Sunday, December 19, 2021

जेन बुद्ध धर्मको सामान्य परिचय

Dec 19, 2021·11 min read


 राजेन मानन्धर

बुद्ध धर्म सम्बन्धी सामान्य जानकारी लिएकाहरुलाई थाहा छ, बुद्ध धर्म भनेको अनुभवमा आधारित धर्म हो । यसलाई प्रत्यक्ष, तत्काल फालदायी र कसैलाई पनि आउ र परिक्षण गरेर हेर भन्न सकिने खालको हो भनिन्छ । यसको अर्थ बुद्धको ज्ञान किताबी सिद्धान्तहरुमा भन्दा पनि स्वयम् अनुभव गरेर हेर्नुमा छ । त्यो भनेको ध्यान नै हो । त्यसैले त बुद्ध शिक्षामा शील, सामाधी र प्रज्ञालाई महत्वपूर्ण मानिन्छ ।

हामी कहाँ बुद्ध धर्मलाई हिन्दु जसतो धर्मको रुपमा मानिन्छ, जहाँ एक प्रकारको मूर्ति स्थापित गरिन्छ, फूल, सिन्दुर, टिका लगाइदिइन्छ र भगवान मलाई यो चाहियो वा यस्तो गरिदिनुस् भन्ने प्रार्थना गरेर उहाँले कतै बसेर हाम्रो इच्छा पुरा गरिदिनुहुन्छ भन्ने विश्वास गरिन्छ । अझ कति त यति गरेकै भरमा आफुले मार्गफल पाउने मात्र होइन, बुद्ध नै बन्न सकिन्छ अनि जगतकै हित गर्न सकिन्छ भनेर पनि सोच्छन् । तर यस्तो गर्नेले आफुले आफैलाई हेर्न आफ्नो शरिरमा भइरहेका परिवर्तनलाई भने हेर्न चाहँदैनन् । अधिकांश बौद्धहरुको अवस्था यस्तो देखिन्छ यहाँ ।

भगवान बुद्धको परिनिर्वाणको केही समय पछि नै यसै बुद्धशिक्षा समाजमा फैलाउन जीवन अर्पण गर्ने भिक्षुहरुका बिचमा वैचारिक भिन्नता भएर आआफ्नै दर्शनको निर्माण भयो, जसको फलस्वरुप विभिन्न निकायहरु खडा भए । यसका साथै कालान्तरमा बुद्धधर्मको क्षेत्र हिन्दु धर्म जस्तो नेपाल र भारतमा मात्र सिमित भएन, यसले भौगोलिक रुपमा यति विस्तार पायो कि यो ग्रिस, इरान पर्सियादेखि लिएर कोरिया जापान सम्म पनि पुगे । कुनै नयाँ ठाउँमा त्यहाँको हावापानी र संस्कृतिले असर गर्यो भने कुनै ठाउँमा त्यहाँ प्रचलनमा रहेको पहिलेको धर्मले असर गर्यो । त्यस्तै किसिमले स्थानीयकरणको कारणले भिन्न जस्तै भएर विकसित भएर गएको बुद्ध धर्मको एक निकाय वा शाखा वा प्रकार जेन बुद्ध धर्म हो जुन विशेष गरेर जापान पुगेर त्यहाँ आफ्नै किसिमबाट विकास हुँदै गयो र अहिले विश्वभर जस्तै आफ्नै मौलिकताले सजिएको सिद्धान्त जस्तै भएर फैलिदै छ ।

