Wednesday, July 13, 2022

रसियामा कम्युनिष्टहरुको दमनबाट उठेको बुद्ध धर्म


 

राजेन मानन्धर

आजभोलि रसिया र युक्रेनको युद्धले सारा विश्व आक्रान्त बनेको छ । मानिसहरु दिनहुँ यो युद्ध नहोस् भनेर प्रार्थना गरिरहेका थिए तर युद्ध भएरै छोड्यो । अहिले युद्ध भएको महिनौं भइसक्यो । हजारौंको धनजनको क्षति भइसक्यो तर पनि युद्ध भने जारी नै छ । शान्तिका लागि भनेर खोलिएका त्यस्ता शक्तिशाली अन्तर्राष्ट्रिय संस्थाहरु मुक दर्शक भएर बसिरहेका छन् ।

सन् २०२२को फेब्रुवरी २४का दिन रसियाले युक्रेनमाथि हमला गरेर २०१४देखि उत्कर्षमा पुगेको रसिया तथा युक्रेनबिचको वैरभाव दुनियासामु छर्लङ्ग पारे । गएको चार महिनमामा कसले कहाँ कति क्षति व्यहोर्यो भन्ने लेखाजोखा गर्न सजिलो छैन । यस युद्धले गर्दा ८० लाख भन्दा बढी युक्रेनी जनता देश छोडेर अन्यत्र शरण लिन गइरहेको छ । यसले विश्वभरी भोकमरी ल्याउने खतरा छ भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसले नेपालीहरुलाई समेत प्रभाव पार्न थालेको अनुभव यहाँ भइरहेको छ ।

भगवान बुद्धले २५ सय वर्ष पहिले दिनुभएको शिक्षाको एक प्रमुख अंश शान्ति हो भनेर सारा विश्वले मान्दै आएको छ । उहाँ विश्वको शान्तिको लागि आउनुभएको भनेर हामी गाउँदै छौं । यदि उहाँको शिक्षालाई विश्वका सारा जनताले शिरोपर गरेको भए विश्वमा युद्ध भनेकै हेर्न नपर्ने हो कि भन्ने कुरा सबैको मनमा आउनु स्वभाविक हो । हामी यहाँ बसेर कहिले काहीँ सोच्छौं होला कि रसिया र युक्रेनमा बुद्धधर्म पुगेन होला र भनेर । संजोगको कुरा हुनुपर्छ कि दुबै देशमा बुद्धधर्म निकै पहिलेदेखि नै प्रचार भइसकेको थियो । अहिले त्यहाँ दशलाख भन्दा बढी बौद्धहरुले बुद्धशिक्षाको अध्ययन र अभ्यास गरेर बौद्ध जीवन बाँचिरहेका छन् । यस लेखमा रसिया (Russian Federation)मा बुद्धधर्मको इतिहास र वर्तमानको बारेमा संक्षेपमा जानकारी दिने प्रयास गरिने छ ।

रसियामा बुद्धधर्मको प्रवेश

यहाँ रसिया र सोभियत संघको बारेमा केही कुरा खुलाउन जरुरी देखिन्छ । अहिलेको रसिया कुनैबेलाको सोभियत संघको (Union of Soviet Socialist Republics /USSR) एक हिस्सा थियो । समाजवादी गणराज्यहरुको सोभियत संघ भन्नाले लगभग सन् १९२२ देखि सन् १९९१सम्म संगठित भइरहेको युरोप–एशियाको एक विशाल देश बुझिन्छ । यो भनेको २२,४०२,२०० वर्ग किलोमिटर भूभाग ओगटेका १५वटा गणराज्यहरुको एक संघ थियो ।

विश्वकै सबैभन्दा ठुलो भनेर चिनिने सोभियत संघको धेरै भूभाग एशियामा छ र यो चीन, मंगोलिया, कोरिया र जापान जस्ता बौद्ध देशहरुसँग भौगोलिक रुपमा समेत नजिक छ । यस हिसाबले पनि रसियामा बुद्धधर्मले प्रभाव पार्नु आश्चर्यको कुरा भएन ।

भिक्षु सुदर्शनका अनुसार यहाँ बुद्धधर्मको प्रचार ईशाको पहिलो शताब्दीमै भएको थियो । यही समयमा मध्य एसियामा ब्यापक रुपबाट बुद्धधर्म र दर्शनको प्रचार भैरहेको थियो । त्यस बेलाको प्रख्यात रेशम महापथ वा सिल्करोड मध्य एसिया भएर गएको थियो र बास्तममा यही बाटो चीन पश्चिम एशिया बिचको ब्यापारको मार्ग थियो । मध्य एशियामा अशोककाल पछि फैलिएको बुद्धधर्मको आधारमा पनि ककेशस वरिपरी बुद्धधर्मले प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।

कुनै बेला तुर्कमेनिस्तान एक बुद्धधर्मको ब्यापकता भएको देश थियो । अफगानिस्तानसँग सीमा जोडिएको यो देश कुनै बेला मध्य एशियाकै एक महत्वपूर्ण बौद्ध केन्द्र थियो । यहाँ चौथो शताब्दीमा ससानियनहरुले कुशान साम्राज्यमा अधिपत्य बढाएपछि पहिलो बौद्ध समुदाय बस्न आएको भनिन्छ । यहाँको प्रभाव पनि बर्तमान रसियामा परेको हुनसक्छ ।

