Sunday, July 29, 2018

नेवारबाट नै दलित बनाइएका नेवारहरु


राजेन मानन्धर

नेपालमा राजाले राजकाज छोडेको पनि एक दशक भइसकेको छ । नेपालकै छोरा वा छोरी हुन् सर्वोच्च पदमा पुग्ने अब। सबै कर तिरेर गणतन्त्र र धर्मनिरपेक्ष राज्यमा नागरिक कहलिएर बस्छन् । काठमाडौं नेपालको राजधानी । यहाँका रैथाने नेवारहरु आफूलाई निकै सभ्य सुसंस्कृत हुँ भन्छन् । तर यथार्थ यो भन्दा अलिक फरक पनि छ ।

हालै मात्र पढ्नमा आएको कुरा । काठमाडौसँग टाँसिएको मध्यपुर थिमि नगरपालिकाको सिवाः टोल वरपरका केही सार्वजनिक इनारमा त्यहाँका केही आफुलाई ठुलो जातका भन्नेहरुले त्यहीँ बसोबास गर्ने , जात्रा पर्व लगायतका धार्मिक सामाजिक उत्सवमा सहकार्य समेत गर्ने मानन्धर, वज्राचार्य, खड्गी, कपाली (श्रेष्ठ बाहेक)लगायतका समुदायलाई पानी तान्न नदिने सामाजिक विभेद गरिन्छ । पत्याउनुहुन्छ? यो कुनै हुम्ला वा दार्चुलाको कुरा होइन ।

विशेषगरी परम्पराको हवाला दिएर यहाँकाे आदर्श उच्च माविबाट उत्तर पूर्वी दिशामा अवस्थित इनार, दक्षिण दिशा (माकः ननी)को इनारमा यी समुदायलाई पानी तान्ने सवालमा विभेद हुँदैआएको कुरा हालै फेसबुकमा शिवासायमि खलःले राखेपछि हामी नेवारहरु आफुहरु कति अगाडि कति पछाडि छौं भन्ने विषयमा घोत्लिन बाध्य भएका छौं ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएपनि समुदायका आधारमा हुने विभेद अझै पनि अन्त्य हुन सकेको छैन । यो हिन्दु वर्णाश्रम अन्तर्गतको चार जातको कुरा पनि होइन । यो त आफुलाई जनजाति भन्ने नेवारहरु बिचमै हिन्दू जातीयप्रथाको अन्धानुकरण गर्नाको परिणाम हो ।

कति राम्रो सुनिन्छ जब नेवार संस्कृतिविद्हरु अनि साहित्यकारहरु समेत अविरल भनिरहन्छ — नेवार भनेको यस्तो जाति हो जसमा वर्णभेद छैन, ठुलो सानोको सवाल छैन, सबैको आआफ्नो पेशा छ अनि त्यही पेशा अनुसार उनीहरुको वर्गीकरण मात्र गरिएको छ भनेर भन्दा । यो त बुद्धले भनेको जस्तो समाज भयो, माक्र्सले बताएको जस्तो राज्य भयो ।

तर यथार्थको आँखाबाट हेर्यो भने देखिन्छ संसारको कुनै पनि देश, राज्य वा गाउँ समेत पनि ठुलो सानोको विभेदबाट मुक्त छैन । सर टमस मुरको युटोपिया साँच्चै हुने भए त्यहाँ कस्तो हुन्थ्यो थाहा छैन तर आज साम्यवादी भनेर भन्ने देशमा पनि यो भेद व्याप्त छ भन्ने सुनिन्छ । यो वर्ण, जातको जंजाल विभिन्न रुपमा विभिन्न भेषमा जहाँतहीँ छ, हुन्छ नै ।