समान्य परिचय
जेन बुद्ध धर्म (Zen Buddhism) महायानको आधारमा विकास भएको एक विशेषीकृत बुद्ध धर्म हो जसले ध्यानलाई बढी महत्व दिन्छ । यसको उत्पतिको केन्द्रविन्दु चीन नै भएपनि यसको विकास र प्रचारप्रसार जापानमा भएको पाइन्छ । जेन भन्ने शब्द नै चीनियाँ भाषाको चान् बाट लिइएको हो, जुन पालि वा संस्कृतको ध्यान शब्दबाट गएको वा अपभ्र्रंश भएको मान्न सकिन्छ । संक्षिप्तमा भन्नु पर्दा यसमा अभ्यासकर्ताले आत्मसंयम, ध्यान अभ्यास, मनको प्रकृतिमा अन्तरदृष्टि आदिमा केन्द्रित भएर आचरण गर्नु पर्दछ ।

बास्तवमा जेन वर्तमानको यथार्थमा फर्केर आउने अभ्यास हो, जुन हाम्रो वास्तविक स्वभावको सहजता, अन्तरंगता र सरलतामा फर्केर आउँछ । जेन अभ्यास हाम्रो जीवनभन्दा टाढा हुने बारे होइन, बरु यो अहिले जस्तो छ यही हाम्रो जीवनमा आफ्नो जीवन्तता, सुन्दरता, कठिनाइ, खुशी र दुःखको साथ जस्तो छ त्यस्तै हुने बारेमा हो । जेन भनेको हामी बास्तवमा को हौं, त्यसमा जागृत रहने वा होशमा रहने मार्ग हो । र यो अरुको सेवा गर्ने र जीवन भरीको जिम्मेवारी लिने आकांक्षालाई जागृत गर्ने मार्ग पनि हो । (विलिएम एम बेडिफोर्डको भनाइमा)

सजिलोसँग भन्नुपर्दा जेन बुद्ध धर्म भनेको महायान र ताओवादको मिश्रण हो । यो चीनमा शुरु भएको थियो, कोरिया, जापान र भियतनाममा फैलियो र अब पश्चिमी देशहरुमा लोकप्रिय हुँदै गइरहेको छ । यसले कुनै पुस्तक, गाथा वा ग्रन्थमा नअलमलीकन, तार्किक विचार वा भाषामा नहराइकन सिधै जीवनको अर्थलाई बुझ्ने प्रयास गराउँछ । यसको लागि अरु केही होइन एकदम अनुशासन र जीवनलाई बुझ्ने भित्री चाहनाको आवश्यकता पर्छ । यसलाई सही ढंगबाट अभ्यास गरेमा पूर्ण सहजता र परम स्वतन्त्रता प्राप्त हुन्छ र यस प्राकृतिक सहजतालाई आवेग हो कि भनेर भ्रममा बस्न चाहीँ हुँदैन भनेर भनिएको छ ।

पश्चिमाहरुको कुरा गर्दा यहाँ यो भन्नै पर्छ कि एकातिर उनीहरु जेन र बुद्ध धर्मलाई समानार्थी शब्दको रुपमा लिन्छन् र जेन शिक्षाबाट मात्रै बुद्धको शिक्षालाई सही अर्थमा बुझ्न सक्छ । अर्कोतिर केही मानिसहरु जेनलाई एक दमहल्का कुराको रुपमा लिन्छन् र आफुलाई मन नपर्ने कुरालाई जेन भन्छन् अनि सानो सानो कुरामा अलमलिनेहरुलाई वा छिद्रान्वेषी प्रकारका मानिसलाई पनि जेन भन्छन् । त्यसकारण त क्रिसमस हेम्फसिरले भनेको — जेनलाई गलत बुझ्न एकदम सजिलो छ ।

जेन भनेको गर्ने काम हो । यसलाई कुनै शब्दमा वर्णन गर्न सकिन्न । तर ब्याख्याले भने जेन भनेको के हो भन्ने बुझ्न केही मदत गर्न सक्छ । यहाँ याद राख्नु पर्ने कुरा यही हो कि यो बुझ्न अनुभव नै गर्नुपर्छ ।

