Monday, September 8, 2025

फेसबुक प्रतिबन्धले निम्त्याएकाे विरोध प्रदर्शनमा १९ जनाकाे मृत्यु






सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शनमा साँझ ८ बजेसम्म प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीकाे मृत्यु भएको छ भने लगभग ३०० जना घाइते भएका छन् ।

प्रजातन्त्रिक नेपालकाे इतिहासमा सरकारले सुशासनकाे माग गर्नेहरुकाे प्रदर्शनमा एकै दिनमा यति धेरै मान्छे मारेको यो संभवतः पहिलो पटक होला ।

अभिव्यक्ति स्वतन्त्रता देउ अनि भ्रष्टाचार नियन्त्रण गर भन्ने जस्ता नारा लिएर युवाहरु विषेश गरेर २८ वर्ष मुनिका जसलाई आजभोलि जेनजी भनेर चिनिन्छ आज उनीहरु संसाद भवन घेर्न पुगेका थिए । उनीहरु सरकारको भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र लोकतन्त्र माथि बारम्बार भइरहेको आक्रमणको विरुद्धमा सडकमा आएका हुन् । मध्यान्हतिरबाट युवाहरु प्रहरीकाे सुरक्षा घेरा तोडेर निषेिधत क्षेत्र पार गरी नयाँ बानेश्वरमा संसद भवनकाे गेटमै पुगेर नाराबाजी गरे । नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । जिल्ला प्रहरी परिसरले कम्तिमा ४ हजारको संख्यामा युवाहरु भेला भएको भनेको छ ।

आफुकहाँ दर्ता गर्न आएन भन्ने निहुँमा सरकारले जनमानसमा चर्चित र उपयोगी फेसबुक लगायतका सामाजिक संजालहरु बन्द गरिदिएपछि नेपालका युवाहरु पहिले कहिल्यै नभएकाे जसरी स्वस्फुर्त ढंगले जागेका छन् । सामाजिक संजाल रमाइलो गर्ने थलो मात्र हैन अहिले सुसूचित हुने संचार माध्यम विदेशमा बस्ने आफन्तसँग संचार गर्ने उपाय अनि हजारौंको व्यापार प्रवर्धन गर्ने बाटो पनि भएकाे छ ।

 

कुनै पार्टीसँग प्रत्यक्ष संलग्नता नभएका युवाहरुलाई सुरक्षा स‌ंयन्त्रले पहिल्यै देखि आक्रमण गरेर उत्तेजित बनाएकाे देखिन्छ । अुगवाहरुलाई गिरफ्तार गर्ने वा नियन्त्रणमा लिएर स्थितिलाई सामान्य पार्ने भन्दा पनि गोली नै चलाएर दमन गरेरै लाने प्रहरीकाे यो बर्बरतापूर्ण योजना बनाएकाेले पनि यो स्थिति आएकाे हो । सरकारले अपनाएको दमनकारी नीति र हिंसात्मक रवैयाले गर्दा नै यो आन्दोलन यति हिंसात्मक भएकाे हो । अस्पताल भित्र समेत प्रहरी गएर स्वास्थ्यकर्मीलाई समेत आतंकित पार्ने काम भएको छ ।

यसै प्रकारकाे आन्दोलन काठमाडौं लगायत पोखरा बुटवल बिर्तामोड खोटाङ दमक भरतपुर सुर्खेत कालिकोट हेटौंडा धनगढी आदि देशका अन्य भागमा पनि भएकाे छ ।

काठमाडौंमा प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको थियो र त्यस क्षेत्र लगायतका ठाउँमा सेना परिचालन गरिएकाे थियो । त्यस्तै स्थिति नियन्त्रणमा राख्न नसकेपछि इटहरी रुपन्देही पाेखरा लगायतका ठाउँमा समेत कर्फ्यु लगाइएकाे छ ।

