Wednesday, November 12, 2025

तिब्बतमा बुद्ध धर्म


 

राजेन मानन्धर

अहिले भरखरै नेपालमा भएको कथित जेनजी आन्दालनको परिणाम स्वरुप बनेको सरकारलाई विभिन्न कारणले यहाँका तिब्बत शरणार्थीहरुले स्वतन्त्र तिब्बत आन्दोलन प्रति सकारात्मक हुने हो कि भन्ने धेरैलाई लागेको छ । अहिलेसम्म नेपालले चीन र तिब्बतप्रति लिएको नीति अनि अहिले यहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा सक्रिय तिब्बती शरणार्थीहरुको क्रियाकलापले गर्दा नेपालीहरु तिब्बतको इतिहास, धर्म र नेपालसँगको सम्बन्धमा चासो राख्न थालेका छन् । यसै प्रसंगमा तिब्बतको बुद्ध धर्मको इतिहास र त्यहाँको बदलिँदो राजनीतिक पृष्ठभूमिमा त्यहाँको बुद्ध धर्मको अवस्थाको बारेमा संक्षिप्त चर्चा यस लेखमा हुनेछ ।

तिब्बत अहिले चीनको एक स्वायत्त प्रदेश हो । तिब्बत मध्य एसियाको तिब्बती पठारमा अवस्थित एक विशाल र अद्वितीय क्षेत्र हो । यो हिमालयको उत्तरमा अवस्थित छ र लगभग १२ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । त्यो भनेको तिब्बत लगभग पश्चिमी युरोप जतिको ठुलो छ, अनि नेपाल भन्दा ८ गुणा ठुलो छ । यसले चीनको सिनजियाङ, छिङघाई, सिचुआन र युनान प्रान्तहरूसँग सिमाना जोड्छ । यसका साथै दक्षिणमा यसले नेपाल, भारत, भुटान र म्यानमारसँग अन्तर्राष्ट्रिय सिमाना जोड्छ ।

यहाँको औसत उचाइ लगभग ४,५०० मिटर (१५,००० फिट) छ । त्यो भनेकै पृथ्वीको सबैभन्दा अग्लो क्षेत्र हो । यसको उच्च उचाइका कारण यसलाई “संसारको छाना“ भनिन्छ । यहाँका प्रमुख पर्वत शृङ्खलाहरूमा हिमालय (दक्षिण), कुनलुन (उत्तर), र ताङगुला (मध्य) आदिको नाम आउँछ । नेपाल र तिब्बतको सिमानामा नेपालतर्फ सगरमाथा रहेको हामी सबैलाई थाहा छ । यहाँको उचाइमा रहेको पठार मरुभूमिहरू, घाँसे मैदानहरू, नुनिलो पानीका तालहरू र हिमनदीहरूले भरिएको छ । यहाँको भूमिलेएसियाका धेरै ठूला नदीहरू (सिन्धु, ब्रह्मपुत्र, मेकोङ, याङ्त्जे, पहेँलो नदी) लाई पानी उपलब्ध गराउँछ ।

यहाँ ३६लाख मानिस बसोसबास गर्छन् । यहाँका आदिबासीहरु भनेर मंगोल, मोन्पा, तामाङ, छियाङ, शेर्पा तथा ल्होबाहरुलाई चिनिन्छ ।

तिब्बतको संक्षिप्त इतिहास
तिब्बत एक आफैमा एउटा विशाल सभ्यता हो । यसको इतिहास लामो र जटिल छ, जुन एकीकरण, साम्राज्य विस्तार, धार्मिक प्रमुखता, शोषण र विदेशी प्रभाव अनि चीनियाँ अधिपत्यको अध्ययन पछि बुझिन्छ ।
तिब्बतमा लगभग ४० हजार वर्ष पुरानो मानव उपस्थितिकोे अनुमान छ । यहाँ ५ हजार वर्ष पहिले मानिसहरु बसोबास गरेको पुरातात्विक अवषेशका प्रमाणहरु छन् । यहाँका मानिसहरुको उत्पति बाँदर र राक्षसहरुबाट भएको भन्ने किंवदन्ती छ । सातौं शताब्दी अघिसम्म यहाँ छियाङ आदिबासीहरु बस्थे ।

तिब्बतमा ७औंदेखि ९औं शताब्दी बिचको अवधि एकीकरणको अवधि थियो । यसबेला तिब्बतलाई यार्लुङ राजवंशले एकीकरण गरेको थियो जसमा ७ औं शताब्दीमा राजा सोङचेन गम्पोको विशेष भूमिका थियो ।

तिब्बतका राजा धर्म उ दुमसेन अथवा लाङदर्माले सन् ८३८मा आफ्ना दाजुलाई मारेर राजा बनेका थिए । यसबेलादेखि तिब्बतको राजनीतिक पतन भयो । तिब्बत साम्राज्य साना राज्यहरूमा विभाजित भयो । यसलाई तिब्बतको इतिहासमा खण्डीकरणको युग भनेर चिनिन्छ । नेपाल उपत्यका जस्तै तिब्बतको इतिहासमा पनि खण्डीकरण नै यसको विनाश र पतनको कारण बन्यो । यसपछि धेरै यहाँ विद्रोहहरू भए र क्षेत्रीय सरदारहरूको उदय भयो । यसरी हेर्दा ९औंदेखि १३औं शताब्दी बिचको समय तिब्बतको लागि अस्थिरताको समय थियो ।

