Wednesday, October 12, 2022

बुद्धको देशमा बुद्धको अपमान



राजेन मानन्धर

स्वयम्भु भगवान पाउको सिँढीबाट उक्लेपछि त्यहाँ निर्मित चैत्यहरुले बौद्ध तीर्थस्थलमा आएको छु भन्ने अनुभूति दिन्छ । तर अफसोच, विगत केही वर्षदेखि त्यो ठाउँ शारीरिक ब्यायाम गर्नेहरुको कब्जामा छ । हरेक बिहान भगवान पाउको सिँढीदेखि माथि चैत्यकै वरिपरी समेत ब्यायाम गर्नेहरुको लर्को देखिन्छ । उनीहरुलाई त्यो विश्व सम्पदा सूचिमा समेत सुचिकृत ठाउँ के हो, कस्तो हो, कति महत्वपूर्ण ठाउँ हो भन्ने कुनै मतलब छैन, त्यो त उनीहरुको ब्यायामशाला जस्तो भएको छ । उनीहरुको चुरिफुरी अनि दायाँबायाँ चल्ने हाउभाउले भगवान बुद्धको दर्शन गर्न आएका बौद्ध उपासक उपासिकाहरु समेत बचेर हिँड्नु पर्ने अवस्था छ ।


कुनै बेला एक महान् लामा गुरुज्यु तिब्बतबाट भुइँमा लम्पसार परी दण्डवत गर्दै गर्दै स्वयम्भूको दर्शन गर्न आउनुभयो भन्ने कुरा हाम्रा कानले सुनेका छौं । आज बुद्धको प्रतिमातिर खुट्टा बजार्दै ब्यायाम गरिरहेको हाम्रा आँखाले हेरिरहनु परेको छ ।

त्यहाँ ब्यायाम गरिरहेका मध्ये एक जनाको क्रियाकलापले मेरो ध्यान आकृष्ट गर्यो । उ एउटा चैत्यका अगाडि उभिएर चैत्य तिर दुबै खुट्टा पालैपालो फालिरहेका थिए । यस्तो देखिन्थ्यो कि उसलाई चैत्य वा त्यसमा कुँदिएका बुद्धका मूर्तिहरु देखेर एकदम रिस उठिरहेको थियो अनि उ त्यस चैत्यलाई सम्झेर त्यसको अगाडि लात्तीले हानेर रिस पोखिरहेको थियो । त्यस्तो हुन पनि सक्छ वा नहुन पनि सक्छ ।


भगवान बुद्धको जन्म नेपालमा भएको भनेर मात्र पनि के गर्नु ? नेपालमा बौद्ध देशको जस्तो वातावरण छैन । सरकारी आँकडामा नै १० प्रतिशत भन्दा कम नेपालीहरुले मात्र बुद्ध धर्म मान्ने रहेछ । अनि ती बौद्धहरुमा पनि आफुलाई बौद्ध भन्न रुचाउने तर बुद्धको शिक्षा अवलम्बन नगर्ने, अरु धर्मसँग छ्यासमिस भएको धर्म मान्नेहरु समेत परेका छन् । अहिले यतिसम्म हामी भन्न सक्छौं कि नेपालमा बौद्धहरु निकै थोरै छन् ।


भिक्षु सुदर्शनले लेख्नु भएको छ — “बुद्ध–पूजा भन्नु नै चैत्य–पूजा हो । किनभने बुद्ध–पूजा गर्नलाई नै चैत्यको सृष्टि भयो । अनि बुद्धको पूजा गर्नु भनेको नै तथागतको गुणानुस्मरण गर्नु हो । गुणानुस्मरणले हाम्रो मन निर्मल हुन्छ, हामीलाई राम्रो काम गर्न प्रोत्साहित गर्छ ।” अब यस्तो चैत्यको सम्मान गर्नु सबैको कर्तव्य हैन र ?



चैत्य पूजा Photo: Chiva chatya

पहिले पहिले बौद्धहरु भगवान बुद्धप्रति यति कृतज्ञ थिए कि उनीहरु भगवानलाई मूर्तिमा उर्तान चाहँदैनथे । अब यति भन्न सकिन्छ कि यदि भगवान बुद्धको प्रतिमा नबनेको भए संसारमा बुद्धधर्म पनि रहन्थ्यो कि रहन्नथ्यो भन्न सकिन्न । त्यही मूर्ति बनेर विश्वभर बुद्ध धर्म फैलिन सजिलो भएको छ । बुद्ध धर्मलाई सम्मान गर्नेहरु बुद्धप्रतिमा अगाडि वन्दना गरेर बुद्धशिक्षा लिन्छन् अनि बुद्ध धर्मलाई घृणा गर्नेहरु पनि बुद्धप्रतिमालाई तोडफोड गरेर आत्मसन्तुष्टी लिन्छन् ।


