Wednesday, January 4, 2017

170103 मनोरोगीहरु बाटो चौडा गर्न आउँछन् काठमाडौंमा


राजेन मानन्धर
बयालिस सालमा सबैभन्दा पहिले काठमाडौं उपत्यकाभन्दा बाहिरका साथीहरु बनेका थिए (त्यसभन्दा अगाडि म पढ्ने स्कुलमा पाण्डे र रौनियारहरु पनि नेवार बोल्थे र घनिष्ठ थिए) आर आर कलेजमा । परिचय गथ्र्यौं तर मैले आफ्नो जिल्लाको नाम भन्दा उनीहरुका मुखबाट त्यही कुरा निस्कन्थ्यो — “तपाइँको त काठमाडौंमा घर छ यार…” । म सोच्थें, सबैको आफ्नो आफ्नो ठाउँमा घर त छँदैछ, अनि काठमाडौंमा घर हुनु पाप वा अपराध हो र?

आज ३० वर्ष बढी बुढो भइसकेको छ काठमाडौं । यसबिचमा बाहिरबाट आएर बसेका कोही आफन्त र साथीभाइहरु अत्यन्तै सहृदयी नभएका त होइनन् तर आज पनि कोही कोहीलाई काठमाडौंका बासिन्दाको काठमाडौंमा घर भएकोमा जलन भएको देख्न पुग्छु, त्यही ग्रन्थीले काम गरिरहेको पाउँछु । अरु त अरु, जापानमा राजनीति शास्त्र पढाउने एक जना विद्वान सरले समेत नेवारलाई किन संघीयता चाहियो र, उनीहरुका त काठमाडौंमा बिल्डिङ छन् भनेर आफ्नो कार्यपत्र प्रस्तुतीको दौरानमा भनेको पनि याद आउँछ । यिनै सोचहरुले हाल काठमाडौं उपत्यकाका बाटो चौडा गर्ने काममा उर्जा दिइरहेको पाउँछु ।

काठमाडौंमा किन चौडा ठुलो गर्ने भनेर सोध्दा यो राजधानी हो, यहाँ जनसंख्या बढ्छ भन्ने तर्क भेट्टिन्छ । अनि काठमाडौं किन राजधानी भनेर प्रश्न गर्नुपर्ने हुन्छ । के काठमाडौंलाई राजधानी बनाइयोस् भनेर यहाँका जनताले बिन्तीपत्र हाल्न गएका थिए र ? के काठमाडौंका शासकले दुनियाको नाककान काटेर अमानवीय यातना र छलकपट गरेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो बनाएको थियो र? पृथ्वी नारायण शाहले जुन नियतले २५० वर्ष अगाडि उपत्यका हरण गरेर यहाँका राजा बने त्यसमा पनि “तपाइँको त काठमाडौंमा घर छ यार” भन्ने ईष्याले काम गरेको थियो भने अहिलेको सडक विस्तार पनि बदलिँदो परिप्रेक्षमा त्यसैको एक कडीमात्र हो भन्ने बुझ्न सकिन्छ ।

बाटो साँघुरो भयो भनेको काठमाडौंबासीले होइन, बाहिरबाट आएर बसेकाले हो । काठमाडौं खत्तम छ, यहाँ यो छैन त्यो छैन भन्नेहरुले अनि काठमाडौं बाहिरकाले बनाइदिएको भनेर लेख्नेहरुले कथित एकीकरण हुनु अगाडिको काठमाडौंको भूदृष्यको कल्पना गर्न र त्यस समयमा आफ्ना आफ्ना जिल्लाको भूदृष्य कल्पना गर्न अनुरोध छ । अनि कसले के बनाएको थियो कसले के बिगारेको थियो भन्ने छर्लङ्ग हुन्छ ।
गत २५० वर्षदेखि नेपालको शासनसत्ता कहिल्यै काठमाडौबासीको भएन – न राणाकालमा, न प्रजातान्त्रिक समयमा, न पञ्चायती वा न त्यसपछिको लोकतान्त्रिक वा गणतान्त्रिक कालमा । त्यस बिचमा यहाँ शासन गर्न राजा, राजाका चाकर भएर वा रानीका आफ्ना मान्छे भएर बाहिरबाटै आए, ल्याइए । उनीहरुमध्ये कोहीले कहिल्यै नेपालको विकास गर्न खोजेन (खोजेको भए देखिन्थ्यो) । कमसेकम जन्मेको एउटा गाउँ वा जिल्लालाई मात्र विकास गरेपनि अहिलेसम्म ३८ वटा त राम्रा शहरहरु विकसित भएको हुन्थ्यो नेपालमा । देशका जनताले सकी नसकी कर तिरेको ढुकुटीमा पौडी खेल्ने शासक प्रधानमन्त्रीहरुको मन यति मात्र पनि फराकिलो हुन सकेन कि आफु जन्मेको गाउँ कमसेकम अरु विदेशीलाई ल्याएर देखाउन लायकको बनाउँ । डा. बाबुराम भट्टराइको खोप्लाङ टेकेको छु, आसिग्रामै नपुगेपनि डडेलधुरासम्म पुग्दा अनुमान भयो शेरबहादुर देउवाको गाउँ कस्तो होला भनेर ।

