Wednesday, October 17, 2018

बुद्ध जन्मेको देशमा विजया दशमी वा दशैंको चर्चा


राजेन मानन्धर

एकै दिन एकै समय विभिन्न देशका मानिसहरु आआफ्नो हिसावले चाड पर्व मनाइरहेको हुन्छन् । यो विशेष गरी नेपाल जस्तो बहुधार्मिक, बहुसाँस्कृतिक देशमा बढी लागु हुन्छ । जहाँ हिन्दुहरु दशैंलाई उनीहरुका देवीले कुनै दानव वा दैत्यलाई मारेको अथवा रामले रावणलाई मारेको खुशीयालीमा मनाइरहेका हुन्छन्, त्यहीँ बौद्धहरु यसदिनलाई शस्त्रअस्त्र त्यागेर शान्ति र अहिंसाको जीवन बिताउने प्रण गर्ने दिनको रुपमा मान्छन् । यहाँ बौद्धहरुको दृष्टिकोणमा यस पर्वको महत्वको बारेमा चर्चा गरिन्छ ।

भनिरहनु नपर्ला, प्राणी हिंसाको निषेध बुद्धधर्मको पहिलो नियम हो । बुद्धले नै त्यसबेलाका ब्राम्हणहरुलाई धर्मको नाममा पशुहरुको बली नदिन सिकाउनुभएको थियो । यसै जगमा सारा बुद्धधर्म र दर्शन उभिएको छ ।

विजया दशमी भनिने दिन बौद्धहरुका लागि अशोक विजया दशमी तथा धर्मचक्र प्रवर्तन दिवस हो अनि यसलाई उनीहरु एक पवित्र चाडको रुपमा लिन्छन् । भारतमा इसापूर्व २६८ देखि २३२ सम्म शासन गरेका सम्राट अशोकले अरु राज्यहरुमा जस्तै कलिङ्गको युद्धमा पनि विजय गरे । अरु अरु थुप्र्रै राज्य जितेका थिए उनले । अरु कुनै जीतलाई उत्सब मानेन, यो कुन जीत थियो होला त?
इतिहासले बताउँछ कि महाराज अशोकले थुप्रै राज्य युद्धको बलमा जिते अनि आफुलाई सम्राट सम्झे । तर यस कलिङ्ग युद्धपछि उनले युद्धमा भएका विभत्स हत्या, लासको थुप्रो देखेर अनि अङ्गभङ्ग भएका सैनिकहरुको चित्कार सुनेर अचानक आफुलाई युद्ध र युद्धबाट जितिने राज्यसँगको तृष्णा मेटेको अनुभव गरे, उनकै स्तम्भ लेखनहरुका अनुसार ।

यसपछि उनले हिंसाको मार्ग त्यागेर बुद्ध धर्म अपनाउने घोषणा गरे । बौद्ध बनिसकेपछि उनी विभिन्न बौद्ध धार्मिक स्थलहरुमा तीर्थयात्राको लागि गए । बुद्ध शिक्षाबाट प्रभावित भएर उनले बुद्धको ज्ञानलाई आफ्नै जीवनमा ल्याउन र सबैलाई बुद्धको शिक्षा ग्रहण गर्ने प्रेरणा मिलोस् भनेर उनले सकेजति ठाउँमा हजारौं स्तूपहरु बनाए तथा स्तम्भहरु खडा गरे । यी मध्ये एक स्तम्भ नेपालको लुम्बिनीमा रहेको हामीलाई थाहै छ ।

