राजेन मानन्धर
नेपालमा बुद्ध धर्म फैलन राम्रो सकेन भन्ने गुनासो गर्नु पर्ने अवस्था अझै छ भने आज भन्दा हजारौ वर्ष पहिला यो धर्म सात समुद्रपारी पुगिसकेको थियो भन्ने सुन्दा हामी नेपालीलाई गर्व पनि लाग्छ ।
भगवान बुद्धले भारतवर्षमा आफुले प्राप्त गरेको ज्ञान बाँड्ने काम जीवन पर्यन्त गर्नुभयो । र उहाँको परिनिर्वाण पछि उहाँका शिष्य भिक्षुहरुले यो कामलाई निरन्तरता दिए । यसको प्रारम्भिक कालदेखि नै बुद्ध धर्मले प्रवेश पाएको अनि समाजमा भिजेका देशहरु मध्ये एक ग्रीस हो । यस लेखमा ग्रीसमा बुद्ध धर्मको इतिहासबारे संक्षिप्त चर्चा गरिन्छ ।
दक्षिणी युरोपमा अवस्थित ग्रीस एक धेरै महत्त्वपूर्ण र ऐतिहासिक देश हो । यो विश्वकै केही पुराना सभ्यताहरु भएको देशको रुपमा चिनिन्छ । अझ यसलाई ग्रीसलाई पश्चिमी सभ्यताको उद्गमस्थल भनेर समेत सम्मान गरिन्छ ।
यो युरोपको दक्षिण पूर्वमा अवस्थित छ । यसको आधिकारिक नाम हेलेनिक रिपब्लिकि हो । यसले उत्तर पश्चिममा एल्बानिया, उत्तरी मेसेडोनिया तथा उत्तरमा बुल्गारिया अनि पूर्वमा टर्कीसँग सीमाना जोडेको छ । यसको पूर्वमा एजियन सागर छ, पश्चिममा लोनियन सागर छ, दक्षिणमा सी अफ क्रेट, भूमध्यसागर रहेको छ । यसको अन्तर्गत ६ हजार भन्दा बढी टापुहरु पनि पर्दछन् । ग्रीसको ८० प्रतिशत भूभाग पहाडी छ । यसको क्षेत्रफल लगभग ४१,३१,९५७४ वर्ग किलोमिटर छ तर यसको जनसंख्या भने १ करोड मात्र छ । यसको राजधानी एथेन्स हो ।
पश्चिमको इतिहासमा ग्रीसको नाम सम्मानका साथ लिइन्छ । विश्वलाई यसले लोकतन्त्र दियो अनि अहिलेसम्म हामीलदे नाम लिने गरेका पश्चिमी दर्शनशास्त्रका विद्वानहरु जस्तसुकरात, प्लेटो, एरिस्टोटल आदि यहीँ जन्मिए । यसका साथै हाम्रो दैनिक जीवनसँग गाँसिएका कुराहरु, जस्तै ओलम्पिक खेलहरू तथा नाटको जननी पनि यसैलाई मानिन्छ ।

अहिले यसलाई युरोप मात्र हैन संसारकै उत्कृष्ट पर्यटकीय केन्द्रको रुपमा लिइन्छ । यहाँका ग्रीक सभ्यता दर्शाउने स्थलहरु र सामुद्रिक टापुहरु यहाँका आकर्षणहरु हुन् । यसका साथै यहाँ केही खेती र उद्योगहरु पनि संचालित छन् ।
वर्तमान ग्रीसको धर्मको बारेमा कुरा गर्दा यहाँको धर्मलाई ग्रीक अर्थोडोक्सी भनिन्छ, जुन पूर्वीय क्रिश्चियनको एक शाखाको रुपमा मानिन्छ । ग्रीसको जनसंख्याको लगभग ९० प्रतिशत यही धर्मसँग सम्बन्धित छन् । यसपछि यहाँ मुस्लिमहरु, क्याथोलिकहरु, यहुदीहरु, प्रोटेस्टेन्टहरु आदि छन् । केहीले यहाँको प्राचिन धर्म हेलेनिज्म मान्छन् । यसबाहेक अहिले यहाँ नगण्य संख्यामा बुद्ध धर्म मान्नेहरु पनि छन् ।
ग्रीसमा बुद्ध धर्म
