Showing posts with label world. Show all posts
Showing posts with label world. Show all posts

Sunday, April 28, 2024

मलेसियामा बुद्ध धर्मको अवस्था

 

राजेन मानन्धर

मलेसिया दक्षिणपूर्वी एसियाको एउटा संघीय संवैधानिक राजतन्त्र भएको देश हो । यसले १३वटा राज्यहरू र तीन संघीय क्षेत्रहरू समावेश गरेको छ । यो देश दक्षिण चीन सागरको दुइतिर दुई क्षेत्रहरूमा विभाजित छ — एकातिर प्रायद्वीप मलेसिया र अर्कोतिर बोर्नियो टापुमा रहेको पूर्वी मलेसिया । प्रायद्वीप मलेसिया भूमि र समुद्रबाट थाइल्याण्डसँग अनि सिंगापुर, भियतनाम र इन्डोनेसियासँग समुद्रबाट जोडिएको छ । त्यस्तै पूर्वी मलेसिया भूमिबाट ब्रुनाई र इन्डोनेसिया सँग अनि फिलिपिन्स र भियतनामसँग समुद्रबाट जोडिएको छ । यसको राष्ट्रिय राजधानी तथा देशको सबैभन्दा ठूलो शहर क्वालालम्पुर हो । यहाँ तीन करोड ३० लाख जनसंख्या छ । यहाँ यो पनि स्मरणीय छ कि अहिले मलेसिया भनेको सात लाख भन्दा बढी नेपालीहरुको कर्मस्थल हो ।

दशौ शताब्दीसम्म मलायहरु नै यस प्रायद्वीपका प्रभावशाली जनसमुदाय बने । यहाँका पहिलेका राज्यहरु बढी जसो भारतीय धर्महरु र संस्कृतिबाट प्रभावित थिए । भारतको पल्लव वंशको प्रभाव यहाँ धेरैजसो ४औं तथा ५औं शताब्दीमा रह्यो । यहाँ आदिबासीहरुको मौलिक धर्म बाहेक बुद्ध धर्म र हिन्दु धर्म सँगसँगै जस्तै विकास भयो । यो क्रम ७औ शताब्दीमा बढेर १३औ शाब्दीसम्म चलिरह्यो । यो समय भनेको यहाँ श्रीविजय वंशको शासन हुँदाको समय थियो ।

१५औं शताब्दीमा मलेसियामा इस्लाम फैलिन थाल्यो र मलक्का सुल्तनतको उदय भयो । यहाँ इस्लाम धर्मको प्रचार भएको यसै समयदेखि हो । यसबेला मलक्का इस्लामको शिक्षण र प्रचार प्रसारको केन्द्र नै बन्यो । १६औं शताब्दी भनेको युरोपका शक्तिसम्पन्न देशले एशियाका विभिन्न देशहरुलाई उपनिवेश बनाएर राख्ने युग थियो । सन् १५११मा पोर्चुगिजहरुले मलेसियालाई उपनिवेश बनाए । सन् १६४१मा यो डचहरुको उपनिवेश बन्यो र अन्तमा सन् १८२४मा फेरि यो ब्रिटिशहरुको हातमा गयो । दोश्रो विश्वयुद्ध भयो अनि यहाँ पनि स्वतन्त्रताको लहर चल्यो । सन् १९६३मा मलेसिया फेडरेशनको स्थापना भयो । फेरि सन् १९६९मा जातीय द्वन्द्व भोग्नु पर्यो अनि नागरिकहरुको एकताको लागि नयाँ धारणा ल्याउनु पर्यो । सन् १९७१मा नयाँ आर्थिक नीति ल्याइयो । त्यसपछि ८०को दशकदेखि प्रधानमन्त्री महाथिर मुहम्मदको नेतृत्वमा विश्वलाई नै चकित पार्ने खालको आर्थिक वृद्धि भइरहेको छ ।

मलेशियामा बुद्ध धर्म इस्लाम पछिको दोस्रो ठूलो धर्म हो । मलेशियाको जनसंख्याको १८.७ प्रतिशत जनता बौद्ध छन् । त्यसमा पनि बुद्ध धर्मका गुणहरु मिसिएका चिनियाँ धर्मका अनुयायीहरूलाई समेत जोड्यो भने यो संख्या २१.६ प्रतिशत हुन्छ । मलेसियामा बुद्ध धर्म मुख्यतया चिनियाँ मूलका मलेसियनहरु अभ्यास गर्छन्, तर त्योसँगै थाइ, श्रीलंका र बर्मीमूलका मलेसियनहरू पनि छन् ।

१. मलेसियामा बुद्ध धर्मको इतिहास
मलेसिया बुद्धको जीवनसँग गाँसिएको भारतवर्ष भन्दा निकै टाढा छ तर पनि यहाँ धेरै अगाडि नै बुद्ध धर्मले प्रवेश पाइसकेको मानिन्छ । यहाँ बुद्ध धर्मको विकासलाई यसरी हेर्न सकिन्छ । यहाँ बुद्ध धर्मको लामो र समृद्ध इतिहास छ, जुन ईसापूर्व २०० तिर शुरु भएको भनिन्छ । पछि मलेसियाको भारतसँगको ब्यापार फस्टायो । यसबेला भारतबाट सामान मात्र होइन, त्यससँगै बुद्ध धर्मजस्ता भारतीय धार्मिक अवधारणाहरू पनि ल्यायो ।

प्रारम्भिक आगमनको युग ः मलेसियामा बुद्ध धर्मको इतिहासमा इसापूर्व दोश्रो शताब्दी देखि १४औं शताब्दीको समयलाई प्रारम्भिक आगमनको युग भन्न सकिन्छ । केही प्रमाणले इसापूर्व दोस्रो शताब्दीको आसपास बुजाङ उपत्यका (केदाह) मा हिन्दू–बौद्ध राज्य बनेको देखाउँछ ।
जब भारतीय व्यापारीहरू र पुजारीहरूले समुद्री मार्गहरू यात्रा गरे, उनीहरू आफुसँग आफ्नो देशबाट धर्म र कलाको अवधारणाहरू ल्याए । यसैबेलादेखि यस क्षेत्रका मानिसहरूले बुद्ध धर्मसँग परिचित हुन पाए ।

यहाँ बुद्ध धर्मको प्रवेशकालदेखि नै थेरवाद तथा महायान बुद्ध धर्म थियो भन्ने अनुमान गरिएको छ । बौद्ध ब्यपारीहरुको पहुँच त्यसबेलाका दरवारीयाहरुसँग हुने भएकोले उनीहरुले दरवारमा प्रभाव जमाए र फलस्वरुप बुद्धधर्मले यहाँको शासकहरुको संरक्षकत्व प्राप्त गर्न सफल भयव् । त्यसै आधारमा त्यबेलाको राजनीतिक प्रभाव भएको तप्काले बुद्ध धर्मसँगै आएको दर्शन र जीवन पद्धतिलाई उच्च मूल्यांकन गरे । त्यसपछि यस धर्मको राजनीतिक र सांस्कृतिक महत्व बढेर गयो ।

पेनाङ शहरमा भेटिएको ५औं शताब्दीको एक शिलालेखले मलेसियामा बुद्ध धर्मको प्रमाणित इतिहासको ढोका खोल्दछ । महानाविक बुद्धगुप्तको यस अभिलेखमा एउटा बौद्ध स्तुपको चित्रण गरिएको छ । यसका लेखक भारतीय थिए । यसले कसरी बुद्ध धर्मको माध्यमबाट भारत तथा मलेसियाको सम्बन्ध बनेको छ भनेर देखायो ।

मलेसियाको केदाहस्थित बुजाङ उपत्यकामा दुइटा बौद्ध मूर्तिहरु भेटिएका छन् । पहिलो ५औं देखि ९औं शताब्दीको उभिरहेको बुद्ध को मूर्ति तथा दोश्रो ८औं शताब्दीको आठ हात भएको बोधिसत्व अवलोकितेश्वरको मूर्ति । यी मूर्तिहरुले त्यसबेला यहाँ बुद्ध धर्मको विकास उच्च तहमा भएको थियो भन्ने प्रमाणित गर्दछ ।




त्यस्तै मलेशियामा हालै १२ सय वर्ष पुरानो अर्थात् लगभग ९औं शताब्दीको स्तुप भेटिएको समाचारले हलचल मचाएको छ । अलजजिराका अनुसार त्यहाँको बुजाङ उपत्यकामा बुकित चोसर स्तुप भेटिएको थियो । यो स्थान क्वालालम्पुरबाट ३७० किलोमिटर उत्तरमा पर्छ । बुजाङ उपत्यका मलेसियाकै एक प्रमुख पुरातात्विक क्षेत्र हो । करिब २२४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस क्षेत्र कुनै बेला बौद्ध राजनीतिक क्षेत्र थियो भन्ने मान्यता छ । यहाँका केही अवशेष २५सय वर्षसम्म पुराना हुनसक्ने अनु्मान गरिएको छ । अहिले यहाँ पत्ता लगाइएका अवशेषहरु मध्ये १० प्रतिशत स्थलको मात्र उत्खनन् भएको छ ।

यद्यपि ११ औं शताब्दीको प्रारम्भमा तमिलनाडुका चोल वंशका राजाले उनीहरूमाथि आक्रमण गरेपछि भने मलायहरुको भारतीयहरुप्रतिको सम्मान समाप्त भयो । उनीहरुमध्ये केदाह राज्यले भारतीय धर्मको निन्दा पनि ग¥यो । केदाहका राजा फ्रा ओङ महावाङ्साले त इस्लाममा धर्म परिवर्तन समेत गरे । यही सिलसिला जारी भएर १५ औं शताब्दीसम्म आइपुग्दा बहुसंख्यक मलायले इस्लाममा परिवर्तन गरे । र यहाँको बुद्ध धर्म क्रमशः विलय हुँदै गयो ।

श्री विजय साम्राज्य — त्यसमध्ये सुमात्रामा शक्तिशाली श्री विजय साम्राज्य थियो जुन ७ औं देखि १३औं शताब्दी ईस्वी सत्तामा रह्यो । यसबेला त्यो बौद्ध शिक्षाको केन्द्र थियो । यसबेला श्री विजय साम्राज्य व्यापारका साथै बौद्ध शिक्षाको पनि केन्द्र बन्यो । यसका साथै यसे दक्षिणपूर्वी एशियामै बुद्ध धर्म फैलाउने काममा ठुलो योगदान पनि दियो । यसै वंशले इन्डोनेसियामा बोरोबुदुर माहाचैत्य बनाएको मानिन्छ ।
मलक्का सुल्तन — १५औं शताब्दीमा मलेसियामा इस्लाम फैलिन थाल्यो र मलक्का सुल्तनतको उदय भयो । यसबेला मलक्का इस्लामको शिक्षण र प्रचार प्रसारको केन्द्र नै बन्यो । यसले गर्दा यहाँ मलाय भाषा, कला र साहित्य विकास भयो । त्यसबेलाको कानुन तीन पक्षबाट निर्धारित थियो — हिन्दु÷बौद्ध, इस्लाम तथा आदिबासीहरुको अदतबाट । आश्यर्चको कुरा थियो कि यस्तो समयमा पनि त्यहाँका चीनियाँ तथा भारतीय समुदायहरुमा निर्वाध रुपमा बुद्ध धर्मको अभ्यास भइरहेको अवस्था थियो ।

उपनिवेश काल ः १६औं शताब्दीदेखि मलेसिया विभिन्न देशहरुको उपनिवेश रह्यो । त्यसबेला ती देशले प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो देशको धर्म यहाँ लादे वा लाद्न खोजे । यो स्वभाविक पनि थियो । यस बेलामा यहाँका बौद्ध समुदायले स्वतन्त्र भएर आफ्नो धर्म अभ्यास गर्न केही कठिनाइ सामना गरे । यहाँ शासन गर्न आएका पोर्चुगिजहरु, डचहरु त्था ब्रिटिशहरुले इशाई धर्मको प्रचार गर्न खोजेकोले बुद्ध धर्मले चुनौतिहरु सामना गर्नुपर्यो । तर पनि विशेष गरी चीनियाँ समुदाय संख्यात्मक रुपमा धेरै भएको र आफ्नो धर्म तथा संस्कृतिप्रति प्रतिवद्ध भएकोले विदेशीहरुको थिचोमिचोको बाबजुद पनि आफ्नो धर्म संरक्षण गरेर राखे ।

उपनिवेशले मलेसियाको बुद्ध धर्मलाई विभिन्न किसिमले प्रभाव पारे । उपनिवेश बनाउने सम्राज्यहरुले मलेसियामा पाइला टेक्नु अगाडि यहाँ बुद्ध धर्मको यथेष्ट विकास भइसकेको थियो । यति मात्र होइन, यहाँ त चीनियाँ, थाइ तथा भारतीय बौद्धहरुको अलग अलग पराम्पराको छुट्टा छ्ट्टै अभ्यास गर्ने परिपाटी बसिसकेको थियो ।

सम्राज्यवादी शक्तिहरु इशाई धर्म प्रचार गर्न चाहन्थे । उनीहरुले पश्चिमी शिक्ष प्रणालीसँगै इशाई धर्म पस्कँदै गए । यसले गर्दा केही हदसम्म यहाँको बुद्ध धर्मको विकासमा प्रभाव त अवश्य पार्यो । केहीले बुद्ध धर्मलाई पुरानो मानेर आधुनिक भन्दै इशाई धर्म अँगाले । यसको प्रत्युत्तरमा बौद्ध गुरुहरु तथा संगठनहरुले पनि बुद्ध धर्मलाई समय सुहाउँदो सुधार गरे । उनीहरुले पनि इशाई मिसनरीहरुले जस्तै बुद्ध धर्मसँगै शिक्षा तथा समाज कल्याण पनि जोडेर आधुनिक बनाएर समाजमा प्रचार गर्न थाले ।