१३औं र १४औं शताब्दीमा यहाँ शाक्य र मंगोल प्रभाव बढ्न थाल्यो । यसबेला यहाँ मंगोल शासन शक्तिशाली भयो । १३औं शताब्दीमा यहाँ तिब्बती नेताहरू, विशेष गरी शाक्य लामाहरू त्यसबेला विस्तार भइरहेको चीनको युआन राजवंश अन्तर्गतको मंगोल साम्राज्यको अधीनमा रहे । यसले गर्दा ती शाक्य लामाहरूले मंगोल संरक्षकत्वमा रहेर तिब्बतमाथि अस्थायी अधिकार जमाएका थिए ।

१४औं शताब्दीको मध्यमा मंगोल शासन कमजोर हुन थाल्यो अनि तिब्बती राजवंश फाग्मोद्रूप शक्तिशाली भएर यसले तिब्बती स्वतन्त्रता पुनः स्थापित गर्यो । १५औंदेखि १८औं शताब्दीतिर तिब्बतमा गेलुग निकायको विकास भयो । यससँगै १६औं शताब्दीको अन्त्यतिर एक मङ्गोल नेताले गेलुग स्कूलका प्रमुख सोनम ग्यात्सोलाई दलाई लामा (अर्थात् “बुद्धिको महासागर“) भन्ने उपाधि प्रदान गरे । त्यसपछि तिब्बतमा बिस्तारै दलाई लामाको प्रभाव बढ्दै गयो ।

१७औं शताब्दीको मध्यतिर पाँचौं दलाई लामा, ङावाङ लोबसाङ ग्यात्सोले खोशुत मङ्गोलहरूको सहयोगमा तिब्बतलाई एकीकृत गरे र ल्हासामा सरकार स्थापना गरे । यसै समय देखि उनी सर्वोच्च आध्यात्मिक र राजनीतिक नेता बने । १८औंदेखि २०औं शताब्दीको सुरुवातसम्ममा तिब्बतमा मान्चु छिङ राजवंशको उदय भयो । उनीहरुले तिब्बतमा आफ्नो उपस्थिति स्थापित गर्यो तर दलाई लामाहरूको नेतृत्वमा तिब्बतले आन्तरिक स्वायत्तता कायम राख्यो ।

सन् १९०४मा ब्रिटिश सेनाले ल्हासामा छोटो समयको लागि आक्रमण गर्यो । सन् १९१२मा छिङ राजवंशको पतन पछि १३औं दलाई लामाले तिब्बतको स्वतन्त्रताको घोषणा गरे । यसलाई चीनले मान्यता नदिए पनि तिब्बतले १९५० सम्म स्वतन्त्र राज्यको रूपमा काम गर्यो ।

चिनियाँ कब्जाः यसै क्रममा सन् १९५०मा चीनको जनमुक्ति सेनाले पूर्वी तिब्बतमा सैन्य आक्रमण सुरु गर्याे (वा शान्तिपूर्ण स्वतन्त्रता दियो) र चीनले मे १९५१मा तिब्बतलाई १७–बुँदे सम्झौतामा हस्ताक्षर गरायो । र अन्तमा बेइजिङमा तिब्बती प्रतिनिधिहरूले तिब्बतमाथि चिनियाँ सार्वभौमिकतालाई स्वीकार ग¥यो । त्यस पछिको ९ वर्षसम्म तिब्बतीहरुले विरोध जनाएनन् अनि सन् १९५९मा कब्जाको विरोधमा ल्हासामा विद्रोह त भयो तर त्यसलाई चीनले दबायो । फलस्वरुप १४ औं दलाई लामा, तेन्जिन ग्यात्सो भारत भागे । त्यसपछि चीनले १९६५ मा तिब्बत स्वायत्त क्षेत्र स्थापना गर्याे र यहाँ धार्मिक, सामाजिक र राजनीतिक परिवर्तनहरू ल्यायो, धर्ममा नियन्त्रण गर्यो अनि विकास निर्माणमा जोड दियो । १९८० पछिका दिनमा चीनले यहाँ धार्मिक प्रतिबन्धहरू केही खुकुलो पारेको छ तर तर राजनीतिक नियन्त्रण भने कायमै राखेको छ ।

नेपाल–तिब्बत सम्बन्ध
नेपालको छिमेकी देश वा प्रदेश भएको नाताले नेपाल र तिब्बतको सम्बन्धको इतिहासलाई संक्षिप्तमा केलाउनु उपयुक्त हुन्छ ।

हिमालय पर्वत श्रृंखलाको वारिपारि रहेका दुइ देश नेपाल र तिब्बतको सम्बन्धको इतिहास लामो र जटिल छ, जसमा धर्म, ब्यापार, युद्ध र कुटनीति मिसिएको छ ।

