Sunday, December 7, 2025

भारतको मध्य प्रदेशमा बुद्ध धर्म



 राजेन मानन्धर

सिङ्गो भारतको लगभग बिचमा पर्ने प्रदेश मध्यप्रदेश हो । हावापानीको विविधता, गौरवमय इतिहास अनि विकासको मार्गमा द्रुत गतिमा अगाडि बढिरहेको यो प्रदेशको भगवान बुद्धको समयदेखि नै बुद्ध धर्मसँग अन्तरङ्ग सम्बन्ध रहेको छ ।

यो क्षेत्रफलको हिसाबबाट भारतको दोश्रो ठुलो प्रदेश अनि जनसंख्याको हिसाबले पाँचौ ठुलो प्रदेश हो । यहाँको जनसंख्याको नेपालको भन्दा दोब्बर धेरै छ, अर्थात् ७ करोड २० लाख । यसको उत्तरपश्चिममा राजस्थान, उत्तरपूर्वमा उत्तर प्रदेश, पूर्वमा छत्तिसगढ, दक्षिणमा महाराष्ट्र अनि पश्चिममा गुजरात पर्दछ ।

बुद्धकालमा यो क्षेत्र अवन्ती महाजनपद अन्तर्गत पर्दथ्यो अनि यसको राजधानीलाई अवन्तिका नगर भनिन्थ्यो जुन अहिले उज्जैनमा पर्दछ । त्यसबेला नै यो एक सभ्यताको केन्द्र थियो । कालान्तरमा १८औं शताब्दीसम्म आइपुग्दा यो मराठाहरुको साम्राज्य अन्तर्गत पर्न गयो । त्यस्तै १९ औं शताब्दीमा ब्रिटिश राजमा यो विभिन्न ससाना राज्यहरुमा विभाजित थियो, जसलाई त्यसबेलाको प्रशासनले केन्द्रीय प्रान्तहरु र बेरार भनेर एक किसिमबाट एकीकरण नै गरे । यसलाई पछि मध्य प्रदेश र मध्य भारत भन्ने पनि नाम दिइयो । सन् १९५६ पछि यसलाई विन्ध्य प्रदेशमा पनि मिलाइयो । सन् २०००मा यसबाट छत्तिसगढ राज्य अलग बनाइयो ।

Press enter or click to view image in full size

यहाँका प्रमुख शहरहरुको नाम लिनुपर्दा भोपाल, इन्दोर, ग्वालयिर, उज्जैन आदि पर्छन् । यो राज्य कृषि उत्पादनमा अगाडि छ भने यहाँ हिरा तथा तामाको पनि खानी पाइन्छ । अहिले यहाँको पर्यटन उद्योग स्वदेशी तथा विदेशीहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।

मध्य प्रदेशमा बौद्ध धर्मको इतिहास
मध्य प्रदेशको बौद्ध इतिहास भगवान बुद्धको जीवन जतिकै पुरानो छ भने पनि हुन्छ अनि यसको बुद्ध तथा बुद्ध धर्मसँगको सम्बन्ध पनि त्यतिकै प्रगाढ छ । यसलाई भारतमा बुद्ध धर्मको प्रारम्भिक प्रसार, विस्तार र संरक्षणको लागि सबैभन्दा महत्वपूर्ण क्षेत्रहरू मध्ये एक मानिन्छ । यहाँ पाइएका असंख्य पुरातात्विक स्थलहरू, स्तूपहरू, विहारहरू, शिलालेखहरू अथवा त्यसका अवशेषहरूले यहाँ सम्राट अशोकको समयदेखि मध्यकालीन अवधिसम्म यहाँ भएको बुद्ध धर्मको विकासको प्रमाण देखाइरहेका छन् ।

प्रारम्भिक बौद्ध धर्म ः भगवान बुद्धको जीवनकालमा नै यो क्षेत्र विकसित सभ्यताले सजिएको थियो । अहिले मध्य प्रदेश रहेको क्षेत्रमा अवन्ती जस्ता विभिन्न महाजनपदहरूले शासन गर्थे ।

यहाँ भगवान बुद्धकै जीवनकालमा नै बुद्ध धर्मले प्रवेश पाएको वा विकास भएको अनुमान गरिएको छ । यसका लागि छैठौं–चौथो शताब्दी ईसापूर्व पश्चिमी र दक्षिणी भारतसँग जोड्ने व्यापार मार्गहरूमा भिक्षुहरू यात्रा गर्दथे उनीहरुले नै यहाँ बुद्धको ज्ञान फैलाएको हुनु पर्दछ ।

मौर्य काल ः मध्य प्रदेशको बुद्ध धर्मको प्रमाणिक इतिहास सम्राट अशोकको कालदेखि शुरु हुन्छ । ईसापूर्व तेस्रो शताब्दीमा उनले नै यहाँ बौद्ध धर्मको पहिलो विस्तारमा उर्जा प्रदान गर्यो भन्न पनि सकिन्छ ।