सबैभन्दा पहिला यस लेखमा यो स्पष्ट पार्न जरुरी छ कि यहाँ हामीले इतिहासको कुरा गर्दा अहिलेको विश्व मानचित्रमा देखिने देश ग्रीस भन्दा पनि आज भन्दा दुइ हजार वर्ष अगाडिको मानचित्रले समेटेको ग्रीसको कुरा गर्दैछौं, जस अन्तर्गत अहिलेको ग्रीसदेखी पूर्व हुँदै अहिले देखिने इरान, इराक अफगानस्तान, पाकिस्तान तथा पश्चिमी भारतको सीमाक्षेत्रसम्मको विशाल साम्राज्यलाई इंगित गरिरहका हुन्छौं । त्यसरी हेर्दा त्यसबेलाको ग्रीसमा बुद्ध धर्म आज भन्दा दुइ हजार वर्ष अगाडि नै देखिएको थियो । विश्वमा भारतवर्ष भन्दा बाहिर सबैभन्दा पहिला बुद्ध धर्मलाई स्वीकार गर्ने देशहरु मध्ये यो पनि एउटा हो । बौद्ध साहित्यमा ग्रीसलाई योना अथवा यवन भनेर भनिएको छ जुन ग्रीक भाषाको इयोनियनको परिवर्तित रुप हो ।
तर पनि यहाँ बुद्ध धर्मको इतिहास अरु भन्दा भिन्न छ । हुन त यो देशमा बुद्ध धर्म धेरै लामो समयसम्म फैलिन पाएन तर विश्वमा बुद्ध धर्मको विस्तारको कुरा गर्दा ग्रीसको नाम लिन आवश्यक छ । यहाँ बुद्ध धर्मले जरा गाड्न नपाएपनि यहाँको इतिहास तथा संस्कृति बुद्ध धर्मको चर्चा नगरी ब्याख्या गर्न सकिन्न किनभने बुद्धको इतिहास, विस्तार अनि चित्रण तथा बौद्ध संस्कृतिको निर्माणमा ग्रीसको अतुलनीय योगादान देखिन्छ ।
एलेक्जेन्डर महान र ग्रीसको बुद्ध धर्म ः
ग्रीसको बुद्ध धर्मको इतिहास एलेक्जेन्डर महानको जीवनदेखि शुरु हुन्छ । ग्रीस नजिकको मेसेडोनियामा एलेक्जेन्डरले इसापूर्व ३३४देखि ३२३सम्म शासन गरे । २० वर्षमा राजगद्दी सम्हालेर उनले ३० वर्ष हुँदा विशाल साम्राज्य खडा गरे जुन एशिया माइनर, सिरिया, पर्सिया, ब्याट्रिया र गन्धारा (अहिलेको अफगानस्तान र पाकिस्तान) हुँदै भारतको उत्तर पश्चिमस्थित तक्षशिला तथा पंजाब क्षेत्रसम्म पुग्यो ।

त्यसबेला त्यहाँ बुद्ध धर्मको आगमन भएको थियो वा अन्य कुनै किसिमले उनको सेना यहाँको बौद्धहरुसँग परिचित हुन पाए । उनका कतिपय सैनिकहरु बौद्ध भिक्षु बने भन्ने पनि कथन पाइन्छ । उनीहरुको साँस्कृतिक आदानप्रदान हुने क्रममा उनीहरुले बुद्ध धर्मलाई स्वीकार गरे जसलाई इतिहासमा ग्रेको बुद्धिज्म भनेर नाम दिइयो । उनले राज्य विस्तार गरेको समयमा इसापूर्र्व ३२३सम्म ब्याकिट्रयामा अर्थात् अहिलेको अफगानस्तान, ताजकिस्तान, उजबेक्स्तिान आदि क्षेत्रमा बुद्ध धर्म पुगेको देखिन्छ ।
एलेक्जेन्डरको मृत्यु पछि त्यहाँ हेलेनिस्टिक राज्यहरु स्थापित भए, सेल्युसिड साम्राज्य बने । एकातिर पूर्वबाट राज्य विस्तार हुँदै थियो भने यहाँका राज्यहरुमा पनि अस्थिरता आउँदै थियो ।
सम्राट अशोक तथा ग्रीसको बुद्ध धर्म ः
