राजेन मानन्धर
इन्डोनेशिया एशियाको दक्षिण पूर्वमा पर्ने द्वीप समुहको एउटा यस्तो देश हो जसलाई प्राचीन मानव जाति शुरु भएका स्थलहरु मध्ये एक मानिन्छ । प्राचीनकालमा आत्मापुजकहरुको बाहुल्यता भएको यस देशमा बुद्ध धर्म र हिन्दु धर्मले प्रवेश पायो, आफ्नै किसिमबाट धर्म र संस्कृतिको विकास गर्यो । त्यसबेलाका बौद्धहरुले यहाँ विश्वकै सबैभन्दा ठुलो बौद्ध स्तुप बोदोबुदुरको निर्माण गरे । तर पछि भने मुस्लिमहरुको प्रवेश पछि यहाँ बुद्ध धर्म लगभग विलिन भयो । अहिले यहाँको जनताको एक प्रतिशत भन्दा कमले मात्र बुद्ध धर्म मानिराखेको छ । यस लेखमा इन्डोनेशियामा बुद्ध धर्मको प्रवेश, विस्तार, लोप र पुनर्जीवनकोे बारे संक्षेपमा चर्चा गरिने छ ।
इन्डोनेशियाको संक्षिप्त परिचय
इन्डोनेसिया एक गणतन्त्रात्मक देश हो जुन दक्षिणपूर्व एशिया र ओशिनियामा हिन्द र प्रशान्त महासागरहरूको बीच रहेको छ । यसको वरिपरी पपुवा न्यू गिनी, पूर्वी टिमोर, मलेशिया, सिंगापुर, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, अष्ट्रेलिया, पलाउ, र भारत (अण्डमान र निकोबार टापुहरू) रहेका छन् ।
यसलाई विश्वको सबैभन्दा ठूलो द्वीपसमूह राज्य (आर्केपेलेगो) पनि भनिन्छ, जस अन्तर्गत १८ हजार साना ठुला द्वीपहरु पर्दछन् । यी मध्ये सुमात्रा, जाभा, सुलावेसी, र बोर्नियो र न्यू गिनीका भागहरू आदि हुन् । यसको क्षेत्रफल १,९०४,५६९ वर्ग किलोमिटर छ भने यहाँको जनसंख्या लगभग २ करोड ७५ लाख छ ।
यहाँ १३ सय जातीय समुहहरु बसोबास गर्छन् र उनीहरुको भाषा ७ सय भन्दा धेरै छन् । यो देशको राजधानी जकार्ता हो जसलाई विश्वको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको शहरी क्षेत्र पनि भनिन्छ । यहाँको राजधानीमा मात्रै १ करोड भन्दा बढी मानिस बस्छन् । कुनै बेला बौद्ध साम्राज्यहरु भएको देशमा अहिले मुस्लिमहरुको बाहुल्यता छ । सरदर हेर्दा अहिले यहाँ ८६.७ प्रतिशत मुस्लिमहरु, १९.७ प्रतिशत क्रिश्चियनहरु, १.७४ प्रतिशत हिन्दुहरु र ०.८ प्रतिशत बौद्धहरु छन् । अर्थात् यहाँ २ लाख ६२ हजार बौद्धहरु बसोबास गर्छन् ।.इस्लाम, प्रोटेस्टानियनिज्म, रोमन क्याथोलिक, हिन्दु बौद्ध र कन्फुशियनिज्मलाई यहाँ औपचारिक धर्म मानिन्छ र यहाँको संंविधानले धार्मिक स्वतन्त्रकाको प्रत्याभूति दिएको छ ।
इन्डोनेशियामा बुद्धधर्मको प्रवेश
इन्डोनेसियाका आदिवासीहरु आत्मापूजक वा प्रकृतिपूजक थिए । उनीहरु पहिलेदेखि रुख, ढुंगा इत्यादिमा विशेष शक्ति छ भनेर वा तिनीहरु सबैमा आत्मा हुन्छ भनेर पूजा गर्ने गर्थे । यस्तोमा बुद्ध धर्मले कहिले प्रवेश पायो भन्न सजिलो छैन । फेरी कति धेरै बुद्ध धर्म फैलेकोलाई फैलेको भन्ने पनि प्रश्न होला ।
