Thursday, October 17, 2024

भौतिक उन्नतिको मार्गमा रहेको सिङ्गापुरमा बुद्ध धर्मको विकास


 

राजेन मानन्धर

सिङ्गापुरको परिचय
सिङ्गापुर दक्षिणपूर्व एशियामा अवस्थित एक सहर–राज्य हो, अर्थात् यो स्वतन्त्र राज्यको दर्जा पाएको एक सानो शहर हो । तर यसले छाटो समयमा गरेको विकास अनि अहिले यसको सरसफाइ, दक्षता, र उच्च जीवनस्तरको कारण विश्वमा प्रख्यात छ । अर्को तिर यो विभिन्न धर्म र संस्कृतिहरूको अद्वीतिय मिश्रण हो, विविधता अनि बहुलवादी संस्कृतिको एक ज्वतन्त उदाहरण पनि हो । चीनियाँहरु, मलायाहरु तथा भारतीयहरु यहाँका प्रमुख जातीय समुहहरु हुन् । यो सानो देश भएपनि यहाँको घना जनसंख्याको बसोबास छ । यसको क्षेत्रफल ७०४ वर्ग किलोमिटर मात्र छ भने यहाँ ५४ लाख मानिस बसोबास गर्छन् ।

सिंगापुरका मुख्य विशेषताहरूको बारेमा भन्नु पर्दा यो एक सुनियोजित पूर्वाधार भएको उच्चस्तरीय शहर हो । संस्कृतिको दृष्टिकोणबाट यो चिनियाँ, मलय, भारतीय र अन्य जातीय समूहहरूको मिश्रण हो । आर्थिक विकासको दृष्टिकोणले विश्वमै नाउँ कहलिएको एक प्रमुख विश्वस्तरीय वित्तीय केन्द्र अनि एक बन्दरगाह हो । यो देश यसको विश्व–स्तरीय शिक्षा प्रणाली र अनुसन्धान र विकासका कारण पनि प्रख्यात छ । यहाँको गार्डेन बाइ द बे, मरीना बे स्यान्ड्स, सिङ्गापुर बोटानिक गार्डन तथा मरलायन पार्क यहाँका पर्यटकहरुको आकर्षणको केन्द्र हुन् ।


समग्रमा सिङ्गापुर भनेको परम्परा र आधुनिकताको अनुपम मिश्रण हो । यसका साथै यहाँको भू राजनीतिक अवस्थिति तथा सबल राजनीतिक नेतृत्व अनि कर्ममा विश्वास गर्ने जनताको कारणले पनि यो सानो देश एशियाकै प्रतिष्ठा बनेको छ ।

सिङ्गापुरको इतिहास
सिङ्गापुरको इतिहास धेरै लामो छैन । सुमात्राको पालेमबाङका राजकुमार साङ निला उतामाले सन् १२९९मा सिङ्गापुरा राज्यको स्थापना गरेको मानिन्छ । पछि यस टापुलाई सियामी र जाभानीहरूले दाबी गरेका थिए । मलाया वंशावली अनुसार१३ औं र १४ औं शताब्दीमा सिंगापुर टेमासेकको नामले चिनिन्थ्यो । यसलाई विभिन्न समयमा मजापहित साम्राज्य र सियामी राज्यले आफ्नो अन्तर्गत राखे । जाभानीज वा सियामीजहरुले आक्रमण गरेपछि सिङ्गापुरका अन्तिम शासक, परमेश्वर मलाक्कामा भागे र त्यहाँ मलाक्का राज्य स्थापना गरे । त्यस्तै गरी यहाँ १५ औं शताब्दीमा मलाक्का सल्तनतले र १६ औं शताब्दीमा जोहर सल्तनतले नियन्त्रित गरेर शासन चलाए । पछि पश्चिमाहरुले एशियाका लगभग सबै भूभागमा आफ्नो उपनिवेश कायम गर्यो ।

सन् १८१९मा यहाँ ब्रिटिशहरुले आफ्नो कब्जा जमाउन शुरु गरे र सन् १८६७मा क्राउन कलोनी अफ सिङ्गापुरको स्थापना भयो । दोश्रो विश्वयुद्ध ताका केही समयका लागि जापानले पनि यसमाथि अधिपत्य जमायो । फेरियो मलेसियाको राज्य बन्यो । त्यसपछि सन् १९६५मा यो स्वतन्त्र देश बन्यो । त्यसपछि प्रधान मन्त्री ली क्वानयुको बुद्धिमत्तापूर्ण नेतृत्वले गर्दा सिंगापुरमा जादुइ परिवर्तन आयो ।

सिङ्गापुरमा धर्महरु
विभिन्न देशबाट आएका कर्मशील मानिसहरुको संगमस्थल भएकोले यहाँ जातीय साँस्कृतिक र भाषिक बहुलता भएजस्तै धार्मिक बहुलता हुनु पनि स्वभाविक हो । यो एक धर्म निरपेक्ष देश हो र विभिन्न जात र नश्लका मानिसहरु आआफ्नो धर्म निर्धक्क र स्वतन्त्रतापूर्वक अभ्यास गर्छन् । यहाँ विश्वका सबै जसो धर्महरुको अभ्यासकर्ताहरु भेटिन्छन् । यहाँको अन्तर धार्मिक संस्थाले यहाँ १० वटा मुख्य धर्महरुलाई मान्यता दिएको छ ।

यहाँको सबैभन्दा ठुलो धार्मिक समुदाय भनेको बौद्ध समुदाय हो । यहाँको जनसंख्याको ३१.१ प्रतिशतले सन् २०२०मा भएको जनगणनामा आफुलाई बौद्ध भनेर परिचय दिएकोबाट यो स्पष्ट हुन्छ । अहिले धर्म नमान्नेहरुको संख्या बढ्दै जाँदा यहाँको बौद्ध जनसंख्या घट्दै गएको भनेर यहाँको तथ्यांकले देखाएको छ । कही अध्ययनहरु अनुसार यहाँ सन् २०००मा बौद्ध जनसंख्या ४२.५ प्रतिशत तथा सन् २०१०मा ३३.३ प्रतिशत थियो । यहाँको बौैद्ध जनसंख्याको ठुलो भाग चीनियाँहरुले ओगटेको छ । सन् २०१०को अध्ययन अनुसार यहाँको जनसंख्याको ७४ प्रतिशत चीनियाँहरु छन् । र ती चीनियाँहरु मध्ये ४३ प्रतिशतले बुद्ध धर्म मान्दछन् ।

Press enter or click to view image in full size

अहिले यहाँको २० प्रतिशतले कुनै पनि धर्म मान्दैन, १८.९ प्रतिशले इशाई धर्म मान्छ, १५.६ प्रतिशतले इस्लाम मान्छ, ८ प्रतिशतले ताओ धर्म मान्छ अनि ५ प्रतिशतले हिन्दुधर्म मान्छ ।

सिङ्गापुरमा बुद्ध धर्मको इतिहास
सिङ्गापुरको बुद्ध धर्मको इतिहास पनि धेरै लामो छैन । अथवा यहाँ बुद्ध धर्मले सर्वप्रथम कहिले प्रवेश पायो भन्नेबारे यहाँको इतिहास मौन छ । अहिले देखिनमा आए अनुसार यहाँ चीनियाँहरुको आप्रवासन सँगसँगैमात्र बुद्ध धर्म भित्रिएको देखिन्छ । प्राचिनकालमा अन्य छिमेकी देशमा भएको बुद्ध धर्मको विकास र प्रसारले सिंगापुरमा के कति प्रभाव पार्न सक्यो भन्ने कुरा अनुसन्धानकै विषय भइरहेको छ । अहिलेको अवस्थामा हेर्दा यहाँको बौद्ध धर्मको इतिहास हेर्दा यहाँ विदेशीहरुको आप्रवासनलाई सँगै राखेर हेर्नुपर्ने हुन्छ ।

सिङ्गापुरमा बुद्ध धर्मको प्रवेशको प्रारम्भिक प्रभाव १४ औं शताब्दीमा भएको मानिन्छ । यसबेला सिंगापुरमा प्रवेश गरेका चीनियाँ आप्रवासीले आफुहरूसँग मुख्यतया महायान आदि विभिन्न बौद्ध परम्पराहरू लिएर आए । उनीहरुले आफ्नो धर्म अभ्यासको लागि यहाँ विभिन्न मन्दिरहरू स्थापना गरे र यसरी यहाँ बुद्ध धर्मको उपस्थिति देखाए । बुद्ध धर्ममा असीम श्रद्धा तथा आफ्नो पहिचानको लागि अडिग रहने उनीहरुको स्वभावका कारण यस नयाँ ठाउँमा उनीहरुको धर्मको जरा गहिरो बन्दै गयो ।

Press enter or click to view image in full size

पछि १९ औं शताब्दीमा यहाँ ब्रिटिश औपनिवेशिक शासनसँगै पश्चिमी विचार र अभ्यासहरू भित्रिए, उनीहरुको शासन, पैसा, रहनसहनले यहाँका मिहेनती श्रमिक वर्गमा आकर्षण गर्यो । यस गर्दा मानिसहरुले यहाँकोे परम्परागत बौद्ध धर्मप्रति केही समयको लागि बेवास्ता गर्नथाले । र पछि बुद्ध धर्म पुनर्जागरणको लहर चल्यो ।

अर्कोतिर राजनीतिक परिवर्तन र यहाँको सरकारको लचिलो नीति अनि उन्नतिको संभावना देख्ने बितिकै १९औ शताब्दीको शुरुवातसँगै विभिन्न छिमेकी देशहरुबाट यहाँ आप्रवासनको फेरि लहर शुरु भयो । यो एक बहुल संस्कृतिको मिश्रणविन्दु रूपमा विकास हुँदै गदौ यहाँ मुख्यतया चीन, दक्षिणपूर्व एशिया र दक्षिण एशियाका विभिन्न बौद्ध परम्पराहरूका मानिसहरूलाई ओइरिन थाल्यो ।

२० औं शताब्दीमा यहाँ विशेष गरी चीनियाँहरु आउने क्रम बढ्यो । चीनमा भएको राजनीतिक परिवर्तन पछि सन् १९५९मा चीनियाँ धर्मको आप्रवासन प्रचुर मात्रामा बढ्यो । अनि सन् १९६५मा सिंगापुर स्वतन्त्र भएपछि राजनीतिक परिवर्तन सँगै सामाजिक र आर्थिक विकासका अवसरले गर्दा यहाँका जनताले स्वतन्त्रतापूर्वक आफ्नो धार्मिक पहिचानको लागि मानिसहरु संगठित हुने मौका पाए र यस सँगै बुद्ध धर्मको पुनरुत्थान नयाँ ढंगबाट शुरु भयो । सन् १९७०को दशकमा यहाँको प्रभावशाली सिङ्गापुर बौद्ध महासंघको नेतृत्वमा “धर्म बचाउ अभियान” चलाउनु परेको कुरा यहाँ प्रासंगिक हुन्छ ।