आधुनिक रसियामा बुद्धधर्मको इतिहास हेर्दा प्रमाणिक रुपमा ८औं शताब्दीमा साइबेरियामा प्रवेश भएको देखिन्छ । यस भूमिमा प्राचीन बौद्ध सभ्यता कहाँ कसरी नाश भयो भन्ने विषयमा इतिहास मौन देखिन्छ । धेरै तहका राजनीतिक परिवर्तनहरुले र यस क्षेत्रमा पटक पटक भएको मुस्लिम आक्रमणमा अफगानिस्तानको बौद्ध सभ्यता नाश भएजस्तै यहाँको हुर्कदै गरेको सभ्यताले पनि यसै आक्रमणको शिकार हुन परेको सम्भवना देखिन्छ ।

त्यसपछि १७औ शताब्दीमा मात्र यहाँ बौद्धहरुको इतिहास खुल्छ । रसियन पुरातत्वविद मार्गरिता भोरोब्योभा देस्यातोभ्स्क्याले भनेका छन् कि यस क्षेत्रमा बुद्धधर्मले ८औ शताब्दीको अन्तमा मुस्लिम आक्रमणको समयमा मात्र महत्वपूर्ण भूमिका खेल्न बन्द भयो । सेमिरेच्या जस्ता मध्य एसियाका उत्तरी भेगमा बुद्ध धर्म १०औ शताब्दीसम्म चलिरहेको थियो ।

अहिलेको प्रमाणिक इतिहासले भन्छ — रसियामा बुद्धधर्म १७औ शताब्दीको शुरुदेखि फैलिन थाल्यो । यो प्रवाह क्याल्मीक आदिबासीहरुले रसियन नागरिकता लिन थालेदेखि शुरु भएको देखिन्छ । यसबाहेक मंगोलिया नजिक रहेको बुर्यात्या पनि एक प्रमुख बौद्ध केन्द्र थियो । त्यहाँ पनि मंगोलियाको मार्ग भएर रसियामा बुद्धधर्मले प्रवेश पायो ।

एकातिर यति विशाल देशको सांस्कृतिक विविधताको समायोजन गर्न रसियन सरकारलाई कठिन थियो भने बौद्धहरु पनि आपसमा छरिएको, विविध सम्प्रदायमा बाँडिएको अनि आपसमा केही विभाजित समेत रहेको अवस्थामा त्यहाँको सरकारले केही प्रमुख व्यक्तिहरुलाई संयोजकको जिम्मा दिएर एउटा संघको रुपमा सबै बौद्धहरुलाई समेट्न खोज्नु व्यवहारिक पनि थियो । यसबाहेक बुर्यातियाको सीमा चीनसँग जोडिएकोले त्यहाँबाट हुनसक्ने चीन र बुर्यातहरुको सम्बन्धमा निगरानी राख्न पनि जरुरी थियो ।

धेरै पहिलेदेखि नै रसियामा बौद्धहरुले राज्यबाट तिरस्कार भोग्नुपरेको थियो । त्यो बेलामा रसियामा क्रिश्चियन मिसनरीहरुको बिगबिगी थियो र उनीहरुले बौद्धहरुलाई अन्धविश्वासी, बोक्सी विद्या वा रुढीबादी भएको आरोप लगाउँथे । विश्वमा क्रिश्चियन धर्मको प्रचार बढिरहेको अवस्थामा रसियाको बुद्धधर्मले पनि यस अवस्था र खतराको सामना गर्नुपरेको थियो । त्यसबेला काल्मीकिया, प्रिबैकाल र ट्रान्सबैकालियाले बुद्धधर्मको सम्बन्धमा छुट्टा छुट्टै नियम बनाएको थियो । किन भने बौद्धहरुमाथि अन्याय र उनीहरुको विद्रोहले सीमामा विवाद बल्झिने डर थियो । त्यसैले रसियन रुढीबादी चर्च मिसनरीहरुको रुचीभन्दा बाहिर गएर पनि त्यसबेला राज्यले बौद्धसंघहरुलाई समर्थन गरिरहेको हुन्थ्यो । यसै अवस्थामा रसियन साम्राज्यमा बौद्धहरुको क्रियाकलापलाई नियमन गर्न सन् १८५३मा लामा कानून ल्याइएको थियो ।

जार साम्राज्यमा बुद्धधर्ममा निषेधसम्म भने थिएन । मानिसहरुलाई इच्छा अनुसार धर्म मान्ने छुट थियो । सन् १९०९मा तिब्बती लामा लोब्सान दोर्जिएभले सम्राट जार निकोलास द्वितीयबाट सेन्ट पिटर्सबर्गमा बौद्ध मन्दिर बनाउने अनुमति पायो र सम्राज्यको राजधानीमा विभिन्न ठाउँबाट आएर बसेका बौद्धहरुका लागि केन्द्रको निर्माण गर्यो । सन् १९१३मा निर्माण सम्पन्न भएको यो मन्दिर अहिले क्याल्मीकिया भन्दा बाहिर युरोपकै सबैभन्दा पुरानो बौद्ध मन्दिर भएर रहेको छ ।