उनको यसप्रकारको क्रियाकलापबाट युद्ध देखेर वाक्क भएका जनता निकै खुशी भए र यसै उपलक्ष्यमा दश दिनसम्म उनको राज्यमा दिपावली पनि गरियो । दशौं दिनमा सम्राटले आफ्ना राजपरिवारसँगै भिक्षु मोग्गिलिपुत्त तिष्यबाट धम्म दीक्षा लिए । उनले दीक्षा लिइसकेपछि प्रतिज्ञा गरे कि अब उप्रान्त आफुले कहिल्यै शस्त्रअस्त्रको प्रयोग गर्ने छैन । उनले भनेका थिए कि पहिले उनले बाह्य युद्धहरु मात्र जितेका थिए अब मनभित्रको युद्धलाई पनि जितिसके । उनले धर्मको शरण गइसकेपछि निर्भय बनेको र अब कुनै लाभ वा जीतको अभिलाषा आफ्नो मनमा नरहेको पनि बताएका थिए । यसरी उनले शांन्ति र अहिंसाको माध्यमबाट शस्त्रअस्त्रमाथि विजय प्राप्त गरे । यसै कारण बौद्धहरुले यसलाई अशोक विजया दशमीको रुपमा मान्ने गर्दछन् । इतिहासकारहरुका अनुसार अशोकको समयमा शुरु भएको विजयदशमी भनेको २३०० वर्ष पुरानो पर्व हो ।


यसैको सम्झनामा भारतवर्षमा विजयादशमी मनाइन थाल्यो । यो क्रम हजारौं वर्ष चल्यो । तर पछि अन्य धर्मको दबदबा बढ्न थालेपछि मानिसहरुले यस गौरवमय इतिहासलाई बिर्से, हत्याहिंसालाई प्रशय दिने धर्म र दर्शनले प्रोत्साहन पायो ।

मौर्यवंशले भारतको इतिहासमा ठुलो महत्व राख्दछ । भारत सभ्यताको एक महत्वपूर्ण समय थियो यो । चन्द्रगुप्त मौर्यदेखि यस वंशका अन्तिम राजा वृहद्रथ मौर्यसम्म लिएर यस वंशमा दश जना निकै प्रजाप्रेमी र विकासशील राजाहरु थिए भनेर भारतीय इतिहासकारहरु भन्दछन् । यसका अन्तिम राजा वृहद्रथ मौर्यलाई उनैका व्राम्हण सेनापति पुष्यमित्र शुंगले हत्या गरेर राजा बनी शुंग वंशको स्थापना गरेका थिए भनेर पनि भनिन्छ । भारतीय बौद्ध विद्वानहरु यसपछि भारतमा बुद्धधर्मको पतन भएको विश्वास गर्दछन् । अझ शुंगवंशी राजाहरुले यिनै मौर्य वंंशका १० जना राजाहरुको प्रतीक स्वरुप १०वटा टाउको भएको दानवाकृतिलाई दहन गर्ने चलन चलाएका थिए जुन पछि कालान्तरमा रामले रावणलाई मारेको सम्झनामा यस्तो गरेको भनी व्याख्या गरेको भनेर पनि उनीहरु भन्ने गर्छन् ।

कालान्तरमा भारतवर्षमा बुद्धशिक्षा प्रभाव कम हुँदैगयो र बौद्धमार्गीहरुकै संख्यामा पनि कमी आयो । देशमा फेरि अशान्ति र युद्ध आदि बढ्यो । तर उनीहरुले यस विजयदशमीको महत्वलाई बिर्सेनन् । लामो समय पछि भारतका संविधानविद् डा. भीमराव अम्बेडकरले नागपूरमा आफ्ना समर्थकहरुलाई बुद्धशिक्षाका बारेमा बताए । जसको फलस्वरुप यसै विजयदशमीको अवसर पारेर सन् १९५६ अक्टोबर १४का दिनमा ती पाँच लाख समर्थकहरु एकैदिनमा भगवान बुद्धको शरणमा गए र बुद्धधर्म ग्रहण गरे । त्यसै कारण उनीहरुले यस दिनलाई धम्मचक्र प्रवर्तन दिवस भनेर पनि भन्ने गर्दछन् ।