यसलाई यसरी बुझ्दा सजिलो होला — जेन बुद्ध धर्मको खाँटी कुरा भनेको यो हो कि हामी सबै मानिसहरु बुद्ध हौं र यो सत्यलाई हामीले आफु भित्रै पत्ता लगाउनु पर्दछ । जेनले ज्ञान लाभ गराउन हामीलाई हामी भित्र पठाउँछ । ज्ञान लाभको लागि हामीले बाहिर खोज्न जरुरी छैन, यसलाई हामी भित्र त्यहीँ पाउन सक्छौं जहाँ हामीले हामी को हौं भन्ने प्रश्न भेट्टायौं । यो भनेको त्यस्तो सत्य हो जुन दर्शनका कुरा छाँटेर, ग्रन्थहरु पढेर, धार्मिक कर्मकाण्डका कार्यक्रमहरुमा भाग लिएर वा त्यस्ता धार्मिक भनिने मानिसहरुले गर्ने जस्ता काम गरेर पाउन सकिँदैन । त्यसैले भनिन्छ कि आफ्नो मनलाई आफ्नो वशमा राख्नु जरुरी छ । मनलाई नियन्त्रण गर्न ध्यान वा अन्य प्रविधिहरु आवश्यक छ जसमा मन र शरिर समावेश गराइएको हुन्छ । यसो गर्दा तार्किक चिन्तन गर्ने काम छोड्नु पर्छ अनि शब्दको जालमा फस्नबाट पनि बच्नु पर्छ ।

जेन बुद्धधर्मको इतिहास

जेन बुद्धधर्मको प्रारम्भिक स्वरुपको निर्माण भारतमा बुद्धधर्ममा दोश्रो देखि छैठौं शताब्दीमा माध्यमिक तथा योगाचार जस्ता दर्शनहरुको विकाससँगै भएको मानिन्छ । सन् १००४मा बौद्ध भिक्षु दाओयुनद्वारा लिखित एक ग्रन्थलाई जेन बुद्धधर्मको परिचय दिने सबैभन्दा पुरानो मौलिक ग्रन्थको रुपमा लिने गरिन्छ । यसले जेन बुद्धधर्मलाई पाँचवटा मुख्य शाखाहरुमा विभाजित गरी भिक्षु तथा भिक्षुणीहरुले अवलम्बन गर्ने धर्मको रुपमा व्याख्या गरिएको छ र उनीहरुले कन्फुसियसको शैलीमा पितृहरुको पूजा गर्ने भनिएको छ । यसमा शाक्यमुनि बुद्ध भन्दा पहिलेका सात जना बुद्धहरुको समेत उल्लेख छ । यसमा पाँचौं शताब्दीमा चीनमा बुद्धधर्मको प्रचार गर्ने बोधिधर्मको नाम समेत जोडिन पुग्छ । उनको समयदेखि अहिलेसम्मको एक जीवन्त बिरासतको रुपमा जेनको विकासक्रमलाई लिइन्छ ।

जेन अभ्यास कर्ताहरु यो जेनधर्म चीनमा भारतीय वा मध्य पश्चिमी भिक्षु बोधिधर्मले इस्वीको छैठौं शताब्दीमा ल्याएको भनेर मान्छन् । यसरी हेर्दा जेनको उद्भव चीनमा ताङ वंश, अर्थात् ७औं देखि १०औं शताब्दीमा भएको थियो । त्यसबेला त्यसलाई त्यहाँ चान् (禪) विचारधारा भनेर मानिन्थ्यो । समय अनुसार यो विकसित र रुपान्तरित पनि हुँदै गयो ।

चीनमा यो छैठौं कुलपति भनेर मानिने हुइनेङ (सन् ६३८–७१३)को समयमा धेरै विकास भयो र ९औं शताब्दीमा यहाँ बुद्धधर्ममाथि उत्पीडन हुन थालेदेखि हराएर जान थाल्यो । इतिहासमा महान् जेन गुरु भनेर चिनिने सबै गुरुहरु यसै अविधि भित्रका पाइन्छन् । पछि पछि पनि चीनमा जेनधर्म त बच्यो तर बिस्तारै त्यो समय अनुसार फेरिँदै गयो ।

