Monday, June 6, 2016

सरकार, १० हजार रुपैयाँले खाने कि लाउने ? कार्साङको टहरामा राहत पुगेन

सरकार, १० हजार रुपैयाँले खाने कि लाउने ?
हाकु (रसुवा), जेठ २४ । भूकम्पले आफ्नो जीवन धुजाधुजा पारेको पनि एक वर्ष भइसक्यो । फेरि पनि उनको जीवन उस्तै छ घर बनाउने सपनाजस्तै भत्किएको । बिहान कहिलेकाहीँ टीनको पाताले बनेको टहरोबाट चियाएर हेर्दा उनलाई लाग्छ, आफ्नो बाउबाजेले बनाएर गएको ठाउँमा उस्तै घर ठडिएको हेर्न पाए कस्तो हुन्थ्यो । तर उनी सधैँ त्यही अप्रिय दृश्य देख्न विवश छन् । भूकम्पले ढालेको र आगोले खरानी बनाएको आफ्नो घर तेह्र महिनादेखि त्यसरी नै लडिरहेको दृश्य ।
रसुवाको धुन्चेबाट करिब चार घण्टा हिँडेपछि हाकु गाउँ पुगिन्छ । कुनै बेला यो गाउँ रमाइलै थियो । तर अहिले भने हेर्नेको आँखा पनि रसाउने भएको छ । भूकम्पले धुलो बनाएको मात्रै हैन, आगोले खरानी बनाएको छ यो गाउँलाई । अहिले ध्वाँसिएका ढुंगाहरु, बर्षाको पानीले बगाउन नसकेका काठदाउराका छेस्काहरु र जाडोले जमाउन नसकेका माटाका डिलहरु मात्र बाँकी छ यहाँ । बैसाख १२ को भूकम्पले घर भत्कन थालेपछि २३ वटा घरमा आगो लागेको थियो, लहरै ।
“भूकम्प आउँदा म त चितवन गएको थिएँ, काममा । बुढीले कति फोन गरेकी थिई । कहाँ लाग्नु, फोन पनि लागेन । म त्यहाँ फोन गरिरहेँ, ऊ घरबाट । भोलिपल्ट मात्र कुरा भयो । घर सबै भत्केर पनि आगो लाग्यो भन्यो । मेरो त जिउभरि आगो लागेकोजस्तो भयो,” सुनाउँछन् ५३ वर्षीय कर्साङ तेम्बा तामाङ, आकासतिर हेर्दै आँखामा भरिसकेको आँसुलाई रोक्ने कोसिस गर्दै ।
“गाउँ जानु पनि कहाँ सजिलो थियो र, कहिले गाडी थिएन, कहिले बाटो जाम, कहिले बाटोमा पहिरो । घर पुग्दा एक हप्ता भइसक्यो । आफ्नो घर देख्दा न रुन सकें, न हाँस्न सकें । सम्पत्ति केही बाँकी थिएन । बाजेबजैको पालादेखिको काँसको भाँडा, सुनचाँदी पैसा सबै त आगोले खायो ।” तामाङ आफ्नो कथा सुनाउँछन् ।
गत वर्षको भूकम्पले सबैभन्दा बढी जर्जर बनाएका नेपालका केही ठाउँमध्ये एक थियो हाकु गाविस । काठमाडौंका अखबारमा धरहरा भाँचिएको दृश्य छायो, तर बोल्नसम्म पनि नेपाली भाषा राम्रोसँग नजान्ने सोझासिधा तामाङहरुको बस्ती ओझेलमै पर्यो । यहाँ के भयो भन्ने खबर टिभी हेरेर भूकम्प देख्ने राजधानीबासीले कत्ति दिनसम्म थाहै पाएनन् ।
भूकम्पको समाचारसँगै नेपाली मिडियामा अन्तर्राष्ट्रिय सहयोगको समाचार छाएको थियो । अर्बाैंको सहयोग आएको खबर सुनेका हाकुबासीमा समाचार अनुसार सरकारले कुनै सहयोग नगरेको गुनासो छ ।