लिच्छवी काल (इस्वी ५औ — ८औ शताब्दी)ः लिच्छवीकालमा नेपाल उपत्यका र तिब्बत अलग अलग स्वतन्त्र देशहरु थिए । नेपालले तिब्बतमा बुद्ध धर्म फैलाउन खेलेको भूमिका स्मरणीय छ । नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजा सङचेन गम्पोसँग विवाह गरेर त्यहाँ बुद्ध धर्म लिएर गएको भन्ने विश्वास नेपाल र तिब्बतमा अझै छ ।

मल्ल काल (इस्वी १२औ — १८औ शताब्दी)ः मल्ल कालमा नेपाल तिब्बतको सम्बन्धको आधार व्यापार थियो । यी दुइ देशमा एक देशको सामान अर्को देशमा लगेर ब्यापार गर्ने परम्परा बन्यो र यसमा धार्मिक र साँस्कृतिक सम्बन्धहरुका आयामहरु पनि थपिए । त्यसबेला नेपालबाट मसला, चिनी र अन्य समान लान्थे भने तिब्बतबाट नून, उन तथा सून ल्याउँथे । यसबेला तिब्बत सरकारको लागि चाँदी टक समेत नेपालका नेवार कालिगढहरुले बनाइदिन्थे । उनीहरुलाई नेपालीहरु प्रति यति धेरै विश्वास थियो । यो क्रम उपत्यकामाथि गोरखाका राजाले नेपाल उपत्यका विजय गरेसँगै टुट्यो । नेपालका नेवार ब्यापारीहरु त्यहाँ ब्यापार गर्न जान्थे, उनीहरुलाई तिब्बतमा विशेष सम्मान थियो । यससँगै वैबाहिक सम्बन्धहरु बने । यो ब्यापारिक सम्बन्ध भने पछिसम्म कुनै न कुनै रुपमा कायमै रह्यो ।

शाह काल (इस्वी १८औ शताब्दीदेखि)ः नेपालमा शाह काल शुरुभएदेखि नेपाल तिब्बत सम्बन्ध सौहार्द रहेन, नेपालका राजाहरुले सम्बन्धको महत्व भन्दा पनि फाइदा र अतिक्रमण रोजे र पछि विभिन्न चरणका युद्धहरुमा अन्त भयो । नेपाल र तिब्बत बिच पहिलो युद्ध सन् १७८८–१७८९मा भयो, दोश्रो युद्ध सन् १७९१–१९७२मा भयो अनि तेश्रो युद्ध सन् १८५५–१८५६मा भयो ।

चीनले तिब्बतमाथि सन् १९५०मा अधिपत्य जमाएपछि नेपालको सम्बन्ध सिधै चीन सरकारसँग हुने भयो । सन् १९६०मा नेपाल चीन सीमा सम्झौत भए पछि नेपाल सरकारले अहिले “एक चीन नीति”लाई अँगालेको छ । तथापि नेपालले करिब १२ हजार देखि २० हजारसम्म तिब्बती शरणार्थीलाई बासस्थान भने दिएको छ ।

तिब्बतमा बुद्ध धर्मको प्रवेश
बोन धर्म तिब्बतको आदिवासी धर्म मौलिक हो, जसको उत्पत्ति बुद्ध धर्मभन्दा पहिले भएको मानिन्छ । सयौं वा हजारौं वर्षदेखि यहाँको धर्म संस्कृति र परम्परा बनेको यो धर्मको आफ्नै महत्व छ । पछि यहाँ बुद्ध धर्मले प्रवेश पाएपछि पनि तिब्बतीहरुमा बोन धर्मप्रतिको मानिसहरुको लगाव यति गहिरो थियो कि यहाँ बुद्ध धर्मको प्रचार गर्नेहरुले बुद्ध धर्म र बोन धर्मलाई मिश्रण गरेर मात्र यहाँको समाजमा फैलाउन सक्यो । बुद्ध धर्मसँग मिसिएर बोन धर्म पछि आफ्नै किसिमले विकास हुँदै गयो ।

प्रारम्भिक युग ः तिब्बतमा धेरै पहिले नै बुद्ध धर्मले प्रवेश पाएको थियो । यो सम्भवतः इसाको पहिलो शताब्दीतिर नै रेशम मार्ग भएर त्यहाँ पुगेको हुनुपर्छ । तेश्रो शताब्दीमा भारतमा सम्राट अशोकले दक्षिण एशिया भरी बुद्ध धर्म फैलाइरहेको बेलामा यसको लहर तिब्बतसम्म आइपुगेको पनि अनुमान गरिन्छ । यसबेला तिब्बतको उत्तर पश्चिममा अवस्थित झाङझुङ राज्यमा तिब्बती बुद्ध धर्मले प्रभाव पारेको देखिन्छ ।