भियनताममा बुद्ध धर्म फैलिनुको पछाडि जेन बुद्धधर्मको ठुलो योगदान छ । कोही कोहीले त भियतनाममा तेश्रो शताब्दीदेखि नै जेन बुद्धधर्मको आगमन भएको मान्छन्, कोही भने छैठौं शताब्दी देखि मात्र त्यहाँ जेन बुद्धधर्म भित्रियो भन्छन् । यहाँ यो छैठौ देखि १२औं शताब्दीसम्म प्रख्यात रह्यो । यही जेन बुद्ध धर्मले भियतनाममा थिएन (Thiền) बुद्धधर्मको रुप लियो ।

कोरियामा जेन बुद्धधर्म सातौं शताब्दीको अन्तसम्ममा प्रवेश गर्यो । यहाँ यसलाई सन (선) बुद्धधर्म भनिन्छ । यहाँ भिक्षु पोमनाङ (सन् ६३२–६४६)ले ल्याएको मानिन्छ । कोरियामा भएका २६ बौद्ध निकायहरुमा सन बुद्धधर्म सबैभन्दा ठुलो मानिन्छ । यसलाई तिनीहरु चोग्ये सम्प्रदाय भन्छन् र यसमा कोरियाको ९० प्रतिशत बौद्धहरु पर्दछन् । चोग्ये भनेको दक्षिण चीनको त्यो पर्वत हो जहाँबाट यो धर्मको उद्भव भएको थियो । नवौं शताब्दीमा कोरियामा सन् बुद्धधर्म प्रचारको शिखरमा पुग्यो ।

जापानमा जेन ()बुद्धधर्मले १२औं शताब्दीमा प्रवेश पायो । यसलाई यहाँ जोयो दाइशी वा किगेन दोगेन (सन् १२००–१२५३)ले ल्याएको मानिन्छ । यो यहाँ कामाकुरा युगमा आयो र यसलाई यहाँ सोतो निकायको रुपमा परिचित गराइएको थियो । जापानमा यसले जापानी जेन बुद्धधर्मको रुपमा विकसित हुने मौका पायो । जापानमा मात्रै कमसेकम तीन निकायहरु छन् — ओबाकु, रिनजाइ तथा सोतो । जापानमा यसरी जेन बुद्धधर्मले आफुलाई विकास गर्ने मौका पायो । यही विकासक्रममा फलस्वरुप अहिले जेन बुद्धधर्मलाई जापानको मौलिक धर्मको रुपमा मान्नेहरु पनि छन् । यसको कारण भनेको यसलाई अहिलेको स्वरुपमा ल्याउन तथा यसलाई विश्वमाझ फैलाउन जापानका जेन गुरुहरुको ठुलो योगदान रहिआएको छ । यसरी पश्चिममा जेन बुद्धधर्म फैलाउने काममा मुख्यतयाः दाइसेचु तेइतारो सुजुकी (सन् १८७०–१९६६) तथा शेनरयु सुजुकी (सन् १९०४–१९७१)को योगदान सम्झनुपर्दछ ।

खासगरी पश्चिमी मुलुकमा जेन धर्म जापान हुँदै र जापानी प्रकारको हुँदै विकसित वा विस्तारित हुँदै गएको देखिन्छ । पश्चिमी मुलुकहरुमा जेन शब्द यति प्रचलनमा आइसक्यो कि धेरै मानिसहरु त्यहाँ बुद्ध धर्मको मौलिक रुप भनेकै जेन भन्ने सोच राख्छन् अनि चाहिने नचाहिने ठाउँमा पनि बुद्धको कुरा गर्नुपर्यो कि जेन बुद्धधर्मलाई अगाडि राख्छन् ।