आफुलाई जन्म दिने, पालनपोषण गर्ने, मन परेको, प्रेरणा दिने, ज्ञान दिने वा जीवनमार्गमा निर्देशन दिने व्यक्ति पूजनीय हुन्छन्, सामान्य भाषामा देवता सरह हुन्छन् । उनीहरुको नाम, चित्र, मूर्ति वा अन्तिम संस्कार गरेर बाँकी रहेको खरानी वा उनीहरुले प्रयोग गर्ने लुगा, थाल, जुत्ता इत्यादिमा आफ्नो आदर्श व्यक्तिको रुप पाउनु स्वभाविक हो । भगवान बुद्धको मूर्ति, चित्र इत्यादि पनि बौद्धहरुका लागि बुद्ध स्वयम् जतिकै स्तुत्य, पूजनीय र आदरणीय हुन्छन् । उनीहरु ती प्रतिमाका अगाडि उभिएर, बसेर वा दण्डवत् गरेर भगवान बुद्धले सिकाउनु भएका सबै शिक्षा पुनःस्मरण गर्छन् र आफ्नो मन मष्तिष्कमा पुनर्ताजगी ल्याउँछन् । त्यसकारण बौद्ध देशमा बुद्धको मूर्ति, चित्र वा संकेतलाई समेत पनि त्यहाँका जनताले एकदम सम्मान वा पूजा गर्छन् र त्यसलाई कुनै पनि किसिमबाट हल्का भन्दा हल्का किसिमले छेडछाड गरेको मन पराउँदैनन् । बुद्धको चित्र वा मूर्ति कि ल्याउँदैनन् कि कोठाको अग्लो भागमा प्रतिष्ठापन गर्छन् र खुट्टा उतातिर फर्काएर बस्दा पनि बस्दैनन् ।


अब त्यस्तो मन परेको, प्रेरणा दिने, ज्ञान दिने वा जीवनमार्गमा निर्देशन दिने भगवान बुद्धको चित्र वा प्रतिमालाई कति सम्मान आदर वा पूजा गर्ने भन्ने कुरा समय, व्यक्ति वा समुदाय तथा त्यहाँको राज्य व्यवस्था अनुसार फरक हुनसक्छ । कोही बुद्ध प्रतिमालाई टाउकोमै राखेर हिँडन चाहन्छन् भने कोही कतै बाथरुममा राख्दा पनि त्यो ठिकै हो भन्ने तर्कले जित्छन् । यहाँ बुद्ध शिक्षा र त्यहाँको समाजले दिएको बुझाइ अनुसार मानिसको सोचाइमा फरक पर्ने कुरा मात्र भयो ।


अब बुद्ध धर्म नेपालको, दक्षिण एशिया वा दक्षिणपूर्व वा पूर्व एशियाको मात्र धर्म भएन । यो धर्म अहिले अमेरिका, अर्जेन्टिना, रसिया वा अष्ट्रेलियासम्म पुगेको छ । उनीहरुले बुद्धशिक्षा ग्रहण गर्नुभन्दा पहिला जुन धर्म अपनाउँथे, जुन शिक्षा स्कुल कलेजमा पाउँथे वा धर्मलाई उनीहरुको समाजले जसरी लिने गरेको छ, त्यस अनुसार उनीहरुले बुद्धलाई गर्ने सम्मान वा व्यवहार फरक पर्नु स्वभाविक हो । यसै अनुसार एक देशमा एकजना बौद्धले बुद्धको प्रतिमालाई देखाएको सम्मान वा प्रतिक्रिया अरु देशको बौद्धलाई अस्वाभाविक लाग्न सक्छ । यद्यपि अब बौद्धहरु सचेत भएका छन् र आफ्नो धर्म, आस्थाको केन्द्रमाथि वा गुरुको नाममाथि पनि अपाच्य व्यवहार गरिएको छ भने आपत्ति जनाउने चेतना जागेको छ ।

यस विषयमा केही उल्लेखनीय घटनाहरु यसप्रकार छन् —

ड्ड सन् २०१० मा दुइजना श्रीलंकालीहरुलाई बुद्धको चित्र भएको साँचो राख्ने रिङ्ग बेचेको अभियोगमा जेल सजाय दिइएको थियो ।

ड्ड सन् २०१०मा श्रीलंका सरकारले सेनेगल–अमेरिकन गायक एकनलाई भिसा दिन अस्वीकार गरको थियो, किनभने उसको एउटा गीतमा कम लुगा लगाएकी महिलाले बुद्धमूर्ति अगाडि नाचेको दृष्य थियो ।

