Showing posts with label 2021. Show all posts
Showing posts with label 2021. Show all posts

Sunday, December 19, 2021

जेन बुद्ध धर्मको सामान्य परिचय



 राजेन मानन्धर

बुद्ध धर्म सम्बन्धी सामान्य जानकारी लिएकाहरुलाई थाहा छ, बुद्ध धर्म भनेको अनुभवमा आधारित धर्म हो । यसलाई प्रत्यक्ष, तत्काल फालदायी र कसैलाई पनि आउ र परिक्षण गरेर हेर भन्न सकिने खालको हो भनिन्छ । यसको अर्थ बुद्धको ज्ञान किताबी सिद्धान्तहरुमा भन्दा पनि स्वयम् अनुभव गरेर हेर्नुमा छ । त्यो भनेको ध्यान नै हो । त्यसैले त बुद्ध शिक्षामा शील, सामाधी र प्रज्ञालाई महत्वपूर्ण मानिन्छ ।

हामी कहाँ बुद्ध धर्मलाई हिन्दु जसतो धर्मको रुपमा मानिन्छ, जहाँ एक प्रकारको मूर्ति स्थापित गरिन्छ, फूल, सिन्दुर, टिका लगाइदिइन्छ र भगवान मलाई यो चाहियो वा यस्तो गरिदिनुस् भन्ने प्रार्थना गरेर उहाँले कतै बसेर हाम्रो इच्छा पुरा गरिदिनुहुन्छ भन्ने विश्वास गरिन्छ । अझ कति त यति गरेकै भरमा आफुले मार्गफल पाउने मात्र होइन, बुद्ध नै बन्न सकिन्छ अनि जगतकै हित गर्न सकिन्छ भनेर पनि सोच्छन् । तर यस्तो गर्नेले आफुले आफैलाई हेर्न आफ्नो शरिरमा भइरहेका परिवर्तनलाई भने हेर्न चाहँदैनन् । अधिकांश बौद्धहरुको अवस्था यस्तो देखिन्छ यहाँ ।

भगवान बुद्धको परिनिर्वाणको केही समय पछि नै यसै बुद्धशिक्षा समाजमा फैलाउन जीवन अर्पण गर्ने भिक्षुहरुका बिचमा वैचारिक भिन्नता भएर आआफ्नै दर्शनको निर्माण भयो, जसको फलस्वरुप विभिन्न निकायहरु खडा भए । यसका साथै कालान्तरमा बुद्धधर्मको क्षेत्र हिन्दु धर्म जस्तो नेपाल र भारतमा मात्र सिमित भएन, यसले भौगोलिक रुपमा यति विस्तार पायो कि यो ग्रिस, इरान पर्सियादेखि लिएर कोरिया जापान सम्म पनि पुगे । कुनै नयाँ ठाउँमा त्यहाँको हावापानी र संस्कृतिले असर गर्यो भने कुनै ठाउँमा त्यहाँ प्रचलनमा रहेको पहिलेको धर्मले असर गर्यो । त्यस्तै किसिमले स्थानीयकरणको कारणले भिन्न जस्तै भएर विकसित भएर गएको बुद्ध धर्मको एक निकाय वा शाखा वा प्रकार जेन बुद्ध धर्म हो जुन विशेष गरेर जापान पुगेर त्यहाँ आफ्नै किसिमबाट विकास हुँदै गयो र अहिले विश्वभर जस्तै आफ्नै मौलिकताले सजिएको सिद्धान्त जस्तै भएर फैलिदै छ ।

समान्य परिचय
जेन बुद्ध धर्म (Zen Buddhism) महायानको आधारमा विकास भएको एक विशेषीकृत बुद्ध धर्म हो जसले ध्यानलाई बढी महत्व दिन्छ । यसको उत्पतिको केन्द्रविन्दु चीन नै भएपनि यसको विकास र प्रचारप्रसार जापानमा भएको पाइन्छ । जेन भन्ने शब्द नै चीनियाँ भाषाको चान् बाट लिइएको हो, जुन पालि वा संस्कृतको ध्यान शब्दबाट गएको वा अपभ्र्रंश भएको मान्न सकिन्छ । संक्षिप्तमा भन्नु पर्दा यसमा अभ्यासकर्ताले आत्मसंयम, ध्यान अभ्यास, मनको प्रकृतिमा अन्तरदृष्टि आदिमा केन्द्रित भएर आचरण गर्नु पर्दछ ।

बास्तवमा जेन वर्तमानको यथार्थमा फर्केर आउने अभ्यास हो, जुन हाम्रो वास्तविक स्वभावको सहजता, अन्तरंगता र सरलतामा फर्केर आउँछ । जेन अभ्यास हाम्रो जीवनभन्दा टाढा हुने बारे होइन, बरु यो अहिले जस्तो छ यही हाम्रो जीवनमा आफ्नो जीवन्तता, सुन्दरता, कठिनाइ, खुशी र दुःखको साथ जस्तो छ त्यस्तै हुने बारेमा हो । जेन भनेको हामी बास्तवमा को हौं, त्यसमा जागृत रहने वा होशमा रहने मार्ग हो । र यो अरुको सेवा गर्ने र जीवन भरीको जिम्मेवारी लिने आकांक्षालाई जागृत गर्ने मार्ग पनि हो । (विलिएम एम बेडिफोर्डको भनाइमा)

सजिलोसँग भन्नुपर्दा जेन बुद्ध धर्म भनेको महायान र ताओवादको मिश्रण हो । यो चीनमा शुरु भएको थियो, कोरिया, जापान र भियतनाममा फैलियो र अब पश्चिमी देशहरुमा लोकप्रिय हुँदै गइरहेको छ । यसले कुनै पुस्तक, गाथा वा ग्रन्थमा नअलमलीकन, तार्किक विचार वा भाषामा नहराइकन सिधै जीवनको अर्थलाई बुझ्ने प्रयास गराउँछ । यसको लागि अरु केही होइन एकदम अनुशासन र जीवनलाई बुझ्ने भित्री चाहनाको आवश्यकता पर्छ । यसलाई सही ढंगबाट अभ्यास गरेमा पूर्ण सहजता र परम स्वतन्त्रता प्राप्त हुन्छ र यस प्राकृतिक सहजतालाई आवेग हो कि भनेर भ्रममा बस्न चाहीँ हुँदैन भनेर भनिएको छ ।

पश्चिमाहरुको कुरा गर्दा यहाँ यो भन्नै पर्छ कि एकातिर उनीहरु जेन र बुद्ध धर्मलाई समानार्थी शब्दको रुपमा लिन्छन् र जेन शिक्षाबाट मात्रै बुद्धको शिक्षालाई सही अर्थमा बुझ्न सक्छ । अर्कोतिर केही मानिसहरु जेनलाई एक दमहल्का कुराको रुपमा लिन्छन् र आफुलाई मन नपर्ने कुरालाई जेन भन्छन् अनि सानो सानो कुरामा अलमलिनेहरुलाई वा छिद्रान्वेषी प्रकारका मानिसलाई पनि जेन भन्छन् । त्यसकारण त क्रिसमस हेम्फसिरले भनेको — जेनलाई गलत बुझ्न एकदम सजिलो छ ।

जेन भनेको गर्ने काम हो । यसलाई कुनै शब्दमा वर्णन गर्न सकिन्न । तर ब्याख्याले भने जेन भनेको के हो भन्ने बुझ्न केही मदत गर्न सक्छ । यहाँ याद राख्नु पर्ने कुरा यही हो कि यो बुझ्न अनुभव नै गर्नुपर्छ ।

यसलाई यसरी बुझ्दा सजिलो होला — जेन बुद्ध धर्मको खाँटी कुरा भनेको यो हो कि हामी सबै मानिसहरु बुद्ध हौं र यो सत्यलाई हामीले आफु भित्रै पत्ता लगाउनु पर्दछ । जेनले ज्ञान लाभ गराउन हामीलाई हामी भित्र पठाउँछ । ज्ञान लाभको लागि हामीले बाहिर खोज्न जरुरी छैन, यसलाई हामी भित्र त्यहीँ पाउन सक्छौं जहाँ हामीले हामी को हौं भन्ने प्रश्न भेट्टायौं । यो भनेको त्यस्तो सत्य हो जुन दर्शनका कुरा छाँटेर, ग्रन्थहरु पढेर, धार्मिक कर्मकाण्डका कार्यक्रमहरुमा भाग लिएर वा त्यस्ता धार्मिक भनिने मानिसहरुले गर्ने जस्ता काम गरेर पाउन सकिँदैन । त्यसैले भनिन्छ कि आफ्नो मनलाई आफ्नो वशमा राख्नु जरुरी छ । मनलाई नियन्त्रण गर्न ध्यान वा अन्य प्रविधिहरु आवश्यक छ जसमा मन र शरिर समावेश गराइएको हुन्छ । यसो गर्दा तार्किक चिन्तन गर्ने काम छोड्नु पर्छ अनि शब्दको जालमा फस्नबाट पनि बच्नु पर्छ ।

जेन बुद्धधर्मको इतिहास

जेन बुद्धधर्मको प्रारम्भिक स्वरुपको निर्माण भारतमा बुद्धधर्ममा दोश्रो देखि छैठौं शताब्दीमा माध्यमिक तथा योगाचार जस्ता दर्शनहरुको विकाससँगै भएको मानिन्छ । सन् १००४मा बौद्ध भिक्षु दाओयुनद्वारा लिखित एक ग्रन्थलाई जेन बुद्धधर्मको परिचय दिने सबैभन्दा पुरानो मौलिक ग्रन्थको रुपमा लिने गरिन्छ । यसले जेन बुद्धधर्मलाई पाँचवटा मुख्य शाखाहरुमा विभाजित गरी भिक्षु तथा भिक्षुणीहरुले अवलम्बन गर्ने धर्मको रुपमा व्याख्या गरिएको छ र उनीहरुले कन्फुसियसको शैलीमा पितृहरुको पूजा गर्ने भनिएको छ । यसमा शाक्यमुनि बुद्ध भन्दा पहिलेका सात जना बुद्धहरुको समेत उल्लेख छ । यसमा पाँचौं शताब्दीमा चीनमा बुद्धधर्मको प्रचार गर्ने बोधिधर्मको नाम समेत जोडिन पुग्छ । उनको समयदेखि अहिलेसम्मको एक जीवन्त बिरासतको रुपमा जेनको विकासक्रमलाई लिइन्छ ।

जेन अभ्यास कर्ताहरु यो जेनधर्म चीनमा भारतीय वा मध्य पश्चिमी भिक्षु बोधिधर्मले इस्वीको छैठौं शताब्दीमा ल्याएको भनेर मान्छन् । यसरी हेर्दा जेनको उद्भव चीनमा ताङ वंश, अर्थात् ७औं देखि १०औं शताब्दीमा भएको थियो । त्यसबेला त्यसलाई त्यहाँ चान् (禪) विचारधारा भनेर मानिन्थ्यो । समय अनुसार यो विकसित र रुपान्तरित पनि हुँदै गयो ।

चीनमा यो छैठौं कुलपति भनेर मानिने हुइनेङ (सन् ६३८–७१३)को समयमा धेरै विकास भयो र ९औं शताब्दीमा यहाँ बुद्धधर्ममाथि उत्पीडन हुन थालेदेखि हराएर जान थाल्यो । इतिहासमा महान् जेन गुरु भनेर चिनिने सबै गुरुहरु यसै अविधि भित्रका पाइन्छन् । पछि पछि पनि चीनमा जेनधर्म त बच्यो तर बिस्तारै त्यो समय अनुसार फेरिँदै गयो ।

भियनताममा बुद्ध धर्म फैलिनुको पछाडि जेन बुद्धधर्मको ठुलो योगदान छ । कोही कोहीले त भियतनाममा तेश्रो शताब्दीदेखि नै जेन बुद्धधर्मको आगमन भएको मान्छन्, कोही भने छैठौं शताब्दी देखि मात्र त्यहाँ जेन बुद्धधर्म भित्रियो भन्छन् । यहाँ यो छैठौ देखि १२औं शताब्दीसम्म प्रख्यात रह्यो । यही जेन बुद्ध धर्मले भियतनाममा थिएन (Thiền) बुद्धधर्मको रुप लियो ।

कोरियामा जेन बुद्धधर्म सातौं शताब्दीको अन्तसम्ममा प्रवेश गर्यो । यहाँ यसलाई सन (선) बुद्धधर्म भनिन्छ । यहाँ भिक्षु पोमनाङ (सन् ६३२–६४६)ले ल्याएको मानिन्छ । कोरियामा भएका २६ बौद्ध निकायहरुमा सन बुद्धधर्म सबैभन्दा ठुलो मानिन्छ । यसलाई तिनीहरु चोग्ये सम्प्रदाय भन्छन् र यसमा कोरियाको ९० प्रतिशत बौद्धहरु पर्दछन् । चोग्ये भनेको दक्षिण चीनको त्यो पर्वत हो जहाँबाट यो धर्मको उद्भव भएको थियो । नवौं शताब्दीमा कोरियामा सन् बुद्धधर्म प्रचारको शिखरमा पुग्यो ।