एलेक्जेन्डर भन्दा लगभग ६० वर्ष पछि भारतमा सम्राट अशोक उदय भयो । इसापूर्व २६०मा राज्यसत्ता हात पारेपछि उसले पनि राज्य विस्तारलाई निरन्तरता दिए र उसको राज्य पश्चिमतिर पनि विस्तार हुँदै गयो । यसै क्रममा उनले बुद्ध धर्म अपनाए र आफुले सकेजति ठाउँमा धर्मदुत पठाएर बुद्ध धर्मको प्रचार गरे । उनले आफ्ना धर्मदुतहरु भूमध्यसागर क्षेत्रका हेलेनिस्टिक राजाहरुकहाँ समेत पठाएका थिए । उनीहरु ग्रीक क्षेत्र अन्तर्गतका योन तथा ब्याक्ट्रियासम्म पुगे र त्यसमा ग्रीक व्यक्तिहरू पनि सम्मिलित थिए, जसको शिलालेखहरुमा ग्रीक राजाहरूको उल्लेख गरिएको छ । यसले त्यसबेलाको बौद्ध धर्म हेलेनिज्मसँग मिलेको अनि सेल्युसिड साम्राज्य, इजिप्ट र म्यासेडोनियासम्म फैलिएको संकेत गर्दछ । उनले पठाएका धर्मदूतहरु ग्रीकहरु द्वारा शासित क्षेत्रहरुसम्म पुगे । उनको एक शिलालेखमा बुद्ध धर्म सेल्युसिडका राजा एन्टिओकस द्वितीय तथा इजिप्टका राजा प्टोलेमी द्वितीय आदि कहाँ पुगेको उल्लेख छ ।
उनले आफ्नो राज्य भरी वरिपरी बुद्ध धर्मको प्रचार गर्दै शिलालेखहरु पनि खोप्न लगाए । उनका केही शिलालेखहरू ग्रीक भाषामा लेखिएका थिए । विशेष गरी उनको साम्राज्यको उत्तरपश्चिमी भागहरू (जुन अहिले अफगानिस्तान तथा पाकिस्तानमा पर्र्छन्)मा राखिएका शिलालेखहरुमा यो देख्न पाइन्छ । जस्तै कान्दहार (अहिलेको अफगानस्तान)मा पाइएको शिलालेख ग्रीक तथा अरामिक भाषामा लेखिएको छ । यसले उनको प्रभाव ग्रीस अथा ग्रीक सम्राज्यसम्म पुगेको प्रमाणित हुन्छ । यसबेला यस क्षेत्रमा अर्थात् गन्धार क्षेत्रमा पूर्वी तथा पश्चिमी धर्म तथा संस्कृतिको मिश्रण भएको देख्न पाइन्छ । यसै प्रसंगमा यहाँ बुद्ध धर्मको प्रचार भयो ।

अर्कोतिर सम्राट अशोकले जुन धर्मदुतहरुको समुह छाने त्यसमा एक जना ग्रीक पनि परेको देखिन्छ । उनले छानेका धर्मदुतहरु मध्ये धर्मरक्षित नाम गरेका दुतलाई यवन अर्थात् ग्रीक भनेर चिनाइएको छ, जसले भारतवर्षको उत्तरपश्चिमी क्षेत्र अपरन्तक अर्थात् अहिलेको उत्तरी गुजरात तथा सिन्ध क्षेत्रमा धर्म प्रचार गर्न पठाइए । उसले त्यहाँ ३७ हजार मानिसलाई बुद्ध धर्ममा प्रवेश गराए अनि हजारौं महिला तथा पुरुषहरुलाई प्रवजित बनाए भनेर समेत भनिएको छ । सम्भवतः त्यसबेला ती क्षेत्रहरुको ग्रीकहरुको जनसंख्या धेरै थियो होला । यसले त्यसबेला अशोकको प्रभाव क्षेत्रमा भएका ग्रीकहरुमा बुद्ध धर्मको प्रभाव परेको देखिन आउँछ ।
राजा मेनान्दर र बुद्ध धर्म
अलेक्जेन्डर महानकोे मृत्यु पछि अहिले ग्रीस भएको ठाउँमा हेलेनिस्टिक राज्यहरू स्थापना भए त्यहाँ ग्रीको–ब्याक्ट्रियन र इन्डो–ग्रीक राज्यहरू बने । ती राज्यहरुमा इन्डो–ग्रीक राजाहरूको शासनकालमा फस्टाएको थियो । तिनीहरु मध्ये एक प्रख्यात राजा मेनान्दर थिए । मेनान्दर जस्ता ग्रीक शासकहरूले पछि धर्म परिवर्तन गरेर बौद्ध बनेको कारणले पछि ग्रेको बुद्धिज्मको विकास गर्न मद्दत गर्यो ।