१९औ तथा २०औ शताब्दीमा रसियनहरुले बुद्धधर्ममाथि वैज्ञानिक अनुसन्धान थाले । हुन त यसबेलासम्म युरोपमा बुद्धधर्मको अध्ययन अनुसन्धान तथा प्रचार हुन थालेको थियो तर रसियाका विद्वानहरु यसलाई सकारात्मक रुपमा स्वीकार गर्न तयार थिएनन् । राजनीतिमा जे जस्तो भएपनि त्यहाँका राजनीतिक विचारकहरु र साहित्यकारहरुमा भने बुद्धधर्मले राम्रो प्रभाव पारेको थियो । उनीहरुको लेखनमा बुद्धधर्मको प्रभाव झल्किन्थ्यो । त्यस्ता लेखकहरुमध्ये लिओ तोल्स्टाय, भ्लादिमिर सोलोभिएभ, निकोलाइ बेर्देयाएभ, निकोलाइ लोस्की आदि थिए ।

सन् १९१५मा सेन्ट पिटर्सबर्गमा बौद्ध गुम्बा बनेपछि रसियामा बुद्धधर्मको प्रचारमा नयाँ आयाम थप्यो । यसको निर्माणमा यहाँका पहिलो प्रमुख बुर्यात अज्ञान दोर्झिएभको विशेष पहल थियो । उनले संघको आधुनिकीकरणका लागि पनि पैरवी गरे । तर १९१७को क्रान्ति पछि भने बौद्धहरुले आफ्नो धर्म रक्षाको लागि माक्र्सवाद र प्रारम्भिक बुद्धधर्मको बिचमा रेखा कोर्नु पर्यो ।

एक अध्ययन अनुसार रसियन क्रान्ति हुनु अगाडि सन् १९१६मा बुर्यातियामा ३४ गुम्बाहरु र १५,००० लामाहरु थिए । क्याल्मीकियामा ७० गुम्बाहरु र १६०० लामाहरु थिए । त्यस्तै तुभिनियामा २२ गुम्बा र २,००० लामाहरु थिए ।

कम्युनिष्ट रसियामा बुद्धधर्मको बिजोग

जहाँ पनि राजनीतिक परिवर्तन महत्वपूर्ण कुरा हुन्छ । १९०५मा रसियामा क्रान्ति शुरुभयो । १९१७मा पुनः आन्दोलन भयो र जार शासनको अन्त्य भई बोल्शेभिक पार्टीले खोजेको जस्तो सोभियत संघ बन्यो । मार्क्सले कल्पना गरेको देशमा धर्मको कुनै स्थान भएन । यसरी हेर्दा रसियन साम्राज्यको पतन र साम्यवादको उदय बुद्धधर्मको लागि एउटा भयानक दुर्घटना नै साबित भयो ।

राजनीतिक परिवर्तनले गर्दा जनताले सुख अथवा दुःख पाउँछ । रसियामा पनि कम्युष्टि शासनमा यहाँका बौद्धहरुले निकै ठुलो यातना भोग्नुपरेको थियो । यहाँ नेर बुद्धधर्म अपनाएकै कारणले सोभियत सरकारले आफ्ना नागरिकहरुलाई कति दुःख दियो भन्ने कुरा खोतल्नु प्रासंगिक हुन्छ ।

सन् १९२०मा जोसेफ स्तालिन सोभियत संघको कम्युष्टि पार्टीको महासचिव भए । यसै बेलामा १९२१ र १९२२मा अशान्ति र खडेरी (कतिले यस्ता खडेरीहरु राज्यसत्ताको जनतालाई दुख दिने चाल मात्र हो भनेका छन् )का कारण ५०औ लाख जनता मरे वा मारिए । १९२४मा लेनिनको मृत्यु भएर स्तालिन शक्तिमा आए र उनले अरु धर्मावलम्बी लगायत बौद्धहरुमाथिको दमन झन तिव्र पारे ।

सोभियत संघले बुद्धधर्म तथा अन्य धर्मलाई शत्रु सरह व्यवहार गरे । त्यसबेला बौद्धहरुले अन्य धर्म समुदायहरु भन्दा बढी अत्याचार सहनु पर्यो । सन् १९२९मा कम्युनिष्ट सरकारले बौद्ध गुम्बाहरु बन्द गरे भने लामा भिक्षुहरुलाई देश पक्राउ गरे अनि देश निकाला गरे । उनीहरुमाथि जापानी जासूस तथा जनताका शत्रु भन्ने आरोप लगाइयो । सन् १९१७सम्म रसियन साम्राज्य भित्र १७५वटा बौद्ध गुम्बाहरु दर्ता गरिएका थिए, ती सबै १९४० भित्र भत्काइए ।