सङचेन गम्पोको योगदान ः तिब्बतमा बुद्ध धर्म फैलिनुमा नेपालकी विभुति भनेर चिनिएकी भृकुटीको योगदान स्मरणीय मानिन्छ । ७तौं शताब्दीका तिब्बती राजा सङचेन गम्पो (सन् ६१८–६४९)को विवाह नेपालको लिच्छवी वंशकी राजकुमारी भृकुटीसँग भएको थियो र उनले नेपालबाट बुद्धको मूर्ति तथा नेवार कलाकारहरु लिएर गएकी थिइन् । उनैको मिहेनतबाट तिब्बतमा बुद्ध धर्मको प्रचार भएको थियोे । त्यसैकारण त्यहाँ भृकुटीलाई हरित ताराको रुपमा पूजा गर्ने चलन छ ।अर्को तर्फ उनै राजाको विवाह चीनियाँ राजकुमारी वेनचेङसँग पनि भएको थियो र उनले तिब्बतमा बुद्ध धर्म लिएर गइन् भन्ने मान्यता पनि छ । जे होस् यिनको पालादेखि तिब्बतमा बुद्ध धर्मको प्रचार बढ्यो र यसैकारणले पछि यिनलाई बोधिसत्व अवलोकितेश्वरको रुपमा मान्न थाले ।

त्रिसोङ देत्सेनको योगदानः सङचेन गम्पो पछि करिब एक सय वर्षसम्म तिब्बतमा बुद्ध धर्मको संरक्षणको लागि खासै काम भएन तर त्यसपछि अर्को बुद्ध धर्मको संरक्षक राजा उदायो । राजा त्रिसोङ देत्सेन (सन् ७५५–७९७)ले यहाँ कमजोर हुन थालेको बुद्ध धर्मको संरक्षण गरे र यसलाई देशको राज्य धर्मको दर्जा दिए । उनले भारतबाट कहलिएका बौद्ध विद्वानहरुलाई झिकाएर यहाँ बुद्ध शिक्षाको ब्यापक प्रचार गरे । यसबेला तिब्बत आएका गुरुहरुमा पद्मसंभव तथा शान्तरक्षितहरुको नाम उल्लेखनीय छ । समयसँगै यहाँ महायान तथा वज्रयानको प्रचार तथा अभ्यास बढ्न थाल्यो ।

राजा राल्पाचेनको योगदान ः नवौं शताब्दीको सुरुवातमा राजा राल्पाचेन (सन् ८१५–८३८)को समयमा यहाँ बुद्ध धर्मको धेरै विकास भयो । यस बेला राजाको संरक्षणमा यहाँको बुद्ध धर्म फस्टाएको थियो । उनले त्यसबेला थुप्रै बौद्ध ग्रन्थहरूको संस्कृतबाट तिब्बतीमा अनुवाद गराएका थिए । यसबेला यहाँ समाजनमा बौद्धहरुको प्रभाव बढको थियो । पछि यी राजा राल्पाचेनलाई उसका भाइले हत्या गरिदिए र फेरि देशमा बुद्ध धर्मको पतन शुरु भयो ।
राजा लाङदार्माको दमनः नवौं शताब्दीको मध्यमा दाजुलाई हत्या गरेर राजा भएका उनका भाइ लाङदार्मा (सन् ८३८–८४२) बुद्ध धर्मका विरोधी भएर निक्ले । उनले बुद्ध धर्मप्रति शत्रु सरह व्यवहार गरे, गुम्बाहरु बन्द गराए अनि भिक्षु संस्थाहरूलाई पनि दमन गरे । उनको कालमा धेरै लामाहरूलाई चिवर फुकाल्न बाध्य पारिएको थियो, र बौद्ध अभ्यासहरूमा पनि रोक लगाएको थियो । त्यसकारण उनको शासन काललाई तिब्बती बुद्ध धर्मको लागि “अन्धकारको युग“ जस्तै भयो । त्यसपछि तिब्बतको साम्राज्य नै टुक्रा टुक्रा भएर गयो ।
दोश्रो चरणको विस्तारः १०औ शताब्दीको अन्ततिर तिब्बतमा पुनः बुद्ध धर्मको विकास हुन थाल्यो । यसबेला यहाँको धार्मिक वातावरण अलि सकारात्मक हुन थालेदेखि विदेशबाट उच्च तहका गुरुहरु आएर बुद्ध धर्मको शिक्षा दिन आए । ती मध्ये एक प्रमुख गुरुको नाम हो अतिशा (सन् ९८२–१०५४)।

अनुवाद र भिक्षुसंख्यामा वृद्धिः यस अवधिमा भारत लगायतका देशहरुबाट ल्याइएका बौद्ध ग्रन्थहरूको तिब्बतीभाषामा व्यापक अनुवाद गर्ने काम भयो । यसैको फलस्वरुप अहिले तिब्बतमा विशाल बौद्ध साहित्यको भण्डार रहेको छ । त्यस्तै किसिमले रिन्चेन जाङ्पो जस्ता व्यक्तित्वहरूले यहाँ नयाँ गुम्बाहरुको निर्माण गर्ने लहर नै चलाए र लामा बन्नेहरुको संख्यामा पनि ठुलो वृद्धि भयो । यहाँ शाक्य तथा निङ्मा सम्प्रदायहरुको विकास पनि यसै समयमा भएको थियो ।