आधुनिक युग ः आधुनिक मलेसियामा बुद्ध धर्म सुरक्षित र व्यवस्थित छ । बौद्धहरु अल्पसंख्यक भएपनि उनीहरुलाई धार्मिक स्वतन्त्रता छ । यहाँ विशेष गरी चिनियाँ मूलका मलेसियालीहरु बिच बुद्ध धर्म एउटा महत्वपूर्ण धार्मिक संस्कृति तथा परम्परा बनेको छ । त्यहाँ त्यस्तै गरी भारतीय मूलका मलेशियनहरूले बुद्ध धर्मको अभ्यास गरिरहेका छन् । यसबाहेक बुद्ध धर्म मान्ने आदिवासीहरूका साना समुदायहरू पनि छन् । यहाँ बौद्ध मन्दिर, गुम्बा र बौद्ध समाजहरू देशभर रहेका छन् । उनीहरुको धार्मिक संघहरु र संगठनहरु पनि छन् ।

आधिकारिक मान्यता र अन्तरविश्वास सम्बन्धको विकासः यहाँ मुस्लिमहरुको बाहुल्य भएतापनि त्यहाँको समाजले बहु–धार्मिक विशेषतालाई हुर्काएको छ । मलेसियाली सरकारले बुद्ध धर्मलाई आधिकारिक रूपमा नै देशको प्रमुख धर्महरू मध्ये एकको रूपमा मान्यता दिएको छ । त्यहाँको सरकार र समाजले विभिन्न धर्मका मानिसहरु बिच अन्तरविश्वास संवाद र समझदारीलाई प्रवर्द्धन गर्न प्रयास गरेको छ । यहाँका बौद्ध, मुस्लिम, ईसाई र हिन्दूहरू बीच सहयोग र सद्भाव बढाउने उद्देश्यका पहलहरू पनि समाजमा भइरहेको छ । यद्यपि त्यहाँका केही कट्टर मुस्लिमहरुले गर्दा त्यहाँका बौद्धहरुले आफ्नो धर्म अभ्यासमा बाधा अवरोधको सामना गर्नुपरेको समाचारहरु पनि यदाकता सुन्नमा आउँछ ।

हालका वर्षहरूमा मलेसियाका बौद्ध समुदायहरूमा धार्मिक स्वतन्त्रता चेतना बढेको छ । त्यस्तै उनीहरुमा आफ्नो इतिहास सम्बन्धी अध्ययन गर्ने तथा सम्पदा स्थलहरू र सांस्कृतिक अभ्यासहरूको संरक्षण गर्ने जागरण पनि आएको छ । यसका साथै उनीहरु सामाजिक र वातावरणीय सक्रियता प्रवर्द्धनमा बुद्ध धर्मको भूमिकाबारे पनि अध्ययनशील छन् ।

अहिले मलेसियामा बौद्धहरु त्यति धेरै नपाइएतापनि यहाँ थुप्रै भव्य विहारहरु वा मन्दिरहरू, प्राचिन बुद्ध मूर्तिहरू र शिलालेखहरू देश भरी जस्तै छरिएका छन् । यहाँको बुद्ध धर्मको इतिहास अहिले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुले बताइरहेका छन् । यहाँको समृद्ध इतिहास र बुद्ध धर्मको विशालता यहाँ हुने गरेका खोजहरूमा प्रतिबिम्बित छन् ।

२. परम्पराको विविधता ः
मलेसियाको बुद्ध धर्म भित्रमा परम्पराहरु वा निकायहरुको विविधता पाइन्छ । जातीय रुपमा श्रीलंका र स्यामी (थाइ) मलेशियनहरूद्वारा अभ्यास गरिएको थेरवाद बुद्ध धर्म, यहाँको प्रचलित परम्परा हो । यसका साथै, विशेष गरी चीनियाँ मूलका मानिसहरूले महायान लगायत विभिन्न परम्पराहरू पनि पछ्याउँछन् । यसले देशमा बौद्ध अभ्यासहरूको एक अद्वितीय मिश्रण र समन्वय भएको प्रष्ट पार्छ ।

पछिल्ला दिनहरुमा मलेसियामा आआफ्नो समयमा र क्षेत्रमा थेरवाद, महायान र वज्रयान जस्ता विभिन्न बौद्ध परम्पराहरू प्रचलनमा थिए । यहाँ थाइल्याण्ड, श्रीलंका र चीन जस्ता विभिन्न देशहरूबाट आप्रवासीहरूको आगमनले त्यहाँको बौद्ध विविधतालाई थप समृद्ध बनायो । ती मध्ये प्रत्येक समुदायले आफ्नो आफ्नो देशको धर्म, परम्परा र अभ्यास पनि लिएर आएका हुन्छन् । जस्तै थाई र श्रीलंकाका बौद्धहरुले आफ्नो विहारहरूमा आफ्नो देशबाट अभ्यासहरू र मन्दिर वास्तुकला लिएर आए र यहाँ मलेशियामा सबै प्रकारको बुद्ध धर्म अभ्यास गरेर सबैसँग मिलेर बसे ।

थेरवाद ः मलेसियामा धेरै पहिलेदेखि नै थेरवाद बुद्ध धर्मको प्रचार तथा विकास भएको पाइन्छ । यहाँ थेरवादलाई भित्राउने काम थाइ, बर्मी तथा श्रीलंकाली बौद्धहरुले गरेको देखिन्छ । यिनीहरुले साधार किसिमको विहार बनाउँछन् र सिंगारपटार एवं कर्मकाण्डमा भन्दा शील पालनमा र ध्यान अभ्यासमा बढी जोड दिन्छन् । उनीहरुले भगवान बुद्धको शिक्षालाई जस्ताको तस्तै ग्रहण गर्छन् । प्रवजित भएर भिक्षु जीवन बिताउनुलाई उनीहरु गौरवका साथ लिन्छन् । यहाँका प्रमुख थेरवाद बौद्ध विहारहरुमा बुद्धिस्ट महाविहार, वाट चेतावन, धम्मिकरम बर्मिज बुद्धिस्ट टेम्पल आदिको नाम आउँछ । यहाँ वर्षभरी थेरवाद परम्पराअनुसारको धार्मिक कार्यक्रमहरु र पर्वहरु मनाइने गर्दछ ।

महायान ः मलेसियामा चीनियाँहरु आउन थालेदेखि यहाँ महायान बुद्ध धर्मको अभ्यास हुन थाल्यो । उनीहरु बुद्धका साथै जगत संसारको कल्याण होस् भनेर बसेका बोधिसत्वहरुलाई मान्छन् । उनीहरु पूजापाठमा बढी जोड दिन्छ र दिनहुँ विभिन्न किसिममा कर्मकाण्डहरु गरेर समय बिताउँछन् । यसका साथै चीनियाँहरु उतादेखि अभ्यास गर्दै आएका पितृ लगायतका विभिन्न देवदेवीहरुको पनि पूजा गर्छन् । महायानीहरुको मन्दिर बढी कलात्मक र चीनियाँ बास्तुकलामा आधारित हुने गर्छ ।

समन्वयवादी ः यसबाहेक धेरै चीनियाँमूलका मलेसियालीहरु चीनियाँ धर्मलाई मिलाएर बुद्ध धर्मको अभ्यास गर्छन् । उनीहरु बौद्ध मन्दिरमा भगवान बुद्ध तथा अन्य बौद्ध देवी देवताहरुका साथै आफ्नो पितृ तथा पितृ देवताहरुलाई पनि पुजा गर्छन् ।

आधुनिक बुद्ध धर्म ः अहिले मलेसियामा परम्परागत बुद्ध धर्मका निकायहरुका साथै आफ्नै किसिमको आधुनिक बुद्ध धर्म पनि प्रचलनमा आएको छ । उनीहरु पश्चिमी देशहरुमा जस्तै परम्परागत बुद्ध धर्मका उपदेशहरु तथा कथाहरुमा भन्दा आजको युगमा मानिसहरुलाई सुहाउँदा बुद्ध शिक्षा र जीवन जिउने तरिका वा कलाका बारेमा धेरै रुचि राख्छन् । विदेशीहरुका लागि तयार पारिएका अंग्रेजी भाषाका शिक्षणहरु तथा ध्यान अभ्यासका शिविरहरुमा भाग लिन उनीहरु रुचाउँछन् । वैशाख पुर्णिमा मलेसियाका बौद्धहरुले निकै धुमधाममा साथ मनाउँछन् । यस दिनमा विभिन्न निकाय अन्तर्गतका बौद्धहरु एकजुट भएर बुद्धपूजा, प्रार्थना, दानप्रदान तथा दीपावली जस्ता कार्यक्रमहरुमा भाग लिन्छन् ।

३. विज्ञ वा गुरुहरु
मलेसियामा बुद्ध धर्म यसरी फैलिनुको पछाडि त्यहाँका केही विज्ञ वा धर्म गुरुहरुको महत्वपूर्ण योगदान छ । उनीहरुको उपस्थिति र निरन्तरको कामले गर्दा नै यहाँ बौद्ध वातावरण बन्न सकोको छ, बुद्ध धर्म नबुझेकाले बुझ्न पाएको छ , बुझेकाले विहार वा गुम्बामा गएर धर्म अभ्यास गर्न पाएको छ अनि संगठित हुन पनि सकेको छ । उनीहरुले विभिन्न निकाय र परम्पराहरूको प्रतिनिधित्व गरेका छन् । ती मध्ये केहि प्रमुख बौद्ध गुरुहरूको सामान्य परिचय यस प्रकार छ ।

डा. के. श्री धम्मानन्द नायक महाथेरा (सन् १९१९–२००६) ः श्रीलंकाको मतरामा जन्मेर मलेसियालाई कार्यक्षेत्र बनाएका डा. श्री धम्मानन्द एक सम्मानित बौद्ध विद्वान भिक्षु थिए । उनी सन् १९५२मा मलेसियामा आए र यहाँ थेरवाद बुद्ध धर्मलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेले । उनले क्वालालम्पुरको बौद्ध महाविहारका प्रमुख पदाधिकारी भएर यहाँका बौद्धहरुलाई शिक्षित तथा संगठित बनाए । उनले बुद्ध धर्मका बारेमा लेखेका धेरै पुस्तकहरू मलेसिया तथा बाहिरी विश्वमा धेरै प्रख्यात छन् । उनका पुस्तकहरु मध्ये बौद्ध विश्वास तथा समस्या उपर कसरी विजय पाउने नेपालीमा पनि अनुवादित छन् । उनलाई म्यानमार सरकारले अग्गमहासद्धम्मजोतिकधजको उपाधि दिएको थियो ।

डा. के श्री धम्मरतन नायक महाथेरा (सन् १९४८) ः मलेसियामा बुद्ध धर्मको प्रचार गर्ने अनि बौद्धहरुलाई संगठित गर्ने अर्को प्रमुख व्यक्तित्व डा. के श्री धम्मरतान हुन् । उनी श्रीलंकामा जन्मेथिए र सन् १९८०मा गुरु के श्री धम्मानन्दको निमन्त्रणामा क्वालालम्पुर आए । उनी यहाँको परियत्ति वा सन्डे स्कुलका प्रमुख बने । साथै यहाँको सेन्तुल श्रीलंका बौद्ध मन्दिरका संस्थापक र आध्यात्मिक नेता भए । उनी समथ ध्यान शिक्षणका कारण मलेसियामा प्रसिद्ध भए । साथै उनले बुद्ध धर्म मार्फत विभिन्न सामाजिक कार्यहरु गरेर मानवतावादी बुद्ध धर्मको परिचय पनि मलेसियामा दिए ।

चि चेन (सन् १९५५) ः मलेसियामा बुद्ध धर्मलाई जनमासनसम्म पुर्याउन योगदान दिनेमा भिक्षु चि चेन पनि प्रमुख हुन् । उनलाई मलेसिया तथा सिंगापुरमा एक श्रद्धेय ध्यान गुरुको रुपमा मानिन्छ । उनलाई चान मास्टा शेङ येनलाई आफ्नै उत्तराधिकारी नियुक्त गरेका थिए । उनले टाइवानको फोग्वाङशामा बुद्ध धर्म अध्ययन गरेका थिए । उनी मलेसियन बुद्धिस्ट इन्स्टिच्युटका प्रमुख हुन् ।

वेई वू ः मलेसियामा महायान बुद्ध धर्मको प्रचार गर्न विकास गर्न तथा चिनियाँ बौद्धहरुलाई संगठन गर्नमा महायानी बौद्ध भिक्षु वेई वूको योगदान धेरै छ । उनले ब्रिकफिल्ड्स, क्वालालम्पुरमा बौद्ध महाविहार स्थापना गरे, जुन मलेसियाका ठूलो चिनियाँ बौद्ध मन्दिरहरू मध्ये एक हो । देशमा चिनियाँ बौद्ध धर्म र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न उनले महत्वपूर्ण भूमिका खेलेको छ ।

चिन कुङः एक ताइवानी बौद्ध भिक्षु चिन कुङले मलेसियामा बुद्ध धर्म प्रचार गर्ने तथा बौद्ध समाजको विकासको लागि विभिन्न शैक्षिक कार्यक्रमहरू गरेका थिए । यसका साथ बुद्ध शिक्षाहरू फैलाउनका लागि विभिन्न पत्रपत्रिकाहरुको प्रकाशन पनि गरे । उनले मलेसियामा प्योर ल्यान्ड लर्निङ कलेज एसोसिएसन (पीएलएलसीए) स्थापना गरेर त्यहाँ शिक्षामार्फत बुद्ध धर्म र परम्परागत चिनियाँ संस्कृतिलाई प्रवर्द्धन गरे ।