फेरि विकास भनेको राजधानीमा मात्र गर्ने कुरा हो भने ती शासकहरु हरेक सत्तापलट पछि राजधानी किन सार्दैनन्? जहाँ राजधानी त्यहाँ विकास हुने भए एक एक जिल्लामा वर्षको एउटा राजधानी लगे पनि ७५ जिल्लामा ७५वटा विकसित शहर बन्ने थिए, बनाएन् । चाहँदैनन् उनीहरु बनाउन । कसले रोक्छ राजधानी लैजानलाई ? जुन ठाउँको आफ्नो पहिचान छैन, धर्म छैन, इतिहास छैन, सम्पदा छैन, रहनसहन छैन, जात्रापर्व छैन, ती ठाउँहरु कमसेकम राजधानी भएकै कारणले भएपनि विश्वमा कहलिन्थे । त्यो पनि गरेरनन् राजधानीमा विकास गर्नुपर्छ भन्ने शासकहरुले ।
सत्ता, जनचाहना, पैसा सबथोक भएर पनि किन नेपालका शासकहरु आफु जन्मेको एउटा गाउँठाउँको पनि विकास गर्न सक्दैनन्? यो प्रश्न बडा मार्मिक छ । यस्तो किन हुन्छ भने काठमाडौंमा टाँसिन जानेपछि चुनाव भएमा भोटसम्म माग्न जानुपर्ने ती गाउँहरुको विकास भइदिएमा यहाँ के भनेर राजनीति गर्ने भन्ने धर्मसंकटले पिरोल्छ उनीहरुलाई । त्यसैले आफ्नो भोटरलाई सिटामोल खानेसम्मको व्यवस्था गरिनदिएर यहाँ एअरकन्डिसन भएका गाडीमा घुम्छन् ती शासकहरु । अनि देशका सबै क्षेत्रमा समान विकास होस् भनेर खोजिएको संघीयताको उनीहरु नै विरोध गर्छन् ।

काठमाडौं बनाउँछु भनेर आएकाहरुको अनुहार हेर्छु, उनीहरु कहाँबाट आएका भनेर थाहा पाउन मनलाग्छ । बनाउने भनेका नबनेको वा बनेर बिग्रेकोमा चाहिन्छ, बनेका ठाउँका मानिसले नबनेको ठाउँ बनाइदिन जान्दछ । तर यहाँ जसले आफ्नो जिल्लाको सबै गाउँमा गोरु हिँडाउन पाएका हुँदैनन् उनीहरु नै काठमाडौंका सत्र कमजोरी गन्दै बस्छन् अनि भन्छन्, यहाँ यो गर्नुपर्यो त्यो गर्नुपर्यो । विकास गर्नुपरेको काठमाडौंलाई कि देशका अन्य ७२ जिल्लालाई ? अब काठमाडौं बनाउनुपर्यो भन्ने शासक वा विद्वानहरुले आएर पहिला भन्नुपर्छ, हेर म यस्तो राम्रो ठाउँमा बस्ने मान्छे हुँ, मैले मेरो ठाउँमा यति विकास गरिसकें, अब तिमीहरुको काठमाडौंलाई म मेरो जिल्लाको जति नबनाए पनि त्यसको चौथाइसम्म बनाइदिन्छु भनेर । त्यसपछि काठमाडौंका जनताले उनीहरुलाई हाम्रो काठमाडौं त बिजोग छ, तिमीहरुको जस्तो बनाइदेउ भनेर बिन्तीभाउ गर्नेछ । गाउँमा घाँस उखेल्न अल्छी लागेर काठमाडौंमा टर्फ बिछ्याउन आउनेहरुलाई काठमाडौंले राम्रोसँग चिनेको छ । बागमतिमा भ्यागुता पनि बाँच्न नसक्ने भए, प्रदुषित वातावरणमा सास फेर्दा मरिने भइयो, अब कति विकास गर्छौ काठमाडौंलाई ?

एशिया र युरोपमा केही पन्ध्रबीस शहरहरु हेर्नपाएको छु । त्यहाँका बाटाहरु सबै ५० मीटरमात्र छैनन् त्यहाँ पनि एउटा गाडी नछिर्ने बाटाहरु देखेको मात्र होइन, गाडी भएपनि आज मेरो गाडी निकाल्न पाउँदिन भनेर ट्रेनमा चढेर अफिस गएको पनि देखेको छु । यही हेरेर बाटो चौडा गर्न खोजेको हो यहाँ?