Press enter or click to view image in full size

यहाँ तिब्बती बौद्धहरुको प्रवेश र उनीहरुले ल्याएको धर्मले यहाँको धर्मिक परिदृष्यमा नयाँ आयाम पनि थप्यो । यसै बिच सिङ्गापुर सरकारले बुद्ध धर्म लगायत यहाँको धार्मिक विविधतालाई समर्थन तथा प्रोत्साहन गर्दै आएकोले पनि यहाँ बुद्ध धर्मको विकासको लागि अनुकूल वातावरण बनेको कुरा पनि बिर्सन हुँदैन ।

२१औ शताब्दीमा सिङ्गापुरको राजनीतिक खिँचातानी समाप्त भयो र देश एक सक्षम नेतृत्वको हातमा गयो । यस बेलादेखि देश आधुनिक विकासको मार्गमा लम्कियो, अनि बुद्ध धर्म सिङ्गापुरबासीहरू बीच, झन् झन् लोकप्रिय हुँदै गयो । यसबेलादेखि देशमा बुद्ध धर्म र अन्य धर्महरू बीच अन्तरधार्मिक संवाद र समझदारी एवं सहअस्तित्वको प्रवर्द्धन गर्ने प्रयास शुरु भयो । त्यस्तै यसबेला बौद्ध संगठनहरू सामाजिक र वातावरणीय मुद्दाहरूमा सक्रिय रूपमा संलग्न भएका छन् ।

सिङ्गापुरको बुद्ध धर्मको विशेषता
आप्रबासी बौद्धहरु सिङ्गापुर आउँदा बुद्ध धर्मका सबै प्रमुख शाखाहरु थेरवाद, महायान तथा वज्रयान अभ्यासकर्ताहरु आएका थिए । यहाँ आएपछि उनीहरुले आआफ्नो समुदायको हितको लागि संगठित भएर धर्म अभ्यास गरे, जसले यहाँको बौद्ध धार्मिक वातावरणमा विविधता समेत थपे ।

क. महायान बुद्ध धर्म : १९ औं शताब्दीको प्रारम्भमा चिनियाँ आप्रवासीहरूको बाक्लो आगमन बढ्यो । उनीहरु आफु मात्र आएनन् बरु आफ्नो साथमा आफ्नो महायान बुद्ध धर्म, बौद्ध विश्वास र अभ्यासहरू पनि सँगै ल्याए । आफ्नो धर्मप्रति श्रद्धा भएको कारणले नयाँ ठाउँ, प्रतिकुल अवस्थाका बाबजुद पनि तिनीहरूले त्यहाँ आफ्नो धर्म अनुसारको मन्दिर र विहारहरू स्थापना गरे ।
ख. थेरवाद बुद्ध धर्मः सिंगापुरमा चीनियाँहरुका साथ साथै म्यानमार, श्रीलंका र थाइल्याण्ड जस्ता थेरवाद बौद्ध देशहरूबाट पनि आप्रवासीहरू गएका थिए । उनीहरुले पनि त्यहाँको धार्मिक वातावरणमा त्यही बेला देखि नै आफप्नो उपस्थिति देखाउन थाले । त्यहाँको बौद्ध परिदृश्यमा उनीहरुको योगदान पनि उल्लेखनीय मानिन्छ । त्यहाँ उनीहरुले आफ्नो समुदायको धर्म अभ्यासलाई निरन्तरता दिन, आफुलाई संगठित पार्ना तथा आफ्ना समुदायका सदस्यहरुलाई विभिन्न सेवा उपलब्ध गराउन केही धार्मिक केन्द्रहरु एवं विहारहरु बनाउन शुरु गरेका थिए । उनीहरुले यहाँ स्थापना गरेका थेरवादी विहारहरु मध्ये आनन्द मेत्यारामा र श्रीलंकाराम आदि प्रमुख हुन् ।
ग. तिब्बती बुद्ध धर्म ः हुन त सिंगापुरका बौद्धहरुमा चीनियाँहरुको बाहुल्यता छ । त्यसमा पनि सिंगापुरमा हालैका दशकहरूमा तिब्बती बौद्ध धर्मले उल्लेखनीय वृद्धि भएको देखिन्छ । अहिले यहाँ बढ्दो तिब्बती समुदायले सिंगापुरको जनसंख्याको विविधतामा नयाँ आयाम थपेको छ भने यस सँगसँगै तिब्बती बौद्ध धर्मको परिचय र प्रवर्द्धनमा विकास भएको छ । यसका लागि महायान परम्पराको संरक्षणका लागि फाउन्डेसन जस्ता अन्तर्राष्ट्रिय बौद्ध संस्थाहरूको सहयोगले पनि सघाएको छ । यहाँ भएका तिब्बती केन्द्रहरुमा तिब्बती बौद्ध धर्मको अभ्यासहरू, जस्तै ध्यान, मन्त्र पठन, र अनुष्ठान प्रस्तावहरू भइरहेका हुन्छन् । यसबाहेक सरकारले सामान्यतया धार्मिक विविधताको समर्थन गर्दै आएकोले पनि यहाँ तिब्बती बौद्ध धर्मको विकासको लागि अनुकूल वातावरण बनेको छ । यद्यपि यो समुह महायान र थेरवादको तुलनामा अल्पसंख्यक नै छ ।

यहाँ बुद्ध धर्मको विकास हुँदा यहाँ राजनीतिक स्थायीत्वले रुप लिँदै थियो भने अर्कोतिर आर्थिक विकास, शिक्षा स्वास्थ्यमा प्रगति अनि शहरीकरणको अद्भुत प्रगतिले बाटो बनाउँदै थियो । यस्तो अवस्थामा यहाँ दुइ प्रमुख अवस्थाले बुद्ध धर्मले विकास गर्नेे मौका पायो । ती हुन् — एकातिर विभिन्न किसिमका शासकहरुको पञ्जाबाट मुक्त भएर स्वतन्त्रता अनुभव गर्न मौका पाएको सिङ्गापुरमा अन्य स्वतन्त्रतासँगै धार्मिक स्वतन्त्रताको पनि प्रत्याभूति थियो । यहाँको सरकारले धार्मिक स्वतन्त्रतामा जोड दिएकोले यहाँ अन्य धर्मावलम्बीहरुलाई जस्तै बौद्ध संगठनहरूलाई फस्टाउनको लागि अनुकूल वातावरण प्रदान गरेको थियो ।

सिङ्गापुरका प्रमुख बौद्ध स्मारकहरु
सानो ठाउँ भएर पनि सिङ्गापुरमा थुप्रै बौद्ध मठ, मन्दिर वा विहारहरु छन् । तिनीहरु कलात्मक र आकर्षक छन्, अहिलेका बौद्धहरुका लागि साँस्कृतिक जमघटका केन्द्रहरु हुन् । ती मध्ये धेरै ऐतिहासिक तथा यहाँका बौद्धहरुले गरेको संघर्षका प्रतीक पनि हुन् । यहाँ त्यहाँका केही प्रमुख स्मारकहरुको छोटो परिचय दिइन्छ ।

थियान हक केङ मन्दिर : थियान हक केङ मन्दिर सिंगापुरको एक प्रमुख बौद्ध मन्दिर हो । १८० वर्ष पुरानो यो चिनियाँ मन्दिर बोधिसत्व गुआनिन र पवित्र सम्राट गुआनको साथमा समुद्री देवी माजुलाई समर्पित मन्दिर हो । सिंगापुरका अन्य धेरै बौद्ध मन्दिरहरूमा जस्तै, यहाँ महायान बौद्ध धर्म, कन्फ्युसियसवाद र ताओवादको संगमस्थल हो । यस मन्दिरले चीनियाँ आप्रवासीहरु र खास गरी फुजियान प्रान्तबाट आएका समुदायलाई संगठित पारेको छ र उनीहरुको आफ्नो होक्कियन पहिचान कायम राख्ने मद्दत गरेको छ ।


बर्मी बौद्ध मन्दिर : बर्मी बौद्ध मन्दिर (महा शसन राससी मन्दिर) सिङ्गापुरकै सबैभन्दा पुरानो थेरवाद बौद्ध विहार हो । यसको स्थापना सन् १८७८मा भएको थियो र पछि सन् १९८८मा यसलाई मूल किन्टा रोड परिसरबाट नोभेनाको आह हुड रोडको ताई जिन रोडमा सारिएका थियो । यस मन्दिरको ढोकामा ठुलठुला सिंहहरु राखिएका छन् भने भित्र म्यानमार शैलीको ठूलो सेतो मार्बलको बुद्ध मूर्ति रहेको छ । यस बाहेक यस परिसरमा बोधिवृक्ष पनि रोपिएको छ । यहाँ विभिन्न समयमा विपस्सना ध्यान शिविर सञ्चालन हुन्छ भने बुद्ध जयन्ति जस्ता दिनमा यहाँ समारोहको आयोजना पनि गरिन्छ । यो अहिले म्यानमारबाट आउने बौद्धहरु तथा विश्वकै विभिन्न देशका थेरवादी बौद्धहरुको साझा संगमस्थल जस्तै बनेको ।

Press enter or click to view image in full size

बुद्ध दाँत अवशेष मन्दिर र संग्रहालय : सिङ्गापुरको चाइनाटाउन जिल्लामा बुद्ध दाँत अवशेष मन्दिर र संग्रहालय अवस्थित छ । यहाँ भिक्षुहरू र गृहस्थहरूले चिनियाँ बौद्ध धर्मको अभ्यास गर्न आउँछन् । यो विशाल मन्दिर ताङ राजवंशको चिनियाँ बौद्ध वास्तुकला शैलीबाट प्रभावित छ र साथै केही कोठाहरूमा थोरै जापानी र तिब्बती प्रभावहरू पनि देख्न सकिन्छ । यस मन्दिरको केन्द्रमा मैत्रिय बुद्ध स्थापना गरिएको छ । यहाँको मुख्य कक्षमा विभिन्न बोधिसत्व तथा ससाना बुद्धका मूर्तिहरु राखिएका छन् ।