सामान्य रुपमा भन्दा त्यहाँ बुुद्ध धर्मको मध्यपूर्व अर्थात् पर्सिया इत्यादि देशहरुले ब्यापारको सिलसिलामा दक्षिणपूर्वी देशसम्म आफ्नो यात्रा गर्न जानेदेखि उनीहरुसँगै त्यहाँ बुद्धधर्म पुगेको देखिन्छ । यसरी भन्दा ईशाको पहिलो शताब्दीको प्रारम्भसँग भारतवर्षको व्यापार यात्रा समुद्री सिल्क रोडको माध्यमबाट इन्डोनेसिया पुगेको देखिन्छ । यही समयबाट नै त्यहाँ बुद्धधर्मले प्रवेश पाएको भयो । यद्यपि त्यसबेलाको बुद्धधर्म कुन निकायको अनि त्यहाँ बुद्धधर्मले कति ठुलो समाजलाई प्रभाव पार्न सक्यो भन्ने जिज्ञासाहरु भने अनुत्तरित नै छन् । यहाँ हिन्दु धर्मले बुद्ध धर्म भन्दा केही सय वर्ष पहिले मात्र प्रवेश पाएको थियो ।
इन्डोनेसियाको सबैभन्दा पुरानो बौद्ध पुरातात्विक स्थल भनेर बाटुजया स्तूप परिसरलाई लिइन्छ जुन पश्चिम जाभाको कारावाङमा रहेको छ । यहाँको पुरातात्विक अवशेषलाई दोश्रो शताब्दीको भनेर भनिएको छ । त्यस्तै किसिमले सुमात्राको जाम्बी, पालेम्बाङ र रियाउ प्रान्त एवं मध्य र पूर्वी जाभामा पनि प्राचीन बौद्ध क्षेत्रहरु उल्लेखनीय संख्यामा पाइन्छन् ।
इशाको ४०० देखि ७०० भित्र इन्डोनेशियामा कमसेकम तीन वटा विशाल बौद्ध राज्यहरु बनिसकेको देखिन्छ । ईस्वी ४००मा पश्चिम जाभा द्वीपमा बौद्ध राज्य, तरुमानगर स्थापित भएको थियो । तरुमानगर वा तरुमा र पश्चिमी जाभामा अवस्थित एक प्रारम्भिक सुण्डाहरुको राज्य थियो । यहाँका शासक पूर्णवर्मनले इस्वी ४५०मा राखेका केही अभिलेखहरु भेटिएका छन् ।
ईस्वी ४२५मा दक्षिण सुमात्रा द्वीपमा बौद्ध राज्य .श्रीविजयको स्थापना भयो जुन वर्तमान समयमा सुमात्राको पालेम्बाङमा पर्दछ । यो त्यसबेलाको दक्षिण पूर्वकै सबैभन्दा ठुलो बुद्ध धर्मको अध्ययन केन्द्र थियो । यसबेला यहाँ बौद्ध विद्यालयहरु र गुम्बाहरु खुले । यहाँका धर्मपाल तथा शाक्यकीर्ति जस्ता बौद्ध विद्वाहरुको नाम अहिले पनि विश्व बुद्धधर्मको इतिहासको अध्ययन गर्दा आउँछ । श्री विजय वंशको राज्यकालमा, अर्थात् इस्वीको ७औंदेखि १४औं शताब्दीसम्मको समयमा इन्डोनेशियाकै सबैभन्दा ठुलो बौद्ध साम्राज्य बनेको अवस्थामा यहाँ सबैभन्दा धेरै बुद्ध धर्मको विकास भएको थियो ।
ईस्वी ७३२मा मध्य जाभामा राजा सञ्जय अथवा शैलेन्द्र राज्यको स्थापना गरे । यसै राज्यवंशको समयमा यहाँ विश्वको सबैभन्दा ठुलो स्तुप बोरोबुदुरको स्थापना भयो । यस स्तुपलाई विश्वका सात आश्चर्य तथा युनेस्को विश्व सम्पदा सूचि अन्तर्गत राखिएको छ । यस भव्य स्तुपमा राज्यले गरेको योगदान हेरेर पनि त्यसबेलाको यहाँको बुद्ध धर्म कति सशक्त थियो भनेर अनुमान गर्न सकिन्छ । इन्डोनेशियामा महायानको विकास गर्न शैलेन्द्र वंशको योगदान भएको मानिन्छ ।
५औ शताब्दीमा चीनियाँ बौद्ध भिक्षु फाहियान भारतको भ्रमण गरी फर्कदा इन्डोनेशियाको जाभा पुगेका थिए ।
इत्सिङको वर्णन