हुन त कम्युनिष्ट सरकारले शुरुमा बौद्धहरुलाई निशाना बनाएन । सरकारले पहिला बौद्ध क्याल्मीकहरु, बुर्यातहरु र तुभानहरुलाई जारले शोषण गरेको र कम्युनिष्टहरुले उनीलाई मुक्ति दिएको जस्तो विश्वास दिलाए । यसो गर्नुको कारण कम्युनिष्टहरु दलाइ लामा र एसियाका बौद्ध देशहरुमा बढिरहेको कम्युनिष्टहरुको साथ लिन चाहन्थे । जब उनीहरुले यो सम्भव देखेन, अनि बौद्धहरुमाथि दमन शुरु गरे ।

बौद्ध साँस्कृतिक सम्पदाको नाश

रसियामा १९२८बाट धर्मविरुद्धको राज्यको अभियान चल्यो । यसै बर्षदेखि जनताले बनाएका गुम्बाहरुका भारी कर लगाइदियो । १९२९मा थुप्रै गुम्बाहरु बन्द नै गरिदियो । बौद्ध मन्दिरहरु र गुम्बाहरुमा सरकारले कब्जा गरे र नष्ट गरे । त्यहाँका काठका छाप्ने ब्लकहरु सडकमा फालिए, हस्तलिखित ग्रन्थहरु चुरोट बनाएर सल्काए वा टिस्युपेपर बनाइए वा चुलोमा हालिए, थाङ्काहरु जुत्ता पुछ्न प्रयोग गरे । कयौं गुम्बा, मन्दिर जस्ता धार्मिक भवनहरु भत्काइए । यसरी उनीहरुले बौद्ध आस्थाका केन्द्र, बौद्ध परम्परा र बौद्ध समाजलाई निमिट्यान्न पारे । १९३१–३२मा माथिल्ला तहका गुरुहरुलाई यातना दिइयो र १९३५–३६मा मध्य तहका गुरुहरुलाई पक्राउ गरे ।

तर पनि १९३०–४० सम्ममा राज्यको धर्म विरोधी प्रोपोगाण्डा असफल भयो र क्याल्मीया र बुर्यातिया (पछि तुभा पनि) जस्ता बौद्ध क्षेत्रमा उनीहरुको पकड कमजोर हुँदैगयो ।

सन् १९३४मा त्यहाँका एक गुरु दोर्जिएभलाई लेनिनग्राडमा निर्वासनमा पठायो । र पछि १९३७मा उनलाई गिरफ्तार गरियो । पछि सम्भवतः यातनाको कारणले होला १९३८मा जेलमै उनको मृत्यु भयो । सोभियतकालमा रसिया भरी यस्ता धेरै बौद्ध गुरुहरुको नाम भेटिन्छन् जसले धेरै यातना भोगे र जसको मृत्यु शंकास्पद ढंगले भयो ।

तर पनि रसियाका बौद्धहरु धर्म त्याग्न तयार भएनन् । १९३७को जनगणनाले देखायो कि एक चौथाइ जनसंख्या अझै धार्मिक नै थिए । अनि धर्मको नामनिशान मेटाउन कम्युनिष्ट सरकारले बौद्धहरुमाझ त्रास फैलाउन थाले । उनीहरुलाई जापानका लागि जासुसी गरेको र सोभियत संघ विरुद्ध राजद्रोह गरेको इत्यादि आरोप लगाए । सन् १९३७मा लामाहरुमाथि तोडफोड र पुलहरुमा विष्फोट गर्ने योजना बनाएको समेत आरोप लगाए ।

त्यसबेला यहाँका बौद्ध संस्थाहरुले राजनीतिक निषेध सामना गर्नु परेको त छँदैछ, यसका साथै परम्परागत क्रिश्चियन तथा इस्लाम धर्मको प्रसारको कारण पनि थुप्रै समस्या भोग्नुपरेको थियो । यसप्रकार विभिन्न राजनीतिक, सामाजिक तथा आर्थिक प्रतिकुल अवस्थाका बिच रसियामा बुद्धधर्म बाँचिराख्यो ।

दोश्रो विश्वयुद्ध पछि वा १९४५ पछि भने स्तालिन सरकार बौद्धहरुप्रति अलिकति नरम भएको देखिन्छ । बाहिरी दुनियामा सोभियत संघमा धार्मिक स्वतन्त्रता छ भनेर देखाउनकै लागि इभोलनिन्स्की तथा अगिन्स्की गुम्बाहरु खोलिए अनि सरकारले त्यहाँका हरेक क्रियाकलापमा निगरानी राखे । तर पनि अरु धर्म जस्तै बुद्धधर्म कम्युनिष्ट सरकारको नजरमा थियो र १९८८मा सुधार कार्यक्रम नआएसम्म त्यस्तै थियो ।

सोभियत कालमा रसियामा कति बौद्ध लामाभिक्षुहरु थिए भन्ने विषयमा विभिन्न ठाउँमा फरक फरक जानकारी पाइन्छ । राज्य समर्थकहरुले त्यो बढाइचढाइ गरेर तथ्यांक दिन्छ जुन सर्वसाधारणका लागि पाच्य हुँदेन ।