जापानमा जेन ()बुद्धधर्मले १२औं शताब्दीमा प्रवेश पायो । यसलाई यहाँ जोयो दाइशी वा किगेन दोगेन (सन् १२००–१२५३)ले ल्याएको मानिन्छ । यो यहाँ कामाकुरा युगमा आयो र यसलाई यहाँ सोतो निकायको रुपमा परिचित गराइएको थियो । जापानमा यसले जापानी जेन बुद्धधर्मको रुपमा विकसित हुने मौका पायो । जापानमा मात्रै कमसेकम तीन निकायहरु छन् — ओबाकु, रिनजाइ तथा सोतो । जापानमा यसरी जेन बुद्धधर्मले आफुलाई विकास गर्ने मौका पायो । यही विकासक्रममा फलस्वरुप अहिले जेन बुद्धधर्मलाई जापानको मौलिक धर्मको रुपमा मान्नेहरु पनि छन् । यसको कारण भनेको यसलाई अहिलेको स्वरुपमा ल्याउन तथा यसलाई विश्वमाझ फैलाउन जापानका जेन गुरुहरुको ठुलो योगदान रहिआएको छ । यसरी पश्चिममा जेन बुद्धधर्म फैलाउने काममा मुख्यतयाः दाइसेचु तेइतारो सुजुकी (सन् १८७०–१९६६) तथा शेनरयु सुजुकी (सन् १९०४–१९७१)को योगदान सम्झनुपर्दछ ।

खासगरी पश्चिमी मुलुकमा जेन धर्म जापान हुँदै र जापानी प्रकारको हुँदै विकसित वा विस्तारित हुँदै गएको देखिन्छ । पश्चिमी मुलुकहरुमा जेन शब्द यति प्रचलनमा आइसक्यो कि धेरै मानिसहरु त्यहाँ बुद्ध धर्मको मौलिक रुप भनेकै जेन भन्ने सोच राख्छन् अनि चाहिने नचाहिने ठाउँमा पनि बुद्धको कुरा गर्नुपर्यो कि जेन बुद्धधर्मलाई अगाडि राख्छन् ।

जेनको अभ्यास

जेन बुद्ध धर्मको अभ्यासका विभिन्न विशेषताहरु मध्ये एक यो हो कि यसमा शास्त्रीय शिक्षा दिने काममा निकै कम ध्यान दिने गरिन्छ । यो त कुनै गुरुको प्रत्यक्ष सिकाइबाट नै प्राप्त गर्न सकिन्छ । यसको उद्देश्य तर्कसंगत र बौद्धिक दिमागलाई मानसिक पासोबाट बाहिर निकाल्नु नै हो । यति गर्नाले साधकहरु धेरै जागरूक हुन्छ र आफ्नोे बुद्ध–स्वभाव वा तथागत गर्भलाई महसुस गर्न सक्छ । यति गर्नको लागि कहिलेकाही सामान्य शारीरिक हिंसाको समेत प्रयोग गरेर साधकहरुलाईे बौद्धिकताको फन्दाबाट बाहिर निकालिन्छ ।

जेन साधकहरुको लक्ष्य नै आफु जसरी बाँचिरहेको छ त्यसरी नै ज्ञानलाभ गर्नु हो । यसका लागि उनीहरु मानसिक क्रियाकलापहरुद्वारा दार्शनिक विचार वा बौद्धिक प्रयासको सहयोग विना सत्यसम्म पुग्छन् । कुनै कुनै जेन निकायले एकै क्षणमा ज्ञान लाभ गराउँछ भने कुनै कुनैले एक क्रमिक प्रक्रिया मार्फत ज्ञानलाभसम्म पुर्याउने काम गर्दछ ।

जेन बुद्धधर्मको उद्देश्य साधकको आफ्नो मौलिक मन वा प्रकृतिलाई बौद्धिकताको हस्तक्षेप बिना सिधै हेरेर आत्मज्ञान प्राप्त गर्नु हो । यो एक ठुलो सहज ज्ञानयुक्त बुझाइ हो, यो आकर्षक दार्शनिकता होइन । जेनले जे जस्तो छ त्यस्तो हेर्न सिकाउँछ, त्यसको विश्लेषण गर्न लगाउँदैन । जेनमा बुद्धत्वको साँचो आत्म–ज्ञानलाई मानिन्छ । यसले मनुष्य हुनु नै बुद्ध हुनु हो भन्छ । यसका अनुसार बुद्ध–प्रकृति भन्नु नै मानव स्वभाव हो । जेन भन्नु नै पूर्ण रुपले बाँच्नु हो । कसैले यसलाई धर्म र कसैले दर्शन भन्छ, जे भनेपनि यो यही हो । यो आफै कुनै धर्म वा दर्शन भने होइन । यसले मानिसलाई शब्द जाल र तर्कको पकडबाट बाहिर ल्याउने प्रयास गर्छ ।
सारमा भन्नु पर्दा यो आफ्नो आफ्नै प्रकृतिलाई हेर्ने कला हो, जसले हामीलाई बन्धनबाट मुक्तिको बाटो देखाउँछ ।

संक्षेपमा भन्दा ध्यानका अभ्यास, विशेष गरी बसेर गरिने ध्यान, जसलाई चीनियाँ भाषामा जोचान र जापानी भाषामा जाजेन भनिन्छ, त्यही जेन बुद्धधर्मको मूल मर्म हो भन्न सकिन्छ ।

जेन बुद्धधर्म र ध्यान

बुद्ध धर्मले ध्यान साधनालाई विशेष महत्व दिन्छ । बुद्ध धर्मको विभिन्न निकायले आआफ्नै किसिमबाट ध्यानलाई सम्बोधन गरेको र यसको महत्व बुझेर यसलाई धर्मको महत्वपूर्ण खुड्किलाको रुपमा लिइन्छ । यदी बौद्धहरु ध्यान गर्दैनन् भने उनीहरु कर्मकाण्डी मात्र रहन्छन् । त्यसैले शीलबाट समाधिमा बस्न सकिन्छ र समाधिबाट प्रज्ञाको ढोका खुल्छ भनिन्छ ।

प्राचीन बौद्ध ग्रन्थहरुमा ध्यानलाई मनलाई बाँध्ने वा तालिम दिने कामको रुपमा बताइएको पाइन्छ । यसले हामीलाई पूर्ण समभाव र उपेक्षा स्मृतितर्फ डोर्याउँछ । प्राचीन बुद्धधर्मको यो नै प्रमुख साधनको रुपमा मानिन्छ । जेन धर्ममा ध्यान वा जेन भनेको सर्वास्तिवादी ध्यान प्रविधिबाट ल्याइएको भनिन्छ ।

जेनको सन्दर्भमा कुरा गर्दा यसमा ध्यान गर्दा मनलाई नियन्त्रित गर्नको लागि जेन साधकहरुलाई अक्सर आफ्नौ श्वास गन्न लगाइन्छ । यसमा कि छोडिएको र लिएको दुबै, कि लिएको मात्रलाई गन्न लगाइन्छ । यो गन्ती दशसम्म भएपछि फेरी गन्न लगाइन्छ । यो मनलाई पूर्ण रुपमा शान्त नभएसम्म दोहरर्याउन लगाइन्छ । यसमा लामो र गहिरो श्वास लिन लगाइन्छ । ध्यान नाभी भन्दा तल केन्द्रित गर्न लगाइन्छ र श्वास लिँदा यो फुल्नुपर्छ, अनि श्वास गहिरो र मन्द हुनुपर्छ । श्वास गन्न झर्को लागेमा वा बोझ जस्तो भएमा श्वासको प्राकृतिक आउजाउमा ध्यान केन्द्रित पनि गर्न सकिन्छ ।

यसबाहेक गम्भीर जेन साधकहरुद्वारा गहन सामूहिक ध्यान को अभ्यास पनि गर्ने गरिन्छ । जापानी भाषामा यस प्रथालाई सेशिन (sesshin) भनिन्छ । यस्तो शिविरमा भिक्षुहरुलाई प्रत्येक दिन धेरै घण्टासम्म ध्यान गर्नुपर्ने हुन्छ । यस अवधि भरी उनीहरुले आफुलाई विशेष रूपमा जेन अभ्यासका लागि समर्पित गर्ने गर्छन् । यस्ता लामा ध्यानहरुलाई जाजेन भनिन्छ र यसमा छोटो अवधिको विश्राम, अनुष्ठानिक औपचारिक भोजन, तथा सानोतिनो काम पनि जोडिन्छ । जापान, ताइवान र पश्चिमी देशहरुको आधुनिक जेन बौद्ध अभ्यासहरुमा सामान्य साधकहरु यस्ता गहन अभ्यास शिविरहरुमा भाग लिने गर्दछन् ।

जेन बुद्धधर्ममा बसेर गरिने ध्यानलाई सामान्य भाषामा जाजेन (zazen) भनेर चिनिन्छ । यो भनेको जेन बुद्ध परम्परामा विशेष गरी आधारभूत ध्यान गर्ने अनुशासन हो । सामान्यतयाः भन्दा जाजेन भनको सून्यता माथिको विपश्यना भनेर पनि भन्न सकिन्छ । यद्यपि जेन बुद्धधर्मकै पनि विभिन्न निकाय जस्तै विभिन्न ठाउँमा आआफ्नै किसिमबाट विकास भइरहेकोले एक अर्कामा बुझाइमा भिन्नता भने पाउन सकिन्छ । उदाहरणका लागि रिन्जाइ निकायले जाजेनलाई कोआन (कथा, सम्बाद, प्रश्न वा तथ्य, जसले साधकहरुमा आफ्नै जेन सम्बन्धी ज्ञानको प्रगतिको लागि शंका उब्जाइदिन्छ/ koan) लाई ल्याउँछ भने सोतो निकायले कोआनलाई भन्दा शिकान्ताजा (Shikantaza) — कुनै वस्तुमा ध्यान केन्द्रित नगरी बस्ने मात्र)मा जोड दिन्छ ।

यसो हेर्दा जेन ध्यान त विपस्सना ध्यान जस्तै देखिन्छ । तर यसमा बुझाइमा नै केही भिन्नता छ । एक जना पूर्व भिक्षु डेभिड सुदरले एउटा उदाहरण दिएर फरक छुट्याउने प्रयास गरेका छन्, जुन यसप्रकार छ –

एक बौद्ध शिक्षकले एक पटक बालबालिकाहरूको समूहलाई सोधे, “बिहानको खाजा खाने उद्देश्य के हो?“

एकजनाले जवाफ दियो, “दिनको लागि ऊर्जा दिन्छ ।”

त्यसपछि दोस्रो बालकले जवाफ दियो, “बिहानको खाजा खानुको उद्देश्य बिहानको खाजा खानु हो।”

यी दुई उत्तरहरूले जेन र विपश्यना बीचको प्राथमिक समानता र भिन्नतालाई सुन्दर रूपमा चित्रण गर्दछ । दुबै परम्पराहरू वर्तमान (“बिहानको खाजा खाने”) को बारेमा सचेत जागरूकतामा आधारित छन् । यद्यपि विपस्सना ध्यानमा प्राथमिक जोड हाम्रो दिमागलाई यस्तो तरिकाले चलाउनमा छ (“दिनको लागि ऊर्जा”) विकास गर्छौं । अर्को तर्फ जेनमा उपस्थित हुनको लागि उपस्थित हुनुमा प्राथमिक जोड दिइन्छ — तिनीहरूको परिप्रेक्ष्य यो हो कि भित्री स्वतन्त्रता यहाँ पाइन्छ, त्यसैले हामीले “बिहानको खाजा खाने” को वास्तविक कार्यमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ, वा हामी जे गर्दैछौं त्यो मात्र । यदि तपाइँले जेन र विपस्सनाको गहिरो अध्ययन गर्नुहुन्छ भने यो पाउनुहुनेछ कि तिनीहरू दुवै वास्तवमा सहमत छन् कि तपाईंसँग दिशाको चेतना हुनु आवश्यक छ, तर तपाइँ अगाडि बढ्नको लागि पनि उपस्थित हुन आवश्यक छ ।

फेरी जेन बुद्ध धर्म भनेको ध्यान मात्र पनि होइन । कलाका केही पक्षहरु, जस्तै चित्रकला, अक्षरकला, कविता, बगैंचा श्रृंगार, फूलको श्रृंगार, चिया समारोह जस्ता सामाजिक देखिने केही क्रियाकलापहरुलाई पनि जेनले आफ्नो अभिन्न अंगको रुपमा लिएको पाइन्छ । जापानको एउटा र्योआन्जी नामक ढुंगाको बगैंचा जेन बगैंचाको नामले प्रशिद्ध छ । प्राचीन जेन भिक्षुहरुले ब्रुश पेन्टिङ तथा अक्षरकलालाई आफ्ना विद्यार्थी साधकहरुलाई आध्यात्मिक कुराहरु बुझाइदिनको लागि प्रयोग गरेको पाइन्छ । जेनहरुका बिच छुट्टै जेन पेन्टिङको महत्व छ । यस्ता कुराहरुले शब्दबाट बुझाउन नसकिने कुराहरु साधकहरुको मनमा पुर्याइदिन्छ ।