सम्राट अशोक र मध्य प्रदेशको बुद्ध धर्म
विशेष गरीे मध्य प्रदेशको बुद्ध धर्मको इतिहासको बारेमा अध्ययन गर्दा सम्राट अशोकको देनको बारेमा कुरा गर्नुपर्ने हुन्छ । मध्य प्रदेशमा बुद्ध धर्मको विकास गर्नमा उनको योगदान उल्लेखनीय छ । उनको योगदानको प्रमाण अहिले विदिशा तथा साँचीमा देख्न पाइन्छ ।
इसापूर्व तेश्रो शताब्दीमा अशोक आफ्नो जीवनकालमा राजकाज सम्हाल्नु भन्दा पहिले यहाँको एक प्रशिद्ध नगर उज्जैनको गभर्नरको रुपमा काम गर्न पुगेका थिए । त्यहाँ उनले विदिशा नगरमा देवी नामक स्थानीय महाजनकी छोरीसँग विवाह गरे । उनी बौद्ध थिइन् र उनको प्रभावले समेत अशोकले बुद्ध धर्मको अवलम्बन गरेको र धर्म प्रचार गरेको भनेर भनिन्छ । यहाँ उसले विशाल स्तुपको निर्माण गर्न लगाए, जसलाई आज साँचीको स्तुप भनेर चिनिन्छ । यसबारे तल अलि विस्तृत रुपमा चर्चा गरिने छ ।

Press enter or click to view image in full size

साथै यहाँ अशोकका तीन महत्वपूर्ण शिलालेखहरु पाइएका छन् — गुजर्रा, रुपनाथ तथा पंगुरारियामा । ती अभिलेखरुले पनि त्यसबेला यो ठाउँ बौद्ध दृष्टिकोणबाट महत्वपूर्ण थिए भन्ने जनाउँछ ।

यसबाहेक उनले यस क्षेत्रभरि नै स्तूप, विहार र स्तम्भहरू निर्माण गरे वा गराए । यहाँ पाइने धेरै प्राचिन शिलालेखहरू उनैसँग सम्बन्धित छन् (जस्तै, साँची, सहस्त्रम, उदयगिरी आदि) । यसबेला यहाँको राज्यले बुद्ध धर्मलाई संरक्षण तथा अभिभावकत्व प्रदान गरेकोले यहाँ बुद्ध धर्म यसरी फैलिन सकेको हो भन्न सकिन्छ ।

शुङ्ग र सतवाहन कालखण्ड ः मौर्यकाल पछिःईसापूर्व दोस्रो शताब्दी–ईसापूर्व दोस्रो शताब्दीमा यहाँका शुङ्ग र सतवाहन वंशले बुद्ध धर्मलाई संरक्षण नै प्रदान गरे । शुङ्गहरूले साँचीका स्तूपहरू विस्तार गरे र सुन्दर ढंगले कुँदिएका प्रवेशद्वारहरू थपे । अमरावती, साँची र भरहुत जस्ता स्तूपहरूमा वास्तुकला विकासलाई निरन्तरता दिँदै सातवाहनहरूले बौद्ध धर्मलाई पनि समर्थन गरे । यसले यसबेलासम्म यहाँ बुद्ध धर्मको स्थिति राम्रै थियो भन्न सकिन्छ ।

कुषाण र गुप्त काल ः ईसापूर्व पहिलो–छैटौं शताब्दीमा यहाँ कुषाण तथा गुप्त वंशले शासन गरे । कुषाण कालमा मध्य प्रदेशमा बौद्ध धर्म जीवन्त रह्यो, यद्यपि हिन्दू परम्पराहरू पनि फस्टाए । यस समयालाई दुबै धर्महरु समानान्तर रुपमा विकास हुँदै गएको अवस्था भन्न सकिन्छ ।

मध्य प्रदेश गुप्तहरूको अधीनमा रहँदा यहाँको कला अझ परिष्कृत भयो । यसबेला यहाँ बौद्ध र हिन्दू वास्तुकला शैलीहरूको मिश्रिण विकास भयो । गुप्तकालमा यहाँ बनेका उल्लेखनीय बौद्ध सम्पदाहरुको नाम लिनुपर्दा यहाँको धार जिल्लामा रहेका बाघ गुफाहरूको नाम लिन सकिन्छ, जहाँ अजन्ताका गुफाहसँग मिल्दोजुल्दो चित्रहरू भएका बौद्ध विहारहरू निर्मित छन् । त्यस्तै किसिमले यहाँका उदयगिरी गुफाहरूमा पनि केही बौद्ध कलाकृतिहरु पाइन्छन् ।

मध्य काल ः मध्य कालमा अर्थात् ७ औं–१२ औं शताब्दी ईस्वीमा मध्य प्रदेशमा बौद्ध धर्म, शैव धर्म, वैष्णव धर्म र जैन धर्मसँगै विकास भयो र तिनीहरुका बिचमा धार्मिक समन्वय पनि रह्यो ।