बिदिया दानदारोन एक जना बौद्ध विचारक थिए । उनले त्यहाँ तन्त्रयानलाई पुनर्जीवित गर्ने कोशिस गरे । उनले बुद्धशिक्षा र पश्चिमी दर्शन तथा बैज्ञानिक सिद्धान्तहरु मिलाएर नवबुद्धवादको विकास गरे । तर उनलाई धार्मिक समुदाय बनाउन लागेको आरोपमा कैद गरियो उनको मृत्यु जेलमा नै भयो । यद्यपि उनका शिष्यहरुले १९९०को दशकमा रसियाली बुद्धधर्मको विकासमा योगदान दिए ।

कम्युनिष्ट शासनमा रसियाका बौद्धहरुले कति कस्तो यातना भोग्नुपर्यो भन्ने लेखाजोखा समेत गर्न मुश्किल छ । यति सम्म भन्ने गरिन्छ कि दशौंलाख रसियनहरु मध्ये हजारौं लामाभिक्षुहरुले मृत्युदण्ड पाए । सन् १९६० तिर त्यहाँका गुरु बिदिया दान्दारोनले भनेका थिए कि “रसियामा बौद्ध भएर जन्मनु उपयोगी छ”, यसको अर्थ सोभियत दमनले बौद्धहरुमा आफ्नो विश्वास सफा गर्न, वृद्धि गर्न र धैर्यको परीक्षा लिने अवसर दिन्छ भन्ने थियो ।

Ivolga monastery in Russia.

हुन त कम्युनिष्टहरुको शासन भएको जुनै देशमा पनि नेताहरुले आफ्नो सत्ता जोगाउन कति मान्छे मारे भन्ने तथ्यांक पाउन गाह्रो नै हुन्छ । तैपनि रसियामा मोटामोटी भन्नुपर्दा १९१७ देखि १९८७सम्ममा ६करोड १० लाख मानिस मारिए भन्ने अनुमान गरिएको छ । अब त्यसमा कति बौद्धहरु परे होलान् भनेर भने हिसाब गर्न सम्भव नहोला ।

करिब १० वर्ष अगाडि लस एन्जेल्स टाइम्सले एउटा समाचार प्रकाशन गरेको थियो जसअनुसार स्तालिनले दशौं हजार बौद्ध भिक्षु मारेको देखिन्छ । उक्त समाचारले कम्युनिष्टहरुले ७०० गुम्बाहरु भत्काएको र १७ हजार बौद्ध भिक्षुहरु मारेको दाबी पनि गरेको छ । उनीहरुको तथाकथित वैज्ञानिक नास्तिकवादले सबैभन्दा बढी क्षति बुद्धधर्मलाई नै भएको थियो ।

वर्तमानमा रसियामा बुद्धधर्म तीनवटा प्रदेशमा मुख्यतः प्रख्यात छन् । ती तीनैवटा प्रदेशको आआफ्नै बुद्ध धर्मको इतिहास छ । यसलाई यहाँ छुट्टाछुट्टै संक्ष्ोपमा वर्णन गर्ने प्रयास गरिने छ ।

बुर्यातियामा बुद्ध धर्म

बुर्यातिया भनेको रसियाको दक्षिण र मंगोलियाको उत्तरमा परेको एउटा प्रान्त हो । ऐतिहासिक प्रमाणका आधारमा भन्नुपर्दा यहाँका प्राटो मंगोल मानिसहरु ईशापूर्व दोश्रो शताब्दी देखि बौद्धहरुको सम्पर्कमा थिए । १७औ शताब्दीको शुरुवातमा यहाँ मंगोलियाको बाटो भएर तिब्बती बुद्धधर्मले प्रवेश गरे । यो पहिला बैकाल तालको पूर्व क्षेत्रमा पुग्यो । यसका लागि पहिला खाल्खा मंगोलिया क्षेत्रबाट गएका मानिसहरुकहाँ पुग्यो । पहिले झाँक्री वा प्रकृति पुजक रहेका यहाँका बुर्यातहरुले १७औं शताब्दीदेखि बुद्धधर्म अँगाले । १८औ शताब्दीसम्म पुग्दा यो यहाँ फैलिसक्यो ।

१७४१मा साम्राज्ञी येलिजाभेत पेत्रोभ्नाले यहाँ बौद्ध लामा धर्मको कानुन पास गरिन् । उनले ११ अध्ययन केन्द्रहरु (दात्सान) र १५०लामाहरुलाई कानूनी मान्यता दिइन् । साथै बुद्धधर्मलाई रसियन साम्राज्यको आधिकारिक धर्मको रुपमा स्वीकार गरिन् (सन् १९९१मा बुर्यातियाका बौद्धहरुले यसको २५० वार्षिकोत्सव मनाएको पनि यहाँ प्रासंगिक हुन आउँछ) ।

