बुद्ध धर्ममा बुद्ध मूर्तिको कुरा गर्ने बितिक्कै केही हिन्दु मित्रहरु “बुद्धको मूर्ति पूजाको विरोध गर्नुभएको थियो तर संसारमा सबैभन्दा धेरै बुद्ध मूर्ति बने” भनेर कटाक्ष कस्न थाल्छन् । यसो भन्दा उनीहरु सबै बौद्धहरुलाई दोष देखाएँ वा हराएँ भनेर मख्ख पर्छन् । तर सत्य यो होइन ।
बुद्धको जीवनकालमै उहाँको प्रतिमूर्ति बनाउने गरेको प्रसंग बौद्ध साहित्यमा पाइन्छ । भगवान बुद्धले सामान्य मानिसहरुलाई मूर्ति पूजा गर वा नगर भन्नुभएको थिएन । आफुले आदर गर्ने व्यक्तिको मूर्ति बनाएर स्मरण गर्ने मानवीय स्वभाव हो । अनि बौद्धहरुले हिन्दुहरुले जस्तो मूर्तिलाई देउता सरह पूजा गरेर वरदान लिने पनि होइन । यो त बुद्धको गुण र शिक्षा सम्झनको लागि प्रतिक मात्र हो ।
अहिले संसारका लगभग १९सय वर्ष पुरानासम्म बुद्धका मूर्तिहरु पाइएका छन् । धेरै पहिलेदेखि बौद्धहरुले आफ्ना ठाउँका बुद्धका विशाल मूर्तिहरु बनाउन थालेका थिए । यति भनिरहँदा हामी अफगानस्तानको बामियानमा छैठौं शताब्दी बनेका विशाल बुद्ध मूर्तिहरु सम्झन्छौ । पहाडमा खोपेर बनाएका ५५ मिटर र ३८ मिटरका ती प्राचिन बुद्ध मूर्तिहरुलाई त्यहाँका तालिबानीहरुले विष्फोट गरेर भत्काएका थिए । समय, श्रोत र प्रविधिको साथ लिएर अहिले पनि विश्वका विभिन्न देशहरुमा बुद्धका विशाल मूर्तिहरु बनाउने क्रम जारी छ । चीन जस्तो भौतिकवादलाई प्राथमिकता दिने देशले समेत करोडौं डलर खर्च गरेर विशाल बुद्ध मूर्तिहरु बनाउँदैछ । यहाँ विश्वका केही प्रमुख विशाल बुद्ध मूर्तिहरुको बारेमा संक्षिप्त जानकारी दिइन्छ ।
१. चम्रुस्लोक मन्दिर ध्यानी बुद्ध, मलेसिया
मलेसियाको उत्तर पूर्वी भागमा केलान्तनमा अवस्थित फ्रा बुद्ध भरमीधर्म चम्रुस्लोक मन्दिर अथवा वाट माचिम्मरन (Wat Machimmaran Sitting Buddha) यहाँको एक प्रमुख बौद्ध स्थल हो । यहाँ ३० मिटर ( लगभग १०० फिट) अग्लो ध्यान मुद्राको बुद्धको मूर्ति छ । यसलाई मलेसियाकै सबैभन्दा ठुलो ध्यान मुद्राको बुद्ध समेत भनिन्छ ।
Wat Machimmaran Sitting Buddha, Tumpat district of Kelantan, Malaysiaयसको निर्माणमा ४ लाख ५० हजार डलर खर्च भएको थियो । यसको ओँठमा सुनको लेपन गरिएको छ भनिन्छ । १० वर्ष लगाएर बनेको यो मूर्ति सन् २००० देखि सर्वसाधारणका लागि खुला गरिएको छ । यहाँ आगन्तुकहरुले धुप बाल्ने प्रार्थना गर्ने गर्छन् ।
यो क्षेत्र थाइल्याण्डको सीमाना नजिक भएकोले यहाँ थाइ बुद्ध धर्मको प्रभाव पर्नु स्वभाविक हो । यस बुद्ध मन्दिरलाई थाइ नरेश भूमिबोल अदुल्यादेजले सन् १९९३मा नाम दिनुभएको थियो, यसको नामको शाब्दिक अर्थ बुद्धधर्मको ज्योतिले विश्वलाई उज्यालो बनाउँछ भन्ने हो । तर पनि यो मूर्ति भने चीनियाँ अथवा महायानी शैलीमा बनेको छ ।