जेनको अभ्यास

जेन बुद्ध धर्मको अभ्यासका विभिन्न विशेषताहरु मध्ये एक यो हो कि यसमा शास्त्रीय शिक्षा दिने काममा निकै कम ध्यान दिने गरिन्छ । यो त कुनै गुरुको प्रत्यक्ष सिकाइबाट नै प्राप्त गर्न सकिन्छ । यसको उद्देश्य तर्कसंगत र बौद्धिक दिमागलाई मानसिक पासोबाट बाहिर निकाल्नु नै हो । यति गर्नाले साधकहरु धेरै जागरूक हुन्छ र आफ्नोे बुद्ध–स्वभाव वा तथागत गर्भलाई महसुस गर्न सक्छ । यति गर्नको लागि कहिलेकाही सामान्य शारीरिक हिंसाको समेत प्रयोग गरेर साधकहरुलाईे बौद्धिकताको फन्दाबाट बाहिर निकालिन्छ ।

जेन साधकहरुको लक्ष्य नै आफु जसरी बाँचिरहेको छ त्यसरी नै ज्ञानलाभ गर्नु हो । यसका लागि उनीहरु मानसिक क्रियाकलापहरुद्वारा दार्शनिक विचार वा बौद्धिक प्रयासको सहयोग विना सत्यसम्म पुग्छन् । कुनै कुनै जेन निकायले एकै क्षणमा ज्ञान लाभ गराउँछ भने कुनै कुनैले एक क्रमिक प्रक्रिया मार्फत ज्ञानलाभसम्म पुर्याउने काम गर्दछ ।

जेन बुद्धधर्मको उद्देश्य साधकको आफ्नो मौलिक मन वा प्रकृतिलाई बौद्धिकताको हस्तक्षेप बिना सिधै हेरेर आत्मज्ञान प्राप्त गर्नु हो । यो एक ठुलो सहज ज्ञानयुक्त बुझाइ हो, यो आकर्षक दार्शनिकता होइन । जेनले जे जस्तो छ त्यस्तो हेर्न सिकाउँछ, त्यसको विश्लेषण गर्न लगाउँदैन । जेनमा बुद्धत्वको साँचो आत्म–ज्ञानलाई मानिन्छ । यसले मनुष्य हुनु नै बुद्ध हुनु हो भन्छ । यसका अनुसार बुद्ध–प्रकृति भन्नु नै मानव स्वभाव हो । जेन भन्नु नै पूर्ण रुपले बाँच्नु हो । कसैले यसलाई धर्म र कसैले दर्शन भन्छ, जे भनेपनि यो यही हो । यो आफै कुनै धर्म वा दर्शन भने होइन । यसले मानिसलाई शब्द जाल र तर्कको पकडबाट बाहिर ल्याउने प्रयास गर्छ ।
सारमा भन्नु पर्दा यो आफ्नो आफ्नै प्रकृतिलाई हेर्ने कला हो, जसले हामीलाई बन्धनबाट मुक्तिको बाटो देखाउँछ ।

संक्षेपमा भन्दा ध्यानका अभ्यास, विशेष गरी बसेर गरिने ध्यान, जसलाई चीनियाँ भाषामा जोचान र जापानी भाषामा जाजेन भनिन्छ, त्यही जेन बुद्धधर्मको मूल मर्म हो भन्न सकिन्छ ।

जेन बुद्धधर्म र ध्यान

बुद्ध धर्मले ध्यान साधनालाई विशेष महत्व दिन्छ । बुद्ध धर्मको विभिन्न निकायले आआफ्नै किसिमबाट ध्यानलाई सम्बोधन गरेको र यसको महत्व बुझेर यसलाई धर्मको महत्वपूर्ण खुड्किलाको रुपमा लिइन्छ । यदी बौद्धहरु ध्यान गर्दैनन् भने उनीहरु कर्मकाण्डी मात्र रहन्छन् । त्यसैले शीलबाट समाधिमा बस्न सकिन्छ र समाधिबाट प्रज्ञाको ढोका खुल्छ भनिन्छ ।