१९औं शताब्दीको अन्तसम्म बहुसंख्यक बुर्यातहरुले बुद्धधर्म अँगाले । तर २०औ शताब्दीको राजनीतिक परिवर्तनले यहाँको धार्मिक वातावरण तहसनहस पार्यो । बुर्यातियाको लागि भने यो बौद्ध संस्कृतिको विनाश नै थियो । सन् १९२५को एउटा कानुनले धार्मिक शिक्षामा बन्देज लगायो । त्यसपछि यहाँका ४७ बौद्ध अध्ययन केन्द्रहरु (दात्सान) र गुम्बाहरु (दुगान) बन्द भए । सयौं वर्ष लगाएर तयार पारिएका आध्यात्मिक मूल्य मान्यताहरु धराशायी भए । यहाँका लामाहरुलाई जेल हालियो वा देश निकाला गरियो, श्रम शिविरमा पठाइयो, अझ सयौंलाई त गोली हानेर मारियो ।

कम्युनिष्ट सत्ता ढलेपछि आएको स्वतन्त्रतामा बौद्धहरु खुलेर धर्म अभ्यास गर्न पाएका छन् । सन् २०१६को तथ्यांक अनुसार यहाँका १९.८ प्रतिशत जनता अहिले बौद्ध छन् ।

क्याल्मीकियामा बुद्ध धर्म

दक्षिण पश्चिम रसियामा यूरोपभित्र, क्यास्पियन सागर तथा ककेसस पर्वतको नजिक भोल्गा नदी छेउमा काल्मीकिया अवस्थित छ । सजिलोसँग भन्नुपर्दा क्याल्मीकहरु ती युरोपियनहरु हुन् जसको राष्ट्रिय धर्म भनेको बुद्धधर्म हो ।

क्याल्मीकहरु पहिला पश्चिम मंगोलियाका ओइरातहरु थिए, उनीहरु माझ बुद्धधर्म १३औं शताब्दीमा फैलियोे । उनीहरु पश्चिम मंगोलियाबाट १७औ शताब्दीमा बसाइ सर्दै त्यहाँ पुगेका थिए । क्याल्मीकहरुले नै मध्य यूरोपमा सबैभन्दा पहिला बौद्ध गुम्बाको निर्माण गरे र त्यहाँ बुद्ध धर्मको प्रचार गरे । उनीहरुले सर्बियाको राजधानी बेलग्रेडमा १९२९मा गुम्बा बनाएका थिए ।

सोभियत सरकार क्याल्मीकियामा धेरै बौद्ध भएकोले पहिल्यैदेखि यस क्षेत्रका जनताप्रति नकारात्मक थियो । १९२१मा क्याल्मीकियामा खडेरी हुँदा करिब ७० हजार क्याल्मीकहरु मरे । यसको फलस्वरुप उनीहरुले विद्रोह गरे र यसको सजाय स्वरुप उनीहरुलाई साइबेरियामा श्रमशिविरमा कष्टकर जीवन बिताउन पठाइयो ।

सन् १९३०को दशकमा क्याल्मीक बौद्धहरुका विरुद्ध सोभियत सरकारले धर्मविरोधी अभियान चलायो ।

क्याल्मीक निर्वासन
स्तालिनले धेरै पटक आफुलाई मन नपर्ने अल्पसंख्यक जातीलाई दुर्गम स्थानमा निर्वासनमा पठाएको इतिहास छ । सन् १९४३मा सोभियत सरकारले करीब ९३,००० क्याल्मीकहरुलाई जबर्जस्ती साइबेरियामा कठोर जीवन बाँच्नको लागि पठायो । क्याल्मीकहरुलाई नै निशाना बनाइनुको कारण उनीहरुमाथि जर्मन नाजीहरुसँग मिलेको आरोप थियो यसको अर्को कारण भने उनीहरु बौद्ध हुनु पनि थियो । ती मध्ये त्यहाँको कठोर जीवन सहँदा सहँदै करिब ४० प्रतिशत जनता त त्यहीँ मरे र १९५७मा मात्र बाँचेकाहरु फर्कन पाए ।

यसको सकारात्मक पक्ष पनि छ । दोश्रो विश्वयुद्ध ताका पश्चिम जर्मनीमा बसोबास गरिरहेका करिब ५०० क्याल्मीकहरुलाई उनीहरुको दुःख देखेर अमेरिकामा शरण दिइयो । त्यहाँ गएर उनीहरुले बुद्धधर्मको प्रचार गर्ने अवसर पाए ।

सोभियत सत्ता ढलेपछि क्याल्मीकियामा अहिले अलिकति धार्मिक स्वतन्त्रता छ । सन् १९९२मा त्यहाँका तेलो टुल्कु रिम्पोछे क्याल्मीक संघको प्रमुख बने । उनी बुद्धधर्म अध्ययन गर्न भारत पनि पुगे र उनलाई योगी तिलोपाको अवातार भनेर मानियो । २०१४ देखि उनलाई रसिया तथा मंगोलियाकै लागि दलाइ लामाका मानार्थ प्रतिनिधिको रुपमा राखिएको छ । अहिले उनैको प्रयासमा त्यहाँ क्याल्मीकियाको एलिस्तामा शाक्यमूनि बुद्धको मन्दिर बनेको छ जसलाई रसिया तथा युरोपकै सबैभन्दा ठुलो बुद्ध मन्दिर भनिन्छ । अहिले ऐर्डन ओम्बादिकोभ त्यहाँका अर्का बौद्ध गुरु हुन् जसको प्रभाव अहिले अमेरिकामा समेत छ । अहिले यहाँ धार्मिक स्वतन्त्रता त देखिन्छ तर रसियन संघको सदस्य राष्ट्र भएकोले त्यहाँको नीति हाबी छ र उनीहरुले क्याल्मीकहरुलाई रसियन अल्पमत सरह व्यवहार गरिरहेको छ ।

