राजेन मानन्धर
पृष्ठभूमि
अर्जेन्टिना दक्षिण अमेरिकामा अवस्थित एउटा छगू संघीय गणराज्य हो । यो पाराग्वे, बोलिभिया, उरुग्वे र ब्राजिलको बिचमा पर्छ अनि यसको पूर्वमा दक्षिणी आन्ध्र महासागर अवस्थित छ । यसको भूभाग लगभग २,७८०,४०० वर्ग किलोमिटर छ । यहाँ २३वटा प्रान्तहरु छन् अनि यसको राजधानी ब्यूनोस आयर्स हो ।
यहाँ पालेओलिथिक युगदेखि मानिसहरु बसोबास गर्थे भनिन्छ ।सबैभन्दा पहिले यहाँ सन् १५०२मा अमेरिगो भेसपुच्ची आएको थियो । त्यसपछि १६औ शताब्दीदेखि यो स्पेनिश उपनिवेश बन्यो । सन् १८१०देखि १८१८सम्म स्वतन्त्रताको निमित्त यहाँका जनताले संघर्ष गरेर सन् १८६१मा यो स्वतन्त्र भयो अनि संघीय रुपमा पुनर्संरचना भयो । त्यसपछि यहाँ ठुलो संख्यामा यूरोपबाट आप्रवासन बढ्यो । १९३०को राजनीतिक अस्थिरता र आन्दोलन पनि धेरै भोग्नु पर्यो यहाँका जनताले । सन् १९७६ देखि सन् १९८३सम्मको सैनिक अधिनायकवादले यहाँ राम्रोका साथै धेरै नराम्रो अनुभव पनि दिलायो । अर्जेन्टिनामा १९८५ को आन्दोलन भयो । यसले जुन्टासको ऐतिहासिक मुद्दालाई जनाउँछ, जुन एक नागरिक अदालतको मुद्दा थियो जसले फोहोरी युद्धको समयमा मानव अधिकार हननको लागि सैन्य तानाशाहीका पूर्व नेताहरूलाई मुद्दा चलाएको थियो।
यसबेला क्रूर सैन्य तानाशाहीको अन्त्य (१९७६–१९८३) भयो र अर्जेन्टिनाले राष्ट्रपति राउल अल्फोन्सिनको नेतृत्वमा लोकतान्त्रिक सरकार पायो । त्यसपछि १९८५मा पूर्व सैन्य जुन्टाका नेताहरूलाई हत्या यातना तथा बेपत्ता पार्ने जस्ता अपराधहरूको लागि मुद्दा चलाइयो । यो प्रजातन्त्रको ऐतिहासिक विजय थियो । यस्ता घटनाक्रम पश्चात् अहिले २०औ शताब्दीमा पुग्दा यो देश विश्वकै धनी र विकसित देशको रुपमा आफुलाई प्रस्तुत गर्न यो सफल भएको छ । अहिले यो देश एशिया अफ्रिका तथा ल्याटिन अमेरिकाका सम्पन्न १५ देश (जि–१५) भित्र पर्छ ।
यहाँको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यहाँ राज्यको धर्म भनेर कुनै धर्म लादेको छैन तैपनि रोमन क्याथोलिक धर्म मान्नेहरुको संख्या धेरै छ । त्यसमा पनि मध्य १९८०तिर आएको प्रजातान्त्रिक लहरको कारणले यहाँ बौद्ध धर्मको बारे अध्ययन गर्ने र अभ्यास गर्ने चलन बढ्दै गएको पाइन्छ । अहिले पनि यहाँ भएका ८०वटा भन्दा बढी बौद्ध केन्द्रहरुले यहाँको एकाधिकार बनाएको राखेको क्याथोलिक जनतालाई बिस्तारै आकर्षण गरिराखेको देखिन्छ ।
अर्जेन्टिनाका धर्महरुः
अर्जेन्टिनामा पहिला त्यहाँका आदिबासीहरुको आफ्नै धर्म थियो होला भनेर अनुमान गर्न सकिन्छ । तर कालान्तरमा यो युरोपीय साम्राज्यको उपनिवेश बनिसकेपछि यहाँ उनीहरुको धर्मको अत्याधिक प्रचार भएर यहाँको धर्म लोप भएर गएको हुनुपर्छ । पछि यहाँ धर्म रोमन क्याथोलिक धर्मको बलियो ऐतिहासिक प्रभाव भयो । त्यससँगै प्रोटेस्टेन्ट धर्मको उपस्थिति पनि बढयो । त्यस्तै गरेर विस्तारै अन्य धर्म र विश्वासहरूको विकास हुँदै गयो । यहाँको बहुधार्मिक सामाजिक वातावरणको परिदृश्य यहाँको विशेषता हो ।