राजा मेनान्दर प्रथम पहिले ब्याक्ट्रियाका राजकुमार थिए । उनी पछि यवन अर्थात ग्रेको–ब्याक्ट्रिया वा इन्डो ग्रीसका राजा भए र ईसापूर्व १६५देखि ईसापूर्व १३० शासन गरे । उनको राज्य मध्य एशिया, अर्थात् अहिलेको अफगानस्तान, पाकिस्तान देखि भारतीय उपमहाद्विपको उत्तर–पश्चिमसम्म फैलिएको थियो । उनले सगल अथवा अहिलेको सिआलकोटलाई राजधानी बनाएका थिए । उनले ग्रीक तथा भारतीय संस्कृतिलाई नजिक ल्याइदिए, भिक्षु नागसेको प्रभावमा उनले बुद्ध धर्म अपनाए, र आफ्नो टक छपाउँदा धर्म चक्रको चिन्ह राख्न लगाए । पछि स्तुप तथा विहारहरुको निर्माणमा संरक्षकको भूमिका निभाए । उनको शासनकालमा इन्डो–ग्रीकहरुले धेरै विकास गरे अनि यसैको फलस्वरुप गन्धारामा ग्रेको बौद्ध कलाको विकास भयो । यसप्रकार उनी यस युगकै परिचित बौद्ध व्यक्तिव हुन पुगे, जसको नाम भारतीय बौद्ध इतिहासमा उल्लेख गर्न लायकको पनि बने । उनलाई बौद्ध साहित्यमा मिलिन्द भनेर चिनिन्छ ।

मिलिन्द प्रश्न ः राजा मेनान्दर तथा नागसेन नामक बौद्ध भिक्षु बिचको गहन संवादलाई लिएर लेखिएको ग्रन्थ मिलिन्द प्रश्नलाई एक उत्कृष्ट बौद्ध साहित्यको रुपमा लिइन्छ । पाकिस्तानको स्वात उपत्यकामा रहेको बुत्कारा स्तुप, जसको निर्माण सम्राट अशोकले गरेका थिए, त्यसलाई अझ ठुलको बनाउने काम मेनान्दरले गरेको थियो । यसबाट त्यस समयसम्म यस क्षेत्रमा बुद्ध धर्मलाई राज्यको संरक्षण प्राप्त थियो र यो विकास हुँदै थियो भन्ने बुझिन्छ ।
ग्रेको बुद्धिज्म
ग्रीस आफै बौद्ध देश बनेन, यहाँ ठुलठुला बौद्ध मन्दिर विहार बनेनन् अनि बौद्ध विद्वानहरु जन्मिएनन् होला । तर विश्वको बुद्ध धर्मको इतिहासको अध्ययन गर्दा ग्रीसको नाम छुटाउन सकिन्न । यसको एउटा कारण हो कि ग्रीकहरुको योगदानको कारणले एउटा अलग्ग जस्तो देखिने बुद्ध धर्म यस मध्यपश्चिम क्षेत्रमा लगभग ८ सय वर्षसम्म कायम रह्यो जसलाई अहिले ग्रेको बुद्धिज्म भनेर भनिन्छ ।
ग्रेको–बौद्ध धर्म भन्नाले हेलेनिस्टिक वा ग्रीक संस्कृति र बौद्ध धर्मको मिश्रणबाट बनेका सांस्कृतिक र कलात्मक समन्वय बुझिन्छ जुन त्यसबेलाको ग्रीस साम्राज्यले प्रभावित क्षेत्रको साँस्कृतिक विशेषता बन्यो । यो मुख्यतयाः ईसापूर्व चौथो शताब्दीदेखि ईस्वी पाँचौं शताब्दीसम्म दक्षिण र मध्य एसियाली क्षेत्र गान्धार (अहिलेको अफगानिस्तान र पाकिस्तान नजिक) मा प्रचलनमा रह्यो ।
यता भारतवर्षमा पनि ग्रेको बुद्ध धर्मको प्रभाव थियो । इस्वीको पहिलोदेखि तेश्रो शताब्दीसम्म यहाँ कुशाण साम्राज्य थियो । यो ग्रीक नै नभए पनि यहाँ अत्यधिक हेलेनिस्टिकको प्रभाव थियो थियो र विशेष गरी राजा कनिष्कको शासनकालमा यिनको राज्यमा ग्रीको–बौद्ध कलाले विस्तार हुने मौका पायो ।