हुयेन साङले देखेको मध्य प्रदेशको बुद्ध धर्म

भारतका थुप्रै बुद्ध धर्मको अध्ययन गर्नका लागि सातौ शताब्दीका चीनिया यात्री हुयेन साङ (जुआनजाङ)को यात्रा वृतान्त्र मार्गदर्शक जस्तै भएको छ । उनकै वर्णनको आधारमा थुप्रै बौद्ध तीर्थस्लको पहिचान भएको हामीलाई थाहा छ ।

उनले आफ्नो विशाल यात्राको क्रममा मध्य प्रदेश प्रदेश मा पनि भ्रमण गरे र त्यहाँको बुद्ध धर्मको अवस्थाको बारेमा महत्वपूर्ण विवरणहरू प्रदान गरेको छ । उनको वर्णन विशेष गरी मालवा र उज्जैन क्षेत्रहरूमा केन्द्रित छ । उनको वर्णनले सातौं शताब्दीमा मध्य प्रदेशमा बुद्ध धर्मको अवनति शुरु भइसकेको देखाउँछ । उनका अनुसार यहाँका शासक विष्णुको उपासक थिए र क्षत्रिय जातका थिए । यसले त्यसबेला वैष्णव धर्मले राजकीय संरक्षण पाएको अवस्थालाई औंल्याउँछ । तर पनि त्यसबेला बौद्ध र वैष्णवहरू बीच शान्तिपूर्ण सह–अस्तित्व थियो भन्ने देखिन्छ ।

त्यसबेला मालवा क्षेत्रमा अर्थात् नर्मदा नदी वरपर लगभग १०० वटा विहार थिए र त्यहाँ करिब २००० भिक्षुहरू बस्थे । ती विहारहरु धेरैजसो हिनयानसँग सम्बन्धित थिए । उनले त्यहाँ बौद्ध विहारहरू भएको वर्णन गरे, यद्यपि तिनीहरू प्रायः सबै संरक्षणको अभावमा पतनको अवस्थामा थिए पनि भने । यसको अर्थ त्यसबेला बुद्ध धर्म नाश नै त भैसकेको थिएन तर उनले त्यसबेला गरेको अन्य क्षेत्रहरुको तुलनामा यहाँ बुद्ध धर्म कमजोर भइसकेको देखिन्छ । त्यस्तै गरेर उज्जैन राज्यमा पनि केही विहारहरू मात्र बाँकी रहेको अनि त्यहाँ पनिे बौद्ध समाजको विग्रँदै गएको अवस्थालाई नै संकेत गरेको पाइन्छ ।

कमजोर अवस्थामै भएपनि मध्यप्रदेशमा कमसेकम पनि १२औं शताब्दीसम्म बुद्ध धर्म प्रचारमा थियो । इस्वीको ११०० तिर त्यहाँ एउटा बुद्धमूर्ति स्थापना गरिएको प्रमाण पाइएको छ । तर यसले त्यसबेला अन्य धर्मको अतिक्रमणलाई रोक्न सकेन ।

मध्य प्रदेशमा बौद्ध धर्मको पतन
इसाको तेश्रो शताब्दीदेखि बुद्ध धर्मको प्रचार प्रसार भइ एउटा बलियो बौद्ध समाज बनेको मध्य प्रदेशमा यो चीरस्थायी रहन सकेन । विशेष गरी मौर्य, शुङ्ग, सातवाहन र गुप्त कालखण्डमा बौद्ध शिक्षा राम्रोसँग विकास भएको मध्य प्रदेशमा लगभग ७औ शताब्दीदेखि बुद्ध धर्म कमजोर हुँदै लगभग १२औ शताब्दी पछि यहाँ बौद्ध धर्मको प्रभाव घट्दै गएको देखिन्छ ।

हुन त यो समयमा भारत भरी नै बुद्ध धर्मको प्रभाव घट्दै गएको थियो । जहाँ भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो त्यही देशमा यसरी केही सय वर्षको अवधिमा एक ताका त्यति विशाल क्षेत्रमा फैलिएको बुद्ध धर्म यसरी लोप हुन कम सहस्यको कुरा होइन । यसबारे धेरै अध्ययन अनुसन्धान अनि अनुमान गरिए । सरसरी अध्ययन गर्दा यहाँ बुद्ध धर्म कमजोर हुँदै जानुको पछाडि निम्न कारणहरू देखिन्छ ।

१. राजकीय संरक्षणको अभाव ः मध्य प्रदेशमा बौद्ध धर्म मुख्यतया बलियो राज्य समर्थनको कारणले फस्टाएको थियो । मौर्य पछि शुङ्ग, सतवाहन, कुषाण र गुप्त कालमा बुद्ध धर्मलाई आदर गर्ने राजाहरु थिए । त्यसमा पनि कुषाण र गुप्त राजाहरु धार्मिक रुपमा सहिष्णु थिए तर पनि बौद्ध धर्म भन्दा ब्राह्मणवादी परम्पराहरूलाई बढी मन पराउँथे । त्यसपछि गुप्तपछिका राजवंशहरू (जस्तै, परमर, कालाचुरी र चंडेला) ले शैव धर्म र वैष्णव धर्ममा ठूलो लगानी गरे । यसको सिधा अर्थ यो थियो कि उनीहरुले बौद्ध विहार र भिक्षुहरुलाई सम्मान, भूमि, अनुदान र सुरक्षा दिन बन्द गरे । अनि संरक्षणको अभावले पहिले उन्नत कालमा बनाइएका साँची, भरहुत र बाघ गुफा जस्ता बौद्ध स्मारकहरूलाई प्रत्यक्ष असर गर्याे । स्वभाविक थियो, मन्दिरहरू तथा धर्मगुरुहरुले ठूलो राजकीय संरक्षण प्राप्त गरे र तिनीहरु शक्तिशाली सांस्कृतिक केन्द्रहरू बने ।