हरेक देशको धार्मिक इतिहास त्यसको औपनिवेशिक इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । अर्जेन्टिनाको धार्मिक इतिहासमा पनि उपनिवेश बनाउने स्पेनको धार्मिक नीतिबाट प्रभावित छ । स्पेनी विजेताहरूले १६ औं शताब्दीमा यहाँ आएर रोमन क्याथोलिक धर्मको परिचय दिए र हर तरिकाले यहाँ आफ्नो धर्मको प्रचार गरे अनि यहाँका जनतालाई आफ्नो धर्म अँगाल्न लगाएर त्यसैमार्फत उनीहरुलाई नियन्त्रण गरिरहे । यहाँ बनाइएका क्याथोलिक चर्चहरुले आदिवासी जनसंख्याको बिचमा आफ्नो धर्मको प्रचार र स्पेनी बस्तीहरूको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसकारण यहाँ धेरै लामो समयसम्म यो प्रमुख धर्म बन्यो ।
१९ औं शताब्दीमा अर्जेन्टिनाको संविधानले क्याथोलिक धर्मलाई समर्थन गर्दै युरोपका विभिन्न भागहरूबाट आप्रवासीहरूलाई आकर्षित गर्न धार्मिक स्वतन्त्रताको ग्यारेन्टी पनि दियो । यसले गर्दा यहाँ प्रोटेस्टेन्ट, यहूदी र अन्य समुदायहरूको संख्यामा वृद्धि भई यहाँको धार्मिक परिदृश्यमा विविधीकरण पनि देखायो । यहाँको संविधानले धर्मको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ भनिन्छ । तर पनि व्यवहारमा भने नेपालमा धर्म निरपेक्ष देश भनेर लेखिए पनि हिन्दु धर्मलाई मात्र राज्यले संरक्षण दिने अन्य धर्मलाई विकास हुन नदिने गरेजस्तै यहाँ पनि रोमन क्याथोलिक चर्चलाई आर्थिक र कानुनी सहयोग पनि प्रदान गर्ने अनि अरु धर्मलाई अप्रत्यक्ष रुपमा विकासमा वाधा अडचन ल्याउने जस्तो खालको अवस्था छ ।
संक्षेपमा भन्नु पर्दा यहाँ अहिले संविधामा धार्मिक स्वतन्त्रता छ, यहाँको सर्वोच्च अदालतले क्याथोलिक धर्म भनेको औपचारिक रुपमा राज्यको धर्म होइन पनि भनेको छैन । तर यहाँको व्यवस्थाले क्याथोलिक गुरुहरुलाई सुविधा दिएको छ । अन्य धर्मावलम्बीहरुले आफुखुशी धर्म अभ्यास गर्न प्रतिबन्ध त लगाएको छैन तर राज्यबाट सुविधा पाउन दर्ता हुनुपर्ने आदि बाध्यकारी नियम बनाइएका छन् ।
अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्को २०१९ को सर्वेक्षण अनुसार यहाँको धार्मिक जनसंख्या यस प्रकार छ । यहाँ रोमन क्याथोलिकहरु जनसंख्याको ६२.९ प्रतिशत छन् । यहाँ क्याथोलिक धर्म समाज र संस्कृतिमा स्थापित भएपनि, परम्परादेखि आफुलाई क्याथेलिक भन्ने मध्ये धेरै अहलिे धर्मको अभ्यास नगर्नेहरू छन् । यहाँ प्रोटेस्टेन्ट धर्म मान्नेहरु १५.३ छन् जसमा ठूलो संख्यामा इभान्जेलिकल क्रिश्चियन समूहहरू समावेश छन् । क्याथोलिकहरुमा रुढिवाद र पुरोहितबाद हाबी भएकोले हालैका दशकहरूमा यहाँ प्रोटेस्टेन्टवाद निरन्तर बढिरहेको भन्ने केही धर्मिक अनुसन्धानहरुले देखाउँछ । यहाँका १८.९ प्रतिशत जनताको कुनै धर्म छैन । यसमा जसमा नास्तिकहरू समावेश छन् । त्यसपछि सानो समुदायमा अन्य धर्महरू २.९% प्रतिशत छन् जसमा यहूदी धर्म, इस्लाम, बुद्ध धर्म तथा आदिवासी धर्म मान्नेहरु पर्छन् ।