प्राचीन बौद्ध ग्रन्थहरुमा ध्यानलाई मनलाई बाँध्ने वा तालिम दिने कामको रुपमा बताइएको पाइन्छ । यसले हामीलाई पूर्ण समभाव र उपेक्षा स्मृतितर्फ डोर्याउँछ । प्राचीन बुद्धधर्मको यो नै प्रमुख साधनको रुपमा मानिन्छ । जेन धर्ममा ध्यान वा जेन भनेको सर्वास्तिवादी ध्यान प्रविधिबाट ल्याइएको भनिन्छ ।

जेनको सन्दर्भमा कुरा गर्दा यसमा ध्यान गर्दा मनलाई नियन्त्रित गर्नको लागि जेन साधकहरुलाई अक्सर आफ्नौ श्वास गन्न लगाइन्छ । यसमा कि छोडिएको र लिएको दुबै, कि लिएको मात्रलाई गन्न लगाइन्छ । यो गन्ती दशसम्म भएपछि फेरी गन्न लगाइन्छ । यो मनलाई पूर्ण रुपमा शान्त नभएसम्म दोहरर्याउन लगाइन्छ । यसमा लामो र गहिरो श्वास लिन लगाइन्छ । ध्यान नाभी भन्दा तल केन्द्रित गर्न लगाइन्छ र श्वास लिँदा यो फुल्नुपर्छ, अनि श्वास गहिरो र मन्द हुनुपर्छ । श्वास गन्न झर्को लागेमा वा बोझ जस्तो भएमा श्वासको प्राकृतिक आउजाउमा ध्यान केन्द्रित पनि गर्न सकिन्छ ।

यसबाहेक गम्भीर जेन साधकहरुद्वारा गहन सामूहिक ध्यान को अभ्यास पनि गर्ने गरिन्छ । जापानी भाषामा यस प्रथालाई सेशिन (sesshin) भनिन्छ । यस्तो शिविरमा भिक्षुहरुलाई प्रत्येक दिन धेरै घण्टासम्म ध्यान गर्नुपर्ने हुन्छ । यस अवधि भरी उनीहरुले आफुलाई विशेष रूपमा जेन अभ्यासका लागि समर्पित गर्ने गर्छन् । यस्ता लामा ध्यानहरुलाई जाजेन भनिन्छ र यसमा छोटो अवधिको विश्राम, अनुष्ठानिक औपचारिक भोजन, तथा सानोतिनो काम पनि जोडिन्छ । जापान, ताइवान र पश्चिमी देशहरुको आधुनिक जेन बौद्ध अभ्यासहरुमा सामान्य साधकहरु यस्ता गहन अभ्यास शिविरहरुमा भाग लिने गर्दछन् ।

जेन बुद्धधर्ममा बसेर गरिने ध्यानलाई सामान्य भाषामा जाजेन (zazen) भनेर चिनिन्छ । यो भनेको जेन बुद्ध परम्परामा विशेष गरी आधारभूत ध्यान गर्ने अनुशासन हो । सामान्यतयाः भन्दा जाजेन भनको सून्यता माथिको विपश्यना भनेर पनि भन्न सकिन्छ । यद्यपि जेन बुद्धधर्मकै पनि विभिन्न निकाय जस्तै विभिन्न ठाउँमा आआफ्नै किसिमबाट विकास भइरहेकोले एक अर्कामा बुझाइमा भिन्नता भने पाउन सकिन्छ । उदाहरणका लागि रिन्जाइ निकायले जाजेनलाई कोआन (कथा, सम्बाद, प्रश्न वा तथ्य, जसले साधकहरुमा आफ्नै जेन सम्बन्धी ज्ञानको प्रगतिको लागि शंका उब्जाइदिन्छ/ koan) लाई ल्याउँछ भने सोतो निकायले कोआनलाई भन्दा शिकान्ताजा (Shikantaza) — कुनै वस्तुमा ध्यान केन्द्रित नगरी बस्ने मात्र)मा जोड दिन्छ ।

