Tuesday, August 6, 2019

190727 किन तोडिन्छन् बुद्धमूर्तिहरु बुद्ध जन्मेको देशमा?

राजेन मानन्धर
संसारको जुनसुकै कुना जाओस्, नेपालमा जन्मेका प्रत्येक नागरिकले कसैले नजानेको जस्तो गरेर उफार्ने एउटा सत्य, एउटा तथ्य हो — बुद्ध नेपालमा जन्मेका थिए । यति भन्न पाएपछि खाएको पचेको जस्तो वा भारतीय साम्राज्यवादसँग टक्कर लिएको जस्तो गरी छाती फुलाउँदै हिड्छन् एक जमात नेपालीहरु । यो विश्वले नै प्रमाणित गरेको तथ्य भएकोले यसमा कुनै शंका रहेन, अनि यसो भन्न पाइँदैन त भन्नै मिल्दैन । तर त्यसरी उफ्रिने जमातका अधिकांश मानिसलाई बुद्धधर्मको बारेमा दुइ शब्द बोल्न भनेर भन्यो कि बोली लरबराउँछ, उसले जानेकै यति हो कि अमुक नामधारी व्यक्ति जन्मेको ठाउँ हाल नेपालमा पर्छ । उसलाई ती बुद्ध भनेको के हो र नेपालमा उनी जन्मेकै कारणले हामीले गर्व किन गर्नुपर्छ भन्ने शायदै मात्र थाहा हुन्छ ?
त्यसैले त नेपालमा बौद्धहरुको जनसंख्या ७ प्रतिशत मात्र भनेर नेपाल सरकार फलाक्छ । त्यसो भएपछि बाँकी ९३ प्रतिशतले किन बुद्धको बारेमा चासो लिन्छ त भन्ने कौतुहलत कसैले प्रस्तुत गर्यो भने त्यही एक धर्मलाई सबैको छाता भन्नु पर्छ भन्नेहरु उम्लिन्छन् । त्यसैले बुद्धको अपमान गर्ने र बौद्धहरुलाई आफूहरु असुरक्षित छौं अस्तो अनुभूति गराउने घटना बेला बेलामा भइ नै रहन्छ नेपालमा ।
प्रसंग बुद्धजन्मभूमि लुम्बिनी भन्दा करिब३२किलोमिटर मात्र टाढा, हालै तीव्र गतिमा विकासित हुँदैगइरहेको तिलोत्तमा नगरपालिकाको हो । बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशमार्गको रुपमा चिनिने यस नगरपालिकामा स्थित बुटवल–बेलहिया सडक खण्डको बीचमा डिभाइडरको रुपमा भागमा राखिएका पाँच वटा बुद्धमूर्तिहरुलाई गएको साउनको १ गते राती परिचित व्यक्तिहरुले तोडफोड गरेर गरएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोक र नयाँमिल खण्डमा राखिएका बुद्धमूर्तिहरुलाई टुक्रा टुक्रा पारेर कामै नसडकमै मिल्काएर गएको भोलिपल्ट बिहिबार बिहान स्थानीयबासीहरुले देखर प्रहरीलाई खबर गरेको भनेर संचारमाध्यमहरुले जनाएको छ । उक्त मूर्तिहरु प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत वैशाख १ गते अनावरण गरेका थिए ।
हालसम्म प्रहरीले त्यति ठुलो राजमार्गको बिचमा राखिएका ती मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म पत्ता लगाएकौ छैन । उता सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बासकोटाले यस घटनाबारे बोल्दा यसले कुनै फरक नपर्ने आशयको अभिव्यक्ति दिँदा बौद्ध समुदाय झन् अवाक् र क्षुब्ध भएका छन् । बुद्धकै नाममा नेपालमा पर्यटनको विकास गर्ने भन्ने सरकारबाट यस्तो प्रतिक्रियाको आशा जनताले गरेका हुँदैन ।
हामी सबैलाई थाहा छ — बुद्ध वाज बर्न इन नेपाल। यो नारा धेरै फस्टाएको छ नेपालमा । बुद्ध शिक्षाको नामै लिन नचाहनेको मुख मुखमा समेत बसेको यो नारा फगत नारा मात्र हो र जनतालाई झुक्याउने एउटा खेल मात्र हो र बुद्धको उपस्थिति अथवा उनको यहाँ जन्मनुले नेपालीहरुमो मन मष्तिष्कमा कुनै फरक पारेको छैन भन्ने यस्ता बेलाबखतमा घट्ने घटनाले उदांगो पार्दछ ।
नेपालीहरु राष्ट्रवादी हुन चाहन्छन्, केबल नारा घोकेरै मात्र भएपनि । त्यस्ता मानिसकहरु सँधै नयाँ नयाँ नाराहरु खोजिरहन्छन् आफुलाई समाजमा र समाचारमा आकर्षणको केन्द्र बनाइराख्न । उनीहरु बुद्ध भनेको ज्ञान हो, ज्ञान भनेको जीवन शैली हो अनि त्यसैले मानिसलाई अन्य मानिसबाट अलग्ग देखाउँछ भन्ने जान्दैनन् । उनीहरुले बुद्ध सिकाए, बुद्ध धर्म सिकाएनन् ।
बुद्ध मूर्ति के हो?