ड्ड सन् २०१२मा श्रीलंका सरकारले तीनजना फ्रेन्च पर्यटकहरुलाई बुद्धको मूर्तिमा चुम्बन गरेको जस्तो देखिने गरी फोटो खिचाएको आरोपमा पक्राउ गरेको थियो ।

ड्ड सन् २०१४मा श्रीलंका सरकारले एक ब्रिटिश पर्यटक नाओमी कोलमनलाई बुद्धको चित्र भएको ट्याटु लगाएको कारणले अर्काको भवनामा चोट पुर्याएको भनी पक्राउ गरेको र फर्काइदिएको थियो । त्यसपछि बेलायत सरकारले श्रीलंका भ्रमणमा बौद्ध मन्दिर जाँदा खुट्टा र काँध छोप्न, जुत्ता र टोपी फुकाल्न तथा बुद्धको मूर्ति अगाडि उभिएर फोटो नखिचाउन सूचना जारी गरेको थियो ।

ड्ड सन् २०१५मा एकजना न्युजिल्याण्डका फिलिप ब्याकउड नामक व्यक्तिलाई अनलाइनमा बुद्धले हेडफोन लगाएको चित्र पोस्ट गरेबापत म्यानमार सरकारले दुइवर्ष जेल सजाय सुनाएको थियो ।

ड्ड सन् २०१६मा श्रीलंकामा एक डच पर्यटकलाई जुत्ता नफुकाली बौद्ध मन्दिर गएको र त्यहाँको एम्प्लिफायरको तार छुटाएर धार्मिक कार्यक्रम बिथोलेको आरोप लगाइएको थियो ।

ड्ड सन् २०१९मा एक थाइ कलाकारले बुद्धलाई जापानी सुपरहिरो अल्ट्राम्यानसँग तुलना गरी चित्र बनाएर प्रदर्शनीमा राखेकोमा बौद्धहरुको विरोध पछि चित्र हटाउनुपरेको थियो ।

ड्ड सन् २०१९मा म्यानमार स्थित अमेरिकी राजदूत माथि बुद्धको अपमान गरेको आरोप लागेको थियो । राजदुतावासले आयोजना गरेको एक चित्र प्रदर्शनीमा कसैले वायुप्रदुषण देखाउन बुद्धले ग्यास मास्क लगाएको चित्र बनाएको थियो ।

ड्ड सन् २०२२मा तामिल फिल्म धम्मनमा बुद्धको काँधमा एक बालिका चढेको दृष्य देखाएपछि तामिलनाडु बौद्ध संघ परिषदले यसका विरुद्ध कानूनी कारवाही गर्ने बताएको थियो ।

ड्ड सन् २०२२मा कोरियाली राष्ट्रपति मुन जे–इन तथा फस्ट लेडी किम जुङ–सुक माथि बुगाकसान पहाडमा हाइक जाँदा त्यहाँको मन्दिरको धार्मिक स्मारकमाथि बसेर बौद्धहरुलाई अपमान गरेको आरोप लागेको थियो ।



बौद्धहरुको बाहुल्यता भएको एशियाली देशमा यस्ता कदम चालिएपनि पश्चिमी मुलुकमा भने यस्तो कुरा रोक्न सकिएको छैन । यसको कारण त्यहाँ बौद्धहरु निकै कम छन् र उनीहरुको कुरा सुन्ने थोरै छन् । त्यहाँ बुद्ध शिक्षाको मन परेको कुरा मात्र लिएर बौद्ध बन्ने लहड छ, बुद्धको मूर्तिलाई सम्मान गर्नु पर्छ भन्ने छैन भन्ने चलनले गर्दा पनि यस्तो रोक्न सकिरहेको छैन । एकातिर त्यहाँ क्रिश्चियन वा मुस्लिमहरुको धार्मिक भावनामा चोट पुर्याउनु खतरा निम्त्याउनु हुनसक्छ भने अर्कोतिर बौद्ध नभएपनि त्यहाँ बुद्धको चित्र वा मूर्तिमा भएको सुन्दरताको कारणले त्यसको व्यापारीकरण नाफामूलक भइरहेको पनि छ । संसार भरी नै बुद्धको नामबाट पसल खोल्ने फेसन छ । संयुक्त राज्य अमेरिकाको लास भेगासमा बुद्ध बार नामक रेस्टुरां थियो । अष्ट्रेलियाको ब्रिस्बेनमा जेड बुद्ध नामक लाउन्ज ब्रिस्टो बार छ । यसको प्रवेश द्वारमा ठुलो बुद्धको मूर्ति पनि राखिएको छ । बुद्ध बार नामक फ्रान्चाइजको शाखा दुबइ, लण्डन, बुडापेस्ट, पेरिसमा समेत छ ।