Press enter or click to view image in full size

यो मन्दिर ऐतिहासिक बुद्धको दाँतको अवशेष राख्नको लागि निर्माण गरिएको थियो जुन कुनै प्राचिन स्तुप भत्किँदा पाइएको थियो भनिन्छ । मन्दिरको चौथो तल्लामा अवशेष सर्वसाधारणले दर्शन गर्न पाइन्छ ।

फू हाइ छान मन्दिर : सिङ्गापुरको अर्को चीनियाँ बुद्ध धर्म अनुसारको मन्दिर फू हाइ छान मन्दिर हो । सन् १९३५मा स्थापना भएको यस मन्दिरको प्रवेशद्वारमा परम्परागत शैलीका दुई धर्मपाल वज्र योद्धाहरू समावेश छन् जसलाई जनरल हेङ र हा भनिन्छ । यहाँ भित्र स्थापना गरिएको बोधिसत्व गुआनिनको ९.९ मिटर अग्लो मूर्ति दर्शनीय छ । यस बाहेक यहाँ विभिन्न शैलीहरूमा बुद्धका सजाइएका मूर्तिहरू पनि आकर्षक छन् । यहाँ कलात्मक बगैंचा बनाइएको छ, श्रीलंकाबाट उपहार प्राप्त बोधिवृक्ष छ अनि एकदम कलात्मक पाँच–तले प्यागोडा पनि छ, जहाँ तथा बुद्धको अस्थिधातु राखिएको छ । धार्मिक व्यक्तिहरुका साथै यसलाई यहाँ घुम्न आउने पर्यटकहरुका लागि समेत हेर्नको लागि केही उल्लेखनीय संरचना मानिन्छ ।

Press enter or click to view image in full size

कोङ मेङ फोर कार सी मन्दिर : सिङ्गापुरका बौद्ध मन्दिरहरु मध्ये ठुला मन्दिरहरुको नाम लिँदा कोङ मेङ फोर कार सी मन्दिरको नाम आउँछ । सिङ्गापुरकोे पहिलो परम्परागत चीनियाँ मन्दिर सन् १९२०मा निर्माण भएको हो । खासमा यो भिक्षु झुआन दाओद्वारा यहाँ बुद्ध धर्मको प्रचार गर्न र भिक्षुहरूका लागि बासको व्यवस्था गर्न बनाइएको थियो ।

Press enter or click to view image in full size

यहाँको प्रमुख कक्ष भनेको १० हजार बुद्ध मूर्ति भएको प्रार्थनागार हो । यस बाहेक यहाँ विभिन्न कक्षहरुमा महायानी बुद्ध धर्मसँग सम्बन्धित विभिन्न बोधिसत्वहरुका सुन्दर मूर्तिहरु स्थापना गरिएका छन् । प्रारम्भमा यहाँ मूल मन्दिरमा दुई तले भवन, एउटा मन्दिर कोठा, आगन्तुकहरूको कोठा र बस्ने कोठाहरू थिए । पछि परोपकारी दाताहरूको सहयोगले यो समयसँगै विस्तारै विस्तार हुँदै अहिले विशाल संरचना बनेको छ ।

स्यङ लिम मन्दिर : सिंगापुरका पुराना बौद्ध मन्दिरहरु मध्ये एक स्यङ लिम मन्दिर हो । सन् १८९८मा स्थापना गरिएको यो मन्दिर पान टापु एक्सप्रेसवेको छेउमा सिंगापुरको टोआ पायोहमा अवस्थित छ ।

यसको मौलिक स्वरुप चीनको फुजियान प्रान्तबाट आएका चीनियाँ बौद्धहरुले त्यहाँको शैलीमा निर्माण गरेको थियो भन्ने मान्यता छ । यस परिसरको अन्तमा रहेको धर्म हलमा बोधिसत्व ग्वानयिनको मूर्ति स्थापना गरिएको छ । यस मन्दिरको आकर्षण भनेको यहाँको सात तलाको सुनौला प्यागोडा हो जुन फुजियानको ८०० वर्ष पुरानो शान्फेङ मन्दिर प्यागोडाको प्रतिकृति पनि हो । यस मन्दिरलाई राष्ट्रिय स्मारकको रूपमा सूचिकृत गरिएको छ ।

वाट आनन्द मेत्यारामा थाई बौद्ध मन्दिर : वाट आनन्द मेत्यारामा थाई बौद्ध मन्दिर सिङ्गापुरको सबैभन्दा पुरानो थेरवाद बौद्ध मन्दिरहरू मध्ये एक हो । यसको निर्माण सन् १९२०मा भएको थियो र यो सिलत रोडमा अवस्थित छ । यसलाई पछि सन् १९५३मा, सन् १९७५ तथा सन् १९९७मा जीर्णोद्धार तथा नयाँ निर्माण गरी वर्तमान स्वरुपमा ल्याइएको हो ।
यो विहारका परम्परागत तथा आधुनिक शैलीको मिश्रण पाइन्छ । अहिले यहाँ हरियालीले सजिएको बगैंचा, धम्म हल, ध्यान हल, सांस्कृतिक केन्द्र (संग्रहालय), सम्मेलन कक्ष, भोजन कक्ष, विश्राम क्षेत्र, आइतबारे परियत्ति कक्षा कोठा, र भिक्षुहरूको निवासस्थल रहेको छ । यहाँको मुख्य हलमा थाइ शैलीको सुनौलो बुद्ध मूर्ति राखिएको छ भने भित्तामा सुन्दर बुद्धजीवनीसँग सम्बन्धित चित्रहरु कोरिएका छन् ।

सिङ्गापुरका केही बौद्ध नेता वा अभियन्ताहरु
तुलनात्मक रुपमा अन्य दक्षिणपूर्वी एशियालीदेशहरु भन्दा छोटो इतिहास बोकेको सिङ्गापुरमा यति भव्य र व्यापक रुपमा बुद्ध धर्मको प्रचार प्रसार हुनुमा त्यहाँको बौद्ध समुदायका प्रभावशाली व्यक्तित्वहरूको भूमिका प्रशंसनीय छ । यहाँ त्यहाँका केही प्रमुख गुरुहरु वा अभियन्ताहरुको संक्षिप्त जानकारी दिइन्छ ।

श्रद्धेय हङ चुन ( Venerable Hong Choon, सन् १९०७ –१०९०) ः सिंगापुरमा बौद्ध महासंघको विकास गर्ने तथा त्यसमा रहेका एक निर्णायक व्यक्तित्व श्रद्धेय हङ चुन हुनुहु्न्छ । उहाँले सन् १९७०को दशकमा धर्म बचाउ आन्दोलनकोे नेतृत्व गर्नुभयो । उहाँले बुद्ध शिक्षाहरूलाई गलत रूपमा प्रस्तुत गर्ने विदेशी चलचित्रहरूलाई सेन्सर गर्न सरकारलाई लबिङ गर्ने भूमिका खेल्नुभएको थियो।

उहाँको जन्म चीनको फुजिआन प्रान्तमा सन् १९०७मा भएको थियो । १३ वर्षको उमेरमा उहाँ चेङ तियान मन्दिरमा भिक्षु हुइ क्वानबाट प्रवजित हुनुभयो । दोश्रो चीन–जापान युद्धको समयमा उहाँ यहाँमा शरण लिन आउनुभयो । सन् १९४३मा उहाँ यहाँको कोङ मेङ सान फोरकार सी विहारमा प्रमुख भिक्षु बन्नुभयो र उहाँले विहारलाई सामाजिक बौद्ध केन्द्रको रुपमा विकास गर्नुभयो । यसका साथै उहाँ अन्तरधार्मिक संवाद र सहमतिलाई प्रोत्साहन दिनको लागि गर्नुभएको कामका लागि पनि परिचित हुनुहुन्छ ।

ली चुन सेङ (Lee Choon Seng, सन् १८८८– १९६६) ः सिङ्गापुरको गृहस्थहरुमा व्यवसायमा सफल हुनुका साथै त्यहाँको बुद्ध शासनलाई चीरस्थायी बनाउन योगदान दिनेहरुमा ली चुन सेङको नाम उल्लेखनीय छ ।

उहाको जन्म चीनको फुजिआन प्रान्तमा भएको थियो । सफल जीवनको लागि उहाँको परिवार मलेसिया हुँदै यहाँ आउनुभएको थियो । उहाँ एक सफल ब्यापारी हुनुभयो र त्यहाँ सिङ्गापुर चीनिया उद्योग वाणिज्य संघको नेतृत्व पनि सम्हाल्नुभयो । यसका साथै उहाँले त्यहाँ बुद्ध धर्मको विकासमा पनि योगदान दिनुभयो । उहाँले त्यहाँ सिङ्गापुर बुद्धिस्ट लज, सिङ्गापुर बुद्धिस्ट फेडरेसन तथा पो एर्न शिन मन्दिर बनाउन सहयोग गर्नुभएको थियो ।

श्रद्धेय लङ गेन ( Venerable Long Gen सन् १९२१ — २०११) : उहाँको जन्म सन् १९२१मा चीनको जिआन्सु प्रान्तमा भएको थियो । दश वर्षको गृहत्याग गरेर २२ वर्षका उमेरमा प्रवजित हुनुभयोे । त्यसपछि उहाँ विभिन्न समयमा अध्ययन र धर्म प्रचारको सिलसिलामा ग्वान्झाउ, हङकङ, ताइवान हुँदैे मलेसिया र सिङ्गापुर पुग्नुभयो । उहाँले अटल संकल्पका साथ विशेष गरी यहाँ र मलेसियामा बौद्ध संस्कृतिको प्रवर्द्धनमा आफुलाई ब्यस्त बनाउनुभयो । त्यसपछि उहाँ सन् १९७३मा उहाँ लेङ फुङ प्रज्ञा मन्दिरको प्रमुखको रूपमा नियुक्त हुनुभयो र यसै गरी उहाँले धर्मको प्रचारको अभियान जारी राख्नुभयो । यसै क्रममा उहाँले बौद्ध धर्मको विकासको लागि धर्म कक्षाहरू र सेमिनारहरू, आयोजना गर्ने तथा प्रकाशनहरू गर्ने जस्ता कामहरु पनि गर्नुुभयो ।