२. ब्राम्हण धर्महरुमा पुनरुत्थान र सुधार ः ७औं र १२औं शताब्दीको बीचमा मध्यप्रदेशमा ब्राम्हण धर्महरुमा पुनरुत्थान देखियो । त्यसबेलाका शैव धर्म, वैष्णव धर्म, शाक्त धर्महरुमा केही सुधारहरु भए, त्यसका गुरु वा अभियन्ताहरुले धेरै परिश्रम गरेर समाजमा आफ्ना धर्मको महत्वबारे प्रचार गरे । तिनीहरुले आफ्ना धर्ममा धेरै बौद्ध मूल्यहरू (करुणा, अहिंसा) र दार्शनिक अवधारणाहरूको समिश्रण गरेर देखाए । यसरी हेर्दा एकातिर बौद्ध विहारहरूको सामाजिक आधार घट्दै गएको थियो भने अर्कोतिर मानिसहरू बिस्तारै पुनर्जीवित ब्राम्हण धर्म अभ्यासहरूतिर आकर्षित हुँदै गए । जुन धर्मलाई शासकले मन पराउँछ अनि राज्यले प्रश्रय दिन्छ समाज त्यतैतिर ढल्किनु स्वभाविक थियो ।

३. विहारहरूको आन्तरिक पतन ः यहाँको बुद्ध धर्ममा मानिसका आकर्षण घट्नुमा केही हदसम्म यहाँका विहारहरु वा धार्मिक संस्थाहरु वा बौद्ध गुरुहरुको पनि कमजोरी थियो । राज्यले सहयोग नगरेपछि यहाँका विहारहरुको स्रोतहरू घट्दै गयो, भिक्षुहरुको जीवन सुखमय नभएपछि संख्यामा पनि ह्रास आयो, उनीहरु पहिले जस्तो अध्ययनशील अभ्यासी पनि रहेनन्, जसले गर्दा तिनीहरुले समुदायहरूलाई धर्ममा कायम राख्न सकेनन् ।

४. बुद्ध शिक्षा, पाण्डुलिपि संरक्षण, र कलात्मक गतिविधिमा कमी ः विभिन्न कारणले त्यसबेलाका विहारहरु भिक्षुसंघलाई संरक्षण त नभइरहेको अवस्था नै थियो । त्यसका साथै वा त्यसैको कारणले पनि बौद्ध विहार तथा संस्थाहरुमा बुद्ध शिक्षामा ह्रास आउन थालेको थियो । बुद्धको शिक्षा दर्शन र त्यस अनुरुपको जीवनशैली छोडेर मानिसहरु बिस्तारै परम्परावादी, कर्मकाण्डी अनि भाग्यवादी हुन थालेका थिए । बुद्धका बचन भएका ग्रन्थहरु पढ्ने र संरक्षण गर्ने काम कम भए । मानिसहरुमा कलात्मक बुद्ध मूर्ति तथा विहारहरु बनाउने तथा संरक्षण गर्ने जाँगर कम हुँदै गयो । यसैताका १२औ शताब्दीमा नालन्दा जस्ता महत्वपूर्ण अध्ययन केन्द्रहरु नाश भए, यसको प्रभाव बिस्तारै समस्त भारतमा पर्न थाल्यो । यस्ता घटनाहरुले सिङ्गो बौ समाजले नै अभिभावक गुमाएको जस्तो अवस्था आएको थियो । फलस्वरुप मध्य प्रदेशमा विहारहरू परित्याग गरिए अनि धार्मिक क्रियाकलाप तथा अध्ययन अध्यापनको अभावमा ती सम्पदाहरु समेत बिस्तारै नाश हुँदै गए ।