यस्तो विवाद धेरै भएपछि बौद्धहरु मध्ये केहीले बुद्धलाई वा प्रतिमाको सामु गर्न हुने र नहुने सामान्य नियम जस्तै बनाउन थाले । त्यस्ता मध्ये थाइल्याण्डका बौद्धहरुको एक संस्था “नोइङ बुद्ध अर्गनाइजेसन”ले बुद्धलाई यो गर यो नगर भनेर सामान्य नियमकुञ्जी प्रकाशित गरेको छ । नेपाली बौद्धहरुको जानकारीको लागि यसलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरेको छु ।


बुद्धको सम्बन्धमा गर्नु पर्ने कुरा

क. सम्मान गर्नुस् । बुद्धलाई सम्मान गर्नुको अर्थ बौद्ध नै हुनुपर्छ भन्ने होइन । जसरी तपाइँ आफ्नै बुबालाई जस्तै मित्रको बुबालाई पनि आदरको व्यवहार गर्नुहुन्छ, त्यसरी नै तपाइँ बौद्ध नभए पनि बौद्धहरुले बुबा जस्तै पूजा गर्ने बुद्धलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ । शरीरको हाउभाउमा नमस्कार वा दन्डवत वा पूजा सम्मान देखाउन सकिन्छ । मनमा सम्मान छ भन्ने कुरा तपाइँको मनोवृत्तिबाट पनि देख्न सकिन्छ ।



ख. सच्याउनुस् । यदि तपाइँले बुद्धको तस्विर, लकेट वा मुर्ति अनुपयुक्त ठाउँहरूमा, जस्तै भुइँमा वा हिँड्ने बाटोमा, शौचालयमा वा कुर्सीमा देख्नुभयो भने, कृपया त्यसलाई खोपीमा वा दाजमाथि जस्तो अग्लो ठाउँमा राखेर सच्याइदिनुस् ।


ग. ज्ञान दिनुस् । यदि तपाई बौद्ध हुनुहुन्छ भने बुद्ध बारे जान्न चाहने गैरबौद्धहरुलाई बुद्ध र बुद्ध धर्मको बारेमा जानकारी दिनुहोस् वा उहाँहरुको जिज्ञासा शान्त पारिदिनुस् । यदि तपाइँ बौद्ध हुनुहुन्न भने पनि कसैले यदि बुद्ध को हुनुहुन्छ ? भनेर सोध्यो भने यति मात्र भनिदिनुस् कि बुद्ध एक प्रबुद्ध वा ज्ञान लाभ गर्नुभएको व्यक्ति हुनुहुन्छ जसले बौद्धहरूलाई अन्य गुरुहरूले जस्तै जीवनमा राम्रो काम गर्न सिकाउनुभयो ।


बुद्धको सम्बन्धमा गर्न नहुने कुराहरु ः

क. बुद्धलाई नराम्रो व्यवहार नगर्नुहोस् । बुद्धलाई सम्मान गर्न चाहनु हुन्न भने कमसेकम बुद्धको प्रतिमालाई नराम्रो व्यवहार वा अपमान नगर्नुस् । आफ्नो बुबा नभए पनि उहाँ तपाइँको साथीको बुबा हो भने उसलाई नराम्रो व्यवहार गर्नु हुँदैन । बौद्ध धर्मावलम्बीहरूले बुद्धलाई धर्मपिताको रूपमा सम्मान गर्छन् । सबै धर्मका अगुवाहरूलाई सम्मानको रूपमा लिइन्छ, हैन र? यो बुद्धमा पनि लागू गर्नुपर्छ ।



ख. अनुपयुक्त वस्तु वा स्थानहरूमा बुद्धका चित्रहरू नराख्नुस् । बुद्धका चित्रहरू दैनिक प्रयोग हुने वस्तुहरू जस्तै रुमाल, वा सरसफाइ गर्ने वस्तुहरूबाट टाढा राख्नुपर्छ । साथै शरीरको तल्लो भागमा लगाइने लुगाहरु, जस्तै पाइन्ट, स्कर्ट, अन्डरवियर, जुत्ता लगायत सबै प्रकारका खेलौना र फर्निचर आदिमा प्रयोग नगर्नुस् । त्यस्ता कुराहरुसँग बुद्धको चित्रहरु देखेमा साँचो बौद्धहरूले निकै दुखी महसुस गर्नेछन् र आफ्ना आस्थाका केन्द्रमाथि कसैले अपमान गरेको देखेमा बौद्धहरुले सन्तुलन गुमाउन सक्ने भएकोले त्यस्ता परिस्थितिहरूबाटे द्वन्द्व समेत हुन सक्दछ ।