यसो हेर्दा जेन ध्यान त विपस्सना ध्यान जस्तै देखिन्छ । तर यसमा बुझाइमा नै केही भिन्नता छ । एक जना पूर्व भिक्षु डेभिड सुदरले एउटा उदाहरण दिएर फरक छुट्याउने प्रयास गरेका छन्, जुन यसप्रकार छ –

एक बौद्ध शिक्षकले एक पटक बालबालिकाहरूको समूहलाई सोधे, “बिहानको खाजा खाने उद्देश्य के हो?“

एकजनाले जवाफ दियो, “दिनको लागि ऊर्जा दिन्छ ।”

त्यसपछि दोस्रो बालकले जवाफ दियो, “बिहानको खाजा खानुको उद्देश्य बिहानको खाजा खानु हो।”

यी दुई उत्तरहरूले जेन र विपश्यना बीचको प्राथमिक समानता र भिन्नतालाई सुन्दर रूपमा चित्रण गर्दछ । दुबै परम्पराहरू वर्तमान (“बिहानको खाजा खाने”) को बारेमा सचेत जागरूकतामा आधारित छन् । यद्यपि विपस्सना ध्यानमा प्राथमिक जोड हाम्रो दिमागलाई यस्तो तरिकाले चलाउनमा छ (“दिनको लागि ऊर्जा”) विकास गर्छौं । अर्को तर्फ जेनमा उपस्थित हुनको लागि उपस्थित हुनुमा प्राथमिक जोड दिइन्छ — तिनीहरूको परिप्रेक्ष्य यो हो कि भित्री स्वतन्त्रता यहाँ पाइन्छ, त्यसैले हामीले “बिहानको खाजा खाने” को वास्तविक कार्यमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ, वा हामी जे गर्दैछौं त्यो मात्र । यदि तपाइँले जेन र विपस्सनाको गहिरो अध्ययन गर्नुहुन्छ भने यो पाउनुहुनेछ कि तिनीहरू दुवै वास्तवमा सहमत छन् कि तपाईंसँग दिशाको चेतना हुनु आवश्यक छ, तर तपाइँ अगाडि बढ्नको लागि पनि उपस्थित हुन आवश्यक छ ।

फेरी जेन बुद्ध धर्म भनेको ध्यान मात्र पनि होइन । कलाका केही पक्षहरु, जस्तै चित्रकला, अक्षरकला, कविता, बगैंचा श्रृंगार, फूलको श्रृंगार, चिया समारोह जस्ता सामाजिक देखिने केही क्रियाकलापहरुलाई पनि जेनले आफ्नो अभिन्न अंगको रुपमा लिएको पाइन्छ । जापानको एउटा र्योआन्जी नामक ढुंगाको बगैंचा जेन बगैंचाको नामले प्रशिद्ध छ । प्राचीन जेन भिक्षुहरुले ब्रुश पेन्टिङ तथा अक्षरकलालाई आफ्ना विद्यार्थी साधकहरुलाई आध्यात्मिक कुराहरु बुझाइदिनको लागि प्रयोग गरेको पाइन्छ । जेनहरुका बिच छुट्टै जेन पेन्टिङको महत्व छ । यस्ता कुराहरुले शब्दबाट बुझाउन नसकिने कुराहरु साधकहरुको मनमा पुर्याइदिन्छ ।

