Monday, March 28, 2022

Lessons from conservation of Yetakha Bahal


 

Razen Manandhar



Friday, March 18, 2022

बौद्ध संकट : भियतनाममा बौद्धहरुमाथि अत्याचार, बौद्ध भिक्षुको आत्मदाह अनि तानाशाहको अन्त्य

 


राजेन मानन्धर
नेपालको राजनीतिक व्यवस्था कतिपय कालखण्डमा बौद्धहरुका लागि प्रतिकुल र कष्टकर नै भएपनि नेपालका बौद्धहरुले त्यति जुझारु भएर राज्यद्वारा थोपरिएको अन्याय र दमनका विरुद्ध प्रतिकार गरेका दृष्टान्तहरु पाइँदैनन् । तर नेपालभन्दा हजारौ किलोमिटर टाढा रहेको एउटा देश भियतनामका बौद्धहरुले आफ्नो धर्म र पहिचान जोगाउन राज्यसँग जसरी लडे त्यो इतिहासमा चीरकालसम्म पनि स्मरणीय रहनेछ । यस लेखमा भियतनामको इतिहासमा टाँसिएको एक सानो अवधिको बारेमा केही चर्चा गरिने छ जुन समयमा त्यहाँका बौद्ध जनताले विधर्मी तानाशाहको अत्याचारका विरुद्ध शान्तिपूर्ण कदम चाले जसको फलस्वरुप त्यहाँका तानाशाहकै अन्त्य भयो ।

हामी भगवान बुद्धले आफ्नो जीवनकालमा हिँडेरै भारतवर्षका विभिन्न स्थानमा गएर धर्मदेशना गर्नुभएका विभिन्न रोमाञ्चक कथाहरु पढ्छौं । उहाँको जीवनमा उहाँले धर्मप्रचार गर्नुभएको क्षेत्र जति विशाल भएपनि एउटा सीमा छ । त्यसभन्दा परका देशहरुमा बुद्धधर्म कहिले कसरी पुग्यो भन्ने विषयमा इतिहासकारहरु एउटा भन्छ भने ती देशका बौद्धहरुको अर्कै कथन हुन्छ ।

दक्षिणपूर्वी एशियामा स्थित भियतनाममा बुद्धधर्म इशापूर्व तेश्रो वा दोश्रो शताब्दीमा भारतवर्षबाट अथवा कमसेकम इस्वीको पहिलो वा दोश्रो शताब्दीमा चीनबाट पुगेको देखिन्छ । यहाँको बुद्धधर्ममा तियानताइ शाखा, प्योरलण्ड शाखा, थिएन शाखा, महायान शाखा एवं थेरवाद बुद्धधर्मको प्रभाव पाइन्छ । लगभग दुइ हजार वर्षदेखि बुद्धधर्मको प्रभावमा रहेको देश धर्म, कला र संस्कृतिमा अब्बल थियो, मानिसहरु सम्पन्न थिए र हजारौं वर्ष बुद्धधर्मको अबलम्बन गरेर खुशी खुशी बाँचिरहेका थिए । तैपनि यदाकदा त्यहाँको इतिहासमा बुद्धधर्मलाई त्यहीँका शासकहरुबाट मार आएको प्रसंग उल्लेखनीय हुन्छ । जस्तै १५औं शताब्दीका प्रशासक ले क्वातले बुद्धधर्मलाई उनीहरुको धर्मविरोधी भनेर अपहेलना गरे । १९औं शताब्दीमा फेरी यहाँ बुद्धधर्मले सम्मान पायो । र १९२० सम्म आइपुग्दा यहाँको राजनीतिमा उपनिवेश बनाउन आउने सम्राज्यवादीहरुको दमनलाई प्रतिकार गर्न संगठनात्मक कदमको आवश्यकताको महशुस गर्न थालिएको थियो ।