ग. बुद्धको चित्र वा मूर्तिहरूलाई फर्निचर वा सजावटी वस्तुहरू जस्तै गरी नराख्नुस् । बुद्धका चित्र वा मूर्तिहरु बौद्धहरुका लागि पूजा गर्न वा प्रार्थना गर्न बनाइन्छन् , त्यो भनेको शोपिस हैन । त्यसैले —

१. टेबलको बीचमा बुद्धको मूर्ति नराख्नुस् ।

२. शौचालयमा बुद्धको मूर्ति नराख्नुस् ।

३. रेस्टुरेन्ट वा बार तथा पबहरूमा बुद्धका मूर्तिहरू नराख्नुस् ।


घ. बुद्धलाई किनमेल गर्ने वस्तुको रूपमा व्यवहार नगर्नुस् । बुद्ध किन्न पाइने वा बेच्न पाइने कुरा होइन । तर तपाइँलाई आश्चर्य लाग्न सक्छ कि केही बौद्ध देशहरूमा समेत त्यस्ता व्यापारीहरू छन् जसले बुद्धका मूर्तिहरू वा चित्रहरूलाई सम्मान नगरी व्यवहार गर्छन् । तिनीहरू बुद्धलाई फर्निचर जस्तै बेच्छन् । हरेक समाजमा असल र नराम्रा मान्छे हुन्छन् । त्यो मानव स्वभावको प्रतिबिम्ब हो । खराब मानिसले आफ्नो फाइदा बाहेक अरूको भावनाकोे वास्ता गर्दैन । यस्तो देखेर साँचो बौद्धहरुलाई लाज लाग्छ । यद्यपि तपाइँले कुनै कुनै देशहरूमा विभिन्न आकारका बुद्ध मूर्तिहरू बेच्ने पसलहरू देख्न सक्नुहुन्छ । यो त्यसबेलामा मात्र स्वीकार्य मान्न सकिन्छ जुन बेला खरीददारहरू बौद्धहरू हुन्छन् जसले ती मूर्तिहरू र चित्रहरू सजाउनका लागि नभएर मन्दिर वा अन्य उपयुक्त ठाउँहरूमा राखेर दैनिक जीवनमा सम्मानसाथ पूजा आराधना गर्ने उद्देश्यले किनेर लान्छन् ।


ङ. बुद्धको नाम अपमानजनक रूपमा प्रयोग नगर्नुस् । बुद्ध धर्मको प्रचारसँगै धेरैलाई अहिले बुद्ध भन्ने शब्द प्यारो छ । तर यसको गलत प्रयोग पनि बढ्दो छ । उदाहरणका लागि, एउटा चलचित्रमा कुकुरको नाम “बुद्ध” राखिएको छ । कतै ‘बुद्धि बेली’ नामको आइसक्रिम पसल छ त कतै ‘बुद्ध बार’ नामक रक्सी खाने पसल छ ।


च. कुनै पनि हालतमा बुद्धका मूर्ति वा तस्बिरहरूको मजाक नगर्नुस् । बुद्धको चित्रलाई रमाइलोको लागि पनि प्रयोग गर्नेहरु छन् । उदाहरणका लागि, एउटा चलचित्र पोस्टरमा एकजना मानिसलाई बुद्धको काँधमा बसेको देखाइएको छ ।



छ. शरीरमा बुद्धको छवि ट्याटु नगर्नुस् । आजभोलि संसारमै ट्याटुको फेसन छ । मानिसहरु बुद्धलाई सम्मान गरेको वा माया गरेको भनेर शरीरमा बुद्धको चित्र खोपाउँछन् तर बौद्धहरुलाई यो स्वीकार छैन । शरीरमा बुद्धको ट्याटु किन अस्वीकार्य छ? यस कुरालाई अलि विस्तृतमा बुझाउन आवश्यक छ ।


१. हाम्रो शरीर फोहोर मानिन्छ । बुद्ध एक व्यक्ति हुनुहुन्थ्यो जो भित्रदेखि बाहिरसम्म सफा थियो । उहाँको मन भ्रम र सबै क्लेशबाट मुक्त थियो । उहाँ विश्वभरका बौद्ध धर्मावलम्बीहरूबाट सम्मानित हुनुहुन्छ । हामी सामान्य मानिसहरुका लागि भने हाम्रो शरीर र दिमाग अझै सफा गर्न आवश्यक छ । हामी जस्ता फोहर शरीर भएका मानिसहरुले आफ्नो शरीरमा बुद्धजस्तो शुद्ध मन र शरीर भएको महामानवको चित्र ट्याटु गर्नुलाई बौद्ध जगतले अनुचित र सम्मानको कमी मान्छ ।