कोही कोही उपबुज्रकहरु बुद्धले मूर्ति पुजा नगर भनेका थिए भनेर उफ्रन्छन् । कहाँबाट सुनेको भन्दा थाहा छैन । बास्तवमा बुद्धको मूर्ति बुद्धको जीवन कालमै बनिसकेको थियो । बुद्धले एकठाउँमा उनले आफ्ना भिक्षुहरुलाई प्रतिमूर्तिमा आसक्त हुनुभन्दा शिक्षामा ध्यान देउ भनेर भन्नुभएको थियो, यसबाहेक अरुलाई बुद्धको मूर्ति पूजा नगर नै भनेको देखिँदैन । बुद्धधर्म भनेको मूर्ति पूजा गरेर चमत्कार होला भनेर पर्खेर बस्ने धर्म त होइन, तर आफ्नो मार्गदर्शकको प्रतिमा बनाएर उसलाई सम्झनु गलत त कसैले भन्दैन । हो, बरु बुद्धको महापरिनिर्वाण पछि बुद्धको मूर्ति बनाउने कि नबनाउने बौद्धहरु भनेर लामोसमय दुबिधामा बसे । प्राचीन बौद्धस्मारकहरुमा पनि बुद्धका मूर्तिको सट्टा प्रतीक मात्र राखिन्थ्यो । त्यही मात्र राखेरै बुद्धको उपासना गरिन्थ्यो । ग्रीकहरुले नै सबैभन्दा पहिले बुद्धलाई मानवाकृति सहित उतारे । कसैलाई मन परेपनि मन नपरेपनि वर्तमान समयमा सबै बौद्धहरु बुद्धलाई त्यसै कल्पना गरिएको मानवकृतिको मार्फत नै चिन्दछन्, उसैलाई उपासना गरेर ती सबै अतुलनीय ज्ञानहरु दिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दछन् । बुद्ध दर्शन स्तुत्य भएकोलै नै विश्वभरी बुद्धमूर्तिको माग वा त्यसप्रति सम्मान बढी भएको होला । अनि अर्कोतिर हाल अबौद्धहरु फेसनका रुपमा वा अरुलाई आफु ज्ञानी छु भनेर देखाउनलाई नै भएपनि बुद्धको मूर्ति वा चित्र आफ्ना घर, बगैंचा, लुगा र शरीरमै समेत सजाउन लागेका छन् ।

अब लुम्बिनी र बुद्ध मूर्तिको कुरा । यहाँ यो कुरा दोहर्याइरहनु नपर्ला कि आफुलाई लुम्बिनी क्षेत्रको आदिबासी भन्नेहरु कहिल्यै बौद्ध भएनन् । ती आदिबासी समुदाय त बौद्ध भएनन् भने त्यसक्षेत्रको व्यापारिक महत्व बढ्न थालेदेखि र राजमार्गको छेउमा भएकोले र भारतसँगको सीमा नजिक भएकोले पनि बुटवल र भैरहवा नयाँ ठुला शहरहरु बने, तिलोत्तमा ती मध्ये एक हो ।
ती शहरहरुमा हालै बस्न आएकाहरु शायदै मात्र बौद्ध हुन् । उनीहरु बुद्ध देखाउन चाहन्छन् तर बौद्ध बन्न चाहन्नन् । प्रधानमन्त्री जस्ता विशिष्ट व्यक्तिहरुको सहभागिता हुने बौद्ध समारोहमा बाहेक उनीहरुको उपस्थिति अनि अन्य दिनहरुमा बौद्ध मन्दिर, विहारमा देखिँदैन । पूजा उपासना गर्ने तथा घरमा बुद्धको प्रतिमा राखेर पूजा गर्ने बौद्धहरु पनि त्यहाँ पाइँदैन ।