१३औ शताब्दीमा यहाँ विस्तारै मंगोल साम्राज्यको प्रभाव बढ्नथाल्यो । यसबेला यहाँ शाक्य पण्डित तथा फाग्पा नामका विद्वानहरुले यहाँको बौद्ध समाजलाई धेरै प्रभाव पार्यो ।
विभिन्न निकायहरुको विकास ः १३औदेखि १७औ शताब्दीमा तिब्बतमा बुद्ध धर्मको ब्यापक प्रचार भयो र यसका साथै यहाँकौ बुद्ध धर्ममा विविधता पनि थपियो । यसै बेला यहाँ विभिन्न निकायहरुको उदय र विकास भयो । काग्यु, शाक्य तथा गेलुग निकायहरुको विकास यसै बेला भएको थियो । तर अर्कोतिर यसै बेलादेखि तिब्बतका बौद्धहरु आआफ्नो निकायप्रति यति कट्टर हुन थाले कि एक निकायका बौद्धहरु अर्कोनिकाय प्रति द्वेष राख्न थाले र असहिष्णु भएर निस्के । यसको फलस्वरुप समाजमा बौद्ध बौद्धहरु बिच वैमनुष्यता बढ्यो ।
दलाइ लामाको सिद्धान्त र विकास ः दलाइको परम्पराको शुरुवात १६औ शताब्दीमा मात्र भएको देखिन्छ । यसबेला गेलुग सम्प्रदायका बौद्धहरुको दलाइ लामाको प्रचलन ल्याए । यो यहाँको गेलुग निकायका बौद्धहरुका लागि प्रमुख धार्मिक गुरु जस्तो पद थियो । यसका लागि मंगोल नेता अल्तान खान ल्याएर उसको हातबाट सोनाम ग्यात्सो (इस्वी १५४३–१६८८)लाई दिलाएको थियो । तर यससँगै बिस्तारै दलाई लामाको पदवीमा राजनीतिकरण हुन थाल्यो । ५औं दलाई लामा ङावाङ लोबसाङ त्यात्सो (इस्वी १६१७–१६८२)ले मंगोल साम्राज्यको साथ लिएर आफ्नो राजनीतिक शक्ति बलियो पारे । उनले पोताला दरवार निर्माण गराएर तिब्बतमा गेलुगको प्रभुत्व देखाउन खोजे । यसरी हेर्दा १७औं देखि २०औ शताब्दीको तिब्बत भनेको दलाई लामाको अधिपत्यको समय बन्यो ।

१८औं शताब्दीमा, चीनको छिङ राजवंशले तिब्बतमा प्रभाव पारेको थियो । यो प्रभाव कायम राख्न चीनले दलाई लामाहरूलाई आध्यात्मिक नेताको रूपमा मान्यता दियो र यसको बदलामा चीनले तिब्बतमाथि नियन्त्रण बढायो ।

१९औं शताब्दीसम्म तिब्बतको धार्मिक सांस्कृतिक अवस्था
१७ औं शताब्दीदेखि तिब्बतको राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा तिब्बती बौद्ध धर्मको प्रभुत्व बढेको अवस्था थियो । चीनियाँ कब्जा हुनु भन्दा अथवा सन् १९५० भन्दा अघि तिब्बत एक धर्मतन्त्रको रूपमा सञ्चालित थियो, यहाँको राजनीति, आर्थिक, सामाजिक अवस्था त्यहाँको बुद्ध धर्मको आधारमा हुन्थ्यो, यो धर्म नै यहाँको सरकार, समाज, र व्यक्तिगत जीवनको केन्द्रीय स्तम्भ थियो ।

देशको सरकार गेलुग निकायका लामाहरुको नियन्त्रणमा थियो । यहाँ दलाई लामा देशको आध्यात्मिक र राजनीतिक राज्य प्रमुख थिए । त्यहाँका लामा तथा आनीहरुका गुम्बाहरु केवल पूजा र धर्म शिक्षाका केन्द्रहरू मात्र थिएनन्, तिनीहरू बास्तवमा देशका प्रमुख आर्थिक र राजनीतिक संस्थाहरू थिए । देशको ठूलो भूभाग उनीहरुको स्वामित्वमा थियो भने जनतामा पनि उनीहरूको प्रभाव थियो । धर्मको लागि अनि राजनीतिक शक्ति प्राप्त गर्नका लागि पनि मानिसहरु लामा बन्थे । सर्वसाधारण जनताको दैनिक जीवन धार्मिक अभ्याससँग गाँसिएको थियो । उनीहरुको जीवन नै मन्त्र पाठ गर्ने, माने घुमाउने, दण्डवत गर्ने, घरमा धार्मिक झण्डा फहराउने अनि पोताला दरवारको तीर्थयात्रा गर्नेमा सीमित थियो ।

अर्को दृष्टिकोणबाट हेर्दा यसबेलाको तिब्बतमा धार्मिक शोषणको गम्भीर समस्या थियो । यो शोषण मुख्य रूपमा बौद्ध गुम्बाहरु र लामाहरूको प्रभुत्वमा आधारित थियो, जसलाई इतिहासकारहरूले धार्मिक सामन्ती दासप्रथा भनेका छन् ।