मलेसियाको बौद्ध समुदायमा योगदान पुर्याएका धेरै प्रभावशाली बौद्ध शिक्षकहरूमध्ये यी नामहरु केही उदाहरणहरु मात्र हुन् । यी बाहेक यहाँको इतिहास र समसामयिक समाजमा यस्ता थुप्रै धर्मगुरुहरु छन् जसले यहाँ बुद्ध धर्म फैलाउन जीवन्त राख्न योगदान दिएका छन् ।

स्मारकहरु ः
मलेसियामा धेरै समय अगाडिदेखि बौद्धहरुले धर्म अवलम्बन गर्दै आएको भनेपछि यहाँ त्यही अनुपातमा इतिहासका विभिन्न कालखण्डहरुमा विहार मन्दिर तथा मूर्तिहरु इत्यादिको निर्माण भएको भन्ने पनि स्पष्ट हुन्छ । त्यस बेलाका बौद्धहरु यस्ता आफुले मान्दै आएको धर्म चीरकालसम्म स्थायी होस् भन्ने हेतुले त्यस्ता स्मारकहरु बनाउने गर्थे । यस्तो भनेजस्तै अहिले त्यहाँ बुद्ध धर्म पहिले जस्तो बलियो नभएपनि ती कलाकृति वा स्मारकहरुले त्यहाँको बुद्ध धर्मको बलियो इतिहास बताइरहेका छन् । अनि अहिलेका बौद्धहरुलाई आफ्नो धर्मको गौरवमय इतिहास सुनेर पढेर गर्व गर्न तथा हाम्रो धर्म यहाँ नयाँ वा आयातित हैन, यही माटोमा हुर्केको भनेर बलियो तर्क दिन पनि सहायक सिद्ध भएका छन् ।

हालै भएका केही महत्वपूर्ण उत्खनन्हरुले पेनाङको बुकित कोरसमा केही अवशेषहरु जमिन मुनिबाट निकालिएका छन् जसले यहाँ धेरै पहिलेदेखि बुद्ध धर्मको अस्तित्व थियो भन्ने देखाउँछ । यहाँका केही मन्दिर संरचनाहरु करिब १२ सय वर्ष पुराना हुन् भनिएको छ । यी संरचनाहरुले ती समयका वास्तुकलाका केही मौलिक शैलीहरुको बारेमा पनि जानकारी दिन्छ ।

स्मारकहरुको दृष्टिकोणले मलेशियाले दक्षिणपूर्वी एशियाका प्रभावशाली बौद्ध मन्दिरहरू भएका देशहरु मध्ये एक हुन जान्छ । नयाँ तथा पुराना यहाँका बौद्ध मन्दिरहरू पूजापाठ, शिक्षण, अभ्यास र अन्य सांस्कृतिक गतिविधिहरूको केन्द्रको रूपमा रहेका छन् । केही प्रसिद्ध मन्दिरहरूको बारेमा संक्षिप्त जानकारी यहाँ समावेश छ ।

धम्मिकाराम बर्मी विहारः पेनाङमन जर्ज टाउनमा धम्मिकाराम बर्मी विहार अवस्थित छ । सन् १८०३मा न्योना बेटोङ भन्ने व्यक्तिले दान दिएको जग्गामा एउटा न्यान्डी मोलोह मन्दिर बनाइएको थियो । त्यहाँ उ नन्दमाला प्रमु्ख थिए । पछि यसैलाई बढाएर सन् १८४५मा विकास गरियो । यसको निर्माण तथा विकासमा बर्मी उपासिकाहरुको योगदान उल्लेखनीय छ । यहाँको सबैभन्दा पुरानो स्मारक भनेको सन् १८०५मा निर्मित स्तुप हो । अहिले यहाँ थुप्रै बुद्ध मूर्तिहरुका साथै बर्मी बौद्ध परम्पराअनुसारका विभिन्न काल्पनिक जीवहरुको कलात्मक मूर्तिहरुका साथै सीमागृह, पुस्तकालय इत्यादि छ ।

बोधि लङ्काराम विहार ः मलेसियाको सबैभन्दा पुरानो श्रीलंकाली विहार बोधि लङ्काराम विहार हो । सिंहाली उपासक एए ग्यारिस दे एल्विस सन् १८८८मा आएर ताइपिङ शहरमा बसे । एकै वर्षमा उनले त्यहाँ जग्गा खरिद गरेर एउटा बौद्ध मन्दिर बनाए । यसको व्यवस्थापनको लागि उनले एक धर्मोदा सोसाइटी नामक संस्था पनि बनाए । यहाँ भिक्षु नगोडा किसारोले श्रीलंकाबाट बोधिवृक्ष ल्याएर रोपे । पछि उनले यो मन्दिरको जग्गा सरकारलाई हस्तान्तरण गरे । सन् १९७६ सम्म पुग्दा यो मन्दिर व्यवस्थापन गर्ने संस्थाको नाम ताइपिङ बोधि लङ्काराम बुद्धिस्ट एशोसिएसन बन्यो । सन् १९८४मा डा के श्री धम्मानन्द यस विहारको निर्देशक बने ।

केक लोक सी मन्दिर, मलेसियाको पेनाङ शहर स्थित जर्ज टाउनमामा रहेको केक लोक सी मन्दिर मलेसियाको सबैभन्दा ठुलो बौद्ध मन्दिर हो । यसलाई दक्षिणपूर्व एशियाको सबैभन्दा ठूलो बौद्ध मन्दिरहरू मध्ये एक भन्न सकिन्छ यसको निर्माण सन् १८९०मा मुख्य गुरु बिउ लीनको संयोजनमा शुरु भएको थियो । यहाँको मुख्य केन्द्र भनेको सात तल्ले मन्दिर हो जहाँ १० हजार बुद्ध मूर्ति राखिएका छन् । यसका साथै यहाँको डाँडामाथि १२० फिट अग्लो क्वान यीन देवीको मूर्ति पनि छ । यस मन्दिरमा चिनियाँ, थाई र बर्मी वास्तुकलाको सुमधुर मिश्रण पाइन्छ । यहाँ मलेसियनका साथै हङकङ, फिलिपिन्स, सिंगापुर आदि बौद्ध देशहरुबाट समेत तीर्थयात्रीहरु आउने गर्छन् ।

बौद्ध महाविहार, क्वालालम्पुरको ब्रिकफिल्डमा सन् १८९४मा निर्मित एक ऐतिहासिक बौद्ध महाविहार छ । यो विहार श्रीलंकाबाट आएका भिक्षुहरुले सञ्चालन गरेको थेरवाद बौद्ध शिक्षा र परम्पराहरूको केन्द्र हो । तैपनि यसको निर्माणमा चीनियाँ दाताहरुको पनि ठुलो योगदान छ । अंग्रेज सरकारसँग त्यसबेलाको शासन अभिवुर्धी वर्धन नामक संस्था बनाइ यो मन्दिरको लागि जग्गा प्राप्त गरेको थियो । सन् १९६२मा यसको विधिवत दर्ता भइसकेपछि अब यसको सञ्चालक संस्थाको नाम बुद्धिस्ट मिसनरी सोसाइटी मलेसिया राखियो ।

वाट चेतवन : पेतालिङ जयामा थेरवाद अन्तर्गत थाइ परम्परा अनुसारको वाट चेतवन विहार अवस्थित छ । यसको निर्माण सन् १९५७मा भएको थियो र यसको उदघाटन थाइ राजा भूमिबोल अद्यूल्यादेजबाट भएको थियो । मलेसियामा बुद्धको अस्तिधातु भएको यो एकमात्र विहार हो । यहाँ भारतको उत्तर प्रदेशबाट अस्थि धातु ल्याइएको थियो जुन त्यसबेलाका अंग्रेज भायसराज लर्ड कुर्जनले थाइ राजा चुललोङकोर्नलाई प्रदान गरिएको थियो । पूर्ण रुपले थाइ बास्तुकलामा आधारिक यो विहार अत्यन्त कलात्मक छ । थाइमूलका मलेसियन बौद्धहरुको धार्मिक केन्द्र हुनुका साथै यो विहारले अन्य बौद्धहरुलाई पनि आकर्षित गरेको छ ।

मलेसियाको बौद्ध धर्मले यहाँको विविधताले भरिएकोे सांस्कृतिक संग्रहालयलाई विभिन्न दृष्टिकोणबाट विशिष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । बुद्ध धर्मले शान्ति, करुणा र सजगतामा जोड दिने भएकोले यसले मलेशियन समाजलाई बहुधार्मिक र बहुसाँस्कृतिक बनाउन पनि योगदान दिएको छ ।

आधुनिक मलेसियामा बुद्ध धर्म
मलेसियाको संविधान अनुसार बहुसंख्यक जातीय समूह, मलेसियालाई कानुनी रूपमा मुस्लिम भनेर परिभाषित गरिएको छ । तिनीहरूले जनसंख्याको ६० प्रतिशत छन्, बाँकी धेरै जसो चिनियाँहरू, जो सामान्यतया बौद्ध वा इसाईहरू हुन्, र केही हदसम्म भारतीयहरू, जो सामान्यतया हिन्दू हुन् । त्यहाँ अन्य आदिवासी र आप्रवासीहरूको सानो संख्या पनि छ । पछिल्ला मध्ये सिंहली, थाई र यूरेशियन मूलका मलेशियनहरू छन् । मलेसियाका लगभग सबै बौद्धहरू सहरी क्षेत्रमा बसोबास गर्छन्, किनभने तिनीहरू प्रायः व्यापारमा संलग्न छन् वा विभिन्न पेशामा कार्यरत छन् ।

आज मलेसिया मुस्लिम बाहुल्य भएको देश भएतापनि त्यहाँ बुद्ध धर्म ठूलो धर्म को रुपमा स्थापित र सम्मानित छ । यहाँको बौद्ध सम्ुदायमा चिनियाँ मुलका मलेसियनहरुको उल्लेख्य उपस्थिति छ । यहाँ धर्मलाई कोरा उपदेशको रुपमा मात्र सिमित नराखी शिक्षा र सामाजिक पहुँचमा जोड दिएर बुद्ध धर्मलाई मानवीय धर्मको रुपमा पुनरुत्थान गर्ने प्रयासहरू भइरहेका छन् । यहाँको बौद्ध समाजले यस देशमा बौद्ध परम्पराहरूको एक सुमधुर मिश्रण देखाउँछ, अनि यसको बहुसांस्कृतिक चरित्र पनि झल्काउँछ ।

Buddhism in Malaysia, an article published in Buddhist Monthly “Anandabhoomi” in April 2024 in Nepal.

Photos are taken various sources on the Internet.

Sunday, March 31, 2024

ओडिशामा बुद्ध धर्म

 


राजेन मानन्धर

ओडिशा (पहिला उड़ीसा भनिन्थ्यो) भारतको पूर्वी तटमा अवस्थित एक प्राचिन राज्य हो । यसले उत्तरमा झारखण्ड र पश्चिम बंगाल, पश्चिममा छत्तीसगढ र दक्षिणमा आन्ध्र प्रदेश राज्यहरूसँग सीमाना जोडेको छ । साथै यसले हिन्द महासागरमा बंगालको खाडीसँग मिल्ने लामो तटरेखा बनाएको छ । यहाँ ४ करोड १० लाख मानिस बस्छन् ।

प्राचिन कालमा ओदिशालाई कलिङ्ग राज्यको केन्द्रको रुपमा वर्णन गरिएको छ । मौर्य वंशका सम्राट अशोकले ईशा पूर्व २६१ मा कलिङ्ग युद्धमा जिते । पछि ९औ देखि १२औं शताब्दीसम्म ओडिशामा सोमवंशी राजाहरुको शासन रह्यो । १५औ तथा १६औं शताब्दीमा यो फेरि गजपति अधिराज्यको रुपमा उदायो । सन् १५६८मा यो क्षेत्र बंगाली सुत्लनतले कब्जा गर्यो । ब्रिटिश कालमा दक्षिणी ओडिशा सहित सन् १७६०मा उत्तरी सिरसारको रुपमा ब्रिटिशहरुले कब्जा जमाए । पछि यसको पश्चिमी क्षेत्रलाई बंगाल प्रेसिडेन्सी अन्तर्गत ल्याए । सन् १९१२मा ओडिशा र बंगाल जोडेर बंगाल–ओशिडा प्रान्त बनाइएको थियो भने पछि फेरि ओडिशालाई अलग्ग प्रान्त पनि बनाइयो । स्न १९४७मा भारत स्वतन्त्र भएपछि थुप्रै ससाना राज्यहरु यसमा गाभिए ।

ओडिशामा बुद्ध धर्म
भगवान बुद्धले आफ्नो जीवनकालमा ओडिशा सम्म भ्रमण गर्नुभयो भन्ने ऐतिहासिक प्रमाण त छैन तर पनि केही कथाहरु ओडिशासँग जोडिएका छन् । बुद्धवंश अनुसार भगवान बुद्धले बोधिज्ञान लाभ गरिसकेपछि तपुस्स तथा भल्लिक नाम गरेका दुइ जना ब्यापारी भेटे, जो ओडिशाबाट आएका थिए । उनीहरुले उहाँलाई सातु र मह दान दिए र उहाँले उनीहरुलाई एक झुप्पा केश दिनुभयो । उनीहरुले आफ्नो स्थानमा भगवानको सम्झना स्वरुप चैत्य बनाएर राखे भनिन्छ । यसरी हेर्दा भगवान बुद्धको समयदेखि नै यहाँ बुद्ध धर्मको जग बसेको देखिन्छ । यस राज्यमा बुद्ध धर्मको इतिहास लामो छ तर पनि कहिलेदेखि यहाँ बुद्ध धर्म फैलिन थाल्यो भन्ने समेत पनि ठोस ऐतिहासिक प्रमाण पाइँदैन ।