स्थितिकाे गंभीरता नबुझेका प्रधानमन्त्री केपी ओली भने देशकाे कानुन नमान्ने सामाजिक संजाल प्रयोग गर्न पाइँदैन भनिरहेकाे थिए । जनताको मागलाई जहिलेपनि हेप्ने वा हँसी मजाकमा उडाइदिने अनि सबैलाई अर्ति उपदेश दिएर आफुलाई विद्वान भनेर चिनाउन खोज्ने प्रधान मन्त्री अझै गंभीर भएकाे जस्तो देखिँदैन । उनी भन्दै थिए — देशलाई हेपेको सहन सकिँदैन अनि अहिले केही मान्छेहरु विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन् ।

सर्वसाधारणलाई फेसबुक चलाउने नपाउने निर्णय गराउने प्रधानमन्त्री केपी ओलीले भने अझै फेसबुकमा आफ्नो गतिविधि जारी नै राखेर आफ्नो नैतिकताकाे धज्जी आफैले उडाएकाे कुरा पनि यहाँ प्रासंगिक हुन आउँछ । अरुले गर्न नदेख्ने ओलीको सचिवालय पेजमा समेत एमालेको विधान महाधिवेशनसम्बन्धी पोस्ट भएको थियो ।

 

सरकारले फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर पनि भएको थियो । तर ती सामाजिक सञ्जाल खुलाउन सर्वोच्चमा १२ रिट त पुगै तर ती रिट न दर्ता भए, न दरपिठ भएर अल्झेर बसिसहेकाे थिए ।

सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाउँदा सत्तामा रहेका तथा अन्य पार्टीहले पनि केही छुटपुट नेताहरुले व्यक्तिगत रुपमा असन्तोष जनाए पनि पार्टी नेतृत्वले भने मौन रहेर सहमति देखाइरहकाे थिए । उनीहरु आफै पनि ढिलो चाँडो सत्तामा जानै पर्ने अनि सत्तामा पुग्दा जनताकाे विरोध सहन नसक्ने रोग भएकाेले उनीहरु यस प्रतिवन्ध प्रति सकारात्मक नै देखिन्थे ।

फेसबुक युट्युव जस्ता सामाजिक संजाल बन्द गरिनुको पछाडि नागरिकका आवाज निषेधित गर्ने एक मात्र नियत थियो भन्ने कुरा स्पष्ट थियो । यो २१औं शताब्दीमा जनताको मुख थुनेर सत्तामा टिक्न सकिँदैन भनेर अहिले सरकारमा जानेहरुले नबुझेको देखिन्छ । हुन त युवाहरुले भिपिएन आदिको प्रयोग गरेर ती निषेधित साइटहरुमा प्रवेश गरिरहेकै थियो तर यसले एकातिर सामान्य पुरानो पुस्ताका मानिसहरुलाई कठिनाइ भइरहेकाे थियो भने यस्तो निषेध देशकै अभिव्यक्तिमाथिको स्वतन्त्रता हनन थियो भन्ने युवाहरुकाे ठम्याइ थियो । हुन पनि यो काम सरकारले आलोचना दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने भनेर सबैलाई थाहै छ ।



फेसबुकले गर्दा सानो ठुलो घटना बारे सबैले तुरन्त जानकारी पाइरहेका थिए । ठुला पत्रिकाहरुले नछोएका विषयका बारेमा पनि चर्चा हुन थाल्यो । यसले गर्दा देशमा भएका सबै प्रकारका अनियमितता भ्रष्टाचार गलत निर्णय लेनदेन पदकाे दुरुपयोग अनि सार्वजनिक पदमा रहेका मानिसहरुकाे गलत आचरणका बारेमा पनि जनता सुसूिचत भइरहेका थिए । अनि जनताले पनि हरेक घटनमामाथि प्रत्यक्ष रुपमा आफ्नो कमेन्ट राख्ने स्वतन्त्रता पाइरहेकाे थियो ।

हुन पनि एक पल्ट चुनाव जितेको भरका सरकार बनाएर अरुलाई सुन्न थाहा पाउन समेत नदिएर भित्र भित्र नेटवर्क बनाएर आफुले सात पुस्ताले देख्न नपाएको सम्पत्ति लुटने अनि सामान्य जनताले गरिखाने समेत वातावरण नपाउने भनेको कसैगरी पनि सह्य कुरा होइन । गएकाे आधा शताब्दीदेखि यो देशकाे ढुकुटी उनीहरुकाे खल्तीमा छ । हेर्दा हेर्दै पेशा व्यवसाय नगरी आफ्ना कार्यकर्तालाई पैसा बाँड्न सक्ने, उनीहरुको जीवन शैली विलासी हुने अनि उनीहरुका छोराछोरी पनि कामै नगरी धनाढ्य जीवन बिताउन सक्ने भनेको उनीहरुले देश लुटेको प्रमाण नै हो । कति चुप लागेर बस्छन् त जना ?