अझ कुनै कुनै जेन साधकहरुले त गुह्य अभ्यासहरु समेत गर्छन् । जस्तै कोरियाको क्वान उम निकायमा बसेर ध्यान गर्दा ग्वानइन (नेपालमा अवलोकितेश्वर भने जस्तै)को मन्त्र समेत प्रयोगमा ल्याइन्छ । कतिपय कार्यक्रममा जेन बुद्ध धर्ममा प्रज्ञापारमिता हृदय सुत्रको पाठ पनि हुन्छ । त्यस्तै शिनगोङ्ग निकायबाट आएको सोतो जेन बुद्ध धर्ममा अमोघपास–कल्पराज सुत्रको पनि पाठ हुन्छ ।

यो लेखको उद्देश्य जेन बुद्धधर्मको सबै कुरा बताउने होइन । त्यसका लागि म सक्षम व्यक्ति पनि होइन । यहाँ मैले बुद्ध धर्म भनेको हामीले देखेको भन्दा बाहिर पनि छ भनेर सानो छेस्को उघार्न मात्र प्रयास गरेको छु । हामी नेपालीहरुमा हामी बुद्धको जन्मभूमिका बासिन्दा हौं, बुद्धकै सन्तान हौं भन्ने अभिमान छ । अझ कति भरखर दुइचार बुद्धधर्मको पुस्तक पढेर बुद्धधर्मका अध्यापन गर्ने तहमा पुगेकाहरुले अभ्यास नै गरिरहेकाहरु बौद्धलाई तिमीहरुलाई केही थाहा छैन भनेर खिस्याउन समेत पछि पर्दैन । अर्कोतिर जस्तो सुकै रंगको लुगा लगाएर आफुलाई बुद्धधर्ममा समर्पित गर्नेहरुमा समेत मैले बुद्धधर्मको सबै जानेको छु भन्ने घमण्ड पालिरहेको हुन्छ ।

नेपालका बौद्धहरु अक्सर अचम्म मान्छन् — बुद्ध नेपालमा जन्मेको तर विश्वमा बुद्ध धर्म फैलनुमा नेपालीहरुको योगदान खासै किन छैन भनेर । हुन पनि हो, नेपालमा बौद्धहरु आफुलाई सर्वोच्च नै भन्ने खालका अभिव्यक्ति दिइरहेका हुन्छन् तर यथार्थमा हेर्दा नेवारहरुको आफ्नो भनिएको बुद्धधर्म आफ्नै सम्प्रदायमा पनि पकडमा आउने गरी फैलिन सकेको छैन, थेरवाद र तिब्बती बुद्धधर्म अन्य देशमा फैलिएको जति छ त्यसमा नेपाली बौद्धहरुको योगदान देखिँदैन । अर्कोतिर हेर्यो भने पश्चिमी मुलुकहरुमा अहिले बुद्ध धर्म धमाधम फैलिरहेको पाइन्छ । त्यसमध्ये धेरैले जेन बुद्ध धर्मलाई नै बुद्ध धर्म भनेर अँगालिराखेका छन् । यसको कारण उनीहरु बुद्धधर्मलाई पूजापाठ, कर्मकाण्ड अनि बुद्धको मूर्तिलाई अन्य धर्मका देउता सरह पूजा गर्ने भनेर लिइरहेका छैनन् । उनीहरुले यसलाई ध्यान गर्ने र ध्यान मार्फत् जीवनमा आइपर्ने सबै बाधा अडचन हटाएर सुख पूर्वक जीवन बिताउने साधनको रुपमा लिइरहेका छन् । त्यसकारण त्यहाँ जेन बुद्धधर्म अँगाल्नेहरु बढिरहेको छ । अर्कोतर्फ भगवान बुद्ध जन्मनु भएको नेपालमा भने जेन बुद्धधर्म सिकाउने, अभ्यास गर्ने र यसबारे विवेचना गर्ने ठाउँको पनि अभाव छ । यस्तो अवस्थामा बुद्धधर्मलाई सही अर्थमा बुझ्न कर्मकाण्ड भन्दा बाहिर आएर ध्यानको माध्यमबाट ज्ञानलाभ तर्फ किन नलाग्ने?

आनन्दभूमि मासिक December 2021

https://bit.ly/3yESiRT

Dec 19, 2021

Saturday, November 13, 2021

२८ बुद्धहरुको संक्षिप्त परिचय




राजेन मानन्धर


सब्ब पापस्स अकरणं, कुसलस्स उपसम्पदा । सचित्तपरियोदपनं, एतं बुद्धान सासनं (अर्थात् सबै प्रकारको पाप कर्म नगर्ने, पुण्य कर्म संचय गर्ने, आफ्नो चित्तलाई परिशुद्ध बनाउने – यही बुद्धहरुको शिक्षा हो )। त्यस्तै अर्को एक बुद्ध वन्दना यस प्रकार छ – सर्वबुद्धं नमस्यामि, धर्मञ्च जिन भाषितं, संघञ्च शील सम्पन्न, रत्नत्रयं नमस्तुते (सकल बुद्धलाई नमस्कार, बुद्धद्वारा अभिव्यक्त भएका धर्म ज्ञानलाई नमस्कार, शीलले सम्पन्न हुनु भएको संघलाई पनि नमस्कार। यी तीनवटा रत्नहरुलाई म सधैं शिरोपर गर्दछु।) यी दुबैमा बुद्धहरुको कुरा छ – बुद्धहरुको । यो जस्तै अन्य थुप्रै बौद्ध गाथा, व्याख्याहरुमा बुद्धहरुको प्रसंग उल्लेख छ । बौद्ध अभिलेखहरुले अथवा भनौं बौद्ध विश्वासले संसारमा एक जना मात्र हैन अनेकन् बुद्धहरुको जन्म भैसकेको, उहाँहरुको आफ्नो जीवन कालमा शिक्षा वा धर्मले मानव जीवनलाई धेरै अगाडिदेखि धन्य बनाइराखेको आदि प्रसंगहरु पाइन्छ । 


यिनै प्रसंगहरुले पनि हामीलाई बुद्ध एक जना मात्र हैन धेरै जना थिए भन्ने सम्झाइरहन्छ । थेरवाद, महायान तथा वज्रयान पछ्याउने सबैले मानिआएको एउटा सत्य यही हो कि बुद्ध एकजना मात्र हुनुहुन्न, उहाँ धेरै जना आइसक्नु भएको छ अनि नयाँ बुद्धहरु आउने क्रम रोकिने पनि छैन । बुद्ध धर्मको बारे चासो राख्ने, अध्ययन गर्ने वा धर्म अवलम्बन गर्नेहरुले उहाँ बुद्धहरुको बारे जानकारी लिइराख्नु उचित हुने देखिएकोले यहाँ उहाँहरुको बारेमा सामान्य जानकारी दिने कोशिस गरिन्छ । 


विशेष गरी काठमाडौं उपत्यकाका नेवार बौद्धहरुले दीपंकर बुद्धलाई पूजाआजा गरेर मान्छन् । ती मध्ये कतिलाई उहाँ दीपंकर कुन बुद्ध भनेको पनि थाहा नभएको हुनसक्छ । त्यसबाहेक यहाँ एक किंवदन्ती प्रख्यात छ जसमा काठमाडौं उपत्यका मानिस बस्न लायक नहुँदै एउटा दहको रुपमा हुँदा स्वयम्भूको उत्पत्ति भएको प्रसंग छ । यस अनुसार यहाँ विपश्वी बुद्धले आएर कमलको बीज रोप्नुभयो, त्यहाँबाट स्वयम्भुको उत्पत्ति भयो । त्यसपछि विभिन्न समयमा शिखि, विश्वभू क्रकुछन्द बुद्धहरु स्वयम्भुको दर्शन गर्न आउनुभयो ।


विशेष गरी सातजना बुद्धहरुको नाम यहाँ लिइन्छ — विपश्वी, शिखि, विश्वभू, क्रकुच्छन्द, कनकमुनि (कोणागमन), काश्यप तथा गौतम । ती मध्ये अर्कोतिर कपिलवस्तुको गोटिहवामा क्रकुछन्द बुद्ध तथा निग्लिहवामा कनकमुनी बुद्ध जन्म वा निर्वाण भएको भन्ने सम्राट अशोकका प्राचिन अभिलेखहरुमा उल्लेख छ । यसै आधारमा पर्यटकहरुलाई आकर्षण गर्न अरौराकोटमा कनकमुनी तथा गोटिहवामा क्रकुछन्द बुद्धको प्रतिमा हालै स्थापना गरिएका छन् । 



हामी सबैले थाहा भएको कुरा हो भगवान बुद्धको जन्म नेपालमा भएको हो । उहाँ कपिलवस्तु दरवारमा सुद्धोधन महाराजका सुपुत्रका रुपमा जन्मनुभयो, बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो, सारनाथमा प्रथम धर्मदेशना गर्नुभयो र अन्तमा कुशीनगरमा निर्वाण प्राप्त गर्नुभयो । तर हामी मध्ये धेरैलाई थाहा नभएको करा के हो भने यसबाहेक बौद्ध साहित्यले धेरै जना उहाँ बुद्धहरुभन्दा अगाडि यस पृथ्वीमा जन्म लिएर धर्म रक्षा गरेर गइसकेको उल्लेख गरेको छ । थेरवादी साहित्य अनुसार यहाँ लुम्बिनीमा सिद्धार्थ राजकुमारको जन्म हुन अगाडि २७ जना बुद्धहरु जन्मिसकेका छन् । उहाँ शाक्यमुनि २८ औं हुनुहुन्छ र उहाँ पछि एक जना बुद्ध मैत्रय वा मैत्री बुद्धको जन्म पनि हुने भन्ने प्रक्षेपण भइसकेको छ । 


त्यो भन्दा अगाडि उहाँ बुद्धहरु कहिले जन्मनुभयो भन्ने जानकारी आवश्यक हुन्छ । उहाँहरु कुन बेला जन्मनुभयो भन्ने बारे बौद्ध ग्रन्थहरुका जुन जानकारी दिइएको छ त्यो हामीले पढ्ने गरेको पृथ्वीको इतिहाससँग मेल खाँदैन । एक बुद्ध जन्मेर उहाँको जीवनकाल समाप्त भएर अर्को बुद्ध जन्मने समयकालको बिचमा यति धेरै अन्तराल देखाइएको छ कि त्यस समयलाई बैज्ञानिक ढंगले प्रमाणित गर्न सम्भव छैन । त्यसकारण बुद्धहरुको इतिहासलाई पश्चिमी वा आधुनिक खगोलीय इतिहासको परिप्रेक्ष्यमा अध्ययन गर्नु उचित पनि नहुन सक्छ । 


बौद्धहरुको साहित्य वा विश्वास अनुसार लुम्बिनीमा जन्मनुभएको शाक्यमुनि बुद्धभन्दा पहिला पनि २७ जना बुद्धहरु विभिन्न कल्प (कालखण्ड)मा जन्मनुभएको थियो र बौद्धहरु उहाँहरुले आआफ्नो समयमा जगतसंसारमा रहेका प्राणीहरुलाई सद्धर्मको शिक्षा दिएर उद्धार गर्नुभएको विश्वास गर्दछन् । थेरवादहरुले विशेष रुपमा मान्ने त्रिपिटक अन्तर्गतको सुत्तपिटकको चौधौं ग्रन्थ बुद्धवंशमा यसबारे विस्तृत जानकारी पाइन्छ, जुन इस्वीको पहिलो वा दोश्रो शताब्दीमा संकलन गरिएको मानिन्छ । यसको अंग्रेजी अनुवाद सन् १८८२मा लण्डनमा भइसकेको देखिन्छ ।


ती बुद्धहरुको संक्षिप्त परिचय यसप्रकार छ । 

१. तण्हंकर बुद्ध ः उहाँको बारेमा कतै केही उल्लेख छैन ।

२. मेधंकर बुद्ध ः उहाँको बारेमा कतै केही उल्लेख छैन ।

३. शरणंकर बुद्ध ः उहाँको बारेमा कतै केही उल्लेख छैन ।

४. दीपंकर बुद्ध ः उहाँ बन्धुमती नगरमा सुदेव महाराजको कुलमा उहाँकी अग्र महारानी सुमेधाको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी पद्मादेवीसँग भयो । उहाँहरुको एक जना राजकुमार उसभखण्डको जन्म भयो । उहाँले गृहत्याग गरी दश महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु समंगल स्थविर तथा तिस्स स्थविर थिए भने अग्रश्राविकाहरु भिक्षुणी नन्दाथेरी र सुनन्दथेरी थिए । उहाँका मुख्य उपासकहरु तपुस्स र भल्लुक थिए भने मुख्य उपासिकाहरु सिरीमा तथा शोणा थिए । भिक्षु सागत स्थविर उहाँको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाको आयु एक लाख वर्ष थियो भनिन्छ ।


