Sunday, November 2, 2014

छ जना महिलाहरुको षटकोण

छ जना महिलाहरुको षटकोण
राजेन मानन्धर

छ जना सशक्त महिलाहरु एक पंक्ति बनाएर उभिए पाटन दरवारको ऐतिहासिक केशवनारायण चोकका कलात्मक झ्यालको मुनि । तिनीहरुले एक अर्काका हात थामे, मुटु छामे र एउटै स्पन्दन पाए । एउटा माला पाए, संगै उने र यसरी तयार भयो एउटा षटकोण ।

विभिन्न पृष्ठभूमिबाट आएका भएपनि कलायात्राको दौरान तिनीहरुले आफू आफू बिच कुनै न कुनै एउटा डोरी हुनुपर्छ जसले गर्दा तिनीहरुमा विचारको सामञ्जस्य सम्भव छ भन्ने भित्र भित्र बलियो विश्वास बनाउँदै थियो । लामो कसरत पछाडि त्यस समूहले एउटा आधार फेला पारे । त्यो थियो – साँस्कृतिक सम्पदा । तिनीहरुको नेपालको साँस्कृतिक सम्पदा प्रतिको माया, दिन दिनै बिग्रँदैै गइरहेका नेपालका सम्पदाहरुको अवस्थाप्रतिको सरोकार र नेपाललाई चिनाउने ती सम्पदाहरुलाई हेर्ने नयाँ सिर्जनशिल आँखाहरु ।

यिनैलाई आधार बनाएर तिनीहरु तीन महिनासम्म सँगै बसेर सिर्जनामा लागे । विभिन्न सोचाइहरु, अन्तद्र्वन्दहरु, फरक अभिव्यक्तिका माध्यमहरु तर विषय भने एउटै । त्यसरी तयार पारिएका करिब एकदर्जन ओइल, एक्रिलिक पेन्टिङहरु र केही इचिङ प्रीन्टहरु आखिरमा केशवनारायण चोकको ग्यालरीमा झ्ण्डिन तयार भए । षटकोण नाम दिइएको यस प्रदर्शनी त्यहाँ सेप्टेम्बर १५ देखि १९सम्म त्यहाँ आयोजना गरियो भने त्यसपछि तिनी कलाकृतिहरुलाई २१ सेप्टेम्बर देखि १५ नोभेम्बरसम्म पुलचोक नःटोकको क्लासिक ग्यालरीमा प्रदर्शनी गरिने योजना पनि छ ।

कलाकार आजभोलि भगवानले बनाउँदैनन् आफै बन्नु पर्छ । धेरै मिहेनत र द्वन्द्वपछि नेपालमै कलामा स्नातकोत्तर पढ्ने वातावरण तयार भएको छ । यसको परिणाम आजको कलावृतमा देखिँदैछ । यस प्रदर्शनीका सर्जकहरु पनि सबै स्नातकोत्तर छन् । यसअर्थमा यस प्रदर्शनीले कला अभिव्यक्तिका लागि आजभोलि प्राज्ञिक अध्ययन कति आवश्यक छ भन्ने पनि देखाउँछ ।

केही समानता, केही असमानता । तिनीहरु सबै महिला हुन् , महिला हुनुको सुख र समस्याबाट गुज्रिरहेका । विषय सबैको साँस्कृतिक सम्पदा नै भएपनि त्यसलाई हेर्ने दृष्टिकोण, बुझाइ र आफुले स्वीकार गरेको कुरालाई अभिव्यक्त गर्ने तरिका भने सबैको भिन्न भिन्न थियो । त्यहाँ कोही लोक चित्रकार जस्तो पौभा बनाउन तयार छैनन् । न भत्केका मन्दिर, शीर छिनालिएका मूर्तिहरुलाई फोटोग्राफिक यथार्थमा उतार्नमा नै तिनीहरु आफुलाई सिमित गर्न चाहन्थे । आफ्नो युवा जोश, फराकिलो वैचारिक धरातल, कलाकारको स्वच्छन्दता त थियो नै, त्यसमा पनि विस्तारै नाश हुँदै गइरहेको सम्पदा प्रति र भविष्यका पुस्ताले ती सम्पदा देख्न पनि नपाउने हुन् कि भन्ने चिन्ताले पनि तिनीहरु यसतर्पm होमिएका छन् ।