अझ कुनै कुनै जेन साधकहरुले त गुह्य अभ्यासहरु समेत गर्छन् । जस्तै कोरियाको क्वान उम निकायमा बसेर ध्यान गर्दा ग्वानइन (नेपालमा अवलोकितेश्वर भने जस्तै)को मन्त्र समेत प्रयोगमा ल्याइन्छ । कतिपय कार्यक्रममा जेन बुद्ध धर्ममा प्रज्ञापारमिता हृदय सुत्रको पाठ पनि हुन्छ । त्यस्तै शिनगोङ्ग निकायबाट आएको सोतो जेन बुद्ध धर्ममा अमोघपास–कल्पराज सुत्रको पनि पाठ हुन्छ ।

यो लेखको उद्देश्य जेन बुद्धधर्मको सबै कुरा बताउने होइन । त्यसका लागि म सक्षम व्यक्ति पनि होइन । यहाँ मैले बुद्ध धर्म भनेको हामीले देखेको भन्दा बाहिर पनि छ भनेर सानो छेस्को उघार्न मात्र प्रयास गरेको छु । हामी नेपालीहरुमा हामी बुद्धको जन्मभूमिका बासिन्दा हौं, बुद्धकै सन्तान हौं भन्ने अभिमान छ । अझ कति भरखर दुइचार बुद्धधर्मको पुस्तक पढेर बुद्धधर्मका अध्यापन गर्ने तहमा पुगेकाहरुले अभ्यास नै गरिरहेकाहरु बौद्धलाई तिमीहरुलाई केही थाहा छैन भनेर खिस्याउन समेत पछि पर्दैन । अर्कोतिर जस्तो सुकै रंगको लुगा लगाएर आफुलाई बुद्धधर्ममा समर्पित गर्नेहरुमा समेत मैले बुद्धधर्मको सबै जानेको छु भन्ने घमण्ड पालिरहेको हुन्छ ।

नेपालका बौद्धहरु अक्सर अचम्म मान्छन् — बुद्ध नेपालमा जन्मेको तर विश्वमा बुद्ध धर्म फैलनुमा नेपालीहरुको योगदान खासै किन छैन भनेर । हुन पनि हो, नेपालमा बौद्धहरु आफुलाई सर्वोच्च नै भन्ने खालका अभिव्यक्ति दिइरहेका हुन्छन् तर यथार्थमा हेर्दा नेवारहरुको आफ्नो भनिएको बुद्धधर्म आफ्नै सम्प्रदायमा पनि पकडमा आउने गरी फैलिन सकेको छैन, थेरवाद र तिब्बती बुद्धधर्म अन्य देशमा फैलिएको जति छ त्यसमा नेपाली बौद्धहरुको योगदान देखिँदैन । अर्कोतिर हेर्यो भने पश्चिमी मुलुकहरुमा अहिले बुद्ध धर्म धमाधम फैलिरहेको पाइन्छ । त्यसमध्ये धेरैले जेन बुद्ध धर्मलाई नै बुद्ध धर्म भनेर अँगालिराखेका छन् । यसको कारण उनीहरु बुद्धधर्मलाई पूजापाठ, कर्मकाण्ड अनि बुद्धको मूर्तिलाई अन्य धर्मका देउता सरह पूजा गर्ने भनेर लिइरहेका छैनन् । उनीहरुले यसलाई ध्यान गर्ने र ध्यान मार्फत् जीवनमा आइपर्ने सबै बाधा अडचन हटाएर सुख पूर्वक जीवन बिताउने साधनको रुपमा लिइरहेका छन् । त्यसकारण त्यहाँ जेन बुद्धधर्म अँगाल्नेहरु बढिरहेको छ । अर्कोतर्फ भगवान बुद्ध जन्मनु भएको नेपालमा भने जेन बुद्धधर्म सिकाउने, अभ्यास गर्ने र यसबारे विवेचना गर्ने ठाउँको पनि अभाव छ । यस्तो अवस्थामा बुद्धधर्मलाई सही अर्थमा बुझ्न कर्मकाण्ड भन्दा बाहिर आएर ध्यानको माध्यमबाट ज्ञानलाभ तर्फ किन नलाग्ने?

आनन्दभूमि मासिक December 2021

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...