५. कौण्डण्य बुद्ध ः पाँचौं बुद्ध उहाँ रमावती देशमा सुनन्द महाराजको कुलमा उहाँकी अग्र महारानी सुजाताको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सुचिदेवीसँग भयो र उहाँहरुको एक जना राजकुमार विजितसेनको पनि जन्म भयो । उहाँले रथमा चढी गृहत्याग गरी दश महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । र पछि उहाँले वैशाख पूर्णिमाको दिन बुद्धत्व प्राप्त गर्नुभयो । उहाँले सर्वप्रथम आफुसँगै गृहत्याग गर्नेहरुलाई धर्मदेशना गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु भद्र स्थविर तथा सुभद्र स्थविर थिए भने अग्रश्राविकाहरु भिक्षुणी तिस्साथेरी र उपतिस्साथेरी थिए । उहाँका मुख्य उपासकहरु शोण र उपशोण थिए भने मुख्य उपासिकाहरु नन्दा र सिरीमा थिए । भिक्षु अनिरुद्ध स्थविर उहाको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८८ हात तथा उहाँको आयु एक लाख वर्ष थियो भनिन्छ ।


६. मङ्गल बुद्ध ः उहाँ उत्तर देशमा उत्तरा महाराजको कुलमा उहाँकी अग्रमहारानी उत्तरादेवीको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी यशवतीसँग भयो र उहाँहरुको एक जना राजकुमार शीवलको जन्म भयो । उहाँले गृहत्याग गरी आठ महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुदेव तथा धम्मसेना थिए भने अग्रश्राविकाहरु भिक्षुणी सिवलाथेरी र अशोकाथेरी थिए । उहाँका मुख्य उपासकहरु नन्द र विशाख थिए भने मुख्य उपासिकाहरु अनूला र सुत्तमा थिए । भिक्षु पालित स्थविर उहाँको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८८ हात तथा उहाको आयु एक ९० हजार वर्ष थियो भनिन्छ ।


७. सुमन बुद्ध ः उहाँ मेखला देशमा सुदत्त महाराजको कुलमा महारानी सिरिमाको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी वतंसिकासँग भयो । उहाँहरुको एक जना राजकुमार अनुपमको जन्म भयो । उहाँले मंगल हात्ती चढेर गृहत्याग गरी दश महिनासम्म दुष्कर चर्या ध्यान गरेर बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु शरण तथा सावितत्थ थिए भने अग्रश्राविकाहरु भिक्षुणी शोणाथेरी र उपशोणाथेरी थिए । उहाँका मुख्य उपासकहरु वरुण र शरण थिए भने मुख्य उपासिकाहरु चला र उपचाला थिए । भिक्षु सागत स्थविर उहाँको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ९० हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


८. रेवत बुद्ध ः आठौं बुद्ध रेवत बुद्ध सुधन्यवती देशमा विपुल महाराजको कुलमा महारानी विपुलाको कोखबाट जन्मनुभएको थियो । उमेर पुगेपछि उहाँको विवाह राजकुमारी सुदस्सनासँग भयो । उहाँहरुको एक जना राजकुमार वरुणको जन्म भयो । उहाँले घोडाले तान्ने रथ चढेर गृहत्याग गरी सात महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । त्यसपछि उहाँले साधुदेवीले दान दिएको क्षीर भोजन गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो । उहाँले वरुणाराम बगैंचामा ऋद्धि प्रातिहार्य देखाउनु भई धर्मचक्र प्रवर्तन गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु वरुण तथा ब्रम्हादेव थिए भने अग्रश्राविकाहरु भिक्षुणी भद्दाथेरी र सुभद्राथेरी थिए । भिक्षु सम्भव उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाँको आयु ६० हजार वर्ष थियो भनिन्छ ।


९. सोभित बुद्ध ः नवौं बुद्ध हुनुभएका उहाँ सुधम्मा देशमा सुधम्म महाराजको कुलमा महारानी सुधम्माको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी मखिलादेवीसँग भयो । उहाँहरुको एक जना राजकुमार सिंहकुमारको जन्म भयो । उहाँले दरवार भित्रै प्रवज्या लिई सात दिनसम्म दुष्कर चर्या ध्यान गर्नुभयो । पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुन्यत तथा असम थिए भने अग्रश्राविकाहरु भिक्षुणी नकुलाथेरी र सुजातथेरी थिए । उहाँका मुख्य उपासकहरु वरुण र शरण थिए भने मुख्य उपासिकाहरु चला र उपचाला थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ५८ हात तथा उहाको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१०. अनोमदस्सी बुद्ध ः दशौं बुद्ध हुनुभएका उहाँ अनोमदस्सी बुद्ध चन्दवती देशमा यसवा महाराजको कुलमा महारानी यसवती÷यशोधराको कोखबाट सुनन्द नामक बगैंचामा जन्मनुभएको थियो । उहाँको जन्म भएको बेलामा सप्तरत्नको वर्षा भएको थियो । उहाँको विवाह राजकुमारी सिरिमासँग भयो जसबाट एक जना राजकुमार उपसेना÷उपवानको जन्म भयो । उहाँले खटमा चढेर गृहत्याग गरी प्रवज्या लिई गरी १० महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । त्यसपछि पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु निसम र अनोम थिए भने अग्रश्राविकाहरु भिक्षुणी सुन्दरीथेरी र सुमनाथेरी थिए । उहाँका निजी सेवक भिक्षु वरुण थिए । उहाँको देहको लम्बाइ ५८ हात तथा उहाँको आयु एक लाख वर्ष थियो भनिन्छ ।


११. पदुम बुद्ध ः एघारौं बुद्ध हुनुभएका उहाँ पदुम बुद्ध चम्पक देशमा असम महाराजको कुलमा महारानी असमाको कोखबाट जन्मनुभएको थियो । 

उहाँका अग्रश्रावकहरु भिक्षु साल तथा उपसाल थिए भने अग्रश्राविकाहरु भिक्षुणी राधा र सुराधा थिए । उहाँका मुख्य उपासकहरु भियय र असम थिए भने मुख्य उपासिकाहरु सुचिदायी र नन्दारामा थिए । भिक्षु वरुण उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ५८ हात तथा उहाँको आयु १ लाख वर्ष थियो भनिन्छ ।


१२. नारद बुद्ध ः बाह्रौं बुद्ध हुनुभएका उहाँ धन्यवती देशमा सुदेव महाराजको कुलमा महारानी अनोमादेवीको कोखबाट जन्मनुभएको थियो । 

उहाँको विवाह राजकुमारी विजितसेना सँग भयो र उहाँहरुको एक जना राजकुमार नन्दुत्तरको जन्म भयो । उहाँले हिँडेर गृहत्याग गरी प्रवज्या लिनुभयो र दुष्कर चर्या ध्यान गर्नुभयो । त्यसपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु भद्दसाल तथा जितमित्त थिए भने अग्रश्राविकाहरु भिक्षुणी उत्तरा र भग्गुनी थिए । उहाँका मुख्य उपासकहरु उगरिन्द र वसभ थिए भने मुख्य उपासिकाहरु इन्दावरी र वसभ थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ८८ हात तथा उहाँको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१३. पद्मुत्तर बुद्ध ः तेह्रौं बुद्ध हुनुभएका उहाँ पदमुत्तर बुद्ध हंसवती देशमा आनन्द महाराजको कुलमा महारानी सुजातादेवीको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी वसुदत्ता सँग भयो । उहाँहरुको एक जना राजकुमार उत्तमको जन्म भयो । उहाँले दरवारमै बसेर अभिनिष्क्रमण गर्नुभयो । 


उहाँका अग्रश्रावकहरु भिक्षु देवल तथा सुजात थिए भने अग्रश्राविकाहरु भिक्षुणी अभिता र वसमा थिए । उहाँका मुख्य उपासकहरु विनित र तिस्स थिए भने मुख्य उपासिकाहरु हत्थदायी र विचिता थिए । भिक्षु सुमन स्थविर उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ५८ हात तथा उहाको आयु १ लाख वर्ष थियो भनिन्छ ।


१४. सुमेध बुद्ध ः चौधौं बुद्ध हुनुभएका उहाँ सुदस्सन देशमा सुदत्त महाराजको कुलमा महारानी सुदत्ताको कोखबाट जन्मनुभएको थियो । 

उहाँको विवाह राजकुमारी सुमना सँग भयो । उहाँहरुको एक जना राजकुमार पुनर्वसुको जन्म भयो । चार निमित्त देखेपछि उहाँले हात्ती चढेर अभिनिष्त्रमण गर्नुभयो र प्रवज्या लिई दुष्कर चर्या ध्यान गर्नुभयो । पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु शरण तथा सब्बकाम थिए भने अग्रश्राविकाहरु भिक्षुणी रामा र सुरामा थिए । उहाँका मुख्य उपासकहरु उरुबेल र यसवा थिए भने मुख्य उपासिकाहरु यशोधरा र सिरिमा थिए । भिक्षु सागल स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८८ हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१५. सुजात बुद्ध ः सुमंगल देशमा उगता महाराजको कुलमा महारानी प्रभावतीको कोखबाट जन्मनुभएको पन्ध्रौं बुद्ध सुजात बुद्ध हुनुहुन्थ्यो । 

समय आएपछि उहाँको विवाह राजकुमारी सिरिनन्दा सँग भयो । उहाँहरुको एक जना राजकुमार उपसेनको जन्म पनि भयो । उहाँले प्रवज्या लिई गरी दुष्कर चर्या ध्यान गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुदस्सन तथा सुदेव थिए भने अग्रश्राविकाहरु भिक्षुणी नागा र नागसमाला थिए । उहाँका मुख्य उपासकहरु सुदत्थ र चित्त थिए भने मुख्य उपासिकाहरु सुभद्रा र पदुमा थिए । उहाँका निजी सेवक भिक्षु नारद स्थविर थिए । उहाँको देहको लम्बाइ ५० हात तथा उहाको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१६. पियदस्सी बुद्ध ः सोह्रौं बुद्ध हुनुभएका पियदस्सी बुद्ध सुधन्य देशमा सुदत्थ महाराजको कुलमा महारानी चन्दादेवीको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह राजकुमारी विमलासँग भयो । उहाँहरुको एक जना राजकुमार कन्चनवेलको जन्म भयो । उहाँले रथमा बसी अभिनिष्क्रमण गर्नुभयो । उहाँले प्रवज्या लिई गरी ६ महिनासम्म ध्यान अभ्यास गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु पालित तथा सब्बदसी थिए भने अग्रश्राविकाहरु भिक्षुणी सुजात र धम्मदिन्ना थिए । उहाँका मुख्य उपासकहरु सन्धक र धम्मक थिए भने मुख्य उपासिकाहरु विशाखा र धम्मदीना थिए । भिक्षु सोभित स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१७. अत्थदस्सी बुद्ध ः सत्रौं बुद्ध हुनुभएका उहाँ अत्थदसी बुद्ध सोभन देशमा सागल महाराजको कुलमा महारानी सुदस्सनाको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह राजकुमारी विशाखासँग भयो । उहाँहरुको एक जना राजकुमार सेन थियो । उहाँले घोडा चढेर अभिनिष्क्रमण गरी आठ महिनासम्म ध्यान गरी बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सन्त तथा उपसन्त थिए भने अग्रश्राविकाहरु भिक्षुणी धम्मा र सुधम्मा थिए । उहाँका मुख्य उपासकहरु नकुल र निसम्म थिए भने मुख्य उपासिकाहरु मनिला र सुनन्दा थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाँको आयु एक लाख वर्ष थियो भन्ने गरिन्छ ।


१८. धम्मदस्सी बुद्ध ः अठारौं बुद्ध हुनुभएका उहाँ धम्मदस्सी बुद्धशरण देशमा शरण महाराजको कुलमा महारानी सुनन्दाको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी विचिकोली सँग भयो । उहाँहरुको एक जना राजकुमार पुण्यवधनको जन्म भयो । उहाँले दरवारमै प्रवज्या लिई एक हप्तासम्म ध्यान गर्नुभयो र पछि बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु पदुम तथा फुस्सदेव थिए भने अग्रश्राविकाहरु भिक्षुणी खेमा र सच्चनामा थिए । उहाँका मुख्य उपासकहरु सुभद्द र कत्तिसह थिए भने मुख्य उपासिकाहरु सालिया र कलिया थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाको आयु १ लाख वर्ष थियो भनिन्छ ।


१९. सिद्धत्थ बुद्ध ः उन्नाइसौं बुद्ध हुनुभएका सिद्धत्थ बुद्ध बेभार नगरमा उदेन महाराजको कुलमा महारानी सुफस देवीको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सोमनसा सँग भयो । उहाँहरुको एक जना राजकुमार अनुपमको जन्म भयो । उहाँले पालकीमा बसेर अभिनिष्क्रमण गरेर प्रवज्या लिई गरी दश महिनासम्म ध्यान गर्नुभयो । त्यसपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सम्बल तथा सुमित्त थिए भने अग्रश्राविकाहरु भिक्षुणी सिवल र सुरामा थिए । उहाँका मुख्य उपासकहरु सुपिय र समुद थिए भने मुख्य उपासिकाहरु रम्मा र सुरम्मा थिए । भिक्षु रेवत उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ५८ हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