सिङ्गापुरका केही प्रमुख बौद्ध संस्थाहरु
सिङ्गापुर बौद्ध महासंघ (Singapore Buddhist Federation, SBF) : सिङ्गापुरमा बौद्धहरुलाई बुद्धशिक्षा दिने, धर्ममा संगठित बनाउन तथा राज्यमा बौद्धहरुको पहिचान स्थापना गर्न यहाँको सिङ्गापुर बौद्ध महासंघको भूमिका उल्लेखनीय छ । यसको स्थापना सन् १९४९मा यहाँको बौद्ध समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय छाता संस्थाको रुपमा तथा, ब्रिटिश औपनिवेशिक अधिकारीहरू र देशका विभिन्न बौद्ध संगठनहरू बीच पुलको रूपमा सेवा गर्न भएको थियो । स्थापनाकालदेखि नै यसले बौद्ध समुदायको हितलाई प्रवर्द्धन गर्न भूमिका खेलेको देखिन्छ । सन् १९५५मा बुद्ध जयन्ति अथवा वेसाकलाई सार्वजनिक बिदाको रूपमा घोषणा गराउन त्यत्कालिन औपनिवेशिक सरकारलाई दबाव दिन यसले महत्वपूर्ण भूमिका खेलेको थियो । यसले सिङ्गापुरका बौद्धहरुका लागि एउटा बौद्ध समाधिस्थल स्थापना गर्न स्वीकृति लिन पनि संघर्ष नै गर्नुपरेको थियो ।

अहिले यस महासंघसँग महाबोधि स्कुल, मञ्जुश्री माध्यमिक विद्यालय, प्रिन्स सिद्धार्थ चाइल्ड केयर सेन्टर, मैत्री परेड महाबोधि स्टुडेन्ट केयर सेन्टर, एसबिएफ युथ ग्रुप तथा एसबिएफ धर्म क्लास स्टुडेन्ट सोसाइटी आबद्ध छन् । यसले बुद्ध जयन्ति मनाउने, धर्म कक्षा सञ्चालन गर्ने, धर्म देशना गर्ने, शील सम्मेलन गर्ने तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जस्ता कामहरु गर्दै आएको छ ।

सिङ्गापुर बु्द्धिस्ट मिसन ( Singapore Buddhist Mission, SBM ) : अहिलेको सिङ्गापुरमा विशेष गरी युवाहरुलाई आकर्षित र प्रभावित गर्ने संस्था सिङ्गापुर बु्द्धिस्ट मिसन हो । सन् १९८१मा स्थापित यो संस्थाले विभिन्न गतिविधि र कार्यक्रमहरू मार्फत धर्म प्रचारमा जोड दिन्छ । यहाँ सबै उमेर समूहका मानिसहरूलाई स्वागत गरिन्छ र शान्ति र अहिंसाको प्रवर्द्धनमा ध्यान केन्द्रित गराउँछ ।

बुद्धका शिक्षाहरूको अभ्यास मार्फत आफ्नो सदस्यहरूलाई प्रज्ञा र करुणाका गुणहरूलाई प्रोत्साहन गर्ने र विकास गर्ने उद्देश्यको साथ यसको शुरुवात भएको थियो । यससँग सम्बद्ध अहिले एक युवा शाखा, एक फेलोशिप सर्कल, एक काम गर्ने अनुभवीहरू र एक कोर वयस्क समूह छ । यसैको आधारमा यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हुन्छ । र यसैको कारण यसमा बौद्ध तथा गैर बौैद्धहरु समेत आकर्षित हुन्छन् ।

वाट आनन्द युवा ( Wat Ananda Youth, WAY) : सिंगापुरमा बुद्ध धर्ममा रुचि राख्ने किशोर र युवाहरूको लागि एक आकर्षक बौद्ध युवा संगठन वाट आनन्द युवा हो । यसको स्थापना सन् १९६६मा भएको थियो र त्यसबेला यो सिंगापुरमै पहिलो बौद्ध युवा सर्कल थियो । यहाँको प्रमुख थेरवाद विहार वाट आनंद मेत्यारामासँग सम्बन्धन प्राप्त यस सर्कललाई पहिले आनन्द मेत्याराम बौद्ध युवा सर्कल (AMBYC) को रूपमा चिनिन्थ्यो ।

यसले निम्न उद्देश्य बोकेर काम गरिरहेको देखिन्छ — धम्मको अध्ययन, अभ्यास र प्रचारप्रसार गर्ने, युवाहरूलाई तालिम दिने, र उनीहरूलाई आफ्ना साथीहरुलाई परोपकार र सामान्य सहयोगका कार्यहरूमा प्रोत्साहित गर्ने, युवाहरूलाई समाजको राम्रो सदस्य बन्न शिक्षित गर्ने, बौद्ध युवा र साथीहरू बीच सहकार्य बढाउने, सभ्य र नैतिक सामाजिक जीवन जिउन तथा स्वस्थ मनोरञ्जनमा भाग लिने ।

सिङ्गापुरको वर्तमान समाजमा बुद्ध धर्म
सिङ्गापुर सानो देश र त्यसमा पनि सानो बौद्ध समुदाय भएपनि अहिले यहाँ एकै ठाउँमा थेरवाद, महायान र वज्रयान आदि विभिन्न बौद्ध निकायहरूको छुट्टाछुट्टंै समुदायहरु छन् । उनीहरुले आआफ्नो चलन परम्परा अनुसार विभिन्न प्रकारका विहार र मन्दिरहरू बनाएका छन् । अनि आफ्नै परम्परा अनुसार बौद्ध अभ्यासहरू गर्ने र चाडपर्वहरू मनाउने गर्दछन् ।

Press enter or click to view image in full size
यहाँका बौद्धहरु तथा बौद्ध संघसंस्थाहरुमा सामाजिक संलग्नता धेरै छ अनि मानिसहरु सक्रिय रूपमा सामाजिक र परोपकारी कार्यहरूमा संलग्न छन् । उनीहरु शील, समाधिको मात्र कुरा गर्दैनन्, पूजापाठमा मात्र समय बिताउँदैनन् । यसका साथै उनीहरुले समुदायको कल्याणमा योगदान पु¥याउनुलाई पनि धर्मकै रुपमा लिन्छन् । यहाँका बौद्ध संघसंस्थाहरुले देश विदेशमा विपत्तिमा परेका र असहायहरुका लागि विभिन्न किसिमबाट सहयोग गरिरहेका हुन्छन् ।

निष्कर्ष
अन्तमा, सिंगापुर विश्वमा बुद्ध धर्मको इतिहास र विस्तारको अध्ययन गर्नेहरुका लागि एक उदाहरण हो । इतिहास धेरै लामो नभएर पनि, बुद्ध धर्मका संरक्षक नै शासक नभएर पनि र मानिसहरु भौतिक विकाको दौडमा व्यस्त भएको समाजमा पनि कसरी छोटो समयमा बुद्ध धर्मको विकास हुन सक्छ अनि बुद्ध धर्ममा लागेर पनि समृद्धिको पथमा लम्किन सहयोग गर्न सक्छ भन्ने नमुना यहाँ अनुभव गर्न पाइन्छ । समग्रमा यहाँको बुद्ध धर्मको इतिहासले बहुसांस्कृतिक राष्ट्रको सम्पदा झल्काउँछ । मानिसमा खुला हृदयले सबैलाई स्वीकार्ने अनि सहअस्तित्वको भाव छ भने आप्रवासन, धार्मिक स्वतन्त्रता, र अन्तरधार्मिक संवादको माध्यमबाट कसरी बुद्ध धर्म सिंगापुरको सामाजिक र सांस्कृतिक संरचनाको अभिन्न अङ्ग भएको छ भन्ने यहाँबाट सिक्न सकिन्छ ।

बौद्ध मासिक आनन्दभूमिमा प्रकाशित ५२–६ । २०८१ काेजाग्रत पूर्णिमा ।

फोटोहरु विभिन्न वेभसाइटबाट साभार गरिएका हुन् ।

“Buddhism in Singpore” published in the Buddhist Magazine “Anandabhoomi” in 2024 10 17 in Kathmandu, Nepal.

Monday, August 19, 2024

भारतको छत्तिसगढ तथा झारखण्ड राज्यमा बुद्ध धर्म

 राजेन मानन्धर

भारतका केही नयाँ बनेका राज्यहरु मध्ये एक छत्तीसगढ हो । देशको लगभग मध्य पूर्वमा अवस्थित यो राज्य सात राज्यहरु — उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, झारखण्ड, ओडिशा, आन्ध्र प्रदेश तथा तेलंगाना — बाट घेरिएको छ । सन् २००० मा अलग्ग राज्यको रुपमा स्थापना हुनुभन्दा पहिले यो मध्य प्रदेश को एक भाग थियो । अहिले यसको राजधानी रायपुर रहेको छ । यसको कुल क्षेत्रफल १३५,१९० वर्ग किलोमिटर छ र यहाँको जनसंख्या २ करोड ८ लाख छ ।

प्राचिन कालमा यहाँ पुलिन्दा नामक आदिबासीहरुले राज्य चलाउँथे । मौर्य तथा नन्द कालमा यहाँ राज्यको उपस्थिति भएको कुरा यहाँ प्राप्त पुरातात्विक अवशेषहरुले बताउँछ । यहाँ सुरगुजा, बिलासपुर तथा सिरपुर आदि तत्कालिन बस्ती थिए । यहाँ इशापूर्व तेश्रो शताब्दीको मौर्यकालमा थुप्रै विकास भएको पाइन्छ । त्यस्तै यहाँको जागिमारा गुफा यहाँको एक उल्लेखनीय प्राचिन स्थल हो जहाँ केही महत्वपूर्ण अभिलेखहरु पनि पाइएका छन् ।

सोमवंशी राजाहरुले भारतका विभिन्न क्षेत्रमा छैठौं देखि १२ शताब्दीसम्म शासन गरे । यसबाहेक ७औ तथा ८औं शताब्दीमा यहाँ पाण्डुवंशीहरुले शासन गरेको पनि उल्लेख पाइन्छ ।

पछि सन् १७४१ देखि १८४५सम्म यो मराठा राज्यको अन्तर्गत थियो । पछि ब्रिटिश राजमा यो केन्द्रिय प्रदेशहरु अन्तर्गत छत्तिसगढ डिभिजनको रुपमा आयो । पछि सन् १९०५मा सुरगुजा प्रदेशहरु बंगालबाट छत्तिसगढमा सारिए । सन् १९५६मा यसलाई मध्य प्रदेशसँग गाभियो अनि फेरि २०००मा अलग्ग प्रदेशको रुपमा अगाडि आयो ।