यो कुनै यान वा दर्शन वा कर्मकाण्डमा भन्दा पनि कला र संस्कृतिसँग सम्बन्धित शाखा थियो । यसको सबैभन्दा विशेष प्रभाव भनेको यो भयो कि यसले एउटा छुट्टै देखिने र निकै टाढा टाढासम्म प्रभाव राख्न सक्ने कलाशैलीको विकास गर्यो जसलाई बौद्ध कला विशेषज्ञहरु गन्धार कला भनेर भन्न रुचाउँछन् । यो शैली यहाँबाट फैलिँदै भारत चीन हुँदै कोरिया तथा जापान सम्म पनि विभिन्न रुपमा पुग्यो । र यसले नै विश्वमा बुद्ध धर्म यसरी विस्तार हुन समेत सघायो ।

यद्यपि ग्रीक सभ्यता र बुद्ध धर्मको कुनै सम्बन्ध नै नभएको भने होइन । त्यहाँको मौलिक धर्म वा सभ्यता वा दर्शन कुनै दृष्टिकोणबाट बुद्ध धर्मसँग नजिक भएको पाइएको छ । ग्रीक दर्शन पिरोनिज्म र बौद्ध दर्शनको बिच अचम्मको समानता पाइन्छ । केही विद्वानहरुले यो त्यहाँ भरखरै प्रवेश गरेको बौद्ध दर्शनबाट निर्देशित वा प्रभावित भएको भनेका छन् ।
पिरोनिज्म प्राचिन ग्रीक दर्शन हो जसले अभिमानलाई त्याग्न र कुनै पनि विश्वासका बारेमा निर्णय नलिन सिकाउँछ । यसको प्रतिपादन इसापूर्व पहिलो शताब्दीमा एनेसिडमसले गरेका थिए र उनको सिद्धान्त इसापूर्व चौथो शताब्दीका दार्शनिकहरु पिरो तथा तिमोनबाट प्रभावित थिए भनिन्छ । यसमा बुद्ध दर्शनका केही बुँदाहरु ज्स्तै अनित्य, तृष्णाबाट मुक्ति आदि पर्छन् । यी समानता प्रत्यक्ष रुपमा बौद्ध दर्शनबाट लिइएको भन्न नमिलेपनि यी समानताहरुले दर्शनका विद्वानहरुले यसलाई बौद्धिक आदानप्रदानको रुपमा लिने गरेको छ । पिरोनिज्म आफै भारतीय सन्तहरुको सम्पर्कमा विकास भएको वा प्रभावित भएको हुनसक्छ ।
गन्धार बौद्ध कला र बुद्धको मूर्ति निर्माण
ग्रीकहरुको कलाको इतिहास निकै पुरानो र उच्चतहको थियो । यसमा उनीहरुले बुद्ध धर्मका विषयहरुलाई हेलेनिस्टिक शैलीमा प्रस्तुत गरे, जुन यथार्थवादी थियो । यसभन्दा पहिले भारतवर्षका बौद्धहरु भगवान बुद्धको मानव स्वरुपलाई मूर्तिमा चित्रण गर्दैनथे । अब यहाँदेखि ग्रीक कलाकारिता बुद्धको मूर्ति बनाउनमा पनि प्रस्फुरित हुनथाल्यो ।
संसारमा सबैभन्दा पहिला बुद्धको मानवरुपी चित्रण ग्रीको–बौद्ध कला अथवा गान्धारमा विकसित भएको यस शैलीले गर्यो भनिन्छ । यस मूर्तिकलाले बुद्ध धर्मलाई विषय बनाएपछि पहिले जस्तो बुद्धलाई देखाउन पिपलको रुख, पाइला, घोडा वा सिंह जस्तो प्रतीकहरु मात्र राख्नु परेन । यसको सट्टा अब बुद्धलाई सिधै मानिस जस्तो बनाएर देखाउन शुरु भयो । यसका लागि यथार्थवाद, लहरा जस्तो कपाल, मांसपेशीयुक्त शरीर अनि कपडाको बान्की जस्तो ग्रीक मूर्तिकलामा पाइने विशेषताहरु ल्यायो । समग्र रुपमा भन्नु पर्दा उनीहरुले बुद्धलाई उनीहरुको देउता एपोलो जस्ता