इन्डोनेशियाको बुद्धधर्मको इतिहासको बारेमा थाहा पाउन चीनियाँ यात्री इत्सिङ (यिजिङ)को यात्रा वर्णनले धेरै सहयोग गर्दछ । उनी चीनबाट भारतको नालन्दा विश्वविद्यालयमा बुद्धधर्मको अध्ययन गर्न निस्कँदा इन्डोनेशियाको श्रीविजय राज्यमा पुगे । उनले त्यहाँ सन् ६७१मा छ महिना बसेर संस्कृत व्याकरण र मलया भाषा सिके । उनले आफ्नो यात्रा वर्णनमा ७औ शताब्दीको इन्डोनेशियामा बुद्धधर्मको प्रचार र त्यहाँका बौद्ध भिक्षुहरुको ज्ञानको तारिफ गरेका छन् । उनले त्यहाँ श्रीविजयलाई एक शक्तिशाली समुद्री साम्राज्यको रुपमा देखे र उनले यस साम्राज्य त्यस क्षेत्रमा बौद्ध शिक्षा केन्द्रको रूपमा विकसित भइरहेको भनेर वर्णन गरे ।
अझ उनले त यदि कुनै चिनियाँ भिक्षुहरूलाई भारतको नालन्दामा गएर अध्ययन गर्नु मन लागेको छ भने त्यो भन्दा अघि श्रीविजयमा केही समय अध्ययन गरेर मात्र जान सल्लाह समेत दिएका थिए । उनले वर्णन गरे अनुसार त्यहाँ १,००० भन्दा बौद्ध भिक्षुहरु थिए, जो अध्ययन र अभ्यासमा निकै उत्सुक थिए । उनीहरु भारत भएका विषयहरूको अनुसन्धान र अध्ययन गर्थे अनि त्यहीँको जस्तो नियम र अभ्यास गर्थे । त्यसबेला बुद्ध धर्म दक्षिणपूर्वी एसियाका टापुहरूमा फैलिरहेको थियो अनि दक्षिणी सागरका टापुहरूमा धेरै राजाहरू र शासकहरूले बुद्ध धर्मको प्रशंसा गर्थे र विश्वास गर्थे अनि तिनीहरू पुण्यकार्यमा सरिक हुन्थे भनेर पनि इत्सिङले वर्णन गरेको पाइन्छ । यसले ७औं शताव्दीमा इन्डोनेशियाको बुद्धधर्मको अवस्था प्रष्ट पार्छ ।
त्यसबेला ६औ शताब्दीको अन्त्यतिर श्री विजय राज्यका शैलेन्द्र वंशका एक राजकुमार विद्वान भिक्षु बनेर नालन्दा विश्वविद्यालयमा शिक्षक र कवि बन्न भारत गए भनेर पनि भनिएको पाइन्छ ।
बोरोबुदुर
इन्डोनेशियाको बुद्धधर्मको कुरा गर्दा विशाल बोदोबुदुर चैत्यको बारेमा केही जानकारी दिनु प्रासंगिक हुन्छ । मध्य जाभाको दक्षिणमा रहेको केडु उपत्यकामा स्थित यो विश्वकै सबैभन्दा ठुलो चैत्य त्यहाँको ९औ शताब्दीको बुद्ध धर्मको विकासको शिखरमा पुगेकोको प्रमाण हो । यसको निर्माण शैलेन्द्र वंशका राजा समरतुङ्गको राज्यकालमा सम्पन्न भएको थियो । यसको निर्माणमा त्यहाँको मौलिक कलाका साथै भारतको गुप्तकलाको झल्को पाइन्छ । करिब इस्वीको ७५० देखि निर्माण थालेर ८२५ तिर सम्पन्न गरिएको यो चैत्यको निर्माण सम्पन्न हुन करिब ७५ वर्ष लाग्यो । यसको उचाइ ४२ मिटर छ र यसको लम्बाइ १२३मीटर र चौडाइ १२३ मिटर गरी यसको आकार यसले १५१२९ वर्गमिटर छ । यसको निर्माण र निर्माताको बारेमाम निकै थोरै अभिलेखहरु प्राप्त छन् । यसको निर्माणको श्रेय गुणधर्म नामक बास्तुविद्लाई दिइएको छ, जो नेपाल वा भारतवर्षबाट गएका थिए भनेर समेत विश्वास गरिन्छ ।
यसको तलदेखि माथिसम्मको चरणहरुलाई हेर्दा यसले बौद्ध व्रम्हाण्डलाई प्रतिकात्मकरुपमा देखाएको प्रतीत हुन्छ । यहाँका तीन तहहरुलाई क्रमशः कामधातु, रुपधातु र अरुपधातु भनेर सम्बोधन गरेको पाइन्छ । यसमा नौवटा डबलीहरु बनेका छन् र त्यसमाथि स्तुपको डोम बनाइएको छ । यसमा २,६७२वटा कर्मविभङग, ललितविस्तर, जातक, अवदान तथा गण्डव्यूह सम्बन्धी भित्तेमूर्तिहरु, ५०४वटा बुद्धका मूर्तिहरु तथा ७२वटा भित्र बुद्धमूर्तिभएका जालीदार चैत्यहरु जडित छन् ।