कसैले बुद्धलाई सम्मान गरेर पनि ट्याटु खोपेको हुनसक्छ । उनीहरु बुद्धलाई माया गर्ने र उहाँको नजिकै बस्न चाहेकोले आफ्नो शरीरमा बुद्धको ट्याटु खोपेको बताउँछन् । यो विचार एकदम सही छैन, मानिसहरूले यस बारे गलत ढंगले बुझिरहेका छन् । बुद्धका शिक्षाहरू पछ्याउनु छ भने तिनीहरूले दाता बन्न सक्छन्, पञ्चशील पालन गर्न सक्छन् र मन शुद्ध पार्ने अभ्यास गर्न सक्छन् । यस्ता बुद्ध धर्मका अभ्यासहरूद्वारा मात्र तिनीहरूले आफुलाई सही मार्गमा लाग्न, बुद्धप्रति सम्मान देखाउन सक्छन् ।


२. हाम्रो शरीर यौन आनन्दमा डुबेका छन् । भगवान बुद्धले यौन आनन्दलाई पूर्णतया त्यागिसक्नुभयो भने हामी सामान्यजनका लागि यो अहिले प्राकृतिक क्रियाकलाप हो । त्यस्तो शरीरमा जुन अझै पनि यौन क्रियाकलापमा लिप्त छ, त्यस शरीरमा यौनलिप्साबाट टाढा रहनुभएको बुद्धको चित्र अंकित गर्नु भनेको अनुचित र सम्मानको ठूलो कमी मानिन्छ ।



३.हाम्रो शरीरले नराम्रो काम पनि गर्न सक्छ । हामीलाई सामान्यतया हरेक दिन धेरै गतिविधिहरूमा संलग्न हुन परिरहेको हुन्छ । हामीले गर्ने केही गतिविधिहरू असभ्य हुन सक्छन् । उदाहरणका लागि हामीले लात हान्ने, मुक्का हान्ने, हाम फाल्ने, नाच्ने, झगडा गर्ने इत्यादि काम गरिरहेका हुन्छौं । आफनो शरीरमा बुद्धको चित्र अंकित गराएर हामीले शरीरबाट त्यसो क्रियाकलाप गर्नु भनेको बुद्धप्रतिको अपमान हो ।


४. बुद्धको मुर्तिलाई उचित स्थानमा राख्नुपर्छ । हामी बौद्धहरुसँग उहाँको महानता संसारको लागि मैत्री भावनाको सम्झना गराउन बुद्धको मूर्ति छ । हामी बौद्धहरु उहाँको प्रतिमा वा चित्रलाई सदैव उच्च सम्मान दिन सधैं उच्च स्थानमा राख्छौं । बुद्धको कुनै पनि प्रतीकलाई तल्लो वा साधारण स्थानमा राख्नु वा शरीरमा ट्याटु खोप्नु भनेको बौद्ध जगतमा अनुचित मानिन्छ र यसले त्यस व्यक्तिमा बुद्धप्रति कुनै सम्मान छैन भनेर देखाउँछ ।


५. भ्रामक कारण । बुद्धको ट्याटु खोप्नाले मानिसहरूलाई गलत बाटोमा पनि लैजान सक्छ । केही मानिसहरू सोच्छन् कि बुद्धको ट्याटुले उनीहरूलाई बुद्धको नजिक राख्न सक्छ तर कसैले भने यसलाई केवल फेसनको रुपमा मात्र पनि खोपाउँछन् । जे भएपनि धेरै मानिसहरूले यस्तो काम गरेर भविष्यमा बुद्धको महत्व वा सम्मानलाई क्रमशः घटाउँदै लगिरहेका हुन्छन् ।


यी त भए नोइङ बुद्ध संस्थाका सामान्य नियम वा सुझावहरु । यी बाहेक पनि गैर बौद्धहरुको कतिपय बानी व्यवहार वा सोचाइ हुन्छन् जसले बौद्धहरुको आस्थामाथि प्रहार गर्दछ । के हामी अब पनि सचेत वा जिम्मेवार नहुने त ?


नेपालको अवस्था

भन्न त हामी छाती फुलाएर भन्छौं — बुद्धको जन्म नेपालमा भएको भनेर । तर बिडम्बना, नेपालीहरुलाई बुद्धलाई कसरी सम्मान गर्नुपर्छ भनेर थाहै छैन । माथिका सामान्य नियम वा सुझावहरु सामान्य नेपालीहरुलाई देखायो भने हाँस्लान्, रद्दी टोकरीमा मिल्काइदेलान् । उनीहरुलाई त खाली छाती फुलाउनुछ, बौद्ध पर्यटकहरुलाई नेपाल बोलाउनु छ वा विदेशी दान सहयोग चाहिएको छ ।