४. भिक्षु संघ तथा सामाजको बिचको सम्बन्धमा चिसोपन ः भगवान बुद्धको जीवनकालदेखि केही मानिसहरु गृहस्थजीवन त्यागेर प्रवजित हुन्थे, पूरा जीवन धर्म अभ्यास तथा प्रचार अनि समाजमा बुद्धका शिक्षा फैलाउन अर्पण गर्थे । अनि अरु सामान्य गृहस्थ जीवन बिताउँथे र भिक्षुहरुलाई आवश्यक बस्तु दान दिएर सन्तुलन बनाउँथे । यसका लागि समाजमा बुद्ध शिक्षा शिक्षणको लागि भिक्षुहरू तथा उनीहरुको जीवन निर्वाहका लागि दान दिन उत्साह भएका सामान्य मानिसहरू आवश्यक हुन्छ । यो अवस्थामा एकातिर भिक्षुहरूको संख्या घट्दै गइरहेको थियो, बुद्धको सिद्धान्त फैलाउने गुरुहरु कम हुन थाले । सम्भवतः यसबेला बौद्ध भिक्षुहरुले पनि अध्ययन अध्यापन र बुद्धको शिक्षा प्रचार प्रसारमा कम ध्यान दिन थाले । त्यो भनेको समाजमा बुद्ध धर्म र भिक्षुप्रति श्रद्धा कम हुँदै गयो अनि ग्रामीण क्षेत्रहरूका समाजमा बुद्ध धर्मले आफूलाई जागाउन सकेन ।

५. तान्त्रिक अभ्यासहरूको उदय ः लगभग ७ औं शताब्दी पछिबाट सिङ्गो भारतमै बुद्ध धर्मले नयाँ नयाँ चुनौतिहरु सामना गर्नु पर्यो । त्यस मध्ये एक भनेको अनित्य, दुख र अनात्ममामा केन्द्रित बुद्धको शिक्षामा अस्वभाविक ढंगले मूर्तिमा देवत्व देख्ने, विभिन्न देवी देवताको सिर्जना गर्ने, ग्रन्थ पाठ गरेर वा पूजा गरेर, मन्त्र पाठ गरेर वा गुह्य पूजा गरेर सिद्धि पाउने, बुद्ध नै बन्नसक्ने भन्ने जस्तो नयाँ धारणाहरु विकासित भए । ःसमग्रमा भन्नु पर्दा वज्रयान र तान्त्रिक अनुष्ठानहरूको वृद्धि.भयो, बुद्ध धर्म पनि ब्राम्हण धर्म जस्तो कुनै मूर्ति विशेषलाई पूजा गरेर, आराधना गरेर फल पाउने धर्म बन्न गयो । यति भएपछि बुद्धको शिक्षा र द्रुतगतिमा समाजमा फैलिन थालेको ब्राम्हण धर्मका बिचमा अन्तर कम भयो र फलस्वरुप भक्ति मार्गमा लाग्नेहरु सबै एकै जस्तो भए बौद्ध धर्मको आकर्षण कम भयो ।

Become a Medium member

६. बाहिरी आक्रमण र राजनीतिक अस्थिरता ः इसाको १० औं शताब्दीपछि मध्य प्रदेश लगायत मध्य भारतले धेरै आक्रमणहरूको सामना गर्योः । पहिला राजपूतहरुले, पछि तुर्किक र अफगान शासकहरूबाट र मुस्लिम आक्रमणहरूले त्यसबेलाको धार्मिक समाजलाई तहसनहस पार्यो । ती आक्रमणहरु प्रत्यक्ष्य रुपमा बुद्ध धर्मलाई विशेष रूपमा लक्षित थिए वा थिएनन् तर यी राजनीतिक अस्थिरताले गर्दा यस क्षेत्रको व्यापार मार्गहरूमा, सदियौंदेखि चल्दै आएको स्थानीय अर्थतन्त्रहरू तथा राज्यले मठहरूमा दिइने दान वा सहयोगमा कमी आयो । यी कारणहरुले पनि पहिले नै कमजोर भइसकेका, बौद्ध केन्द्रहरूमा थप ह्रास पुग्यो ।

यी कुराहरुले गर्दा एक हजार भन्दा बढी वर्षसम्म समस्त भारतकै सभ्यताको रुपमा विकसित भएको बुद्ध धर्म क्रमशः कमजोर हुँदै, नाश हुँदै गयो । र यसरी हेर्दा १२ औं–१३ औं शताब्दी ईस्वीसम्ममाः समस्त भारतमा जस्तै मध्य प्रदेशमा पनि बुद्ध धर्म बिलाएर गयो । कुनै बेला टाढा टाढादेखि तीर्थाटन गर्न, यहाँका गुरुहरु भेट्न, अध्ययन गर्न आउने माध्यमका रुपमा रहेका यहाँका अमुल्य धार्मिक सम्पदा धमिलो हुँदै गए, मानिसहरुले यी सम्पदाहरुलाई बिर्सेर गए । त्यसपछि यहाँका अधिकांश बौद्ध प्रतिष्ठानहरू, जस्तै — सांची, भरहुत, धमनार, सातधारा, बाघ गुफाहरू — पूर्ण रूपमा माटोमा पुरिए ।

मध्य प्रदेशका केही बौद्ध सम्पदाहरु
कुनै बेलामा समस्त बौद्धहरुको श्रद्धाको केन्द्र बनेका तर पछि त्यहाँको समाजले बिर्सेर गएका बौद्ध सम्पदाहरु पूर्ण रुपमा नाश भने भएका छैनन् । पछि मानिसहरुले इतिहासको महत्व र यी सम्पदाहरुको अवशेषको महत्व बुझ्न थालेदेखि यहाँ पनि विशाल स्तरमा अध्ययन अनुसन्धान र उत्खनन् गरिए । र यसको फलस्वरुप अहिले यहाँ पुरानो बौद्ध सभ्यताको जीवन्तता झल्काउने अवशेषहरु पाइएका छन् ।