ट्राफिक व्यवस्थापनको कुरा गर्ने हो भने काठमाडौंमा जस्तो धेरै ट्राफिक प्रहरी पनि संसारमा देखेको छैन, अनि यहाँ जस्तो यातायातको भाँडभैलो पनि अन्त देखेको छैन । यसमा पनि साँघुरो सडककै दोष देख्छन्, अमेरिकादेखि जापनसम्मले पढाएर पठाएका विज्ञहरु । बीसौं वर्षदेखि सडक चौडा गर्ने कुरा सुन्दैछु, भइरहेको छ । तर कुनै मै हुँ भन्ने विद्वानले पनि सडक चौडा भएर यति जाम कम भयो भनेको सुन्न पाइरहेको छैन । आज सडकमा जाम कम गर्ने भनेर डोजर चलाइँदैछ । जनता मुर्ख कि सरकार विद्वान?

यति भनेपछि अब प्रमाणित गर्न पर्दैन, यहाँको सडक चौडा गर्ने नाममा गरिएको यो राज्यको बुलडोजर आतंक खाली यहाँका आदिवासी नेवारहरुलाई उनीहरुको पुस्तौंदेखि बस्दै आएको घरबाट हटाएर उनीहरुको जग्गा, परिवार, धर्म, संस्कृति, रहनसहन र सभ्यतालाई नै नामेट बनाएर आफ्नो भनेको ठाउँ पनि नभएको नाउँ पनि नभएकाहरुले यहाँ आफ्नो प्रभुत्व जमाउन खेलिरहेको फोहरी खेल मात्र हो भनेर ।
अन्तर्राष्ट्रिय कानुन, आदिवासीको अधिकार, संविधानले दिएको अधिकार र सर्वोच्च अदालतको अन्तरिम आदेश समेतलाई लत्याएर चौडा पारिँदै गरेको यो बाटो भनेको आफुले आफ्नो ठाउँलाई काठमाडौं जस्तो बनाउन नचाहने अनि काठमाडौं मात्र एउटा राम्रो शहर बनिरहेको पनि देख्न नचाहने मनोरोगीहरुको विकृत मानसिकताको उपज मात्र हो । मैले बयालिस सालमा पहिलोपल्ट देखेका “तपाइँको त काठमाडौंमा घर छ यार…” भन्ने मानसिकताले नै यहाँ काम गरिरहेको छ । हुन त आजभोलिका यहाँका नवधनाढ्यहरुले दुइचार वर्षमै यहाँका आदिवासीले दुइहजार वर्षमा कमाएको भन्दा बढी कमाए, कुम्ल्याए, तर मानसिकताले न उनीहरु यहाँको वैभवलाई आफ्नो भनेर गर्व गर्न सिकायो, न आफ्नो गाउँठाउँलाई पनि काठमाडौं जस्तो बनाऔं भन्ने प्रेरणा दियो । फगत मनोग्रन्थीमा एउटा विकार पैदा गरिदियो, मनोरोगी बनाइदियो, मैले मेरो बनाउन नसके यिनीहरुको पनि भत्काइदिन्छु भन्ने कलुषित विचार बोकाइदियो । अनि जतिसुकै अखण्ड र राष्ट्रियताको खोक्रो भाषण गरेपनि काठमाडौंमा आदिवासी र आप्रवासीको खाडल नरही सुखै छैन ।

बाटो चौडा होउन् कि नहोउन्, त्यो ठुलो कुरा भएन । तर यो बाटो भोलि कसैको छाती भइरहनेछ अनि त्यसमाथि गुड्ने गाडीका मालिकले कसैको छातीको दुखाइ महशुस गरिरहनुपर्ने छ । जसजसका घरको जगमाथि भोलि अलकत्रा बिछ्याइनेछ, तिनीहरुले आफु साना छँदा त्यहाँ लडेका, खेलेका, हाँसेका, रोएका याद गरिरहने छन् । ती यादरुलाई ती गाडीहरुले पनि मेटाउन सक्ने छैन, याद गर्नेहरुले भोलि पनि ती गाडीहरुलाई माफ गर्नसक्ने छैन । आखिर एउटा पर्खाल मात्र बन्ने छ, बाटो बाटोमाथि आदिवासी र आप्रवासी बिचको पर्खाल । बुलडोजरले भाडा पाउला, ठेकेदारले बजेट पाउला अनि नेताहरुले त्यसबापट कमिसन पनि पाउला, तर त्यो पर्खालको कोही आर हुनेछन्, कोही पार हुनेछन् । के पर्खालै पर्खाल मात्र हो विकास भनेको?
http://esamata.com/insight/manorogi/
Published in www.esamata.com on 2017 01 03

No comments:

This is me, Thank you Gemini