त्यसबेलाको समाज तीन तहमा विभाजित थियो — देशको कुल जनसंख्यको ५देखि १० प्रतिशत मानिस उच्च तहका लामा थिए र उनीहरूले देशको ९० प्रतिशत भन्दा बढी जमिन र स्रोत नियन्त्रण गरेर राखेका थिए । अरु सामन्ती मालिकहरू अथवा अभिजात वर्गले गुम्बा तथा उच्च तहका लामाहरूसँग मिलेर शोषण गर्थे । अर्कोतिर किसान वा दासहरू देशको जनसंख्याको ८० देखि ९० प्रतिशत थिए तर उनीहरू गुम्बा र मालिकका लागि अनिवार्य कर तिर्न बाध्य थिए । त्यसकारण बुद्ध शिक्षाले सिँचित देश भएर पनि धनी झन् धनी र गरिब झन् गरिब हुँदै गइरहेका थिए ।

यहाँसम्म कि किसानले उत्पादनको ५०–७५ प्रतिशत आम्दानी गुम्बाहरु र उच्च तहका लामाहरुलाई धार्मिक कर भनेर दिनुपथ्र्याे । यस बाहेक त्यहाँ उलाग प्रथा चलेको थियो जस अनुसार प्रत्येक परिवारले वर्षमा १००–२०० दिन गुम्बाका लागि निःशुल्क श्रम गर्नुपथ्यो । अझ गुम्बाहरूले गरिब किसानहरुलाई ऋण दिँदा भारी ब्याज लिन्थे, जसले किसानहरूलाई ऋणको दास बनाउँथ्यो । लामाहरु भगवान बुद्धको शिक्षाले देश चलाउने भन्थे तर त्यहाँ गलती अपराध गर्ने जनतालाई अमानवीय शारीरिक यातना दिने जस्तो दण्ड दिन्थे ।
संसार भरी शिक्षाको महत्व फैलिसक्दा पनि तिब्बतमा शिक्षा र स्वतन्त्रता थिएन । त्यसबेला त्यहाँका ९५ जनता जनता अशिक्षित थिए । उनीहरुले बाहिरको संसारको बारेमा केही जानकारी पाउँदैनथे । शिक्षाको नामा गुम्बा गएर धार्मिक ग्रन्थ पाठ गर्न मात्र सिकाइन्थ्यो । बच्चाहरूलाई गुम्बामा बलपूर्वक लामा बनाइन्थ्यो । उच्च तहका लामाहरूले “धार्मिक विवाह“ को नाममा बहुपत्नी राख्न पाउँथे ।

चीनियाँ कब्जा पछिको तिब्बतको बुद्ध धर्म
सत्यको दुइटा पाटा छन् — चीनले कब्जा गर्नु अघि तिब्बतमा धर्मको नाममा अत्याचार भइरहेको एउटा पाटो हो भने चीनले तिब्बतले कब्जा गरेपछि यहाँ बौद्ध सम्पदामाथि गरिएको विनाश अर्को पाटो हो ।

सन् १९५०मा चीनले तिब्बत कब्जा गर्यो (वा शान्तिपूर्ण स्वतन्त्रता दियो) । त्यस पछिको ९ वर्ष पछि १९५९मा ल्हासामा विद्रोह गरे । यो दबाउने क्रममा करिब १,००० गुम्बाहरू क्षतिग्रस्त भए । ल्हासा विद्रोह पछि, नोर्बुलिङका र जोखाङ मन्दिरमा गोलाबारी गर्यो । यसबेला यहाँ मध्य तिब्बतमा सयौं गुम्बाहरू तोडफोड गरिए, भित्तेचित्रहरू विकृत गरिए, मूर्तिहरू फुटाइए ।

तिब्बतमा चीनियाँ साम्यवादी सिद्धान्त अनुसार सांस्कृतिक क्रान्ति (१९६६–१९७६) को समयमा यहाँ नयाँ नियमहरु लागु गरे, भूमिसुधार गरे, सामन्ती प्रथा अन्त गरे अनि बुद्ध धर्मलाई निषेध जस्तै गरे, यहाँका जनताले गर्दै आएको बौद्ध अभ्यासहरू दबाइए अनि यहाँका हजारौं बौद्ध गुम्बाहरु ध्वस्त पारे ।

यस बेला मात्रै करिब ६,००० गुम्बा र मन्दिरहरू नष्ट गरिए । कतिपय गुम्बाहरू अन्न भण्डार, ब्यारेक वा विद्यालयहरूको रुपमा प्रयोग गरिए । यो समयमा यति सम्म गरियो कि गोली बारुद बनाउनका लागि मूर्तिहरू पगालिएका थिए अनि धर्मग्रन्थहरू इन्धनको रूपमा जलाइएका थिए । यस बाहेक पनि अरु हजारौं टन सुन तथा चाँदीका बौद्ध देवी देवताका मूर्तिहरू पगालिए अझ लाखौं पाण्डुलिपिहरू जलाइए वा धुलो बनाइए ।

यसका साथै त्यसबेला लामा, आनीहरुमाथि उत्पीडन कार्य समेत भएको थियो । त्यसबेला हजारौं लामा आनीहरुलाई विवाह गर्न बाध्य पारिएको थियो । दशौं हजार लामाहरूलाई कैद गरियो । ती मध्ये धेरैको श्रम शिविरमा मृत्यु पनि भयो ।