मध्य प्रदेशमा अवस्थित केही महत्वपूर्ण बौद्ध सम्पदा स्थलहरू यसप्रकार छन् ।

साँची स्तुप ः
साँची स्तुप मध्य प्रदेशमा बौद्ध धर्मको इतिहासको सबैभन्दा बलियो प्रमाण हो । अनि यो आज संसारको सबैभन्दा पुरानो र सबैभन्दा राम्रो संरक्षित बौद्ध परिसरहरू मध्ये एकको रूपमा पनि चिनिन्छ । त्यसैले त यो विश्व सम्पदा सूचिमा सुचिकृत पनि छ ।

सांचीको महान स्तूप, मूल रूपमा अशोकद्वारा बनाउन लगाइएको थियो । यसमा शुङ्ग र सातवाहन कालमा निर्माण गरिएका प्रवेशद्वारहरू (तोरणहरू) अझ बढी महत्वपूर्ण छन् र त्यसमा कुँदिएका प्रतिकात्मक चित्रहरुका कारण अध्ययन गर्न लायकका छन् । यो त भारत र बाहिरका भिक्षुहरू, विद्वानहरू र तीर्थयात्रीहरूको लागि पनि एउका केन्द्र बनेको छ । यसले प्रारम्भिक बौद्ध कला र वास्तुकलालाई प्रतिनिधित्व गर्दछ ।

Press enter or click to view image in full size

साँची स्तुपको बारेमा सम्भवतः सबैभन्दा पहिले जनरल टेलरले सन् १८१८मा गरेका थिए । त्यसपछि अलेक्जेन्डर कनिङघमले एफसी मेस्लेसँग मिलेर सन् १८५१मा उत्खनन् गरे । त्यसपछि सर जोन मार्शलले पनि सन् १९१२मा गरेको थियो । त्यसपछि क्रममिक रुपमा यसको जीर्णोद्धार भयो ।

भरहुत स्तूप ः
मध्य प्रदेशमा साँची जस्तै महत्वपूर्ण स्तुप भरहुत हो । यो यहाँको सान्ता जिल्लामा सान्ता नगर भन्दा २३ किलोमिटरको दुरीमा अवस्थित छ । यसलाई भारतकै सबैभन्दा पुरानौ बौद्ध कलाको नमुनाको रुपमा चिचिन्छ । यसको निर्माण इसापूर्व १२५ तिर भएको भनेर पुरातत्वविद्हरुले भनेका छन् । कसैले यसलाई इसाको पहिलो शताब्दीको पनि भनेका छन् । यहाँ भेटिएका अवशेषहरुका आधारमा यहाँ कुनै बेला विशाल र कलात्मक स्तुप थियो भन्ने प्रमाणित गर्दछ । यसको तुलना साँचीको दोश्रो स्तुपसँग गरिन्छ । यसको कलात्मक तोरण तथा रेलिङको कारणले पनि यो बढी प्रख्यात भएको छ ।

Press enter or click to view image in full size

तर दुर्भाग्यको कुरा, यसको उत्खनन् हुँदासम्म यसको धेरै भन्दा धेरै भागको नाश भइसकेको थियो । अहिले यहाँ जमिनमा केही अवशेषहरु मात्र छन् र यो एक पुरातात्विक स्थलको रुपमा संरक्षित छ । यहाँ भेटिएका धेरै कलाकृतिहरु कलाकत्तास्थित भारतीय संग्रहालयमा सजाएर राखिएका छन् ।

धमनार गुफाहरु ः
बुद्ध धर्ममा अगाढ श्रद्धा भएका भिक्षुहरुले शहरी जीवन भन्दा टाढा जंगल नजिक पहाडी भित्राहरु फोडेर कोपेर भित्र कोठा बनाइ त्यहाँ अध्यास गर्ने गर्थे । मध्य प्रदेशका यस्ता गुफाहरु मध्ये धमनार गुफाहरु मुख्य हुन् । यी गुफाहरु मनसोर जिल्लाको मनसोर गाउँबाट २२ किलोमिटर टाढा जंगली क्षेत्रमा अवस्थित छन् ।

धमनार गुफाहरू भन्नाले चट्टानहरू काटेर बनाइएका ५१वटा गुफाहरूको समुह हो । यो कुल १४ वटा ठूला र ३७ वटा साना गुफाहरू मिलेर बनेको छ । ५औं देखि ७औं शताब्दीमा निर्मित यी गुफाहरूमा कुनै प्रार्थना हलका रुपमा छन्, कुनैमा स्तूप र विभिन्न आकारका बुद्धका मूर्तिहरूमा कुँदिएका छन् । यी गुफाहरूको निर्माण बुद्ध पूजा तथा ध्यान गर्नको लागि बनाइएका हुन् । यसले बुद्ध धर्मका अनुयायीहरूको पूजा र सेवामा समर्पित शिल्पकलाको प्रमाण पनि दिन्छ । ती मध्ये केही गुफाहरु भिक्षुहरुको आवासको लागि प्रयोग गरिन्थ्यो ।