A traditional water well in Kathmandu Valley (photo: Social media).
यसमा पनि हामीले नेवारहरुको समाजमा यो वर्णभेद अनि अछुत भनिनेहरु छैन भनेर भन्दै आइरहेका छौं — यो नेवारहरुलाई जनजाति मान्ने मौलिक र सैद्धान्तिक रुपबाट हेर्दा गलतसम्म होइन । तर मानवीय स्वभाव हो, जान्नेहरुले र भएकाहरुले आफुलाई ठुलो भनेर नभएकाहरु र नजानेकाहरुलाई सानो भन्ने रहर बोकेका हुन्छन् । शायद त्यसैले नै होला १४औं शताब्दीका राजा जयस्थिति मल्लले पनि भारतीय वर्णभेदी विद्वानहरु ल्याएरै यहाँ वर्णभेदको बीजारोपण गरे । अनि यो व्यवस्था राम्रो लागेरै त होला यहाँका सम्भ्रान्तहरुले यसको अन्त्य कहिल्यै चाहेन, मलजल नै दिइरहे — छ सय वर्ष पुरानो ऐतिहासिक दस्तावेजको आधारमा हामीले आज सामाजिक शासन गर्दै आइरहेका छौं — यस कुराको दोष आज हाम्रो टाउकोमा छ । दोष बोक्नु त गलत होइन तर अाजकाे शिक्षित समाज पनि यसै कुरीतिलाई ससम्मान बाेकेर अाजकाे दुनियाँमा बाँचिरहेका छाै‌ं । बोक्न त हामी अहिले फाेर-जिकाे माेबाइल बाेक्छाैं तर मानसिकता भने हाम्राे चारसय वर्ष पुरानै छ ।

बिरालोले फोहर लुकाएजस्तै हामीले यो कुरा जति लुकाएपनि यो लज्जास्पद सत्य विभिन्न विद्वानहरुले पत्ता लगाएकै छन् । विभिन्न विदेशी विद्वानहरुले हाम्रो व्यवहारमा छुत अछुतको भेद देखेका छन् । अझ उनीहरु नेवारभित्रको सानातिना विभेदलाई पनि ठुलो बनाए देखाइदिन मरिहत्ते गर्छन् । हुन पनि हो — आज पनि नेवारभित्र इनार छुन नदिने, घरभित्र छिर्न नदिने, छुन नहुने, भात खाइदिन नहुने, भोजमा सँगै राखेर खुवाउनु नहुने, भोजमा अलग्गै बोलाउनु पर्ने, बिहाबारी नचल्ने आदि विभिन्न किसिमका विभेदहरु देखिने नदेखिने गरी यथावत नै छ । हाम्रो ज्ञान र विद्वताले हामीलाई जति नै सभ्य बनाएतापनि आज पनि हाम्रो वरिपरी यसको घरको भात खाँदा घ्यु वा बेसार हालेको मात्र खानुहुन्छ, यसलाई घरभित्र हुल्न दिनुहुँदैन अनि यसलाई चिया ख्वाउँदा उसले आफ्नो जुठो आफै मस्काउनुपर्छ भन्ने मानसिकता अझै बाँकी छ । नेवारभित्र पनि हिन्दु त हिन्दु नै भए, बौद्ध नेवारहरु पनि छुवाछुतको व्यवहार गर्छन् भन्दा बौद्ध धर्मामलम्बीहरुलाई पत्याउन गाह्रो होला । त्यसैले नेवारहरुमा पनि दलित होलान् र ? भनेर प्रश्न गर्नु पनि बुद्धिमानी नहोला ।

आजको यो परिस्थिति र सामाजिक बनोटलाई हेरेर भन्न सकिन्छ वर्णभेद नभएको नेवार समाजमा तल्लोजात भनेर भनाइनुपर्नेहरुले आज भन्दा एकदुईसय वर्ष पहिले कति सामाजिक उत्पीडन भोग्नुपरेको थियो होला भनेर ।


A poster against caste discrimination over water use
आफ्नो आफ्नो पृथक पृथक धर्म संस्कृति भएर पनि एक ढिक्का भएर बसिरहेका नेवारहरुलाई यहाँका शासकहरुले विभाजित गरेर, लडाएर शासन गर्ने कोशिस आज मात्र होइन सयौं वर्षदेखि भइआएको हो । नेवारभित्रका उपाध्यायहरु र वज्राचार्यहरुलाई फुटाएको अनि वज्राचार्य र तुलाधरहरुलाई फुटाएको इत्यादि घटनाको संस्मरण यहाँ अझै बाँकी छ । आफुलाई माथिल्लो भनेर देखाउनुपर्नेहरुले नेवारहरुलाई फुटाउन सजिलो छ भन्ने बुझेकाले नै यस्तो घटना घटिरहेको छ भन्ने बोध गरे मात्र पनि यस्तो इतिहास फर्केर आउने सम्भावना कम रहन्छ ।