यस्ता समाचार विश्वभरी फैलिए र यसको विश्वब्यापी निन्दा भयो । चीनको कम्युनिष्ट सरकार अलिकति भएपनि लचिलो हुन थाल्यो । सन् १९७९ पछि राष्ट प्रमुख डेङ सियाओपिङको उदारीकरणले केही गुम्बाहरुको पुनर्निर्माणलाई अनुमति दियो । यसबेला यहाँका अमुल्य बौद्ध सम्पदा मध्ये धेरैको आंशिक पुनरुत्थान भएको थियो । सन् १९८५ सम्ममा २०० मठहरू पुनः खोलिए तर तिनीहरु सरकारको नियन्त्रणमा थिए ।

दलाई लामाको निर्वासन र विश्वव्यापी बुद्ध धर्मको प्रसारः भनिन्छ, यदि चीनले तिब्बतमाथि कब्जा नगरेको भए र दलाई लामा निर्वासनमा नगएको भए आज विश्वमा बुद्ध धर्म यसरी फैलिने थिएन । एकातिर चीनले तिब्बतमा अधिपत्य जमाएको कारणले यसमा विश्वको नजर पर्यो । अनि निर्वासनमा गएका दलाई लामामाथि पश्चिमी देशहरुको सहानूभुति बढ्यो ।
आफ्नै देशका नवजागृत बौद्धहरु प्रति सकारात्मक हुन नसकेको भारत सरकारले दलाई लामालाई शरण दियो मात्र होइन त्यहाँ धर्मशालामा दलाई लामाको निर्वासन सरकार स्थापना गर्न समेत अनुमति दियो । यसैको सहयोगमा दलाई लामाले त्यहाँ र र अन्य देशमा बसाइँ सराइ गरेका तिब्बतीहरु बिच बौद्ध संस्कृति संरक्षण गर्न काम गरे । उनले विश्वभरी भ्रमण पश्चिममा बुद्ध शिक्षा फैलाए र उनको प्रेरणामा विश्वव्यापी रूपमा बुद्ध धर्मका केन्द्रहरू स्थापना गरिए ।

तिब्बतको विश्वव्यापी प्रभावः आजको विश्वमा तिब्बत भन्नाले तिब्बती बुद्ध धर्मको पर्यायवाची नाम जस्तै गरी बुझिन्छ । चीनमा भएको राजनीति परिवर्तनले गर्दा विश्वले तिब्बत बुझ्न खोजे, उनीहरुले त्यहाँ बुद्ध धर्म पाए, यसलाई हिराको खानी सरह स्वीकार गरे । अनि यस अद्वितीय बुद्ध धर्मको संरक्षण गरेर राखेको स्थलको रुपमा उनीहरुले तिब्बतलाई आदर र सत्कार गरे । उनीहरुले तिब्बतलाई मान्नुको कारण यहाँको धर्म नै हो ।

समकालीन तिब्बतमा तिब्बती बौद्ध धर्मको अवस्था
गत केही सय वर्षमा तिब्बती बौद्ध धर्मले थुप्रै धार्मिक, सामाजिक तथा राजनीतिक उतारचढाव भोगिसक्यो । अहिलेको अवस्थामा तिब्बतमा बुद्ध धर्मको र त्यहाँका बौद्धहरुको जनजीवन कस्तो छ भन्ने खुलदुली धेरैलाई छ ।

समयको अन्तरालसँगै चीनमा खुलापन आयो, त्यहाँको साम्यवाद पहिले जस्तो कट्टर रहेन । अनि विश्वमा बुद्ध धर्म फैलिन थालेको, विश्वको ध्यान चीनमा आकर्षित हुन थालेको अनि यहाँका सम्पदाहरुको पर्यटकीय महत्व समेत देखिन थालेकोले चीनको तिब्बतका बौद्ध स्मारकरुको प्रतिको नीति र दृष्टिकोण सकारात्मक हुँदै गयो । त्यसैले १९८०को दशकदेखि, चीन सरकारले तिब्बतमा भएको बुद्ध धर्मको पुनरुत्थानमा सहयोगी भूमिका निभाएको छ । यस अन्तर्गत यहाँका थुप्रै महत्वपूर्ण ऐतिहासिक बौद्ध गुम्बाहरुको पुनर्निर्माण एवं जीर्णोद्धार गरिएका छन् ।

आज तिब्बती बुद्ध धर्म यहाँका तिब्बतीहरूका लागि आध्यात्मिक र सांस्कृतिक आधारशिला बनेको छ, जुन तिब्बत स्वायत्त क्षेत्र र वरपरका तिब्बती क्षेत्रहरू, जस्तौ छिङहाई, सिचुआन, गान्सु र युनान प्रान्तहरूमा अनुमानित ९१ प्रतिशत जनसंख्याले अभ्यास गर्छन् । विभिन्न श्रोतका रिपोर्टहरूमा आधारित भएर भन्नु पर्दा अहिले २०२५ सम्म तिब्बत स्वशाशित क्षेत्रमा लगभग १,७०० आधिकारिक रूपमा दर्ता भएका गुम्बाहरू छन्, जसमा लगभग ४६,००० लामाहरु बस्छन् ।