यस्तोमा बुटबल र भैरहवा लगायत लुम्बिनीकै छेउछाउमा राजधानीबासी अथवा हिमाली समुदायको प्रयासमा कतै कतै बुद्धको मूर्ति त देखिन्छन् तर त्यहा न कसैले घुँडा टेकेर प्रार्थना गरिरहेको देखिन्छ न कतै फूल माला नै चढाएर बुद्धपूजा गरिरहेको देखिन्छ । त्यस सम्पूर्ण क्षेत्रको लागि बुद्धको प्रतिमा सजावटका सामान र तीर्थयात्रुहरुलाई लोभ्याउने बस्तु बाहेक केही बन्न सकेको जस्तो भान त्यहाँ पुग्दा कसैलाई पनि हुँदैन । यो यथार्थ हो ।
तिलोत्तमाको बुद्धमूर्ति
अब तिलोत्तमाको बुद्धमूर्तिको कुरा । बुद्धको मूर्ति सजावटको सामान नबनाइयोस् भन्ने माग थाइल्याण्ड जस्तो बौद्ध देशमा मात्र होइन भरखर भरखर बुद्ध चिन्न थालेको संयुक्त राज्य अमेरिकामा समेत उठ्न थालेको छ । यसो भन्दै गर्दा तिलोत्तमामा मान्छे नै हिँड्न नमिल्ने ६ लेनको राजमार्गको बिचमा लहरै गाडीको धुँवा खुवाउनकै लागि मात्रै बुद्धको प्रतिमा जस्तै देखिने ती सिमन्टीका बस्तु राखेर कसले किन पुण्य कमाउने भए भन्ने सबै बौद्ध तीर्थयात्रुहरुलाई लाग्ने अवस्था थियो । बौद्धहरु र बुद्धधर्मको अध्ययन गरेकाहरुले त्यहाँ त्यसप्रकारको सजावटकोे औचित्य के रह्यो र भन्ने गुनासो मिसिएका छलफलहरु बौद्ध समुदायका बिचमा चलिरहँदा अकस्मात अप्रत्याशित रुपमा यो घटना घटेको छ ।
जे भए पनि मूर्तिहरु तोडिएका छन् । त्यो ढुंगा वा सिमन्टीका टुक्राहरु मात्र थिएनन्, ती त नेपालमा भएका सम्पूर्ण बौद्धहरु, अझ विश्वकै बौद्धहरुको धार्मिक आस्थामा प्रहार थियो । यो कुरा विश्वभरका बौद्धहरुमाझ पुगिसकेको छ । कोही बिस्मात्मा छन्, कोहीले दुःख व्यक्त गरे, कोही त भत्र्सना पनि गर्न लागे, जुन स्वभाविक प्रतिक्रिया थियो ।
त्यहाँ ती मूर्तिहरु नराखेको भए किन राखिएनन् भनेर कोही बौद्धहरु सोध्न जानेवाला थिएनन् । कसैले आन्दोलन गरेर यो राख्न लगाएको पनि थिएन । स्थानीय नगरपालिकाले बीसौं लाखको बजेट निकासा गरेर राखिएका थिए । यसो गर्दा यहाँका मानिसहरु बौद्ध जस्ता देखिन्छन् र हालै शुरु भएको भिजिट लुम्बिनी इयरलाई सफल बनाउन काम लाग्छ भनेर नगरपालिकाले सोचेको थियो होला, तर यस लापरवाहीले वा लुकेर बसेको अतिबादीहरुको सुनियोजित आक्रमणले चोट बौद्धहरुमा पुगेको छ । तीतो बोलेरै चर्चामा