कर्साङ तेम्बा र अन्य गाउँलेहरुले कसैले केही दिन्छ कि भनेर हप्तौं पर्खे । धेरैजसो सहयोग दिन आउनेहरु पनि सदरमुकामसम्म मात्रै आइपुगे ।
त्यसो त हाकुको फोटो पत्रपत्रिकामा नछापिएको होइन, तर त्यहाँसम्म राहत भने पुगेन । कार्साङ र उनीजस्ता जस्ता माग्न नजान्ने र भनसुन गर्न नसक्ने गाउँलेहरुको दैलोमा राहत आइपुगेन ।
“खै, मैले कतै त केही खोज्न गइनँ । यहाँसम्म दिन पनि कोही आएन । हामी त यही आफ्नो जलेको घर हेरेर बस्यौं” कार्साङ थप भन्छन्, “यत्रो बिचल्ली भयो, कहाँ बस्ने कहाँ सुत्ने, बच्चाहरुले के खाने भनेर गाउँका सबै मानिस रोएर बसे, तर नेताहरु, सरकारी कर्मचारी कोही पनि हेर्नसम्म आएनन् ।” karsang
पछि बिस्तारै सरकारी राहत अलिअलि गरेर हाकुसम्म आइपुग्यो । उनले पनि पहिले ७ हजार र जाडोमा लुगा लाउन भनेर १० हजार रुपैयाँ पाए । तर त्यही राहत पनि गरिबीले रुवाएको जीवनलाई जिस्क्याएजस्तो मात्र भएको अनुभव छ कार्साङको । “यसबाट भात खाने कि, लुगा लगाउने कि, घर बनाउने कि, के गर्ने ? छोराछोरी नि पढाउनैपर्छ । घरको अलिअलि पैसा नि माटो भैगयो,” उनी भन्छन् । अलिअलि खेतीकिसानी र मजदुरी गर्ने कार्साङको काँधमा थप जिम्मेवारी आइपर्यो । एक तीन छोरा र एक छोरी पढाउने, श्रीमति र आफ्नो ज्यान पाल्ने बाहेक घर पनि ठड्याउने जिम्मेवारी आइलाग्यो, त्यो पनि खानलाई पनि नपुग्ने ज्यालाबाट ।
हुन त केही मनकारी विदेशीले हाकुसम्मको बाटो थाहा पाए । बेल्जियमका एक दम्पत्तिले त्यहाँ प्रत्येकका लागि दुई लाख रुपैयाँ जति पर्ने २५ वटा टहरा बनाइदिए । त्यसैमा उनीहरुको जीवन गुज्रिरहेको छ । “बारीमा सानो टहरा बनाएको छु । त्यो पनि बेल्जियमको बुढाबुढीले सहयोग गरेको थियो । दुईटा कोठाजस्तो छ, दुई लाख जति पर्छ भन्थ्यो,” कमसेकम टाउकोमाथि छाना परेकोमा कार्साङ खुसी छन् ।
हाकु गाविसमा भूकम्पअघि कुल ७५१ घरधुरी थिए, जसमध्ये लगभग सबै भत्किएका छन् । त्यहाँका वडा नं ४, ५, ६ र ७ का २१५ घरमध्ये २३ घर आगलागीमा परेर नष्ट भए । स्थानीयबासीहरुका अनुसार आगो तीन दिनसम्म लागिरह्यो । गाउँलेहरुले उतिखेरै रसुवाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए । तर पनि सरकार वा त्यसका कुनै निकाय आएर आगो निभाउने समेत प्रयास गरेनन् । गाउँलेहरुले आफ्नो बलबुताले भ्याएसम्म गरे, तर तीन दिनसम्म आगो बलिरह्यो ।
नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकिलहरुको समूह (लाहुर्निप)को प्रतिवेदनअनुसार यहाँमात्रै ६१ जना मानिस मरे, १५ जना घाइते भए भने तीन जनाको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ । अहिले हाकुका बासिन्दामध्ये ९५ प्रतिशत धुन्चेमा, शान्तिबजार, बेत्रावती र कालिकास्थानमा विस्थापित भएका छन् ।