२०. तिस्स बुद्ध ः बिसौं बुद्ध हुनुभएका उहाँ तिस्स बुद्ध खेमक नगरमा जनसन्ध महाराजको कुलमा महारानी पदुमाको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सुभद्दा सँग भयो । उहाँहरुको एक जना राजकुमार आनन्दको जन्म भयो । उहाँले घोडा चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले आठ महिनासम्म ध्यान गर्नुभयो । पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु ब्रम्हादेव तथा उदया थिए भने अग्रश्राविकाहरु भिक्षुणी फुस्सा र सदत्था थिए । उहाँका मुख्य उपासकहरु सम्बल र सिरिम थिए भने मुख्य उपासिकाहरु कृपागौतमी र उपसेना थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ६० हात तथा उहाको आयु एकलाख वर्ष थियो भनिन्छ ।


२१. फुस्स बुद्ध ः एक्काइसौं बुद्ध हुनुभएका उहाँ फुस्स बुद्ध काशी नगरमा जयसेन महाराजको कुलमा महारानी सिरिमाको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी किसागौतमी सँग भयो । उहाँहरुको एक जना राजकुमार अनुपमको जन्म भयो । उहाँले हात्ती चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले छ महिनासम्म ध्यान गर्नुभयो । पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुरक्षित र धम्मसेन थिए भने अग्रश्राविकाहरु भिक्षुणी चाला र उपचाला थिए । उहाँका मुख्य उपासकहरु धनन्जय र विशाखा थिए भने मुख्य उपासिकाहरु पदुमा र नागा थिए । भिक्षु सविय उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ५८ हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


२२. विपस्सी बुद्ध ः बाइसौं बुद्ध हुनुभएका उहाँ विपस्सी बुद्ध बन्धुमती नगरमा बन्धुमा महाराजको कुलमा महारानी बन्धुमतीको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सुदस्सना सँग भयो । उहाँहरुबाट एक जना राजकुमार समवत्तक्खन्दको जन्म भयो । उहाँले रथमा बसेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले आठ महिनासम्म ध्यान गर्नुभयो । र पछि उहाँले सम्बोधि ज्ञान लाभ गर्नुभयो । उहाँ काठमाडौ उपत्यकामा आएर कलको बीजारोपण गरेर जानुभयो भन्ने उक्ति छ ।


उहाँका अग्रश्रावकहरु भिक्षु खण्ड तथा तिस्स थिए भने अग्रश्राविकाहरु भिक्षुणी चन्दा अनि चन्दमित्ता थिए । उहाँका मुख्य उपासकहरु पुन्नवसुमित्त र नाग थिए भने मुख्य उपासिकाहरु सिरिमा र उत्तरा थिए । भिक्षु अशोक उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाँको आयु ८० हजार वर्ष थियो भनिन्छ ।


२३. सिखी बुद्ध ः  तेइसौं बुद्ध हुनुभएका उहाँ सिखी बुद्ध वरुणवती नगरमा वरुणवत महाराजको कुलमा महारानी प्रभावतीको कोखबाट जन्मनुभएको थियो । यौवन समय आएपछि उहाँको विवाह सर्वकामासँग भयो । उहाँहरुको एक जना राजकुमार अतुलको जन्म भयो । उहाँले हात्ती चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले आठ महिनासम्म ध्यान गर्नुभयो र पछि बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु अभिभू र संभव थिए भने अग्रश्राविकाहरु भिक्षुणी सखिला र पदुमा थिए । उहाँका मुख्य उपासकहरु सिखिढ र चन्द थिए भने मुख्य उपासिकाहरु चित्ता र सुगत्ता थिए । भिक्षु खेमंकर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ७० हात तथा उहाको आयु ७० हजार वर्ष थियो भनिन्छ ।


२४. बेस्सभू बुद्ध ः चौबिसौं बुद्ध हुनुभएका उहाँ बेस्सभू बुद्ध अनोमा नगरमा सुपतित महाराजको कुलमा महारानी यशवतीको कोखबाट जन्मनुभएको थियो । उहाँको रानीको नाम सुचिता थियो । उहाँहरुको एक जना राजकुमार सुप्रबुद्धको जन्म भयो । उहाँले पालकीमा बसेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ६ महिनासम्म ध्यान अभ्यास गर्नुभयो । र पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सोण र उत्तर थिए भने अग्रश्राविकाहरु भिक्षुणी रामा र समला थिए । उहाँका मुख्य उपासकहरु सोत्थिक र रम्भ थिए भने मुख्य उपासिकाहरु गोतमी र सिसिमा थिए । भिक्षु उपसन्त उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ६० हात तथा उहाको आयु ६० हजार वर्ष थियो भनिन्छ ।


२५. ककुसन्ध बुद्ध ः पचिस्सौं बुद्ध हुनुभएका उहाँ ककुसन्ध वा क्रकुच्छन्द बुद्ध खेमावती नगरमा अगिदत्थ ब्राम्हणको कुलमा विशाखा ब्राम्हणीको कोखबाट जन्मनुभएको थियो । युवावस्था आएपछि उहाँको विवाह रोचिनी सँग भयो । सहितउत्तर उहाँहरुको पुत्रको नाम थियो । उहाँले रथ चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ध्यान गर्नुभयो । र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु विदुर र सजिव थिए भने अग्रश्राविकाहरु भिक्षुणी सामा र चम्पका थिए । उहाँका मुख्य उपासकहरु अच्युत र सुमन थिए भने मुख्य उपासिकाहरु सुनन्दा र नन्दा थिए । भिक्षु बुद्धिज उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ४० हात तथा उहाको आयु ४० हजार वर्ष थियो भनिन्छ ।


२६. कोणागमन बुद्ध ः छबिस्सौं बुद्ध हुनुभएका उहाँ कोणागमन वा कनकमुनि बुद्ध भोगवती नगरमा धन्यदत्त ब्राम्हणको कुलमा उत्तरा ब्राम्हणीको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह रुचिगता सँग भयो । उहाँहरुको एक जना पुत्र सार्थबाहको जन्म भयो । उहाँले हात्ती चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ६ महिनासम्म ध्यान गर्नुभयो र पछि बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु भियस र उत्तर थिए भने अग्रश्राविकाहरु भिक्षुणी समुदा र उत्तरा थिए । उहाँका मुख्य उपासकहरु सोमदेव र उग्ग थिए भने मुख्य उपासिकाहरु सिवल र सामा थिए । भिक्षु सोत्थिज उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ३० हात तथा आयु ३० हजार वर्ष थियो भनिन्छ ।


२७. कस्सप बुद्ध ः सत्ताइसौं बुद्ध हुनुभएका उहाँ वाराणसी नगरमा ब्रम्हदत्त ब्राम्हणको कुलमा धनवती ब्राम्हणीको कोखबाट जन्मनुभएको थियो । 

समय आएपछि उहाँको विवाह सुनन्दा सँग भयो । उहाँहरुको एक जना पुत्र विजितसेनको जन्म भयो । उहाँले दरवारमै बसेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले एकहप्तासम्म ध्यान गर्नुभयो र पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु तिस्स तथा भारद्वाज थिए भने अग्रश्राविकाहरु भिक्षुणी अनुला तथा उरुबेला थिए । उहाँका मुख्य उपासकहरु सुमंगल र घटिकार थिए भने मुख्य उपासिकाहरु विजिसेना र भद्रा थिए । भिक्षु सब्बमित्त उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ २० हात तथा उहाको आयु २० हजार वर्ष थियो भनिन्छ ।



२८. गौतम बुद्ध ः अठाइसौं बुद्ध हुनुभएका उहाँ गौतम बुद्ध लुम्बिनी नेपालमा सुद्धोदन राजाको कुलमा महारानी मायादेवीको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह राजकुमारी यशोधरा सँग भयो । उहाँहरुको एक जना राजकुमार राहुलको जन्म भयो । उहाँले घोडा चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ६ वर्षसम्म ध्यान गर्नुभयो । र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुुभयो ।

उहाँका अग्रश्रावकहरु भिक्षु सारिपुत्र र मौदगल्यान थिए भने अग्रश्राविकाहरु भिक्षुणी खेमा र उप्पलवण्णा थिए । भिक्षु आनन्द उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ १८ हात तथा उहाको आयु असी वर्ष थियो भनिन्छ ।


सरसरी हेर्दा उहाँहरुको जीवनी अथवा जीवनीमा पाइने तथ्यहरुको अचम्मको एकरुपता पाइन्छ । राजकुलमा जन्म, यौवनमा विवाह, चार निमित्त, तीनवटा निवास, एक राजकुमार, अभिनिष्क्रमण, प्रवज्या, दुष्करचर्या, तपस्या, बोधिवृक्षमुनि बुद्धत्वप्राप्ति, अग्रश्रावकहरु, अग्रश्राविकाहरु, निजी सेवक इत्यादि । ऐतिहासिक प्रमाण नभेटिएसम्म यी बुद्धहरुको जानकारी अबौद्धहरुका लागि कथा काहानी जस्तो मात्र लाग्नु स्वभाविक हो । 



म्यानमार जस्ता बौद्धदेशहरुमा २८ बुद्धको प्रतीमा भएको तथा एक विशेष दिन दीपावली गरी त्यसको जात्रा गरिने भन्ने सुन्न पाएका छौं । भगवान बुद्ध जन्मेको देश भनेर विश्वका सारा बौद्धहरुको ध्यान नेपालमा केन्द्रित छ । तर दुखको कुरा, नेपालमै यी अतितका बुद्धहरुको बारेमा खासै जानकारी छैन र जानकारी लिने स्थानको पनि अभाव छ । बुद्धवंशका सानासाना एक दुइ पुस्तिकाहरु मात्र प्रकाशित छन् । यही सन्दर्भमा लुम्बिनीमा हाल बन्दै गरेको बुद्धवंशावली उद्यानमा उहाँ २८ बुद्धहरुको संक्षिप्त परिचय सहित प्रतिमाहरु राखिने जानकारी आएको छ । 


यसबाहेक महायान बुद्धधर्म अवलम्बन गर्नेहरुले ३५ जना बुद्धहरुको उपासना गर्ने गरिन्छ, जुन संस्कृत मूलको त्रीस्कन्धधर्मसुत्रको आधारमा गरिने गरिन्छ भनिएको छ । त्यतिमात्र हैन ललितविस्तका अनुसार पनि पदमोत्तर देखि कश्यप बुद्धसम्मको ५५जना बुद्धहरुको सूचि तयार गर्न सकिने पनि यहाँ उल्लेखनीय छ ।


सामान्य ढंगले हेर्दा यस अतित बुद्धहरुको प्रसंगले हामी बौद्धहरुलाई बुद्ध भन्नु कुनै व्यक्तिको नाम नभइ निश्चित तहको ज्ञान प्राप्त भएको व्यक्तिको पदवी हो भनेर बुझाउँछ । बुद्धदर्शन अनुसार संसारका सबैकुराहरु अनित्य वा नाशवान भए जस्तै बुद्ध तथा बुद्ध धर्म समेत पनि सँधै रहिरहने कुरा होइन, धर्म क्षय हुँदै समाज अधार्मिक हुनुलाई नियमितताको रुपमा स्वीकार गर्नुपर्छ भन्ने ज्ञान दिन्छ । त्यस्तै यसले भगवान बुद्ध र उहाँको धर्म नाश नै भएर गएपनि पछि फेरी कुनै उपायबाट संसारमा बुद्धधर्मको उद्भव हुन्छ अनि संसारका मानिसहरुले पुनः लाभ लिन सक्नेछन् भन्ने सन्देश पनि प्रतीकात्मक ढंगबाट दिएको प्रतीत हुन्छ ।

आनन्दभूमि सकिमना पुन्हि ११४२ । Anandabhumi Novemmber 2021


Wednesday, August 25, 2021

अफगानस्तानमा बुद्धधर्म : बौद्ध केन्द्रदेखि तालिबानको निशानासम्म



 राजेन मानन्धर

पृष्ठभूमि :
अफगानस्तान भन्ने देश एशियाको दक्षिण पश्चिममा पाकिस्तान र इरानको बिचमा पर्दछ । ६५२,००० र्ग किलोमिटर क्षेत्र भएको यो देश नेपाल सदस्य भएको दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र हो । मध्यपाषणयुगदेखि मानव सभ्यताको विकास भएको भनिएको यस देशलाई रेशममार्गले मध्यपूर्व र एशियामा अन्य देशहरुसँग जोडिएको । आजभन्दा ५० हजार वर्ष अगाडि नै बसोबास भएको अनि यहाँका कृषकअरु संसारकै प्राचिन कृषि सभ्यताका निर्माता पनि भनिन्छ । यहाँको सभ्यतालाई मिश्रको सभ्यताजतिकै पुरानो भनेर पनि भनिन्छ । महान् एलेक्जेन्दरदेखि लिएर मंगोल, ब्रिटिश, सोभियत, मुस्लिम र अहिले पश्चिमी शक्ति हुँदै विभिन्न समयमा विभिन्न राज्य वा साम्राज्य शक्तिको हातमा पर्न गएको यो देश निकै लामो समयदेखि शान्तिपूर्वक बाँच्न पाएनको देखिँदैन ।