सन् १९५४देखि भियतनाम फेरि राजनीतिक खिचातानीको चंगुलमा फस्यो र बीसवर्षे गृहयुद्ध, विदेशी शक्तिहरुको खेल मैदान बनेर यहाँका जनताले धेरै दुख भोग्नुपर्यो । यस लेखमा विशेष गरी सन् १९६३को त्यो छोटो समयावधिको बारेमा चर्चा गरिने छ जुन बेला यहाँका बौद्धहरुलाई यहाँका क्याथोलिक क्रिश्चियन शासकले दमन गरे, र दमनको पराकाष्ठा नाघेपछि बौद्धहरुले पनि बाध्य भएर प्रतिकार गरे । प्रतिकार पनि यस्तो शान्तिपूर्ण तर सशक्त भयो कि यसले अमेरिकी साम्राज्यलाई समेत हल्लाएर छाडे र यही अन्तमा गएर भियतनामका बौद्धहरुको स्वतन्त्रता र विजयको कारक तत्व समेत बन्यो ।

भियतनामी बौद्धहरुमाथि भएको त्यो अत्याचारको समयावधिलाई बौद्ध इतिहासमा बौद्ध संकट (Buddhist crisis, भियतनामी भाषामा Biến cố Phật giáo) भनिन्छ । सन् १९६३को मे देखि नोभेम्बर बिचको सात महिना दक्षिण भियतनाममा राजनीतिक र धार्मिक तनावको अवधि थियो । यसबेला त्यहाँ क्रिश्चियन क्याथोलिक धर्मको प्रभावमा परेको सरकारले बौद्धहरुमाथि सिलसिलेवार रुपमा दमनकारी कार्यहरूको श्रृंखला चाल्यो । थोरै क्याथोलिकहरुले सरकारबाट विभिन्न सुविधा पाए भने बहुसंख्यक भएर पनि बौद्धहरु सरकारकै गिद्धे नजरमा परे । जबर्जस्ती धर्म परिवर्तन गरेर क्रिश्चियन बन्ने बाहेक अन्य जनताले दुःख पाए । शान्तिप्रिय बौद्धहरु एक तहसम्म सहेर बसे तर दमन बढ्दै गएपछि उनीहरुले शान्तिपूर्ण नागरिक प्रतिरोधका कदमहरु अभियानको रुपमा चाले । धार्मिक स्वतन्त्रता र समानताका लागि भियतनामी जनताको उदाहरणीय बलिदानको कथा हो यो । यही दमन र प्रतिकारको क्रिया प्रतिक्रियाको श्रृंखला त्यहाँ सैनिक विद्रोह र शासकको रहस्यमय हत्यासँगै समाप्त भयो ।

ङो डिन्ह दिएमको सरकार
सन् १९५५मा सत्तारोहण गरेका दक्षिण भियतनामी राष्ट्रपति ङो डिन्ह दिएम (ङो डिन्ह जिएम Ngô Đình Diệm) एक क्याथोलिक क्रिश्चियन थिए । उनले धर्मको आडमा शासन चलाउन थाले र आफ्नो भन्दा अरुको धर्मलाई स्वतन्त्रता पनि नदिने नीति लिएका थिए । संक्षिप्तमा भन्नुपर्दा सन् १९६३ को मे महिनामा उनको निर्देशनमा दक्षिण भियतनामी सेनाहरूले बौद्ध धार्मिक नेताहरू र अनुयायीहरूलाई दमन गरे । यसले सरकारको लागि राजनीतिक संकट निम्त्यायो । उनका निर्दयी कदमहरुले तनाव त कम गर्न केही गरेन, शान्तिप्रिय बौद्धहरुलाई झन् उत्तेजित बनायो । कसैकसैले राष्ट्रपतिका भाइ र निकटतम सल्लाहकार, ङो डिन्ह न्हुु , जो क्याथोलिक धर्मगुरुपनि थिए, उनको निर्देशनमा यो सबै भएको भन्ने अनुमान गर्ने गर्दछन् । अझ कसैले यति सबै गराउनुको पछाडि अमेरिकाको हात भएको समेत शंका गर्दछन् । हजारौं वर्षदेखि बुद्धधर्मको छाँयामा विकास भएको भएपनि भियतनामले लामो समय विदेशी आक्रमण, साम्राज्यवाद, कम्युनिष्ट शासन र विदेशीशक्ति राज्यहरुको खेलमैदानका रुपमा धेरै दुखकष्ट भोग्नु पर्यो ।