इन्डोनेशियामा त्यस्तै किसिमबाट अन्य बौद्ध भिक्षुहरू धर्मपाल, नालंदाका प्राध्यापक र दक्षिण भारतीय बौद्ध वज्रबोधी आदिले पनि इन्डोनेशियाको श्रीविजयमा अध्ययन भ्रमण गरेका थिए भन्ने आलेख पाइन्छ । भारतीय बौद्ध भिक्षु अतिशा दीपंकर सुमात्रा आएर १२ वर्ष बसेर गएको भन्ने तिब्बती श्रोतहरुले भन्दछन् ।
यस प्रकार हेर्दा ७औ शताब्दी देखि १२औ शताब्दीसम्म श्रीविजय इन्डोनेशियाकै इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो बौद्ध साम्राज्य थियो भन्न सकिन्छ । श्रीविजय तथा यहाँका राजाहरुले इन्डोनेशियामा बुद्ध धर्मको संरक्षण तथा प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यहाँका शासकहरुले आफ्नो राज्यविस्तारसँगै आफुले जितेर लिएको जाभा, मलाया आदि ठाउँमा पनि विस्तारै बुद्धधर्मको प्रचार गरेका थिए ।
१३औ शताब्दीमा पूर्वी जाभाको सिङ्घासरीका राजा केर्तानगरले तान्त्रिक बुद्धधर्मलाई संरक्षण प्रदान गरिराखेको थियो । त्यसकारण यसबेला यहाँ प्रज्ञापारमिताका थुप्रै मूर्तिहरु बने । सिङ्घासरीमा पाइएको १३औंशताब्दीको एक सुन्दर प्रज्ञापारमिताको मूर्तिले त्यसबेलाको बुद्धधर्मको परिदृष्य देखाउँछ । यस मूर्तिमा त्यसबेलाको ऐतिहासिक, धार्मिक महत्वका साथै यो कलाको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हाल यो मूर्ति इन्डोनेशिया राष्ट्रिय संग्रहालय जाकार्तामा राखिएको छ ।
इस्वीको १३औ देखि १५औं शताब्दीसम्म मजपहित साम्राज्यमा बुद्ध धर्म र हिन्दु धर्म सहअस्तित्वको आधारमा सँगसँगै विकास भइरहेको पाइन्छ । मजपहित राज्यको पतन सँगै इन्डोनेशियामा मुस्लिमहरुको प्रभाव बढ्दै गयो । अथवा मजपहित राज्यको पतन र मुस्लिमहरुको उदयले गर्दा बौद्धहरु र हिन्दुहरुले आफ्नो अस्तित्वको लागि समागमको बाटो रोजेको हुनसक्छ ।
इन्डोनेशियामा इस्लाम धर्मको प्रवेश
तर इन्डोेनेशियाको हजारौं वर्ष पुरानो इतिहास भएको बुद्धधर्म धेरै समयसम्म प्रभावशाली रहेन । १२औ वा १३औं शताब्दी तिर मध्यपूर्वतिरबाट ब्यापारकै सिलसिलामा अरबका मुस्लिमहरुको इन्डोेनशियामा पभाव बढ्यो ।
यहाँ हिन्दुको प्रभाव बढ्दै जाँदा बुद्धधर्म कमजोर हुन थालेको थियो भने इस्लामको प्रवेशले ठिक त्यस्तै किसिमबाट हिन्दु पनि कमजोर हुँदै गइरहेको अवस्था थियो । यद्यपि भारतमा जस्तो यहाँ मुस्लिमहरुको हिन्दुहरुमाथि अत्याचार गरेको उदाहरण सामान्यतयाः पाउन मुश्किल छ । बरु मुस्लिमहरुले यहाँका शासकहरुलाई प्रभावमा पारेर उनीहरुलाई मुस्लिममा धर्म परिवर्तन गराइ उनै शासकहरुलाई इस्लामको संरक्षकको रुपमा लिएर समाजमा प्रभाव बढाउँदै गइरहेको पइन्छ ।