नेपालमा अन्तर्राष्ट्रिय तहको बौद्ध कार्यक्रममा देशका प्रधानमन्त्री राल चुहाएर निदाएर बस्छन् । प्रधानमन्त्री लगायत थुप्रै विशिष्ट व्यक्तिहरुको बैठकमा बुद्ध मूर्ति सजाउने बस्तु सरह राखिएका छन् । सरकार प्रमुख नै असम्बन्धित व्यक्तिहरुलाई बुद्धको मूर्ति उपहार दिन्छन् । बुद्धको शीर जस्तो आकारको गमला लगायतका सामान बन्छ । हामी कहाँ पनि बुद्ध नाम गरेका पेट्रोल पम्प, लुगा पसल, कफी पसल, मर्मत केन्द्र र अझ मासु पसलहरु समेत छन् । (एक पटक मैले सानेपास्थित हारती मां मासु पसलको फोटो फेसबुकमा राख्दा धम्की खानुपरेको सम्झिन्छु) ।


त्यस्तै बुद्धको चित्र रेस्टुरां, डान्स क्लब, बारमा राख्नु पनि सामान्य नै छ । चुरोट र रक्सीको गन्ध भित्तामा टाँसिएको ठाउँमा बुद्धको चित्र राख्न पाइने स्वतन्त्रता बुद्धको जन्मभूमिमा नै किन? बौद्धहरु नै चैत्यको गजुरमा बाजा झुण्ड्याउँछन्, त्यसमा बसेर चिया खाइदन्छिन् । बुद्धको मूर्ति स्थापना गर्न लाग्यो भनेर प्रहरी गएर मूर्ति थुतेर ट्रकमा बाँधेर चौकीमा शौचालय नजिक थन्क्याएर राख्छ । खुला सडको बिचमा राखिएको बुद्ध मूर्ति अचानक तोडफोड गरिन्छ र कसले गरेको भनेर सरकार वा प्रहरी छानबिन समेत गर्दैन । नेपालमा त उनीहरुलाई यस्तो काम गलत हो भनेर सम्झाउन समेत कठिन छ, उल्टै धम्की आउने र प्रतिकारै गर्ने भय छ । उनीहरुका लागि यो नाम भनेको मात्र आकर्षक अक्षर हो, यसलाई जहाँ जसरी प्रयोग गरेपनि हुन्छ ।


यहाँ सार्वजनिक पार्कहरुको अभाव छ । त्यसैले हाम्रा पुर्खाले बनाएर गएका बौद्ध तीर्थस्थलहरु आजका युवायुवतीहरुको प्रेमालाप गर्ने ठाउँ, ब्यायाम, नाचगान गर्ने अनि टिकटक बनाउने ठाउँ बन्न पुगेका छन् । त्यहाँ धार्मिक वातावरण जोगाउन निकै कठिन छ ।


अब फेरि स्वयम्भुको व्यायामको प्रसंगमा फर्कन्छु । त्यहाँ सार्वजनिक रुपमा बुद्धको चैत्य अगाडि खुट्टा फालेर व्यायाम गरिरहेको दृष्यलाई मोबाइलमा कैद गरें र फेसबुकमा पोस्ट गरें, अहिलेको नेपालको यथार्थ सबैले देखुन् भनेर । कोही कोहीले त यस्तो गर्नु गलत हो, स्वयम्भुमा ब्यायाम गर्नु रोक्नु पर्छ भने । तर अधिकांशले ममाथि नै गालीको वर्षा गरे । उनीहरुको अनुसार स्वयम्भुमा ब्यायाम गर्न पाउनुपर्छ, त्यो ब्यायाम मात्र हो, त्यसलाई अन्य ढंगबाट लिनु हुँदैन । कसैकसैले त मलाई नै नकारात्मक, बुद्धी नभएको, पाखण्डी तथा जातीय द्वन्द्व चाहेको समेत आरोप लगाए । अनि मेसेन्जरमा पुलिस केस गरिदिन्छु भनेर धम्की पनि दिए । त्यसमध्ये यो कार्यको बचाउ गर्नेहरु मध्ये धेरैको बौद्ध जस्तो देखिने नाम र थर भएकाहरु समेत थिए ।



यहाँ दुइटा कुरा उल्लेखनीय भयो । पहिलो, के तिनीहरु यस्तो काम कुनै हिन्दु मन्दिरका अगाडि गर्न सक्छन् ? एउटा त गर्न चाहँदैनन् किनभने उनीहरु हिन्दु हुन् र उनीहरुलाई हिन्दु मन्दिरको अगाडि यस्तो गर्नु गलत हो भन्ने थाहा छ । दोश्रो, कसैले अन्जानमै गरिहाले भने त्यहाँ सम्झाउने बुझाउने वा कारवाही नै गर्ने व्यक्ति वा संस्थाको उपस्थिति हुन्छ । दोश्रो, नेपालका बौद्धहरुलाई समेत यस्तो गर्नु गलत हो भन्ने लागेको छैन । आफुलाई बुद्ध धर्मका आचार्य भन्ने तथा सयौं पुस्तादेखि बौद्ध भइरहेकाहरुले समेत बुद्धको मूर्तिलाई सार्वजनिक स्थलमा अपमान गरेकोलाई स्वाभाविक रुपमा लिएको देखियो । उनीहरुलाई समेत उनीहरुका गुरुहरुले बुद्धको प्रतिमालाई सम्मान गर्नुपर्छ बुद्धको मुर्तितिर खुट्टा उफार्नु गलत हो भनेर नसिकाएको देखियो ।


