Monday, October 10, 2016

20161010 नेवारहरुको चाड मोहनि हो, दशैं होइन


राजेन मानन्धर
शासक वर्ष र सत्ता कब्जा गरेर बसेको समुदायले जुन जुन चाडपर्व मान्छन्, ती सबै जनताले मान्नु अनिवार्य छैन रहेछ । यही ज्ञान पाएपछि नेपालका धेरै आदिवासी जनजातिले यो दशैं हाम्रो होइन भन्न थालेका छन् । नेवारहरुले पनि यो हाम्रो होइन भन्न सिकेका छन् । कोही भन्छन्— ‘दशैंमा भोज गर्नुपर्छ, पूजा गर्नुपर्छ, टीका लगाउनु पर्छ अनि दशैं मानेको भएन ?’ तर हामीले अलिअलि मिठो चोखो खाएर, धर्मकर्म गरेर मोहनि मनाएको देखेर ‘नेवारहरुले नि हाम्रो चाड मनाउँछन्’ भन्नेहरुलाई केही कुरा स्पष्ट पार्नुपर्ने लागेरै कलम चलाउन खोजेको छु ।
अरु समुदायका कुरा त अहिले भन्दिनँ, तर हामी नेवारहरु भने यसै दिनमा चाड मनाउँछौं । यस्ता चाड त हाम्रो महिनैपिच्छे आउँछन् । सबै चाड आफ्नै आफ्नै किसिमले महत्वपूर्ण छ— मासु खाने चाड नि चाड हो, मकै–भटमास भुटेर खाने चाड पनि चाड नै हो हाम्रो । समय, मौसम, धर्मअनुसार चाडपर्व मनाउने त हाम्रो चलनै हो । जुन दिनमा नेपालमा बाहुन छेत्रीहरुले दशैं भनेर मनाउँछन् त्यो दिन आउने हाम्रो चाड मोहनि पनि चाड मात्र हो हाम्रो लागि, न कम, न ज्यादा । त्यसैले हामीहरु आफ्नो चाडपर्वबारे बढ्ता गफसफ हाँक्दैनौं, पत्रपत्रिकाले पनि त्यस्तो धेरै लेख्दैनन् ।
पहिलो वैदिक वा शाक्त धर्ममा आस्था भएका नेवारहरुले कुनै देवीलाई पूजा गर्ने होइन, न त कुनै असुर मारिएको खुशियाली नै मनाइने हो । हामी त आफ्नो पेसा–कर्मअनुसारको औजारको पूजा गर्छौं । जस्तो कृषकले कुटो कोदालोको, व्यापारीले ढक तराजुको, सिकर्मी डकर्मीले त्यसै अनुसारका ज्यावलको । आजभोलि कर्मचारीहरु कापीकलम पुज्छन् । घरमा हतियार राखेर पनि शत्रुलाई मार्नु हुँदैन भन्नेहरु घरमा भएका हतियार पनि पुज्छन् । हामीलाई कुनै भगवतीले कुनै असुर भनिएको प्राणीलाई मारेको भन्नेमा विश्वास छैन, बरु आफ्नो कर्ममा विश्वास छ ।
हाम्रो चाड पनि तीन दिन हुन्छ तर त्यो एकदम फरक हुन्छ । त्यसलाई क्रमशः हामी कूछि भ्वय्, स्याक्वत्याक्व र चालं भन्छौं, जुन मिडियामा प्रचार गरिने हिन्दुहरुको महान् चाडको विशेषतासँग मेल खाँदैनन् । हामीले पनि आराधना त शक्तिकै गर्ने हो, तर कुनै स्त्री–शक्तिलाई होइन, आफ्नो कर्मशक्तिलाई आराधना गर्ने हो । हामीले पूजा गर्ने भनेको आफ्नो बासस्थान वा देशलाई चारैतिरबाट रक्षा गरीरख्ने पीठहरु हुन्, जसका गैरसंस्कृत नामहरुलाई आजभोलि धमाधम संस्कृतकरण गरिँदैछ । फलाना भनेको फलना देवी हुन् भनेर हामीलाई नै सिकाउन थालिएको छ । हामीले पुज्ने मातृदेवी वा अजिमा (हजुरआमा)को विकास कालान्तरमा तलेजु वा कुमारीको रुपमा हुन गयो होला । तर रेडियो नेपालले भजन बजाउने शैलपुत्री कालरात्री आदिजस्ता देवीहरु हामी पुज्दैनौं । बरु पछि गएर शाक्तधर्मको प्रभाव बढ्दै गएपछि आफूले पुज्ने मातृदेवीहरुलाई हिन्दु देउताहरुका स्त्रीका रुपमा देख्न थालियो, जस्तै कुमारको कौमारी, विष्णुको वैष्णवी, इत्यादि ।
हामी आठौं दिन घरपरिवार बसेर भोज खान्छौं, जुन हाम्रो मोहनिको सबैभन्दा महत्वपूर्ण दिन हो । दोश्रो दिन अदुवा र ऊखु समेत राखेर घरको औजार इत्यादिको पूजा गर्छौं अनि मोहनि सिन्हः (कालो टीका) बनाउँछौं । तेश्रो दिन पूजा गरेर शक्ति पुनर्जीवित गरेको औजार थापेर वर्षभरि सच्चा र इमानदार भएर जीविकोपार्जन गर्ने प्रण गर्छौं अनि कालो टीका थापेर असत्यलाई आफूमाथि हावी हुन नदिन आफ्ना औजारसँग शक्ति माग्छौं । साँच्चै भन्नु पर्दा जुन दिन छेत्री–बाहुनहरुले टीका भनेर संसारमा कतै नभएको जात्राजस्तो गरी महत्व दिन्छन् त्यो दिन नेवारहरुको केही खास हुँदैन । बिहान एकसरो टीका लगाइदिएपछि चाड सकिन्छ । त्यो दिन भनेको हाम्रो लागि सामान्य दिनजस्तै हुन्छ ।
हाम्रो चाडको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मोहनि सिन्हः (कालो टीका) हो जसको नामबाटै हामी यो चाडलाई मोहनि भन्छौं । पूजा सकिएपछि एकपल्ट घरमुलीले सबै सदस्यलाई यो टीका (र यसलाई छोप्न वा यसले नपुगेर रातो चामलको टीका पनि) लगाइदिएपछि त्यसको काम सकिन्छ । त्यो पनि आफ्नो परिवारजनलाई बाहेक अरुलाई लगाइदिँदैनौ । त्यसैले हामीलाई राजा वा हाकिमकहाँ गएर टीका थाप्न जानु मञ्जुर नभएको मात्र होइन वर्जित नै छ । आफन्तहरुबीच पनि हामी नबोलाएकाहरुको घरमा टीका माग्दैनौं ।
पछि हाम्रो समाजमा पनि हिन्दु राज्य, धर्म र संस्कृतिको दबदबा बढेपछि र राजाहरुले जे जे गरे, त्यही त्यही गर्दा जागिर खान पाइन्छ भनेर पूजामा हिन्दुत्वको प्रभाव ल्याउने काम गरियो । यो ऐतिहासिक तथ्य कसैबाट छिपेको छैन, जसको कुरा गरी साध्य पनि छैन । यसको पृष्ठभूमिमा हामीभित्र जन्मिएको हीनभावले काम गरेको पनि हुनसक्छ । हामी ‘म केही गर्न सक्दिनँ’ भन्ने हीनभावले ग्रसित भइयो भने ठूलो रुखको ओत खोज्नपुग्छौँ । यही हीनताले ग्रस्त भएर, आफूमात्र होइन आफ्ना समुदायलाई नै शक्तिसामु घोप्टिन लगाउनेहरु त सबै समुदायमा पाइन्छ, विशेष गरी हाम्रोजस्तो सामन्ती समाजमा । यसको बारेमा धेरै बोल्नु छैन मलाई ।
हाम्रो मोहनिमा महिषासुरलाई दुर्गाले मारेको वा रावणलाई रामले मारेको मिथकका कुरा कहीँ आउँदैन । तर पनि अर्काको देखासिकी गरेरै मोहनिमा वैदिक वा हिन्दु भनिएको धर्मको प्रभाव ल्याउनेहरुले पनि नवौं दिनलाई पशुबलि दिने दिनको रुपमा रोजेका हुन्छन् । आठौं दिनमा नेवारहरु बलि दिँदैनन् । बलि भनेको पहिला त तान्त्रिक पूजा मात्र हुने गथ्र्यो । कुनै पशुको गर्धन छिनालेर देउता खुशी पार्न नेवारहरुले पछि मात्र सिकेका हुन्, यो भनिराख्नुपर्ने कुरा भएन । यसमा एकातिर कोही वैदिक टपअप गर्न चाहन्छन् कोही तान्त्रिक डेकोरेशन गर्न चाहन्छन् । त्यो भनेको सबै स्वेच्छाले गरिएका वा राज्यले गराइएका परिमार्जन मात्र हुन् । राज्यको दबाब र त्रासमा यस्ता परिमार्जन गरिए पनि नेवारहरुले मनाउने मोहनिको मौलिकतामा आँच आएको छैन ।
दुःखको कुरा भनौं कि सुखको कुरा, सत्तासीन हुन नसके पनि नेवारहरु शासकहरुबाट कहिल्यै टाढा र स्वतन्त्र हुन पाएनन् । जहिले पनि शासकहरुलाई रिझाइरहनुपर्ने, खुकुरीको धारमा बाँच्नुपर्ने । त्यसैले मन पराएर होस् वा मन नपराएर पनि शासकहरुले जे जे गर्छन् त्यही त्यही गर्ने वा शासकहरुलाई जे मन पर्छ त्यो गरिदिने उनीहरुको नियति नै भएको छ । मोहनिको ‘दशैंकरण’ पनि यसैको एक नमुना हो ।