Rayapur Chhatisgarh

छत्तिसगढमा बुद्ध धर्मको इतिहास
हाल भारतका अन्य राज्यहरु जस्तै छत्तिसगढ पनि हिन्दु बाहुल्य भएको राज्य हो । यहाँका जनसंख्याको ९३.२५ प्रतिशत जनता हिन्दु छन् । यस भन्दा सानो समुदाय भनेको मुस्लिमहरुको हो जसले यहाँको २.०२ प्रतिशत जनसंख्या ढाकेको छ । अनि यहाँ बौद्धहरु नगन्य मात्र छन् । यहाँ अहिलेको जनसंख्याको०.२८ प्रतिशतले बुद्ध धर्म मान्छन् भनिएको छ ।

केही बौद्ध ग्रन्थको वर्णन अनुसार भगवान बुद्ध दक्षिण कोसलको यात्राको सिलसिलामा हालको छत्तिसगढमा रहेको शिरपुरमा आउनुभएको थियो । यहाँका लेखक हरि ठाकुरका अनुसार तत्कालिन कोसल नरेश विजयसको निमान्त्रणामा भगवान बुद्धले यहाँको श्रीपुर (अहिलेको शिरपुर)मा तीन महिना बिताउनु भएको थियो । प्रमाणित इतिहासको आधारमा भन्ने हो भने छत्तिसगढमा बुद्ध धर्मको प्रवेश अलि पछि मात्र भएको देखिन्छ ।

भारतका लगभग सबै क्षेत्रमा बुद्धको जीवनकालमा अथवा कमसेकम पछि अशोकको राज्यकालमा अर्थात् ईशापूर्व तेश्रो शताब्दीसम्ममा बुद्ध धर्मको राम्रै विकास भइसकोको देखिन्छ । तर छत्तिसगढमा भने यस बेलासम्म बुद्ध धर्मका प्रचार वा विकास भएको ठोस प्रमाण पाउन मुश्किल छ । अहिलेसम्म भन्न सकिने कुरा यति हो कि यो क्षेत्र इस्वीको ५औदेखि भारतकै एक महत्वपूर्ण धार्मिक क्षेत्रको रुपमा विकास भयो, जहाँ हिन्दु, जैन तथा बुद्ध धर्मले आआफ्नो किसिमले विस्तार हुने मौका पायो । यहाँ यस अवधिका तीनवटै धर्मसँग सम्बन्धित अवशेषहरु पाइएका छन् ।

छैठौं देखि १२ शताब्दीसम्म सोमवंशीहरुले मुख्यतयाः आजको छत्तिसगढ, मध्यप्रदेश तथा उत्तर प्रदेशमा शासन गरे । तैपनि उनीरुको शासन छत्तिसगढको पश्चिमी भागमा केन्द्रित थियो किनभने उनीहरुले यस प्रदेशको पश्चिमी भागमा पर्ने रतनपुरलाई राजधानी बनाएका थिए । यी राजाहरुको समयमा यहाँ बौद्ध, जैन तथा हिन्दु केन्द्रहरुको विकास भएको थियो । यसरी हेर्दा कमसेकम पनि छैठौं तथा सातौं शताब्दीमा छत्तिसगढमा बुद्ध धर्मको विस्तार गर्नमा शिरपुरको ठुलो भूमिका रहेको देखिन्छ ।

करिब सातौं शताब्दीका कुनै शासक भवदेव रङ्केसरीको शिलालेखमा शाक्यमुनि बुद्धको मन्दिर निर्माणको जानकारी पाइएको छ । सोही पाण्डु वंशका शासक महाशिवगुप्त बालर्जुनको मल्हार ताम्रपटमा कैलासपुर गाउँ बौद्ध संघलाई दान भएको उल्लेख गरिएको छ । उनैकोे शासनकालको शिरपुरको शिलालेखमा बौद्ध विहार, मन्दिर र भिक्षुहरूको उल्लेख छ । यसकारण उनले यहाँ बुद्ध धर्मलाई संरक्षकत्व प्रदान गरेर यसको विकासमा योगदान दिएको मानिन्छ ।

त्यस्तै किसिमले कलचुरी शासक जजलदेव प्रथमको रतनपुरमा पाइएको शिलालेखका अनुसार पनि रुद्रशिव आफैं र अन्य धार्मिक विद्वानहरू बाहेक, उनी पनि दिग्नागको प्रामाणिक कामको बारेमा उल्लेख भएको थियो । अझ पृथ्वीदेव द्वितीयको कोनी शिलालेखमा लेखिएको प्रशस्तीका अनुसार यसका लेखकलाई बौद्ध आगमको बारेमा ज्ञान थियो । यी उल्लेखहरूबाट यो स्पष्ट हुन्छ कि बुद्ध धर्म छत्तीसगढ क्षेत्रमा बाह्रौं शताब्दीसम्ममा निश्चित रूपमा अध्ययन र सम्मान गरिएको थियो ।

हुयेन त्साङको वर्णन
भारतका थुप्रै अन्य बौद्ध शहर वा केन्द्रहरुको बारेमा जस्तै छत्तिसगढको बौद्ध इतिहासको बारेमा जान्नको लागि हुयेन त्साङका यात्रा विवरणको भर पर्नुपर्ने अवस्था छ ।
चीनियाँ यात्री बौद्ध भिक्षु हुयेन त्साङ भारतका विभिन्न बौद्ध तीर्थस्थलहरुको भ्रमण गर्दागर्दै इस्वी ६३९मा छत्तिसगढको शिरपुर पुगेको थिए । त्यसबेला यो निकै ठुलो बौद्ध केन्द्रको रुपमा विकास भइरहेको थियो । उनको विवरण अनुसार यहाँ १०० भन्दा बढी विहारहरु तथा १० हजार बौद्ध भिक्षुहरु थिए । उनले त्यसबेलाको कोसलका राजालाई क्षेत्रीय बौद्ध भनेका थिए । केही इतिहासकारहरुले यो राजा शिवगुप्त बलार्जुन हुनुपर्छ भनेर अनुमान गरेका छन् । उनले बौद्धहरुलाई आर्थिक सहयोग गरको थियो भन्ने अभिलेखहरुमा देखिएको छ ।

यहाँका केही ऐतिहासिक बौद्ध केन्द्रहरु
शिरपुर ः छत्तिसगढको बुद्ध धर्मको कुरा गर्दा शिरपुर (श्रीपुर)को बारेमा विशेष उल्लेख गर्न जरुरी हुन्छ । यो स्थान अहिले प्रदेशको राजधानी रायपुरबाट ७८ किलोमिटरको दुरीमा महानदी नामक नदीको किनारमा रहेको छ । यो क्षेत्र दक्षिण कोसल राज्य अन्तर्गतका सोमवंशी राजाहरुको राजधानी थियो ।

लगभग १० किलोमिटरको क्षेत्रमा फैलिएको शिरपुर भारतकै बुद्ध धर्मको इतिहासको एक अलग्ग किसिमको प्रमाण हो । यद्यपि यो धेरै वर्षसम्म मानिसहरुको नजरबाट टाढा रह्यो । सन् १८८२मा एलेक्जेन्डर कनिङघमले यहाँ पुरातात्विक उत्खनन् गरेपछि यसको बारेमा भारत लगायत विश्वमा नै यसको प्रचार भयो ।

सन् २००३मा यहाँका १८४ वटा ढिस्काहरु पुरातात्विक महत्वका हुन् भनेर अनुमान गरियो र ठुलो तहको उत्खनन् थालियो । यसबेला गरिएको एक उत्खननले त्यहाँ १०वटा बौद्ध विहारहरु लगायत अन्य मन्दिरहरु आदि पनि पत्ता लागेका थिए । यहाँ पाइएका बौद्ध अवशेषहरुको गणना गर्दा यहाँ एक सय बौद्ध विहार भएको तथ्यांक आएको छ । यो भनेको भारतकै एक विशाल बौद्ध नगर वा अध्ययन केन्द्र हुन आउँछ ।

यहाँ पाइएका बौद्ध विहारहरु एकदम विशाल छन् र ती मध्ये केही त नालन्दाका विशाल संरचनाहरुसँग तुलना गर्न योग्य छन् भनिएको छ । अहिलेसम्मको अध्ययनमा यस क्षेत्रमा ७०० ढिस्काहरु, १०० बौद्ध विहार तथा चैत्यहरु, मैत्रय बुद्ध तथा पद्मपाणि लोकेश्वर आदिका ७९ काँसका मूर्तिहरु तथा अन्य बुद्ध धर्मसँग सम्बन्धित पवित्र अवशेषहरु तथा प्राचिन मूर्तिहरु पाइएका छन् । यहाँ पाइएको एक भिक्षा पात्रलाई २२ सय वर्ष पुरानो भनिएको छ । यी कुराहरुले गर्दा छत्तिसगढको बुद्ध धर्मको इतिहास भनेर देखाउन मात्र हैन भारतको बुद्ध धर्मको इतिहासको अध्ययन गर्दा पनि यहाँको नाम नछुटाइकन लिनु पर्ने हुन्छ ।

यी प्रमाणहरुले शिरपुर क्षेत्र त्यसबेला महत्वपूण शिक्षाको केन्द्रको रुपमा विकास भएको हुनुपर्छ भन्ने देखाउँछ । साथै यसले त्यसबेला यहाँका शासकहरुले बुद्ध धर्मको विकास तथा संरक्षणको लागि धेरै बजेट दिने अनि संरक्षकत्व प्रदान गर्ने गर्थे भन्ने पनि देखिएको छ । यस प्रकार राज्यको साथ कुनै पनि ठाउँमा बुद्ध धर्मको विकासको लागि अत्यन्त जरुरी हुन्छ भन्ने प्रष्ट हुन्छ । त्यस्तै यहाँ पाइएका ध्यानी बुद्धहरु तथा बोधिसत्वका मूर्तिहरुले यहाँ त्यसबेला महायान तथा वज्रयानको विकास भएको कुरा पनि देखाउँछ । अहिलेको अवस्थामा छत्तिसगढमा बुद्ध धर्म विलय भइसक्दा पनि शिरपुरका पुरातात्विक अवशेषहरुले त्यहाँको गौरवमय इतिहास बताइरहेको छ ।

यहाँ उत्खनन् गरेर प्राप्त भएका महत्वपूर्ण प्रचिन मूर्तिहरु तथा अन्य अवशेषहरु शिरपुरमा अवस्थित पुरातत्व संग्रहालयमा प्रदर्शनमा राखिएका छन् । ती वस्तुहरु इतिहासकारहरु, कलाप्रेमीहरुका लागि महत्पपूर्ण अध्ययनका सामाग्री बनेका छन् ।