अनि उनीहरुले लगाउने लुगा टोगा–जस्तो पोशाकमा प्रस्तुत गरे । त्यस्तै किसिमबाट बुद्ध धर्मका रक्षक देवता वज्रपाणीको प्रारम्भिक स्वरुप बलिष्ठ पुरुषको रुपमा मात्र थियो जो हेर्दा ग्रीसहरुको देवता हर्कुलस जस्तो देखिन्थ्यो । यसप्रकारको स्वरुपलाई उनीहरुले मात्र हैन टाढा टाढाका बौद्धहरुले पनि स्वीकारे अनि मन पनि पराए । जसले गर्दा धेरै लामो समयसम्म यो शैली प्रख्यात भयो । कतिपय ठाउँमा बुद्ध धर्मले स्वीकारेका रक्षकहरु अथवा बोधिसत्वहरुको चित्रण पनि ग्रीक देउताहरुको शारीरिक बनावटसँग मिल्दो जुल्दो बनाएको पनि पाइन्छ ।

कलाको सहारा पाएर बुद्ध धर्म यस क्षेत्रमा सजिलैसँग फैलियो । अब बुद्ध धर्म गान्धार क्षेत्रमा मात्र हैन अन्य क्षेत्रमा समेत विस्तार भएर गयो । त्यसैकारण पनि यहाँका बौद्ध भिक्षुहरूले बौद्ध धर्मलाई सिल्क रोडको पूर्वतिर मध्य एशिया, चीन, कोरिया र जापानमा फैलाउनमा प्रमुख भूमिका खेले ।
ग्रीस साम्राज्यको पतन र रोमन साम्राज्यको उदय
सारा पश्चिमलाई एकीकरण गरेका एलेक्जेन्डर महानको मृत्यु पछि अहिले ग्रीस भएको ठाउँमा मुख्य गरी तीनवटा हेलेनिस्टिक राज्यहरू स्थापना भए — टोलेमाइक राज्य, सेल्युसिड सम्राज्य अनि एन्टिगोइड वंश । तिनीहरु आपसमा लडिरहने भएकोले सबै कमजोर हुँदै गए र पछि लगभग इसापूर्व पहिलो शताब्दीदेखि रोमन साम्राज्यको उदय भयो ।
माथि नै भनिसकेको छ कि ग्रीसमा बुद्ध धर्म एउटा ठुलो धर्मको रुपमा स्थापित भएन अनि ग्रेको बुद्ध धर्मले ग्रीसको बुद्ध धर्म भन्दा पनि ग्रीसदेखी पूर्वमा अफगानस्तान र पाकिस्तानसम्म फैलिएको ग्रीस सभ्यता र बौद्ध दर्शनको संमिश्रण जनाउँछ । त्यसमा पनि अब रोमन साम्राज्यको उदयले गर्दा त्यहाँको भूराजनीतिक स्वरुप बदलियो । यसले ग्रीस र बौद्ध प्रभाव भएको पूर्वी देशहरु जस्तै अफगानस्तान आदिसँग सम्बन्ध टुटाइदियो, ग्रीसबाट ग्रेको बुद्धिज्मले पाइरहेको संरक्षण कम हुँदै गयो । यसप्रकार प्रत्यक्ष रुपमा रोमन साम्राज्यले ग्रीसको बुद्ध धर्मलाई वा बौद्ध संस्कृतिलाई नाश नै नगरेको भएपनि यो पनि यहाँ प्रचलित रहेको बुद्ध धर्मको अवसानको कारण बन्यो ।
अर्को तर्फ रोमन साम्राज्यले बिस्तारै इसाई धर्मलाई प्रवेश गराइराखेको थियो । इस्वीको चौथो शताब्दीमा रोमन साम्राज्यले इसाई धर्मलाई औपचारिक रुपमा स्वीकार गर्यो । यसले गर्दा अबदेखि भूमध्यसागरीय देशहरुमा, जस्तै ग्रीस र रोम साम्राज्य क्षेत्रभित्र बुद्ध धर्मलाई बिस्तारै निषेध गर्दै लग्यो ।
ग्रेको बुद्ध धर्मको पतन
