ६७ किमी टाढा छ महमदपुर गाउँ । यहाँको जनसंख्या करिब ६०० छ । यस परम्परागत बौद्ध गाउँमा तथागत बौद्ध विहार छ ।
जिराङा पद्मसम्भव गुम्बा
एकातिर अहिले ओडिशाका मानिसहरु बुद्ध धर्म रुचाउँदैनन् भने अर्कोतिर तिब्बती मुलका वा हिमाली राज्यहरुका बौद्धहरुले ओडिशालाई पुण्यभूमि मानेर यहाँ बुद्ध धर्मको अभ्यास र प्रचार गर्नका लागि आएका छन् । यहाँका अहिलेका प्रमुख बौद्ध धार्मिक स्थलको रुपमा जिराङा गुम्बा प्रख्यात भएको छ । यहाँ तिब्बती बुद्ध धर्म मान्नेहरु धेरै देखेर यसलाई सानो तिब्बत अनि फुचोलिङ समेत भन्ने गरिन्छ । दक्षिण ओडिशाको चन्द्रागिरीमा अवस्थित यस गुम्बाको उदघाटन सन् २०१०मा दलाइ लामाले गर्नुभएको थियो । यहाँको महेन्द्रगढमा अवस्थित अवलोकितेश्वरको मूर्ति आकर्षक छ ।
जगन्नाथ मन्दिर बौद्ध हो ?
ओडिशाको एक महत्वपूर्ण तटीय शहर पुरी हो । यो शहर यहाँको जगन्नाथको मन्दिरको कारण प्रशिद्ध छ । १२औ शताब्दीमा पुनःनिर्माण गरिएको यो मन्दिरलाई विष्णुको एक रुप भनिन्छ । यहाँको पूजाविधिलाई तन्त्रयान बुद्ध धर्मको विकसित रुप भनेर पनि मानिन्छ । बौद्ध विद्वानहरु यो मन्दिर मौलिक रुपमा बौद्ध मन्दिर हो भनेर मान्छन् । यसको प्रशिद्ध रथ यात्रालाई बौद्ध संस्कृति तथा यहाँ राखिने तीन मूर्तिलाई बुद्ध, धर्म र संघको प्रतिक हो भनेर भन्ने गरिन्छ । यहाँको प्राचिन नाम चरितलाई हेरेर पुरातत्वविद् एलेक्जेन्डर कनिङ्घमले चीनियाँ यात्री हुयेन त्साङले वर्णन गरेको चेलितालो भनेको यही हो भनेर भनेको थिए ।
त्यस्तै किसिमले इतिहासकार एस एन सदाशिवनले आफ्नो पुस्तक भारतको सामाजिक इतिहासमा अर्का लेखक जोसेफ विल्किनसलाई उदृढ गर्दै पहिला त्यहाँ बुद्धको मूर्ति रहेकोमा पछि बुद्ध धर्म कमजोर हुँदै गएपछि त्यसैलाई जगन्नाथको रुपमा पुजिने गरेको उल्लेख गरको छन् । उनले त्यहाँ पहिला बुद्धको अस्थिधातु पाइएको र त्यसलाई अहिले कृष्णको हड्डी भनेर मानिने पनि लेखेका छन् । त्यस्तै अशोककालमा त्यहाँ लोहाबहु भन्ने आदिबासीहरुले बुद्ध धर्म अपनाएको र बुद्धको अस्थिधातु त्यहाँ राखेको पनि भनिन्छ । त्यस्तै भारतीय विद्वान स्वामी विवेकानन्द स्वयम्ले यो मन्दिर बौद्ध भएको उल्लेख गरेका थिए ।
वर्तमान अवस्थामा बुद्ध धर्म
प्राचिनकालमा ओडिशा बुद्ध धर्मको जगजगी थियो । यहाँ बुद्ध धर्मको अध्ययन, अनुसन्धान, ब्याख्या हुन्थ्यो, शासकहरु तथा स्थानीय बासीहरुमा बुद्ध धर्मप्रति श्रद्धा थियो । तर पछि यो सबै बिलाएर गयो । पछि ब्रिटिश राजमा र स्वतन्त्रता पछि पनि यहाँका प्राचिन स्थलहरुमा थुप्रै पुरातात्विक उत्खननहरु भए । मानिसहरुले आफ्नो ठाउँमा बुद्ध धर्मको यति लामो इतिहास रहेछ भन्ने थाहा पाए ।