बुद्धधर्मको प्रवेश ः
१९८० को दशक अघि: १९८० को दशक अघि अर्जेन्टिनामा बौद्ध धर्मको प्रवेश बौद्धिक दार्शनिकहरु तथा पाठ्यपुस्तकहरु मार्फत भएको थियो । अर्जेन्टिनाका विद्वान र साहित्यकारहरू र विशेष गरी पूर्वीय दर्शनका अध्येताहरुको अनुवाद र दार्शनिक अध्ययनहरू मार्फत त्यहाँका जनताहरु बौद्ध विचारहरूसँग परिचित हुन थालेका थिए । तिनीहरु मध्ये एक प्रमुख व्यक्तित्व भिसेन्टे फ्याटोन (Vicente Fatone) थिए, जसले सन् १९२५ तिर अर्जेन्टिनामा विश्वव्यापी दार्शनिकको प्रवृत्तिहरूसँग परिचय गराउने काम गरे । उनले भारतीय दर्शनहरूको अन्वेषण गर्दा गर्दै बुद्ध धर्मको पनि गहिरो अध्ययन गरे आफुले जानेका कुरा अर्जेन्टिनाको समाजमा बाँडे । यस बाहेक जर्ज लुइस बोज (Jorge Luis Borges) जस्ता बिचारकहरुले पन ियहाँ बौद्ध धर्मको शैक्षिक जग बसाल्यो । यद्यपि, यी प्रारम्भिक प्रयासहरू व्यावहारिक भन्दा बढी सैद्धान्तिक थिए, किताबी ज्ञान मात्र थिए ।
१९८०को दशकमा प्रारम्भिक सुरुवात : अर्जेन्टिनामा बुद्धधर्म पुगेको धेरै भएको छैन । सन् १९८०को दशकमा मात्रै यहाँका मानिसहरुले बुद्धधर्मसँग परिचित राम्रोसँग अवसर पायो । यसमा १९८५मा भएको प्रजातान्त्रिक आन्दोलन र खुलापनले पनि भूमिका खेलेको हुनसक्छ ।
१९८६ बाट यहाँ एसियाली आप्रवासन बढ्यो । यहाँ बौद्ध संस्थाहरू स्थापना गर्न चिनियाँ र कोरियाली आप्रवासीहरूले महत्वपूर्ण भूमिका खेले । यहाँ आप्रवासनमा आएका चीनियाँहरुले तथा कोरियनहरुले आआफ्नौ धर्म परम्परा अनुसार बौद्ध मन्दिर वा विहारको स्थापना गरे जसको कारणले यहाँका मानिसहरुले बुद्ध तथा उहाँको धर्मसँग साक्षात्कार गर्न पाए । चिनियाँ आप्रवासीहरूले ताइवानी बौद्ध समुदायको समर्थनमा ब्यूनस आयर्सको बेल्ग्रानो छिमेकमा पहिलो बौद्ध मन्दिर, जोङ कुआन मन्दिर स्थापना गर े। त्यही समयमा, कोरियाली आप्रवासीहरूले कोरियाली बौद्ध अभ्यासहरू परिचय गर्दै आफ्नै मन्दिर स्थापना गर े। यी मन्दिरहरूले सुरुमा आफ्नै देशका समुदायहरूलाई सेवा दिए तर पछि अर्जेन्टिनाका धर्म परिवर्तन गर्नेहरूलाई बिस्तारै आकर्षित गरे।
१९९०को दशकमा : अर्जेन्टिनामा बुद्ध धर्मको भविष्य उज्यालो देखेर होला हिमाली बुद्ध धर्मका प्रभावशाली गुरु दलाइ लामाले यहाँ धेरै रुची देखाउनुभएको छ । उहाँ अहिलेसम्म तीन पल्ट अर्जेन्टिनाको धार्मिक भ्रमण गरिसक्नुभएको छ । सन् १९९२मा जाँदा उहाँले तत्कालिक राष्ट्रपतिलाई भेट्नुभयो । सन् २००६मा उहाँले धर्म देशना दिनुभयो र उहाँलाई यसबेला ब्युनोस आयर्सको मानर्थ नागरिकता दिइएको थियो । सन् २०११ उहाँ फेरि गएर प्रवचन दिनुभयो ।