दशैंको मुखमा जास्मिन राजभण्डारीले देवी त बनाइन् तर ती देवी मन्दिरभित्र कैद हुन चाहँदिनन् । एउटा गति लिएकी छिन् तिनले । आजका देवीको अगाडि एकजना मात्र महिषासुर छैनन्, धेरै गर्नु छ तिनलाई । मायादेवीले सिद्धार्थको जन्म दिइन् तर आज सिद्धार्थ कहाँ मायादेवी कहाँ । तिनलाई लाग्यो, सिद्धार्थ जन्मेर अगाडि बढे तर मायादेवीका अगाडि छेकबार थियो । त्यही देखाइन् तिनले आफ्नो क्यानभासमा ।

लामो समयसम्म हरियाली र प्राकृतिक सौन्दर्यमा भुलेकी सरिता डंगोल साँस्कृतिक वस्तुहरुको मोहमा परिन् । कतै तिनी देवदेवीहरुको हातको मुद्रा र त्यसको प्रतीकात्मक सन्देशलाई बोक्छिन् भने कतै आफ्नो शरीरको मासु काटेर भोका बाघ–बधिनीलाई खुवाउने बोधिसत्वको दानपारमितालाई आफ्नो चित्रमा समट्छिन् ।

सत्यशिला कसजु अरु भन्दा धेरै साँस्कृतिक सम्पदाहरु बिग्रिरहेको, भत्किरहेको वा चोरिएको देखेर खिन्न छिन् । तिनका कुचीले ताछिएका, चोइटिएका मूर्तिलाई देखे । विश्वमा नेपालमो प्रतिनिधित्व गर्ने ती सम्पदाहरु अपहेलित र तिरस्कृत हुनुपरेकोमा आफ्नो सरोकार देखाइन् कला मार्फत ।

कुनैबेला कला र जीवनको अनुपम संगमको रुपमा लिइएका भएपनि आज मुख बाएर अस्तीत्वबोध गराइराख्नुपर्ने ढुंगेधाराहरुले बढी अकर्षित गरे सुमित्रा राणालाई । यसका साथै टुँडाल र माने जस्ता धार्मिक साँस्कृतिक वस्तुहरुमा पनि मन लगाइन् तिनले । तर तिनको आँखाले ती वस्तुहरुमा विज्ञहरुले बताएजस्तो महत्व, प्रतीक र मानवजीवनसंगको तादात्म्य भेट्टाइनन् तिनले । त्यसको सट्टा एउटा खालीपन, अभाव, तिरस्कार र अवमूल्यन पाइन् । त्यसैलाई आफ्नो सिर्जनशिलताद्वारा अभिव्यक्त गरिन् हाम्रा सम्पदा आज कस्तो अनुभव गर्दैछन् भनेर देखाइन् आफ्ना सशक्त रेखा र रंग संयोजनबाट ।

सुषमा शाक्यलाई कलाकृतिमा जीवजन्तुको उपस्थिति मन पर्छ । यथार्थमा देखिने होस् कि दन्त्यकथाका पात्रहरु, ती जीवजन्तु र तिनीहरुको विशेषताले मानिसको संस्कृतिमा प्रत्यक्ष छाप पारिरहेको हुन्छ । हाम्रा पूर्खाहरु मानिसको बारेमा मानिसलाई नै उभ्याएर भन्न वा देखाउन नसकिने मानवीय स्वभाव, प्रकृति ती जनावरहरुमार्फत देखाइदिने गर्दथे ।  हामी कति बुझ्छौं, कति बुझ्दैनौं वा कति बुझेर पनि बुझ पचाउँछौं । एउटै कलाकृति तिनवटा क्यानभासको संयोजन गरेर बनाउँछिन् – एउटामा आकासमा उड्ने जीवहरु, अर्कोमा जमिनमा हिड्ने जीवहरु र तेस्रोमा पानीमुनि तैरने जीवहरुलाइै माथि बिचमा र तल ठाउँ मिलाएर देखाउँछिन् स्वर्ग, मत्र्य र पाताल यहीं छ भनेर ।