मुस्लिम बाहुल्य भएको क्षेत्रमा बनाएको यस मूर्तिलाई मलेसियाको मुस्लिम बौद्ध समन्वयको प्रतिकको रुपमा वर्णन गरिएको पनि पाइन्छ ।
२. इबिरासुको बुद्ध, ब्रजिल
भगवान बुद्धको धर्म अहिले नेपाल र भारत अनि दक्षिण पूर्वी एसियामा मात्र सिमित छैन । यो युरोप अमेरिका अफ्रिका सम्म फैलिसक्यो । यसमध्ये ब्राजिलमा यसको प्रचार प्रसार धेरै भइरहेको देखिन्छ । ब्राजिलको इबिरासु शहरमा विशाल बुद्धको मूर्ति बनेको छ जसलाई इबिरासुको विशाल बुद्ध (Grande Buda de Ibiraçu) भनिन्छ । यो त्यहाँको टोरी स्क्वायरमा रहेको मोरो दा भारगेम जेन विहरमा अवस्थित छ । यो बुद्धको मूर्ति ३५ मिटर (११५ फिट) अग्लो छ र यो पश्चिमी विश्वकै सबैभन्दा ठुलो बुद्धको मूर्ति हुनसक्छ ।
Buddha of Ibiraçu, Brazilकमलको फूलमाथि बसेको, ध्यान मुद्रामा बसेको सेतो रंग लगाइएको, यस बुद्धको मूर्ति फलाम, स्टील तथा कंक्रिटले बनाइएको छ । यसको तौल ३५० टन रहेको छ । यसको निर्माण सम्पन्न २०२१मा भएको थियो । यस मूर्तिको साथमा यहाँ १५ ध्यान मुद्राका बुद्धहरुको मूर्ति, जुन २.५ मिटर अग्ला छन, ती पनि स्थापना गरिएका छन् ।
३. ध्यान बुद्ध, आन्ध्र प्रदेश, भारत
भारत आन्ध्र प्रदेशको प्राचिन बौद्ध नगरी अमरावतीमा विशाल बुद्ध मूर्तिको निर्माण गरिएको छ, जसलाई ध्यान बुद्ध (Dhyan Buddha)भन्ने नाम दिइएको छ । यो स्थानीय कृष्ण नदिको किनारमा ४.५ एकड जमिनमाथि बनाएको छ । यसलाई बौद्ध कलाको निम्ति प्रशिद्ध प्राचिन कलाको रुप अमरावती कलालाई आधार बनाएर निर्माण गरिएको भनिन्छ ।
Dhyan Buddha, Amaravathi of Andhra Pradesh, Indiaयो मूर्ति ३८ मिटर (१२५ फिट) अग्लो छ । यसको निर्माणमा राज्य सरकार, जिल्ला प्रशासन, दलाइ लामा इत्यादिले आर्थिक सहयोग गरेको थियो । यसको निर्माण सन् २००३मा शुरु भई २०१५मा सम्पन्न गरिएको थियो । यो पुरा क्षेत्र नै हरियाली बनाई मूर्तिको ठिक अगाडि विशाल थिम पार्कको रुपमा विकास गर्ने योजना छ । यस मूर्तिको मुनि तीन तहमा संग्रहालय खोलिएको छ, जसमा बुद्ध र अमरावती कलाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
४. वेहेराहेनाको बुद्ध मूर्ति, श्री लंका
श्रीलंकाको दक्षिणी प्रान्त मतराको वेहेराहेना गाउँमा स्थित वेहेराहेना पूर्वरामा राजमाहा विहारयमा विशाल बुद्धमूर्तिको निर्माण गरिएको छ । यसलाई वेहेराहेनाको बुद्ध मूर्ति (Buddha of Weherahena Temple) भनिन्छ ।
२० औं शताब्दीको प्रारम्भिक भागमा एकजना भिक्षु परावाहेरा रेवथा थेरोलाई उनको शिक्षकले सजायको रूपमा वेहेराहेना क्षेत्रमा पठाएको थियो । उनले त्यहाँ आफ्नो लागि एउटा सानो घर बनाए र पछि आफ्नै मिहेनतले सबैको सहयोग लिएर विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउने योजना बनाए ।