आउने संचार मन्त्रीलाई त त्यो खासै फरक पर्ने घटना थिएन, तर कुनै बौद्ध देशमा यस्तो भएको भए आगो बल्न सक्थ्यो । यसरी नेपालमै पनि यदि त्यस्तो घटना कुनै हिन्दू प्रतिमामा वा मुस्लिमहको प्रार्थनागारमा भएको भए उहाँले यसो भन्ने समय पनि पाउनु हुने थिएन, आँखैले देख्नुहुन्थ्यो । राज्यको र राज्यमा रजाइँ गर्ने समुदायको यो अतिवादी सोचको एउटा नमूना पनि भइदियो । यसले नेपालमा बुद्ध मात्रै जन्मे बौद्धहरु जन्मेन भन्ने पनि देखाइदियो ।
बुद्ध जन्मेको नेपालमा बुद्ध प्रतिमाहरुले र यसको प्रतिध्वनि स्वरुप यहाँका हजारौं वर्षदेखि बुद्धधर्म बोकेर बसेकाहरुले पीडा सहनुपरेको यो पहिलो पटक होइन । शंकराचार्यका कथाहरु बेबुनियाद होइनन् होला, मल्लकालमा बौद्धहरुलाई हिन्दु वर्णाश्रममा खाँदेको लिखतहरु छन्, सयौं बौद्ध धर्मग्रन्थहरु जलाइएको किंबदन्तीहरु छन्, सयौं बौद्धग्रन्थहरु बेलायत त्यसै लगिएका होइनन् । बौद्धहरुलाई अपराधीहरुलाई जस्तै लहरै राखेर देशनिकाला गरिए । अस्ति भखरै त पोखराका अन्तु डाँडामा शान्ति स्तुप बनाएको कसैलाई मन परेन, सैनिक पठाएर भत्काउन लगाए । लुम्बिनीमा शान्ति स्तुप बनाउन बसेका जापानी बौद्ध भिक्षु मारिए यहाँ । सुर्खेतमा बुद्धको प्रतिमा स्थापना गर्न लाग्दा पुलिसहरुल त्यसमूर्तिलाई चोरलाई जस्तो डोरीले बाँधेर मुखमा पट्टी लगाएर ट्रकमा हालेरे लगेको पनि धेरै वर्ष भएको छैन ।
सबै जनता समान हुन् भनेर संविधान लेख्नेहरु सबै धर्महरु समान छन् भनेर लेख्न हिच्किचाउँछन्, हजारौं बौद्धहरु सडकमा उत्रेर आफ्नो देशमा धर्म निरपेक्षता होस् भनेर नारा लगाउनु परिरहेकोछ, तर पनि समान भएको अनुभव गर्न पाउँदैनन् । बुद्ध नेपालमा जन्मेको भनेर विेदेशीको पैसा वा राज्यकै ढुकुटी खर्च गरेर विदेशमा सभा सेमिनारमा भाग लिन जाने अनि विश्वविद्यालयबाट प्रमाणपत्र लिने बौद्ध विद्वानहरुलाई पनि बुद्धको देशमा हिन्दु अतिवादीहरुबाट यहाँका बौद्धहरु कति आतंकित, आक्रमित र विभेदित छन् भनेर सोच्ने फुर्सद छैन । कतै बुद्धधर्म भनेको हिन्दुधर्मकै अंश हो भन्छन् अनि फेरि हिन्दूधर्म नै नेपालको धर्म भन्छन् । बुद्ध धर्म भनेको विदेशी पर्यटकलाई बेच्न मिल्ने क्युरियोको माल बाहेक केही नसोच्नेहरुको चलाएको देशमा अरु होइन बौद्धहरु पीडित छन् । कसले बुझ्ने?