कला अभिव्यक्तिो माध्यम मात्र फरक होइन, सौरगंगा दर्शनधारीको विषयवस्तु पनि भिन्न छ । माध्यम तिनको इचिङ गरी प्रीन्ट निकाल्नु हो । अरु जस्तो क्यानभासमा ब्रशद्वारा रंग पोत्न मनपराउँदैनन् तिनी । विषयवस्तुले तिनलाई झन् टाढा उभ्याउँछ । तिनले रोजिन् मन्दिरका भित्ता टुँडालहरुमा सयौं वर्ष अगाडिदेखि खुल्लमखुल्ला प्रदर्शन हुन पाएका यौन सहवासका मुद्राहरु । नेपाली समाजमा यौन आजको युगमा पनि प्रतिबन्धित विषय हो । अझ त्यसमा पनि महिलाहरुलाई यसबारे सोच्न पनि छुट छैन । यस्तो परिवेशमा हुर्केकी तिनले यी यौनकलाहरुलाई आफ्नो सिर्जनामा ठाउँ दिने आँट गरिन् । तिनका प्रीन्टहरुमा लामा केश भएका महिलाकृति हुन्छन् र ती केशहरुमा लुकेका हुन्छन् यौनक्रिडामा रमाएमा जोडीहरु । सुन्दर ढंगले विन्यास गरिएका ती केशका गुच्छाहरु हाम्रो समाज हो, केही देखाए जस्तो, केही लुकाएजस्तो ।

मिखाबहा गुठीमा युवाहरुको सुमधुर बाद्यबादन संगै प्रदर्शित भएका यी नारीहस्ताक्षहरुले कलावृतमा केही हलचल ल्याएको छ । महिला कलाकारहरुलाई नबोलिकनै नकार्ने पुरुषहरुको वर्चस्व भएको नेपाली कलाकारहरुको बिचमा यसको उपस्थिति नै एक आन्दोलन हो ।

कलाकार मनुज बाबु मिश्र लेख्छन् – यी कामहरुमा जीवन छ, प्रमुखता छ जसले दर्शकहरुलाई सोचमग्न बनाइराख्छ । कलाकार आफ्नो काममा सँधै स्वार्थी रहनुपर्छ, एउटा ब्यक्तिबाद र ब्यक्तिगत आवाजको निर्माण गर्नुपर्दछ । तत्पश्चात मात्र कला आफै बोल्न थाल्छ र त्यसको अगाडि उभिएर कारकारले शब्दमा परिचय दिइरहनु पर्ने छैन ।

कवि दुर्गालाल भावुक हुन्छन् – जम्मै नबुझेपनि मैले बुझेको एउटा कुरा । षटकोणका यी छजनाको जुन समूह छ , यो समूह महिला मुक्तिको निमित्त ज्यादै व्यग्र भएको मैले पाएको छु । नेपालमा महिलामा यो व्यग्रता हुनु ज्यादै लक्षणको कुरा हो । हामी ज्यादै पुराना कुरा गर्छौं – भाले बास्नुपर्छ । भाले मात्र बासेर आएको बिहान हामीले धेरै हेरिकस्यौं । यस्तो फुस्रो बिहान हुनुको कारण एउटैमात्र हो भाले मात्र बास्नु । त्यसैले महिला पनि जब संयुक्त भएर जब बास्छ त्यो बिहान सक्कली हुन्छ । यस्तो बिहान यस्ता मर्मज्ञ कलाकारहरुबाट हुन्छ ।

तिनीहरु हुन त प्लेकार्ड लिएर सडकमा उभिएका छैनन् । तिनीहरुले महिलामाथि हुने हिंसा, अत्याचारका नाराहरुलाई रंगमा पोतेर हिँडेका पनि छैनन् । तर तिनीहरुमा महिला छ – राम्रो भए राम्रो नराम्रो भए नराम्रो । महिला सिर्जनशिलताका नमूनाहरु । हामी पुरुष वा कोही भन्दा पनि महिला भएकै कारणले कमजोर वा पछि परेका छैनौं भन्ने सन्देश बोकेका छन् हरेक कलाकृतिहरुले । साँच्चै भाले मात्र बासिरहेका छैनन् अब भन्ने सन्देश ।

सहभागी सबै कलाकारहरुलाई सिकाइको विकासक्रमदेखि नै नियालिरहनुभएका कलाकार तथा कला समीक्षक मदन चित्रकार तिनीहरुको यसपटकको सिर्जना देखेर खुशी हुनुभएको छ । उहाँ भन्नु हुन्छ “फ्यान्टास्टिक । यसलाई व्याख्या गर्न शब्दको अभाव हुन्छ , देख्ने बितिकै मनमस्तिष्कलाई छुन्छ ।”