अशोकको बुद्ध धर्ममा प्रवेश र कलिङ्गको अभिलेख
विश्व नै जित्ने भनेर निस्केका सम्राट अशोक (इशापूर्व २७२ — २३१)ले जुन कलिङ्गको युद्ध लडे । त्यसबेला १ लाख मानिसहरु मारिए भनिन्छ । त्यहाँ मरेका मानिसहरुको लासको पहाड देखेर उनी युद्धबाट विरक्त भए । त्यसपछि उनले पछि हिंसाको राजनीति त्यागे, भगवान बुद्धको शिक्षा अपनाए र पञ्चशिलमा आधारित भएर राज्य गरे । सम्राट अशोकको आँखा खोल्ने कलिङ्ग यही ओडिशा क्षेत्र हो । कमसेकम सम्राट अशोकको जीवनमा अभूतपूर्व मोड आएको कलिङ्गबाटै हो भन्ने कुरा सबैले स्वीकारेको पाइन्छ । यस अर्थमा पनि बुद्ध धर्मको इतिहास र प्रचारप्रसारमा यस राज्यको नाम उल्लेखनीय हुन आउँछ । यहीँबाट उनले विभिन्न ठाउँमा बुद्धको जीवनसँग सम्बन्धित ठाउँमा भ्रमण गरे, शिलालेख राखे तथा दूरदराजका देशहरुमा समेत धर्मदुतहरु पठाएर धर्मको प्रचार गरे ।

सरसरी हेर्दा इसापूर्व तेश्रो शताब्दीदेखि इसाको सातौं शताब्दीको समयलाई ओडिशाको बुद्ध धर्मको विकासको काल भन्न सकिन्छ । यसबेला यहाँ थुप्रै बौद्ध स्तुपहरु, विहारहरु तथा गुफाहरु बने । ओडिशाकै समृद्धिको प्रतीक तथा बुद्ध धर्मको विकासको प्रतिनिधि गर्ने सम्पदाहरुको निर्माण यसैबेला भएको देखिन्छ ।

हुयेन त्साङको विवरण
अशोकको कालपछि ओदिशामा बुद्ध धर्मको भर पर्दाे इतिहास हुयेन त्साङको यात्रा विवरणदेखि मात्र शुरु हुन्छ । ऐतिहासिक तथ्यहरु अनुसार उनी इशाको ६३९मा ओडिशा आए । उनले आफ्नो यात्रावर्णनमा ओदिशाको बुद्ध धर्मको अवस्थाको बारेमा उल्लेख गरेको छ । उनको वर्णनको आधारमा त्यसबेला अर्थात् ७औं शताब्दीमा पनि त्यहाँ धार्मिक समारोहहरुको बिचमा स्तूपको आराधना हुन्थ्यो । त्यसबेलामा ओदिशामा ओद्रा, कङ्गोडा तथा कािलङ्ग नामका तीनवटा प्रदेशहरु थिए । यी मध्ये ओद्रा प्रदेशमा बुद्ध धर्म बढी प्रख्यात थियो ।

त्यसबेला नै यहाँ विभिन्न निकाय अन्तर्गतका बौद्ध समुदायहरु थिए । त्यहाँ महायानी बौद्ध विहारहरु सय भन्दा बढी थिए, जसमध्ये पुसीपोकिली अथवा पुष्पगिरि विहार ओदिशाको प्रमुख धार्मिक स्थल थियो । पुष्पगिरि भनेको कुनै बेलामा नालन्दा वा विक्रमशिला जस्तै विशाल अध्ययन केन्द्र थियो भनेर अनुमान गरिएको छ । यसका साथै उनले चेलितालो को बारेमा पनि लेखेका छन् जहाँ पाँचवटा ठुला र कलात्मक विहारहरु थिए । त्यस्तै कङगोडाको बारेमा पनि उनले वर्णन गरेका छन् जहाँ बुद्ध धर्मको प्रचार बलियो देखिँदैन । त्यसपछि उनले कलिङ्गको बारेमा लेखेका छन् कि त्यहाँ दशवटा संघारामहरु थिए जहाँ स्थविर निकायको शिक्षा अनुसारको बुद्ध धर्म ५०० जनाले सिक्दै थिए । यसबाट यस बेला यहाँ महायान धेरै चल्ती निकाय थियो र थेरवाद पनि प्रचलनमा थियो भन्ने देखिन्छ । तर पनि उनको लेखाइबाट त्यसबेला कङ्गोडा र कलिङ्गमा बुद्ध धर्म कमजोर थियो भन्ने बुझिन्छ । यसरी हेर्दा ७औं शताब्दीमा हुयेन त्सांगको ओडिशा–यात्रा विवरणले ओड्रामा बुद्ध धर्म समृद्ध भएको विवरण दिन्छ ।

भौमाकर काल :
ओडिशाको इतिहासमा ८औं देखि ११ शताब्दीसम्मको काललाई भौमाकर काल भनिन्छ । यसबेलासम्म ओडिशाको बुद्ध धर्मले राज्यको संरक्षण पाएको थियो । यसका प्रारम्भिक कालका राजाहरु क्षेमाकर, शिवकर तथा शुभकर बुद्ध धर्म अनुयायी थिए उनीहरुले बुद्ध धर्मबाट प्रभावित भएर आफ्नौ पदवी नै परमोक्ष, परम तथागत तथा परम सुगत भनेर राख्थे । यस कालमा रत्नगिरी, उदयगिरी तथा ललितगिरी जस्ता ठाउँहरु बुद्ध धर्मका केन्द्र थिए । ८औ र १०औं शताब्दीको बिचमा त्यहाँ बुद्ध धर्मले राज्य धर्मको दर्जा पाएको थियो र राज्यको अभिभावकत्वमा त्यहाँ यस अवधिमा महायान बुद्ध धर्म एवं केही हदसम्म यसको तान्त्रिक रूपको समेत विकास भएको अनुमान गर्न सकिन्छ ।

भौमाकरहरुले समग्रमा बुद्ध धर्मलाई संरक्षण प्रदान गरे । यसबेला केही नयाँ विहारहरु र बौद्ध मन्दिरहरुको निर्माण भयो । ओडिशाका प्रशिद्ध विहार परिसरहरु रत्नगिरी, ललितगिरी तथा लङगुदीहरु यसै अवधीका संरचनाहरु हुन् । ११औ शताब्दी पछिको राजनीतिक परिवर्तनले भने यहाँको बुद्ध धर्मको विकासमा केही हदसम्म नकारात्मक असर पार्यो । र विस्तारै हिन्दुधर्मको प्रभाव बढ्न थालेदेखि यहाँको बुद्ध धर्ममा अवनतिका चिन्हहरु देखिए ।

संक्षिप्तमा भन्नु पदा १२औं शताब्दीको ओडिशालाई बुद्ध धर्मको अवनतिको काल भन्न सकिन्छ । यसबेलादेखि यहाँ बुद्ध धर्मको विकास भएन, बिस्तारै यहाँका स्तुपा, विहारहरु नयाँ बन्न छोडे र पुरानाको संरक्षण पनि हुन छोडे । भारतका अन्य राज्यहरुमा जस्तै यहाँ पनि बौद्धहरु आफ्नो धर्ममा अविचलित हुन नसकेको, बौद्ध पण्डितहरुले हिन्दुधर्मसँग मिल्ने कर्मकाण्डमा जोड दिएको, वैदिक धर्म मान्नेहरुमा संगठित हुने लहर आएको तथा राजाहरुले बुद्ध धर्मलाई संरक्षण दिन छोडेको जस्ता कारणहरुलाई मानिन्छ ।

१७औं शताब्दीदेखि बर्तमानसम्मको अवस्थामा भने ओडिशामा बुद्ध धर्म लोप जस्तै भइसकेको छ । यस बेला मुगल शासकहको र ब्रिटिशहरुको उपनिवेशकालमा ओडिशाबाट बुद्ध धर्म हराएरै गइसकेको छ ।
अहिले ओदिशा राज्यमा बौद्ध सम्पदाको विशाल भण्डार छ । यहाँ बौद्ध सम्पदा स्थलहरु छरिएर रहेका छन् । अझ उत्खनन् गर्न बाँकी र भेटिएका मध्ये पनि बौद्ध नै हुन् भनेर यकिन गर्न बाँकी सम्पदाहरुको संख्या पनि कम छैन ।

उड्डियान र ओडिशा
बुद्ध धर्मको भारत भरी प्रचार भइरहँदा यसको एक प्रमुख विकास क्रमको रुपमा वज्रयानलाई लिइन्छ । वज्रयानको उदय भएको स्थान भनेर उड्डियान भन्ने स्थानलाई मानिन्छ । यो स्थान कोही हालको पाकिस्तानको खिबेर पखतुन्ख्वा अथवा स्वात उपत्यकालाई मान्छन् भने कोह अहिलेको ओडिशा वा ओद्रा क्षेत्र नै त्यसबेलाको उड्डियान हो भन्ने पनि छन् । यदि यो सत्य साबित भयो भने ओडिशालाई वज्रयानको उदयविन्दुको रुपमा पुनःपरिभाषित तथा सोही अनुसार यसको विकास गर्नुपर्ने देखिन्छ ।

ओडिशा र तन्त्रयान
वज्रयान भन्नाले नै बुद्ध धर्म मित्रको तान्त्रिक सम्प्रदाय बुझिन्छ । यसले धेरे हदसम्म तन्त्रको साधना वा अभ्यास गर्दछ । बुद्ध धर्मको वज्रयान ओडिशामा धेरै समयसम्म फैलियो । अझ यससँग सम्बन्धित तन्त्रयानलाई ओडिशाको विशेषता मानिन्थ्यो । तन्त्रयानको विकास हुँदै जाँदा आठौं शताब्दी तिर ८४ जना महासिद्धहरुको नाम लिन थालियो । सिद्ध भन्नाले साधाना गरेर अलौकिक शक्ति प्राप्त गरेका विद्वानहरु भन्न सरसरी बुझिन्छ । धेरैले यी महासिद्धहरु ओडिशामा हुर्केका थिए भन्छन् । यहाँका राजा इन्द्रभूतिलाई सिद्धहरुका शिष्य मानिन्छ । यी कुराहरुको ऐतिहासिक प्रमाण नभएतापनि ओडिशामा तन्त्रयानको विस्तार भएको धेरैले स्वीकार्छन् । तर पछि यही तन्त्रयानको विकास र यसमा आएको विकृति तथा शाक्त सम्प्रदायसँगको सामिप्यले गर्दा यहाँ बुद्ध धर्मको लोप भएको भनेर पनि भन्ने गरिन्छ ।

बौद्ध स्मारकहरु
ओदिशामा अहिले धेरै बौद्धहरु धेरै नभएपनि त्यहाँका हजारौं वर्ष पुराना बौद्ध स्मारकहरु, जस्तै स्तुपा, विहार तथा मूर्तिहरु भेट्टाउन सकिन्छ । अथवा जति बाँकी छन् त्यसले त्यहाँको बुद्ध धर्मको गौरवशाली इतिहासको कथा भनिरहेका छन् । त्यसैले ओडिशाका बौद्ध स्मारकहरुको बारेमा संक्षिप्त जानकारी दिन उपयुक्त लाग्छ ।

ओडिशामा बौद्ध धर्मको समृद्ध इतिहास पत्ता लगाउनको लागि यहाँका बौद्ध स्मारकहरुको अध्ययन गर्नु अत्यन्त जरुरी छ । कुनै बेलाका विकसित नगरहरु अहिले सुनसान जंगल बनेका छन् । प्रायः पहाडहरूमा अवस्थित ती क्षेत्रहरुमा बाँकी भएका सम्पदा स्थलहरूले त्यहाँको बुद्ध धर्मको इतिहास प्रमाणित गरिरहेका छन् ।

यस राज्यमा मात्रै २०० भन्दा बढी बौद्ध सम्पदा स्थलहरू पत्ता लगाइएका छन्, अझ उत्खनन् हुन बाँकी स्थलहरु बाँकी नै छन् । यहाँका उल्लेखनीय स्थलहरुमा चन्द्रागिरी बौद्ध विहार, रत्नागिरी विहार, उदयगिरी बौद्ध परिसर, कुरुमा बौद्ध सम्पदा स्थल, ललितागिरी बौद्ध परिसर, धौली शान्ति स्तुप, र पद्मविशाम मोनम विहार आदि स्थानहरू पर्छन् ।

हीरक त्रिकोण — ललितगिरी, रत्नगिरी, र उदयगिरी
ओडिशाको बौद्ध स्मारक भन्ने बितिकै हिरक त्रिकोण अर्थात् डायमण्ड ट्राइएङगलको नाम आउँछ । यस अन्तर्गत ओडिशाको दया नदीको किनारमा तीनवटा प्रशिद्ध प्राचिन बौद्ध विकार परिसरहरु पर्दछन् जुन कुनै बेला महायान बुद्ध धर्मका केन्द्र थिए — ललितगिरी, रत्नगिरी, र उदयगिरी ।