लगभग १०० वर्ष लामो उपनिवेशकाल पछि सन् १९४५मा भियतनाम स्वतन्त्र भयो तर १९५४मा उत्तर र दक्षिण भियतनाममा विभक्त पनि हुनुपर्यो । उत्तर भियतनाममा कम्युनिज्म थियो भने दक्षिण भियतनाम फ्रेन्च र पछि अमेरिकी साम्राज्यवादीहरुको निर्देशन अथवा नियन्त्रणमा थियो । यस्तो अवस्थामा पनि भियतनामीहरुले धर्म भने छोडेको थिएन ।

क्रिश्चियन शासकको दमन
जुन बेला भियतनामी भिक्षु थिक न्हात हान अमेरिका लगायत विभिन्न देशमा बुद्ध धर्मको प्रचार गरिरहेका थिए, त्यसबेला भियतनामका बौद्धहरु भने पीडामा थिए । सन् १९६३मा भियतनाममा ७० देखि ९० प्रतिशत जनता बौद्ध थिए भनेर अनुमान गरिएको छ । यस्तो अवस्थामा त्यहाँको शासक राष्ट्रपति दिएमले क्रिश्चियनहरुलाई सहयोग गर्ने र बौद्धहरुलाई दमन गर्ने नीति नै लिएका थिए । त्यसबेलाका अल्पसंख्यक क्याथोलिकहरुले सेनामा प्रोमोशन, जग्गा स्वामित्व र कर माफी जस्ता सुविधा पाइरहेका हुन्थे भने बौद्धहरु जहिलेपनि राज्यको विभेदको शिकार मात्र हुन्थे ।

यसबाहेक राज्यले नै कतिपय बौद्धहरुलाई जबर्जस्ती क्रिश्चियनमा धर्म परिवर्तन समेत गराएको थियो । कतिपय ठाउँमा बौद्ध मन्दिरहरु भत्काइए वा त्यहाँ भएको सम्पत्ति राज्यले नै लुटे । त्रासले वा लोभले कतिवटा गाउँहरुमा बौद्धहरुले सामुहिक रुपमा नै क्रिश्चियन धर्म अँगालेका पनि थिए । यस्तो अवस्थामा थुप्रै बौद्धहरुको सरकारी सुविधाकै लागि बुद्धधर्म त्यागेर क्रिश्चियन बन्नु कुनै आश्चर्यको कुरा थिएन । बौद्ध गतिविधिहरु नीजि कार्य जस्ता थिए भने क्रिश्चियन गतिविधिलाई सरकारले अभिभावकत्व प्रदान गरेको अवस्था थियो । विशेष दिनहरुमा त्यहाँका सार्वजनिक स्थलहरुमा भ्याटिकनको झण्डा फहराइन्थ्यो । यसले बौद्धहरुले आफु आफ्नै देशमा अपमानित महशुस गरिरहेका थिए ।

यस्तो अवस्थामा गुज्रिरहेको दक्षिण भियतनाममा सन् १९६३को मे महिनामा बुद्ध जयन्तिका दिन त्यहाँका बौद्ध समारोहहरुमा बौद्ध झण्डा फहराउन नपाउने सरकारी सूचनाले जनतालाई आक्रोशित तुल्यायो । मे ८को दिनमा बौद्धहरुले ह्यू शहरमा बौद्ध झण्डा प्रतिबन्धको विरोधमा प्रदर्शन गरे । प्रहरीले प्रदर्शन रोक्न बल प्रयोग गर्यो । भीड रोक्न नसकेपछि प्रहरी गोली प्रहार गरे जसमा नौजना निहत्था नागरिक प्रदर्शनकारीको मृत्यु भयो ।

क्रिश्चियन राष्ट्रपतिको बौद्धरुप्रतिको यस अमानवीय आक्रमणले बौद्धहरुलाई झन् सचेत बनायो । उनीहरुले धार्मिक पहिचान र धार्मिक स्वतन्त्रताको महत्वे बुझे । त्यसपछि यस घटनाले धार्मिक भेदभावको बिरूद्ध बौद्धहरूलाई आन्दोलनमा जान उत्प्रेरित गर्यो । यस पछिको ६ महिना भियतनाम अति नै तनाव र अशान्तिमा बित्यो । समयावधिलाई विश्व बौद्ध इतिहासमा बौद्ध संकट भनेर चिनिन्छ ।