उहाँ यस प्रदर्शनीलाई महिला कलाकारहरुको क्षमताको प्रदर्शनीको रुपमा पनि लिनुहुन्छ । “आजका महिला कलाकारहरु हिजोका जस्ता होइनन् । हिजोका महिला कलाकारहरु धेरै गुनासो गर्थे भेदभाव भयो भनेर । आज कामका क्षेत्रमा जो महिला अगाडि देखिएका छन् आफ्नै कला र प्रतिभाका कारणले छन् ।”

“नेपाली कलामा एउटा नयाँ आयाम थपिएको महशुस गरेको छु,” उहाँ थप्नु हुन्छ ।
०००
तिनीहरु त्यसै छानिएनन् । त्यो जिम्मा क्लासिक ग्यालरी स्टुडिओको थियो । त्यहाँ तिनीहरुमा स्थापित, संघर्षरत र नवप्रवेशी थिए । त्यहाँ काठमाडौं, ललितपुर, भक्तपुर मात्र होइन यस परिवेश भन्दा बाहिर गुल्मीको समेत प्रतिनिधित्व थियो ।

सरीता भन्छिन्, “सहभागी छान्नु पनि मुश्किलै काम थियो । हामीलाई महिला हुनुपथ्र्यो, आफ्नो पहिचानका बारेमा सजग हुनुपथ्र्यो, यस समाजलाई हेर्ने दृष्टिकोणमा एक हद सम्मको समानता आवश्यक थियो । यति कुरा मिल्ने कलाकार साथीहरु पाउनु सजिलो काम थिएन ।”

संगै बसेर तिनीहरुले विषय तय गरे । कला, संस्कृति र नेपाली हुनुको परिचय विश्वभर फैलाउने चाहले होला, लामो छलफल पछि तिनीहरुले कला र सम्पदालाई रोजे । त्यसो त ग्यालरीले पनि उक्त विषय छान्न सहयोग गरेको थियो ।

त्यसपछि तिनीहरु दिनहुँ ग्यालरीमा आउन थाले । रेसिडेन्सीको मतलब यही थियो । संगै बसेर दिन भरी काम गर्नुको आफ्नै विशेषता हुन्छ – कहिले राम्रो कहिले नराम्रो अनुभवहरुको सँगालोले तिनीहरुलाई नजिक बनायो, एक अर्कालाई अझ राम्रोसंग चिने । विषयमा छलफल गर्नथाले, आफुलाई थाहा भएको साथीहरुलाई सिकाउने र साथीहरुबाट पनि सिक्ने सिलसिला जारी भयो । आफ्नो योजना मुताबिक तिनीहरु काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रहरु र पशुपतिमा घुम्न गए । तिनीहरुको योजना घुमघाम मात्र थिएन , तिनीहरुले त्यहाँ आफ्ना पुर्खाले सिर्जना गरेर गएका मठ, मन्दिर, चैत्य, बहाल र त्यहाँ कुँदिएका मसिना भन्दा मसिना बुट्टाहरुलाई हेरे, सिके, बुझे । जति बुझ्यो, त्यति तिनीहरुको यस विषयमा चाख बढ्दै गयो, ज्ञानको प्यास थपिँदै गयो, अनि मेटिँदै पनि गयो । त्यति लामो कलाशिक्षाले नदिएको ज्ञान मिल्काइएका, हेपिएका, बेवास्ता गरिएका सम्पदामा पाए । त्यहाँ नबुझेका कुराहरु सोध्न तिनीहरुले लोक चित्रकार, मुशेश मल्ल, श्रीभक्त प्रजापति आदिलाई स्टुडियोमा बोलाए । सोधे, छलफल गरे अनि तृप्त भए ।

यसप्रकार तिनीहरुको सिर्जनाले परिणाम ल्याउन थाले । र अन्ततः एउटा सुन्दर प्रदर्शनीमा तिनीहरुको तीन महिनाको मिहेनत रुपान्तरित भए ।

“यो हामी सबैका लागि नै अनौठो उपलब्धि भयो । हामी मध्ये कोही अब यस विषयमा नै रहिरन मन पराउने भएका छौं भने कोही अब यसलाई अर्को नयाँ ढंगबाट प्रस्तुत गर्न तम्सिएका छौं,” सरीताले भनिन् ।

Published in Asmita Hamro magazine in 2014 11
















No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...