यसै सन्दर्भमा नेवार जाति र संस्कृतिका अभिन्न अङ्ग भएका च्यामे, पोडे, कुश्ले र खड्गी (त्यसबेला गल्तीबश कसाई भनिएकाे)लाई कुनैबेला सरकारले बनेको दलित उत्थान विधेयकमा नाम राखेपछि यहाँ एक किसिमको खैलाबैला भएको थियो । नेवार नेतृत्व र संघसंस्थासँग छलफल नगरी बाहुन क्षेत्री प्रशासक र केही दलितहरुले नै आफ्नो स्वार्थका लागि नेवारहरुलाई दलितभित्र राखे भन्ने कुरा यहाँ चलेको थियो । अस्ति भरखरकै स्थानीय चुनावमा उनीहरु दलितकाे काेटाबाट चुनाव लड्न अस्वीकार गरे तर दलित हुनुकाे पीडाबाट भने अझै मुक्त छैनन् ।

त्यसपछि केही ढिलो भएपनि नेवारहरु दलित हुनसक्छ कि सक्दैन भन्ने चर्चा परिचर्चा हुनथाल्यो । आफ्नो परिचय खोज्न इतिहास र वर्तमानमा अध्ययन अनुसन्धान गरेर सत्य तथ्य अगाडि राख्ने काम सँधै सराहनीय हुन्छ । तर यहाँ आश्चर्यजनक कुरा के हुन्छ भने आफ्नै थरको परिचय खोज्न आफ्नो अस्तित्वको सही परिभाषा दिने मामलामा नेवार विद्वानहरु र नेवार नेताहरु कन्जुस भइरहको पाइन्छ । यसबाटै स्पष्ट हुन्छ नेवारहरुलाई सही र असल मार्गमा लानुपर्ने नेतृत्वको मनमै पाप छ ।

यसको कारण घामजसतै छर्लङ्ग छ । हामीले नेता मानेर आएका जति पनि छन् ती सबैजसो त्यही वर्गका छन् जुन वर्ग आफुलाई आधा इन्च माथि छ भने र प्रमाणित गर्न अरुलाई दश फिट तल खसालिरहन्छन् । उनीहरुमा आफुहरु माथिल्लो जातको भन्ने दम्भ छ । अनि नेवार समाजको आदर्श नमूना भएर देखाउनुपर्ने विद्वानहरुभित्र पनि यस्तो एउटा तत्व लुकेर रहेको हुन्छ जसले उनीहरुलाई आजका मितिमा पनि ती च्यामे, पोडे, कुश्ले र कसाइका साथमा बसेर भात खाने आँट गर्दैनन् । नेवारभित्र वर्गमात्र होइन वर्ण वा जातीय छुवाछुत पनि छ भन्ने राष्ट्रिय स्तरबाट प्रमाणित भइरहँदा पनि नेवार एकताको जपना गरेर बस्नेहरुले यो कटुयथार्थलाई चिर्ने खासै प्रयास गरेको पाइँदैन ।

सुनचाँदीकै वर्षा गरेर मठमन्दिर, बनाउन सक्ने नेवारहरुभित्र आज पनि दिनभरी काम गरेर पनि दुईछाक खान नसक्नेहरु छन्, कथित जातीय पेशा संकटमा पर्दा पनि आफ्नो पेशा गरेर खाने वातावरण छैन, उनीहरु शिक्षा, स्वास्थ्य र व्यवसायको क्षेत्रमा पछाडिको पछाडि नै परिरहेका छन् । यस्तो अवस्थामा आफ्नै समाजबाट तिरष्कृत र दलित भएर बस्नुपर्नेहरुले आफ्नो सामाजिक प्रतिष्ठा फिर्ता लिनकै लागि दलित आयोगको शरण गए त उनीहरुको के दोष ? अझ पनि नेवारहरुमा दुइचारवटा थरहरु त्यतिकै अपहेलित र तिरष्कृत छन् । यो कुरा सबैलाई थाहा छ ।