ललितगिरी — यहाँका तीनवटा प्रमुख स्थलहरू मध्ये सबैभन्दा पुरानो ललितगिरी हो । यो कुनै बेला बुद्ध धर्मको महायान र थेरवाद सम्प्रदाय दुवैको केन्द्र थियो । यो पहिलो शताब्दीमा निर्मित विहारको भग्नावशेषलाई ओडिशाकै सबैभन्दा पुरानो बौद्ध क्षेत्रहरू मध्ये एक मानिन्छ । यहाँ मुख्य स्तूप वा महास्तुप, धेरै स्तूपहरू, र प्रार्थना हलहरूका भग्नावशेषहरू भेटिएका छन् । यहाँ प्राप्त प्राचिन अवशेषहरुलाई हाल यहाँको एक संग्रहालयमा सुरक्षित राखिएका छन् जसमा भगवान बुद्ध, तारा र कुबेर आदिका मूर्तिहरू छन् ।

उदयगिरी — ललितागिरि नजिकै अवस्थित उदयगिरीमा यहाँ दुईवटा विहारहरु, महास्तुप, प्रार्थना हलका भग्नावशेषहरू तथा केही मूर्तिहरुका अवशेषहरु भेटिएका छन् । यस बाहेक यहाँ १८वटा प्राचिन गुफाहरु छन्, जसलाई लेणी र गुम्फा भनिन्छ । ती मध्ये धेरैमा बुद्ध धर्मका प्रतिक जीवजन्तुहरुलाई राखिएका छन् । यहाँका प्राचिन अवशेषहरु इस्वी ७औं शताब्दी तिरका हुन् र उत्कृष्ट मूर्तिकला भएको कारणले पनि उल्लेखनीय छन् ।

रत्नगिरी — ओडिशाका बौद्ध सम्पदा स्थलहरु मध्ये सबैभन्दा राम्रो उत्खनन गरिएकोे एक स्थल रत्नगिरी हो । यहाँ पाइएका अवशेषहरु इशाको ५औं देखि १२औं शताब्दीका हुन् । यहाँ बौद्ध विहारहरु, महास्तुप, चैत्यहरु, तथा धेरै बुद्ध मूर्तिहरू पाइएका छन् । अरु बाहेक यहाँको विहारको प्रवेशद्वारमा ढुंगा कलाको उत्कृष्टक उदाहरण हो भनिएको छ । यी विहारहरुले त्यसबेला त्यहाँको बौद्ध समाज, भिक्षुहरु तथा दाताहरुको श्रद्धालाई झल्काउँछ । यो कुनै समय नालन्दाको प्रतिद्वन्द्वी बौद्ध अध्ययन केन्द्र थियो भन्ने गरिन्छ ।

यी तीनैवटा बौद्ध सम्पदा क्षेत्रहरू ललितगिरी, रत्नगिरी र उदयगिरी यहाँको राज्य राजधानी भुवनेश्वरबाट लगभग १०० किलोमिटरको दुरीमा अवस्थित छन् ।

खण्डगिरी गुफा
भुवनेश्वरको नजिक हिरक त्रिकोण अन्तर्गतको उदयगिरी पहाडको छेउमा खण्डगिरी क्षेत्र छ । यहाँको प्राचिन गुफाहरुलाई पहिले कट्टक गुफा भनेर भनिन्थ्यो । यहाँ १५वटा गुफाहरु छन् । यहाँ प्राकृतिक गुफामा चट्टान काटेर बनाइएको गुफा तथा मूर्तिहरु इसापूर्व दोश्रो शताब्दीमा सम्मका छन् भनिएको छ । यहाँ बौद्धका साथै जैन धार्मिक स्थलहरु पनि छन् ।

धौलीगिरीको अशोक शिलालेख तथा शान्ति स्तुप
राजधानी भुवनेश्वरबाट पुरी जाने बाटोमा करिब ७ किलोमिटर टाढा धौलीगिरीमा सम्राट अशोकले लेखाएको प्रख्यात शिलालेख छ । उनले यहाँ ओदिशामा अभिलेखहरु राख्न लगाए, जसमध्ये मध्ये एउटा अभिलेख धौलीमा छ । भुवनेश्वरदेखि ८ किलोमिटर टाढा रहेको यस अभिलेखमा हाँत्तीको आकृति पनि कुँदिएको छ । यसलाई ओदिशाकै सबैभन्दा पुरानो मूर्ति भनेर पनि भनिन्छ । यसै नजिक यहाँ एउटा स्तु्प पनि छ, जुन मौलिक रुपमा सम्राट अशोकले बनाएको भनेर भनिन्छ ।

इशापूर्व तेश्रो शताब्दीको यस अभिलेखमा अशोकको बुद्ध धर्म प्रति श्रद्धा र अहिंसामा भएको विश्वास झल्किन्छ । सम्राट अशोकले यहाँ कलिङग युद्ध लडेका थिए र यहीँबाट युद्धदेखि विरक्त भएर बौद्ध धर्म अपनाएका थिए । यसै क्षेत्रमा शान्ति स्तूप अवस्थित रहेको छ । अहिलेको स्तुप भने सन् १९७२मा ओडिशा सरकार र जापानको कलिङ्ग निप्पोन संघको सहकार्यमा सम्राट अशोकको हिंसा त्यागको स्मृतिमा बनाइएको हो ।

लङ्गुडीः
ओडिशाको जाजपुर जिल्लाको धर्मशाला तहसिलमा अवस्थित लङ्गडीलाई सम्राट अशोकले बुद्ध धर्मको बारेमा ज्ञान पाएको ठाउँ भनिन्छ । यस क्षेत्रमा सन् १९९६ देखि २००१बिचमा पुरातात्विक उत्खनन् गरिएको थियो जसबाट यहाँ ढुंगाका स्तुपहरु, माटो पोलेका मूर्तिहरु, स्तूपहरु, गुम्बाहरु र चट्टान काटेर बनाइएका गुफाहरू लगायतका बौद्ध स्मारकहरू पाइएका छन् । यहाँ पाइएका अवशेषहरु इस्वीको पहिलोदेखि ११औं शताब्दीसम्मका छन् ।

देउलीः
ओडिशाको पुरी जिल्लामा देउली भन्ने पुरातात्विक क्षेत्र छ । यहाँ बौद्ध स्तूप र बुद्ध धर्मसँग सम्बन्धित मूर्तिकलाहरू भेटिएका छन् । यो क्षेत्रमा पाइएका अवशेषहरु इस्वीको ९ औं र १० औं शताब्दीमा भन्ने देखिएकोले यस क्षेत्रमा १०औं शताब्दीको आसपासमा पनि बुद्ध धर्म जीवित नै थियो भन्ने प्रमाणित गर्दछ ।

बुद्धनाथ मन्दिर
ओडिशाको भुवनेश्वर भन्दा २२ किलोमिटर टाया गरेडी गाउँमा बुद्धनाथको मन्दिर छ । १२औं शताब्दीमा सोमवंशी राजा चोडगंगाद्वारा निर्मित यस मन्दिरलाई ओडिशाको जीवन्त बुद्ध धर्मको एक मात्र प्रतीकको रुपमा मानिन्छ । तर पनि बुद्ध धर्ममा तन्त्र जोडेर त्यसमा शिव मिसाएर क्रमिक रुपमा हिन्दुकरण गर्दै अहिले नाम मात्र बौद्ध बाँकी छ । यहाँ बौद्ध तथा हिन्दु कलाकृति मिसिएको देख्न पाइन्छ ।

बुढाखोल
ओडिशाको गन्जम जिल्लामा जिल्ला सदरमुकाम भन्दा ९२ किलोमिटर टाढा बुढाखोल भन्ने पहाडी सम्पदा क्षेत्र अवस्थित छ । यो ठाउँको नाम ध्यान मुद्रामा बसेको भगवान बुद्धको नामबाट राखिएको भनिन्छ । यहाँ पहिले भगवान बुद्ध स्वयम् आउनुभएको भन्ने बौद्ध विश्वास छ । त्यस्तै हुयेन त्साङले आफ्नो वर्णनमा पारेका केही बौद्ध स्थलहरु मध्ये यो पनि एक हो भनेर भनिएको छ, जसमा यसलाई बुद्ध शिक्षा उत्तम ठाउको रुपमा चर्चा गरिएको छ । यसलाई शैव तथा बौद्धहरुको तीर्थ मानिन्छ । तर अहिले यहाँ बौद्ध भन्न मिल्ने खासै कुनै संरचना बाँकी छैन । यसलाई गुफा तथा झरना भएको पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँ पञ्च महादेवको मन्दिर छ र विशाल शिव पार्वतीको मूर्ति बनाइएको छ ।

यिनीहरू बाहेक ओडिशा भरी छरिएका बौद्ध सम्पदाहरू अझै उत्खनन् र अध्ययनको पर्खाइमा छन् । यहाँका अन्य बौद्ध सम्पदा क्षेत्रहरु जहाँ उत्खनन् पुरै भएको छैन तर बौद्ध इतिहासका केही नयाँ तथ्यहरु सार्वजनिक गर्ने प्रवल सम्भावना राख्छन्, ती हुन् — कटक, संबलपुर, बालासोर, गंजाम, र फुलबनी आदि ।

कटक जिल्लाका परम्परागत बौद्ध गाउँहरु
ओडिशाको राजधानी भुवनेश्वर रेलवे स्टेशन देखि करिब ७४ किमी टाढा रहेको कटक जिल्लामा केही यस्ता गाउँहरु छन् जहाँ परम्परागत बौद्ध गाउँहरु छन् । त्यहाँ त्यस्ता केही अल्पसंख्यक समुदायहरु छन् जो दुइ हजार वर्ष देखि बौद्ध नै रहिआएको मानिन्छ र अहिले पनि बुद्ध धर्म नै अवलम्बन गछन् । स्थानीय विद्यार्थी अन्वेषक अरुण कुमार दत्ताले यसबारे जानकारी दिनुभएको छ ।

त्यहाँ चारवटा गाउँमा बौद्धहरु बसोबास गर्छन् — १. मनियाबन्ध । परम्परागत साडी बुन्नका लागि प्रख्यात यस गाउँमा परम्परागत बौद्ध मन्दिर, त्रिरत्न बुद्ध विहार, नेगा पहाडी गुफा, बौद्ध ध्यान केन्द्र इत्यादि छन् । यहाँबाट करिब ४० किमि टाढा कानपुरमा प्रज्ञापारमिता मन्दिर अवस्थित छ । यहाँको मूर्तिलाई १२०० वर्ष पुरानो भनिन्छ । त्यस्तै मनियाबन्धदेखि ६५ किलोमिटर टाढा खण्डपदमा जोगीजोगिनी बुद्ध पीठको मन्दिर छ जहाँ पञ्चबुद्धको मूर्ति (हाल चारवटा मात्र बाँकी) रहेको छ । यसलाई भारतकै सबै भन्दा ठुलो परम्परागत बौद्ध गाउँहरु मध्ये एक भनिन्छ । यहाँको जनसंख्या १००० परिवार जति छ । उनीहरुको आफ्नो संगठन छ जसको नाम मनियाबन्ध बौद्ध संघ, महमदपुर बौद्ध संघ हो । यसका साथै एक युवा बौद्ध संगठन पनि छ । २.नुवापटना । यहाँ सन् १९५७मा श्रीलंकाबाट ल्याएको बोधिवृक्ष छ, बोधि द्रुम बुद्ध विहार छ । यहाँका बौद्धहरु अशोकको राज्यकालदेखि बुद्ध धर्ममा समर्पित मानिन्छन् । यहाँ सन् १९७३मा दलाइ लामाले भ्रमण गर्नुभएको थियो । यहाँ करिब ५०० परिवार जति मानिस बस्छन् । ३. रेगाडी । भूवनेशवर रेलवे स्टेशनबाट ६५ किमी टाढा रेगाडीमा परम्परागत बौद्ध गाउँ तथा बुद्ध विहार रहेको छ । ४. महमदपुर । भुवनेश्वर रेलवे स्टेशनबाट ६७ किमी टाढा छ महमदपुर गाउँ । यहाँको जनसंख्या करिब ६०० छ । यस परम्परागत बौद्ध गाउँमा तथागत बौद्ध विहार छ ।

जिराङा पद्मसम्भव गुम्बा
एकातिर अहिले ओडिशाका मानिसहरु बुद्ध धर्म रुचाउँदैनन् भने अर्कोतिर तिब्बती मुलका वा हिमाली राज्यहरुका बौद्धहरुले ओडिशालाई पुण्यभूमि मानेर यहाँ बुद्ध धर्मको अभ्यास र प्रचार गर्नका लागि आएका छन् । यहाँका अहिलेका प्रमुख बौद्ध धार्मिक स्थलको रुपमा जिराङा गुम्बा प्रख्यात भएको छ । यहाँ तिब्बती बुद्ध धर्म मान्नेहरु धेरै देखेर यसलाई सानो तिब्बत अनि फुचोलिङ समेत भन्ने गरिन्छ । दक्षिण ओडिशाको चन्द्रागिरीमा अवस्थित यस गुम्बाको उदघाटन सन् २०१०मा दलाइ लामाले गर्नुभएको थियो । यहाँको महेन्द्रगढमा अवस्थित अवलोकितेश्वरको मूर्ति आकर्षक छ ।

जगन्नाथ मन्दिर बौद्ध हो ?
ओडिशाको एक महत्वपूर्ण तटीय शहर पुरी हो । यो शहर यहाँको जगन्नाथको मन्दिरको कारण प्रशिद्ध छ । १२औ शताब्दीमा पुनःनिर्माण गरिएको यो मन्दिरलाई विष्णुको एक रुप भनिन्छ । यहाँको पूजाविधिलाई तन्त्रयान बुद्ध धर्मको विकसित रुप भनेर पनि मानिन्छ । बौद्ध विद्वानहरु यो मन्दिर मौलिक रुपमा बौद्ध मन्दिर हो भनेर मान्छन् । यसको प्रशिद्ध रथ यात्रालाई बौद्ध संस्कृति तथा यहाँ राखिने तीन मूर्तिलाई बुद्ध, धर्म र संघको प्रतिक हो भनेर भन्ने गरिन्छ । यहाँको प्राचिन नाम चरितलाई हेरेर पुरातत्वविद् एलेक्जेन्डर कनिङ्घमले चीनियाँ यात्री हुयेन त्साङले वर्णन गरेको चेलितालो भनेको यही हो भनेर भनेको थिए ।