यस प्रकार यहाँ बुद्धधर्मको प्रचारप्रसारमा सबैभन्दा धेरै भूमिका यहाँ आप्रवासनमा बस्न आएका एशियन अर्जेन्टाइनहरुको देखिन्छ । यहाँ अहिले १ लाख ८० हजार एशियाबाट आएका मात्र छ भनिन्छ, जसमा सबैभन्दा धेरै चीनियाँहरु, जापानीहरु तथा कोरियनहरु छन् ।
१९९० को दशकमा अर्जेन्टिनामा बौद्ध धर्मको आश्चर्यजनक ढंगले वृद्धि भयो । पहिले आप्रवासीहरु मात्र बौद्ध जस्तो देखिन्थयो भने अब एसियाली वंशबाट नआएका अर्जेन्टिनीहरु पनि धर्म परिवर्तन गरेर बौद्ध बन्ने लहरको शुरुवात भयो । आप्रबासी बौद्धअरुले पहिले आफ्नै देशका बौद्धहरुका लागि मात्र काम गर्ने गर्थे भने अबका दिनमा त्यहाँ अर्जेन्टिनको समाजलाई समेत ध्यानमा राखेर कार्यक्रमहरु संचालन हुन थाले ।
१९९२ मा ताइवानको फो ग्वाङ शान निकायले भिक्षुनी चुएह केको नेतृत्वमा ब्यूनस आयर्समा ध्यान, मार्शल आर्ट, योग र शाकाहारी अभियानका केन्द्रित भइ एउटा मन्दिर स्थापना गर्यो । यस मन्दिर बुद्ध धर्मको एउटा केन्द्र पनि हो र यसले बौद्ध सुत्रहरु स्पेनिशमा अनुवाद गरेर स्थानीयहरुलाई बुद्ध धर्म बुझ्न सजिलो बनायो ।
२००० पछिको दशकमा विस्तार
विविध परम्पराहरूः २००० को दशकसम्ममा अर्जेन्टिनाले जेन, तिब्बती (वज्रयान), थेरवाद, र सोका गक्काई (निचिरेन बौद्ध धर्म) सहित विभिन्न बौद्ध परम्पराहरूको अभ्यास गर्ने वातावरणको विकास गर्यो । यसबाहेक नयाँ कदम्पा परम्पराको केन्द्रहरू बनेका छन् ।
विपश्यना ध्यान केन्द्रहरु ः परम्परा र पूजापाठमा रुची नराख्ने अर्जेन्टनाका जनताले विपश्यना ध्यानमा रुची राखे । सत्यनारायण गोयन्कासँग जोडिएको विपश्यना ध्यानको विश्वब्यापी आन्दोलनले अर्जेन्टिनालाई समेत आकर्षण गर्यो । हुन त यहाँ पहिलो विपश्यना शिविर १९९४ मा लोबोसमा आयोजित गरिएको थियो तर यसको विकास भने २०००को दशकमा मात्र राम्रोसँग भयो ।
यहाँ एडुराडो तोरेस अस्तिगुएताले स्थापना गरेको “विपश्यना ब्युनोस आयर्स” भन्ने समुह छ । यसले पालेर्मो तथा फ्लोरेस नजिकै साप्ताहिक ध्यान शिविरहरु चलाउने गरेको छ । अहिले यहाँ दुइटा औपचारिक विपश्यना ध्यान केन्द्रहरु छन् — ब्युनोस आयर्सको ब्रान्सडेनमा धम्म सुखदाको स्थपना भएको छ । यसको विकास अर्जेन्टिना विपश्यना संघको स्थापना भएको थियो । यसले सन् २०१३देखि १० दिवसीय शिविरहरु सञ्चालन गर्दै आइरहेको छ । अर्को केन्द्र धम्म वीरिय कोरडोबा प्रान्तको क्यापिल्ला डेल मोन्तेमा अवस्थित छ । यस बाहेक अन्य केही अस्थायी शिविरहरु पनि छन् ।
बुद्ध धर्मका निकायहरुको विकास
बुद्ध धर्म अन्तर्गत विभिन्न निकाय छन् । विभिन्न निकाय अन्तर्गतका बौद्ध समुदायहरुले आआफ्नो निकाय अनुसारका धर्म अभ्यास गर्नु पनि स्वाभाविक हो । अर्जेन्टिनामा विभिन्न देशका विभिन्न निकायको अभ्यास गर्नेहरुले बुद्ध धर्मको विकास गरेको हुनाँले यहाँ विभिन्न निकायहरुको सँगसँगै विकास हुनु पनि आश्चर्यको कुरा भएन ।