अहिले क्याल्मीकिया क्षेत्रमा करिब २७ वटा बौद्ध मन्दिरहरु र गुम्बाहरु छन् । त्यहाँका ५३.४ प्रतिशत जनता बौद्ध छन् भनेर २०१६को तथ्यांकले बताउँछ । त्यसमा अहिले गेलुपा बौद्धहरुकै बाहुल्यता छ त्यहाँ र उनीहरु आज पनि दलाइ लामालाई आफ्नो धर्मगुरुको रुपमा सम्मान गर्दछन् ।

तुभामा बुद्ध धर्म
तुभा गणतन्त्र भनेको अहिले रसियाको प्रदेश हो । यो एशियाको मध्य र दक्षिणी साइबेरियामा पर्छ र यसको दक्षिणमा मंगोलिया पर्छ ।

तुभा क्षेत्रमा कम्तिमा पनि १८औ शताब्दीमा बुद्धधर्मले प्रवेश पाएको थियो । यो भन्दा अगाडिको ऐतिहासिक दस्तावेज नपाइएकोले यसैलाई तुभाको बुद्धधर्मको प्रारम्भ मान्नु पर्छ । यहाँ पनि बुद्धधर्म मंगोलियामार्फत आएकोले यहाँका बौद्धहरुमा मंगोलियन परम्परा हाबी छ । १९१२ सम्म यहाँ मञ्चुरियाको शासन थियो र मंगोलियाको बोग्दोगेनेनको प्रभुत्वमा यहाँको धार्मिक व्यवस्था सञ्चालन हुन्थ्यो । यहाँ पनि बौद्धहरु भएपनि उनीहरुले त्यहाँको झाँक्रीवादी परम्परासँग मिलेर बस्नुपर्दथ्यो ।

त्यहाँ १९१७को राजनीति परिवर्तन पहिलेसम्म १९वटा गुम्बा तथा ३ हजार लामाहरु थिए । तर पछि रसियाको कम्युनिज्मको प्रभावले यहाँका बौद्धहरुले पनि आफ्नो अस्तीत्व जोगाउन निकै कठिन परिस्थितिहरु सामना गर्नु पर्यो । १९४० सम्ममा यहाँका सबै गुम्बहरु बलजफ्ती बन्द गराइए र पछि भत्काइए, लामाहरुलाई पनि पक्रेर यातना दिइए ।

पछि १९९०को स्वतन्त्रता पछि यहाँ पनि बुद्धधर्मको पुनर्जागरण शुरु भयो । सन् २०१६को तथ्यांक अनुसार तुभाका ५२.२ प्रतिशत जनता बौद्ध छन् ।

स्वतन्त्रता पछिको रसियामा बुद्धधर्मको विकास

सन् १९९०सम्ममा विभिन्न चरणमा सोभियतसंघको पतन भयो र रसिया स्वतन्त्र भयो । समाजमा स्वतन्त्रताको अनुभव गर्ने वातावरण बन्यो । यसै बेला गुम्बा मन्दिरहरुको निर्माण भयो, बौद्ध साहित्यको अनुवाद भयो, नयाँ भिक्षुहरुलाई तालिम दिइयो र रसिया बाहिरका बौद्ध केन्द्रहरु वा संस्थाहरुसँग सम्बन्ध स्थापित गर्यो । बौद्ध उपासक उपासिकाहरुको संगठनहरु बने । बौद्ध गुरुहरु, जस्तै १४औ दलाइलामा, कुशोक बकुला रिम्पोछे, नवौं बाग्दोगेगेन आदिले पनि यहाँ पुनर्जागरणमा भूमिका खेले ।

प्रजातन्त्रको उदयसँगै त्यहाँको खुला वातावरणमा बौद्ध र अबौद्ध समाजमा पनि बुद्धधर्मको पुर्नजागरण भयो । राजनीतिक स्वतन्त्रता प्राप्त भएपछि यहाँका जनतामा धर्ममा मन लगाएर यसबाट लाभ लिन कसैले रोक्ने कुरा पनि भएन । सन् २०१६को तथ्यांक अनुसार यहाँ २५९वटा दर्ता भएका बौद्ध संस्थाहरु छन्, जसमध्ये धेरै गृहस्थहरुका संस्थाहरु छन् । सोभियत संघको पतन अगाडि त्यहाँ एकमात्र औपचारिक बौद्ध संस्था थियो — बौद्धहरुका लागि केन्द्रीय आध्यात्मिक प्रशासन । तर पछि उनीहरु जातीय तथा राष्ट्रिय आधारमा विभाजित भए । अहिले बुर्यातहरुको बौद्ध परम्परागत संघ छ, क्याल्मीकहरुको काल्मीकियाको बौद्ध संगठन छ अनि तुभामा तुभा बौद्ध युनियन छ ।