यसरी हेदौ इस्वीको चौथोदेखि सातौं शताब्दीभित्र ग्रीस तथा ग्रेको बुद्धिज्मको क्षेत्रबाट बिस्तारै बुद्ध धर्म लोप हुँदै गयो । यसको मुख्य कारणहरु यी हुन् — इस्वीको पाँचौं शताब्दीमा फिरन्ते जाति ह्वाइट हुण अथवा हेप्थालाइटहरुले मध्य एशियामा हमला गरेर यहाँको ग्रेको बुधिस्ट विहार तथा अन्य स्मारकहरु नाश गरे । कालान्तरमा ग्रेको बुद्धिस्ट क्षेत्रका बौद्ध ग्रीकहरु विभिन्न कारणले तितरबितर वा नाश भए वा स्थानीयहरुसँग विवाह गरे अनि बुद्ध धर्म त्यागेर स्थानीय धर्म र संस्कृतिमा फर्किए । त्यस्तै किसिमले रोमनहरुले आफ्नो प्रभाव क्षेत्र सबैतिर रोमन यथार्थवादी कलाशैलीको बिस्तार गर्दै जाँदा ग्रेको बुद्धिज्मको क्षेत्रमा पुरानो गन्धार कला शैली पनि क्रमशः हराउँदै गयो ।
इस्वीको सातौं आठौं शताब्दीमा सम्पूर्ण मध्य एशिया क्षेत्रमा नै मुस्लिमहरुको आक्रमण बढ्यो । उनीहरुले जहाँ जहाँ जुन जुन धर्म छ, त्यो नष्ट गर्दै जाने भएकोले यहाँका बौद्ध केन्द्रहरु वा बौद्ध सभ्यताहरुमा उनीहरुले आघात पुर्याए र अन्तमा यहाँबाट भएको बचेको बुद्ध धर्म र बौद्ध संस्कृति पनि बिलाएर गयो ।
अहिले ग्रीसमा बौद्ध सम्पदाहरुको अवशेष छ त?
माथि यति धेरै ग्रीस सभ्यताले बुद्ध धर्ममाथि पारेको प्रभाव अनि ग्रेको बुद्धिज्म भनेर छलफल गरिसकेपछि जो कोहीलाई पनि अहिले ग्रीसमा बौद्ध स्मारक वा सम्पदाहरुको अवशेष पाइन्छ होला त भन्ने जिज्ञासा आउनु स्वाभाविक छ ।
अहिलेसम्म आज ग्रीस भनेर जति ठाउँलाई भनिन्छ, त्यहाँ कुनै पनि किसिमकौ बौद्ध नै हो भन्न मिल्ने बुद्ध मूर्ति, मन्दिर, विहार गुम्बा वा अन्य त्यस्तो कुनै सम्पदा पाइँदैन । त्यहाँ भएका अनुसन्धान तथा पुरातात्विक उत्खनन्ले पनि त्यहाँ त्यस्तो विशेष अवशेष पाइएको देखिँदैन । यसले ग्रीसमा कुनै पनि बेलामा बुद्ध धर्म नफैलिएको वा संस्थागत विकास नभएको भन्ने संकेत गर्दछ । त्यहाँ कुनै बेला बुद्ध धर्मको चिन्ह वा अवशेष पाइएको भए त्यो त्यसबेलाका केही सीमित विद्वान, दार्शनिकहरुले पढेको वा सिकेको अनि यात्रीहरुले लिएर आएको हुनसक्छ ।
वर्तमान ग्रीसमा बुद्ध धर्म
यस प्रकार भारतवर्ष तथा ग्रीस सम्यताको बिचमा सेतु बनेको बुद्ध धर्म राजनीतिक उथलपुथल इत्यादि कारणले बिलायो । अनि नयाँ नयाँ धर्म दर्शन संस्कृतिले यसरी यो पुरै क्षेत्रलाई कब्जामा लियो कि बुद्ध धर्मको नाम यहाँ बाट लगभग दुइ हजार बर्ष सम्म लुप्त भयो ।
अहिले आएर १९औं तथा २०औं शताब्दीमा भरखरै युरोपका अन्य देशहरुमा बुद्ध धर्मले प्रभाव पार्न थाले पछि यहाँ ग्रीसमा पनि मानिसहरुमा बुद्ध धर्म सम्वन्धी कौतुहलता अनि चेतना बढ्न थालेको छ । ग्रीसमा बुद्ध धर्मको बारेमा कौतुलता, चेतना बढ्नुको पछाडि युरोपयिन पूर्वी दर्शन अध्ययन छात्रवृतिको सहयोग, बौद्ध ग्रन्थहरु युरोपियन भाषाहरुमा अनुवाद हुनु तथा बौद्ध दर्शन तथा पिरोनिज्म जस्ता ग्रीक दर्शनमा बौद्ध धर्मसँगको सामिप्यता पाउनु आदि रहेका छन् ।