यस घटनाले बौद्धहरुलाई झन् संगठित तथा प्रतिवद्ध बनायो । यसै बिच थिक त्रि क्वाङ (Thích Trí Quang) एक सबल तथा सक्रिय बौद्ध नेता भएर निस्के । उनी एक महायानी बौद्ध भिक्षु थिए । उनले यस अमानवीय गोलीकाण्डको विरोधमा भिक्षुहरूको पाँच बुँदे घोषणा–पत्र जारी गरे जसमा १) बौद्ध झण्डा फहराउने स्वतन्त्रता, २)बौद्ध र क्याथोलिकहरू बीच धार्मिक समानता, ३) पीडित परिवारलाई क्षतिपूर्ति, ४) स्वेच्छाचारी गिरफ्तारी अन्त्यको माग गरिएको थियो र ५) जिम्मेवार अधिकारीहरूको दण्डको माग गरिएको थियो । यसको सुनुवाइ भयो र मे १५मा सरकारसँग वार्ता शुरू भयो ।

वार्तामा धार्मिक अतिवादले मात्तिएका राष्ट्रपति दिएमले बौद्धहरुको माग सुनेन । उनले त्यस गोलीकाण्डमा भिएत कङ्ग अर्थात दक्षिणी भियतमामा लडिरहेका कम्युनिष्ट योद्धाहरुलाई दोष दिएर पन्छिन खोजे । अनि देशमा धार्मिक स्वतन्त्रता छँदैछ नि भनेर बौद्ध भिक्षुहरुलाई पटमूर्खको संज्ञा दिए । राष्ट्रपतिले मरेकाहरुलाई क्षतिपूर्ति दिन त माने तर दोष भने स्वीकार गरेन ।

पछि तनाव बढ्दै गएपछि मे ३० मा ५०० भन्दा बढी भिक्षुहरूले साइगनस्थित राष्ट्रिय सभा अगाडि प्रदर्शन गरे । बौद्ध धर्मावलम्बीहरूले भिक्षुहरू सहित बाटो जाम गरेर प्रदर्शन गरे । उनीहरुले ४ घण्टासम्म तानाशाही राष्ट्रपतिका विरुद्ध प्रदर्शन गरे अनि चार दिन लामो आम हडतालको घोषणा पनि गरे । यस अभियानमा भिक्षु थिक क्वाङ दुकको भूमिका नेतृत्वदायी थियो ।

जुन ३ सम्म पुग्दा आन्दोलनले अर्को चरण पार गरिसकेको थियो । सरकारले झन् दमन गर्दै लाने योजना बनाएको थियो । त्यस दिन भियतनामी पुलिस र सेनाहरुले तु दाम प्यागोडा बाहिर प्रार्थना गरिरहेका बौद्ध भिक्षुहरुको टाउकोमा केमिकल खन्याएर अत्यन्त पीडादायी र अमानवीय चरित्र देखाए । यसमा कुल ६७ जना अस्पताल भर्ना भए र अन्य केही व्यक्ति नराम्रोसँग घाइते भएका थिए । यसको चर्चा विदेशमा समेत हुन थालेपछि सरकार बौद्धहरुसँग बार्ता गर्न तयार भयो । तर पनि सरकारले आफ्ना अधिकारीहरुमा संवेदनशिलता नभएको भनेतापनि ह्यूमा भएको हिंसाको दोष लिन तयार भएन ।

एक भिक्षुको आत्मदाह
जुन ११का दिन अप्रत्याशित घटना घट्यो । यस दिन दिएम सरकारको नीतिको विरोध गर्दै भिक्षु थिक क्वाङ दुक (Thích Quảng Đức)ले साइगोनको चौबाटोमा आत्मदाह गरे । दिनभरीको कफ्र्युको कारण राजाधानी साइगोन भन्दा ४००माइल टाढा ह्यूको सडक सुनसान थियो । दंगा प्रहरी र सशस्त्र प्रहरीको गस्ती थियो । पवित्र तादुम प्यागोडामा सुरक्षा घेरा थियो ।