रसियाको बुद्धधर्मको कुरा गर्दा सामान्य गृहस्थहरुको बौद्ध संघसंस्थाहरुको भूमिका वा योगदानलाई पनि भुल्न सकिँदैन । यस्ता संगठनहरुले पनि बौद्धहरुलाई आफ्नै ढंगले संगठित बनाइ उनीहरुका लागि आवश्यक बुद्धधर्म सम्बन्धी शिक्षा तथा संस्कारहरु प्राप्त गर्न सघाइरहेका हुन्छन् । त्यस्ता संगठनहरु मध्ये प्रमुख भनेको डेनिस शिक्षक ओले निडालले खोलेको कर्मा काग्यू परम्परा अन्तर्गतको हिरकमार्गको बौद्ध संघ हो । देश भरीमा यसका करीब एक सय केन्द्रहरु छन् ।

अर्को त्यस्तै संघ भनेको मस्को स्थित गान्डेन टेन्डार लिङ बौद्ध केन्द्र हो । अर्को संघ भनेको सेन्ट पिटर्सबर्गमा रहेको आर्यदेव बौद्ध समूह हो, यो भनेको गेलु परम्परा अन्तर्गतको हो । यस्ता संस्थाहरुले बुद्धधर्मको सिद्धान्त सिकाउने, अनुवाद गर्ने, पुस्तक प्रकाशन गर्ने तथा अन्य समाजसेवाका कार्यहरु गरी बौद्धहरुलाई संगठित तथा धर्ममा मन लगाउने काम गरिरहेका हुन्छन् । यिनीहरुले यसै गरी रसियन समाजमा बौद्धहरुको उपस्थिति देखाइरहन्छन् ।

तर पनि वर्तमानमा रसियाका बौद्धहरुले आफुले भनेको जस्तो स्वतन्त्रता भने उपभोग गर्न पाइरहेको छैनन् । पश्चिमी राष्ट्रहरुको नियन्त्रण र क्रिश्चियनहरुको दबदबामा बौद्धहरुले आफू अल्पमत भएको दुख भोगिरहनु परेको अवस्था छ । त्यहाँका बौद्धहरु दलाइ लामालाई आफ्नो सर्बोच्च गुरु मान्छन् तर २००४ पछि दलाइ लामालाई रसियाले भिसा नदिएकोले आउन पाइरहेको छैन भनेर बौद्धहरु गुनासो गर्छन् । रसिया र चीन नयाँ व्यापारिक पार्टनर बनेको अवस्थामा दलाइ लामालाई आउन दिएर रसिया आफ्ना बौद्ध जनताको खुशीका लागि चीनलाई चिढाउन चाहँदैन । अर्को तर्फ सरकार अझै पनि धार्मिक स्वतन्त्रतको पक्षमा देखिँदैन । २०१६मा संसदले संशोधन गरेको एक कानुनमा मिसनरी र धार्मिक क्रियाकलापमा कठोर सीमा लगाइदिएको छ । यथार्थ त्यहाँ यो छ कि देश अहिले रसियन रुढीवादी चर्च मान्नेहरुको हातमा छ र उनीह बुद्धधर्मलाई अतार्किक, असान्दर्भिक र नकारात्मक भनेर अलग्याउन वा सीमान्तीकरण खोजिरहेको छ ।

तथापि अहिले रुसमा बुद्ध धर्मलाई त्यहाँको परम्परागत धर्महरु मध्ये एक भनेर मान्यता दिएको छ । कानूनी रुपमा पनि यसलाई यहाँको सम्पदाको रुपमा लिइन्छ । साथै पश्चिमाहरुको प्रभावमा यहाँ पनि नयाँ किसिमले बुद्धधर्मको व्याख्या गर्दै नयाँ पुस्ताले पनि धर्म परिवर्तन गरेरै भए पनि आफुलाई बौद्ध कहलाउने प्रचलन झन् झन् बढ्दै गएको देखिन्छ ।

यसका अतिरिक्त अहिले वज्रयान अथवा तिब्बती बुद्धधर्म बाहेक विभिन्न स्थानमा विभिन्न प्रभावमा चीनियाँ, जापानी, कोरियाली तथा भियतनामी महायान बुद्धधर्मको प्रभाव रसियाली बौद्धहरुमा पर्न थालेको छ । अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा रसियाली बौद्धहरुको प्रतिनिधि भनेर उभिने अभ्यासकर्ता तथा विद्वानहरु मञ्चमा देखिन थालेका छन् । साथै अहिले त्यहाँ थेरवाद बुद्धधर्मको समेत अध्ययन, अभ्यास गर्ने गरिन्छ । यसप्रकार लामो समयसम्म विभेद, निषेध र सीमान्तीकरणमा पारिएको बुद्धधर्म रसियामा दिनप्रतिदिन फैलिन थालेको छ, जुन सुखद एवं उज्जल भविष्यको द्योतक पनि हो ।

बौद्ध मासिक आनन्दभूमिा प्रकाशित (२०७९ असार पूर्णिमा/2022 07 13)

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...