त्यस्तै किसिमले इतिहासकार एस एन सदाशिवनले आफ्नो पुस्तक भारतको सामाजिक इतिहासमा अर्का लेखक जोसेफ विल्किनसलाई उदृढ गर्दै पहिला त्यहाँ बुद्धको मूर्ति रहेकोमा पछि बुद्ध धर्म कमजोर हुँदै गएपछि त्यसैलाई जगन्नाथको रुपमा पुजिने गरेको उल्लेख गरको छन् । उनले त्यहाँ पहिला बुद्धको अस्थिधातु पाइएको र त्यसलाई अहिले कृष्णको हड्डी भनेर मानिने पनि लेखेका छन् । त्यस्तै अशोककालमा त्यहाँ लोहाबहु भन्ने आदिबासीहरुले बुद्ध धर्म अपनाएको र बुद्धको अस्थिधातु त्यहाँ राखेको पनि भनिन्छ । त्यस्तै भारतीय विद्वान स्वामी विवेकानन्द स्वयम्ले यो मन्दिर बौद्ध भएको उल्लेख गरेका थिए ।

वर्तमान अवस्थामा बुद्ध धर्म
प्राचिनकालमा ओडिशा बुद्ध धर्मको जगजगी थियो । यहाँ बुद्ध धर्मको अध्ययन, अनुसन्धान, ब्याख्या हुन्थ्यो, शासकहरु तथा स्थानीय बासीहरुमा बुद्ध धर्मप्रति श्रद्धा थियो । तर पछि यो सबै बिलाएर गयो । पछि ब्रिटिश राजमा र स्वतन्त्रता पछि पनि यहाँका प्राचिन स्थलहरुमा थुप्रै पुरातात्विक उत्खननहरु भए । मानिसहरुले आफ्नो ठाउँमा बुद्ध धर्मको यति लामो इतिहास रहेछ भन्ने थाहा पाए ।

यस बाहेक भारतमा र बाहिर पनि विश्वका विभिन्न ठाउँमा बुद्ध धर्मलाई नयाँ दृष्टिकोणबाट अध्ययन र ब्याख्या गरिए । अमेरिका, जर्मनी जस्ता पश्चात्य देशहरुमा लेखक र दार्शनिकहरुले बुद्ध धर्मप्रति रुची देखाए । तिब्बतमा राजनीतिक परिवर्तनले गर्दा दलाई लामा निर्वासित भए र उनी जहाँ जहाँ गए, बुद्ध धर्मको प्रचार भयो । संसार भर बुद्ध धर्मको ब्याख्या र प्रचार भयो, विभिन्न देशमा बुद्ध धर्म अँगालेको र अध्ययन केन्द्र तथा मठ मन्दिर खुलेको खबर आयो । यसको प्रतिविम्ब भारतमा पनि देखियो । भारतका विद्वानहरुले पनि बुद्ध धर्मको बारेमा अध्ययन शुरु गरे । अहिले बौद्ध विद्वानहरु, पुरातत्वविदहरु र केही सीमित बुद्ध धर्म अभ्यासकर्ताहरुको मिहेनत र प्रचार प्रसारको कारणले यहाँ बुद्ध धर्ममा रुचि राख्नेहरु केही मात्रामा भएपनि बढेको देखिन्छ । तैपनि भारतका अधिकांश प्रदेशहरुमा जस्तै यहाँ पनि जतिसुकै बुद्ध धर्मको लामो गहिरो र महत्वपूर्ण इतिहास भएतापनि, यहाँ त्यस्ता पुरातात्विक अवशेष र प्रमाणहरु पाइएतापनि अधिकांश ओडिशाबासीहरुलाई बुद्ध धर्मले आकर्षण गर्न सकेको छैन ।

यसै बिच ओडिशाका केही गाउँहरुमा परम्परागत रुपमा बुद्ध धर्म मानिआएको छ । करिब १७ गाउँमा फैलिएका उनीहरुलाई अहिले सारक (श्रावक)हरु भनिन्छ र करिब १ लाख २० हजार जति जनसंख्या भएको अनुमान गरिएको छ । यहाँका बौद्धहरु अशोक कालदेखि नै बौद्ध भएको बताउँछन् । उनीहरु बुद्ध पूर्णिमा मान्छन् । उनीहरुका अनुसार बुद्धदेव अहिले पुरीमा बस्नुहुन्छ र धर्म चक्र समात्नुहुन्छ ।

यस बाहेक यहाँ पनि भारतका अन्य राज्यमा जस्तै अछुतहरु पनि बस्छन् । तर उनीहरुलाई अछुत भनेर दमन वा बहिष्कार गरेको अवस्था भने देखिँदैन । यहाँ पनि अम्बेडकरको दर्शनबाट प्रभावित भएर केही अछुतहरुले बुद्ध धर्म अपनाएका छन् । तर पनि तुलनात्मक रुपमा हेर्दा जहाँ भारतका अन्य प्रान्तहरुमा अंबेडकारवादी बौद्धहरु धेरै सशक्त र संगठित छन् भने ओडिशामा यो अभियान त्यति सफल देखिँदैन ।

अहिले ओडिशा बुद्ध धर्म निकै कमजोर भएका राज्यहरु मध्ये एक पर्दछ । अहिले ओडिशामा केही बौद्ध संघसंस्थाहरु छन् जसले बुद्ध धर्मको प्रचार प्रसार गर्ने तथा बुद्ध धर्मसँग सम्बनिधत कार्यक्रमहरुको आयोजना गर्छ । त्यस्तै यहाँ केही बुद्ध धर्मको अध्ययन गर्ने संस्थाहरु खुलेका छन् । जस्तै भुवनेश्वरको नालन्दा बौद्ध अध्ययन संस्थानले बौद्ध दर्शन, इतिहास तथा संस्कृति अध्ययन गर्ने प्रोग्राम खोलेको छ । त्यस्तै भुवनेश्वरकै उत्कल विश्वविद्यालयमा पनि बौद्ध अध्ययन विभाग छ जहाँ बौद्ध अध्ययनमा पोस्ट ग्राजुएट कोर्स खोलेको छ । यस प्रकार हेर्दा यहाँ बुद्ध धर्मको राम्रै विकास हुने सम्भावना भने देखिन्छ ।

बौद्ध मासिक आनन्दभूमि चैत्र २०८०मा प्रकाशित

फोटोहरु इन्टरनेटका विभिन्न साइटहरुबाट साभार गरिएका हुन् ।

Buddhism in Odisha (India), published in Buddhist Monthly “Anandabhumi”, from Kathmandu, Nepal in 2024 March.

Photos are taken from the Internet social media.

https://bit.ly/4awNdwH


Wednesday, February 16, 2022

भियतनामी बौद्ध भिक्षु थिक न्हात हानले दिएर गएको प्रेरणापुञ्ज



 राजेन मानन्धर

संसारमा यस्ता थोरै मानिस मात्र हुन्छन् जो सत्ता र सम्पतिका मालिक नभइकन पनि हजारौंको दिलमा बस्छन् । जान त सबै जान्छन् तर यस्ता मानिसहरु नै सबैलाई रुवाएर जान्छन् । गत २०७८माघको ८ गते पनि एउटा यस्तै एकजना सामान्य व्यक्तित्वका धनी व्यक्तिको निधनले विश्वका सारा बौद्धहरु शोकाकुल भए । उहाँ हुनुहुन्थ्यो भियतनाममा जन्मेर बुद्ध शिक्षा लिई यसलाई विश्वभरी प्रचार गर्न रमाउने, आफ्नो देशको युद्ध र नरसंहार विरुद्ध आवाज उठाएर आफ्नै ज्यान समेत जोखिममा पार्ने अनि आफ्नै देशको राजनीति व्यवस्थाको नजरमा शत्रु भएर पनि विश्वमा शान्तिको लागि आवाज उठाउन नडमगाउने भिक्षु थिक न्हात हान (Thích Nhất Hạnh)। उहाँ भिक्षु मात्र हैन, यसका साथै उहाँ एक ध्यान गुरु, आध्यात्मिक शिक्षक, कवि तथा शान्ति अभियन्ता पनि हुनुहुन्थ्यो । चालिस वर्ष जति आप्रवासनको जीवन बिताएर उहाँ मातृभूमि फर्किनुभयो र हालै उहाँले ९५ वर्षको उमेमा आफ्नो अनित्य देह त्याग गर्नुभएको छ । विश्वभरका भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरु भावविह्वल भए । यसै अवसरमा उहाँको जीवनीको बारेमा संक्षिप्त जानकारी दिने प्रयास यस लेखमा गरिन्छ ।

उहाँको जन्म सन् १९२६को अक्टोबर ११को दिन भियनतामको मध्यभागमा स्थित ह्वे भन्ने एतिहासिक नगरमा भएको थियो, ङुयेन छुआन बाओ (पछि ङुयन दिन लाङ)उहाँको नाम राखियो । उहाँको बुबा उपनिवेश कालका प्रशासन थिए भने उहाँकी आमा गृहिणी हुनुहुन्थ्यो । बाल्यकालदेखिनै बुद्धधर्ममा श्रद्धा राख्नुहुने उहाँले १२ वर्षको उमेरमा भिक्षु बन्ने चहना देखाउनुभयो र १६ वर्ष हुँदा आमाबुुबाबाट अनुमति लिएर भिक्षु बन्नु नै भयो ।


उहाँ सर्वप्रथम तु ह्यु (Từ Hiếu) विहारमा भिक्षु भएर प्रवेश गर्नभयो, जहाँ उहाँले जेन गुरु थान कुइ छान थातबाट प्रारम्भिक शिक्षा लिनुभयो । उहाँले श्रामणेरको रुपमा भियतनामी परम्परा अनुसार तीन वर्षसम्म महायान तथा थेरवाद बुद्धधर्मको प्रशिक्षण लिनुभयो । त्यसपछि सन् १९४९मा बाओ कोच (Báo Quốc) बौद्ध विद्यालयमा भिक्षुको रुपमा प्रवजित हुनभयो र अध्ययन गर्न थाल्नुभयो । त्यहाँको पढाइबाट सन्तुष्ट नभएपछि उहाँ पछि सन् १९५०मा साइगोन क्षेत्रको आन क्वाङ मन्दिरमा बसेर साइगोन विश्वविद्यालयमा विज्ञान पढ्न थाल्नुभयो ।

पचासका दशकमा भियतनामको बुद्धधर्म परम्परागत नै थियो । उहाँले त्यो समयमा पनि भियतनामी बुद्धधर्ममा नयाँपन ल्याउने कोशिस गर्नुभयो । उहाँ भियतनामै विश्वविद्यालयमा गएर गैर धार्मिक विषयमा अध्ययन गर्ने पहिलो भिक्षु हुनुपर्छ । अनि उहाँ त्यहाँ साइकल चलाउने छ जना भिक्षु मध्ये एकजना भनेर पनि बौद्ध समाजमा चर्चित पनि हुनुभयो ।


सन् १९५५ देखि उहाँ ह्वे फर्कनुभयो र भियतनामी बुद्धधर्म नामक भियतनमी बौद्धहरुको महासंघको पत्रिकाको सम्पादकको रुपमा काम गर्नुभयो तर पछि उहाँको भियतनामी बौद्ध संस्थाहरु एकतावद्ध हुनुपर्छ भन्ने आशयको लेखलाई वरिष्ठ भिक्षुहरुले प्रकाशन अनुमति नदिएपछि प्रकाशन बन्द भयो । त्यसपछाडि उहाँ दा लात क्षेत्रमा गए पढाउन थाल्नुभयो भने उहाँको विहारले उहाँलाई निकालिदियो । सन् १९५७मा उहाँले सबै कुरा छोडेर दाइ लाओ जंगलमा आफ्नै प्रतिरोध समाज नाम संघ (Phương Bôi) बनाएर बस्न थाले । यस बेला उहाँ नजिकैको एउटा स्कुलमा मानवतावादी एकिकृत बुद्ध धर्मको शिक्षा दिनुहुन्थ्यो ।

सन् १९५५ देखि १९७५को समय भनेको भियतनाम युद्धको समय थियो । अर्थात् भियतनाम, लाओस् तथा क्याम्बोडियामा युद्ध चलिरहेको थियो । भियतनाम आफै उत्तर भियतनाम (कम्युनिष्ट) र दक्षिण भियतनाम (फ्रान्स तथा अमेरिकाको प्रभावमा रहेको)मा विभक्त थियो अनि विभिन्न शक्ति राष्ट्रहरुको खेल मैदान बनिरहेको थियो । यस्तो बेलामा, भनेको सन् १९५९ देखि १९६१को समयमा न्हात हान विभिन्न ठाउँमा गएर बुद्ध धर्म सिकाउन जानुहुन्थ्यो । उहाँ प्रायः युद्ध विरोधी र मानवतावादी कुरा गर्नुहुन्थ्यो जुन त्यसबेलाका प्रशासक एवं राज्यबाट सुविधा पाउने भिक्षु संगठनहरु पनि मन पराउँदैनथे । फलस्वरुप उहाँका कक्षाहरु रोकिन्थे र उहाँ विवादमा पर्नुहुन्थ्यो । यसैबेला सन् १९६१मा उहाँले अमेरिकाको अध्ययनवृत्ति पाउनुभयो र तुलनात्मक धर्मको विषयमा अध्ययन गर्न प्रिन्सटन विश्वविद्यालय जानुभयो । उहाँको बुद्धधर्मप्रतिको ज्ञानको भण्डार तथा बुद्धधर्मलाई समाज तथा शान्तिको लागि प्रयोजनमा ल्याउने उहाँको मिशनको कारण गर्दा उहाँ अमेरिकामा चर्चित हुनुभयो । फलस्वरुप उहाँले कोलम्बिया विश्वविद्यालय तथा कर्नेल विश्वविद्यालयमा प्राध्यापन समेत थाल्नुभयो । उहाँ भियतनामीका साथै फ्रेन्च, चीनियाँ, संस्कृत, पालि तथा अंग्रेजी भाषामा समेत राम्रो दख्खल भएको व्यक्ति भएकोले उहाँले चाँडै नै त्यहाँको मिश्रित समाजमा आफ्नो बेग्लै स्थान बनाउन सफल हुनुभयो ।