यहाँको सामाजिक वातावरण बाहिरबाट हेर्दा बौद्ध देखिन्छ । हरेक स्थानमा झण्डा, मणि ढुङ्गा, र घरमा बुद्धको मूर्ति भएको प्रार्थनास्थल हुन्छ । तर सार्वजनिक प्रदर्शनमा भने सरकारी नियन्त्रण कडा छ । यहाँ लोसार (तिब्बती नयाँ वर्ष) जस्ता चाडपर्वहरूलाई अनुमति छ तर यस्तो बेलामा भारी मात्रामा प्रहरी गरिएको हुन्छ ।

१९८० को दशकदेखि सीमित पुनरुत्थानको बावजुद, धर्मलाई चीन सरकार वा चीनियाँ कम्युनिष्ट पार्टीले एक किसिमले नियन्त्रण गरेर राखेको छ । यहाँ लामाहरुको जीवनचर्या तथा उनीहरुले दिने शिक्षाको अनुगमन भइरहन्छ । तिब्बती पहिचान र दलाई लामा जस्ता व्यक्तित्वहरूप्रतिको श्रद्धालाई निरुत्साही गर्ने सरकाको नीति नै हो जस्तो देखिन्छ ।

२०२५ को सुरुमा सिचुआनमा सयौं भिक्षुहरूलाई ऐतिहासिक मठहरूलाई खतरामा पार्ने बाँधको विरोध गरेको आरोपमा गिरफ्तार गरिएको थियो । र हालै अक्टोबर २०२५मा चिनियाँ अधिकारीहरूले गान्सु प्रान्तको लाब्राङ ताशी खिइल गुम्बामा छापा मारेका थिए ।

यसप्रकारको अवस्थालाई पश्चिमी विश्वले धार्मिक स्वतन्त्रताका हनन भनेर आलोचना गरिरहेको पाइन्छ ।

तिब्बतबाट नेपाली बौद्धहरुले सिक्नु पर्ने पाठ

तिब्बत चीनको कब्जामा गयो । यस ऐतिहासिक घटनाबाट नेपालले केही पाठ सिक्नु पर्ने देखिन्छ । पहिलो त तिब्बतमा विश्वलाई नै चकित पर्ने गरी आफ्नो मौलिकता सहितको बुद्ध धर्मको विकास भयो । यो कुरा आफ्नै देशमा बुद्ध जन्मेर पनि ९ प्रतिशत भन्दा कम जनताले मात्र बुद्ध धर्म मान्ने नेपालले सिक्नु पर्ने थियो । दोश्रो तिब्बत धर्मको आधारमा शासन गर्ने देश थियो तर यथार्थमा त्यहाँ बुद्ध धर्मको खोल ओढेर सामन्तहरुले समाजमा अत्याचार पनि गरिरहेको अवस्था थियो । शासन भोगमा मस्त भएर शासकहरुले देशको र छिमेकी देशको योजनामा ध्यान दिन सकेन । यस्तैमा चीनले तिब्बत कब्जा गर्यो र त्यहाँ केही विनाश अनि केही सुधार भयो । यसरी हेर्दा चीनले तिब्बत कब्जा गर्नुमा र त्यहाँका सामान्य जनताले विरोध नगर्नुको पछाडि त्यहाँका धार्मिक सामन्तवादीहरु नै जिम्मेवार जस्तो देखिन्छ ।

नेपालमा पनि केही हिन्दुहरु देशलाई फेरि हिन्दु राज्य बनाउने योजनामा सक्रिय छन् । तिब्बतबाट हामीले सिक्नु पर्ने यही हो कि जुनसुकै धर्मको आडमा पनि राज्य व्यवस्था सञ्चालन हुन थालेदेखि त्यस धर्मका ठेकेदारहरुले समाजलाई त्यही धर्मको नाम दिएर शोषण र अत्याचार गर्नेछन् अनि अरु धर्म मान्नेहरुलाई शत्रुको नजरले हेर्ने छन् । यसले अन्ततोगत्वाः जनताहरु नै मारमा पर्ने हो । त्यसकारण हामी नेपालीहरु पनि एकातिर इतिहासको कुरामा गर्व मात्र नगरेर वर्तमान यथार्थका बारेमा सचेत हुन् जरुरी छ भने अर्कोतिर देशका सबै धर्महरु बराबर हुन् भन्ने धार्मिक विविधता र समानतालाई बल दिने खालको राजनीतिक व्यवस्थालाई मजबुत बनाउन जरुरी छ ।

Buddhism in Tibet

फोटोहरु विभिन्न वेभसाइटहरुबाट साभार गरिएका हुन्

तिब्बतमा बुद्ध धर्म https://medium.com/p/1a6727fdfa94 <https://bit.ly/4iLQe1x

तिब्बतमा बुद्ध धर्म

  राजेन मानन्धर अहिले भरखरै नेपालमा भएको कथित जेनजी आन्दालनको परिणाम स्वरुप बनेको सरकारलाई विभिन्न कारणले यहाँका तिब्बत शरणार्थीहरुले स्वतन्...