छत्तिसगढमा बुद्ध धर्मको पुनरुत्थान तथा बौैद्ध जागरणको लागि यहाँ शिरपुरमा सन् २०१३मा एक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिएको थियो, जसमा प्रमुख अतिथि दलाइ लामा हुनुभएको थियो । यहाँ शिरपुरको पर्यटकीय महत्व बुझेर यिहाँको सरकारले सन् २०१५मा शिरपुरलाई बौद्ध सर्किटमा समावेश गरेको थियो । भारतको केन्द्र सरकारले देशको पर्यटनको विकासको लागि देशभरका बौद्ध सम्पदा स्थलहरुलाई जोडेर बौद्ध सर्किट निर्माण गरेको थियो ।

प्रज्ञागिरी ः छत्तिसगढ राज्यको राजनन्द गाउँ जिल्लाको डोँगरगढ इलाकामा करिब ३०० मिटर अग्लो डाँडामा नयाँ ३० फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ । यसको निर्माण सन् १९९८मा भएको थियो भने यसको संयोजन भदन्त संघरतन मानकेले गरेको थियो । यहाँ हरेक वर्ष हुने धार्मिक कार्यक्रममा नेपाल लगायत विभिन्न देशका बौद्ध अभियन्ताहरु सहभागी हुने गरेको छ ।

डमरु ः छत्तिसगढको बालोदबजार जिल्लाबाट १४ किलोमिटर टाढा रहेको डमरु गाउँ पनि कुनै बेला बौद्ध बस्ती रहेको भेटिएको छ । यहाँ पुरातात्विक उत्खननका क्रममा भगवान बुद्धको खुट्टाको छाप अंकित ढुंगा फेला परेको छ । यो चिन्हलाई मध्य भारतमा पहिलो पटक भेटिएको मानिएको छ । बौद्धहरुले विशेष गरी थेरवादको प्रचार भइरहँदा त्यसबेला भगवान बुद्धको मानव आकृतिको मूर्ति बनाउने प्रचलन आइसकेको थिएन र त्यसबेला यस्ता प्रतीकहरुमा बुद्ध पूजा गर्ने गर्थे । बुद्ध मूर्तिको निर्माण पछि पनि थेरवादीहरुले इस्वीको पहिलोदेखि पाँचौं शताब्दीसम्म यो प्रतीक बनाएर पूजा गर्ने गर्दथे । यस भगवान बुद्धको पदचिन्हको पत्ता लागेकोले डमरु भन्ने गाउँ पहिलो र पाँचौं शताब्दीको बीचमा थेरवाद समुदायको प्रमुख केन्द्र भएको देखाउँछ ।

भोङ्गापाल ः यहाँको भोङ्गापाल भन्ने ठाउँमा रहेको जंगल भित्र इँटाको चैत्यको अवशेष पाइएको छ । सन् १९९०को उत्खननबाट प्राप्त यस पाँचौं वा छैठौं शताब्दीको चैत्यलाई यस क्षेत्रकै एक मात्र इँटाको चैत्य मानिन्छ । यसका साथै यसैको छेउमा एक प्राचिन बुद्ध मूर्ति पनि पाइएको थियो । दुबै हात भाँचिएको अवस्थामा रहेको यस मूर्तिलाई अहिले यहाँका स्थानीयहरुले डोकरा बाबा तथा गाँडा देव भनेर पुजा गर्ने गर्छन् ।

समयचक्रमा यहाँ बौद्धहरु हराउँदै गएपछि वा बुद्ध धर्म विलय हुँदै गएपछि यहाँका हिन्दुहरुले यहाँका बौद्ध मन्दिर वा मूर्तिहरुलाई कपडाले बेरेर वा रंगलेपन गरेर हिन्दु मूर्ति वा मन्दिरको रुप दिएको पाइन्छ । जस्तै यहाँको आडभामा स्थित अष्टभूजी देवी मान्दिर वास्तवमा बुद्ध मूर्ति हो भनेर यहाँका बौद्धहरुले भन्दै आएका छन् ।

वर्तमान अवस्थामा छत्तिसगढमा बुद्ध धर्म
आज छत्तिसगढमा बुद्ध धर्म व्यापक रुपमा प्रचलित छैन । अहिले भारतका अन्य राज्यहरुमा जस्तै छत्तिसगढमा पनि केही हदसम्म बुद्ध धर्मको पुनर्जागरण भइरहको छ । यहाँ पनि नवजागरण भनेको हिन्दु धर्म भित्र दलित वा अस्पृष्य भनिएका मानिसहरुले आफ्नो धर्ममा भएको अपमान सहन नसकेर बुद्ध धर्मलाई अंगिकार गरेका नै धेरै देखिन्छ ।

यस प्रकार अहिले यहाँ अम्बेडकारको प्रभावमा आएर बुद्धधर्म अंगालेकाहरुले स्थानीय स्तरमा विभिन्न ठाउँमा विहार बनाएर स्थानीय मानिसहरु भेला भएर बुद्ध पूजा लगायतका धर्म अभ्यास गर्ने गरेको पाइन्छ । अहिले यहाँका प्रमुख नयाँ विहारहरु यस प्रकार छन् — सुगत बुद्ध विहार (अम्बेडकार नगर), भदन्त आर्य नागर्जुन सुराइ ससाइ बुद्ध विहार (महासमुन्द), प्रदन्य बुद्ध विहार (तुलसीपुर), सम्यक बुद्ध विहार (पञ्चशिल नगर, दुर्ग), महाप्रदन्य बुद्ध विहार (दल्ली राजहारा), पञ्चशिल बुद्ध विहार (दुर्ग), डा. भदन्त आनन्द कौशल्यायन बुद्ध विहार (शंकर नगर, दुर्ग), चन्द्रमणी बुद्ध विहार (भिलाइ) इत्यादि । यी विहारहरुमा नियमित बुद्ध पूजा इत्यादि हुनुका साथै विभिन्न बौद्ध व्यक्तित्वको स्मरणमा प्रवचन इत्यादि कार्यक्रमहरुको पनि आयोजना हुने गर्दछ ।

यद्यपि यहाँ अहिले पनि बौद्धहरुको कार्यक्रम तथा गतिविधिलाई हिन्दु विरोधी भनेर चित्रण गर्ने गरेको देखिन्छ । उदाहरणको लागि सन् २०२२को नोभेम्बरमा छत्तिसगढको राजनन्द गाउँमा एक धर्मान्तरण कार्यक्रमको आयोजना गरिएको थियो, जसमा केही दलित समुदायका मानिसहरुले बुद्ध धर्मलाई ग्रहण गरे । यस कार्यक्रममा काँग्रेसका तर्फबाट मेयर बनेकी हेमा देशमुख उपस्थित भइन् भनेर त्यहाँको राजनीतिक वृत्तले उनलाई हिन्दु विरोधी कार्यक्रममा भाग लिएको भनेर आलोचना गरे ।
०००

झारखण्डमा बुद्ध धर्म
भारतको छत्तिसगढ सँग जोडिएको यस्तै यस्तै प्रकारको भूबनोट, इतिहास र संस्कृति भएको अर्को राज्य झारखण्ड हो । यो अहिलेको भारतको नक्सामा पूर्वी भारतको एक राज्यको रुपमा देखा पर्छ । यसको पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा छत्तिसगढ, उत्तरपश्चिममा उत्तर प्रदेश, उत्तरमा बिहार र दक्षिणमा उडिसा अवस्थित छन् । राँची सहर यस प्रदेशको राजधानी हो । यसको क्षेत्रफल ७९,७१६ वर्ग किलोमिटर छ अनि यहाँको जनसंख्या ४.०६ करोड छ यस अर्थमा यो राज्य नेपाल भन्दा सानो तर यहाँको जनसंख्या नेपालमा भन्दा धेरै देखिन्छ ।

यहाँ प्राचिनकालदेखि मानव सभ्यताको विकास भएको पाइन्छ । यहाँ फेला परेका बस्तुहरु नवपाषाणदेखि मध्ययुगीन कालसम्मका छन् भनेर पुरातत्वविद्हरुले भनेका छन् । यस क्षेत्रमा विभिन्न कालमा नन्द, मौर्य र गुप्त सहित धेरै साम्राज्य र राजवंशहरूले शासन गरेको इतिहास पाइन्छ ।


ईसा पूर्व ५०० अथवा लगभग बुद्धको जीवनकालमा यो झारखण्ड राज्य मगध र अङ्गको एक भाग थियो । मौर्य कालमा, यस क्षेत्रमा धेरै राज्यका शासकहरुले शासन गरे । अशोकको शासनकालमा यो मौर्य साम्राज्यको अन्तर्गत आयो । यहाँ गरिएका पुरातात्विक उत्खननहरुले यहाँ इस्वीको लगभग पहिलो शताब्दीका अवशेषहरु भेट्टाएका थिए । यस पछि यहाँको धेरै समयको इतिहास स्पष्ट देखिँदैन ।

सातौँ शताब्दीमा भारतका विभिन्न बौद्ध तीर्थस्थलको भ्रमण गर्न आएका चिनियाँ यात्री हुयेन त्साङले आफ्नो यात्रा विवरणमा झारखण्डको वर्णन गरेको पाइन्छ जसले यस क्षेत्रको इतिहासको बारेमा थप जानकारी राख्न सहयोग गरेको छ ।

यसका साथै अर्कोतिर सातौं शताब्दीको आसपासमा यो पाल साम्राज्यको अन्तर्गत थियो र यसको उत्तरमा मगध, दक्षिणमा ओडिशा, पूर्वमा चम्पा तथा पश्चिममा महेन्द्र राज्यहरु थिए । हुयेन त्साङले यात्रा गर्दा उनले यहाँ कर्णसुवर्ण राज्य भएको तथा शशांक राजा भएको उल्लेख गरेका छन् । त्यसबेला यो राज्य पाल साम्राज्य अन्तर्गत थियो ।

सोह्रौं शताब्दीमा यहाँ राजपुतहरु शासन गर्थे भने पछि यो मुगलहरुको आक्रमणमा पर्यो । सन् १७६५ पछि यो ब्रिटिशहरुको शासन अन्तर्गत पर्यो । भारतको स्वतन्त्रता संग्राममा झारखण्डको भूमिकालाई भारतीय इतिहासले कदर गरेको छ । स्वतन्त्रता पछि यो राज्य विहारको आधा भाग थियो भने पछि सन् २०००मा मात्र यो अलग्ग राज्यको रुपमा गठन भएको थियो ।