यस बाहेक भारतमा र बाहिर पनि विश्वका विभिन्न ठाउँमा बुद्ध धर्मलाई नयाँ दृष्टिकोणबाट अध्ययन र ब्याख्या गरिए । अमेरिका, जर्मनी जस्ता पश्चात्य देशहरुमा लेखक र दार्शनिकहरुले बुद्ध धर्मप्रति रुची देखाए । तिब्बतमा राजनीतिक परिवर्तनले गर्दा दलाई लामा निर्वासित भए र उनी जहाँ जहाँ गए, बुद्ध धर्मको प्रचार भयो । संसार भर बुद्ध धर्मको ब्याख्या र प्रचार भयो, विभिन्न देशमा बुद्ध धर्म अँगालेको र अध्ययन केन्द्र तथा मठ मन्दिर खुलेको खबर आयो । यसको प्रतिविम्ब भारतमा पनि देखियो । भारतका विद्वानहरुले पनि बुद्ध धर्मको बारेमा अध्ययन शुरु गरे । अहिले बौद्ध विद्वानहरु, पुरातत्वविदहरु र केही सीमित बुद्ध धर्म अभ्यासकर्ताहरुको मिहेनत र प्रचार प्रसारको कारणले यहाँ बुद्ध धर्ममा रुचि राख्नेहरु केही मात्रामा भएपनि बढेको देखिन्छ । तैपनि भारतका अधिकांश प्रदेशहरुमा जस्तै यहाँ पनि जतिसुकै बुद्ध धर्मको लामो गहिरो र महत्वपूर्ण इतिहास भएतापनि, यहाँ त्यस्ता पुरातात्विक अवशेष र प्रमाणहरु पाइएतापनि अधिकांश ओडिशाबासीहरुलाई बुद्ध धर्मले आकर्षण गर्न सकेको छैन ।
यसै बिच ओडिशाका केही गाउँहरुमा परम्परागत रुपमा बुद्ध धर्म मानिआएको छ । करिब १७ गाउँमा फैलिएका उनीहरुलाई अहिले सारक (श्रावक)हरु भनिन्छ र करिब १ लाख २० हजार जति जनसंख्या भएको अनुमान गरिएको छ । यहाँका बौद्धहरु अशोक कालदेखि नै बौद्ध भएको बताउँछन् । उनीहरु बुद्ध पूर्णिमा मान्छन् । उनीहरुका अनुसार बुद्धदेव अहिले पुरीमा बस्नुहुन्छ र धर्म चक्र समात्नुहुन्छ ।
यस बाहेक यहाँ पनि भारतका अन्य राज्यमा जस्तै अछुतहरु पनि बस्छन् । तर उनीहरुलाई अछुत भनेर दमन वा बहिष्कार गरेको अवस्था भने देखिँदैन । यहाँ पनि अम्बेडकरको दर्शनबाट प्रभावित भएर केही अछुतहरुले बुद्ध धर्म अपनाएका छन् । तर पनि तुलनात्मक रुपमा हेर्दा जहाँ भारतका अन्य प्रान्तहरुमा अंबेडकारवादी बौद्धहरु धेरै सशक्त र संगठित छन् भने ओडिशामा यो अभियान त्यति सफल देखिँदैन ।
अहिले ओडिशा बुद्ध धर्म निकै कमजोर भएका राज्यहरु मध्ये एक पर्दछ । अहिले ओडिशामा केही बौद्ध संघसंस्थाहरु छन् जसले बुद्ध धर्मको प्रचार प्रसार गर्ने तथा बुद्ध धर्मसँग सम्बनिधत कार्यक्रमहरुको आयोजना गर्छ । त्यस्तै यहाँ केही बुद्ध धर्मको अध्ययन गर्ने संस्थाहरु खुलेका छन् । जस्तै भुवनेश्वरको नालन्दा बौद्ध अध्ययन संस्थानले बौद्ध दर्शन, इतिहास तथा संस्कृति अध्ययन गर्ने प्रोग्राम खोलेको छ । त्यस्तै भुवनेश्वरकै उत्कल विश्वविद्यालयमा पनि बौद्ध अध्ययन विभाग छ जहाँ बौद्ध अध्ययनमा पोस्ट ग्राजुएट कोर्स खोलेको छ । यस प्रकार हेर्दा यहाँ बुद्ध धर्मको राम्रै विकास हुने सम्भावना भने देखिन्छ ।
बौद्ध मासिक आनन्दभूमि चैत्र २०८०मा प्रकाशित
फोटोहरु इन्टरनेटका विभिन्न साइटहरुबाट साभार गरिएका हुन् ।
Buddhism in Odisha (India), published in Buddhist Monthly “Anandabhumi”, from Kathmandu, Nepal in 2024 March.
Photos are taken from the Internet social media.