एक पल्ट सत्तामा पुगेपछि कसैगरी पनि सत्तामा टाँसिरहने शरीरले काम गर्न छोड्दासम्म पनि सत्ताकै वरीपरी बसिरहन मन पराउनुकाे कारण पनि सत्ताबाट टाढा भयो भने जनताले धुलोपिठो बनाउलान् भन्ने डर पनि हो । जुन उनीहरुमा हुनु पनि पर्छ ।

जहिले पनि जुनै पार्टीबाट पनि ७० आसपासका बुढाबुढीहरुले मात्र शासन गर्ने, सत्तामा जानका लागि जस्तो सुकै खेल पनि खेल्ने र युवाहरुकाे मागलाई सम्बोधन नगर्ने परिपाटी भएकाे देशमा यसरी युवाहरुले एकै दिनकाे विरोध प्रदर्शनले सरकारलाई यो पाली झुक्न बाध्य बनाउने देखिन्छ ।

 

साँझ तिर पुगेपछि बल्ल सत्तामा सहभागी पार्टीहरु र अन्य पार्टिहरुले यसकाे प्रतिबन्ध र सरकारी दमनको विरोध गर्न थालेका छन् । प्रधानमन्त्री तथा गृह मन्त्रीले राजिनामा दिनु पर्ने अनि आन्दोलनरत युवाहरुसँग सरकारले वार्ता गर्नु पर्ने कुरा निकालेका छन् । सरकारलाई कुरा बुझाउनलाई १६ जना नेपालीको बलि दिनु नै पर्ने ?

यस आन्दोलनलाई चर्चित युवा नेता रवि लामिछानेले तथा काठमाडौंका युवा मेयर बालेन साहले तथा अभिनेता दयाहाङ राईले ऐक्यबद्धता जनाएका थिए ।

फिलिपिन्स, इन्डोनेसिया, बंगलादेश श्रीलंकालगायतका देशमा जस्तै नेपालमा पनि युवाहरुकाे ‘नेतृत्वविहीनहरुको आन्दोलन’ ले केही दुरगामी परिवर्तन ल्याउने संकेत देखाएकाे छ ।

00

१९ जनाकाे ज्यान गएकाे छ । गन्न सक्छौं ती लासहरु ? ए सरकार तिमीलाई तानाशाह बन्न सरकारमा पठाएकाे हैन, देश बनाउ भनेर पठाएकाे थियो । बनाएकाे त देख्न पाइएन तर देश भने भ्रष्टाचारमा डुबिरहेकाे छ । ती युवाहरुले त्यही भ्रष्टाचारकाे नियन्त्रण गर्न माग गरेका थिए तिमीहरु, तिमीहरुको छोरी छोरी कसरी विलासी जीवन बिताउन सक्ने भयो भनेर सोधेका थिए । अनि सडकमा आउन नपर्ने गरेर सामाजिक संजालमा तिमीहरुकाे कालो करतुतकाे जानकारी लिने अवसर मात्र मागेका थिए । उनीहरुले तिमीहरुले खाँदै आएकाे भाग पनि खोस्न आएका थिएनन् र उनीहरु आफ्ना कुनै अमुक नेतालाई सत्तामा राख्नलाई सडकमा आएका पनि थिएनन् ।


अब फेसबुक हैन ती युवाहरुकाे रगतकाे मोल माग्छ जेनजीले । तिर्न सक्छौं ? एक एक थोपा रगतको हिसाब हुन्छ अब ।


फोटोहरु  विभिन्न अनलाइनहरुबाट साभार लिइएका हुन् । 

फेसबुक प्रतिबन्धले निम्त्याएकाे विरोध प्रदर्शनमा १९ जनाकाे मृत्यु

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...