बुद्धमूर्ति तोडफोड
तोडफोड भयो त भयो । त्यो कुनै दुर्घटना दिएन, एक्लो दुक्लोको लहडले पनि गर्न सक्ने काम थिएन त्यो । चौबिसै घण्टा गाडी गुडिरहने राजमार्गको बिचमा राखिएका पाँच पाँचटा सात आठ फिट अग्लो टाढैबाट देखिने बस्तुमा पटक पटक प्रहार गरेर टुक्रा टुक्रा पारेर सडकमा मिल्काउँदा पनि कसैले नदेख्ने अवस्था नेपालकै एक प्रमुख विकास हुँदै गरेको शहरको बिचबाट गएको राजमार्गमा हुन्छ । कम्ति मिहेनत लागेन त्यो तोड्न फोड्न पनि, हेरेरै थाहा हुन्छ । हातले वा हतौडाले मात्र तोडिएका होइनन् ती बौद्धहरुको आस्था । ठुलै क्रेन जस्तै मेसिनले उठाएर, हिर्काएर तोडेर सडकमा मिल्काएको वा ढुंगा फुटाल्ने औचार वा ढलान काट्ने मेसिनले काटेको जस्तै देखिन्छ । त्यस्तो मेसिन बिजुली, डिजेल अथवा पेट्रोल बाट नै चल्दछ होला । यस्तो मेशिन चलाउँदा यो चलाउँदा ठुलो आवाज ननिस्कने कुरै छैन, तर त्यसै राजमार्ग छेउमा बस्ने कसैको निद्र्रा बिग्र्रेन र झ्याल उघारेर पनि हेरेन । यस्तो घटना हुँदा सुरक्षा निकाय अथवा स्थानीय जनताले सुइँको पाएन भन्ने कुरा पत्याउन सकिँदैन । यतिसम्म भैसक्दा पनि कुनै स्वघोषित क्रान्तिकारी वा धार्मिक समुदायले यो हामीले गरेको पुरुषार्थ हो भनेर जिम्मा पनि लिएको देखिँदैन । लुकेर प्रहार गर्ने बुजदिलहरु झन् डरलाग्दा हुन्छन् ।
एक हप्ता बितिसक्यो । अन्तर्राष्ट्रि बौद्ध संगठनहरुले विश्लेषण गर्न थालिसके, यसले लुम्बिनी आउने तीर्थालुहरुको संख्यामा कमी त ल्याउँछ नै । तर नेपालमा यसको प्रभाव कति पर्यो भनेर देखिने अवस्था छैन । चार पाँच बौद्ध संस्थाहरुले एकपन्ने प्रेस विज्ञप्ति निकालेर बसे । एउटा त शान्तिपूर्ण रयाली भयो रुपन्देहीमा । यस बाहेक अरु कसैलाई दुखेको जस्तो पनि लागेन ।
कहाँ गए बुद्ध वाज बर्न इन नेपाल भनेर टेलिभिजनमा कार्यक्रम चलाउनेहरु अनि फिलिम बनाउने हरु? अनि कहाँ छन् त टुँडिखेलमा जम्मा भएर वल्र्ड रिकार्ड बनाउनेहरु? लुम्बिनीमा करोडौं रुपैँया खर्च गराएर सम्मेलन गराउनेहरु र बौद्ध विद्वान भन्दै विदेशमा सभा समारोहमा जानेहरु पनि भेटिएनन् । सबैका लागि तमाशा, कफिगफ र फेसबुका पोस्टने खुराक मात्र भएको छ, नेपालकै धार्मिक इतिहासको यो कालो दिन । किन कोही बोल्न पनि चाहँदैन ?
सबैलाई थाहा छ, नेपाल बौद्धहरुको देश होइन, यहाँ बौद्धहरुलाई सम्मान छैन भनेर । तर यस्तो घटना घट्दा कमसेकम औपचारिकताकै लागि अथवा विदेशीहरुको आँखामा छारो हाल्नकै लागि भएपनि केही गरेर देखाउनुपर्ने थियो सरकारले ।
अहिले पुनः प्रमाणि भएको छ, नेपाल बौद्धहरुको देश होइन रहेछ । सरकार सरोकार पनि देखाउँदैनन् । बौद्धहरुको नाममा खोलिएका संस्थाहरु अर्धनिद्रामै छन् । हामी त लाचार भयौं, हाम्र्रा भविष्यका सन्ततिले पनि कसरी माफ गर्छ होला हामीलाई, हामीले न्याय पनि माग्न सकेनौं भनेर । अनि विश्वले के भन्छ होला नेपालको बौद्ध समुदायलाई देखेर । नेपालबाट बुद्ध धर्म हराए कहाँ खोज्न जालान् विश्वभरीका बौद्धहरुले, यो प्रश्न गहन भएर सबै बौद्धहरुको मनमष्तिष्कमा उब्जिनुपर्छ अब । यसै मौकामा कोही धुर्तहरु आफै बोक्सी आफै धामी भएर स्थिति धमिल्याएर फाइदा लुट्न नआउलान् भन्न सकिन्न तर त्यसो भन्दैमा बौद्धहरुले निसाफको लागि र बौद्ध भएर नेपालमा स्वामिभानका साथ बाँच्ने अधिकारको माग नगर्ने हो भने हाम्रै वरिपरी हामीसँगै अँगाल्नो हाल्न आउने अतिबादीबाट पीडित भएर नेपालका सबै बौद्धहरुले देशै छोड्न पर्ने स्थिति नआउला भने भन्न सकिन्न । सबैको मंगल होस् ।
फोटोहरु सामाजिक संजारबाट प्राप्त भएका हुन् ।
190727

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...