Colorful festival of Newars in Thimi (Photo : Social media)
यो खुशीको कुरा हो कि यस्तो विभेद सहेर पनि ती च्यामे, पोडे, कुश्ले र खड्गीहरुले आफुलाई नेवार नै भनेर स्वीकार गरिरहेका छन्, आफु नेवार भएर नेवार धर्म संस्कृतिमा आफ्नो योगदान सम्झेर नै आवाज राखिरहेका छन् । यस्तो अवस्थामा नेवार समुदाय, नेवारभित्रको नागरिक समाज, संघसंस्थाहरुका अगाडि पहिले कहिल्यै नआएको एक चुनौति खडा भएको छ । शुतुरमुर्गले बालुवाभित्र टाउको लुकाउँदैमा तुफान नआउने होइन, दुइचारजनाले नेवारमा दलित छैन भन्दैमा हाम्रो सोचाइर व्यवहारमा परिवर्तन आउने होइन । अहिले हामीले छातीमा हात राखेर शुद्ध मनले भन्नुपरेको छ — हामीलाई साँच्चै आफ्नो थोत्रो अभिमान, जातको आडम्बर प्यारो छ कि सम्पूर्ण नेवारहरुको समष्टीगत विभेदरहित परिचय प्यारो छ ।

एक्काइसौं शताब्दीमा पनि हामी प्रतिस्पर्धात्मक जीवन र सामुदायिक विकासभन्दा पनि को दलित र को दलित होइन भनेर भनिरहेका छौं । गुभाजु बर्मु को अगाडि स्यस्यः दलित (कुनै ठाउँ परिस्थितिमा स्यस्यःको अगाडि गुभाजु दलित), स्यस्यःका अगाडि ज्यापु दलित, ज्यापुका अगाडि साय्मि दलित, साय्मिका अगाडि प्वः दलित । आखिरमा हामी सबै दलित नै हौं, सत्ता हसुर्न पाएका गैरनेवार समुदायका अगाडि । सबैको एकै समस्या, सबैले मिलेर समाधान गरेमा हीत सम्पूर्ण जातिकै हुने हो ।

नेपाल सरकारले २०६३ साल जेठ २१ गते मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । अनि व्यवस्थापिका संसदले २०६८ साल जेठ १० गते जातीय भेदभाव तथा छुवाछुत कसूर र सजायँ ऐन २०६८ लागू गरेको थियो । सबै मान्छन् याे दण्डनीय अपराध हाे भनेर ।
छुवाछुत सम्बन्धित ऐन २०६३ मा जातजाति, धर्म, वर्ण, वर्ग वा श्रमको आधारमा भेदभावपूर्ण व्यवहार बहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैंयादेखि २५ हजार रुपैंयासम्म जरिवाना वा दुवै संयाय हुने व्यवस्था गरेको पाइन्छ ।

हामी सबै पढेलेखेका विद्वान । देशभरिकै समस्या हामीले समाधान गर्न सक्छाै‌ं तर अाफ्नै समुदाय भित्र मौलाइरहेकाे याे कुप्रथाका विरुद्ध नेवार नेतृत्व माैन छ स‌ंघसंस्थाहरु गुपचुप छन् । अाखिर कतिन्जेल शिक्षा अार्थिक अात्मनिर्भरता र प्रतिष्ठा भएर पनि ती नेवारहरु अाफ्नै समुदायका अभिजातहरुकाे थिचाेमिचाेलाई सहेरै बसिरहलान् ?
Published in medium.com on 2018 07 28
https://medium.com/@razenmanandhar/%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%A8%E0%A5%88-%E0%A4%A6%E0%A4%B2%E0%A4%BF%E0%A4%A4-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%87%E0%A4%8F%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%81-b3d278123695

No comments:

२८ बुद्धहरुको संक्षिप्त जानकारी

राजेन मानन्धर सब्ब पापस्स अकरणं, कुसलस्स उपसम्पदा । सचित्तपरियोदपनं, एतं बुद्धान सासनं (अर्थात् सबै प्रकारको पाप कर्म नगर्ने, पुण्य कर्म संच...