भियतनाममा राजनीतिक तथा धार्मिक अशान्ति चलिरहेको थियो । यस्तै अवस्थामा न्हात हान सन् १९६३मा भियतनाम फर्कनुभयो । यो वर्ष भनेको भियतनाममा बौद्ध प्रलयको अवस्था थियो, अर्थात् दक्षिण भियतनामी सरकारले विभिन्न किसिमबाट बौद्धहरुमाथि दमन गरेको थियो र यसको विरुद्ध बौद्ध भिक्षुहरुले नागरिक प्रतिरोध गर्नुपरेको थियो ।

युद्धको समयमा भिक्षुहरुले के गर्ने के नगर्ने भन्ने एउटा अन्यौल छाएको थियो । कोही केही नदेखेजस्तो गरी आँखा चिम्लेर ध्यान गरिबस्ने भन्थे त कोही मानवताको लागि पनि युद्ध पीडितहरुको सहयोगमा अघि सर्ने भन्थे । न्हात हानले दुबै गर्ने भनेर संलग्न (वा इन्गेज्ड) बुद्ध धर्मको अवधारणा ल्याउनुभयो । उहाँले जसरी भएपनि व्यक्ति र समाजको फाइदाको लागि आफुलाई भित्री रुपान्तरणका लागि समर्पण गर्ने बाटोमा अगाडि जाने निश्चित गर्नुभयो ।

यसैबेला उहाँले भान हान बौद्ध विश्वविद्यालय, ला बोइ प्रकाशन गृह तथा एउटा शान्तिका लागि पैरवी गर्ने पत्रिका पनि प्रकाशन गर्नुभएको थियो । यस्तो कार्य त्यसबेला न सरकारले रुचाउँथ्यो न धर्म गुरुहरुले । तर पनि उहाँ भिक्षुकै भेषमा पनि शान्तिको लागि लड्नुपर्छ भनेर सक्रिय नै भइरहनुभयो । सन् १९६४मा त उहाँले दि अर्डर अफ इन्टरबिइङ (Tiếp Hiện), भन्ने नयाँ संघ नै बनाउनुभयो जुन परम्परागत बोधिसत्व शीलहरुमा आधारित थियो । उहाँको यस समुहको मुख्य काम भनेको सति (mindfulness)मा आधारित भएर ध्यान गर्ने थियो । फेरि यही साल उहाँले तु ह्यु विहारमा मास्टर चान थात बाट दीपक प्रशारणको उपाधि पाउनुभयो जसको अर्थ उहाँलाई धर्म शिक्षणमा अनुमति दिएको जस्तै हुन्छ ।


यसै साल उहाँले पुनः अमेरिका तथा युरोप भ्रमण गरेर त्यहाँका विभिन्न देशका प्रभावशाली नेताहरुलाई भेटेर भियतनाममा भइरहेको युद्धको बारेमा जानकारी दिनुभयो र जसरी हुन्छ युद्ध र नरसंहार रोक्नको लागि अन्तर्राष्ट्रिय पहलको लागि याचना गर्दै हिँड्नुभयो । यसै क्रममा उहाँले अमेरिकी युवा अभियन्ता डा. मार्टिन लुथर किङ्ग जुनियरलाई समेत भेटेर भियतनामको वस्तुस्थितिका बारेमा अवगत गराउन पाउनुभयो । जसको फलस्वरुप उहाँलाई नोवेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने सम्म काम भयो । तर यसैको कारणले उहाँले दुबै भियतनाम सरकारको क्षोभको शिकार बन्नुपर्यो । दक्षिण भियतनाममा उहाँलाई कम्युनिष्ट भएको आरोप लगाइयो र भियतनाममा फर्कन दिइएन र उहाँका प्रकाशनहरुमाथि समेत प्रतिबन्ध लगाइदिएको थियो । उता अमेरिकामा पनि उहाँलाई युद्धविरोधी र कम्युनिष्ट प्रचारक भनेर नाम दिइयो । त्यसपछि उहाँ करिब ४० वर्षसम्म निर्वासनको जीवन बिताउन बाध्य हुनुभयो ।

आफू जुन देशमा जन्मियो, जहाँ बुद्धको शिक्ष ग्रहण गर्नुभयो अनि जुन देशमा शान्ति स्थापना होस्, जनता शान्तिपूर्वक बाँच्न पाओस् भनेर देश विदेश चहार्नुभयो, त्यही देशले उहाँमाथि आरोप लगायो । उहाँको मन त पक्कै दुखेको होला । तर विश्व बुद्धधर्मको दृष्टिकोणबाट हेर्ने हो भने उहाँमाथि गरिएको यो सजाय विश्वमा शान्तिकामी मानिसहरुका लागि भने बरदान नै साबित भयो । अझ भनुँ भने उहाँको लागि पनि यो उहाँको दोश्रो जन्म बन्यो । उहाँ आप्रवासनमा चुप लागेर बस्नुभएन, जहाँ जहाँ पाइला टेक्यो त्यहाँ त्यहाँ भगवान बुद्धको शिक्षा बाँड्नुभयो, भगवान बुद्धले दिनुभएको शिक्षा कसरी दैनिक जिवनमा प्रयोजनमा ल्याउन सकिन्छ भनेर सिकाउँदै हिड्नुभयो । भगवान बुद्धले “चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय अत्थाय हिताय सुखान देवा मनुस्सानं” (अर्थात् भिक्षुहरु हो, बहुजन हित र बहुजन सुख अनि समाजको कल्याणको लागि तथा देव र मनिसहरुको हित र सुखको लागि सबैतिर विचरण गर) भनेर भिक्षुहरुलाई जुन मार्ग दर्शन दिनुभयो त्यो उहाँले गरेर देखाउनुभयो ।


सन् १९६६मा उहाँ फ्रान्समा जानुभयो र त्यहाँ बुद्धधर्मको प्रचारमा लाग्नुभयो । त्यहाँ उहाँले भियतनामी शान्ति प्रतिनिधिमण्डलको नेतृत्व पनि गर्नुभयो । उहाँले पछि सन् १९६९मा एकिकृत बुद्धिस्ट संघ नामक संस्था खोलेर त्यहाँ बुद्धधर्मको प्रचार एवं बौद्धहरुलाई संगठित पनि गर्नुभयो । सन् १९७५सम्ममा उहाँले उत्तर–मध्य फ्रान्सको फँभान, फोरे दोथे र पेरिस नजिक अउबे प्रदेशमा स्वीट पोटाटो ध्यान केन्द्र खोल्नुभयो । यसैबेला उहाँले लेखन कार्यलाई पनि जोड दिनुभयो, जसको परिणाम स्वरुप उहाँका प्रमुख पुस्तकहरु मिराकल अफ माइन्डफुलनेस, दि मून बम्बू र दि सन माइ हार्ट निस्के । उहाँको सतिमा आधारित भएर ध्यान सिकाउन थाल्नुभयो र उहाँको यो सरल तर एकदम गंभीर ध्यानले फ्रेन्चहरुलाई सजिलै आकर्षित बनायो । यसरी उहाँको मिहेनतले फ्रान्समा बुद्धधर्मले व्यापकता पाउँदै गयो ।

एकपल्ट धार्मिक सम्मेलनमा सहभागी हुन सिंगापुर पुग्दा उहाँले भियनानमबाट भागेर आएका डुंगामा बस्ने मानिसहरुलाई सिंगापुरमा छिर्न नदिने र समुद्रमै मर्नुपर्ने अवस्था देखे र उहाँले गोप्य तरिकाबाट उनीहरुको सहगाृेग गर्ने अभियान चलाए । सिंगापुर सरकारले यो कुरा थाहा पाएर उहाँलाई सिंगापुरबाट पनि निकालियो ।


फ्रान्समा उहाँको धर्म प्रचारको अभियानले गति लिँदै थियो । उहाँको अभियानले नयाँ उचाइ पायो जब उहाँले सन् १९८२मा दक्षिण–पश्चिमी फ्रान्सको बोर्डुमा प्लम भिलेज (Plum Village) विहार स्थापना गर्न सफल हुनुभयो । उहाँको सफल आध्यात्मिक नेतृत्वको कारणले यो अहिले पश्चिमी देशहरुमा सबैले मन पराउने, सबैभन्दा ठुलो र सबैभन्दा सक्रिय बौद्ध ध्यानकेन्द्रको रुपमा प्रख्यात भएको छ । यहाँ अहिले २०० जनाजति प्रवजितहरु बस्छन् र हरेक वर्ष १० हजार भन्दा बढी मानिसहरु विभिन्न शिविर तथा अन्य कार्यक्रमहरुमा भाग लिन जान्छन् ।

प्लम भिलेजले पश्चिमी देशहरुको उहाँको नयाँ परिचय दिलायो र धेरै जसो पश्चिमीहरुका लागि प्लम भिलेज भनेकै बुद्ध धर्म हो कि भन्ने जस्तो प्रख्यात बनायो । यहाँ हिँड्ने ध्यान, बस्ने ध्यान, खाने ध्यान, काम गर्ने ध्यान, पूर्ण विश्राम आदि सामान्य जस्तो ध्यानका अभ्यासहरु गराइन्छ जसले मानिसहरुलाई पूरा स्मृतिमा बस्न र वर्तमान समयमा बाँच्न सिकाउँछ । यी सबै चरणहरु बौद्ध अभ्यासहरु हुन् जसलाई उहाँले सजिलोसँग सबैले अभ्यास गर्न सकिने गरी सिकाउनु भयो अनि यी कुराहरु किन जीवनोपयागी र अहिलेको जीवन शैलीमा आइपर्ने समस्याहरुसँग सामना गर्न काम लाग्ने खालका छन् भनेर पनि सजिलोसँग ब्याख्या गर्नुभयो । त्यसैले त एकलाख भन्दा बढी मानिसहरुले उहाँले बनाउनुभएको विश्वव्यापी नैतिकताका बुँदाहरुलाई आफ्नो जीवनमा उपयोग गर्ने बाचा गरेकाछन् ।

ध्यानको अतिरिक्त उहाँ अक्षरकलाको पनि विज्ञ हुनुहुन्थ्यो । उहाँले आफ्नै प्रकारले रोमन लिपिलाई पनि चीनियाँ ढंगले सुन्दर कलाको रुपमा मनमोहक चित्रकारले जस्तै लेख्नुहुन्थ्यो । उहाँको हस्तलेखन नै उहाँको एकप्रकारको परिचय बन्यो भन्दा पनि हुन्छ । उहाँको अक्षरकला उहाँको सति ध्यानको सँग सँगै ध्यानलाई अझ प्रभावशाली बनाउन प्रदर्शनीमा समेत राखिएका हुन्थे ।


अहिले उहाँ र उहाँको प्लम भिलेजको दर्शनमा आधारित भएर विभिन्न देशमा त्यस्ता ध्यान केन्द्रहरु खोलिएका छन् । ती मध्ये संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, न्यूयोर्कका साथै फ्रान्स, जर्मनी, थाइल्याण्ड, हङकङ तथा अष्ट्रेलिया आदि हुन् । यसबाहेक उहाँले भियतनाममा पनि दुइटा विहारहरुको स्थापना गर्नुभएको छ — मुख्य तु ह्यु विहारमा अनि मध्य पहाडी भागमा नयाँ प्रज्ञा विहार पनि बनाउनुभएको छ ।

उहाँ एक स्पष्ट वक्ता हुनुका साथै एक कुशल लेखक पनि हुनुहुन्थ्यो । विश्वविद्यालय अध्ययन, पत्रिका प्रकाशनको कामका साथै अभियन्ताको रुपमा अमेरिका आदि देशको भ्रमणको सिलसिलामा पनि उहाँ लेख रचना इत्यादि लेखिरहनुहुन्थ्यो । विशेष गरी आफ्नै देश भियतनाम फर्कन नपाउने अवस्थामा उहाँले आफुलाई व्यस्त राख्न आफुले जानेका बुद्धधर्म, ध्यान र समसायिक जीवनमा बुद्धधर्मको उपादेयताका बारेमा प्रशस्त लेखहरु लेख्नुभयो । त्यही बेलादेखि नै उहाँका पुस्तकहरु प्रकाशनमा आउन थाले । आफ्नो ९५ वर्षको जीवनमा उहाँले १३०वटा भन्दा बढी पुस्तकहरु लेख्नुभएको छ । उहाँले लेख्नुभएका पुस्तकहरुमा आध्यात्मिक निर्देशनहरु, बौद्ध ग्रन्थहरु, सतिका बारेमा शिक्षण, कविता तथा कथा संग्रहहरु तथा जेन अभ्यासका मार्गदर्शनहरु परेका छन् ।