यसबिच पनि यो घटना फान दिन फुङ सडकमा घट्यो । आफ्नो धर्म र धार्मिक समानताको रक्षार्थ भिक्षु क्वाङ दुक भित्री मन देखि तयार थिए । उनी गाडीबाट ओर्लिए । एक जना भिक्षुले भुइँमा चकटी बिछ्याइदियो, अर्कोले पाँच ग्यालन पेट्रोलको भाँडो ल्यायो । अरु प्रदर्शनकारीहरुले गोलो बनाएर उनलाई घेरे, उनी शान्त भएर चकटीमा पद्मासनमा बसे । एक जना सहयोगीले उनको टाउकोमा पेट्रोल खन्याए, उनी जपमाला घुमाइरहे र “नमो अभिताभ बुद्ध”को जप गरिरहे । अनि उनले सलाइ कोरेर आफ्नो जिउ सल्काए । उनको शरीरबाट आगोको ज्वाला र कालो धुँवा निस्किरहयो ।

आफ्नो विहारबाट निस्कनु अगाडि उनले आफ्नो विचार लेखेर छोडेका थिए । उनले भनेका थिए — “आँखा बन्द गरेर बुद्धको दर्शन तर्फ अघि बढ्नु अघि, म यस देशका जनताप्रति करुणाको भावना राख्न र मातृभूमिको सदैव बल कायम राख्न धार्मिक समानता लागू गर्न राष्ट्रपति ङो दिन दिएमलाई सम्मानपूर्वक बिन्ती गर्दछु । अनि म पूजनीय, पूज्य, संघका सदस्यहरू र उपासक बौद्धहरूलाई बुद्ध धर्मको रक्षाको लागि बलिदान गर्न एकतामा संगठित हुन आह्वान गर्दछु ।”

यसरी एक जना भिक्षु पुरा होसहवासमा आफ्नो शरीरमा आगो लगाएर सरकारलाई आफ्नो अस्तित्वको लागि चुनौति दइिरहँदा एक अर्का भिक्षुले अङ्रेजी र भियतनामी भाषामा माइक्रोफोनमा भन्दै थिए — “एकजना बौद्ध भिक्षु आफैलाई जलाएर मार्छ । एक बौद्ध भिक्षु शहीद हुन्छ ।”

यो दृष्य वरिपरी मानिसहरुले अचम्म मानेर हेरिरहेका थिए । भिक्षु भिक्षुणीहरु समेतले विश्वास गर्न सकिरहेका थिएनन् । यो देखेर बटुवाहरु मत्र होइन प्रदर्शन रोक्न आएका प्रहरीहरु समेतले उनलाई घुँडा टेकेर प्रणाम गरे । लगभग १० मिनेट पछि, भिक्षु क्वाङ दुकको शरीर पूरै जल्यो र यो अन्ततः निर्जीव भएर पछाडि ढल्यो । आगो निभेपछि केही भिक्षुहरुले त्यो धुँवा आइरहेको शवलाई पहेंलो कपडाले ढाके, त्यसलाई उठाए र कफिनमा राख्ने प्रयास गरे । तर पद्मासनमै लडेका भिक्षुको अंगहरू सीधा हुन सकेन र एउटा हात काठको बाकसबाट बाहिर निस्किरहेको थियो । शवलाई केन्द्रीय साइगन नजिकै छालोइ प्यागोडामा लगियो । त्यहाँ विद्यार्थीहरूले दुइटा भाषामा ब्यानरहरू फहराए जसमा लेखिएको थियो — “एक बौद्ध भिक्षुले हाम्रो पाँच अनुरोधहरूको लागि आफैलाई जलाए ।”

यो दृष्यको बारे अमेरिकी पत्रकार डेभिड हल्बेरस्टामले यसरी वर्णन गरे — “मैले त्यो दृश्य फेरि हेर्नु थियो, तर एक पटक नै पर्याप्त थियो । एकजना मानिसको शरिरबाट आगो आइरहेको थियो । उसको शरीर बिस्तारै सुक्दै गइरहेको थियो, टाउको कालो र जलिरहेको थियो । हावामा मानिसको मासु जलेको गन्ध थियो । मानिसको शरीर अचम्मसँग छिटो जल्छ । मेरो पछाडि भेला भइरहेका भियतनामीहरूको रुवाइ मैले सुनेँ । म यति धेरै स्तब्ध भएँ कि रुन सकिन, घटनाको टिपोट लिन वा प्रश्न सोध्न पनि अलमलमा थिएँ, सोच्न पनि अलमल परेको थिएँ । आफु जलिरहँदा उसले कहिल्यै आफ्नो मांसपेशी पनि चलाएन, कहिल्यै एउटा आवाज पनि निकालेन, उसको बाहिरी शारीरिक मुद्रा उसको वरिपरि रोइरहेका मानिसहरूको ठीक विपरीत थियो ।”