उनले श्रीलंका र भारतमा बौद्ध पुनरुत्थानमा काम गरेका नेता अनगरिका धर्मपालको समर्थनमा सन् १९३९मा यस मन्दिरको शिलान्यास भयो र सन् १९७६ मा सम्पन्न भयो । यो मूर्ति ३९ मिटर (१२८ फिट) अग्लो र समाधि वा ध्यान मुद्रामा छ । यस पछि जापानी दाताको आर्थिक सहयोगमा बुद्ध मुर्तिको आवरण बनाइएको थियो । मूर्तिलाई अडेस दिनको लागि यसको पछाडि भवन बनाइएको छ र यही यस मूर्तिको विशेषता बनेको छ ।
५. तथागत साल, सिक्किम, भारत
भारतको सिक्किम राज्यको दक्षिणी भागमा रहेको राभाङ्लामा निर्मित ठुलो बुद्ध पार्कमा भगवानबुुद्धको कलात्मक मूर्ति बनाइएको छ, जसलाई तथागत साल (Tathagata Tsal) भनिन्छ । यो स्थान नजिकैको राबोङ गुम्बाको धार्मिक महत्वको कारण चुनिएको थियो ।
Tathagata Tsal, Sikkim, Indiaसन् २००६देखि २०१३मा बनाएको यस मूर्ति ४० मिटर (१३० फिट) अग्लो छ । यो मूर्ति ६० टन तामालाई पाता बनाएर आकृतिमा ढालेर निर्माण गरिएको थियो । यसलाई भगवान बुद्धको २५५०औ बुद्ध जयन्तिको अवसरमा दलाइ लामाद्वारा प्रतिस्थापन गराइएको थियो । यसको निर्माणका सिक्किम सरकार तथा स्थानीय जनताको योगदान छ । यहाँ बनाइएको बौद्ध सभाहल, संग्रहालय तथा ध्यान केन्द्र यहाँका अन्य आकर्षण हुन् । यसलाई हाल हिमालयन बुद्धिस्ट सर्किटको एक बिन्दुको रुपमा विकास गरिएको छ ।
६. फोग्वाङ विशाल बुद्ध मूर्ति, टाइवान, चीन
टाइवानको दाशु जिल्लाको काओशिउङमा फोग्वाङ शान बुद्ध संग्रहालय बनाइएको छ । यो महायान बुद्ध धर्मको एक महत्वपूर्ण अध्ययन केन्द्र हो । यहाँ फोग्वाङ मन्दिर परिसरको सबैभन्दा अग्लो ठाउँमा एक विशाल बुद्धको मूर्ति (Fo Guang Big Buddha) स्थापना गरिएको छ । यो एशियाकै सबैभन्दा ठुलो ढलान गरिएको तामाको बुद्ध मूर्ति हो । लगभग १८ सय टनको यो मूर्तिको प्रतिस्थापन सन् २०११मा गरिएको थियो ।
Fo Guang Big Buddha, Taiwan, ROCयस मूर्ति मात्रको उचाइ ४० मिटर (१३१ फिट) छ भने यसको आधारमा बनाइएको भवन इत्यादि गरेर जम्मा १०८ मिटर छ । यसो भन्नाले यसको उचाइ कुनै आधुनिक ३६ तल्लाको भवनको बराबर हुन्छ । यसको कल्पना टाइवानी गुरु शिन युनले गर्नुभएको थियो । यो मूर्ति हेरेर मानिसहरुमा म बुद्ध हुँ भन्ने भावना आओस् र सबैमा राम्रो सोच आओस्, राम्रो कुरा गरुन् अनि राम्रो उद्देश्य राखेर काम गरुन् भन्ने आशा गरिएको छ ।
७. होङग्वाङ शानको बुद्ध, चीन
चीनको उत्तर पश्चिममा रहको शिनजियाङ उरुम्की प्रान्तको राजधानी उरुमचीको उत्तरमा काजिवान नजिकै होङग्वाङ पहाड छ । यहाँ उभिरहेको बुद्धको विशाल मूर्ति निर्माण गरिएको छ । यहको मूर्तिलाई होङग्वाङ पहाड शाक्यमुनि बुद्ध (Hongguang Mountain Sakyamuni Buddha) भनिन्छ । यहाँको बुद्ध मन्दिर सन् २००२मा निर्माण शुरु गरी २००४मा सम्पन्न गरिएको थियो ।