इस्वीको १२९२मा मजपहित राज्यमा वीआया नामक राजकुमारले शासन गरे । १३३१सम्ममा यो राज्य विस्तार भएर भियतनाम, क्याम्बोडिया तथा फिलिपिन्सिका क्षेत्रहरुसम्म पुग्यो । १३४५मा समुदेरा पासाइ भन्ने ठाउँमा पहिलो मुस्लिम राज्य स्थापना भयो । र १५०५मा जाभामा दिमक नामक मुस्लिम राज्य बन्यो ।
१५औं शताब्दीमा त्यहाँ रहेको बौद्ध र हिन्दु सभ्यता बिलायो भने १६औं शताब्दीको अन्ततिर इस्लामले जाभा र सुमात्रा द्विपमा त्यहाँको प्रमुख धर्मको रुपमा अधिपत्य जमायो । यस पछिको करिब ४५० वर्ष त्यहाँको समाजमा बुद्ध धर्मले कुनै ठाउँ पाएन । जसको कारणले त्यहाँका बौद्ध मन्दिर, स्तुप आदि बन्जर बने र माटोमा पुरिए । यसबिचमा इन्डोनेशियामा बुद्ध धर्ममो अभ्यास गर्ने कोही थिए भने चीनियाँ आप्रवासीहरु मात्र थिए । कोही भने त्रिधर्म भनेर बुद्ध धर्म, कन्फुशियन धर्म र ताओ धर्मलाई मिसाएर मान्थे ।
उपनिवेशकालमा इन्डोनेशिया
तर मुस्लिमहरुको राज्य पनि धेरै लामोसमयसम्म टिक्न पाएन । यहाँको कमजोर राज्य व्यवस्थाका कारण इन्डोनेशिया युरोपका साम्राज्यवादीहरुको आँखामा पर्यो र विभिन्न देशले पालैपालो यसलाई आफ्नो उपनिवेश बनाएर शोषण गर्न आए ।
संक्षिप्तमा भन्नुपर्दा यसपछिको युग भनेको अशान्ति र शोषणको युग बन्यो । सन् १५०९ मा पोर्चुगिजहरु इन्डोनेशिया आए र १६००सम्म शासन गरे । १६०२मा डचहरु आए । १८औ शताब्दीसम्ममा डचहरुले यस द्विप समुहमो अधिकांश ठाउँमा आफ्नो अधिकार जामाए र र १९४५सम्म शासन गरे । उनीहरुको व्यापार भारत श्रीलंका, टाइवान र जापान सम्म पुग्यो । यसैबिच १८११ देखि १८१६सम्म छोटोसमयका लागि ब्रिटिशहरुले पनि इन्डोनेशियालाई कब्जामा राखे । उनीहरुले एकपछि अर्को गरेर त्यहाँको मसला इत्यादि प्राकृतिक श्रोतको दोहन मात्र गरे ।
उपनिवेशका सोझा सिधा जनतामाथि धेरै थोरै अन्याय र अत्याचार गर्ने त स्वाभविक नै थियो । सन् १९३०को जनगणनामा धर्मको महलमा इस्लाम र क्रिश्चियन धर्म राखिएको थियो तर बुद्ध धर्म उल्लेख नै थिएन । यसले त्यसबेला त्यहाँको समाजमा बौद्धहरु देखिँदैनथे अथवा उपनिवेश सरकारले बौद्धहरुलाई अस्वीकार गरेको देखिन्छ । दोश्रो विश्वयुद्धको समयमा जापानले सन् १९४२देखि १९४५सम्म इन्डोनेशियामा अधिपत्य जमाए ।
बुद्ध धर्मको पुनर्जीवन
उपनिवेशकालमा इन्डोनेशियामा शासन गर्न आएका साम्राज्यवादीहरुले त्यहाँको श्रोतको दोहन गरे, समाजमा केही नकारात्मक प्रभाव पारे । तर यसका साथै उनीहरुले नै जमिन मुनि दबिसकेको बौद्ध सम्पदाको उत्खनान्, संरक्षण तथा जीर्णोद्धार गरे । यसका साथै यहाँको बुद्ध धर्म र बौद्ध दर्शनलाई नयाँ ढंगबाट अध्ययन गर्न र बुद्धलाई युरोपमा चिनाउन उनीहरुले गरेको योगदानको पुन मुल्यांकन गरिनु पर्दछ । उनीहरुले २०औ शताब्दीमा आएर बुद्ध धर्मलाई लुप्त भैसकेको इतिहासको धर्मको रुपमामात्र नलिई यसलाई वर्तमान विश्वमा सबैलाई चाहिने जीवन दर्शन पनि हो भनेर पनि विश्वमा देखाए । अझ कतिले त इन्डोनेशियाली बौद्धहरुलाई संगठित बनाउन नेतृत्वदायी भूमिका पनि खेले ।