दिउँसो लगभग एक हजार भिक्षुहरूले प्यागोडा भित्र भेला भएर सभा गरे, बाहिर बौद्ध विद्यार्थीहरूले सुरक्षा दिए । पछि सबै मिलेर भिक्षुको ससम्मान दाहसंस्कार गरे (उनको शरीर पुरै जल्दा पनि उनको मुटु जलेन र त्यसलाई पछि करुणाको मुटु भनेर विहारमा राखियो भन्ने गरिन्छ) । यही घटनामा बेलुका ३० जना भिक्षुणीहरु र ६ जना भिक्षुहरु गिरफ्तार भए । तर पनि भिक्षु, भिक्षुणी तथा बौद्ध समर्थक जनता पछि हट्न तयार भएनन् ।

यो दृष्यलाई अमेरिकी पत्रकार माल्कोम ब्राउनले क्यामेरामा कैद गर्न पाएका थिए (यसबापत उनले पुलिजर पुरस्कार पनि पाए) । उनको यो दनदनी आगोमा जलिरहेका भिक्षुको फोटोले विश्वभरी नै तहलका मचायो ।

यो एक श्रद्धा, धर्म र क्षान्तिले भरिएको भिक्षुको बलवान आह्वान थियो । जब जब बुद्धधर्ममाथि राज्य अथवा विधर्मीहरुको अत्याचार शुरु हुन्थ्या,े बौद्धहरुले पहिलो कदम अनुरुप शान्तिपूर्ण ढंगले गर्ने प्रतिकार भनेको यही हो । इतिहासमै पहिलो नभएको जस्तो यो संकल्पले भियतनामी तानाशाह मात्र हैन भियनताममाथि अदृष्य नियन्त्रण राख्ने अमेरिकी सरकारमा समेत खैलाबैला मच्चियो ।

उता यस्तो प्रदर्शन हुँदा पनि सरकार पटक्कै संवेदनशिल भएन । राष्ट्रपति दिएमका इसाई भाइ तथा सल्लाहकार ङो दिन न्हुकी श्रीमति म्याडम न्हूले त यति सम्म भने — “उनीहरुलाई जल्न दिउँ र हामी ताली बजाउँछौं । यदि बौद्धहरु अर्को बार्बेक्यु (मासु पोलेर खाने भोज)को आयोजना गर्छन् भने हामी खुशी साथ पेट्रोल र सलाई पठाइदिन्छौं ।”

अमेरिकी प्रतिक्रिया
तर यस घटनाले अन्तर्राष्ट्रिय रुपमा भने निकै खैलाबैला मचायो । विशेष गरी दक्षिण भियतनामलाई नियन्त्रण गर्ने अमेरिकी सरकारले यसलाई निकै गंभीरतापूर्वक लियो । दक्षिणी भियतनामको धर्मको आडमा शासन गर्न खोज्ने दिएम सरकारको समर्थनमा भएको अमेरिकी सरकारले यसलाई अक्षम्य माने । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले जलिरहेको भिक्षुको फोटो देखेर भने — “संसारको कुनै पनि समाचार चित्रले इतिहासमै यसले जति संवेदना उत्पन्न गराएन ।”

यो फोटो युरोप भरी नै जनचासोको विषय भन्यो र बाटो बाटो यसको प्रतिलिपि बिक्यो । अर्को तर्फ कम्युनिज्ममा अडेको चीनले यस फोटोलाई अमेरिकी सम्राज्यवादको नमूनाको प्रमाणको रुपमा चीनभरी फैलाउन थाले । विश्वभरी र भियतनाममै पनि यस आत्मदाहलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालियो । यसले एशियाका देशहरुमा साम्राज्यवादीहरुले मचाएको ताण्डब, क्रिश्चियनहरुको असहिष्णुता, धर्मको आडमा राजनीति गर्ने, सत्ता टिकाउन एउटा धर्मलाई काखी च्याप्ने, आफ्नो धर्म जनतामा जबर्जस्ती लाद्ने, जनताको धर्म र अस्तीत्व नस्वीकोर्न शासन प्रणालीलाई उदाङ्गो पारेर देखाइदियो ।