The Grand Buddha of Hongguang Mountain in Xinjiang Urumqi, Chainaयसको उचाइ ४०.८ मिटर (१३४ फिट) रहेको छ । यसमा ९८ टन तामाको प्रयोग भएको थियो । यस मूर्तिको पछाडि लगभग ३० हजार वर्ग मिटर जग्गा ओगटेर केही भवनहरु बनाइएका छन् । यो उत्तरपश्चिम चीनको सबैभन्दा ठुलो मन्दिर बनाउन आठ वर्ष लागेको थियो ।
८. फुकेत बिग बुद्ध, थाइल्याण्ड
थाइल्याण्डको पर्यटकीय नगरी फुकेतमा एक विशाल बुद्धको प्रतिमा छ । यसको आधिकारिक नाम फ्रा फुत्था मिंग मोंगकोल एकनाकिरी हो तर यसलाई बोलिचालीमा मोङ्गकोल बुद्ध वा फुकेत बिग बुद्ध (Phuket Big Buddha) पनि भन्ने गरिन्छ । यो चलोङ नजिकै नक्कर्ड हिलमा अवस्थित छ ।
Phuket Big Buddha, Thailandभगवान बुद्धको भूमिस्पर्श वा मार–विजय मुद्रामा रहेको यस मूर्तिको निर्माण भएको धेरै भएको छैन । सन् २००४मा यसको निर्माण सुरु भयो । यो बनाउँदा यहाँ आउने तीथयात्रीहरुले यहाँ मार्बल किनेर त्यसमा आफ्नो नाम लेखेर राखेका थिए । अहिले यौ मूर्ति निर्माण सम्पन्नको चरणमा छ ।
यो ४५ मिटर (१४८ फिट) अग्लो र २५.४५ मिटर (८३.५ फिट) चौडा छ । यो कंक्रीटबाट बनेको छ त्यसमाथि बर्मीज सेतो संगमरमरले ढाकिएको छ । यो मूर्ति वाट कित्ती संकरम विहार (वाट काटा) को मुख्य बुद्ध हो र यो आओ चलोङ खाडी तर्फ फर्केर बसेको छ । यसको कमलको फूल आकारको आधारमा उभिएको बुद्धको मूर्ति छ । यस मूर्तिलाई सन् २००८ मा थाइल्याण्डका सर्वोच्च कुलपति सोमदेत फ्रा यानासाङ्गवोनले “फुकेतको बौद्ध सम्पदा“ घोषणा गरेका थिए ।
यस मूर्तिको निर्माणमा ३करोड भाट अथवा लगभग ९ लाख ५० हजार डलर खर्च भएको थियो । यो खर्च मुख्य रूपमा सर्बसाधारण जनताको चन्दाबाट प्राप्त भएको थियो । यो शाही वन विभाग को स्वीकृतिमा स्थानीय राष्ट्रिय संरक्षित वन मा कानुनी रूपमा निर्माण गरिएको छ ।
९. डोङलिन विशाल बुद्ध, चीन
चीनको जियाङशी प्रान्तको उत्तरमा जिउज्याङबाट २० किलोमिटर टाढा डोङलिन मन्दिर रहेको छ । सन् ३८६मा निर्मित यो एक ऐतिहासिक मन्दिर हो । यहाँ यस मन्दिर परिसरमा भएको डोङलिन विशाल बुद्ध (Buddha statue in Donglin Temple) को चर्चा गरिने छ ।
Buddha statue in Donglin Temple, Jiujiang, in the north of Jiangxi province, Chinaयो उभिरहेको अमिताभ बुद्धको मूर्ति हो र यसको वरिपरी जाज्वल्यमान आभाको निर्माण गरिएको छ । यहाँ निर्मित विशा बुद्ध ४८ मिटर (१५७ फिट) अग्लो छ । यसलाई संसारको सबैभन्दा अग्लो अमिताभको काँसको मूर्ति भनिन्छ । यो मन्दिर ताङ वंशको समयमा अर्थात् सन् ६१८–९०७मा बनाइएको थियो । यसको निर्माणमा १६ करोड २० लाख डलर खर्च भएको थियो । यस मूर्तिमा ४८ किलोग्राम सुनको मोलम्मा लगाइएको छ ।
यस मन्दिरको मौलिक डिजाइनमा यो मूर्ति पर्दैन तर पनि एक दशक लामो चन्दा संकलन अभियान पछि यस मूर्तिको निर्माण भयो । यहाँ चीनका साथै जापान भारत तथा नेपालका तीर्थयात्रीहरु समेत आउने गर्छन् ।
१०. कान्दे विहारय अलुथगामाको बुद्ध, श्रीलंका