मोहनि दशैं होइन र नेवारहरुले मनाउने दशैं होइन, मोहनि हो । कोही कुनै चाड मानेर ठुलो हुने पनि होइन, नमानेर सानो हुने पनि होइन । जसले जुन आस्थाले जे मान्दै आएको हो, त्यो मान्नु राम्रो हो । किनभने त्यसमा उक्त समुदायका पुर्खाले सिकाएर गएका जीवनदर्शन लुकेको हुन्छ । जहाँ जस्तो फरक छ, त्यहाँ त्यस्तै फरक हुनु उचित छ । जे होइन, त्यसलाई हो भनेको सुन्दा पक्कै राम्रो लाग्दैन । यसो भन्यो भन्दैमा फेरि यहाँ दशैं मान्नेहरुलाई दशैंको विरोध ग¥यो भन्ने अनर्थ पनि नलागोस् । जसले जे मान्दै आएको छ त्यो मात्रै उसको हो । अब सबैलाई आआफ्नो संस्कार र प्रचलनअनुसार धर्म निर्वाह गर्ने वा कुनै पनि धर्म पनि अवलम्बन नगर्ने अधिकार छ । यसैमा बहुराष्ट्रिय देशका जनताको सहअस्तित्वको आनन्द पनि छ ।
http://esamata.com/insight/20161010c/

No comments:

This is me, Thank you Gemini