हामी बौद्ध हौं, त्यसैले हामी कहाँ बौद्ध संस्थाहरु छन् । व्यक्तिगत तवरबाट गर्न नसक्ने काम गर्नलाई संस्था बनाइन्छ । नेपालमा अहिले सयौं हजारौं बौद्ध संस्थाहरु छन् । उनीहरुले केही न केही त संस्थागत रुपमा काम गरिरहेको हुनुपर्ने हो । तर यसको प्रतिफल यहाँको बौद्ध समाजले देख्न पाइरहेको छैन । स्वयम्भु जस्तो पवित्र महाचैत्य स्थलमा त यस्ता अस्वाभाविक र आपत्तिजनक कामहरु खुलेआम भइरहेको देख्न पाइन्छ भने अन्य ठाउँमा बुद्धको सम्मान कहाँ कति होला र ? यस्ता कार्यको विरोध गर्न हाम्रा बौद्ध संस्थाहरु असफल प्रमाणित भएका छन् । अझ कहिल्यै यसको विरोध गरेको देखिएको सुनिएको छैन, जसको अर्थ ती संस्थाहरुले यसलाई रोक्न आवश्यक पनि ठानेका छैैनन् ।


बौद्धहरुलाई क्षान्तिवादी बन्न सिकाइन्छ, अर्थात् जसले जति हानी गरेपनि पीडा दिएपनि सहेर बस, अझ उसको राम्रो चिताउ । त्यसैले त पुस्तकहरुमा बुद्धको बारेमा भ्रामक कुरा लेखेको देख्दा, बौद्ध धार्मिक क्षेत्रमा अशोभनीय क्रियाकलाप भइरहँदा, बुद्धको मूर्ति वा चित्र गलत ठाउँमा सजाउँदा मात्र हैन बुद्धका मूर्तिहरुमा लोडफोड गरिरहँदा पनि हामी मुक दर्शक मात्र बनिरहेका छौं ।



तर विश्वको इतिहासले देखाएको छ, जहाँ जहाँ बौद्धहरु सहेर बसे त्यहाँ त्यहाँ उनीहरुको नामोनिशान मेटिएको छ । कहाँ गयो अफगानस्तान, पाकिस्तान, काश्मिर अनि अन्य भारतका बौद्धहरु ? यस्तै प्रतिक्रियाविहिन स्वभावले गर्दा उनीहरु आज इतिहसका पानामा मात्र भेटिने कथा भइसकेको छ । हामी नेपालीहरु पनि अहिले यही मोडमा छौं ।


फगत दुइचार रुपैंया दान पाउन, पुर्खाको धाक लडाउन, विभिन्न संस्थामा मान, सम्मान, जागिर, तलब–भत्ता पाउन वा सित्तैमा विदेश घुम्न पाउने भएर मात्र बौद्ध बनिरहेकाहरुबाट नेपालमा बुद्धधर्मको संरक्षण भइरहने कुरामा शंका उब्जिसक्यो । आफु बौद्ध हुँ भन्नेहरुले बुद्धको शिक्षामा विश्वास गर्नुपर्यो, त्यसलाई अवलम्बन गर्नुपर्यो, यो त छँदैछ तर यसका साथै जहाँ जहाँ बुद्धधर्ममाथि प्रहार हुन्छ त्यहाँ त्यहाँ शिष्ट, शान्तपूर्वक प्रतिक्रिया जनाई धर्म र धर्मको इतिहास जोगाउनु पर्ने पनि समयको माग भइआएको छ । अन्यथा विदेशीहरुले कुनै बेलामा नेपालमा बुद्ध जन्मेका थिए भनेर इतिहास लेख्नुबाहेक हामीसँग हाम्रो हजारौं वर्ष लामो बुद्ध धर्म अवलम्बन गरेको र यहाँ छुट्टै संस्कृति र साँस्कृतिक धरोहर जोगाएको कुरा पनि इतिहासमा मात्रै भेटिने दिन आउन सक्छ ।


आनन्दभूमि आश्विन पूर्णिमा अंकमा प्रकाशित 2022 10 09

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...