सन् १९९४ देखि तालिबान भनिने कट्टरपन्थी मुसलमानहरुले हिंसात्मक आन्दोलन गरेर विभिन्न धार्मिक कानून लादेर मानव स्वतन्त्रता अपहरण गर्यो भन्ने सुनिन्थ्यो भने प्रजातान्त्रिक वातावरणमा चुनिएका राष्ट्रपतिलाई अमेरिकी साम्राज्यका पुतला पनि भन्ने गरिन्छ । हालै तालिबानले सबै देश कब्जा गरेपछि एकातिर अफगानस्तान विदेशीहरुको चंगुलबाट मुक्त भए भनेर खुशियाली मनाएको देखिन्छ भने अब यहाँ बस्न सकिँदैन भनेर लाखौं जनता देश छोडेर भागेको पनि देखिन्छ । यसै कारण पनि प्राकृतिक श्रोतले सम्पन्न भएर पनि सयौं वर्षदेखि गरिवीको चपेटामा परेको यो देश अहिले विश्वमा चर्चाको विषय बनेको छ ।

अस्तिसम्म यो देशलाई इस्लामिक गणतन्त्र अफगानस्तान भनिन्थ्यो जहाँ असफर घानी राष्ट्रपति भएर सत्ता चलाइरहेको थियो । अहिले याहाँ ३ करोड १८ लाख जनसंख्या छ । यो एक बहुजातीय देश हो । यहाँ पाश्तुन, ताजिक, हाजरा, उज्बेक आदि जातिका मानिसहरुको बसोबास छ र उनीहरुले दारि, पाश्तो, उज्वेक, तुर्कमान व अन्य अरबिक भाषाहरु बोल्छन् । यहाँका ९९ प्रतिशत जनताले मुस्लिम धर्म अपनाइरहेका छन् । अहिले जस्तो अवस्थामा भएपनि कुनै बेला अफगानस्तान बुद्धधर्ममा आस्था हुनेहरुको देश थियो र त्यहाँको बुद्धधर्मको इतिहास हजारौं वर्ष पुरानो छ । यस लेखमा विशेष गरी यहाँको बुद्धधर्मको इतिहास र सभ्यताको संक्षिप्त चर्चा गरिन्छ ।

बुद्धधर्मको प्रवेश :
अफगानस्तानको बुद्धधर्म भगवान बुद्ध जतिकै पुरानो छ । उहाँको जीवनकालमै यहाँ बुद्धधर्मले प्रवेश पाएको विश्वास गरिन्छ । बौद्ध धर्मग्रन्थहरुका अनुसार तपुस्स व भल्लुक (त्रपुस्स व भल्लिक) नामक दुई ब्यापारीहरु ५ सय गाडा लिएर मध्यदेसको उक्क्ल नामक प्रदेशमा जान लाग्दा भरखरै बोधिज्ञान लाभ गर्नुभएका बुद्धयात सबैभन्दा पहिला सात्तु र मह दान दिएर उनीहरु बुद्धधर्मका प्रथम उपासक भए । उनीहरुले बुद्धसँग मागेर ल्याएको केशधातु (आठवटा केश)गर्भमा राखेर आफ्नै देशमा बाल्ख भन्ने शहरमा चैत्य बनाए भनेर पनि लेखिएको पाइन्छ । उनीहरुलाई ब्याक्ट्रिया वा अहिलेको अफगानस्तानका बासिन्दा भनेर विश्वास गरिन्छ । त्यसमध्ये भल्लिक पछि भिक्षु भएर वर्तमान मजार–इ–शरिफ भन्ने ठाउँको नजिक विहार बनाएर बसे भनिन्छ । यस मानेमा अफगानस्तान बुद्धको पहिलो उपासक र पहिलो चैत्य भएको पवित्र स्थान भयो । साथै मानिसहरु बुद्धको शिरको अस्थिधातु यहाँ ल्याएर नगरमा विहार बनाएको भन्ने पनि विश्वास गर्छन् (हुन त यसकै कथालाई आधार मानेर कसैले उनीहरु श्रीलंका वा म्यानमार फर्केको भन्ने पनि गरिन्छ) ।

बुद्धको निर्वाण पश्चात् बौद्ध भिक्षुहरुमा मतभेद आएर बुद्धधर्म नै कति कति निकायमा विभाजित भयो । दोश्रो संघायना पछाडि ३४९ इपूतिर थेरवादबाट महासांघिक निकाय छुट्टिएर गयो । त्यसबेला धेरै महासांघिक भिक्षुहरु अहिलेको अफगानस्तानस्थित कन्दहारमा गए भनिन्छ । पछि महासांघिक पनि पाँच टुक्रामा विभाजित भयो, जसको मुख्य शाखा अफगानस्तानमा लोकोत्तरवादको नामले विकास भयो । त्यसैले महासांघिक लोकोत्तरवादको उद्भव यही अफगान क्षेत्रमा भएको विश्वास इतिहासकारहरुले गरेका छन् । यसप्रकार लोकोत्तरवादीहरुले त्यही बामियान उपत्यकामा आफुलाई स्थापित गरे जहाँका प्राचिन बुद्ध मूर्तिहरुलाई तालिबानहरुले बल पूर्वक ध्वस्त पारेका थिए ।

त्यस्तै तेश्रो संघायना पछि मौर्य सम्राट अशोक (३०४ इपू — २३२ इपू) ले विभिन्न देशमा नौ जना धर्मदूतहरु पठाएको मध्ये काश्मिर र गन्धार क्षेत्रमा मज्झन्तकलाई पठाएको भन्ने लेखिएको छ । अफगानस्तानको यस दक्षिणपूर्वी शहर कन्दहारमा अशोक अभिलेख समेत भेट्टिएको छ । पहिले नैे बुद्धधर्म फैलिसकेको यस क्षेत्रमा सम्राट अशोकका धर्मदूतहरुले पनि त्यहाँ बुद्धधर्मको विकास गराउन योगदान गरे होला अनि आपसमा मतभेद भएर छरिएर रहेको बुद्धधर्मलाई फेरि संगठित गर्न र बुद्धदर्शनको अध्ययन पुनः राम्रोसँग गर्ने वातावरण बनाइदियो होला भनेर अनुमान गर्न सकिन्छ ।

जे होस्, अफगानस्तानमा ईशापूर्व ३०५ देखि नै बुद्धधर्म विस्तार हुँदै गएको देखिन्छ । यसबेला ग्रीसको सेल्युसिड साम्राज्यले भारतवर्षमा मौर्य साम्राज्यसँग सहकार्य वा गठबन्धन बनाई सम्पूर्ण मध्यपूर्वमा आफ्नो अधिपत्य कायम गरेको थियो । त्यसै कारण ग्रेको बाक्ट्रियन अधिराज्यमा २५० इपू देखि १२५ इपू सम्म भनेजस्तै बुद्धधर्म फैलिँदै गयो । पछि फेरि यही इन्डो–ग्रीक अधिराज्यको नामबाट १८० इपू देखि १० इस्वीभित्र यो पाकिस्तान र अफगानस्तानमा फैलिन गएपछि यसको साथसाथै बुद्धधर्मलाई पनि विस्तार हुने अवसर प्राप्त भयो । यस क्षेत्रमा विकास भएको बुद्धधर्मलाई समग्रमा ग्रेको बुद्धिज्म भनिन्छ, जुन हेलेनिस्टिक वा पछिल्लो ग्रिक सभ्यता र भारतवर्षमा विकसित बुद्धधर्मको संमिश्रण हो । यसरी यहाँ बुद्धधर्म इशापूर्वको ४औं शताब्दी देखि ईस्वीको ५औं शताब्दीसम्म राम्रैसँग विकास हुन पायो । यो भनेको सम्राट एलेक्जेन्डरको समयदेखि इन्डोग्रीक अधिराज्यको स्थापना भएको र पछि कुशान साम्राज्यको निर्माण भएको समयसम्मको अवधि हो ।

बुद्धधर्मको विस्तार :
अफगानस्तान विभिन्न समयमा विभिन्न राजनीतिक शक्तिको सम्पत्ति जस्तै भएकोले अनि समय–समयमा यस्तै किसिमबाट अफगानस्तानको राजनीतिक सिमाना परिवर्तन भइरहने, राज्यसत्ताको कारणले यहाँको सामाजिक र धार्मिक नीतिमा परिवर्तन आइरहने भएकोले नै यहाँ समय अनुसार बुद्धधर्म विस्तार भएको देखिन्छ । विशेष गरी यहाँ अलेक्जेन्डरले विजय प्राप्त गरिसकेपछि यसलाई अन्य बौद्ध केन्द्रहरुसँग जोडेपछि यसको त्यस किसिमको धार्मिक प्रभाव बढ्दै गयो । पछि त यहाँका पश्तुनहरु र सिथियनहरुले समेत बुद्धधर्म अवलम्बन गरे । यही कारणले त अफगानस्तानमा बुद्धधर्मको प्रचार भएको मात्र हैन कि यहाँ मुस्लिमहरुले आक्रमण गर्न अगाडिसम्म यो देश नै मध्यपूर्वको एक अद्वितीय बौद्ध केन्द्रको रुपमा विकास भएको थियो । यहाँका बौद्ध विद्वानहरुले नै चीन, रसिया लगायतया विभिन्न देशहरुमा बुद्धधर्मको प्रचार गरे अनि बौद्ध दर्शनको व्याख्यालाई नयाँ उचाइ दियो भनेर समेत इतिहासकारहरुले भन्छन् । कसैकसैले त बौद्ध विद्वान बोधिधर्म, जसले चीनमा गएर ध्यान वा जेन बुद्धधर्मसँगै कुङफु प्रशिक्षण दिए, अनि त्यस्तै लोकक्सेमा, जसले चीनमा गएर महायान बौद्धग्रन्थहरुलाई चीनियाँ भाषामा अनुवाद गरे, अनि महाधर्मरक्षित, जसले अहिलेको काबुल क्षेत्रबाट ३० हजार भिक्षुहरुलाई श्रीलंकाको अनुराधापुरस्थित स्तुप दर्शन गराउन तीर्थाटनमा लगे, उनीहरु सबै अफगानस्तानसँगै सम्बन्धित थिए भन्ने गरिन्छ ।


बौद्ध स्मारकहरु :
संक्षिप्तमा भन्ने हो भने अफगानस्तान भनिने स्थानमा विभिन्न समयमा क्रमशः अलेक्जेन्डर, सेल्यूसिड, ग्रेको बाक्ट्रियन, मौर्य, इन्डो–सिथियन, इन्डोपार्थियन, कुशान, ससानिड, कडाराइट, हिन्दुशाही, पालवंशीहरुले पालैसँग शासन गरे । उनीहरुले शासन मात्र गरेका थिएनन्, अझ त्यहाँ बुद्धधर्म प्रचार समेत गरेर र जनतालाई पनि बुद्धशिक्षाको प्रचार गर्न मार्गप्रशस्त गरिदिए तथा जनतालाइ बुद्धको मार्गमा लाग्न प्रोत्साहन पनि दिए । त्यसबेला त्यहाँ गान्धारा (वर्तमान अफगानस्तान र पाकिस्तानको बिचमा रहेको इलाका ) र ब्याक्ट्रिया भन्ने दुइटा ठुला बौद्ध प्रदेशहरु थिए । त्यहँका तक्षशिला व बामियान त्यसबेलाका निकै प्रशिद्ध बौद्ध केन्द्रहरु थिए । त्यस्तै ग्रेको ब्याक्ट्रियन राजा मिनान्दर (१६५ इपू — १३५ इपू), जसले बौद्धहरुले अति आदर गर्ने मिलिन्द प्रश्न नामक बौद्धग्रन्थ रचनाको आधार बनाए, उनी पनि यसै क्षेत्रका थिए ।

समयचक्रमा सबै कुराहरु बदलिए । अहिले त्यहाँ कोही बौद्धहरु छैनन् । तर त्यहाँ अहिले पनि यत्रतत्र प्रशस्तै बौद्ध स्मारकहरु पाइन्छन् ।उनीहरुलाई बुद्धको थिए र त्यहाँ किन बुद्धका त्यतिधेरै मूर्तिहरु बने भन्ने समेत हेक्का छैन होला ।