श्रीलंकाको कालुतारा जिल्लामा कान्दे विहारय नामक विहार छ । अलुथगामा सहरको छेउमा रहेको पहाडको टुप्पोमा बनेकोले यसको नाम ‘कान्दे विहार’ (पहाडी मन्दिर) भएको हो । यस मन्दिरको स्थापना १७३४मा करापागला देवमित्ता थेरोले गरेका थिए । यो विहार यहाँ भएको एक बोधिवृक्षको कारणले पनि प्रशिद्ध छ ।
यस मन्दिर परिसरमा सन् २००२मा भूमिस्पर्श मुद्रामा विशाल बुद्ध मूर्तिको निर्माण शुरु भयो र सन् २००७मा सम्पन्न भयो । यो मूर्ति ४८.८ मिटर (१६० फीट) अग्लो छ । यसलाई (Kande Viharaya Aluthgama Buddha) भनिन्छ । कंक्रिटले बनाइएको यस मूर्ति कमलको फूलको आकृतिमाथि बनाइएको छ, यसमा मिहिन कारिगरी छ रंगीन तथा मनमोहक छ । र यसलाई विश्वका अग्ला बुद्ध मूर्तिहरू मध्ये एक मानिन्छ । यसको आधारमा बनाइएको विहारमा विभिन्न बौद्ध कलाकृतिहरु सजाइएका छन् ।
Kande Viharaya Aluthgama Buddha, Sri Lankaहरियो पहाडको बिचमा निर्माण गरिएकोले यो मूर्तिले आगन्तुकहरुलाई शान्ति, शीतलता तथा करुणाको भाव पनि प्रदान गर्दछ ।
११. वाट बुराफा फिरामको बुद्ध
थाइल्याण्डको रोइ एट प्रान्तमा रहेको वाट बुराफाफिराम विहारमा विशाल बुद्ध अवस्थित छ जसलाई फ्रा बुद्ध रतन मोङखोन महामुनि वा लुआङफो याई (Phra Phuttha Rattanamongkhon Mahamuni or Luangpho Yai) भनिन्छ । आधार सहित उचाइ ६७ मिटर (२२२ फिट) भएको यो मुर्ति थाइल्याण्डकै चौथो सबैभन्दा ठुलो हो ।
Phra Phuttha Rattanamongkhon Mahamuni or Luangpho Yai, Thailandयो कंक्रिट ढलान गरेर बनाइएको उभिरहेको बुद्धको मूर्ति हो, जसमा सुनौलो रंग लेपन गरिएको छ । यसको निर्माण वाट बुराफाफिराम विहारका प्रमुख फ्रा रत्चा प्रिचयन मुनीको निर्देशानुसार भएको थियो ।
७० लाख भाट खर्च गरी बनाइएो यो मूर्ति सन् १९७३मा निर्माण सम्पन्न भएको थियो । यसको निर्माताले बुद्धको सबैले देख्ने बुझ्ने आकार भन्दा पनि मानिसको श्रद्धालाई महत्व दिएको देखिन्छ । स्थानीय मानिसहरुमा यस बुद्ध प्रति अगाढ श्रद्धा भएको पाइन्छ ।
१२. लेशान विशाल बुद्ध, चीन
चीनको सिचुआन प्रान्तको लेशानमा फरक खालको बुद्धको विशाल मूर्ति (Leshan Giant Buddha) रहेको छ । यो संसारकै सबैभन्दा ठुलो र अग्लो ढुंगाको मूर्ति पनि हो ।
संसारका प्राचिन तथा विशाल बुद्ध मूर्तिहरुको श्रृंखलामा यो पहिलो हुन आउँछ । यो घना जंगलको छेउमा मिन नदी र दादु नदीको दोभान नजिकै किनारमा पहरा माथि कुँदेर बनाएको छ । दुई हात घुँडा माथि राखेर मेचमा बसिरहेको मुद्रामा यो मूर्ति छ ।
Leshan Giant Buddha, Sichuan Province in Chinaयसको कुल उचाइ ७१ मिटर (२३३ फिट) छ । यसको निर्माण सन् ७१३ देखि ८०३को बिचमा ताङ वंशको समयमा भएको थियो । यसको निर्माण हाइ ताङ नामक भिक्षुको नेतृत्वमा भएको थियो । पछि आर्थिक अभावले धेरै वर्ष रोकिएपछि उनका चेलाहरुले सम्पन्न गरेको थियो । कुनै आधुनिक औजार समेत नभएको समयमा सबै हातले यति ठुलो मूर्ति बनाउनु पनि आश्चर्यको विषय मानिन्छ । यस मूर्तिका भित्री भागमा रहेको ढलको व्यवस्था झनै आश्चर्यजनक छ ।