अहिले यहाँ विशेष गरेर जापानको सोतो परम्पराअनुसार जेन बुद्ध धर्म धेरै प्रचलित छ । त्यस्तै तिब्बती परम्परा अनुसार ध्यान अभ्यास गर्नेहरु पनि यस परम्पराअनुसारको अध्ययन गर्ने ठाउँमा आउँछन् । यहाँ तिब्बती बुद्ध धर्म प्रभाव बढ्दै गएपछि दलाइ लामा यहाँ आएर यहाँका बौद्धहरुलाई आशिष दिनुभएको छ ।
यहाँ चीनियाँ बुद्ध धर्मको कुरा गर्दा बेलग्रानोमा सन् १९८८मा स्थापित जोङ क्वान मन्दिर (The Tzong Kuan Temple) तथा सन् १९९२मा सञ्चालनमा आएको फोग्वाङ शान शाखाको नाम लिन सकिन्छ । त्यस्तै जापानी बुद्ध धर्मको कुरा गर्दा यहाँ थुप्रै जेन दोजो मन्दिरहरु बनेका छन् । त्यसमध्ये जेन देशिमारु बैद्ध संघ अनि शोबोगेन्जीको नाम लिनु पर्ने हुन्छ ।
यहाँ अहिले महायानी, बज्रयानी, थेरवादी तथा जेन गरेर चारै निकायको बुद्धधर्म अलिअलि प्रचार भइरहेको छ । यसबाहेक विभिन्न देशका बौद्ध गुरुहरु र विद्वानहरु यहाँ आएर धर्मदेशना प्रवचन दिने अनि बुद्धधर्मको अध्ययन गराउने काम निरन्तर भइसहेकोले यहाँका मानिसहरु बुद्धधर्मसँग नजिक हुँदै गइरहेको छ । विशेष गरी धर्ममा विश्वास छैन भन्ने युवा पुस्ताले अहिले जीवन जिउने शैली वा दर्शनको रुपमा बुद्धधर्मको गहन् अध्ययन गर्न थालेको छ ।
बौद्ध धर्मगुरुहरु
यसका साथै अहिले यहाँ धेरै बौद्ध गुरुहरु छन् जसको कक्षामा बसेर यहाँका स्थानीयहरु लाभान्वीत पनि भइरहेका छन् । तिनीहरु मध्ये अगुस्टो आल्काल्डे (डाइमन्ड संघ), जोर्गे बुस्तामान्ते (सोतो सम्प्रदाय), अबलेर्टो पुलिसी (उपासक), गोन्जालो बारिएर्स (धर्म शिक्षक) अनि अर्जेन्टिनाकै लामाहरु होरासिओ र कोन्सुएलोको छुटाउन सकिन्न ।
यहाँ बुद्धधर्मको विकास बौद्ध परिवारमा जन्मेकोले अथवा श्रद्धा भएकोले भन्दा पनि अध्ययन र अभ्यासको कारणले भइरहेको छ । ग्रन्थमा लेखेको पढेर विश्लेषण गरेर यहाँका स्थानीयहरुले बुद्धधर्म अँगालिरहेका छन् । अहिले यहाँ यस्तो हुनुमा यहाँका केही लेखकहरुको विशेष योगदान भएको पाइन्छ । त्यसमध्ये एक जना साम्यूल ओल्पिनको नाम आउँछ । उनका बुद्धधर्ममा लेखेका पुस्तकहरु यहाँ निकै प्रख्यात छन् । पूर्वीय दर्शनका बारे लेख्न उनी एक नाम चलेका लेखक थिए र उसलाई यहाँ प्रख्यात देखेर दलाई लामा स्वयम्ले छात्रवृति दिएर भारतमा अध्ययन गर्न पठाउनु भएको थियो ।
९०को दशकमा चाग्डुड टुल्कु रिम्पोछेले अर्जेन्टिनामा नियमित धर्म देशना दिनुभयो । उहाँलाई दक्षिण अमेरिकामै तिब्बती बुद्ध धर्म ल्याउनुको श्रेय दिइन्छ । उहाँको प्रभावले यस क्षेत्रमा जोग्चेन अभ्यास गर्ने प्रेरणा मिल्यो ।