हुन त १९औं शताब्दीको आरम्भमै पनि इन्डोनेशियामा बुद्धधर्मलाई पुनर्जीवन दिने प्रयास नभएको होइन । तर बहुधार्मिक देशमा सबै धर्मको सहअस्तित्वको काम गर्दा गर्दै बौद्धहरुले आफ्नो धर्मको विकास गर्न वातावरण पाएन । थियोसोफिकल सोसाइटीको स्थापना गर्ने अभियान त्यहाँ उपनिवेश कालमै शुरु भइसकेको थियो ।
सन् १९२९मा जाभा बौद्ध संगठन (Java Buddhist Association -JBA)को स्थापना भयो । डच मुलका बौद्ध अभियन्ता भान डाइन्स्ट यसका अध्यक्ष बने । त्यस्तै १९३४मा बाताभिया बौद्ध संगठन (Batavia Buddhist Association -BBA) को स्थापना भयो,। यी दुइ संस्थामा मतभिन्नता थियो किनभने जेभिए थेरवादीहरुको प्रभावमा थियो भने बिबिए चीनियाँ वा महायानीहरुको प्रभावमा थियो ।
सन् १९३४लाई इन्डोनेशियाको बुद्ध धर्मको पुनर्जीवनको वर्ष मान्नु पर्छ । यसवर्ष श्रीलंकामा नारद महास्थविरले इन्डोनेशियाको भ्रमण गर्नुभयो (उहाँ नारद भन्तेले निर्वासनमा रहेको नेपाली भिक्षुहरुलाई मातृभूमि फर्काउन गर्नुभएको योगदान यहाँ स्मरणीय हुन्छ) । दक्षिणपूर्वी एशियाली देशहरुमा बुद्धधर्मको प्रभाव कम हुँदै गएको अवस्थामा उहाँको ऐतिहसिक भ्रमणले धेरै ठाउँमा बुद्धधर्मले पुनर्जीवन पाएको थियो । यसै प्रसंगमा उहाँ इन्डोनेशिया पुग्नुहँदा त्यहाँका केही थोरै बौद्धहरुले उहाँबाट ठुलो प्रोत्साहन पाए र आफ्नो जन्मभूमिमा पुनः बुद्धधर्मको प्रचार प्रसार गर्ने अठोट पनि लिए । ती मध्ये केहीले पवित्र बोदोबुदुर परिसरमा बोधिवृक्ष रोपे र केहीले प्रवज्या समेत ग्रहण गरे ।
स्वतन्त्रता पछिको इन्डोनेशियामा बुद्ध धर्म
सन् १९४५मा इन्डोनेशियाले स्वतन्त्रता प्राप्त गर्यो । स्वतन्त्रता प्राप्ति पछि इन्डोनेशियाका बौद्धहरुले आफुलाई बढी स्वतन्त्र र सुरक्षित महशुस गरे । उनीहरुले पहिले बनाइएका बौद्ध संस्थाहरुको पुर्नगठन गर्न थाले । गबुङ्गान साम काव इन्डोनेशियाको (Gabungan Sam Kauw Indonesia- GSKI )को स्थापना सन् १९५१मा भयो । पेरसउदरन उपासक उपासिका इन्डोनेशिया ( Persaudaraan Upasaka Upasika Indonesia — PUUI) को स्थापना १९५३मा भयो । यसले यसै साल जाकार्तामा बैशाख पूर्णिमाको आयोजना गर्योे ।
इन्डोनेशियाको बुद्ध धर्मको पुनर्जीवनको हिसाबले सन् १९५५ अर्को महत्वपूर्ण वर्ष हो । यस वर्ष आसिन जीनरख्खित नामक भिक्षुले बुद्धधर्मको प्रचारको उद्देश्य राखेर देश भ्रमण गरे । यसै बेलादेखि यहाँ थेरवाद बुद्धधर्मले पनि पुनर्जीवन पायो । पहिले यहाँ महायान बुद्ध धर्म बढी प्रख्यात थियो । १९५० पछिको समयमा त्यहाँ थुप्रै बौद्ध संस्थाहरु पनि बन्न थाले । बुद्ध धर्मको पुनर्जीवनको केही किरण मात्र के देखिएको थियो, फेरि राजनतिक अस्थिरताले इन्डोनेशियालाई गाँज्यो ।