यसबाहेक २० औं शताब्दीमा थाइल्याण्ड, चीन वा तिब्बत, जापान अनि श्रीलंकाबाट आप्रवासनले पनि भूमिका खेल्यो । उनीहरुले आफ्नो देशबाट बौद्ध धर्म त्यहाँ लगे र अभ्यास गर्न थाले । आफ्नो देशको मौलिक भन्दा अलग खालको धर्म र जीवन शैले देखेर त्यहाँका ग्रीकहरु अप्रभावित रहन सकेन र विस्तारै सोधपूछ, अध्ययन आदिको माध्यमबाट उनीहरुमा पनि बुद्ध धर्मको ज्ञान तथा श्रद्धा बढ्न थाल्यो । यसकारणले पनि त्यहाँ बिस्तारै बुद्ध धर्मसम्बन्धी चेतना वा ज्ञान बढ्न थालेको छ ।
आजको दिनमा वर्तमान ग्रीसमा बुद्ध कुनै न कुनै अवस्थामा भने भेट्न सकिन्छ । यहाँ बुद्ध धर्म मान्नेहरुको निकै सानो समुदाय छ । अहिले त्यहाँको सबैभन्दा ठुलो धार्मिक समुदाय भनेको अर्थडक्स क्रिश्चियनहरुको छ । बुद्ध धर्मलाई यहाँको सरकारले मुख्य धर्म भनेर मान्यता पनि दिएको छैन । यद्यपि यहाँ बुद्ध धर्मको अभ्यासलाई कानुनी रुपमा अनुमति प्राप्त छ अथवा यसलाई गैरकानुनी भनेको छैन । यसकारण यहाँ सामान्य जनतामा आएको बुद्ध धर्मप्रतिको जागरण वा चेतनालाई सरकारले प्रतिबन्ध लगाएको छैन ।
अहिले यहाँ सानो सानो इकाइमा भएपनि थेरवाद, जेन तथा तिब्बती बुद्ध धर्म मान्नेहरु देखिन्छ । यहाँका बौद्धहरु भनेको एशियाली मुलुकबाट आप्रबासी भएर आएका बाहेक यहाँकै मानिसहरु पनि धर्मान्तरण गरेर बौद्ध भएकाहरु पनि छन् । अनि यहाँको बुद्ध धर्म मान्नेहरुले ध्यान भावनालाई जोड दिएको पाइन्छ । त्यसैले यहाँ केही क्षेत्रहरुमा विभिन्न निकाय अन्तर्गत रहेर ध्यान गर्ने केन्द्रहरु समेत खोलिएका छन् ।
अहिले त्यहाँ करिब ५ हजार देखि १० हजारसम्मको समुदायले व्यक्तिगत रुपमा वा संगठित रुपमा बुद्ध धर्मको अभ्यास गर्छन् जुन त्यहाँको कुल जनसंख्यको ०.१ प्रतिशत भन्दा कम्ती हो । त्यस अन्तर्गत यहाँ आप्रबासी भएर आएका थाइल्याण्ड श्रीलंका आदि देशका बौद्धहरु समेत सम्मिलित छन् ।
यसमा थेरवाद मान्नेहरुका लागि एथेन्स थेरवाद केन्द्र खोलिएको छ जुन श्रीलंकाको बौद्धसंस्थाहरुसंग आवद्ध छ । केही समय यता यहाँ ग्रीसमै जन्मनुभएका भिक्षु ञानदेशनाले ध्यान सिकाउने तथा पाली ग्रन्थहरुको बारेमा जानकारी समेत दिँदै आउनुभएको छ । त्यस्तै किसिमले वज्रयान वा तिब्बतको कर्मा काग्यु निकाय सम्बन्धी पनि केही केन्द्रहरु एथेन्स, थेसालोनिकी आदि ठाउँमा खोलिएका छन् । यस बाहेक जेन बुद्ध धर्मका समेत केही केन्द्र वा विहारहरु एथेन्समा खोलिएका छन् ।
इन्टरनेट विभिन्न वेभसाइटबाट साभार
“The History of Buddhism in Greece”, published in Buddhist monthly in Nepal, “Anandabhoomi”.
ग्रीसमा बुद्ध धर्मको इतिहास https://bit.ly/4aUtgmW

No comments:
Post a Comment