उहाँले देह त्याग गर्नुभन्दा केही महिना अगाडिसम्म पनि लेखन कार्यमा सक्रिय हुनुहुन्थ्यो भन्ने जानकारी दिइएको थियो । सन् २०१९सम्म उहाँका पुस्तकहरुको ५० लाख भन्दा बढी प्रति बिक्री भएको भनिएको छ । उहाँका पुस्तकहरुमा १०० भन्दा बढी अंग्रेजी भाषामै लेखिएका थिए भने ती मध्ये धेरैवटा पुस्तक ४० भन्दा बढी भाषामा अनुवाद पनि भएका छन् ।

इस्वीको ९०को र २०००को दशकमा उहाँ धेरै स्वतन्त्र भएर बुद्धधर्मलाई विशेष गरी गैरबौद्ध पश्चिमी समुदायको बिचमा पुर्याउन लाग्नुभयो । उहाँले बुद्ध धर्मको ग्रन्थ, सुत्र वा शिक्षालाई संसारका सेवाको लागि विश्व सामु पुर्याउन योगदान दिनुभएको छ । उहाँले ध्यानलाई मनोचिकित्सकहरु, शिक्षकहरु, व्यापारीहरु, राजनीतिक नेताहरु, वैज्ञानिकहरु, वातवावरणविदहरु, कलाकारहरु, प्रहरीहरु समक्ष लगे । उहँका शिक्षा कोरा बुद्धवचनहरु मात्र नभएर कसरी त्यसबाट जीवनलाई शान्तपूर्वक बाँच्न लायकको बनाउने, कसरी युद्धका आतंकहरुबाट सुरक्षित राख्ने भन्ने विषयसँग सम्बन्धित हुन्थे । त्यसैले उहाँका आफ्ना चेलाका रुपमा युद्धको यातना भोगेकाहरु बढी हुन्थे । उहाँको शिक्षणमा अमेरिकी युद्ध भेटरानहरुदेखि इजरायली तथा प्यालेस्टाइनियनहरु समेत सामिल भए । समग्रमा उहाँका शिक्षा बढीजसो उनीहरुकहाँ पुगे जसलाई जीवनमा सबैभन्दा बढी बुद्धशिक्षाको खाँचो थियो । यसप्रकार पनि उहाँ विश्वमा रुचाएका बौद्धधर्मगुरु मध्ये एक हुनुभयो ।

उहाँको जीवनको मुख्य अंश भियतनामको अशान्तिको समयमा बित्यो । उहाँ राजनीतिक व्यक्तित्व त हुनुहुन्नथ्यो, र उहाँले शीतयुद्धको खेलमैदान बनेको भियतनामको राजनीतिको पक्षमा लागेर पद वा सम्मान पनि खोज्नुभएन । तर पनि उहाँको जीवन राजनीतिबाट सदैव प्रभाव नै भइरह्यो ।


सरकार वा व्यवस्था परिवर्तनसँगै उहाँको भूमिकामा पनि केही परिवर्तनहरु आए । कम्युनिष्ट सरकारलाई उहाँले मनपराउनुभएन । विशेष गरी कम्युनिष्टहरुको धर्मविरोधी नीतिका कारण
कम्युनिष्टहरुले पनि उहाँलाई सहेन । उहाँ कम्युनिष्ट त हुनुहुन्नथ्यो तर पनि दक्षिण भियतनाममा पनि उहाँको राम्रो सुनुवाइ भएन । उहाँले दक्षिण भियतनाममा स्पष्ट रुपमा देखिन आएको क्याथोलिकरणका विरोध गर्नुभयो । उहाँले भियतनामको यो सबै अशान्तिमा अमेरिका कसरी संगल्न हुन आयो भनेर प्रश्न राख्नुभयो । युद्धलाई राष्ट्रिय गौरवको रुपमा लिने अवस्थामा उहाँले आफ्नै देशमा र विदेशमा समेत गएर भियतनामको युद्धको अन्त्य गर्न गुहार माग्दै हिँड्नुभयो । जसको फलस्वरुप उहाँ आफै निर्वासित जीवन बिताउन बाध्य हुनुभयो ।

धेरै कोशिस पछि उहाँले सन् २००५मा भियतनाम फर्कन अनुमति पाउनुभयो । चेलाहरुको ठुलो समुहका साथमा उहाँ आउनुभयो र भियतनाममा बौद्धहरुले उहाँको ठुलो स्वागत गरे । उहाँले त्यहाँ केही धर्म देशनाहरु गर्न, पुस्तक प्रकाशन गर्न र विहारहरुमा जान पाउनुभयो । तर पनि उहाँको भ्रमणलाई त्यहाँको सरकारले त्यहाँ अब धर्मावलम्बीहरुमाथि प्रतिबन्ध छैन भन्ने प्रचार गर्ला कि भन्ने शंका भने भइरह्यो । सन् २००७मा उहाँ आफ्नो मातृभूमि त फर्कनुभयो तर धेरै विवादहरु भए । त्यस्तै सन् २००८ मा उहाँका दलाइ लामा सम्बन्धी अभिव्यक्ति चीन विरोधी भएको आरोप पनि उहाँ माथि आयो । उहाँले स्वदेशी तथा विदेशी प्रभावशाली नेताहरुसँग भेटघाट बढाउनुभयो । यसबेलासम्ममा भियतनाममा उहाँको ख्याती र बुद्धमार्गीहरुको धेरै बलियो पकड भइसकेको थियो । यही देखेर त्यहाँको सरकारले उहाँमाथि केही प्रतिबन्ध लगायो, धर्मको प्रचारलाई नियन्त्रण गर्यो र संघलाई पनि तितरबितर गर्यो । यस दमनको पनि फाइदा यही भयो कि उहाँका चेलाहरुले अब भियतनाम भन्दा बाहिर युरोप अमेरिका र अष्ट्रेलियामा बनेका विहारहरुमा गएर धर्म प्रचारलाई निरन्तरता दिने अवसर प्राप्त गरे ।


सन् २००८ पछि उहाँको धर्म प्रचारले फेरी अर्को रुप लियो । उहाँले आफ्नै इन्गेज्ड बुद्धधर्मलाई अप्लाइड बुद्ध धर्मको रुपमा व्याख्या गर्न थाल्नुभयो, र समाजका हरेक क्षेत्रमा यसलाई प्रयोग गर्न सकिने भनेर भन्नुभयो । यसले गर्दा बुद्धधर्म मान्ने नमान्ने सबैको समाजमा उहाँको कुराले प्रभाव पार्यो । उहाँले आफ्नो विश्वव्यापी नैतिकताको नियमहरुलाई सामाजिक अन्याय, हिंसा, डर, चिन्ता, तृष्णा, एक्लोपन तथा निराशाका कुराहरुलाई सम्बोधन गर्न सकिने गरी प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले यही नयाँ परिभाषालाई अँगाल्दै जर्मनीमा युरोपियन इन्स्टिच्युट अफ एप्लाइड बुद्धिज्मको स्थापना गर्नुभयो । उहाँको लक्ष्य भनेको पैसा, शक्ति र ख्याती सबै भएर पनि युरोपियनहरु भित्रबाट दुःखी भएको र तडपिरहेकोले उनीहरुका लागि व्यवहारिक र सजिलो ढंगले त्यस दलदलबाट निकाल्नु थियो अनि त्यो बाटो बुद्धका शिक्षा भित्र उहाँले पाउनुभयो जसलाई त्यतिकै व्यवहारिक ढंग र प्रविधि लगाएर जनमानसमा पुर्याउनु पनि भयो । त्यसैले उहाँलाई विभिन्न राष्ट्रका राजनीतिक भेलाहरुमा वक्ताका रुपमा निमन्त्रणाहरु आइरन्थ्यो र उहाँले आफ्नो सुमधुर बोली, सरल भाषाबाट सबै प्रकारका राजनीतिकर्मीहरुलाई प्रभाव पार्नुहुन्थ्यो । सबैका लागि उहाँले दिने समाधान भनेकै बुद्धका शिक्षाहरुमा आधारित हुन्थे ।

यसप्रकार उहाँले आफ्नो धर्म प्रचारको ६५ वर्षे यात्राको दौरानमा बुद्धधर्मलाई नै नयाँ रुप दिनुभयो । उहाँले बुद्धको शिक्षालाई श्रद्धाबाट गरिने उपासनाबाट जीवन्त अभ्यासको रुपमा रुपान्तरण गर्नुभयो, जुन आजको युगमा सबैलाई खाँचो थियो ।

यसो हेर्दा लाग्छ, न्हात हान जीवन भरी कहिल्यै सुख शान्तिसँग बस्नुभएन, वा बस्न पाउनुभएन । उहाँका हरेक पाइलामा चुनौती थिए, आलोचना, आरोप अनि आक्रमण थिए । शायद यसैले होला उहाँलाई यति बलियो, धैर्यवान् र अडिग बनाएको । यसबिच पनि आफ्नो पछाडि विश्वभरका लाखौं शिष्य वा प्रशंसक भएर पनि उहाँले कुनै त्यस्तो शक्तिशाली पद चाहनुभएन, प्रचारमुखी काम गर्नुभएन । सबैका लागि सँधै उहाँ एकजना “थय्” (गुरु) मात्र रहन रुचाउनुभयो, विदेशीहरुका लागि भने जेन मास्टर नै हुनुभयो । बरु उहाँको उपनाम सति–पिता (Father ofMmindfulness) भने धेरै प्रख्यात भयो । उहाँ सँधै एक सामान्य, भलादमी प्रकारको भिक्षु मात्र भएर रुचाउनुभयो र यही स्वभावले गदा उहाँ जुनसुकै धर्म, जात, भाषा वा राष्ट्रमा मानिसको पनि मुटुमा स्थान बनाउन सफल हुनुभयो ।


यस्तो सक्रिय जीवन बिताउँदा बिताउँदै सन् २०१४को जुनमा हामी बाँच्दा के हुन्छ, मर्दा के हुन्छ भनेर ध्यान शिविर चलाउनु भएको थियो, जसमा उहाँले बाँच्ने र मर्ने कलाको प्रसंग उठाउनुभयो । यसको पाँच महिना मात्र पछि सन् २०१४को नोभेम्बर ११का दिन उहाँलाई मस्तिष्कघात भयो । उहाँ बोल्न हिँड्न नसक्ने अवस्थामा पुग्नुभयो । डाक्टरले अब कहिल्यै बोल्न हिँड्न सक्नुहुन्न भनेको थियो तर उहाँ आश्चर्यजनक ढंगबाट उहाँको स्वास्थ्यमा केही सुधार भयो ।

बिरामी हुँदै सन् २०१८को अक्टोबरमा उहाँले बाँकी जीवन बिताउन भियतनाममा आफूले प्रवजित जीवन शुरु गरेको तु ह्यू विहारमा फर्कने इच्छा प्रकट गर्नुभयो । उहाँको इच्छा पुरा भयो । तु ह्यूमा उहाँले पूर्वीय चिकित्सा पद्धतिबाट उहाँको उपचार भइरह्यो । उहाँ ह्विलचियरमा यताउति जानसक्ने हुनुभयो । यस्तो अवस्थामा पनि भियतनामी सरकारको नजरमा नै उहाँ हुनुभयो र सादा पोशाकका प्रहरीको निगारानीमा हुनुपर्यो ।

सन् २०२२को जनवरी २२का दिन त्यही तु ह्यू विहारमा उहाँ न्हात हानको ९५ वर्षको उमेरमा निधन भयो । त्यो भियतनामका र विश्वका बौद्धहरुका लागि मात्र हैन सबै यथार्थको जीवन बाँच्न चाहने शान्तिकामीहरुको लागि पनि शोकको दिन थियो । जीवन अनित्य हो, भूत र भविष्यमा हैन वर्तमान्को तत् क्षणमा बाँच्नु पर्छ भनेर उहाँले सिकाउनुभएका शिष्यहरु पनि भावविह्वन नभइरहन सकेनन् । विश्वका राजनीतिक नेताहरु र धार्मिक नेताहरुले श्रद्धाका शब्द सुमन चढाए ।

उहाँको पार्थिव शरिरलाई निकै श्रद्धापूर्वक पाँचदिनसम्म दैनिक प्रार्थनाका बिच राखियो, । यही समय फ्रान्सको प्लम भिलेजमा समेत साप्ताह भरीको कार्यक्रम आयोजना गरिएको थियो । नेपालको लुम्बिनी लगायत विश्वभरका बौद्ध विहार तथा मन्दिरहरुमा उहाँको सम्झनामा श्रद्धान्जलि कार्यक्रमहरुको आयोजना गरियो कयौंले त्यहाँ आएर ध्यान गरे । र सातौं दिन जनवरी २९का दिन शवयात्रा गरी अन्तिम संस्कार गरियो । दशौं हजार भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुले उहाँलाई बिदा गरे ।


आफ्नो मृत्युलाई उहाँले पहिल्यै देखिसक्नुभएको थियो । उहाँका शिष्यहरु पनि यो सत्यलाई बुझेका थिए । उनीहरु उहाँको मृत्युपछि उहाँको खरानी राखेर स्तुप बनाउन चाहन्थे । उहाँलाई त्यो स्वीकार थिएन । उहाँ भन्नुहुन्थ्यो, “यदि मेरो नाममा स्तुप बनाउने हो भने त्यहाँ सँगै लेख्नुपर्छ कि उ यहाँ छैन, अनि बाहिर कतै पनि छैन, बरु उ तपाइँले स्वास लिने वा हिँड्ने तरिकामा छ” ।
०००

Anandabhoomi Buddhist Magazine, 2022 February

(All photographs are collected from various sources. The author is indebted to the photographers and archives who have made Thay immortal.)

https://bit.ly/3LG3Hqw

फेसबुक प्रतिबन्धले निम्त्याएकाे विरोध प्रदर्शनमा १९ जनाकाे मृत्यु

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...