यहाँ यो पनि उल्लेखनीय हुन्छ कि भारतका विभिन्न ठाउँमा केही उच्च जातिका हिन्दूहरुले तल्लो जातिका हिन्दूहरुलाई अमानवीय व्यवहार गर्दथे । यसैको प्रतिक्रिया स्वरुप उनीहरुलाई डा. अम्बेडकरले बुद्धधर्ममा दीक्षा लिन प्रेरित गरे । उनीहरु बौद्ध बने र जातीय छुवाछुटबाट मुक्त भए । यस किसिमले उनीहरुले अमानवीय व्यवहारमाथि विजय प्राप्त गरे र यस विजयलाई उनीहरु सँधै स्मरणीय बनाइराख्न पनि यसलाई विजयको पर्वको रुपमा मनाउँछन् ।

कस्तो अचम्म, नेपालमा अहिले यो पर्व हिंसाको पर्व बनिरहेको छ । अझ राज्य स्वमय्ले जनतालाई धर्मको नाममा पशुको हत्या गर्नु भनेको सही हो भने सन्देश दिइरहन्छ । जबकि यो दिन भनेको शस्त्रअस्त्र त्यागेको दिनको रुपमा लिइनु पर्ने थियो । भन्न त हामी बुद्ध नेपालमा जन्मेको भनेर भन्छौं तर राज्यबाटै यस दिनलाई हिंसाको पर्व रुपमा लिइएपछि जनताले हिंसा त्याग्न सक्ने कुरा निकै मुश्किल हुन्छ । जहाँ पनि जनताले राज्यको नीतिलाई प्रेरणा वा मोडेलको रुपमा हेरिरहेको हुन्छ । जब राज्य आफै देउतालाई रगत चढाउन पशु पन्छी किनेर ल्याउँछ, त्यहाँ एक हुल मानिसहरु पशुबली नदेऊ भनेर कराउनुको खासै अर्थ हुँदैन ।

कहाँ कुनै प्राणीको हिंसा नगर्ने शिक्षा ग्रहण गर्दछु भनेर बुद्ध, धर्म र संघमा शरण लिनेहरु अनि कहाँ ढुंगाको देउतामा निर्दोष पशुको रगत छ्यापेर धर्म भनेकै प्राणीहरुको हत्या गरेर खुशियाली मनाउने हो भन्नेहरु । सतही कुरा गरेर बुद्ध नेपालमा जन्मेको हो भन्दै रेकर्ड बनाउनु अनि बुद्धशिक्षाले मात्र जीवनलाई सुखी बनाउँछ भनेर बुझ्नु अलग अलग कुराहरु हुन् । यो कुरा नेपालीले बुझ्न निकै समय लाग्ने देखिन्छ ।

कमजोरी बौद्धहरुको पनि होला । यहीँ बसेर पनि बुद्धशिक्षा लिएर बौद्ध भिक्षु, लामा वा उपासक उपासिकाहरुले हिंसा भनेको धर्म हुन सक्दैन भनेर आफ्नै देशका नागरिकहरुलाई सिकाउन सम्झाउन सकिरहेको छैन । संसारमा पशुबलीलाई धर्म भन्ने पाँच दश देशहरुमा बुद्ध जन्मेको नेपाल पनि पर्छ । गन्तव्य टाढा छ तर पुग्नै नसकिने भने होइन, मात्र अधिष्ठानयुक्त अभियन्ताहरुको खाँचो छ । कमसेकम राज्यलाई धर्मनिरपेक्ष भैसकेको देशमा राज्य हिंसामा सहभागी भइरहन सुहाउँदैन भनेर बुझाउन सकियो भने मात्र पनि नेपालमा बुद्ध जन्मेको भनेर गर्व गर्नुको कुनै अर्थ भेटिन्छ । आजै हिंसा रोक्न नसकिएपनि धर्म र हिंसालाई छुट्याऔं । सबैलाई विजया दशमीको शुभकामना ।


No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...