यसले अमेरिकी सरकारलाई भने संकटमा पार्यो । राष्ट्रपति केनेडीले भियतनाममा केही सुधारहरुको लागि सुझाव दियो तर त्यहाँका शासक त्यो सन्न तयार भएन । यसै घटनाले अमेरिका तथा दक्षिण भियतनाम बिच दुरी बढ्यो । त्यसपछिको केही समय अमेरिका र भियतनामी शासक बिचको सम्बन्ध रहस्यमय रह्यो । केही घटनाक्रमले अमेरिकी सरकार अब उप्रान्त दिएमको अप्राजातान्त्रिक सरकारलाई काँधमा बोकिनराख्ने संकेत दियो ।

तानाशाहको रहस्यमय अन्त्य
अगस्टमा राष्ट्रपति दिएमले सैनिक शासनको घोषणा गरे र उनको सेनाले बौद्ध प्यागोडाहरुमा आक्रमण गरे । यसले स्थिति झन् बिगार्यो । केही नाटकीय परिवर्तनका बिच नोभेम्बर १मा भियतनाममा सैनिक विद्रोह कू भयो । जनतालाई दबाएर धर्मको आडमा शासन गर्ने राष्ट्रपति र उनका सल्लाहकार सुरुङ खनेर भाग्न बाध्य भए । र, अन्त्यमा कर्मको भोग भने जस्तै बौद्धहरुमाथि अत्याचार गर्ने राष्ट्रपति र उनका सल्लाहकारको गोली हानी हत्या भयो । यसप्रकार बौद्धहरुको देश भियतनाममा बौद्धहरुमाथि अत्याचार गर्ने एक कालो युगको अन्त्य भयो ।

नेपालले सिक्ने पाठ
यो घटना भियतनाम जस्तै नेपाल जस्ता देशहरुका लागि विभिन्न कोणवाट शिक्षा दिने खालको रह्यो । यसले एकातिर बौद्धहरुका माझ समय परिस्थितिमा प्रतिकुल राज्य व्यवस्था आउँदा बौद्धहरुले कस्तो भूमिका खेल्नुपर्छ, के गर्यो भने धर्म र त्यससँग जोडिएको आफ्नो अस्तीत्वको रक्षा गर्न सकिन्छ भन्ने पाठ पढाएको छ । त्यस्तै यसले धर्मको आडमा शासन गर्न खोज्ने, जनतामा धार्मिक स्वतन्त्रता नदिने अनि धार्मिक समानताको कुरा सुन्न नचाहने सरकारको हविगत कस्तो हुन्छ भनेर पनि देखाएको छ । देखिने नदेखिने गरी नेपालका शासकहरुमा पनि अहिले धर्मको आडमा शासन गर्ने, आफ्नो धर्म मान्नेहरुलाई सहुलियत दिने र अन्य धर्म मान्नेहरुमाथि हुकुम चलाउने प्रवृत्ति देखिन थालेको छ ।

यस्तो बेला एकातिर भियतनामको शिक्षा लिएर बदलिँदो समय परिस्थितिमा बौद्धहरु कसरी सजग र सचेत हुन जरुरी छ भनेर देखाएको छ भने अर्को तिर धर्मको आडमा तथा विदेशी शक्ति राष्ट्रको काखमा बसेर तानाशाही तवरले राज्य चलाउने शासकहरुको कस्तो दुखद र अप्रत्याशित अन्त्य हुन्छ भनेर पनि यसले सिकाएको छ । जसले इतिहासबाट सिक्दैन, उसले भविष्यलाई आफ्नो अनुकूल बनाउन सक्दैन । नेपालका बौद्धहरुले तथा शासकहरुले पनि बौद्ध संकटबाट यही सिकुन् ।

बौद्ध मासिक आनन्दभूमि नेसं ११४२ सीपुन्ही (२०७८ चैत, 2022 March 17 मा प्रकाशित)

http://bit.ly/3CZmAAX

 

 

 

 

स्थानीय निर्वाचन व येँया भविष्य

  राजेन मानन्धर स्थानीय निर्वाचन जुइत्यंगु दु । यक्व दिन म्वाःल न्यादँया लागि राजधानी शहर येँया भविष्य निर्धारण जुइत । भिंम्ह मभिंम्ह, झीत भ...