यी गुफाहरुका बारेमा अन्वेषक जेम्स टोडले सन् १८२१मा उल्लेख गरेका थिए । पछि सन् १८४५मा जेम्स फार्गुसनले तथा सन् १८५४तिर एलेक्जेन्डर कनिङघमले पनि वर्णन गरे ।

बाघ गुफाहरूः
भारतका बौद्ध भिक्षुहरुको गुफामा बस्ने अनि त्यहाँ धर्म अभ्यास गर्ने पुराना परम्परा छ । त्यस्तै केही विशेष बौद्ध गुफाहरु मध्य प्रदेशमा पनि छन् । ती मध्ये प्रख्यात र उल्लेखनीय गुफाहरु धार जिल्लाको बाध नगरमा रहेका बाध गुफाहरु हुन् ।

Press enter or click to view image in full size

यहाँको बाघमा यी गुफाहरु अवस्थित छन् । यी संरचनाहरु चट्टानहरूबाट बनाइएका छन् र यहाँका भित्ते चित्रहरुका कारणले यो प्रख्यात छन् । पहिले यो ९ गुफाहरूको समुह थियो, जसमध्ये आजभोलि केवल ५ वटा मात्र संरक्षित रुपमा छन् । स्थानीयहरुमा बुद्ध धर्मप्रति श्रद्धा र चासो कम हुँदै गएपछि बाँकी गुफाहरू समय बित्दै जाँदा हराएका हुन सक्छन् ।
यी गुफाहरूमा भएका कलाका उत्कृष्ट उदाहरणहरू मध्ये एक मानिन्छन् । यी गुफाहरू पाँचौं देखि सातौ शताब्दीको बीचमा निर्माण भएका थिए भनेर भनिन्छ । यिनीहरु बौद्ध भिक्षुहरूले उनीहरूको बस्ने ठाउँको रूपमा बनाएका हुनसक्छन् । यसरी भिक्षुहरु बस्ने विशेष संरचनाहरुलाई विहार भन्ने गरिन्छ ।

यी गुफाहरूको सबैभन्दा मनमोहक भागहरू भनेको यहाँका भित्तामा कोरिएका भित्ते चित्रहरू हुन् । टेम्पेरा प्रविधि अनुसार बनाइएका यी चित्रहरु माटोको प्लास्टरमाथि विशेष रंगबाट बनाइएका थिए । यसले त्यसबेला सम्म यहाँ बुद्ध धर्म जीवित र विकासकै अवस्थामा थियो भन्ने पनि प्रमाणित गर्छ । यी गुफाहरू १९ औं शताब्दीमा पत्ता लगाइएका थिए ।

सतधारा ः
मध्य प्रदेशका बौद्ध स्मारकहरु मध्ये सतधारा अर्को हो । यहाँको रायसेन जिल्लमा साँची स्तुप भन्दा करिब ९ किलोमिटरको दुरीमा रहेको यो अहिले एक पुरातात्विक स्थल हो जुन बौद्ध धर्मको लागि यसको ऐतिहासिक र आध्यात्मिक महत्वको लागि परिचित छ ।

Press enter or click to view image in full size

यो अहिले यहाँ भएका स्तूपहरूको अवशेषका लागि परिचित छ । पहाडको टुप्पोमा अवस्थित यस स्थलमा अहिले एक मुख्य विशाल स्तूप, एक विहारको भग्नावशेष र एक मन्दिर जस्तो संरचनाको भाग देख्न पाइन्छ । यस क्षेत्रको वरिपरि लुकेका थप स्तूपहरू समेत गरेर यहाँ अहिले समग्रमा कुल ८ वटा स्तूपहरूका अवशेष छन् । त्यसभन्दा पहिले यहाँ बुद्ध धर्मको विकास भएको बेलामा यहाँ लगभग ३० वटा स्तूप र १०० भन्दा बढी भिक्षुहरू रहेको भनिन्छ । यी स्तुपहरु सम्राट अशोकको शासनकालमा निर्माण गरिएको हो कि भनेर अनुमानमा गरिएको छ । यो स्तूप परिसरले यहाँ धेरै पहिले बौद्ध भिक्षुहरूलाई आश्रय दिएको प्रमाण देखाउँछ ।

देवरकोठार स्तुप अवशेषहरु ः
मध्य प्रदेशमा सम्राट अशोकको कीर्ति देखाउने अर्को महत्वपूर्ण स्थल देवरकोठार स्तुप अवशेषहरु हुन् ।