झारखण्डमा बुद्ध धर्मको इतिहास
झारखण्डका एक विद्वान डा बि विरोत्तमले आफ्नो “पुस्तक झारखंड ः इतिहास एवं संस्कृति”मा भगवान बुद्धको जन्म झारखण्डमा भएको दाबी गरेको यहाँ उल्लेखनीय छ । यस कथनलाई अन्य लेखकहरुले पुष्टी नगरेकोले यसबारे धेरै लेख्न परेन । तर पनि यसले यस प्रदेशमा बुद्ध धर्मको महत्वको चर्चा धेरै पहिलेदेखि भएको देखाउँछ । भगवान बुद्धले आफ्नो जीवनको धेरै समय बिताउनु भएको उत्तर प्रदेश र विहारसँग भौगोलिक रुपमा नजिक भएकोले यहाँ बुद्ध धर्मको प्राचिन र गहिरो इतिहास हुनु स्वभाविक छ ।


यस राज्यको भौगोलिक अवस्थिति अनुसार बुद्ध कालिन शक्तिशाली मगध राज्यको आसपास भएको कारणले यहाँ भगवान बुद्धको जीवनकालमा उहाँकै आगमनसँगै वा उहाँका भिक्षुहरुबाट वा उहाँको परिनिर्वाण लगतै पछि बुद्ध धर्मले प्रवेश पाएका अनुमान गर्न सकिन्छ । यति नभए पनि सम्राट अशोककले सम्पूर्ण भारतवर्षमा बु्द्ध धर्मको प्रचार गरिरहँदा झारखण्ड अछुतो रहन सक्दैन भन्ने अनुमान पनि तर्कसंगत हुन्छ । तर आश्चर्यको कुरा छ कि यहाँ हालसम्म गरिएका पुरातात्विक उत्खननले यहाँ यति धेरै समय अगाडि बुद्ध धर्मको प्रचार भएको थियो वा यहाँको समाजमा बुद्ध धर्म व्याप्त थियो भन्ने देखाउने बलिया प्रमाणहरु भेटिएका देखिँदैनन् ।

हुयेन त्साङको वर्णनमा झारखण्ड
सातौँ शताब्दीमा भारतका विभिन्न बौद्ध तीर्थस्थलको भ्रमण गर्न आएका चिनियाँ यात्री हुयेन त्साङले आफ्नो यात्रा विवरणमा यस क्षेत्रको वर्णन गरेको पाइन्छ जसले यस क्षेत्रको बुद्ध धर्मको इतिहासको बारेमा जानकारी राख्न सहयोग गरेको छ । हुयेन त्साङले यात्रा गर्दा उनले यहाँ कर्णसुवर्ण राज्य भएका तथा शशांक राजा भएको उल्लेख गरेका छन् । राजा शशांकलाई आफ्नौ साम्राज्यमा बुद्ध धर्मको नाश गर्ने शैव राजाको रुपमा चित्रण गर्ने गरिन्छ । त्साङले यहाँको बौद्ध स्मारक तथा वातावरणको बारेमा चर्चा नगरेकोले यसबेला यो क्षेत्रमा बुद्ध धर्मको प्रभाव कमजोर थियो ।

ऐतिहासिक प्रमाणहरुको आधारमा कुरा गर्नुपर्दा यहाँ लगभग नवौं तथा दशौं शताब्दीका थुप्रै बौद्ध पुरातात्विक अवशेषहरु पाइएका छन् । जस्तै यहाँको हजारीबागमा भेटिएको एउटा बौद्ध पाल वंशको समयमा १०औ शताब्दीमा बनेको थियो । यस आधारमा कमसेकम यसबेला यहाँ बुद्ध धर्मको विस्तार भएको देखिन्छ । यो तथ्य यसकारण महत्वपूर्ण छ कि अरु राज्यहरुमा बुद्धधर्मको विलय भएको बेलादेखि मात्र यहाँ बुद्ध धर्मको प्रचार भएको प्रमाण पाइएको छ । यद्यपि झारखण्डको बुद्ध धर्मको इतिहासको बारेमा खासै धेरै अध्ययन अनुसन्धान भएको देखिँदैन ।

यस बाहेक यहाँ बुद्ध धर्म फैलिएर पनि धेरै लामो समयसम्म यसको प्रभाव यहाँ रहन नसकेको भान हुन्छ । भारतका अन्य राज्यमा जस्तै यहाँ पनि हिन्दु धर्मको प्रभाव बढ्न, राजनीतिक परिवर्तन हुनु, सामाजिक तथा साँस्कृतिक अवस्थामा परिवर्तन आएको कारणले यहाँको जनताले बुद्ध धर्मलाई धेरै लामो समयसम्म जीवित राख्न नसकेको निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अहिले यहाँ बौद्धहरुको जनसंख्या नगण्य भएतापनि यहाँको इतिहास र पुरातात्विक उत्खननबाट प्राप्त अवशेषले यहाँको बुद्ध धर्मको इतिहास उन्नत भएको प्रमाण देखाइरहको छ ।

झारखण्डका केही बौद्ध सम्पदा अवशेष स्थलहरु
राँची ः राँची झारखण्ड राज्यको राजधानी हो । यहाँ थुप्रै यस्ता क्षेत्रहरु छन् जहाँ कुनैबेला बुद्ध धर्मको राम्रो विकास भएको थियो । कोही भगवान बुद्ध आफै यहाँ आउनुभएको विश्वास गर्छन् । यहाँको राँची परुलिया राजमार्ग जोन्हा झरनामा बुद्धले स्नान गर्नुभएको मानिन्छ । यसको नाम नै गौतम धारा राखिएको छ र यहाँ एक बुद्ध मन्दिरको पनि निर्माण गरिएको छ ।

सन् १८८०मा ब्रिटिश सरकारले यहाँ गोर्खा सैन्य पुलिस रेजिमेन्ट स्थापना गर्यो र यहाँ दार्जिलिङ, उत्तराखण्ड, हिमाञ्चल प्रदेश आदि क्षेत्रबाट बौद्ध समाजका मानिसहरु गोर्खा सैनिकमा भर्ना भएदेखि यहाँ बौद्ध समाजको निर्माण भएको थियो । यसरी हेदौ यहाँ बुद्ध धर्मको पुनरुत्थानमा गोर्खा सैनिकहरुको भूमिका छ ।

अहिले यहाँ केही बौद्ध स्मारकहरु देख्न सकिन्छ । ती मध्ये प्रमुख विहार वा मन्दिरहरु यस प्रकार छन् ः मौर्यगिरी बौद्ध मन्दिर, गन्जुबस्ती, चन्दन पासवान, बुतबरिया माझीथान, असनाताँड, अम्बेडकर मन्दिर, बुद्ध विहार, बुद्ध मन्दिर इत्यादि ।

इटाखोरी ः यहाँ चतराबाट ३५ किमी टाढा इटाखोरी भन्ने ठाउँसँग सम्बन्धित एउटा किम्बदन्ती छ । यस अनुसार त्यो ठाउँमा सिद्धार्थ ध्यान बसिरहँदा सानी आमा प्रजापति गौतमीले देख्नुभयो । उहाँले पुत्रलाई फिर्ता लाने कोशिस गर्नुभयो तर उहाँ सिद्धार्थको ध्यान भंग भएन र अब मैले मेरो छोरा गुमाएँ भनेर विलाप गर्नुभयो । त्यसकारण यस ठाउँको नाउँ इटाखोरी बन्यो । यस क्षेत्रमा इशापूर्व २००देखि इस्वीको १२००सम्मका विभिन्न पुरातात्विक अवशेषहरु पाइएका छन् ।


Padmapani Lokeshwara in Itakhori, Jharkhand

पहाडी र जंगली क्षेत्रमा रहको यस स्थानमा यहाँ ९औ शताब्दीको मन्दिर छ । लगभग ४ फीट अग्लो एक हातमा अभय मुद्रा र अर्को हातले कमलको फूल समातेको तथा दायाँबायाँ चैत्यको आकार कुँदिएको यस मूर्ति बोधिसत्व लोकेश्वर अथवा ताराको मूर्ति जस्तो देखिन्छ । तर यसलाई हिन्दुहरुले भद्रकाली भनेर पूजा गर्छन् । यसलाई सँधै मुकुट तथा वस्त्र लगाइदिएको हुन्छ र फूलमालाले ढाकेको हुन्छ । यस मन्दिर परिसरमा ४वटा बुद्ध मूर्तिहरु पाइएका छन् । यसको छेउमा सयौं बुद्ध मूर्ति भएको एउटा चैत्य छ, जसलाई यहाँ शिवलिङ्ग मानेर हिन्दुहरुले पूजा गर्ने गरिन्छ । यसबाहेक पनि यहाँ उत्खनन्बाट थुप्रै पुरातात्विक अवशेषहरु पाइएका छन् । यसको नजिकै एउटा संग्रहालय बनेको छ यहाँ सयौं बौद्ध चैत्यहरुको अवशेषलाई संग्रह गरेर राखिएको छ । यस परिसरको पछाडि बुद्धको एउटा आधुनिक मूर्ति पनि स्थापना गरिएको छ । यहाँका स्थानीयहरु यसलाई अहिले बौद्ध, जैन तथा हिन्दुहरुको साझा धार्मिक स्थल भने प्रचार गर्छन् ।

कोल्हुआ पहाडको कौलेश्वरी मन्दिर ः हन्टरगञ्ज ब्लकबाट ६ किलोमिटर टाढा रहेको कोल्हुआ पहाड बौद्ध जैन तथा हिन्दु धर्मको आस्थाको केन्द्र रहेको छ । यहाँ कौलेश्वरी मन्दिर छ । यहाँ त्यस्तै जैन धर्मका दशौँ तीर्थङ्कर स्वामी शीतलनाथको मन्दिर पनि छ । त्यस्तै यहाँ बौद्ध धर्मस्थलहरु रहेका छन् । ती मध्ये नागले ओढाएको बुद्धको मूर्ति सहितको एक मन्दिर पनि हो । यसलाई हिन्दु र जैनले पनि आआफ्नै नामले पुज्छन् । त्यस्तै यहाँ पहाड चढ्ने बाटोमा भएको एक अवलोकितेश्वरको मूर्तिलाई स्थानीयहरुले नकटा देवी भनेर पुजा गर्ने गरको छ ।