अर्जेन्टिनमा बुद्ध धर्मलाई प्रवेश गराउने मध्ये एक प्रमुख व्यक्तित्व भिसेन्टे फ्याटोन (Vicente Fatone) थिए, जसले सन् १९२५ तिर अर्जेन्टिनामा विश्वव्यापी दार्शनिकको प्रवृत्तिहरूसँग परिचय गराउने काम गरे । उनले भारतीय दर्शनहरूको अन्वेषण गर्दा गर्दै बुद्ध धर्मको पनि गहिरो अध्ययन गरे आफुले जानेका कुरा अर्जेन्टिनाको समाजमा बाँडे । यस बाहेक जर्ज लुइस बोज (Jorge Luis Borges) जस्ता बिचारकहरुले पन ियहाँ बौद्ध धर्मको शैक्षिक जग बसाल्यो । त्यस्तै गरेर स्याम्युल वोलपिन (Samuel Wolpin), कारमन ड्रागोनेट्टी (Carmen Dragonetti) र फेर्डिनान्डो तोला (Fernando Tola) आदिले पनि बुद्धधर्मको अध्ययन अनुसन्धान गरेर पुस्तकहरु लेखेका छन् । अझ ती मध्ये केही पुस्ताहरु त विभिन्न भाषामा अनुवाद समेत भइसकेका छन् । यसैबाट अर्जेन्टिनका बौद्ध लेखकहरुको अध्ययनको गहिराईको अनुमान लगाउन सकिन्छ ।
यसरी अन्य देशबाट यहाँ आएर धर्म शिक्षा दिने गुरुहरु मध्ये जोन क्वान मन्दिरका स्थापक पु शिएन (Pu Hsien), २१औ शताब्दीमा विश्वमा बुद्धधर्म प्रचार गर्न योगदान दिनुहुने कोरियन मोक सुनिम (Mok Sunim), अन्तर्राष्ट्रिय जोङचेन सम्प्रदायया स्थापक चोग्याल नामखाइ नोर्बु (Chogyal Namkhai Norbu), आदिहरुको नाम उल्लेखनीय छ ।
बुद्धधर्मका केन्द्रहरु ः
अर्जेन्टिनामा धेरै नभए पनि केही केही संस्थाहरुले बुद्धधर्मको प्रचारप्रसार गर्न निरन्तर काम गरिरहेका छन् । यहाँ ती संस्थाहरु मध्ये केहीको संक्षिप्त जानकारी दिइन्छ । विशेष गरेर ब्युन्स आर्यसमा जापानी साँस्कृतिक केन्द्रमा बौद्ध सोतो जेन संघ छ । यहाँ बुधबार र शनिबार नियमित ध्यान कक्षा संचालन हुन्छ । अर्बन लोटसमा पनि शुक्रबार साँझ जेन कक्षा सञ्चालन हुन्छ ।
यहाँका केही प्रमुख बौद्ध केन्द्रहरु यस प्रकार छन् ।
काग्यु टेचेन छोलिङ इन्स्टिच्युट : यो ब्युनोस आयर्सको बेलग्रानो जिल्लामा रहेकोछ । यसको स्थापना सन् १९८३मा भएको थियो । यहाँ कर्मा काग्यू निकाय अनुसाकार अभ्यास गरिन्छ । यसलाई ल्याटिन अमेरिकाकै पहिलो तिब्बती बौद्ध केन्द्र मानिन्छ ।
द्रुग्पा काग्यु दोङ्ग्युलिङ केन्द्र : सन् १९८६मा स्थापित यो केन्द्रले पहिला ब्युनोस आयर्समा र पछि बारिलोचे, तान्दिलमा शाखा खोलेको छ । सन् १९९७मा तान्दिलमा अर्जेन्टिनाकै पहिलो स्तपु निर्माण गरेको थियो । सन् २००५मा बारिलोचेमा दोश्रो स्तुप निर्माण गर्यो ।
सहाराः दलाइ लामालाई सर्वोच्च मान्ने गेलुपा परम्परा अन्तर्गतको पाठशाला मेन्दोजामा खोलिएको छ । यसले नियमित कक्षा पनि संचालन गरेको छ । यो अहिले भिक्षु र गृहस्थहरुको संघ बनाउनका लागि कार्यरत छ ।
कर्मपा सम्बद्ध केन्द्रहरु : यहाँ सेन्त्रो बुदिस्ता कामिनो बोधी अर्जेन्टिना र सेन्त्रो बुदिस्ता दे सान मिगेल आदि संस्थाहरु खोलिएका छन् यिनिीहरुले ध्यान, योगा ता धर्म शिक्षाहरु दिने गर्दछन् । दोङचेन तथा अन्य तिब्बती शिक्षाकेन्द्रहरु ः दोङचेन समुदायको लागि चोग्याल नामखाइ नोर्बुको दोङचेन समुदा खोलिएको छ ।