स्थानीय जनता अहिले पनि विपत्तिको बेलामा गुहार माग्न जाँदा स्थानीय प्रशासनले सहयोग नगरेको नमिठो घटना बिर्सन सक्दैनन् । भूकम्पपछि हाकु गाविसका सचिव पनि जिल्ला सदरमुकाम धुन्चेमा बस्न गए । स्थानीय स्कुलमा कक्षाकोठा बाँकी भएनन् र धुन्चेमा कक्षा ९ र १० का विद्यार्थीलाई लगेर पढाउन थालियो ।
एक वर्षमा यहाँका भूकम्पपीडितहरु नाममात्रको राहत बोकेर कहिले कहाँ कहिले कहाँ बसाइँ सर्दै आएका छन् । उतनीहरुका लागि आफ्ना धर्म, संस्कृति, चाडपर्व सबै बिरानो भएका छन् । राज्यपक्ष जनजातिहरु र उनीहरुका दुःखप्रति असंवेदनशील भएकाले आफूहरु ‘जनता’जस्तो हुन नपाएको धारणा व्यक्त गर्दछन् लाहुर्निपका सचिवालय निर्देशक टहल थामी । भूकम्प गएको एक वर्ष पुगिसक्दा पनि हाकुमा राज्य पुगेको त्यहाँका जनताले महसुस गर्न नपाएकोमा दुःख व्यक्त गरे ।
भूकम्पपछिको एक वर्षमा नेपालमा थुपैै्र परिवर्तन भए । संविधान बनाइयो, सरकार बदलियो, संविधानमा चित्त नबुझाउनेहरु आधा सयभन्दा बढीले ज्यान गुमाए । भूकम्पपीडितको नाममा कति सभासमारोह, उद्घाटन, शिलान्यास भए, तर कार्साङजस्ता हजारौं पीडित जनता आज पनि तिनै विदेशीहरुले बनाइदिएका टहरामा दुःख र पीडाको जीवन गुजार्न बाध्य छन् । सरकारले जति राहत बाँड्यो, त्यो अधिकांश राज्य र पार्टी नजिकका व्यक्ति र समुदायकोमा पुग्यो । राहतमा समेत विभेद गरेको ठान्ने गरेका आदिवासी जनजातिहरुले राज्य अभिभावक भएको अनुभूति गर्न पाएनन् ।
गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको भूकम्पमा सबैभन्दा बढी पीडित तामाङहरु ३० प्रतिशत छन् । त्यसपछि बाहुन–छेत्रीहरु २०.१ प्रतिशत, नेवारहरु १४.१ प्रतिशत र अन्य १०.१प्रतिशत आदि रहेका छन् ।
हाकुमा ९६ प्रतिशत तामाङ बस्दछन् जो राम्रोसँग सरकारी कामकाजको भाषा नेपाली राम्ररी बोल्न सक्दैनन् । जबकि जिल्ला सदरमुकाममा आउने सबैजसो सरकारी कर्मचारी गैरतामाङ हुन्छन् । बहुभाषी नेपालमा सरकारी कर्मचारी विविध भाषा बोल्ने जनताको भाषा सिक्न आवश्यक ठान्दैनन् भने यहाँका पीडित जनता सरकारी भाषा जान्दैनन् । सरकारी भाषाकै समस्याले गर्दा पनि गाउँका पीडित जनजातिहरु सरकारी राहतसम्म माग्न पनि सक्दैनन् ।
http://esamata.com/2016/news/20160606k/

No comments:

प्लासि बुरेया अल्केमि महलय्

  राजेन मानन्धर निभाः क्यातुसेच्वं । अगस्टया सिचुगु फसं जिमित कुचुकुचु नकःवयेधुंकल । ज्यःनां यानाच्वँतले थौं जिपिं वनेगु रहस्यमय थाय्या बारे...