यहाँको रेवा जिल्लामा अवस्थित यस क्षेत्रमा अहिले करिब ३० वटा ठुला साना गरी ढुंगा तथा इँटाले बनाइएका स्तुपहरुको अवशेष भेटिन्छन् । यहाँ भएका स्तुप अवशेष मध्ये सबैभन्दा ठुलो स्तुप ३० फिट अग्लो छ । यसका साथै ६३वटा ढुंगाका संरचानाहरु अनि ढुंगा चित्रकलाहरुका प्नि देख्न पाइन्छ । कुनै कुनैमा ब्राम्ही लिपिमा लेखिएका अभिलेखहरु पनि छन् । यहाँ भएका अभिलेखहरु मध्ये एउटामा “भगवतो बुध” भन्ने शब्द परेको छ जसलाई भगवान बुद्धको नाम उल्लेखित सबैभन्दा पुरानो प्रमाण समेत भनिन्छ ।

Press enter or click to view image in full size

यो स्तुप समुह हजारौं वर्षसम्म लुप्त अवस्थामा रहेको मा सन् १९८२मा भारतीय पुरातात्विक सर्भेका पिके शर्माले पत्ता लगाएका थिए । यसलाई अहलिे राष्ट्रिय महत्वको स्मारकको रुपमा संरक्षण गरिएको छ ।

बर्तमान अवस्थामा मध्य प्रदेशमा बुद्ध धर्म
मध्य प्रदेश यहाँको बुद्ध धर्मको लामो इतिहासमा गौरव गर्दछ तर अहिलको अवस्थामा हेर्ने हो भने यहाँ इतिहासको प्रतिविम्ब देखाउने गरी बुद्ध धर्मको प्रभाव देखिँदैन । हजारौं वर्षसम्म मध्य प्रदेशका जनताले बुद्ध, बुद्धको जीवनी धर्म र दर्शनलाई चटक्कै बिर्से । तर पनि अहिले डा भिमराव अम्बेडकरले बुद्ध धर्मको पुनर्जागरणको लागि बृहत् अभियान चलाएपछि त्यसैको प्रभावमा यहाँ अहिले बुद्ध धर्मको पुनर्जागरण भएको देख्न सकिन्छ ।

यद्यपि यहाँको विशाल जनसंख्याको अनुपातमा यहाँको बौद्ध जनसंख्या नगण्य नै छ । भारतको सन् २०११को जनगणना अनुसार यहाँ आफलाई बौद्ध लेखाउनेहरुको संख्या २१६,०५२ छ जुन यहाँको कुल जनसंख्याको ०.३ प्रतिशत मात्र हो ।

Press enter or click to view image in full size

डा. अम्बेडकरको जन्म यही मध्य प्रदेशको महू भन्ने ठाउँमा भएको थियो । यसलाई अहिले डा अम्बेडकर नगरको रुपमा विकास गरिएको छ । त्यसकारण पनि यहाँ बुद्ध धर्मको जागरण बढिरहेको छ । यहाँ अम्बेडकरले शुरु गरको बुद्ध धर्मको नवयानको उल्लेखनीय उपस्थिति छ । यहाँको बौद्ध गतिविधिहरु महूमा रहेको भीम जन्मभूमि स्मारकमा केन्द्रित छ । यस क्षेत्रमा ठूलो मात्रामा बौद्ध धर्म परिवर्तन भएको छ र यहाँ विशेष गरी तल्लो जातका हिन्दुहरु बाट धर्म परिवर्तन गरेर आएका बौद्ध अनुयायीहरू फस्टाइरहेको छ ।

मध्य प्रदेशमा अम्बेडकर बौद्ध धर्मका प्रमुख पक्षहरू
मध्य प्रदेशमा भीम जन्मभूमि छ । यो स्मारक डा. अम्बेडकरको जन्मस्थल महूमा अवस्थित छ र उनका अनुयायीहरूका लागि एक प्रमुख तीर्थस्थल हो । यसको निर्माण २००७ मा पूरा भएको थियो र अम्बेडकरको ११७औ जन्म शतवार्षिकीको अवसर पारेर २००८मा यसको उद्घाटन गरेको भयो ।

यसैलाई आधार मानेर यहाँ मध्य प्रदेशमा अम्बेडकरवादी बौद्ध आन्दोलनलाई पछ्याउने ठूलो जनसंख्या छ । यसबाहेक यहाँ अन्य बौद्ध स्थलहरू छन्, जसमा नागपुरमा रहेको सांची स्तूपको प्रतिकृति बनाइएको छ, जुन अम्बेडकर बुद्ध धर्मको इतिहासमा एक महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो ।

यो राज्य अहिले बौद्ध सम्मेलनहरूको केन्द्र भएको छ, हालका वर्षहरूमा हजारौं मानिसहरूले बौद्ध धर्ममा धर्म परिवर्तन गरेका छन्, जसले राज्यमा बौद्ध उपस्थितिलाई अझ बलियो बनाएको छ । यो भनेको बौद्ध धर्मको माध्यमबाट दलित समुदायलाई उत्थान गर्ने अम्बेडकरको अभियानको निरन्तरता पनि हो ।

तसबिरहरु लेखको तथा इन्टरनेटबाट साभार गरिएका हुन् ।

“Buddhism in Madhya Pradesh of India”, published in Nepal’s Buddhist monthly magazine “Anandabhumi in 2025 December

No comments:

This is me, Thank you Gemini