यस मूर्तिको दायाँबायाँ सिँढी बनाइएको छ, जहाँबाट टाउकोको छेउमा गएर अवलोकन गर्न सकिन्छ । यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ ।
१३. लिङ शानको विशाल बुद्ध, चीन
चीनको उत्तर पूर्वी प्रान्त जिआङशुमा वुशी शहर नजिक लिङ शान पहाडमा काँसको विशाल बुद्धको निर्माण भएको छ, जसलाई लिङ शानको विशाल बुद्ध (Grand Buddha at Ling Shan) भनिन्छ । यो यहाँको ताइहु तालको उत्तरी किनारमा अवस्थित छ । यो विश्वकै विशाल बुद्धहरु मध्ये एक हो । यसको आधार सहित नाप्दा यो ८८ मिटर (२८९ फिट) अग्लो छ ।
Grand Buddha at Ling Shan, near Wuxi, Jiangsu province in Chinaयसको निर्माणको थालनी सन् १९८७मा गरिएको थियो भने १९९६मा सम्पन्न भयो । यसमा ७०० टन भन्दा बढी काँसको प्रयोग भएको थियो । यस मूर्तिको भित्री भागमा ठुलो गुम्बा बनाइएको छ । यस उभिएको शाक्यमूनि बुद्धको मूर्ति बाहेक यस क्षेत्रमा सिद्धार्थ फोहरा, ब्रम्हा दरवार, पञ्चबुद्ध मण्डल, ठुलो हात, १०० जना बच्चाहरुसँग मैत्रिय बुद्ध आदिको पनि निर्माण गरिएको छ ।
यस मूर्तिले चीनमा बुद्ध धर्मको उपस्थिति र प्रभाव देखाउँछ र चीनले आफ्नो उन्नत साँस्कृतिक सम्पदाको संरक्षणमा गर्दै आएको प्रतिवद्धता पनि झल्काउँछ ।
१४. महानवामिन विशाल बुद्ध, थाइल्याण्ड
थाइल्याण्डको आङ थोङ प्रान्तमा रहेको वाट मुआङ विहारमा विशाल बुद्धको मूर्ति (Phra Buddha Maha Nawamin Buddha) स्थापना गरिएको छ । यो थाइल्याण्डको सबैभन्दा अग्लो बुद्ध मूर्ति हो । त्यस्तै एसियाको दोश्रो तथा विश्वको नवौं अग्लो पनि हो । शैलीको हिसाबले यसलाई विश्वका केही विशिष्ट बुद्ध मूर्तिहरु मध्ये एक मानिएको छ ।
Phra Buddha Maha Nawamin Buddha in Ang Thong Province, Thailandभूमिस्पर्श अथवा मारविजय मुद्रामा रहेको यो मूर्ति ९२ मिटर (३०० फिट) अग्लो तथा ६२ मिटर (२१० फिट) चौडा छ । निर्माण कंक्रिटबाट गरिएको यस मूर्तिमा सुनौला पालिस लगाइएको छ । यसको निर्माणमा १० करोड ४२ लाख भाट (लभगग ३८ करोड नेपाली रुपैँया) लागको थियो । यसको निर्माण सन् १९९०मा शुरु भइ २००८मा सम्पन्न भएको थियो ।
यसलाई वाट मुआङ विहारका प्रमुख फ्रा भिवुल अर्जखुनले बनाउन निर्देशन दिएको थियो । यो अहिले थाइल्याण्को एक प्रशिद्ध पर्यटकीय केन्द्रको रुपमा विकसित भएको छ र यहाँ देश विदेशबाट बौद्ध धर्मावलम्बीहरु दर्शन गर्न आउँछन् ।
१५. लेक्युन सेक्या बुद्ध, म्यानमार