स्वतन्त्रता पछि सन् १९४५मा सुकार्नो राष्ट्रपति बने । उनले अधिनायकवादी चरित्र देखाए । त्यसबेला यहाँको अर्थतन्त्र धराशायी भयो र गरिबीले देशलाई खत्तम बनायो । यसैबिच सन् १९६५–६६मा सुहार्तोको अधिनमा रहेको इन्डोनेशियन आर्मीले कम्युनिष्टहरुलाई दमन गर्ने क्रममा ५ लाख देखि १० लाखसम्म मानिसको नरसंहार मच्चायो । कम्युनिष्ट पार्टी अफ इन्डोनेशिया (पिकेआइ)का १०लाख कार्यकर्ता पक्राउमा परे ।
सन् १९६०मा सुकार्नो सत्ताबाट हटेपछिको अवस्थामा राज्यले एक ईश्वर मान्ने नीति बनायो । यसको फलस्वरुप इन्डोनेशियन बौद्ध संघले बौद्धहरुको देवताको रुपमा साङ्घ्यङ आदि बुद्धलाई अघि सार्यो । यसले एक हदसम्म बौद्धहरुलाई एकीकरण गर्न भने सफल भयो । सोहार्तोको नयाँ युगमा बुद्ध धर्मलाई यहाँको पुरानो धर्मको रुपमा स्वीकार गरियो ।
वर्तमान समयमा बुद्ध धर्म
वर्तमान समयमा जति पनि बौद्धहरु इन्डोनेशियामा भेटिन्छन्, उनीहरु मध्ये अधिकांश माहायानी छन्, बाँकी केही थेरवादी र अलिकति निचिरेन बुद्ध धर्म मान्नेहरु छन् । अल्पमतमा रहेर पनि त्यहाँ साना साना बौद्ध समाजहरु छन् ।
सभ्यताको विकाससँगै शुरु भएको इन्डोनेशियाको बुद्ध धर्म अहिले बिस्तारै संरक्षित अवस्थामा आइपुगेको छ । यहाँका बौद्ध संघसंस्थाहरुको सक्रियतामा लोप भइसकेका बौद्ध सम्पदाको खोजी र संरक्षण जारी छ । पढ्न छोडिएका बौद्ध ग्रन्थहरु खोजेर चीनियाँ एवं संस्कृत भाषाबाट स्थानीय भाषामा अनुवादहरु पनि भइरहेका छन् । यहाँ मन्त्रयान, वज्रयान तथा बौद्ध तन्त्र इत्यादिको जुन संस्कृत भाषाका ग्रन्थहरुबाट निर्देशित छन् त्यसलाई यहाँका बौद्धहरुले धेरै सम्मान गर्दछन् ।
थुप्रै राजनीतिक अशान्तिका बिच पनि केही बौद्ध प्राचिन मन्दिरहरु इन्डोनेशियामा आज पनि संरक्षित छन् । त्यहाँका महत्वपूर्ण बौद्ध मन्दिरहरु यस प्रकार छन् — बोरोबुदुर चैत्य (मध्य जाभा), कालासान मन्दिर (योगयाकार्ता), मेन्दुत मन्दिर (मागेलाङ्ग), पावोन मन्दिर (मागेलाङ्ग), ब्रहु मन्दिर (माजोकेर्तो, पूर्वी जाभा), बान्युनिबो मन्दिर (योगयाकार्ता), मुआरा ताकुस मन्दिर (काम्पार, रिआउ द्विप), बहाल मन्दिर (पादाङ्ग लावास,उत्तरी सुमातेरा), जाबुङ मन्दिर (प्रोबोलिङे, पूर्वी जाभा), प्लोसान मन्दिर क्षेत्र (योगयाकार्ता) इत्यादि ।
भन्नलाई त सबै धर्मलाई स्वतन्त्र भनिन्छ तर पनि कतै कतै यस्ता घटना भइदिन्छ कि त्यहाँको सरकार बौद्धहरु प्रति असहिष्णु भएको खुल्छ । जस्तै अप्रिल २०११मा धार्मिक मामिला मन्त्रालयले उत्तरी सुमात्रामा एउटा मन्दिरको छतमा रहेको बुद्ध मूर्तिलाई हटाउन लगाएको थियो ।
यस अवस्थामा बुद्ध धर्मको क्रमिक विकास हुँदै गयो र बौद्ध समाज पनि सचेत एवं सुदृढ पनि हुँदै गयो । थेरवादीहरु प्नि उदार हुँदै जानु पर्ने अवस्था थियो । यस अवस्थामा सन् २०१५मा पश्चिम जाभाको लेम्बाङमा हजारौं वर्ष पछि भिक्षुणीको उपसम्पदा कार्यक्रम भयो । यस कार्यक्रममा इन्डोनेशियाका वजिरादेवी साधिका, श्रीलंकाकी मेधा, जापानकी अनुला, भियतनामकी शान्तसुख शान्तमन एवं अष्ट्रेलियाकी जेनी भिक्षुणी सहभागी थिए ।