अफगानस्तानको बुद्धधर्म भन्ने बितिक्कै त्यहाँको रेशममार्गमाा अवस्थित बामियानका विशाल बुद्धमूर्तिहरुको सम्झना हुन्छ । पर्सियन भाषामा “बोथा–ए–बामियान” भनिने यी मूर्तिहरु त्यहाँका भित्ता जस्तै ठाडो पहाडमा त्यहाँका बौद्धहरुले चट्टानका भित्तामा कोप्दै कोप्दै बनाएका थिए । मुख्य गरी त्यहाँ दुइवटा त्यस्ता ठुल्ठुला बुद्धमूर्ति छन्, समयले धेरै क्षय गरेको भएपनि त्यहाँ बाँकी रहेका अंशको मुद्राका आधारमा तिनीहरु वैरोचन व शाक्यमुनि बुद्धका मूर्ति थिए भन्न सकिन्छ । त्यस मध्ये सानो (३८ मीटर वा १२५ फीट अग्लो पूर्वी बुद्ध, जसलाई स्थानीय भाषामा शाहमामा भनिन्छ) सन् ५४४ देखि ५९५ भित्र बनाइएको थियो । त्यस्तै ठुलो बुद्ध (५५मीटर वा १८० फीट अग्लो पश्चिमी बुद्ध, जसलाई स्थानीय भाषामा सोलसोल भनिन्छ) सन् ५९१ देखि ६६४भित्र बनाइएको थियो । यी मूर्तिहरु कुशान कलाकारहरुले त्यहाँका बौद्धभिक्षुहरुको निर्देशनमा बनाइएको भनिन्छ । यसको समयावधि हेर्दा यी मूर्तिहरु कलाकारहरुको तीन पुस्ताले बनाएको हुनुपर्छ अर्थात् शुरु गर्ने कलाकारले अन्त भएको देख्न पाएन, अनि अन्तिम रुप दिने कलाकारले शुरुको कलाकारलाई भेटेन ।


अफगानस्तान लगायतका मध्यपूर्व क्षेत्रको बुद्धधर्मले विश्वलाई दिएको एउटा उपहार भनेको गन्धार कला हो, जसको अर्को नाम ग्रेको बौद्ध कला हो । अफगानस्तान–पाकिस्तानको गन्धार क्षेत्रबाट विकसित र विस्तार भएको बुद्धधर्म — त्योे भनेको मध्य एशिया, अफगानस्तान, पाकिस्तान, भारत र चीन क्षेत्रमा — आफ्नै किसिमको एक विशेष कलाको लहरको विकास भयो जुन ग्रीक कला र पूर्वीय धर्मको संयोग भनिन्छ । ग्रेको–ब्याक्ट्रियन अधिराज्य, जहाँ अहिले अफगानस्तान छ, त्यहाँ नै यो कलाको विकास किन भयो होला भने यो भनेकोे पश्चिमी कला र पूर्वी दर्शनको मिलन विन्दु थियो ।
यस स्थानमा चीनिया यात्री हुएनसाङ सन् ६३०मा यात्रा गर्दै आएको देखिन्छ । उनले आफ्नो यात्रा विवरणमा यहाँको वर्णन गर्दा यहाँ दशवटा भन्दा धेरै ठुला विहारहरु र हजार जना भन्दा बढी त भिक्षुहरु मात्र भएको एक ठुलो बौद्ध समाज देखेको कुरा उल्लेख गेरका थिए । त्यस्तै ती विशाल बुद्धमूर्तिहरुलाई सुन र हिरा जवाहरातले सजाएर राखेको थियो भनेर पनि भनेका छन् । त्यसबेला उनी त्यहाँको एक लोकोत्तरवाद विहारमा पनि भ्रमण गरेका थिए । यसबाट त्यहाँ त्यसबेला बुद्धधर्ममा श्रद्धा भएका जनता निकै धेरै थिए भन्ने स्पष्ट हुन्छ ।

यसबाहेक, जापानी अन्वेषकहरुले त बामियानका गुफाहरुमा प्राप्त सन् ६५०इस्वी तिरका भित्ते चित्रहरुलाई संसारकै सबैभन्दा पुरानो तेलचित्र भनी दाबी गरेका छन् । उनीहरुले त्यहाँ हजारौं बुद्धका चित्रहरु पत्ता लगाएका थिए ।


अफगानस्तानको पूर्वी शहर गजनीमा अवस्थित तेपे सरदार विहार यहाँको एक महत्वपूर्ण पुरातात्विक स्थल हो । यहाँ एउटा डाँडाको टुप्पामा एउटा ठुलो स्तुप छ जसको चारैतिर ससाना स्तुपहरुले घेरिएको छ । त्यस्तै त्यहाँ एउटा १८ मीटर लामो बुद्ध परिनिर्वाण मूर्ति पनि उत्खनन् गरेर पत्ता लगाइएको छ । त्यस्तै गजनीमै अर्को होमाइ काला भन्ने स्थानमा पनि बौद्ध विहारहरु छन् । बासावाल भन्ने स्थानमा त झन् १५० वटा जति त बौद्ध गुफाहरु नै छन् ।
पुरातात्विक अन्वेषणले त्यहाँ त्यसबेला केही महायानी सुत्रहरु कोरिएका ताडपत्र अभिलेखहरु भेट्टाएका थिए । त्यसमा कुनै अभिलेखहरु गान्धारी भाषा र खरोष्ठी लिपिमा लेखिएका छन् भने कुन संस्कृत भाषा र गुप्त लिपिबाट लेखिएका छन् । त्यहाँ उनीहरुले महासंघिक लोकोत्तरवादको प्रतिमोक्ष विभंग, आगम (सुत्तपिटक)को महापरिनिर्वाण सुत्र, वज्रछेदिका प्रज्ञापारमिता सुत्र, भैषज्यगुरु सुत्र, श्रीमलदेवी सिंहनाद सुत्र र सारिपुत्र अभिधर्म सुत्र इत्यादि ग्रन्थहरु पत्ता लगाएका थिए । त्यहाँ अब अझ भेटिन सक्ने, नष्ट भइसकेको त्यस्ता अमूल्य ग्रन्थहरु होलान् त्यसका अनुमान पनि गर्न सजिलो छैन ।

दुःखका साथ भन्ने पर्छ कि जस्तोसुकै गौरवमय इतिहास र पुरातत्वको भण्डार रहेतापनि वर्षैभरी विश्वका ठुलठुला इतिहासकार तथा पुरातत्वविद्हरुको यहाँ अनुसन्धान चलिरहेपनि यहाँका जनतालाई भने यसको कुनै चासो छैन । विश्वकै उत्कृष्ट बौद्धकलाका नमुनाहरु यहाँ पाइन्छन्, जमिनमुनि लुकिरहेको अवस्थामा होलान् तर यसको संरक्षण र जिर्णेद्धार गर्ने समेत पनि यहाँको सरकारले वा जनताले गरेको देख्न मुश्किल छ । यहाँका संग्रहालयमा केही त्यस्ता उल्लेखनीय मूर्तिहरु राखिएको त देखिन्छ तर ती मूर्तिहरु कहिले कुन कट्टरपन्थीको क्षोभको शिकार हुने हो त्यो भन्न सकिने अवस्था छैन ।

तत्कालिन बौद्ध समाज :
कुनै समयमा अफगानस्तानको समाज भन्नु नै बौद्धसमाज थियो । बुद्ध धर्मको त्यहाँ व्यापक प्रचारप्रसार भयो, समाजले बुद्ध धर्म र संघलाई नै जीवनको लक्ष्यको रुपमा स्वीकार गर्यो । भगवान बुद्धको शिक्षालाई उनीहरुले जीवन मान्यो र त्यस बाहेकको शिक्षा उनीहरुले देखेन पनि होला । हुन त त्यसबेलाका अफगानस्तानको बौद्धसमाज कस्तो थियो, कति धर्ममा आधारित थियो, केले बौद्ध समाजलाई शासन गथ्र्यो वा निर्देशन दिन्थ्यो अनि राज्यले त्यहाँको बौद्ध समाजलाई कस्तो सहयोग वा अभिभावकत्व प्रदान गर्यो भनेर देखाउने अभिलेख प्राप्त गरेको देखिँदैन । तर पनि हजारौं वर्षसम्म त्यहाँको एकमात्र धर्म र जीवनशैली भइरहेको बुद्धधर्मले नै उनीहरुको समाजलाई सहि मार्गमा लग्यो होला, उनीहरुले भगवान बुद्धले देखाउनुभएको मार्गलाई नै पछ्यायो भनेर अनुमान गर्न सकिन्छ । अन्य प्रतिद्वन्द्वी धर्मको उपस्थिति नभएको अवस्थामा उनीहरुलाई राज्यले राम्रोसँग प्रोत्साहन र संरक्षकत्व दियो होला । अझ राजा वा शासकहरु नैे बौद्ध हुने भएकोले जनतालाई आफ्नो धर्म अनुसार जीवन यापन गर्न कुनै कठिनाइ वा अवरोध आएन होला भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

बुद्धधर्मको अवनति :
भगवान बुद्धले नै भन्नु भएको थियो संसारका सबै कुराहरु अनित्य हुन् भनेर । अफगानस्तानको यो वैभवताले भरिएको बुद्धधर्म पनि ह्रासतर्फ उन्मूख हुनुपर्यो । हुँदा हुँदै सातौं देखि ११औं शताब्दीसम्म पुग्दा यहाँको समाजमा बौद्धहरुको छाँया समेत नभेटिने अवस्था हुँदै यहाँको बुद्धधर्म आखिरमा इतिहासका कथाहरुमा मात्र सीमित हुनुपर्यो ।

हजारौं वर्ष पुरानो यहाँको बौद्ध सभ्यता यसरी विलिन हुनुको मुख्य कारण भनेको मुस्लिमहरुको आक्रमण नै थियो । सातौं शताब्दी तिर मुस्लिमहरुले विश्वका विभिन्न देशमा आक्रमण गर्दै त्यहाँको सभ्यता संस्कृति नाश गर्दै त्यसमाथि आफ्नो धर्मको शासनको झण्डा गाड्ने क्रममा अफगानस्तानमा पनि उनीहरुको आखाँ पर्यो । यो भनेको मध्यपूर्वमा मुस्लिमहरुको शाक्ति बढिरहेको अवस्था थियो । उनीहरुले अरु अरु देशमा जस्तै यहाँ पनि पाइला राखे, चूर्ण हुने गरी यहाँको सभ्यता कुल्चे र त्यसमाथि आतंक मच्चाएरै आफ्नो धर्म, संस्कृति र धर्मको नाममा गरिने राज्यको स्थापना गरे । यो भनेको भारतमा मुस्लिमहरुको आक्रमणभन्दा धेरै पृथक थिएन।


वर्तमान अवस्था :
संक्षिप्तमा भन्दा सन् ६४२मा इस्लामको झण्डा बोकेर अरब सैनिकहरु पश्चिमबाट आए र यहाँका सुसानियनहरुलाई हराए । उनीहरु बिस्तारै पर्सियाको पूर्वतिर बढे र सन् ६५२मा अफगानस्तानको पश्चिमी शहर हेरुत कब्जा गरे । सन् ६६७ सम्म पुग्दा अफगान वा पश्तुनहरुको सबै क्षेत्र मुस्लिमहरुको कब्जामा गयो । सन् ६८३मा काबुल र अन्य क्षेत्र पनि उनीहरुकै भयो । यस बेला स्थानीय अफगानहरुले कतै कतै त प्रतिकार गरे तर उनीहरुले भित्र आइसकेका मुस्लिमहरुलाई धपाउन सकेन । फलतः ८औ व ९औ शताब्दी भित्रमा अहिलेको अफगानस्तान र पाकिस्तानका जनतालाई उनीहरुले सुन्नी मुसलमान बनाए । उनीहरुले गजनी, काबुल इत्यादि ठाउँमा तत्कालिन बौद्ध शासकहरुकहाँ प्रभाव देखाउँदै गए । त्यहाँका बौद्धहरु उमयाहरुको आक्रमण र अबसित कलिफतहरुको शासनमा त टिके तर पछि सफारिदत, गज्नाविदत व गुरिदहरको आक्रमणको अगाडि केही लागेन । त्यसैले ११औं शताब्दीसम्म पुग्दा त्यहाँ बौद्धहरुको नामोनिशान नै रहेन भन्दा पनि हुन्छ । त्यत्रो ठुलो बौद्ध सभ्यतालाई गति दिने बौद्धहरु किन आत्मरक्षाका लागि उठेनन् वा उठेर पनि आफ्नो जन्मभूमि, धर्म र संस्कृतिको रक्षा गर्न सकेनन् भन्ने कुरा इतिहासकै गर्भमा छ ।

एउटा सभ्यता, धर्म व समुदायले अर्कोलाई आक्रमण गर्ने, अतिक्रमण गर्ने र त्यहाँकोलाई निमिट्यान्न पारेर त्यहाँ आफ्नो स्थापना गर्ने नै मानव इतिहास हो । यति गर्दा गर्दे मानिसहरु शिकारी अवस्थादेखि यहाँसम्म पुगेको हो । यहाँ पनि यही भयो, आफ्नो धर्म संस्कृतिको रक्षा गर्न नजान्ने वा नसक्नेहरुमाथि अर्काको धर्म संस्कृति मास्नु नै जीत भन्नेहरुले बलपूर्वक मिचे ।