थेरवाद सम्बन्धी केन्द्र : यहाँ फ्रेन्ड्स अफ थेरवाद बुद्धिज्म एसोसिएसन ( La Asociación Amigos del Budismo Theravada) नाम संस्था थियो जुन अर्जेन्टिनाको ब्यूनोस आयर्समा स्थापना गरिएको थियो । यो थेरवादमा आधारित एक धार्मिक संस्था थियो, जसको लक्ष्य मुख्यतया ध्यान र पाली पिटकका ग्रन्थहरू मार्फत थेरवाद बौद्ध धर्मको प्रचार र प्रवद्र्धन गर्नु थियो ।
यहाँ भएका अन्य केही बौद्ध संस्थाहरुको नामावली यस प्रकार छ ः ब्युनोस आयर्समा बौद्ध संघ (Asamblea Budista de Buenos Aires), थेरवाद बुद्धिज्मका साथीरुको संघ (Asociación Amigos del Budismo Theravada), अर्जेन्टिना बौद्ध संघ (Asociacion Budistas de Argentina), गार्डेन महायाना बुद्धधर्म संस्था (Asociación Jardín del Budismo Mahayana), ल्याटिन अमेरिकाको जेन संगठन (Asociación Zen de América Latina), तिब्बती कर्मा काग्यु बुद्धधर्म केन्द्र ( Buddhist Center Tibetano Karma Kagyu), मेन्दोजा जेन केन्द्र ( Centro Zen de Mendoza), अर्जेन्टिना अन्तर्राष्ट्रिय सोका गाक्काइ (Soka Gakkai internacional de la Argentina) इत्यादि । ती सबै संस्था अहिले जीवन वा सशक्त होलान् वा नहोलान् तर तिनीहरुले आआफ्नो समयमा यहाँ बुद्ध धर्म प्रचार गर्नै र बौद्धहरुलाई संगठित बनाउन केही न केही भूमिका अवश्य निर्वाह गरिरहेका छन् ।
यसबाहेक बेला मौकामा प्रविधिको प्रयोगले पनि यहाँ बुद्ध धर्मको प्रचारमा सहयोग मिल्छ । सन् २००५मा यहाँ निर्मित फिल्म उन बुदा (एक जना बुद्ध) बाट पनि यहाँ बुद्धधर्मको प्रचारप्रसारमा सहयोग पुगेको छ । आफुलाई बौद्ध भन्न रुचाउने दिएगो राफेकासले निर्देशन गरेको यस फिल्ममा दुइ जना दाजु भाइ हुन्छन् — दाजु दर्शनशास्त्रया प्राध्यापक अनि भाइ बुद्धधर्मको अध्ययन गरिरहेका हुन्छन् । अर्जेन्टिनाको कालंकित सामाजिक व्यवस्थाको पृष्ठभूमिमा दाजुले भाइको बिचमा बुद्धधर्मका बारेमा हुने प्रश्नोत्तर नै यो फिल्मको विषय वस्तु रहेको छ ।
अहिले यहाँका विभिन्न बौद्ध संस्थाहरुले विभिन्न अवसरमा बुद्धधर्मका बारे प्रवचन इत्यादि दिएर यहाँका स्थानीयहरुलाई बुद्धधर्मतिर आकर्षित गरिरहेको देखिन्छ । यस्तै किसिमले यहाा धेरै भन्दा धेरै स्थानीयहरुले बुद्धको शिक्षाप्रति रुची राखेर सिक्ने तथा अभ्यास गर्ने गरिरहेको पाइन्छ । एकपल्ट यहाँ भगवान बुद्धको अस्थिधातु लैनाजने प्रयास पनि भएको थियो । यसका लागि यहाँको थाइल्याण्डको दुतावासले सहयोग पनि गरेको थियो ।
वर्तमान अवस्था ः