विगतका थुप्रै उतार चढाव पछि अहिले इन्डोनेशियाको बुद्धधर्मले केही गति लिएको छ । बौद्धहरुमा आफू बौद्ध हुँ भन्ने धारणा र धर्मप्रति अटल श्रद्धा बढेको छ । त्यसकारण पनि मुस्लिमहरुको बाहुल्य भएको देशमा उनीहरु आफ्नो धर्मलाई सुरक्षित राख्न र धर्मको पहिचानलाई सबैको अगाडि देखाउन सफल छन् ।
अहिले त्यहाँका भएका धेरै जसो बौद्ध मन्दिरहरु पर्यटकका गन्तव्य मात्र हुन् भने केही बौद्ध मन्दिर विहारहरुमा नियमित बौद्ध धार्मिक क्रियाकलाप हुन्छ, बुद्ध पूजामा बौद्ध उपासक उपासिकाहरु श्रद्धापूर्वक उपस्थित हुन्छन् र पञ्चशिलमा आधारिक जीवन यापन गर्दछन् । विभिन्न मन्दिरहरुका बालबालिकाका लागि आइतबारे परियत्ति कक्षाहरु संचालन हुन्छन् । विद्यालयहरुको पाठ्यक्रममा बुद्धशिक्षालाई प्रवेश गराउने प्रयासहरु भइरहेका छन् । धेरै जसो बौद्ध मन्दिरमा बैशाख पूर्णिमाका दिन वृहत बुद्धपूजा हुन्छ, थेरवादीहरुमा कथिनदानको अभ्यास पनि हुने गर्दछ ।
अहिले राज्यबाट प्रायोजित औपचारिक धार्मिक समारोहमा मुस्लिम गुरुको पछाडि बौद्ध समाजलाई प्रतिनिधित्व गर्दै बौद्धसंघको तर्फबाट उपस्थित हुने गर्दछन् । यहाँ बौद्ध भन्ने बित्तिकै चीनियाँ वा महायानी बुद्ध धर्मलाई बुझाइन्छ तर पनि थेरबादी बौद्धहरुको तर्फबाट पनि सरकारी कार्यक्रमहरुमा उपस्थिति जनाउने अवसर पाइन्छ । बुद्ध जयन्ती जस्ता महान् अवसरहरुमा सबै बौद्धहरु मिलेर बोरोबुदुर इत्यादि बौद्ध मन्दिरहरुमा विशाल धार्मिक कार्यक्रममा आयोजना गरिन्छ । यस अर्थमा धार्मिक अल्पमतमा रहेर पनि इन्डोनेशियाका बौद्धहरु आफ्नो धर्म अवलम्बन गर्न स्वतन्त्र र संरक्षित छन् ।
इन्डोनेशियाको बुद्ध धर्मको इतिहासबाट नेपाली बौद्धहरुले सिक्नु पर्ने पाठ
धर्म सँधै एकनास सहँदैन राजनीतिक व्यवस्थासँगै धर्मको उतार चढाव स्वभाविक हो । किन भने राजनीतिक व्यवस्थाले नै कुन धर्मलाई संरक्षण दिने वा नदिने भन्ने निक्र्यौल गर्दछ । यदी बौद्धहरुमा आफ्नो धर्म प्रति सजगता भएन भने वा धार्मिक पहिचानलाई संरक्षण दिने प्रतिवद्धता भएन भने जतिसुकै ठुलो बौद्ध समाज पनि धराशायी हुन बेर लाग्दैन । एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायलाई अतिक्रमण गर्ने स्वाभाविक हो । त्यसमा पनि अर्काको धर्मलाई भयावह भन्नेहरुसँग आफ्नो धर्मको अस्तित्व जोगाउन सकिएन भने नेपालले पनि आफ्नो समाजबाट आफ्नो धर्म मान्नेहरु कम हुँदै गएको आफै अनुभव गर्नु पर्ने दिन आउन सक्छ ।
आनन्दभूमि ११४३ थिंला पुन्हि २०७९ मंसिर
Buddhism in Indonesia — Anandabhoomi 2022 December
Razen Manandhar, Kathmandu, Nepal
https://medium.com/p/7b727c9e1e25
No comments:
Post a Comment