तर यहाँ विशेष गरी बौद्धहरुले शिक्षा लिनुपर्ने कुरा के भने यहाँको इतिहासको बुझ्न निकै कठिन घटनाको विकासक्रममा पनि त्यहाँका बौद्धहरुले आफ्नो हजारौं वर्ष पुरानो धर्म, संस्कृति कला र सभ्यतालाई बचाउन कसरी प्रतिकार गरे अनि आफु बस्नै नसक्ने गरी हारेपछि आफ्नो धर्म र संस्कृति बोकेर कहाँ पलायन भयो होला भन्ने बुझ्न झन् कठिन छ । आफ्नो धर्म, दर्शन, जीवन पद्धति अनि संस्कृति नै भइसकेका बुद्ध धर्मलाई बतासले उडाइ लगेको जस्तै लग्यो । त्यतिमात्र होइन बुद्धकाल र त्यसभन्दा पछिको समयदेखि बुद्धदर्शनका लागि शास्त्रार्थ गरेर महासांघिक–लोकोत्तरवादको विस्तारको केन्द्रविन्दु भएको अनि पहिले सम्पूर्ण मध्यपूर्व क्षेत्रकै बुद्धधर्मको केन्द्र भइरहेको यस अफगानस्तानमा चारसय केही वर्षकै समयमा के के भयो होला र कि त्यहाँ बुद्धधर्मको छायाँ समेत बाँकी रहेन, जीव नभएको ढुंगा र माटोको स्मारक अनि प्रार्थना वा ध्यानगर्ने पवित्रस्थलहरु बाहेक? त्यति धेरै धर्मग्रन्थको रचना भएको, पाठ भएको ठाउँमा अहिले बुद्धधर्म भनेको के हो भनेर थाहा भएका मानिसहरु नै पाउन छोडिसक्यो ।

यहाँ सम्म भयो कि युनेस्कोले विश्वसम्पदामा सूचिकृत गरेको बामियानका विशाल बुद्धमूर्तिहरुलाई सन् २००१ मार्च २ का दिनमा तालिबान शासकहरुले बन्दुकले हानेर तोप पड्काएरै ध्वस्त पारे । एन्टी–एअरक्राफ्ट गन र एन्टी–ट्यांक माइन प्रयोग गरेर पनि एक महिना जस्तो लाग्यो तिनीहरुलाई त्यो आफ्नै देशको सभ्यताको अनुपम चिनोलाई माटो बनाउन । यसका लागि तत्कालिन तालिबानका सर्वोच्च नेता मुल्लाह ओमारले यो सम्पदा नभत्काउनका लागि दिएको विश्वब्यापी दबावलाई वास्ता नगरी यसलाई भत्काएरै छाड्ने आदेश दिएका थिए । उनीहरुले बुद्धका मूर्तिहरुलाई इस्लाम धर्मका विरुद्ध उभिरहेको ठाने । त्यसपछि त्यहाँको धार्मिक मामिला मन्त्रालयले यो विनाश इस्लामिक कानुन अन्तर्गत गरेको भनेर वक्तव्य पनि निकालेको थियो । मानिसहरु सबैभन्दा पहिले यसको विनाशको आदेश धार्मिक अतिवादी संगठन अल–कायदाया नेता ओसामाबिन लादेनले नै दिएको भन्ने पनि गरे । मुस्लिमहरुलाई यो नबोल्ने मूर्तिदेखि किन यत्रो त्रास भएको भन्ने स्पष्ट भएन । जुन धर्मको भएपनि त्यो अफगानी जनताको सम्पदा थियो र पुरानो पुस्ताको नयाँ पुस्ताका लागि नासो पनि थियो । यो देखेर विभिन्न देशका जनताहरु आआफ्नो ठाउँबाट बोले तर सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरु चुप लागेर बसे वा उनीहरु तालिबानलाई यो कार्य रोकाउन असफल भए । यसै विध्वंशको विषयलाई लिए स्वीस निर्माता क्रिश्चियन फ्रेइले “दि जायन्ट बुद्धज” नामक वृत्तचित्र नं सन् २००५मा बनाए । अफगान शासकहरुले यसको महत्व नबुझेपनि विदेशी सहयोगमा अहिले केही वर्ष मात्रैमात्रै थ्रिडि प्रकाश प्रविधि प्रयोग गरेर ध्वस्त पारिएको बुद्धमूर्तिलाई प्रतिविम्ब मार्फत देखाउने काम भएको छ ।


तर यहाँ अफगानस्तानको घटनाक्रमले एउटा पाठ नै विश्वलाई सिकाएको छ । अरुको नाश गर्नेहरु सँधै सुख चयनमा बाँच्न पाउँदैन रहेछ । अरुलाई विदेशी हस्तक्षेप भन्दै आतंककारी वा लडाकु बनिरहेको मुस्लिम कट्टरपन्थीहरुले पनि देशमा कुनै शान्ति वा विकास ल्याउन सकिरहेको छैन । अरुको विनाश चाहनेहरुको नियति यस्तै हुन्छ भनेर पनि यसले देखाएको छ । आफ्नै ढुंगा माटोमा हजारौं वर्षमा विकसित भएको सभ्यतालाई तहस नहस गरेर पनि अहिले त्यहाँ मुस्लिमहरु सुखचयनमा बस्न पाइरहेका छैनन् । हुन त मुस्लिमहरुको एकछत्र राज छ, अन्य धर्म वा संस्कृतिले तिनीहरुको एकाधिकारमाथि आक्रमण त गरेको छैन तर पनि यो शान्त छैन । एकातिर मुस्लिम मुस्लिमहरुको आपसी लडाइ छ भने यो अहिले रसिया वा तत्कालिन सोभियत रुस, चीन र अमेरिकाको हानथापको शिकार भइरहेको छ ।
अब यो क्षेत्र विदेशी पुरातत्वविद्हरुको अनुसन्धानका लागि एउटा प्रयोगशाला बनिरहेको छ । चालिसौं वर्ष अघिदेखि विभिन्न देशका पुरातत्वविद्हरु आएर यहाँका माटोका पत्रहरुको उत्खनन् गरिरहेको छ, यो भेटियो, त्यो भेटियो भनेर विश्व संचारमाध्यममा तहलका मच्चाइरहेका छन् तर यहाँका स्थानीय मानिसहरु आफ्नो देशमा त्यस्ता अमुल्य खजाना भेटिएर पनि खास उत्साहित भएका पाइँदैन । उनीहरुमा बुद्धधर्मप्रति कति पनि आस्था, श्रद्धा र सम्मान देखिँदैन ।


नेपालले सिक्नुपर्ने पाठ :
हामीलाई थाहा छ, सन् १९४६ मै संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको अफगानिस्तान ७० को दशकसम्म दक्षिण पश्चिम क्षेत्रमा विकसित जस्तै देश थियो । सन् १९७३मा जहिर शाह विदेश भ्रमण गएको बेला सेना कमाण्डर दाउद खानले रक्तपातपूर्ण कू गरेपछि त्यहाँ राजतन्त्रको अन्त्य भयो । तत्कालीन सोभियत संघको सहयोगमा गरिएको त्यो कू नै अफगानिस्तानको दुर्दशाको शुरुवात थियो । यस्तैमा सन् १९७९ मा सोभियत सेनाले अफगानिस्तान कब्जा नै गर्यो । कुनै बेला कम्युनिष्टहरुको हातमा देश गयो, उनीहरुले भनेजस्तो केही गर्न सकेन, खाली त्यहाँको श्रोतसाधनको दोहन मात्र विभिन्न शक्तिशाली देशहरुले पालैपालो गर्यो । अमेरिकालाई पनि यहाँ के कारणले हो धेरै चासो लाग्यो । यहाँ शान्ति स्थापना गर्ने भनेर खर्बौं डलर खर्च गरेर कहिल्यै नसकिने युद्ध मचायो । यहाँका अफगानी जनता पनि कोही कसका पछि र कोही कसका पछि लागेर आफु आफु लडेरै सकिए । आधा शताब्दी यो देश विभिन्न देशहरुको हस्तक्षेपको नमूना मात्र बन्यो, जनता झन् झन् गरिबीको खाडलमा पुरिए । हालै तालिबानीहरुले काबुल सहित देश कब्जामा लिएको खबरले विश्वमा सनसनी फैलायो । यता केही नेपालीहरु अफगानस्तान पुनः धार्मिक कट्टरपन्थी तालिबानहरुको हातमा गएकोमा खुशी छन् भने अफगानस्तानका जनता भने तालिबानको त्रासबाट बच्न झुण्डिएरै भएपनि यात्रा गरेर देश छोड्ने तरखरमा छन् । यो बिच तिनीहरले त्यो देश कुनैबेला बुद्धधर्मको केन्द्र थियो भन्ने सम्झन पनि पाएन ।

अफगानस्तानमा बुद्धधर्मको अवनति व बौद्धस्मारकको श्रृंखलावद्ध विनाश नेपालका लागि एउटा ठुलो पाठ हो । पहिलो यसले कुनै धर्मको रक्षाको निमित्त राज्यसत्ताको भूमिका कति हुन्छ भनेर सिकाएको छ । जब राज्यले कुनै धर्मलाई छाडेर अन्य धर्मलाइ काखी च्याप्छ, त्यो अर्को धर्मको हविगत त्यस्तै हुन्छ जस्तो अफगानस्तानमा बुद्धधर्मको भयो । हामी नेपाली बौद्धहरु राज्य र धर्म बिचको सम्बन्ध बुझ्दैनौं अनि राज्यको सहयोग वा सद्भाव बिना पनि धर्म बाँच्न सक्छ भन्ने भ्रममा बस्छौं । बुद्ध धर्मको रक्षा वा चीरस्थायित्वको लागि कि राज्यको संरक्षणको खाँचो छ, कि भने कमसेकम राज्य धर्म निरपेक्ष भइ सबै धर्मलाई समान व्यवहार गर्ने व्यवस्था भएपनि चाहिन्छ । अहिलेको नाममात्रको धर्मनिरपेक्षतामा राज्यले हाकाहाकी हिन्दु धर्मको संरक्षणमा वर्षेनी करोडौं बजेट खर्च गरिरहेको छ भने बौद्ध तीर्थस्थलमा प्रत्येक नेपालीलाई टिकट काट्न बाध्य पारी विभेदको राजनीति गरिरहेको छ । बौद्धहरु सचेत हुनु यहाँ जरुरी छ ।


(तसबिरहरु इन्टरनेटमार्फत संकलन गरिएका हुन् )
अर्कोतर्फ सबै कुरा अनित्य भएजस्तै बौद्धस्मारकहरु पनि अनित्य भनेर अफगानस्तानले शिक्षा दिएको छ । बुद्धका मूर्ति, मन्दिर र विहारहरु समयको अमूल्य निधि हो तर त्यसले मात्र धर्म रहिरहँदैन । धर्म रहन धर्म बुझेका भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरुको आवश्यकता हुन्छ । यहाँ अहिले नेपालमा पनि धेरै पैसा खर्च गरेर बुद्धको मूर्ति, विहार वा गुम्बा बनाउने होड नै चलेको छ । यी सबै श्रद्धाका उपज हुन्, यसले बुद्ध शासनलाई चीरकालसम्म जीवित राख्न मदत त गर्छ तर यो नै सबैथोक होइन । बुद्धधर्म बुद्धशिक्षाको बलमा चीरस्थायी हुन्छ । यदि मानिसहरुको मनमा बुद्धको शिक्षाले स्थान लिन सकेन भने, उनीहरुले बुद्धमार्गलाई अवलम्बन गरेन भने ती सबै महँगा विशाल बौद्धस्मारकहरु पर्यटकहरुको लागि शोभा मात्र बन्न जान्छ र अफगानस्तानमा जस्तै अन्य धर्मको शासन आयो भने धुलो बनाइदिन्छ अनि यसको विरोध गर्ने बौद्धहरु पाइने समेत छैन । अहिलेको नेपालमा बौद्धहरुको अवस्था त्यति सन्तोष जनक छैन र भएका बौद्धहरुमा पनि विपरित धारको राज्यव्यवस्थासँग प्रतिकार गरेर बुद्धधर्म बचाउनु पर्छ भन्ने प्रतिरक्षात्मकताको अभाव छ । यस्तो अवस्थामा बुद्ध जन्मभूमि नेपालमा पनि मानिसहरुको सत्ताको मोह मात्र बढ्यो भने, बुद्धधर्म विरोधी कट्टरपन्थीहरुको हातमा सत्ता गयो भने अहिले हाम्रो गौरव भएर खडा भएका बौद्ध स्मारकहरु पनि एक एक गर्दै ढल्दै गएको हाम्रै आँखाले देख्नुपर्नेछ । समयमै नेपाली बौद्ध समुदायमा चेतना आए राम्रो हुनेछ ।
०००

2021 Anandabhoomi "Buddhism in Afghanstan"

#razenmanandhar

This is me, Thank you Gemini