यति भनिरहँदा पनि अहिलेको अवस्थामा अर्जेन्टिनामा बौद्ध धर्म अल्पसंख्यकहरुको धर्म हो । यहाँ अहिले महायान, थेरवाद र तिब्बती सबै परम्पराका गरेर लगभग ३५,०००–४०,००० बुद्ध धर्मका अभ्यासकर्ताहरू छन् । यहाँको राजधानी ब्युनोस आयर्समा मात्र पनि लगभग ३० हजार बौद्धहरु छन्, जसमा २५ हजार बुद्ध धर्म स्वीकार गरेका स्थानीयहरु छन् भने ५ हजार जति बौद्ध आप्रबासीहरु छन् । यहाँ बौद्धहरु कति छन् भनेर गणना गर्न सजिलो छैन । करिब ४ करोड जनसंख्या भएको यस विशाल देशमा यति मानिस भनेको जम्मा ०.०८ प्रतिशत मात्र होला । तर पनि बुद्धको जन्म र कर्मस्थल भन्दा हजारौं किलोमिटर टाढा अनि सात समुद्र पारीको देशमा पनि यसरी बुद्ध धर्म अस्तित्वमा आएको अनि त्यहाँको समाजले सुरक्षित र सम्मानित स्थान दिएको राखेको भनेको विश्वभरीका बौद्धहरुको लागि गर्वको कुरा हो ।
जे भएपनि यहाँका स्थानीहरुका लागि बुद्धधर्म भनेको नयाँ विषयनै हो । यहाँको हावापानीसँग कुनै सम्बन्ध नभएको, कोही पनि जन्मजात बौद्ध नभएको अनि बौद्ध संस्कारमा नहुर्केका मानिसहरु यसरी बिस्तारै बुद्धधर्ममा प्रवेश गर्दै छन् । यसको कारण भनेको यहाँका धर्मगुरुहरुले यहाँका मानिसहरुलाई बुद्ध धर्म भनेको के हो र किन यो अन्य धर्म भन्दा अलग्ग छ अनि किन आफ्नो परम्परागत धर्म छोडेर यस बुद्ध धर्ममा आउनु उचित हो भनेर तार्किक र वैज्ञानिक ढंगले ब्याख्या गर्न सकेकोले हो ।
नेपालले सिक्नु पर्ने पाठ ः
अर्जेन्टिनामा भएको वा हुँद आएको बुद्धधर्मको विकास नेपालका लागि एउटा पाठ हो । निरन्तर गर्दै गयो भने अनि गर्नेहरु लगनशिल भयो भने बुद्धधर्मको छाँया समेन नपरेको दुरदराजको देशमा आधा शताब्दीको समयमा बुद्धधर्मलाई स्थापित गर्न सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ अर्जेन्टिना । अझ यो विशेष गरेर क्याथोलिक जस्तो रुढीवादमा चुर्लुम्म डुबेको देशमा भएको बुद्धधर्मको विकासलाई लिएर नेपालका बौद्ध संघसंस्थाहरु र अभियन्ताहरुले धेरै कुरा सिक्न सक्छन् ।
हाम्रो नेपालमा बुद्ध जन्मनुभएको भन्छौं, यहाँ दुइ हजार वर्ष लामो बुद्धधर्मको इतिहास छ भन्छौं तर भएका बौद्धहरुले समेत विभिन्न कारणले बुद्धधर्म त्यागेर अन्य धर्ममा लाग्ने फेसन जस्तै आइरहेको छ । भएकालाई त बुद्ध धर्ममा राखिराख्न सकेका छैनौं भने अबौद्धहरुलाई सिकाएर बुझाएर बौद्ध बनाउने कहिले हो भन्ने प्रश्न आउनु स्वभाविक हो । यस्तो अवस्थामा हाम्रो नेपालमा पनि यदि सबै मिलेर धर्मका अन्धविश्वास र रुढिवादलाई त्यागेर सच्चा बौद्धहरुले यस्तो जीवन बिताउँछन् अनि बुद्ध धर्म अँगालेमा यस्तो परिवर्तन आउँछ भनेर नमुनाको रुपमा देखाएर हामीले पनि आफ्नो समाजमा बुद्धधर्मको विकास गर्न सकिन्छ भन्ने ज्ञान यस टाढा रहेको देशमा काम गरिरहेका बौद्ध संघसंस्थाहरुले हामीलाई दिइरहको छ ।
बौद्ध मासिक आनन्दभूमि २०८२ भाद्रमा प्रकाशित । फोटोहरु विभिन्न इन्टरनेट साइटबाट साभार गरिएको
Buddhism in Argentina — Published in Buddhist Monthly of Nepal “Anandabhoomi” in September 2025.
छोटो समयमा अर्जेन्टिनामा बुद्धधर्मको विकास bit.ly/46jNTF9
No comments:
Post a Comment