हजारीबाग ः राजधानी राँची भन्दा ९० किलोमिटर टाढा रहेको हजारीबाग पनि बौद्ध सम्पदा स्थल हो । यहाँ भएको उत्खनन्मा पनि भूमिस्पर्श मुद्रामा रहेको बुद्धको मूर्ति लगायत अन्य मूर्तिहरु तथा विहारका अवशेष पाइएका छन् । यहाँ १०औ शताब्दीमा निर्मित एक ऐतिहासिक विहारको अवशेष भेटिएको छ । यो भनेको पाल साम्राज्यको शासनकालमा बनेको हो । बौद्ध साहित्य संयुक्त निकायमा एउटा प्रसंग पाइन्छ जसमा भगवान बुद्ध सुझबाट सेतकणिक गएको भन्ने । उक्त ठाउँ हजारीबाग जिल्ला हो भनेर अनुमान गरिएको छ । यहाँ बौद्धहरुको आवादी नभएकोले यहाँका गाउँ गाउँमा हिन्दुहरुले यहाँ भएका ताराका मूर्तिहरुलाई पार्वती भनेर अनि अरु बोधिसत्वका मूर्तिहरुलाई शिवको स्वरुप भनेर पूजा गर्ने गर्छन् ।

हजारीबागबाट लगभग १२ किलोमिटर टाढा रहेको सीतागढ पहाड पनि बुद्ध धर्मको केन्द्र रहेको मानिन्छ । यहाँ पाइएको एक बौद्ध विहार ९०० वर्ष पुरानो मानिन्छ । यहाँ अझ धेरै उत्खनन् गर्न बाँकी ठाउँ रहेको र जमिन मुनि रहेका यस्ता अवशेषहरु पत्ता लगाएर अध्ययन गर्नुपर्ने ठाउँहरु धेरै रहेको पनि बताइन्छ ।

धनबाद ः धनवाद जिल्ला पनि कुनै समयमा बुद्ध धर्मको मुख्य केन्द्र थियो । धनबादको करुवा गाउँमा पाइएको बौद्ध स्तुप विशेष महत्वपूर्ण मानिन्छ । त्यस्तै किसिमले यहाँको कसाही नदीको तटमा रहेको बौद्धपुरस्थित बौद्धेश्वरको मन्दिर पनि महत्वपूण मानिएको छ । यसबाहेक दियापुर, दुल्मीको (दालमी), घोलमारा (पुरुलिया) नजिक खण्डित मुर्ति, सूर्यकुण्डमा ढुंगाको मूर्ति, बेलवादग (खुन्टी), कटुगा गाउँ (गुम्ला) मा बुद्ध विहारमा धेरै बौद्ध स्मारकहरू भेटिएका छन् । त्यस्तै किसिमले पटमाडा (जमशेदपुर)मा बौद्ध मुर्ति फेला परेको छ, इच्छागढ (सेराईकेला खनरस्वा जिल्ला)मा दुई वटा बुद्धका मुर्ति फेला परेका छन्, तथा एउटा तारादेवीको मुर्ति फेला परेको छ । यहाँ भेटिएका अधिकांश मूर्ति तथा अवशेषहरु १०औ शताब्दीका मानिन्छन् । यी भेटिएका धेरै अवशेषहरू र मूर्तिहरू सुरक्षाको लागि हाल राँची संग्रहालयमा राखिएका छन् ।

दैहर र सोहरा ः यहाँ एक बौद्ध देवी मारिचीको मूर्ति भएको छ, जसलाई स्थानीयहरुले कमला माता भनेर पुजा गर्छन् । यो मूर्ति करिब सन् १९५०मा गरिएको उत्खनन्बाट प्राप्त गरिएको थियो । त्यस्तै यहाँको सोहरामा प्राप्त भएको ताराको मूर्तिलाई पनि स्थानीयहरुले समोखर माता भने पुजा गर्छन् । यहाँ दैहर तथा अन्य गाउँहरुको ७० वर्ष भन्दा पहिले गाउँलेहरुले जमिन खन्दा बौद्ध अवशेष तथा टुटफुट भएका मूर्तिहरु भेटिएका थिए । दैहर तथा सोहरा गाउँलाई भारतको बौद्ध सर्किटमा जोडेर यहाँको पर्यटनको विकास गर्ने प्रयास भइरहेको छ ।

मानगढ ः झारखण्डको मानगढ गाउँमा पनि बुद्ध धर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरु पाइएकाले यो ठाउँ पनि कुनै बेला बुद्ध धर्मको केन्द्र हुनुपर्ने अनुमान गर्न सकिन्छ । यहाँ मानगढमा राज्यकै सबैभन्दा ठुलो बौद्ध स्तुप पत्ता लागेको छ । यो पुरातात्विक क्षेत्र करिब एक एकड जमिनमा फैलिएको छ । यहाँ भेटिएका अधिकांश अवशेष पाल कालका हुन् । यसले त्यस समयमा यो एक महत्वपूर्ण बौद्ध केन्द्र रहेको संकेत गर्दछ ।

पलामू ः पलामूमा उत्खनन् गर्दा त्यहाँ दुइटा प्राचिन स्तुपहरु भेटिए । यहाँको मूर्तिया गाउँमा पाइएको सिँहको टाउकोको मूर्ति पनि साँचीको बौद्ध स्तुप अगाडिको तोरणमा पाइएको सिंहको मूर्तिसँग तुलना योग्य मानिएको छ । अहिले यसलाई राँची विश्वविद्यालयको संग्रहालयमा राखिएको छ ।

यसबाहेक झारखण्डका खुँटी(बेलवादाग्राम), सरायकिला–खरसाँवा, गोड्डा, देवघर, राजमहल, गुमला आदि स्थानहरुमा पनि उत्खनन् हुँदा बौद्ध अवशेषहरु पाइएका हुनाले ती स्थानहरु प्नि इतिहासमा बौद्ध क्षेत्रका रुपमा उल्लेखनीय छन् ।

वर्तमान अवस्थामा झारखण्डमा बुद्ध धर्म
बुद्ध धर्मको हजार वर्ष भन्दा पुरानो इतिहास भएर पनि झारखण्डमा विभिन्न कालखण्डमा विभिन्न कारणल बुद्ध धर्म क्षय हुँदै गयो । झारखण्डमा बुद्ध धर्मलाई राज्यकै हस्तक्षेपबाट नाश गराउने कामको दोष राजा शशांक (इस्वी ६००–६३७)लाई दिइने गरिन्छ । सम्भवतः उनले शैव धर्मको प्रचारमा धेरै श्रोत खर्च गरेको कारणले बुद्ध धर्म विलयको बाटोमा पुगेको हुनसक्छ ।

इस्वीको ७औ शताब्दीमा क्रमशः यहाँ बुद्ध धर्मको प्रभाव घट्दै गएर १२औं शताब्दीको आसपासमा पुग्दा यहाँ बुद्ध धर्म लोप नै हुन पुगेको यहाँका ऐतिहासिक प्रमाणहरुले देखाउँछ । यसको राजनीतिक, धार्मिक तथा सामाजिक कारणहरु हुन सक्छन् । यस पछाडिका आठ सय वर्षसम्म पनि यहाँ बुद्ध धर्मले पुनरुत्थान देख्न पाएन । यसको फलस्वरुप अहिले बुद्ध धर्मको अवस्था दयनीय देखिन्छ । विशाल राज्य र घना आवादी भएर पनि यसको अनुपातमा यहाँ बौद्धहरुको जनसंख्या नगण्य छ ।

त्यसो भन्दा पनि सन् १९५६को आसपासमा डा. बि आर अम्बेडकरको बुद्ध धर्ममा दलितहरुको प्रवेश गराउने अभियान स्वरुप केही मात्रामा भए पनि यहाँका समुदाय विषेशमा, अझ भन्नु पर्दा जो हिन्दु भएर पनि हिन्दु समाजमा अपहेलित थिए, उनीहरुले बुद्धको शरणमा गएर स्वाभिमानपूर्ण जीवन बिताउने अवसर देखे उनीहरु बुद्ध धर्ममा आकर्षित भए । यसै माध्यम भएर यहाँको समाजमा बौद्धहरु देखा पर्न थाले । अहिले यहाँ भएका बौद्धहरु भनेको यसै अभियानको परिणाम स्वरुप देखिएका हुन् भन्न सकिन्छ ।

हाल यहाँ केही बौद्ध संघसंस्थाहरु छन् जसले यहाँका बौद्धहरुलाई संगठित गरिरहेका छन् तथा अन्य समुदायमा बुद्ध धर्मको प्रचार प्रसार गरिरहेका छन् । यहाँ भएका केही संस्थाहरु र तिनीहरुले गरिरहेको काम यस प्रकार छ ः बुद्ध विहार राँचीले स्थानीय तथा आगन्तुकहरुका लागि बुद्ध शिक्षा तथा ध्यानको कार्यक्रमहरु सञ्चालन गर्दछ । बुद्ध मन्दिर धनवादमा पनि बुद्ध शिक्षा अध्यापन तथा ध्यान कार्यक्रमहरु हुने गर्दछ । तिब्बती गुम्बा राँचीमा बुद्ध धर्मका विविध पक्षसम्बन्धी अध्ययन अनुसन्धान तथा सामाजिक कार्य हुन्छ । नार्गजुन बौद्ध अध्यन केन्द्रमा बुद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धान कार्यहरु हुन्छ । बौद्ध तथा जैन मन्दिर बाकारोमा बौद्धहरु तथा जैनहरुका लागि धार्मिक तथा अध्ययनका कार्यक्रमहरु हुने गर्दछन् ।

झारखण्डमा बुद्ध धर्मको संरक्षण तथा पुनरुत्थानका अगाडि थुप्रै चुनौतिहरु छन् । यस्तै यहाँका अधिकांश जनतामा भगवान बुद्धको जीवनी र शिक्षाका आधारभूत कुराहरुका बारेमा पनि जनचेतना छैन । यहाँ बुद्ध धर्म सिक्ने अध्ययन वा अनुसन्धान गर्ने संस्थाहरुको अभाव छ । यहाँका अधिकांश क्षेत्र अझै पनि अविकसित अथवा पिछडिएको अवस्थामा छन् । यद्यपि यहाँका खास गरी हिन्दुधर्म भित्र तल्लो जात भनेर हेपिएर बसेकाहरुमा बुद्ध धर्मप्रति आकर्षण बढ्दो छ । उनीहरु सानो स्तरमा भएपनि संगठित भएर बुद्धको शिक्षालाई आफ्नो जीवनमा लागु गरेर आफुलाई बौद्ध भनाउनमा गर्व गरिरहेको अवस्था छ ।

बाैद्ध मासिक आनन्दभूमि पत्रिकामा २०८१ भाद्र पूर्णिमामा प्रकाशित 2024 08 19

फोटोहरु इन्टरनेट मार्फत साभार गरिएका हुन् ।

फेसबुक प्रतिबन्धले निम्त्याएकाे विरोध प्रदर्शनमा १९ जनाकाे मृत्यु

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...