म्यानमारको एक प्रमुख बुद्ध मूर्तिको रुपमा अहिले खाताकान तुआङ गाउँ नजिकै जंगलको बिचमा बोधि तातोङ लेक्युन सेक्या बुद्ध(Laykyun Sekkya Buddha)को विशाल प्रतिमा विश्वविख्यात छ । यसको आधार सहित यो ११६ मिटर (३८१ फिट) अग्लो छ । यसको आधार १२९ मिटर अग्लो छ । यो स्टील तथा कंक्रिट ढलान गरेर बनाइएको छ र भित्र प्लास्टर गरिएको छ । यसको निर्माण सन् १९९६मा शुरु भएर २००८मा सम्पन्न भएको थियो । यसको निर्माण नारद भन्तेको संयोजनमा भएको थियो ।
Laykyun Sekkya Buddha, Khatakan Taung, near Monywa, Myanmarयहाँ बुद्धलाई सिधा उभिएर दुबैहातले पहेँलो चीवर समातेको मुद्रामा चित्रण गरिएको छ । यसको अघिल्तिर पनि एक विशाल महारिनिर्वाण बुद्धमूर्ति रहेको छ, जुन १०१ मिटर लामो छ । यसभन्दा अगाडि कलात्मक अङ सक्या पागोडा छ । यहाँ नजिकै सय बुद्ध भएको उद्यान छ भने अर्को विशाल ध्यानमुद्रामा बसको बुद्धको मूर्ति निर्माण हुने क्रममा छ ।
यसको भित्र मानिस जान मिल्ने ३१ तल्ला भएको भवनको रुपमा बनाएको छ, जुन बुद्ध धर्ममा मानिने ३१भूवनको प्रतिनिधि हुनसक्छ । यहाँ भित्र थुप्रै बुद्ध मूर्तिहरु छन् र बुद्धजीवनी झल्काउने चित्रहरु बनाइएका छन् । भित्रीभागको निर्माण काम भने हुँदैछ ।
१६. उशिकु दाइबुत्सु, जापान
जापानको इबाराकी प्रान्तको उशिकुमा विशाल बुद्ध मूर्ति निर्माण भएको छ जसलाई उशिकु दाइबुत्सु (Ushiku Daibutsu Buddha) वा उशिकुको ठुलो बुद्ध भनिन्छ । यो मूर्ति सुन्दर हरियाली पार्कको बिचमा बनाइएको छ । यो मूर्ति १२० मिटर (३९४ फिट) अग्लो छ, जसमा १० मिटर अग्लो कमलको फूल आकारको आधार पनि संलग्न छ । यो भनेको अमेरिकामा रहेको सवतन्त्रताको मूर्ति भन्दा तीन गुणा ठुलो हो ।
Ushiku Daibutsu, Ushiku, Ibaraki Prefecture, Japanकरिब १० वर्ष लगाएर यसको निर्माण सन् १९९३मा सम्पन्न भएको थियो । सन् २००८सम्म यो विश्वकै सबैभन्दा अग्लो मूर्तिको रुपमा कहलिएको थियो । यसै नाममा यसले गिनिज वल्र्ड रिकर्डमा नाम समेत लेखाएको थियो । अब यो विश्वको पाँचौं अग्लो मूर्ति हो । यसको निर्माण गर्दा पहिला स्टीलको फ्रेम बनाइ त्यसको हाँगा जस्तो फैलाएर त्यसमाथि काँसको संरचना जोडिएको थियो । यो फ्रेम बनाउन ३ हजार टनको स्टील लागेको थियो । त्यसमाथि एक हजार टनको काँसका टुक्राहरु जडान गरिएको थियो ।
यसभित्र लिफ्ट राखिएको छ जसबाट ८५ मिटरको उचाइमा रहेको अवलोकन कक्षसम्म जान सकिन्छ । यहाँ यस मूर्तिको संरचनाका विभिन्न तहहरु तथा निर्माण प्रविधिको बारेमा विस्तृत जानकारी राखिएको छ । यहाँ ससाना ३४सय बुद्ध मूर्तिहरु पनि राखिएका छन् ।
दायाँहात बरद र बाँया हात अभय मुद्रामा रहेको यस उभिएको बुद्धलाई महायानी परम्परा अनुसार अमिताभ बुद्ध भनिन्छ ।
१७. स्प्रिङ टेम्पल बुद्ध, चीन
चीनको हेनान प्रान्तको लुशान जिल्लामा स्प्रिङ टेम्पल बुद्ध (Spring Temple Buddha) को विशाल प्रतिमा अवस्थित छ । यो हालसम्म संसारको सबैभन्दा ठुलो बुद्ध मूर्ति हो ।
२५मिटर अग्लो कमलको फूलमाथि बनाइएको १२८ मिटर (४२०फिट) अग्लो उभिरहेको बुद्धको मूर्ति विश्वकै दोश्रो सबैभन्दा ठुलो मूर्ति हो । यसमा भएका अन्य आधारहरु सहित यसको कुल उचाइ २०८ मिटर पुगेको छ । यसको निर्माणमा २२सय टन तामा, १५सय टन स्टील र १०८ टन सुन लागेको थियो ।
Spring Temple Buddha, Lushan County, Henan, Chinaयसको निर्माण सन् १९९७मा शुरु भएर सन् २००८मा सम्पन्न भएको थियो । यसको निर्माणको लागि ५ करोड ५० लाख डलरको बजेट अनुमानित गरिएको थियो । यो महायान परम्परा अनुसारको वैरोचन बुद्ध मूर्ति हो । यसको छातीमा स्वस्तिक चिन्ह अंकित छ जुन, चीन कोरिया तथा जापानका महायानी बुद्धहरुमा देखिन्छ ।
यसको नाम नजिकैको तिआनरुइ तातोपानीको मुलबाट लिइएको हो । यसलाई अफगानस्तानमा त्यहाँका तालिबानहरुले सन् २००१मा नाश गरेको ऐतिहासिक बामियान बुद्धको सम्झनामा बनाएको भनिन्छ ।
नेपालको प्रसंग
भगवान बुद्धको जन्म भएको देश अनि कलाकारिताका लागि विश्व प्रशिद्ध देश नेपालमा जति बुद्ध मूर्ति बनेपनि अधिकांश साना मात्र बन्छन् । अलेसम्म यहाँ बुद्धको कुनै उल्लेखनीय विशाल बुद्धको मूर्ति बन्न सकेको छैन । हालसम्म नेपालमा काठमाडौं स्वयम्भु डाँडाको २० मिटर अग्लो अमिताभ बुद्धको मूर्ति नै सबैभन्दा अग्लो बुद्धमूर्ति होला ।
करिब छ वर्ष अगाडि नै पूर्वी नेपालको झापामा १६५ मिटर अग्लो बुद्धको मूर्ति बनाउने योजनाको बारेमा समाचार पढ्न पाइएको थियो । हाल यसको बारेमा प्रगतिका कुरा सुनिँदैन । अनि हालै कपिलवस्तु नगरपालिकामा २४५ मिटर अग्लो बुद्ध मूर्ति निर्माण हुने भन्ने पनि पढियो ।
नेपालमा राज्यले नै कतै बुद्धको मूर्ति स्थापना गर्ने सोच वा योजना बनाएको देखिँदैन । नेपालमा राज्यले नै सेना पठाएर बन्दै गरेको शान्ति स्तुपा भत्काउन लगाएको इतिहास छ । उता सरकारी वा जनस्तरबाट बनेका मूर्ति तोडफोड भएका घटनाहरु दोहरिरहेका छन् । बुद्ध धर्मको लागि खासै बजेट नछु्ट्याइने देशमा यस्ता महत्वाकांक्षी परियोजनाहरु विदेशी सहयोगबाट मात्रै नेपालमा बन्ने हामी सबैलाई थाहा छ । अझ विदेशी पैसाले बनाउन लागेका योजनाहरु समेत शंकास्पद हुने कुरा रामग्रामको लीजले देखाइसक्यो ।
विदेशका बौद्धहरु नेपालमा बुद्ध धर्मको विकास होस् भन्ने चाहन्छन् । त्यही भएर उनीहरु पैसा संकलन गरेर नेपालमा पठाउँछन् । अब विदेशीले पठाउने रगत पसिनाको पैसाको सदुपयोग गरी, कतै भ्रष्टाचार नगरी र पारदर्शी ढंगले खर्च गरी नेपालमा पनि यस्ता विश्वलाई आकर्षण गर्ने विशाल बुद्ध मूर्ति चाँडै बनेको हेर्न पाइयोस् । शुभकामना ।
“Some Major Buddhist Statues of the World”, Published in “Anandabhoomi” Buddhist magazine in May 2024
Photos are taken from various sources from the Internet.
https://bit.ly/3UZZOT2

